जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
सेप्टेम्बर २-८
बाइबलमा पाइने अनमोल धन | हिब्रू ७-८
“मल्किसेदेकजस्तो सधैँका लागि पुजारी”
it-2-E पृ. ३६६
मल्किसेदेक
पुरातन समयको सालेम भन्ने ठाउँका राजा र “सर्वोच्च परमेश्वर” यहोवाका “पुजारी।” (उत्प १४:१८, २२) तिनी बाइबलमा उल्लेख गरिएका प्रथम पुजारी हुन्। तिनले ईसापूर्व १९३३ भन्दा केही समयअघिदेखि पुजारीको रूपमा सेवा गरेका थिए। सालेमको अर्थ “शान्ति” हो। मल्किसेदेक सालेमका राजा भएकाले प्रेषित पावलले मल्किसेदेकलाई “शान्तिका राजा” भने। अनि तिनको नामको अर्थअनुसार तिनलाई “धर्मी राजा” पनि भने। (हिब्रू ७:१, २) पछि यरुसलेम नाम दिइएको सहरको केन्द्र पुरातन सालेम थियो भन्ने मान्यता छ। सालेम नामबाटै यरुसलेम भन्ने नाम आएको हो। यरुसलेमलाई कहिलेकाहीँ “सालेम” पनि भन्ने गरिन्छ।—भज ७६:२.
केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई हराएपछि कुलपुरुष अब्राम (अब्राहाम) सावे बेँसी अर्थात् “राजा बेँसीमा” आए। त्यहाँ मल्किसेदेक “रोटी र दाखमद्य लिएर” अब्राहामलाई भेट्न आए र उनलाई यसो भन्दै आशिष् दिए: “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् देऊन्; सर्वोच्च परमेश्वरको महिमा होस्, जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्राहामले ती राजा र पुजारीलाई “सबै कुराको दशांश” अर्थात् आफूले युद्धमा हराएका राजाहरूबाट लुटेको मालसामानबाट “सबैभन्दा असल चिजहरूको” दशांश दिए।—उत्प १४:१७-२०; हिब्रू ७:४.
it-2-E पृ. ३६७ अनु. ४
मल्किसेदेक
बाइबलमा किन मल्किसेदेकबारे “न त तिनको जन्म वा मृत्यु. . ..छ” भनिएको छ?
पावलले मल्किसेदेकबारे एउटा रोचक तथ्य बताए। तिनले यसो भने: “तिनको न बुबा न आमा, न वंशावली नै छ न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ। तर परमेश्वरको छोराजस्तै बनाइएकोले तिनी सदाको लागि पुजारी भइरहन्छन्।” (हिब्रू ७:३) अरू मानिसहरू जस्तै मल्किसेदेक पनि जन्मिए र मरे। तथापि तिनका आमाबुबा को थिए भन्ने जानकारी कतै दिइएको छैन। तिनका पुर्खा र सन्तानबारे धर्मशास्त्रमा केही पनि बताइएको छैन। अनि तिनको जन्म र मृत्युबारे पनि केही बताइएको छैन। त्यसैकारण पुजारीको रूपमा सदाको लागि सेवा गर्नुहुने येसु ख्रिष्टलाई मल्किसेदेकले उपयुक्त तरिकामा पूर्वचित्रण गरे। तिनको पुजारीगिरीको पूर्वाधिकारी वा उत्तराधिकारीबारे बाइबलमा कुनै विवरण पाइँदैन। त्यसैगरि ख्रिष्टअघि उहाँजस्तो प्रधानपुजारी अरू कोही थिएन र बाइबलले बताएअनुसार उहाँपछि पनि उहाँजस्तो प्रधानपुजारी अरू कोही हुनेछैन। साथै, येसु यहुदाको कुलमा जन्मनुभएको थियो र दाउदको राजकीय घरानाबाट आउनुभएको थियो। तर उहाँले आफ्नो मानव पुर्खाबाट पुजारीगिरी पाउनुभएको थिएन न त उहाँका मानव पुर्खाले गर्दा नै उहाँ पुजारी र राजा दुवै हुनुभएको थियो। यहोवा स्वयम्ले येसुसित खानुभएको शपथले गर्दा मात्र यी सब भएको थियो।
it-2-E पृ. ३६६
मल्किसेदेक
ख्रिष्टको पुजारीगिरीको पूर्वझलक। मसीहसम्बन्धी गरिएको भविष्यवाणीमा यहोवाले दाउदका “प्रभु”-सित यस्तो शपथ खानुभएको पाउँछौँ: “तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो!” (भज ११०:१, ४) परमेश्वरको प्रेरणा पाएर लेखिएको सो भजनले हिब्रूहरूलाई प्रतिज्ञा गरिएको मसीहले राजा र पुजारी दुवैको रूपमा सेवा गर्नुहुनेछ भन्ने कुरामा विश्वास गर्ने आधार दियो। त्यस कुरामा शङ्का गर्ने कुनै ठाउँ नै नरहनेगरि प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा यस्तो उल्लेख गरे: “येसु. . . . .सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्नुभएको छ।”—हिब्रू ६:२०; ५:१०.
it-1-E पृ. १११३ अनु. ४-५
येसु ख्रिष्टले प्रधानपुजारीको रूपमा गर्नुहुने सेवा। बाइबलको हिब्रूको किताबमा लेखिएअनुसार येसु ख्रिष्ट पुनर्जीवित भएर स्वर्ग जानुभएदेखि “सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्नुभएको छ।” (हिब्रू ६:२०; ७:१७, २१) हिब्रूको किताबका लेखकले ख्रिष्टको पुजारीगिरी कत्ति महान् छ र हारुनको पुजारीगिरीभन्दा कत्ति उत्कृष्ट छ भन्ने कुरा बुझाए। यो कुरा बुझाउन तिनले मल्किसेदेकले राजा र पुजारीको पद आफ्नो पुर्खाबाट उत्तराधिकारको रूपमा पाएका थिएनन् बरु यहोवाले नै तिनलाई नियुक्त गर्नुभएको थियो भनेर उल्लेख गरे। येसु ख्रिष्ट लेविको कुलको नभई यहुदाको कुलको हुनुहुन्थ्यो र दाउदको वंशबाट आउनुभएको थियो। त्यसैले उहाँ हारुनको वंशबाट आएकोले प्रधानपुजारी हुनुभएको थिएन बरु मल्किसेदेकलाई जस्तै स्वयम् यहोवाले नै उहाँलाई नियुक्त गर्नुभएको थियो। (हिब्रू ५:१०) भजन ११०:४ मा यस्तो प्रतिज्ञा गरिएको थियो: “यहोवाले शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन: ‘तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो!’” यसरी नियुक्त गरिएकोले उहाँ स्वर्गमा राजा र पुजारी बन्नुभएको छ। त्यसबाहेक, दाउदको वंशबाट आएको हुनाले पनि येसुले राज्याधिकार पाउनुभयो। दाउदसित गरिएको करारमा प्रतिज्ञा गरिएको उत्तराधिकार उहाँ नै हुनुहुन्छ। (२स ७:११-१६) त्यसैकारण उहाँ मल्किसेदेकजस्तै राजा र पुजारी दुवै हुनुभएको छ।
ख्रिष्टको पुजारीगिरी उत्कृष्ट हुनुको अर्को कारण पनि छ। यहुदी पुजारीगिरीको पुर्खा लेविले मल्किसेदेकलाई दशांश दिएका थिए भन्न सकिन्छ किनकि कुलपुरुष अब्राहामले सालेमका राजा र पुजारी मल्किसेदेकलाई दशांश दिँदा लेवि अब्राहामको सन्तानको रूपमा जन्मिसकेका थिएनन्। साथै यही कुरालाई विचार गर्दा मल्किसेदेकले लेविलाई पनि आशिष् दिएका थिए भन्न सकिन्छ। अनि सानोले ठूलोबाट आशिष् पाउँछ। (हिब्रू ७:४-१०) साथै मल्किसेदेकको “न बुबा न आमा, न वंशावली नै छ न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ” र यस कुराले येसु ख्रिष्ट, जसले पुनर्जीवित भएपछि “अविनाशी जीवन” पाउनुभएको छ, उहाँको सदासर्वदा रहने पुजारीगिरीलाई सङ्केत गर्छ भनी प्रेषित पावलले बताए।—हिब्रू ७:३, १५-१७.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ५२३ अनु. ५
करार
व्यवस्थाको करार कसरी “रद्द” भयो?
परमेश्वरले नयाँ करार गर्नेछु भनेर भविष्यवक्ता यर्मियामार्फत घोषणा गर्नुहुँदा एक अर्थमा व्यवस्थाको करार “रद्द” भइसकेको थियो। (यर्मि ३१:३१-३४; हिब्रू ८:१३) इस्वी संवत् ३३ मा येसुले यातनाको खम्बामा मृत्यु भोग्नुभएपछि त्यही मृत्युको आधारमा व्यवस्थाको करार खारेज भयो (कल २:१४) अनि त्यसको सट्टा नयाँ करार लागू भयो।—हिब्रू ७:१२; ९:१५; प्रे २:१-४.
सेप्टेम्बर ९-१५
बाइबलमा पाइने अनमोल धन | हिब्रू ९-१०
“आउन लागेका असल कुराहरूको छाया”
it-1-E पृ. ८६२ अनु. १
क्षमा
परमेश्वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थाअनुसार यदि कुनै व्यक्तिले परमेश्वरविरुद्ध वा सङ्गी मानवविरुद्ध पाप गरेमा त्यस पापको क्षमा पाउन सर्वप्रथम व्यवस्थामा बताइएबमोजिम आफ्नो गल्ती सच्याउनुपर्थ्यो, त्यसपछि प्रायजसो अवस्थाहरूमा जनावरको रगत बगाएर यहोवासामु बलिदान चढाउनुपर्थ्यो। (लेवी ५:५–६:७) त्यसैकारण पावलले यस्तो लेखे: “हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।” (हिब्रू ९:२२) तर वास्तवमा बलि चढाइएको जनावरको रगतले पापहरू मेट्न र पूर्ण रूपमा सफा अन्तस्करण दिन सक्दैनथ्यो। (हिब्रू १०:१-४; ९:९, १३, १४) त्यसको ठीक विपरीत भविष्यवाणी गरिएको नयाँ करारले येसु ख्रिष्टले चढाउनुभएको फिरौतीको बलिदानको आधारमा साँचो अर्थमा क्षमा पाउन सम्भव तुल्यायो। (यर्मि ३१:३३, ३४; मत्ति २६:२८; १को ११:२५; एफि १:७) पृथ्वीमा छँदा पनि येसुले पक्षाघात भएको एक जना मान्छेलाई निको पार्दा आफूसित पापको क्षमा दिने अख्तियार भएको कुरा देखाउनुभयो।—मत्ति ९:२-७.
cf-E पृ. १८३ अनु. ४
“निरन्तर मेरो पछि लाग”
४ येसु स्वर्ग जानुभएपछि उहाँको स्वागत कसरी गरियो र आफ्नो बुबासित उहाँको फेरि भेट हुँदा त्यहाँको माहोल कस्तो थियो, त्यसबारे बाइबलमा केही पनि बताइएको छैन। तथापि येसु स्वर्ग फर्कनुभएको केही समयपछि के हुनेछ भनेर बाइबलमा पहिल्यै बताइएको थियो। पन्ध्र शताब्दीभन्दा लामो समयसम्म यहुदीहरू एउटा पवित्र समारोहको प्रत्यक्षदर्शी थिए। हरेक वर्ष प्रायश्चितको दिनमा प्रधानपुजारी त्यस दिन बलि चढाइएका जनावरहरूको रगत करारको सन्दुकअगाडि छर्कन मन्दिरको महापवित्र कोठाभित्र जान्थे। त्यस दिन प्रधानपुजारीले मसीहलाई पूर्वचित्रण गर्थे। स्वर्ग फर्कनुभएपछि येसुले सदाको लागि एकै चोटि त्यस समारोहले सङ्केत गर्ने कुरा पूरा गर्नुभयो। उहाँ ब्रह्माण्डकै सबैभन्दा पवित्र ठाउँ—स्वर्गमा यहोवाको गौरवशाली उपस्थितिसामु जानुभयो र आफूले चढाएको फिरौतीको बलिदानको मोल आफ्नो बुबासामु चढाउनुभयो। (हिब्रू ९:११, १२, २४) के यहोवाले त्यो मोल स्विकार्नुभयो?
it-2-E पृ. ६०२-६०३
पूर्णता
मोसाको व्यवस्थाको पूर्णता। मोसामार्फत इस्राएलीहरूलाई दिइएको व्यवस्थामा पुजारीगिरीको स्थापना गर्ने र विभिन्न जनावरहरूको बलि चढाउने प्रबन्ध पनि गरिएको थियो। हुनत स्वयम् परमेश्वरले नै दिनुभएको हुनाले मोसाको व्यवस्था पूर्ण अर्थात् त्रुटिरहित थियो तर परमेश्वरको प्रेरणा पाएर प्रेषित पावलले लेखेझैँ न व्यवस्थाले, न पुजारीगिरीले न त बलिदानहरूले नै व्यवस्थाको अधीनमा रहेका मानिसहरूलाई पूर्ण बनाउन सक्यो। (हिब्रू ७:११, १९; १०:१) पाप र मृत्युबाट छुटकारा दिनुको साटो व्यवस्थाले पापलाई अझ बढी प्रकट गऱ्यो। (रोमी ३:२०; ७:७-१३) तैपनि परमेश्वरले जुन उद्देश्यका लागि यी प्रबन्धहरू गर्नुभएको थियो, त्यो उद्देश्य भने ती प्रबन्धहरूले पूरा गरे। मोसाको व्यवस्था मानिसहरूलाई ख्रिष्टसम्म पुऱ्याउने “अभिभावक” अनि “आउन लागेका असल कुराहरूको” उत्कृष्ट “छाया” थियो। (गला ३:१९-२५; हिब्रू १०:१) त्यसैले “पापी मानिसहरूले गर्दा कमजोर भएको मोसाको व्यवस्थाले जे गर्न सकेन” (रोमी ८:३) भनेर लेख्दा पावलले कुन कुरालाई सङ्केत गरिरहेको हुनुपर्छ भने यहुदी प्रधानपुजारीहरू, जो मानिस नै थिए, तिनीहरूले आफूले सेवा गर्ने मानिसहरूको “पूरै उद्धार” गर्न सकेनन्। यसबारे हिब्रू ७:११, १८-२८ मा व्याख्या गरिएको छ। (मोसाको व्यवस्थाअनुसार प्रधानपुजारी बलिदान चढाउने प्रबन्धको निरीक्षण गर्न नियुक्त भएका हुन्थे र प्रायश्चितको दिनमा बलि चढाइएका जनावरको रगत लिएर महापवित्र कोठामा जान्थे।) हुनत हारुनको सन्तान—पुजारीहरूमार्फत चढाइएका बलिदानहरूले मानिसहरूलाई परमेश्वरसामु धर्मी ठहरिन मदत गऱ्यो तर त्यसले मानिसहरूलाई आफूले पाप गरेको छु भन्ने चेतनाबाट पूर्ण रूपमा मुक्त गर्न भने सकेन। यही कुरालाई सङ्केत गर्दै प्रेषित पावलले प्रायश्चितका लागि चढाइएका बलिदानहरूले “परमेश्वरका उपासकहरूलाई . . . पूर्ण बनाउन” सकेन अर्थात् तिनीहरूको अन्तस्करणलाई पूर्ण रूपमा सफा बनाउन सकेन भनी उल्लेख गरे। (हिब्रू १०:१-४; हिब्रू ९:९ तुलना गर्नुहोस्।) मानव प्रधानपुजारीहरूले पापबाट साँच्चै छुटकारा दिनको लागि चुकाउनुपर्ने फिरौतीको मूल्य तिर्न सक्दैनथे। ख्रिष्टले पुजारीको रूपमा सधैँभरि गर्नुहुने सेवा र उहाँले चढाउनुभएको अनमोल बलिदानले मात्र पापबाट साँच्चै छुटकारा दिन्छ।—हिब्रू ९:१४; १०:१२-२२.
बहुमूल्य रत्न खोजौँ
w९२-E ३/१ पृ. ३१ अनु. ४-६
पाठकहरूको प्रश्न
परमेश्वर र मानिसहरूबीच गरिने करारहरू पक्का गर्न करार गर्ने मानिसको मृत्यु हुनु आवश्यक छ भनी पावलले उल्लेख गरे। यसको एउटा उदाहरण व्यवस्थाको करार हो। यसका मध्यस्थकर्ता मोसा थिए, जसले परमेश्वर र इस्राएलीहरूबीच यो सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेले। इस्राएलीहरूलाई यस करारमा बाँधिन मदत गर्ने व्यक्ति तिनी नै थिए। त्यसैले व्यवस्थाको करार, जसको मुख्य पक्ष यहोवा परमेश्वर हुनुहुन्थ्यो, त्यो करार गर्ने मानिस मोसा थिए भन्न सकिन्छ। तर के व्यवस्थाको करार कार्यान्वयन गर्न मोसाले आफ्नो रगत बगाउनुपऱ्यो? अहँ! बरु जनावरहरूको बलि चढाइयो र मोसाको रगतको साटो ती जनावरहरूको रगत चढाइयो।—हिब्रू ९:१८-२२.
त्यसोभए यहोवा परमेश्वर र आध्यात्मिक इस्राएल राष्ट्रबीच गरिएको नयाँ करारबारे चाहिँ के भन्न सकिन्छ? येसु ख्रिष्टले यहोवा परमेश्वर र आध्यात्मिक इस्राएलबीच मध्यस्थकर्ताको गौरवशाली भूमिका निभाउनुभयो। हुनत यहोवा परमेश्वर नै यस करारको मुख्य पक्ष हुनुहुन्छ तर यो पूर्णतया येसुमा निहित छ। येसु यस करारको मध्यस्थकर्ता हुनुहुन्छ तर त्यति मात्र नभई उहाँले मानव छँदा यस करारमा सामेल हुने मानिसहरूको पहिलो समूहसित यस करारबारे प्रत्यक्ष कुराकानी गर्नुभयो। (लुका २२:२०, २८, २९) त्यसबाहेक यो करार पक्का गर्न चाहिने बलिदान चढाउन पनि येसु योग्य हुनुहुन्थ्यो। यो बलिदान जनावरहरूको थिएन बरु त्रुटिरहित मानव जीवनको थियो। त्यसैले पावलले ख्रिष्टलाई नयाँ करार गर्ने मानिस भन्नु उपयुक्त छ। ‘ख्रिष्ट स्वर्गमा अब हाम्रो तर्फबाट परमेश्वरसामु हाजिर’ हुन जानुभएपछि नयाँ करार पक्का भयो।—हिब्रू ९:१२-१४, २४.
मोसा र येसु करार गर्ने मानिसहरू हुनुहुन्छ भनेर बताउँदा पावलले ती करारहरूको मुख्य पक्ष उहाँहरू नै हुनुहुन्छ भन्न खोजिरहेका थिएनन्। वास्तवमा ती करारहरूको मुख्य पक्ष त परमेश्वर नै हुनुहुन्थ्यो। तर मोसा र येसु दुवैले ती करारहरू कार्यान्वयन गर्ने काममा महत्त्वपूर्ण भूमिका निभाउनुभयो। अनि दुवै करारको सन्दर्भमा करार गर्ने मानिसको मृत्यु हुनु आवश्यक थियो—मोसाको सट्टा जनावरहरूको बलि चढाइयो भने येसुले चाहिँ नयाँ करारमा सहभागी भएकाहरूको खातिर आफ्नै रगत चढाउनुभयो।
it-1-E पृ. २४९-२५०
बप्तिस्मा
बप्तिस्मा गर्ने बेला येसु प्रार्थना गर्दै हुनुहुन्थ्यो भनी लुकाले उल्लेख गरेका छन्। (लुका ३:२१) साथै, हिब्रूहरूलाई लेखिएको पत्रमा पावलले के लेखेका छन् भने जब येसु ख्रिष्ट “संसारमा आउनुभयो” (यसले उहाँ पृथ्वीमा जन्मनुभएको समयलाई बुझाउँदैन किनकि त्यतिबेला उहाँ यी शब्दहरू पढ्न र बोल्न सक्नुहुन्नथ्यो। बरु यसले उहाँ बप्तिस्मा गर्न आउनुभएको र सेवाको काम सुरु गर्नुभएको समयलाई बुझाउँछ) तब उहाँ भजन ४०:६-८ का (सेप्टुआजिन्ट) यी शब्दहरू भन्दै हुनुहुन्थ्यो: “तपाईँले बलिदान र भेटीहरू चाहनुभएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो। . . . हे परमेश्वर, हेर्नुहोस्, तपाईँको इच्छा पूरा गर्न म आएँ (जस्तो कि मुठामा मेरो विषयमा लेखिएको छ।)” (हिब्रू १०:५-९) येसु जन्मजात यहुदी राष्ट्रको सदस्य हुनुहुन्थ्यो र त्यो पूरै राष्ट्र परमेश्वरसित व्यवस्थाको करारमा बाँधिएको थियो। (प्रस्थ १९:५-८; गला ४:४) त्यसैले येसु बप्तिस्मा गर्नको लागि युहन्नाकहाँ आउनुहुँदा उहाँ परमेश्वरसित करारमा बाँधिइसक्नुभएको थियो। येसु मोसाको व्यवस्थाले माग गरेको कुराभन्दा पनि धेरै गर्दै हुनुहुन्थ्यो। येसु आफ्नो बुबा यहोवाको “इच्छा”-अनुसार चल्न आफैलाई उहाँमा अर्पण गर्दै हुनुहुन्थ्यो। यहोवाको त्यस इच्छामा येसुले आफ्नो निम्ति ‘तयार पारिएको’ शरीर बलिदानको रूपमा चढाउनु अनि मोसाको व्यवस्थाअन्तर्गत चढाइने जनावरहरूको बलिदानलाई रद्द गर्नु समावेश थियो। प्रेषित पावल यसो भन्छन्: “येसु ख्रिष्टले एकै चोटि सदाको लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही ‘इच्छा’-द्वारा हामी पवित्र पारिएका छौँ।” (हिब्रू १०:१०) बुबा यहोवाको इच्छामा येसु ख्रिष्टले राज्यसम्बन्धी गतिविधि अघि बढाउनु पनि समावेश थियो र यसको निम्ति पनि येसुले आफैलाई अर्पण गर्नुभयो। (लुका ४:४३; १७:२०, २१) येसुले आफूलाई अर्पण गर्नुहुँदा यहोवाले त्यो कुरा स्विकारेको देखाउँदै उहाँलाई पवित्र शक्तिले अभिषेक गर्नुभयो र यसो भन्नुभयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”—मर्कु १:९-११; लुका ३:२१-२३; मत्ति ३:१३-१७.
सेप्टेम्बर १६-२२
बाइबलमा पाइने अनमोल धन | हिब्रू ११
“विश्वास किन आवश्यक छ?”
w१३-E ११/१ पृ. ११ अनु. २-५
‘जोडतोडले उहाँको खोजी गर्नेहरूलाई इनाम दिनुहुने परमेश्वर’
यहोवा परमेश्वरलाई खुसी बनाउन के चाहिन्छ? पावलले यस्तो लेखे: “विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।” याद गर्नुहोस्, यहाँ प्रेषित पावलले विनाविश्वास परमेश्वरलाई खुसी पार्न गाह्रो छ भनेनन् बरु असम्भव छ भने। अर्को शब्दमा भन्ने हो भने, परमेश्वरलाई खुसी बनाउन विश्वास नभई हुँदैन।
यहोवालाई खुसी बनाउन कस्तो विश्वास चाहिन्छ? परमेश्वरमाथिको हाम्रो विश्वासमा दुइटा कुरा हुनु आवश्यक छ। पहिलो, हामीले “उहाँ साँच्चै हुनुहुन्छ. . .भनेर पत्यार गर्नुपर्छ।” अरू अनुवादहरूमा यस्तो लेखिएको छ: “उहाँ वास्तविक हुनुहुन्छ भनेर पत्यार गर्नुपर्छ” र “उहाँको अस्तित्व छ भनेर पत्यार गर्नुपर्छ।” परमेश्वरको अस्तित्वमाथि नै शङ्का गर्छौँ भने कसरी परमेश्वरलाई खुसी पार्न सक्छौँ र? साँचो विश्वासमा अरू कुरा पनि समावेश छ। किनकि परमेश्वर हुनुहुन्छ भन्ने कुरामा त प्रेतहरूले पनि विश्वास गर्छन्। (याकुब २:१९) परमेश्वर वास्तविक हुनुहुन्छ भन्ने कुरामाथिको विश्वासले हामीलाई कामद्वारा त्यो विश्वास देखाउन अर्थात् उहाँलाई खुसी बनाउने तरिकामा जीवन बिताउन उत्प्रेरित गर्नुपर्छ।—याकुब २:२०, २६.
दोस्रो, परमेश्वरले “इनाम दिनुहुन्छ” भन्ने कुरा पनि “पत्यार गर्नुपर्छ।” साँचो विश्वास भएको व्यक्ति परमेश्वरलाई खुसी पार्ने तरिकामा जीवन बिताउन आफूले गरेको प्रयास व्यर्थ हुँदैन भन्ने कुरामा पूर्णतया विश्वस्त हुन्छ। (१ कोरिन्थी १५:५८) हामीलाई इनाम दिन परमेश्वर सक्षम र इच्छुक हुनुहुन्छ भन्ने कुरामा शङ्का गऱ्यौँ भने कसरी परमेश्वरलाई खुसी पार्न सक्छौँ र? (याकुब १:१७; १ पत्रुस ५:७) परमेश्वर हाम्रो ख्याल राख्नुहुन्न, कदर गर्नुहुन्न र उदार हुनुहुन्न भन्ने निष्कर्षमा पुग्नेहरूले वास्तवमा बाइबलमा बताइएको परमेश्वरलाई चिनेकै हुँदैनन्।
यहोवाले कसलाई इनाम दिनुहुन्छ? “जोडतोडले उहाँको खोजी गर्नेहरूलाई” भनी पावलले बताए। बाइबल अनुवादकहरूले चलाउने एउटा स्रोत सामग्रीअनुसार ‘जोडतोडले खोजी गर्नु’ भनी अनुवाद गरिएको ग्रीक शब्दले “कतै गएर खोज्नु”-लाई बुझाउँदैन बरु “उपासना”-मार्फत परमेश्वरको नजिक जानुलाई बुझाउँछ। अर्को स्रोत सामग्रीअनुसार यहाँ उक्त ग्रीक क्रियाको जुन रूप प्रयोग गरिएको छ, त्यसले उत्कट र कडा प्रयासलाई जनाउँछ। हो, विश्वासले गर्दा सारा हृदयले र जोडतोडका साथ यहोवाको उपासना गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ।—मत्ति २२:३७.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८०४ अनु. ५
विश्वास
पुरातन समयमा विश्वास देखाएकाहरूको उदाहरण। पावलले ‘साक्षीहरूको बाक्लो बादल’-मा उल्लेख गरेका प्रत्येक व्यक्तिसित (हिब्रू १२:१) विश्वास देखाउने बलियो आधार थियो। उदाहरणको लागि, हाबिललाई “सर्पको” शिर कुच्याउने “सन्तान”-बारे परमेश्वरले गर्नुभएको प्रतिज्ञाबारे पक्कै थाह थियो। अदनको बगैँचामा आफ्नो आमाबुबालाई यहोवाले सुनाउनुभएको सजायका असरहरू तिनले स्पष्टै देखेका थिए। अदनको बगैँचाबाहिर आदम र तिनको परिवारले रोटीको लागि पसिना बगाउनुपर्थ्यो किनकि भूमि श्रापित भएको थियो अनि त्यसले काँडा र जङ्गली झार उमार्थ्यो। हव्वाले आफ्नो पतिकै तिर्सना गरेको र आदमले आफ्नी पत्नीमाथि हैकम जमाएको पनि हाबिलले देखेका थिए। अनि पक्कै पनि, दुई जीउकी हुँदाको पीडाबारे पनि तिनकी आमाले तिनलाई बताएकी हुनुपर्छ। साथै अदनको बगैँचाभित्र छिर्ने ठाउँमा करूबहरू र ज्वालामय तरबारले पहरा दिइरहेको पनि तिनले देखेका थिए। (उत्प ३:१४-१९, २४) यी सबै कुरा हाबिलको लागि “स्पष्ट प्रमाण” थियो, जसले तिनलाई ‘प्रतिज्ञा गरिएको सन्तान’-मार्फत नै छुटकारा पाइनेछ भन्ने कुरामा ढुक्क बनायो। तसर्थ, विश्वासले गर्दा तिनले कयिनले भन्दा उत्तम “बलिदान परमेश्वरलाई चढाए।”—हिब्रू ११:१, ४.
सेप्टेम्बर २३-२९
बाइबलमा पाइने अनमोल धन | हिब्रू १२-१३
“अनुशासन—यहोवाको प्रेमको प्रमाण”
w१२-E ७/१ पृ. २१ अनु. ३
“तिमीहरूले प्रार्थना गर्दा यसो भन: ‘हे बुबा’”
एक जना मायालु बुबाले आफ्नो छोराछोरीलाई अनुशासन दिन्छन्। किनकि तिनी आफ्नो छोरा वा छोरी भविष्यमा असल व्यक्ति बनोस् भन्ने चाहन्छन्। (एफिसी ६:४) यस्तो बुबा छोराछोरीलाई दृढ भई सच्याउँछन् तर कहिल्यै रुखो व्यवहार भने गर्दैनन्। त्यसैगरि, स्वर्गमा बस्नुहुने हाम्रो बुबाले पनि कहिलेकाहीँ हामीलाई अनुशासन दिनुहुन्छ। तर परमेश्वरले सधैँ प्रेमले उत्प्रेरित भएर अनुशासन दिनुहुन्छ अनि अनुशासन दिनुहुँदा कहिल्यै दुर्व्यवहार गर्नुहुन्न। आफ्नो बुबाजस्तै येसुले पनि कहिल्यै रुखो व्यवहार गर्नुभएन। येसुले सच्याउँदा उहाँका चेलाहरूले तुरुन्तै स्विकारेनन्; त्यस्तो अवस्थामा समेत उहाँले तिनीहरूसित रुखो व्यवहार गर्नुभएन।—मत्ति २०:२०-२८; लुका २२:२४-३०.
it-1-E पृ. ६२९
अनुशासन
यहोवाले आफ्ना सेवकहरूमाथि आइपर्न दिनुहुने खेदोले तिनीहरूलाई अनुशासन वा तालिम दिन्छ। यस्तो अनुशासनले धार्मिकताको मीठो फल फलाउँछ, जुन फलको आनन्द तिनीहरूले खेदो भोगिसकेपछि शान्तिपूर्ण अवस्थामा उठाउन सक्छन्। (हिब्रू १२:४-११) परमेश्वरको छोराले समेत आफ्नो बुबाले आइपर्न दिनुभएको दुःख भोगेर दयालु र सहानुभूतिशील प्रधानपुजारी हुन सिक्नुभयो।—हिब्रू ४:१५.
बहुमूल्य रत्न खोजौँ
w८९-E १२/१५ पृ. २२ अनु. १०
यहोवालाई खुसी बनाउने भेटीहरू चढाउनुहोस्
१० यहुदी रीतिथिति मान्नै पर्छ भनी सिकाउनेहरूका “थरीथरीका अनि अनौठा शिक्षाहरूको बहकाउमा” हिब्रू ख्रिष्टियनहरू पर्नु हुँदैनथ्यो। (गलाती ५:१-६) यस्ता शिक्षाहरूद्वारा नभई ‘परमेश्वरको असीम अनुग्रहद्वारा हृदय दह्रो’ हुन्छ र सत्यलाई दह्रोसित पक्रिराख्न सक्छौँ। कोही-कोही भोजन र बलिदानहरूबारे बहस गर्थे जस्तो देखिन्छ किनकि पावलले यस्तो लेखे: “भोजनलाई चाहिनेभन्दा धेरै महत्त्व दिनेहरूलाई कुनै फाइदा हुँदैन।” कुनै खानेकुरा खान मिल्छ कि मिल्दैन वा कुनै दिन मनाउनुपर्छ कि पर्दैन भन्ने विषयमा अनावश्यक चिन्ता गर्दैमा आध्यात्मिक उन्नति हुँदैन बरु परमेश्वरप्रतिको भक्ति र फिरौतीको बलिदानप्रतिको कृतज्ञताले आध्यात्मिक उन्नति हुन्छ। (रोमी १४:५-९) त्यसबाहेक, ख्रिष्टले चढाउनुभएको बलिदानले गर्दा लेवीहरूमार्फत चढाइने बलिदानहरूको कुनै अर्थ रहेन।—हिब्रू ९:९-१४; १०:५-१०.
सेप्टेम्बर ३०–अक्टोबर ६
बाइबलमा पाइने अनमोल धन | याकुब १-२
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. २५३-२५४
ज्योति
यहोवा “आकाशका ज्योतिहरूका बुबा” हुनुहुन्छ। (या १:१७) उहाँ ‘दिनमा उज्यालो होस् भनेर घाम दिनुहुने, रातमा प्रकाश छर्न जूनताराको नियम तोक्नुहुने’ (यर्मि ३१:३५) परमेश्वर मात्र नभई सबै आध्यात्मिक ज्योतिको स्रोत पनि हुनुहुन्छ। (२को ४:६) उहाँको डोऱ्याइबमोजिम चल्न चाहनेहरूका लागि उहाँका नीतिनियम, विधिविधान र वचन नै ज्योति हो। (भज ४३:३; ११९:१०५; हित ६:२३; यसै ५१:४) भजनहारले यस्तो लेखे: “तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।” (भज ३६:९; भज २७:१; ४३:३ तुलना गर्नुहोस्।) जसरी घाम उदाएदेखि “मध्याह्न नभएसम्म” घामको उज्यालो झन्झनै चहकिलो हुँदै जान्छ, त्यसैगरि ईश्वरीय बुद्धिले ज्योति दिएको धर्मीको बाटो पनि झन्झनै चहकिलो हुँदै जान्छ। (हित ४:१८) यहोवाले दिनुहुने ज्योतिमा हिँड्नुको अर्थ उहाँले देखाउनुभएको मार्गमा चल्नु हो। (यसै २:३-५) अर्कोतर्फ, यदि कुनै व्यक्ति दुष्ट नजरले वा खराब मनसायले कुनै कुरालाई हेर्छ भने उक्त व्यक्ति आध्यात्मिक अर्थमा घोर अन्धकारमा हुन्छ। येसुले यसो भन्नुभयो: “यदि तिम्रो आँखा ईर्ष्यालु [शा., “खराब; दुष्ट,” फुटनोट] छ भने तिम्रो पूरै शरीर अँध्यारो हुनेछ। यदि तिम्रो आँखा नै अँध्यारो छ भने तिम्रो शरीर झन् कत्ति अँध्यारो होला!”—मत्ति ६:२३; व्य १५:९; २८:५४-५७; हित २८:२२; २प २:१४ तुलना गर्नुहोस्।
it-2-E पृ. २२२ अनु. ४
व्यवस्था
“शाही व्यवस्था।” जसरी राजा अरू मानिसहरूभन्दा श्रेष्ठ र महत्त्वपूर्ण हुन्छन्, त्यसरी नै शाही व्यवस्था पनि मानिसहरूबीचको सम्बन्धको सन्दर्भमा दिइएका अन्य नियमहरूभन्दा श्रेष्ठ र महत्त्वपूर्ण छ। (याकु. २:८) व्यवस्थाको करारको मुख्य सार प्रेम थियो। अनि “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” (शाही व्यवस्था) भनेर दिइएको आज्ञा मोसाको व्यवस्थाका सबैभन्दा महत्त्वपूर्ण आज्ञाहरूमध्ये दोस्रो हो, जुन आज्ञाहरूमा सारा व्यवस्था र भविष्यवक्ताहरूको शिक्षा अडिएको छ। (मत्ति २२:३७-४०) अहिले ख्रिष्टियनहरू व्यवस्थाको करारको अधीनमा छैनन्। तर तिनीहरू नयाँ करारको आधारमा राजा यहोवा र उहाँको छोरा राजा येसु ख्रिष्टको व्यवस्थाको अधीनमा भने छन्।