जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अप्रिल २-८
बाइबलमा पाइने अनमोल धन | मत्ती २६
“निस्तार चाड र स्मरणार्थ उत्सव—समानता र भिन्नता”
nwtsty-E मिडिया
निस्तार चाडको भोज
निस्तार चाडको भोज खान तयार पार्नै पर्ने कुराहरू यी थिए: (१) पाठोको पोलेको मासु (यसको कुनै हड्डी भाँच्नु हुँदैनथ्यो); (२) खमिर नहालेको रोटी अनि (३) तीते साग। (प्रस्थ १२:५, ८; गन्ती ९:११) तीते सागले इस्राएलीहरूलाई मिश्रको दासत्वका तीता पलहरूको सम्झना गराउँथ्यो। येशूले अखमिरे रोटीलाई आफ्नो त्रुटिरहित मानव शरीरको प्रतीकको रूपमा प्रयोग गर्नुभयो। (मत्ती २६:२६) अनि प्रेषित पावलले येशूलाई “हाम्रो निस्तारको थुमा” भने। (१को ५:७) प्रथम शताब्दीसम्ममा निस्तार चाडमा (४) दाखमद्य पनि खान थालिसकिएको थियो। येशूले दाखमद्यलाई आफूले बलिदानस्वरूप चढाउन लागेको आफ्नो रगतको प्रतीकको रूपमा प्रयोग गर्नुभयो।—मत्ती २६:२७, २८.
nwtsty-E मत्ती २६:२६ को अध्ययन नोट
प्रतीक हो: ग्रीक शब्द इस्-टिन-को शाब्दिक अनुवाद हुन्छ, “हो।” तर यस सन्दर्भमा भने यो ग्रीक शब्दले “इङ्गित गर्छ, प्रतीक हो, चित्रण गर्छ, जनाउँछ” भन्ने अर्थ दिन्छ। प्रेषितहरूले पनि त्यस ग्रीक शब्दलाई यही अर्थमा बुझेका थिए किनभने येशूको त्रुटिरहित शरीर र तिनीहरूले खान लागेको अखमिरे रोटी पनि तिनीहरूकै अगाडि थियो। त्यसकारण त्यो रोटी वास्तवमै येशूको शरीर त थिएन। यही ग्रीक शब्द मत्ती १२:७ मा पनि प्रयोग गरिएको छ र त्यहाँ थुप्रै अनुवादहरूमा यस ग्रीक शब्दलाई “अर्थ . . . हो” भनेर अनुवाद गरिएको छ।
nwtsty-E मत्ती २६:२८ को अध्ययन नोट
करारको . . . रगत: येशूको बलिदानले यहोवा र अभिषिक्त ख्रीष्टियनहरूबीचको नयाँ करारलाई मान्यता दियो। (हिब्रू ८:१०) मोशाले मध्यस्थकर्ताको रूपमा सिनै पर्वतमा इस्राएलीहरूसित व्यवस्थाको करार स्थापित गर्दा जुन अभिव्यक्ति चलाएका थिए, येशूले पनि यहाँ त्यही अभिव्यक्ति चलाउनुभयो। (प्रस्थ २४:८; हिब्रू ९:१९-२१) जसरी परमेश्वर र इस्राएल राष्ट्रबीच बाँधिएको व्यवस्थाको करारले बहर र बोकाको रगतद्वारा मान्यता पायो, त्यसरी नै यहोवाले आध्यात्मिक इस्राएलसित बाँध्नुहुने नयाँ करारले येशूको रगतद्वारा मान्यता पाउने थियो। यो करार इ.सं ३३ पेन्तिकोसदेखि लागू भयो।—हिब्रू ९:१४, १५.
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मत्ती २६:१७ को अध्ययन नोट
अखमिरा रोटीको चाडको पहिलो दिन: अखमिरा रोटीको चाड निस्तार चाडको (नीसान १४) भोलिपल्ट अर्थात् नीसान १५ देखि सुरु हुन्थ्यो र सात दिनसम्म चल्थ्यो। तर येशूको समयमा निस्तार चाडलाई पनि अखमिरा रोटीको चाडको भागकै रूपमा हेरिन्थ्यो। त्यसैले निस्तार चाड मनाइने नीसान १४ र अखमिरा रोटीको चाड मनाइने सात दिन, पूरै आठ दिनलाई नै कहिलेकाहीँ “अखमिरा रोटीको चाड” भनिन्थ्यो। (लूका २२:१) साथै, यस प्रसङ्गमा “चाडको पहिलो दिन” भन्ने अभिव्यक्तिलाई “चाडभन्दा एक दिनअघि” भनेर पनि अनुवाद गर्न सकिन्छ। (यूह १:१५, ३० सँग तुलना गर्नुहोस्, जहाँ “पहिलो” अर्थ दिने ग्रीक शब्द प्रोतोस-लाई “. . . भन्दा पहिल्यै” भनी अनुवाद गरिएको छ, अर्थात् “मभन्दा पहिल्यै [प्रोतोस] उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।”) त्यसैले यस पदमा चलाइएको ग्रीक शब्द अनि यहूदीहरूको परम्परालाई विचार गर्दा चेलाहरूले यस पदमा दिइएको प्रश्न येशूलाई नीसान १३ मा सोधेका थिए भन्ने निष्कर्षमा पुग्न सक्छौँ। नीसान १३ को दिउँसो चेलाहरूले निस्तार चाडको लागि तयारी गरे अनि “साँझ परेपछि” अर्थात् नीसान १४ को सुरुमा येशूले आफ्ना चेलाहरूसित निस्तार चाड मनाउनुभयो।—मर्कू १४:१६, १७.
nwtsty-E मत्ती २६:३९ को अध्ययन नोट
यो कचौरा . . . हटाइदिनुहोस्: बाइबलमा अक्सर “कचौरा” शब्दले परमेश्वरको इच्छा वा कुनै व्यक्तिलाई सुम्पिइएको जिम्मेवारीलाई बुझाउँछ। येशू ईश्वरनिन्दा र राजद्रोहको आरोपमा मारिनुहुने थियो; यसले परमेश्वरको नाममा कलङ्क लाग्न सक्ने भएकोले येशू असाध्यै चिन्तित हुनुहुन्थ्यो। त्यसैले उहाँले यो “कचौरा” हटाइदिनुहोस् भनेर प्रार्थना गर्नुभयो।
अप्रिल ९-१५
बाइबलमा पाइने अनमोल धन | मत्ती २७-२८
“जाओ र चेला बनाओ—किन, कहाँ र कसरी?”
nwtsty-E मत्ती २८:१९ को अध्ययन नोट
चेला बनाओ: यहाँ चलाइएको ग्रीक क्रिया म्याथेट्युओ-लाई शिष्य वा चेला बनाउने मनसायले “सिकाउनु” भनेर अनुवाद गर्न सकिन्छ। (मत्ती १३:५२ सित तुलना गर्नुहोस्, जहाँ यो क्रियालाई “शिक्षा पाउने” भनेर अनुवाद गरिएको छ।) येशूले भन्नुभएको “बप्तिस्मा गराओ” र “सिकाओ” जस्ता अभिव्यक्तिहरूले “चेला बनाओ” भन्ने आज्ञा पालन गर्नुमा के-के समावेश छ भनेर बुझाउँछ।
सबै जातिका मानिसहरूलाई: यो अभिव्यक्तिको शाब्दिक अनुवाद “सबै जातिलाई” भन्ने हुन्छ। तर प्रसङ्गलाई विचार गर्ने हो भने यहाँ सबै जातिका मानिसहरूको कुरा गरिएको हो भनेर बुझ्न सक्छौँ। किनकि यसै पदको “तिनीहरूलाई . . . बप्तिस्मा गराओ” भन्ने अभिव्यक्तिमा “तिनीहरू” भनी अनुवाद गरिएको ग्रीक सर्वनाम पुलिङ्ग हो र यसले “जाति”-लाई नभई मानिसहरूलाई बुझाउँछ; जातिलाई बुझाउन ग्रीक भाषामा नपुंसक लिङ्ग चलाइन्छ। “सबै जातिका मानिसहरूलाई” प्रचार गर्नू भन्ने यो आज्ञा नयाँ थियो। येशूले पृथ्वीमा सेवा गर्नुअघि अन्यजातिका मानिसहरू इस्राएलमा आएर यहोवाको सेवा गर्न सक्थे भनी धर्मशास्त्रले सङ्केत गर्छ। (१रा ८:४१-४३) तर यो आज्ञा दिएर येशूले आफ्ना चेलाहरूलाई जन्मजात यहूदीहरूलाई मात्र नभई अरूलाई पनि प्रचार गर्न अह्राउनुभयो। यसरी उहाँले चेला बनाउने काम विश्वव्यापी रूपमा हुनेछ भन्ने कुरालाई जोड दिनुभयो।—मत्ती १०:१, ५-७; प्रका ७:९.
nwtsty-E मत्ती २८:२० को अध्ययन नोट
तिनीहरूलाई . . . सिकाओ: “सिकाउनु” भनी अनुवाद गरिएको ग्रीक शब्दको अर्थमा निर्देशन दिनु, व्याख्या गर्नु, तर्क गरेर बुझाउनु र प्रमाणहरू पेस गर्नु समावेश छ। (मत्ती ३:१; ४:२३ का अध्ययन नोटहरू हेर्नुहोस्।) कुनै व्यक्तिलाई येशूले आज्ञा गर्नुभएको सबै कुरा पालन गर्न सिकाउनु भनेको निरन्तर चलिरहने काम हो; यसमा येशूले सिकाउनुभएको कुरा सिकाउनु अनि उहाँको शिक्षा लागू गर्न र उहाँको अनुकरण गर्न सिकाउनु समावेश छ।—यूह १३:१७; एफि ४:२१; १प २:२१.
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मत्ती २७:५१ को अध्ययन नोट
पर्दा: निकै सिङ्गारिएको यस सुन्दर पर्दाले मन्दिरको महापवित्रस्थान र पवित्रस्थानलाई छुट्ट्याउँथ्यो। यहूदी शिक्षाअनुसार यो गह्रौँ पर्दा झन्डै १८ मिटर (६० फिट) लामो, ९ मिटर (३० फिट) चौडा र ७.४ सेन्टिमिटर (२.९ इन्च) बाक्लो थियो। मन्दिरको पर्दालाई दुई फ्याक पार्नुभएर यहोवाले आफ्नो छोरालाई मार्नेहरूविरुद्ध आफ्नो क्रोध प्रकट गर्नुभयो। तर त्यत्ति मात्र नभई, त्यस उपरान्त मानिसहरू स्वर्गमा जान सम्भव हुनेछ भन्ने कुरा पनि सङ्केत गर्नुभयो।—हिब्रू १०:१९, २०.
मन्दिर: यहाँ चलाइएको ग्रीक शब्द नाओस्-ले मन्दिरको मुख्य भवनलाई जनाउँछ, जहाँ पवित्रस्थान र महापवित्रस्थान थियो।
nwtsty-E मत्ती २८:७ को अध्ययन नोट
उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्यूँतिसक्नुभयो भनेर बताइदेओ: येशू पुनर्जीवित भइसक्नुभयो भनेर जानकारी दिइएका अनि त्यति मात्र नभई, यसबारे अरू चेलाहरूलाई पनि खबर गर्नू भनी निर्देशन पाएका पहिलो चेलाहरू यी स्त्रीहरू नै थिए। (मत्ती २८:२, ५, ७) गैर-धर्मशास्त्रीय यहूदी परम्पराअनुसार मुद्दामामिलामा स्त्रीको बयानलाई मान्यता दिइँदैनथ्यो। तर त्यसको ठीक विपरीत, यहोवाका स्वर्गदूतले भने स्त्रीहरूलाई यो आनन्ददायी जिम्मेवारी दिएर उनीहरूको सम्मान गरे।
अप्रिल १६-२२
बाइबलमा पाइने अनमोल धन | मर्कूस १-२
“तिम्रो पाप क्षमा भयो”
jy-E पृ. ६७ अनु. ३-५
“तिम्रो पाप क्षमा भयो”
येशू भीडले खचाखच भरिएको कोठामा सिकाउँदै हुनुहुन्छ। त्यति नै बेला चार जना मानिस पक्षाघात भएको एक जना मानिसलाई खाटमा बोकेर ल्याउँछन्। तिनीहरू आफ्ना ती साथीलाई येशूले निको पारिदिनुभएको चाहन्छन् तर भीडले गर्दा “तिनीहरूले उसलाई येशूको अगाडि पुऱ्याउन” सक्दैनन्। (मर्कूस २:४) कल्पना गर्नुहोस् त, तिनीहरू कत्ति निराश भए होलान्! तिनीहरू त्यस घरको छतमा चढ्छन् र छाना उघार्छन्। त्यसपछि तिनीहरू पक्षाघात भएको मानिसलाई खाटैसमेत तल ओह्राल्छन्।
भीडलाई सिकाउँदै गर्दा बीचैमा यसरी अवरोध खडा गरेकोमा के येशू रिसाउनुहुन्छ? अहँ! रिसाउनुहुन्न। बरु तिनीहरूको विश्वास देखेर उहाँको मन छुन्छ र पक्षाघात भएको मानिसलाई यसो भन्नुहुन्छ: “तिम्रो पाप क्षमा भयो।” (मत्ती ९:२) तर के येशूले साँच्चै पाप क्षमा गर्न सक्नुहुन्छ? यस कुरालाई लिएर शास्त्री र फरिसीहरू यसो भन्दै मनमनै तर्क गर्छन्: “यस मानिसले किन यसरी कुरा गर्दैछ? यसले त परमेश्वरको निन्दा गर्दैछ। परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”—मर्कूस २:७.
तिनीहरू के सोच्दै छन् भनी थाह पाएर येशू तिनीहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरू किन आफ्नो मनमा यस्तो तर्क गर्दैछौ? पक्षाघात भएको मानिसलाई के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठ अनि तिम्रो खाट बोकेर जाऊ’ भन्न?” (मर्कूस २:८, ९) हो, आफूले केही समयपछि दिन लागेको बलिदानको आधारमा येशू त्यस मानिसको पाप क्षमा गर्न सक्नुहुन्छ।
nwtsty-E मर्कू २:९ को अध्ययन नोट
के भन्न सजिलो छ: म पाप क्षमा गर्न सक्छु भनेर भन्न त सजिलो हुन्छ किनभने त्यस्तो दाबीलाई प्रमाणित गर्न कुनै दृश्य प्रमाण चाहिँदैन। तर येशूले उठ . . . जाऊ भन्नुभएपछि भने त्यो भनाइ सार्थक हुनको लागि प्रमाण चाहिन्थ्यो—त्यो मानिस चमत्कारपूर्ण ढङ्गमा निको भएर हिँड्नुपर्ने हुन्थ्यो। अनि त्यस्तो चमत्कार देखेपछि सबैले येशूसित पाप क्षमा गर्ने अख्तियार छ भनेर स्पष्टै बुझ्न सक्थे। यो विवरण र यशै ३३:२४ ले हामी पापी भएकोले बिरामी पर्छौँ भनेर देखाउँछ।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मर्कू १:११ को अध्ययन नोट
आकाशबाट यसो भन्ने आवाज आयो: सुसमाचारका किताबहरूमा यहोवा परमेश्वरले मानिसहरूसित सीधै कुरा गर्नुभएको तीन वटा विवरण पाउँछौँ। तीमध्ये यो पहिलो विवरण हो।—मर्कू ९:७; यूह १२:२८.
तिमी मेरो . . . छोरा हौ: स्वर्गमा अदृश्य व्यक्तिको रूपमा छँदा येशू परमेश्वरको छोरा हुनुहुन्थ्यो। (यूह ३:१६) मानवको रूपमा जन्म लिइसक्नुभएपछि पनि येशू त्रुटिरहित आदमजस्तै “परमेश्वरको छोरा” हुनुहुन्थ्यो। (लूका १:३५; ३:३८) तर परमेश्वरले यहाँ येशूको परिचय दिइरहनुभएको मात्रै त थिएन। यो घोषणा गरेसँगसँगै पवित्र शक्ति पनि खन्याएर परमेश्वरले के सङ्केत गर्नुभयो भने मानव शरीर धारण गर्नुभएको येशू आध्यात्मिक अर्थमा पनि उहाँको छोरा हुनुभयो; येशू पुनः स्वर्ग फर्कने आशासहित ‘फेरि जन्मनुभयो’ अनि परमेश्वरद्वारा नियुक्त राजा र प्रधान पुजारी हुनको लागि पवित्र शक्तिद्वारा अभिषेक गरिनुभयो।—यूह ३:३-६; ६:५१; लूका १:३१-३३; हिब्रू २:१७; ५:१, ४-१०; ७:१-३ सित तुलना गर्नुहोस्।
तिमीसित म अति प्रसन्न छु: वा “म तिमीसित खुसी छु; म तिमीमा निकै आनन्दित हुन्छु।” मत्ती १२:१८ मा पनि यही अभिव्यक्ति चलाइएको पाइन्छ र यो पदका शब्दहरू प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्टबारे भविष्यवाणी गरिएको पद यशै ४२:१ बाट उद्धृत गरिएको हो। परमेश्वरले पवित्र शक्ति खन्याउनुभएको कुराबाट र आफ्नो छोराबारे जे घोषणा गर्नुभयो, त्यसबाट येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।
nwtsty-E मर्कू २:२८ को अध्ययन नोट
विश्राम-दिनको . . . प्रभु: येशूले यो अभिव्यक्ति आफूमा लागू गरेर (मत्ती १२:८; लूका ६:५) स्वर्गमा बस्नुहुने बुबाले आज्ञा गर्नुभएको काम गर्न विश्राम-दिनमाथि आफ्नो अधिकार छ भनेर सङ्केत गर्नुभयो। (यूह ५:१९; १०:३७, ३८ सित तुलना गर्नुहोस्) विश्राम-दिनमा येशूले आफ्ना सबैभन्दा उल्लेखनीय चमत्कारहरू गर्नुभयो, जसमध्ये बिरामीलाई निको पार्नु पनि थियो। (लूका १३:१०-१३; यूह ५:५-९; ९:१-१४) यी चमत्कारहरूले येशूले आफ्नो शासनको दौडान मानिसहरूलाई राहत मिल्ने कस्ता-कस्ता काम गर्नुहुनेछ भन्ने कुराको पूर्वचित्रण गऱ्यो; उहाँले शासन गर्नुहुने समयलाई विश्राम-दिनको आरामसित तुलना गर्न सकिन्छ।—हिब्रू १०:१.
अप्रिल २३-२९
बाइबलमा पाइने अनमोल धन | मर्कूस ३-४
“विश्राम-दिनमा निको पार्ने”
jy-E पृ. ७८ अनु. १-२
विश्राम-दिनमा के गर्दा नियम उल्लङ्घन हुँदैन?
अर्को एक पटक विश्राम-दिनमा येशू सम्भवतः गालीलको एउटा सभाघरमा पस्नुहुन्छ। त्यहाँ उहाँले दाहिने हात सुकेको एक जना मानिसलाई भेट्नुहुन्छ। (लूका ६:६) शास्त्रीहरू र फरिसीहरू येशूलाई नियालेर हेरिरहेका छन्। किन? तिनीहरूको मनसाय कस्तो छ भनेर तिनीहरूले सोधेको यो प्रश्नबाट स्पष्ट हुन्छ: “विश्राम-दिनमा निको पार्दा नियम उल्लङ्घन हुन्छ कि हुँदैन?”—मत्ती १२:१०.
कसैको ज्यानै जान सक्ने खतरा छ भने मात्र उसलाई निको पार्नु उचित हो भनी यहूदी धर्मगुरुहरू सोच्छन्। त्यसैले ज्यान जाने खतरा नभएका अवस्थाहरू, जस्तै कसैको हड्डी भाँचियो वा हातखुट्टा मर्कियो भने त्यसमा पट्टी लगाउन वा त्यसको उपचार गर्न मिल्दैनथ्यो। स्पष्ट छ, शास्त्री र फरिसीहरूले दुःख पाइरहेको त्यस मानिसमा चासो भएकोले येशूलाई प्रश्न सोधेका थिएनन्। तिनीहरू त येशूलाई दोष लगाउने बहाना खोजिरहेका थिए।
jy-E पृ. ७८ अनु. ३
विश्राम-दिनमा के गर्दा नियम उल्लङ्घन हुँदैन?
तर येशूले भने तिनीहरूको गलत तर्क बुझ्नुभएको छ। विश्राम-दिनमा काम नगर्नू भनी दिइएको आज्ञा मान्दा के-के गर्नु हुन्छ, के-के गर्नु हुँदैन भन्ने सन्दर्भमा तिनीहरूले कट्टर र गैर-धर्मशास्त्रीय दृष्टिकोण राखेका छन् भनी येशूलाई थाह छ। (प्रस्थान २०:८-१०) मानिसहरूको भलो हुने काम गर्दा येशूलाई यसअघि पनि गलत विचारधारा राख्नेहरूले आलोचना गरेका थिए। ती धर्मगुरुहरूलाई राम्रो पाठ सिकाउन येशू हात सुकेको त्यस मानिसलाई यसो भन्नुहुन्छ: “उठ र बीचमा आऊ।”—मर्कूस ३:३.
nwtsty-E मर्कू ३:५ को अध्ययन नोट
उहाँ असाध्यै दुःखी हुनुभयो अनि रिसाएर . . . हेरेपछि: यस घटनाबारे सुसमाचारका अरू पुस्तकहरूमा पनि लेखिएको छ तर धर्मगुरुहरूको मन बोधो भएको देख्दा येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो भन्ने विषयमा चाहिँ मर्कूसले मात्र उल्लेख गरेका छन्। (मत्ती १२:१३; लूका ६:१०) येशूको भावनाबारे यस्तो जीवन्त वर्णनको स्रोत पत्रुस हुन सक्छन्, जो निकै भावुक व्यक्ति थिए।—“मर्कूसको परिचय” शीर्षकको भिडियो हेर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मर्कू ३:२९ को अध्ययन नोट
पवित्र शक्तिको निन्दा: निन्दा गर्नु, ईश्वरनिन्दा गर्नुजस्ता अभिव्यक्तिहरूले परमेश्वर वा पवित्र कुराहरूको विरुद्धमा अपमानजनक र हानिकारक कुरा वा दुर्वचन बोल्नुलाई जनाउँछ। पवित्र शक्तिको स्रोत स्वयम् परमेश्वर नै हुनुभएकोले यसले काम गरेको देख्दादेख्दै यसलाई नकार्नु वा यसको विरोध गर्नु भनेको परमेश्वरकै निन्दा गरेसरह हो। मत्ती १२:२४, २८ र मर्कू ३:२२ मा बताइएझैँ येशूले चमत्कारहरू गर्नुहुँदा यहूदी धर्मगुरुहरूले परमेश्वरको शक्तिले उहाँमा काम गरेको आफ्नै आँखाले देखेका थिए। तर तिनीहरूले येशूको शक्तिको स्रोत सैतान अर्थात् दियाबल हो भनी बताए।
सधैँभरि रहिरहने पापको दोषी: यसले जानाजानी गरिने पापलाई जनाएको हुनुपर्छ, जसको नतिजा सधैँभरि रहन्छ। यस्तो किसिमको पापको प्रायश्चित कुनै बलिदानले गर्न सक्दैन।—यसै पदको पवित्र शक्तिको निन्दा शीर्षकको अध्ययन नोट हेर्नुहोस्।
अप्रिल ३०–मे ६
बाइबलमा पाइने अनमोल धन | मर्कूस ५-६
“येशूसित हाम्रा मरिसकेका प्रियजनहरूलाई पुनर्जीवित पार्ने शक्ति छ”
nwtsty-E मर्कू ५:३९ को अध्ययन नोट
मरेकी छैन तर निदाइरहेकी छे: बाइबलमा मृत्युलाई अक्सर निद्रासित तुलना गरिएको छ। (भज १३:३; यूह ११:११-१४; प्रे ७:६०; १को ७:३९; १५:५१; १थि ४:१३) येशूले त्यस ठिटीलाई फेरि जीवित पार्न लाग्नुभएको थियो। त्यसैले उहाँले यस पदका शब्दहरू भन्नुभएको हुन सक्छ। किनकि जसरी गहिरो निद्रामा परेको मान्छेलाई ब्युँझाउन सकिन्छ, त्यसरी नै मरिसकेका व्यक्तिहरूलाई पनि पुनर्जीवित पार्न सकिन्छ भन्ने कुराको उहाँले प्रमाण दिनै लाग्नुभएको थियो। मरेकी यस ठिटीलाई फेरि जीवित पार्ने शक्ति येशूले बुबाबाट पाउनुभएको थियो, जो “मरेकाहरूलाई जिउँदो बनाउने अनि अस्तित्वमै नभएका चीजहरूबारे ती अस्तित्वमा भएझैं गरी कुरा गर्ने” परमेश्वर हुनुहुन्छ।—रोमी ४:१७.
jy-E पृ. ११८ अनु. ६
एउटी ठिटी पुनर्जीवित हुन्छे!
यसअघिका घटनाहरूमा येशूले आफूले निको पारेकाहरूलाई उहाँले तिनीहरूको लागि गरिदिनुभएको कामबारे अरूलाई बताउँदै नहिँड्नू भन्ने आज्ञा दिनुभएको थियो। यस ठिटीका आमाबुबालाई पनि उहाँ त्यसै भन्नुहुन्छ। तर साह्रै खुसी भएका यी आमाबुबा र अरूले त्यो खबर “त्यस इलाकाको चारैतिर” फैलाउँछन्। (मत्ती ९:२६) आफ्नो प्रियजन ब्युँताइँदा के तपाईँ पनि खुसी भई त्यसबारे अरूसित कुरा गर्नुहुन्न र? येशूले मरेकाहरूलाई पुनर्जीवित पार्नुभएको घटनाहरूमध्ये यो बाइबलमा रेकर्ड गरिएको दोस्रो विवरण हो।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मर्कू ५:१९ को अध्ययन नोट
तिनीहरूलाई बताइदेऊ: येशू प्रायः मानिसहरूलाई आफ्ना चमत्कारहरूबारे अरूलाई बताउँदै नहिँड्न आज्ञा दिनुहुन्थ्यो। (मर्कू १:४४; ३:१२; ७:३६) तर यस मानिसलाई भने उहाँले आफूले गरेको चमत्कारबारे नातेदारहरूलाई बताउन निर्देशन दिनुभयो। येशूलाई त्यो इलाका तुरुन्तै छोडेर जान आग्रह गरिएको थियो, त्यसैले उहाँ आफैले त्यहाँका मानिसहरूलाई साक्षी दिन पाउनुहुने थिएन। त्यसैले उहाँले यस्तो निर्देशन दिनुभएको हुनुपर्छ। त्यसका साथै, थुप्रै सुँगुर मरेको हुनाले त्यहाँ विभिन्न नकारात्मक खबरहरू पनि फैलन सक्थ्यो। त्यस मानिसले दिने साक्षीले त्यस्ता नकारात्मक खबरहरूलाई रोक्न पनि मदत गर्ने थियो।
nwtsty-E मर्कू ६:११ को अध्ययन नोट
आफ्नो पैतालाको धूलो टकटकाइदेओ: चेलाहरूले यसो गर्दा सुसमाचारप्रति मानिसहरूले देखाउने प्रतिक्रियाको निम्ति आफू जिम्मेवार नभएको र मानिसहरूको न्याय गर्ने काम परमेश्वरकै हातमा छोडिदिएको कुरा देखाइरहेका हुन्थे। यस्तै अभिव्यक्ति मत्ती १०:१४ र लूका ९:५ मा पनि पाइन्छ। मर्कूस र लूकाले यस अभिव्यक्तिको अगाडि तिनीहरूलाई [वा “तिनीहरूविरुद्ध”] साक्षीको निम्ति भनेर पनि लेखेका छन्। पिसिदियाको एन्टिओकमा पावल र बर्णाबासले यो निर्देशन पालन गरे। (प्रे १३:५१) पावलले कोरिन्थमा पनि त्यस्तै-त्यस्तै काम गरे; तिनले आफ्नो लुगा टकटकाए र यसो भने: “तपाईंहरूको रगत तपाईंहरूकै थाप्लोमा परोस्। म निर्दोष छु।” (प्रे १८:६) यसो गर्ने चलनसित चेलाहरू पहिल्यैदेखि परिचित भएको हुनुपर्छ। आफूलाई धर्मी ठान्ने यहूदीहरू अन्यजातिहरूको इलाका हुँदै यात्रा गरेर आएपछि यहूदी इलाकामा पस्नुअघि आफ्नो जुत्तामा लागेको धूलो टकटकाउँथे किनकि तिनीहरू त्यस धूलोलाई अशुद्ध सम्झन्थे। तर येशूले भने त्यस अर्थमा आफ्नो पैतालाको धूलो टकटकाउन निर्देशन दिनुभएको थिएन।