प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr20 जनवरी pp. १-५
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०२०)
  • उपशीर्षकहरू
  • जनवरी ६-१२
  • जनवरी १३-१९
  • जनवरी २०-२६
  • जनवरी २७–फेब्रुअरी २
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०२०)
mwbr20 जनवरी pp. १-५

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

जनवरी ६-१२

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १-२

“यहोवाले पृथ्वीमा जीवन सृष्टि गर्नुभयो”

it-1-E पृ. ५२७-५२८

सृष्टि

सृष्टिको पहिलो दिनमा परमेश्‍वरले “उज्यालो होस्‌” भन्‍नुहुँदा प्रकाशले बादलको सतहलाई छेडेको हुनुपर्छ। तर त्यो प्रकाशको स्रोत पृथ्वीको सतहबाट अझै पनि देख्न सकिँदैन थियो। अनुवादक जे. डब्लु. वाट्‌सले बताएझैँ यो क्रमिक रूपमा भएको हुनुपर्छ। तिनले यसो भने: “यसरी क्रमिक रूपमा ज्योति अस्तित्वमा आयो।” (उत्प १:३, उत्पत्तिको पृथक अनुवाद) परमेश्‍वरले उज्यालो र अँध्यारोलाई छुट्ट्याउनुभयो अनि उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्‍नुभयो। पृथ्वी आफ्नो अक्षमा घुम्थ्यो र सूर्यको परिक्रमा गर्थ्यो भनेर यसबाट थाह हुन्छ, जसको कारण पृथ्वीको पूर्वी र पश्‍चिमी गोलार्द्धमा दिन र रात हुने गर्थ्यो।—उत्प १:३, ४.

सृष्टिको दोस्रो दिनमा परमेश्‍वरले पानीको बीचमा एक अन्तर बनाउनुभयो, जसले “पानीलाई दुई भागमा” छुट्ट्यायो। पानी केही मात्रामा पृथ्वीको सतहमै रह्‍यो तर पानीको ठूलो मात्रा पृथ्वीको सतहभन्दा निकै माथि उचालियो। पानीका यी दुई तहको बीचमा एउटा अन्तर बन्यो। परमेश्‍वरले त्यस अन्तरलाई आकाश भन्‍नुभयो। अन्तरमाथिको पानीले बाहिरी अन्तरिक्षमा भएका ताराहरू वा अन्य वस्तुलाई समेटेको थिएन त्यसैले आकाश पृथ्वीको सतहदेखि पानीको माथिल्लो तहसम्म मात्रै सीमित थियो।—उत्प १:६-८.

सृष्टिको तेस्रो दिनमा परमेश्‍वरको विस्मयकारी शक्‍तिले गर्दा पृथ्वीको सतहमा भएको पानी एक ठाउँमा जम्मा भयो र सुक्खा जमिन देखा पऱ्‍यो। परमेश्‍वरले त्यसलाई भूमि भन्‍नुभयो। साथै तेस्रो दिनमा परमेश्‍वरले संयोगवश हुने कुनै परिवर्तन वा क्रमविकासको माध्यमबाट नभई पृथ्वीमा भएका तत्त्वका अणुहरूमा जीवनको प्रक्रिया सुरु गरेर घाँसपात, बोटबिरुवा र फल दिने रूखहरू बनाउनुभयो। यी तीन सामान्य वर्गअनुसारै वनस्पतिलाई “किसिम-किसिमका” घाँसपात, बोटबिरुवा र रूखहरू पुनरुत्पादन गर्न सक्नेगरि बनाइयो।—उत्प १:९-१३.

it-1-E पृ. ५२८ अनु. ५-८

सृष्टि

रोचक कुरा, उत्पत्ति १:१६ मा “सृष्टि गर्नु” भन्‍ने अर्थ लाग्ने हिब्रू क्रिया “बारा” प्रयोग गरिएको छैन। बरु “बनाउनु” भन्‍ने अर्थ लाग्ने हिब्रू क्रिया “आसा” प्रयोग गरिएको छ। उत्पत्ति १:१ मा उल्लेख गरिएको “आकाश”-अन्तर्गत सूर्य, पृथ्वी र ताराहरू पनि पर्छन्‌। त्यसैले चौथो दिन सुरु हुनुभन्दा निकै अघि ती सृष्टि भइसकेका थिए। चौथो दिनमा परमेश्‍वरले सूर्य र ताराहरूको ज्योतिलाई पृथ्वीमाथिको अन्तर हुँदै पृथ्वीको सतहसम्म पुग्न सम्भव तुल्याउनुभयो। यस अर्थमा उहाँले चौथो दिनमा ती “बनाउनुभयो।” “परमेश्‍वरले ती ज्योतिहरू आकाशमा राख्नुभयो” भन्‍नुको अर्थ ती ज्योतिहरू अब पृथ्वीको सतहबाट देखिन सक्ने भए र ती पृथ्वीमाथिको अन्तरमै थिए जस्तो देखिन्थ्यो। साथै ती ज्योतिहरूले “ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा” काम गर्ने थिए, जुन पछि गएर मानिसहरूको लागि विभिन्‍न तरिकाले उपयोगी हुने थियो।—उत्प १:१४.

पाँचौँ दिनमा परमेश्‍वरले पृथ्वीमा पहिलो पटक जीवजन्तु सृष्टि गर्नुभयो। त्यसबेला परमेश्‍वरले एउटा मात्रै जन्तु सृष्टि गरेर त्यसैबाट विभिन्‍न किसिमका जीवजन्तु विकास हुनेगरि बनाउनुभएको थिएन। बरु पृथ्वी जीवजन्तुले भरिनेगरि आफ्नो शक्‍तिद्वारा विभिन्‍न किसिमका जीवजन्तुहरू सृष्टि गर्नुभयो। विवरण यसो भन्छ: “परमेश्‍वरले समुद्रमा बस्ने जातजातका विशाल जलजन्तु र पानीमा झुन्डझुन्ड बनाएर पौडने जातजातका जलजन्तु सृष्टि गर्नुभयो। साथै उहाँले आकाशमा उड्‌ने जातजातका जीवहरू पनि सृष्टि गर्नुभयो।” परमेश्‍वरलाई ती कुराहरू राम्रो लाग्यो र उहाँले तिनीहरूलाई “वृद्धि हुँदै . . . जाओ” भनेर आशिष्‌ दिनुभयो। परमेश्‍वरले जातजातका यी जीवहरूलाई प्रजनन क्षमतासित सृष्टि गर्नुभएकोले ती जीवहरू आ-आफ्नै जातअनुसार वृद्धि हुँदै जान सक्थे।—उत्प १:२०-२३.

छैटौँ दिनमा “परमेश्‍वरले पृथ्वीमा जातजातका जङ्‌गली जनावर, जातजातका घरपालुवा जनावर र जातजातका घस्रने जीवजन्तु बनाउनुभयो।” परमेश्‍वरले सृष्टि गर्नुभएका अरू कुराहरू जस्तै ती पनि राम्रा थिए।—उत्प १:२४, २५.

सृष्टिको छैटौँ दिनको अन्ततिर परमेश्‍वरले बिलकुलै फरक किसिमको जीव सृष्टि गर्नुभयो, जुन जनावरहरूभन्दा उत्कृष्ट तर स्वर्गदूतहरूभन्दा केही कम थियो। त्यो जीव मानिस थियो। परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा अनि आफूजस्तै सृष्टि गर्नुभयो। उत्पत्ति १:२७ मा परमेश्‍वरले “पुरुष र स्त्री बनाउनुभयो” भनेर संक्षिप्त विवरण दिइएको छ। तर उत्पत्ति २:७-९ मा भएको समानान्तर विवरण हेऱ्‍यौँ भने परमेश्‍वरले मानिसलाई माटोबाट बनाउनुभयो, तिनको नाकमा जीवनको सास फुकिदिनुभयो अनि तिनी जीवित मानिस भए भनेर बताइएको पाउँछौँ। तिनको लागि बगैँचारूपी घर र खानेकुराको प्रबन्ध गरिएको थियो। मानिस बनाउन उहाँले पृथ्वीमा भएको तत्त्व प्रयोग गर्नुभयो अनि मानिसलाई बनाइसकेपछि उहाँले पहिलो मानिस आदमको एउटा करङ निकालेर त्यसबाट एउटी स्त्री बनाउनुभयो। (उत्प २:१८-२५) स्त्रीको सृष्टि भएपछि मानिस पूर्ण रूपमा एउटा छुट्टै “जातको” जीव बन्यो।—उत्प ५:१, २.

बहुमूल्य रत्न खोजौँ

w१५-E ६/१ पृ. ५

विज्ञानले तपाईँको जीवनलाई कसरी असर गर्छ?

पृथ्वी र ब्रह्‍माण्डको आयु

वैज्ञानिकहरूले अनुमान लगाएअनुसार पृथ्वीको आयु करिब ४ अरब वर्ष भयो अनि ब्रह्‍माण्डको आयु १३ देखि १४ अरब वर्ष भयो। बाइबलमा ब्रह्‍माण्ड सृष्टि भएको कति भयो भनेर बताइएको छैन। अनि पृथ्वीको आयु केही हजार वर्ष मात्रै भयो भनेर बाइबलमा कतै पनि दाबी गरिएको छैन। बाइबलको सबैभन्दा पहिलो पदमा यसो भनिएको छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) बाइबलको यो सरल अभिव्यक्‍ति र वैज्ञानिकहरूले विज्ञानका भरपर्दा सिद्धान्तहरूको आधारमा पत्ता लगाएको भौतिक सृष्टिको आयु एकआपसमा बाझिँदैन।

it-2-E पृ. ५२

येसु ख्रिष्ट

सह-सृष्टिकर्ता हुनुहुन्‍न। येसुले सृष्टिको काममा भाग लिनुभएको भए तापनि उहाँ सह-सृष्टिकर्ता भने हुनुहुन्‍न। परमेश्‍वरको पवित्र शक्‍ति अर्थात्‌ उहाँको सक्रिय शक्‍तिद्वारा येसुले सृष्टि गर्ने शक्‍ति पाउनुभयो। (उत्प १:२; भज ३३:६) अनि सबै जीवित थोकको सृष्टिकर्ता यहोवा नै हुनुभएकोले दृश्‍य र अदृश्‍य सबै जीवले यहोवाबाटै जीवन पाएका हुन्‌। (भज ३६:९) त्यसैले येसु सह-सृष्टिकर्ता नभई कारिगर हुनुहुन्छ, जसलाई सृष्टिकर्ता यहोवाले सृष्टिको काममा प्रयोग गर्नुभयो। सम्पूर्ण धर्मशास्त्रले जस्तै येसु आफैले पनि सृष्टिको श्रेय यहोवालाई नै दिनुभयो।—मत्ति १९:४-६.

जनवरी १३-१९

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३-५

“पहिलो झूटले ल्याएको भयावह नतिजा”

w१२-E ९/१ पृ. ४ अनु. २

परमेश्‍वर स्त्रीहरूको वास्ता गर्नुहुन्छ?

के स्त्रीहरूलाई परमेश्‍वरले श्राप दिनुभएको हो?

होइन। बरु ‘दियाबल भनिने पुरानो सर्पलाई’ परमेश्‍वरले “श्रापित” ठहराउनुभएको हो। (प्रकाश १२:९; उत्पत्ति ३:१४) आदमले आफ्नी पत्नीमाथि “हैकम जमाउनेछ” भनेर परमेश्‍वरले भन्‍नुको अर्थ पुरुषले स्त्रीमाथि गर्ने दमनलाई उहाँ समर्थन गर्नुहुन्छ भन्‍ने होइन। (उत्पत्ति ३:१६) पापको कारण त्यस पहिलो दम्पतीले भोग्नुपर्ने असरबारे मात्रै उहाँले बताइरहनुभएको थियो।

it-2-E पृ. १८६

प्रसववेदना

बच्चा जन्माउने बेलामा हुने पीडा। पाप गरेपछि पहिलो स्त्री हव्वाले बच्चा जन्माउने बेला भोग्नुपर्ने नतिजाबारे परमेश्‍वरले तिनलाई बताउनुभयो। तिनी आज्ञाकारी भइरहेकी भए परमेश्‍वरको आशिष्‌ पाइरहने थिइन्‌ अनि बालक जन्माउँदा खुसीसँगसँगै पीडा हुने थिएन किनकि “यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।” (हित १०:२२) तर पाप गरेपछि शरीरले त्रुटिरहित तरिकामा काम नगर्ने भएकोले पीडा भोग्नुपर्ने भयो। त्यसैले परमेश्‍वरले यसो भन्‍नुभयो (परमेश्‍वरले हुन दिनुभएको कुरालाई अक्सर परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कुराजस्तै गरी उल्लेख गरिएको छ): “तिमी दुई जीउकी हुँदा म तिम्रो पीडा असाध्यै बढाइदिनेछु। बच्चा जन्माउने बेला तिमीलाई निकै कष्ट हुनेछ।”—उत्प ३:१६.

बहुमूल्य रत्न खोजौँ

it-2-E पृ. १९२ अनु. ५

लेमेक

लेमेकले आफ्नी पत्नीहरूको लागि रचेको कविताले (उत्प ४:२३, २४) त्यसबेलाका मानिसहरूको हिंस्रक मनोभाव झल्काउँछ। तिनले यस्तो कविता रचे: “हे मेरा पत्नीहरू हो, सुन, मेरो कुरामा कान थाप, मलाई घाइते बनाउने मान्छेलाई मैले मारेँ, ममाथि आइलाग्ने जवान मान्छेलाई मैले पछारेँ। कयिनलाई मार्नेसित ७ गुणा बदला लिइनेछ भने लेमेकलाई मार्नेसित ७७ गुणा।” लेमेकले आफ्नो सफाइ दिनको लागि यसो भनेको हुनुपर्छ। कयिनले जस्तो आफूले जानाजानी हत्या गरेको होइन भनेर तिनले भन्‍न खोजिरहेका हुन सक्छन्‌। लेमेकले आफूमाथि आइलाग्ने र आफूलाई घाइते बनाउने मानिसबाट जोगिनको लागि त्यस मानिसको हत्या गरेको कुरा बताए। त्यसैले आक्रमणकारीलाई मारेकोमा कसैले तिनीसित बदला नलेओस्‌ भनेर यस कविताद्वारा तिनले बिन्ती गरिरहेका थिए।

it-1-E पृ. ३३८ अनु. २

ईश्‍वरनिन्दा

जलप्रलय आउनुअघि एनोसको समयमा “मानिसहरूले यहोवा परमेश्‍वरको नाम पुकार्न थाले” भनेर बताइएको पाउँछौँ। तर ती मानिसहरूले परमेश्‍वरको स्तरअनुरूप सही तरिकाले उहाँको नाम पुकार्न थालेका हुन सक्दैनन्‌। किनकि त्योभन्दा धेरै अघि नै हाबिलले परमेश्‍वरको नाम पुकारेर उहाँको खोजी गर्न थालिसकेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (उत्प ४:२६; हिब्रू ११:४) केही शास्त्रविद्‌ले बताएअनुसारै यदि मानिसहरूले यहोवाको नामको दुरुपयोग गर्दै यसलाई मानिस वा मूर्तिको नामको रूपमा प्रयोग गरेका थिए भने त्यो ईश्‍वरनिन्दा गरेको ठहरिने थियो।

जनवरी २०-२६

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ६-८

“नुहले त्यसै गरे”

w१३-E ४/१ पृ. १४ अनु. १

“तिनी साँचो परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌थे।”

जहाज बनाउने काम सिध्याउन ४० देखि ५० वर्ष लागेको हुनुपर्छ। त्यसको लागि रूखहरू काट्‌नुपर्थ्यो, बोक्नुपर्थ्यो, विभिन्‍न आकारमा काठ तयार पार्नुपर्थ्यो अनि त्यसलाई ठीक ठाउँमा जडान गर्नुपर्थ्यो। जहाज तीन तल्लाको हुनुपर्थ्यो, त्यसभित्र थुप्रै कोठाहरू बनाउनुपर्थ्यो अनि त्यसको एकापट्टि ढोका पनि बनाउनुपर्थ्यो। जहाजको माथिल्ला भागहरूमा झ्याल पनि बनाइएको हुनुपर्छ अनि जहाजको छाना पानी बग्ने किसिमले बीचबाट थोरै भिरालो गरी बनाइएको हुनुपर्छ।—उत्पत्ति ६:१४-१६.

जनवरी २७–फेब्रुअरी २

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ९-११

“पृथ्वीका सबै मानिसको भाषा एउटै थियो”

it-1-E पृ. २३९

महान्‌ बेबिलोन

प्राचीन बेबिलोनका विशेषताहरू। मानिसहरूले सिनारको बेँसीमा बेबिलोन सहर स्थापना गरेको समयमै त्यहाँ बाबेलको धरहरा बनाउन सुरु गरेका थिए। (उत्प ११:२-९) मानिसहरूले त्यहाँ धरहरा बनाउनु र सहर बसाल्नुको उद्देश्‍य परमेश्‍वरको नामको महिमा गर्नु नभई आफ्नै निम्ति ‘ठूलो नाम कमाउनु’ थियो। प्राचीन बेबिलोनको भग्नावशेषका साथै मेसोपोटामियाका अन्य इलाकाहरूमा जिगुरात धरहराहरू उत्खनन गरिएका छन्‌। सुरुमा बनाइएको बाबेलको धरहरा जस्तोसुकै आकार वा ढाँचामा बनाइएको भए तापनि त्यो धार्मिक उद्देश्‍यले बनाइएको थियो भन्‍ने कुरा उत्खनन गरिएका ती धरहराहरूबाट थाह हुन्छ। त्यस मन्दिरको निर्माणलाई रोक्न यहोवा परमेश्‍वरले ठोस कदम चाल्नुभएको कुराबाट त्यो झूटो धर्मसित सम्बन्धित थियो भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यस सहरलाई दिइएको हिब्रू नाम बाबेलको अर्थ “गोलमाल” हो भने त्यसको सुमेरी नाम (कादिङ्‌इरा) र अक्काडियन नाम (बाबिलु) दुवैको अर्थ “परमेश्‍वरको ढोका” हो। त्यस सहरलाई दिइएको हिब्रू नाम त्यहाँका बासिन्दाहरूले पाएको सजायसित जोडिएकोले त्यहाँ बाँकी रहेका बासिन्दाले त्यसको मौलिक नामलाई परिवर्तन गरे। तर त्यस नामको नयाँ वा परिवर्तित रूपले पनि त्यो सहर धर्मसित सम्बन्धित थियो भनेर देखाउँछ।

it-2-E पृ. २०२ अनु. २

भाषा

उत्पत्तिको किताबमा जलप्रलयपछिको समयमा केही मानिसहरू एकत्रित भएको विवरण पाउँछौँ। ती मानिसहरू परमेश्‍वरको इच्छाविपरित अनि उहाँले नुह र तिनका छोराहरूलाई दिनुभएको आशिष्‌विपरित एउटा अभियानमा लागे। (उत्प ९:१) तिनीहरूले फैलिएर ‘पृथ्वीमा भरिँदै जानुको’ साटो मानव परिवारलाई एकै ठाउँमा जम्मा गर्ने अठोट गरे अनि मेसोपोटामियाको सिनार भन्‍ने ठाउँमा भएको मैदानमा बसोबास गर्न थाले। अन्ततः त्यो एउटा धार्मिक केन्द्र हुने थियो र त्यहाँ मन्दिरको रूपमा एउटा धरहरा बनाइने थियो।—उत्प ११:२-४.

it-2-E पृ. २०२ अनु. ३

भाषा

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले तिनीहरूको यो महत्त्वाकाङ्‌क्षी योजनालाई भताभुङ्‌ग पारिदिनुभयो। उहाँले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूले एकजुट भएर काम गर्न सकेनन्‌। यसले गर्दा त्यो कामलाई एकसाथ मिलेर अघि बढाउन असम्भव भयो र ती मानिसहरू पृथ्वीको चारैतिर छरिए। ती मानिसहरूको भाषा खलबल पारिएकोले परमेश्‍वरको इच्छाविपरीतका कामहरूमा अघि बढ्‌ने अनि प्रगति गर्ने तिनीहरूको योजनामा पनि बाधा पुग्ने थियो। ती मानिसहरूले एकजुट भएर आफ्नो बौद्धिक र शारीरिक क्षमता प्रयोग गर्न सक्ने थिएनन्‌ र आफ्ना महत्त्वाकाङ्‌क्षी योजनाहरूलाई अघि बढाउन सक्ने थिएनन्‌। साथै विभिन्‍न भाषा बोल्ने समूहका मानिसहरूलाई आफ्नो अनुभव र अनुसन्धानबाट हासिल गरेको ज्ञान एक-आपसमा बाँड्‌न गाह्रो हुने थियो, जुन ज्ञान तिनीहरूले परमेश्‍वरबाट पाएका थिएनन्‌। (उप ७:२९; व्य ३२:५ तुलना गर्नुहोस्‌) भाषा खलबल पारिएकोले मानव समाज विभाजित भए तापनि यसले मानिसहरूलाई खतरनाक अनि हानिकारक योजनाहरूको पछि लाग्नदेखि रोक्यो। यस अर्थमा भाषाको गोलमालले वास्तवमा मानव समाजलाई फाइदा पुऱ्‍यायो। (उत्प ११:५-९; यसै ८:९, १० तुलना गर्नुहोस्‌) वर्तमान समयमा पनि मानिसहरूले आफूले हासिल गरेको ज्ञान एकआपसमा बाँडेर त्यसको दुरुपयोग गरेकोले थुप्रै नराम्रा नतिजाहरू भोग्नुपरेको छ। यो कुरा विचार गर्दा, बाबेलका मानिसहरूलाई आफ्नो योजनाअनुसार चलिरहन दिएको भए नतिजा कस्तो हुन सक्थ्यो भनेर यहोवाले धेरै अघि नै थाह पाइसक्नुभएको हुनुपर्छ।

it-2-E पृ. ४७२

राष्ट्रहरू

मानिसहरूको भाषा एकअर्कासित नमिल्ने भएकोले हरेक भाषाका मानिसहरूको आ-आफ्नै संस्कृति, कला, प्रचलन, आनीबानी र धर्म विकास भयो। हरेकले आ-आफ्नै तरिकाअनुसार जीवनयापन गर्न थाले। (लेवी १८:३) साँचो परमेश्‍वरबाट टाढा भएकोले मानिसहरूले झूटा देवताहरूका थुप्रै मूर्तिहरू बनाए।—व्य १२:३०; २रा १७:२९, ३३.

बहुमूल्य रत्न खोजौँ

it-1-E पृ. १०२३ अनु. ४

हाम

त्यस घटनामा कनान प्रत्यक्ष रूपमा सहभागी भएका हुन सक्छन्‌ र तिनका बुबा हाम तिनलाई अनुशासन दिन चुकेका हुन सक्छन्‌। अथवा हाममा भएको नराम्रो झुकाव, जुन सम्भवतः तिनको छोरा कनानमा पनि देखा परिसकेको थियो, त्यो झुकाव कनानका सन्तानहरूमा पनि देखा पर्नेछ भनेर नुहले परमेश्‍वरको प्रेरणाद्वारा भविष्यसूचक ढङ्‌गमा बताएका हुन सक्छन्‌। इस्राएलीहरूले कनानीहरूलाई हराउँदा नुहले दिएको श्राप केही हदसम्म पूरा भयो। त्यसबेला बचेकाहरूलाई (उदाहरणको लागि, गिबोनीहरू [यहो ९]) इस्राएलको दास बनाइयो। शताब्दियौँपछि यापेतको वंशबाट आएका विश्‍वशक्‍तिहरू मादी-फारस, ग्रीस र रोमले हामको छोरा कनानको वंशका मानिसहरूलाई आफ्नो अधीनमा राख्दा नुहले दिएको श्रापको थप पूर्ति भयो।

it-2-E पृ. ५०३

निम्रोद

निम्रोदले सुरुमा शासन गरेका सहरहरू बाबेल, एरेक, अक्कद र कल्नेह थिए। यी सबै सहर सिनारको इलाकामा पर्थे। (उत्प १०:१०) त्यसैले बाबेल सहर र त्यसको धरहरा निम्रोदकै निर्देशनमा बनाइएको हुन सक्छ। यो कुरा परम्परागत यहुदी विचारधारासित पनि मेल खान्छ। इतिहासकार जोसेफसले यस्तो लेखे: “[निम्रोदले] अलि अलि गर्दै सबै कुरामा नियन्त्रण जमाउन थाले र निरङ्‌कुश शासक बने। मानिसहरूलाई निरन्तर तिनकै शक्‍तिमा भर पर्न लगाउने हो भने मात्रै तिनीहरूले परमेश्‍वरको डर मान्‍न छोड्‌नेछन्‌ भनेर तिनले सोचे। परमेश्‍वरले पृथ्वीलाई फेरि जलमग्न बनाउने विचार गर्नुभयो भने उहाँसित बदला लिने धम्की निम्रोदले दिए। तिनी पानीले डुबाउन नसक्ने अग्लो धरहरा बनाएर पितापुर्खाहरूको विनाशको बदला लिन चाहन्थे। निम्रोदको यो योजनालाई मानिसहरूले उत्साहका साथ समर्थन गरे किनकि परमेश्‍वरको अधीनमा बस्नु भनेको दास हुनुबराबर हो भनेर तिनीहरूले सोचे। त्यसैले तिनीहरूले धरहरा बनाउन सुरु गरे . . . र त्यो काम मानिसहरूले आशा गरेको भन्दा कता हो कता द्रुत गतिमा अघि बढ्यो।”—यहूदी इतिहास (ग्रीक) पुस्तक १, अध्या. ४ अनु. २, ३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने