जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जून १-७
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४४-४५
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ८१३
लुगा च्यात्नु
यहुदीहरूले र अन्य मध्यपूर्वी देशका मानिसहरूले आफन्तको मृत्युको खबर सुन्दा शोक व्यक्त गर्न लुगा च्यात्ने गर्थे। प्रायजसो अवस्थामा लुगा लगाउनै नमिल्ने गरी पूरै च्यातिँदैन थियो बरु छाती देखिनेगरि लुगाको अगाडिको भाग अलिकति मात्र च्यातिन्थ्यो।
यस्तो चलनबारे बाइबलमा पहिलो चोटि याकुबको जेठो छोरा रुबेनले आफ्नो भाइ युसुफलाई खाडलमा नभेट्दा आफ्नो लुगा च्यातेको घटनामा उल्लेख गरिएको छ। त्यसबेला तिनले यसो भनेका थिए: “लौ! भाइ त छैन! अब म के गरूँ?” रुबेन जेठो भएकोले आफ्नो भाइको हेरविचार गर्ने जिम्मेवारी तिनको थियो। याकुबले छोराहरूबाट युसुफको मृत्युको खबर सुनेर आफ्नो लुगा च्याते अनि शोक मनाउन भाङ्ग्रा बेरे (उत्प ३७:२९, ३०, ३४)। साथै मिश्रमा चोरी भएको कचौरा बिन्यामिनको धोक्रोमा फेला पर्दा तिनका सौतेनी दाइहरूले आफ्नो लुगा च्यातेर दुःख व्यक्त गरे।—उत्प ४४:१३.
भाषण
w०६-E २/१ पृ. ३१
पाठकहरूको प्रश्न
उत्पत्ति ४४:५ ले देखाएअनुसार के युसुफ शकुन-अपशकुन पत्ता लगाउन चाँदीको विशेष कचौरा प्रयोग गर्थे?
युसुफ तन्त्रमन्त्र गर्थे भनेर विश्वास गर्न सकिने कुनै आधार छैन।
बाइबलले भविष्य थाह पाउन तन्त्रमन्त्र गर्ने सम्बन्धमा युसुफको धारणाबारे प्रस्ट पार्छ। पहिला पनि फारोको सपनाको अर्थ खोल्न लगाइँदा युसुफले परमेश्वरले मात्र भविष्यमा हुने घटनाहरू ‘सुनाउन’ सक्नुहुन्छ भनेर बारम्बार बताएका थिए। त्यसैले युसुफले भविष्य बताउन सक्नुको पछाडि तन्त्रमन्त्र नभई तिनले उपासना गर्ने साँचो परमेश्वरको मदतले हो भनेर फारोले बुझे। (उत्पत्ति ४१:१६, २५, २८, ३२, ३९) पछि यहोवाले मोसालाई दिनुभएको व्यवस्थामा जादु वा तन्त्रमन्त्र गर्न निषेध गर्नुभयो। यसरी यहोवाले भविष्यबारे थाह दिन सक्ने उहाँ मात्र हुनुहुन्छ भनेर प्रमाणित गर्नुभयो।—व्यवस्था १८:१०-१२.
त्यसोभए युसुफले किन आफ्नो घरको रेखदेख गर्ने मानिसलाई तिनले ‘कचौराबाट पिएर शकुन-अपशकुन पत्ता लगाउँथे’ भन्न पठाए?a (उत्पत्ति ४४:५) त्यसको कारण थाह पाउन युसुफले कस्तो अवस्थामा त्यसो भनेका थिए भनेर बुझ्नु आवश्यक छ।
अनिकाल परेकोले युसुफका दाइहरू मिश्रमा खानेकुरा खोज्न आएका थिए। धेरै वर्षअघि ती नै दाइहरूले युसुफलाई बेचेका थिए। युसुफ अहिले मिश्रको अन्न भण्डारहरूको रेखदेख गर्ने प्रमुख व्यक्ति भएका थिए। त्यसैले दाइहरूले अनजानमै आफ्नो भाइसँग मदत मागिरहेका थिए। युसुफले आफूलाई चिनाएनन् बरु तिनीहरूको परीक्षा लिने निर्णय गरे। तिनी दाइहरूले साँचो पश्चात्ताप गरेका छन् कि छैनन् भनेर जान्न चाहन्थे। तिनी दाइहरूले आफ्नो भाइ बिन्यामिनलाई र उनलाई असाध्यै माया गर्ने बुबा याकुबलाई कति माया गर्थे भनेर पनि थाह पाउन चाहन्थे। त्यसैले तिनले एउटा चाल चले।—उत्पत्ति ४१:५५–४४:३.
युसुफले आफ्ना दासहरूलाई दाइहरूको धोक्रोमा अन्न भरिदिन, उनीहरूको पैसा धोक्रोको मुखमा हालिदिन अनि बिन्यामिनको धोक्रोमा चाँदीको कचौरा राख्न आज्ञा दिए। यतिबेलासम्म युसुफ अन्यजातिको देशको एक जना अख्तियारवालाको रूपमा प्रस्तुत भइरहेका थिए। तिनले एक जना उच्च अख्तियारवालाले जस्तै व्यवहार गरे र त्यसरी नै बोले।
दाइहरूलाई युसुफसामु ल्याइँदा तिनले अख्तियारवालाले जस्तै तिनीहरूलाई सोधे: “मैले शकुनहरू हेर्न जानेको छु भनेर तिमीहरूलाई थाह थिएन?” (उत्पत्ति ४४:१५) त्यसैले त्यो कचौरा युसुफको चालको एउटा भाग मात्र थियो। युसुफले न त्यो कचौराबाट शकुन-अपशकुन हेर्थे न त बिन्यामिनले त्यो कचौरा चोरेका नै थिए।
जून ८-१४
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४६-४७
w८७-E ५/१ पृ. १५ अनु. २
मानिसहरू अनिकालको समयमा कसरी जीवित रहे?
२ यहोवाले भविष्यवाणी गर्नुभएझैँ सात वर्ष लामो सहकाल सकिएपछि अनिकाल सुरु भयो र मिश्रलगायत “सारा संसारमा अनिकाल पऱ्यो।” अनिकालको चपेटामा परेका मानिसहरू अन्नको लागि फारोलाई गुहार्दा तिनले तिनीहरूलाई यसो भने: “युसुफकहाँ जाओ र तिनी जसो भन्छन्, त्यसै गर!” युसुफले मानिसहरूलाई अन्न बेच्न थाले। पैसा सकिएपछि तिनीहरूले आफ्नो गाईवस्तु दिएर अन्न किने। अन्तमा मानिसहरू युसुफकहाँ आएर यस्तो बिन्ती गरे: “हामी र हाम्रो जग्गाजमिन किन्नुहोस् र हामीलाई खानेकुरा दिनुहोस्। हामी फारोको दास हुनेछौँ अनि हाम्रो जग्गाजमिन पनि फारोकै हुनेछ।” यसरी युसुफले मिश्रको सबै जग्गाजमिन फारोको नाममा किने।—उत्पत्ति ४१:५३-५७; ४७:१३-२०.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. २२० अनु. १
मनोभाव र हाउभाउ
आफ्नो हातले मरेको मानिसको आँखा बन्द गरिदिनु। यहोवाले याकुबलाई “युसुफले आफ्नै हातले तिम्रो आँखा बन्द गरिदिनेछन्” (उत्प ४६:४) भन्नुको अर्थ याकुबको मृत्युपछि युसुफले तिनको आँखा बन्द गरिदिएर जेठो छोराको कर्तव्य पूरा गर्नेछन् भन्ने हो। यसबाट के प्रस्ट हुन्छ भने ज्येष्ठ अधिकार युसुफलाई दिइनेछ भनेर यहोवाले सङ्केत गर्दै हुनुहुन्थ्यो।—१इ ५:२.
nwtsty प्रे ७:१४ को अध्ययन नोट
जम्माजम्मी ७५ जनालाई: स्तिफनसले मिश्रमा याकुबको परिवारको कुल सङ्ख्या ७५ जना थियो भनेर बताए। सायद तिनले यो कुरा हिब्रू धर्मशास्त्रको कुनै पदबाट उल्लेख गरेका थिएनन्। यो सङ्ख्या हिब्रू धर्मशास्त्रको मेसोरेटिक लेखोटमा पाइँदैन। उत्प ४६:२६ मा यस्तो लेखिएको छ: “यसरी याकुबका जम्माजम्मी ६६ जना सन्तान मिश्र गएका थिए। यसमा तिनका बुहारीहरूको गन्ती गरिएको छैन।” पद २७ मा यस्तो लेखिएको छ: “यसरी मिश्रमा याकुबका सन्तानको सङ्ख्या ७० पुग्यो।” यी पदहरूमा मानिसहरूको गणना दुई तरिकामा गरिएको छ। पहिलो पदमा तिनका आफ्नै सन्तानको सङ्ख्या मात्र उल्लेख गरिएको छ भने दोस्रो पदमा मिश्र आएका मानिसहरूको कुल सङ्ख्या उल्लेख गरिएको छ। याकुबको सन्तानको कुल सङ्ख्याबारे प्रस्थ १:५ र व्य १०:२२ मा पनि उल्लेख गरिएको छ, जहाँ “७०” जनाको चर्चा गरिएको छ। स्तिफनसले याकुबका आफन्तहरू पनि समावेश भएको तेस्रो तथ्याङ्क उल्लेख गरिरहेका थिए जस्तो देखिन्छ। कसै-कसैको भनाइअनुसार त्यस सङ्ख्यामा युसुफका छोराहरू मनस्से र एप्रैमका छोराहरू र नातिहरूको सङ्ख्या पनि समावेश गरिएको थियो, जसबारे उत्प ४६:२६ को सेप्टुआजिन्ट अनुवादमा उल्लेख गरिएको छ। अरू कतिपयको विचारमा त्यस सङ्ख्यामा याकुबका बुहारीहरूको पनि गन्ती गरिएको छ, जसबारे उत्प ४६:२६ मा उल्लेख गरिएको छैन। त्यसैले “७५” जना तिनीहरूको कुल सङ्ख्या हुन सक्छ। यो सङ्ख्या इस्वी संवत् प्रथम शताब्दीमा पाइने हिब्रू धर्मशास्त्रको प्रतिलिपिहरूमा उल्लेख गरिएको हुन सक्छ। वर्षौँसम्म बाइबलविद्हरू ग्रीक सेप्टुआजिन्ट-को उत्प ४६:२७ र प्रस्थ १:५ मा “७५” सङ्ख्या उल्लेख गरिएको छ भन्ने मान्यता राख्थे। त्यसको साथै २० औँ शताब्दीमा मृत सागरमा फेला परेको पाण्डुलिपिका टुक्राहरूमा प्रस्थ १:५ मा “७५” सङ्ख्या उल्लेख गरिएको छ। स्तिफनसको तथ्याङ्क यीमध्ये कुनै एउटा पुरातन लेखोटमा आधारित हुनुपर्छ। यीमध्ये जुनसुकै तथ्य सही भए तापनि स्तिफनसको तथ्याङ्कले भिन्नै तरिकामा याकुबको सन्तानको गन्ती गरिएको देखाउँछ।
जून १५-२१
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४८-५०
“पाका भाइबहिनीबाट थुप्रै कुरा सिक्न सकिन्छ”
it-1-E पृ. १२४६ अनु. ८
याकुब
याकुबले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि युसुफका छोराहरूलाई अर्थात् आफ्ना नातिहरूलाई आशिष् दिए। तिनले परमेश्वरको प्रेरणा पाएर एप्रैमलाई आफ्नो दाइ मनस्सेलाई भन्दा धेरै आशिष् दिए। त्यसपछि तिनले जेठा छोराले जस्तै सम्पत्तिको दोब्बर अंश पाउने युसुफलाई यसो भने: “म तिमीलाई तिम्रा दाजुभाइको तुलनामा एक भाग धेरै जग्गा दिनेछु। त्यो जग्गा मैले आफ्नो तरबार र धनुको बलमा एमोरीहरूबाट लिएको थिएँ।” (उत्प ४८:१-२२; १इ ५:१) याकुबले हामोरका छोराहरूबाट शान्तिपूर्ण अवस्थामा सकेमनजिकै जमिन किनेकोले (उत्प ३३:१९, २०) तिनले युसुफसँग गरेको वाचामा तिनको विश्वास झल्केको देखिन्छ। तिनले त्यस वाचामार्फत आफ्ना सन्तानले कनान देशको अधिकार गर्नेछन् भनेर भविष्यसूचक अर्थमा बताउँदै थिए। तिनले यो कुरा आफ्नै तरबार र धनुको बलमा त्यो देशको अधिकार गरेजत्तिकै विश्वस्त हुँदै बताएका थिए। (एमोरी हेर्नुहोस्।) युसुफले प्रतिज्ञा गरिएको त्यस देशमा पाउने दोब्बर भागबाट एप्रैम र मनस्सेको कुलले एक-एक भाग पाउने थिए।
it-2-E पृ. २०६ अनु. १
अन्तका दिनहरू
याकुबले मृत्यु हुनुअघि गरेको भविष्यवाणी। याकुबले आफ्ना छोराहरूलाई “पछिल्ला दिनहरूमा” (AT) वा “पछि तिमीहरूको जीवनमा के-के हुनेछ, म बताउँछु” भन्दा तिनले भविष्यमा आफ्नो वचन पूरा भइरहेको समयलाई सङ्केत गर्दै थिए। (उत्प ४९:१) त्यसको लगभग दुई शताब्दीभन्दा अघि यहोवाले याकुबको हजुरबुबा अब्रामलाई (अब्राहाम) तिनका सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ भनेर बताउनुभएको थियो। (उत्प १५:१३) त्यसैले यतिबेला याकुबले चलाएको “पछि” भन्ने अभिव्यक्तिले भविष्यलाई सङ्केत गर्छ, जुन ४०० वर्षको अत्याचारको समय सिद्धिएपछि सुरु हुने थियो। (उत्पत्ति ४९ बारे थप जानकारी पाउन याकुबका छोराहरूको नामअन्तर्गत लेखहरू हेर्नुहोस्।) त्यस भविष्यवाणीको अर्को पूर्ति पनि हुने थियो जस्तो देखिन्छ, जसमा “परमेश्वरको इस्राएल” अर्थात् आध्यात्मिक इस्राएल समावेश थियो।—गला ६:१६; रोमी ९:६.
जून २२-२८
बहुमूल्य रत्न खोजौँ
g०४-E ४/८ पृ. ६ अनु. ५
मोसा—वास्तविक व्यक्ति या काल्पनिक?
के यो हिब्रू बालक मिश्री राजकुमार बन्ने थियो भनेर विश्वास गर्नु अनौठो कुरा हो? होइन। किनभने मिश्रीहरूको धर्मले त्यस्तो किसिमको कामले स्वर्ग जाने ढोका खोल्छ भनेर सिकाउँथ्यो। कसैलाई धर्मपुत्र बनाउने विषयमा उत्खननविद् जोइस टाइल्डेस्लीले यस्तो कुरा पत्ता लगाए: “मिश्री स्त्रीहरू र पुरुषहरूले समाजमा बराबर दर्जा पाउँथे। लिखितमा भए पनि तिनीहरूको कानुनी र आर्थिक हकअधिकार बराबर थियो अनि . . . स्त्रीहरूले पनि धर्मपुत्र बनाउन सक्थे।” एडप्सन पपाइरस भन्ने पुरातन कागजातमा एक जना मिश्री स्त्रीले आफ्ना दासहरूलाई धर्मपुत्र बनाएको विवरण उल्लेख छ। मोसाकी आमाले ज्यालामा दूध खुवाउने धाईआमाको काम गरेको विषयमा दि एङ्कर बाइबल डिक्सनरी किताबमा यस्तो लेखिएको छ: “मोसालाई जन्म दिने आमाले तिनको स्याहारसुसार गरेबापत पाउने ज्यालाले मेसोपोटामियामा धर्मपुत्र बनाउने चलनको पुष्टि गर्छ।”
जून २९–जुलाई ५
बाइबलमा पाइने अनमोल धन | प्रस्थान ४-५
“म तिमीलाई बोल्न मदत गर्नेछु”
w१०-E १०/१५ पृ. १३-१४
के यहोवालाई बहाना बनाएको मन पर्छ?
“म यो काम गर्न योग्य छैनँ।” तपाईँ आफूलाई प्रचार गर्न अयोग्य ठान्नुहोला। बाइबलकालीन समयमा यहोवाका केही वफादार सेवकहरूले उहाँबाट पाएको जिम्मेवारी पूरा गर्न असक्षम भएको महसुस गरे। उदाहरणको लागि मोसालाई लिनुहोस्। यहोवाले तिनलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुहुँदा तिनले यसो भने: “माफ गर्नुस् यहोवा, म बोल्न सिपालु छैनँ र मेरो जिब्रो पनि त्यति लाग्दैन। म पहिला पनि बोल्न सिपालु थिइनँ र तपाईँ मसित बोल्नुभएपछि पनि सिपालु भएको छैनँ।” यहोवाले तिनलाई आश्वासन दिनुभए तापनि तिनले फेरि यसो भने: “बिन्ती छ यहोवा परमेश्वर, यो काम गर्न अरू कसैलाई पठाउनुहोस्।” (प्रस्थ. ४:१०-१३) यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?
w१०-E १०/१५ पृ. १४
के यहोवालाई बहाना बनाएको मन पर्छ?
यहोवाले मोसालाई तिनको जिम्मेवारीबाट मुक्त गर्नुभएन तर उहाँले तिनलाई सघाउन हारुनलाई नियुक्त गर्नुभयो। (प्रस्थ. ४:१४-१७) त्यसको साथै, पछिका वर्षहरूमा यहोवाले तिनलाई साथ दिनुभयो र त्यो जिम्मेवारी पूरा गर्न चाहिने सबै कुराको प्रबन्ध पनि मिलाइदिनुभयो। आज पनि यहोवाले अनुभवी ख्रिष्टियनहरूलाई चलाएर तपाईँलाई उहाँको सेवा गर्न मदत गर्नुहुनेछ भनेर ढुक्क हुन सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले आफ्नो वचनमार्फत हामीलाई सुम्पनुभएको काम पूरा गर्न योग्य बनाउने आश्वासन दिनुभएको छ।—२ कोरि. ३:५; “मेरो जीवनको सबैभन्दा खुसीको क्षण” पेटी हेर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. १२ अनु. ५
यहोवा
त्यसैले “चिन्नु” भनेको कसैबारे वा कुनै कुराबारे थाह हुनु वा बुझ्नु मात्र होइन। मूर्ख नाबाललाई दाउदबारे थाह थियो तैपनि तिनले “त्यो यिसैको छोरा दाउदले आफूलाई को भन्ठान्छ?” भनेर प्रश्न गरे। तिनले एक अर्थमा “त्यसको के औकात छ?” भन्न खोजिरहेका थिए। (१स २५:९-११; २स ८:१३ तुलना गर्नुहोस्।) फारोले पनि मोसालाई यस्तै प्रश्न गरेका थिए: “को हो त्यो यहोवा, जसको कुरा मानेर म इस्राएलीहरूलाई जान दिऊँ? म यहोवालाई चिन्दै चिन्दिनँ। तिमीहरू जेसुकै भन, म इस्राएलीहरूलाई जान दिन्नँ।” (प्रस्थ ५:१, २) यसबाट फारोले यहोवालाई साँचो परमेश्वर नस्विकारेको देखाइरहेका थिए र मिश्रको राजा अनि तिनको कार्यमाथि उहाँको कुनै अख्तियार नभएको कुरा भन्न खोजिरहेका थिए। त्यसको साथै मोसा र हारुनले यहोवाबारे जे घोषणा गरेका थिए, त्यसअनुसार उहाँले केही पनि गर्न सक्नुहुन्न भनेर फारोले भन्न खोज्दै थिए। तर अब भने फारो र पूरै मिश्र राष्ट्रलगायत इस्राएलीहरूले पनि त्यस नामको साँचो अर्थ र त्यसले चिनाउने व्यक्तिबारे थाह पाउने थिए। यहोवाले मोसालाई भन्नुभएझैँ यसको नतिजास्वरूप उहाँले इस्राएलीहरूको लागि राख्नुभएको उद्देश्य पूरा हुने थियो, तिनीहरूले छुटकारा पाउने थिए, तिनीहरूले प्रतिज्ञा गरिएको देश अधिकार गर्ने थिए अनि यसरी उहाँले तिनीहरूका पुर्खाहरूसित गर्नुभएको करार पूरा हुने थियो। त्यसैले परमेश्वरले यसो भन्नुभयो: “म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ।”—प्रस्थ ६:४-८; सर्वशक्तिमान् हेर्नुहोस्।
[फुटनोट]
a एफ. सि. कुकले आफ्नो किताब द होली बाइबल विथ एन् एक्सप्लानेट्री एण्ड क्रिटिकल कमेन्ट्री-मा यो पुरातन चलनबारे यस्तो टिप्पणी गरे: “सुन, चाँदी अथवा अरू रत्न पानीमा खसालेपछि त्यसको आकार हेरेर अथवा पानीमा ऐनामा जस्तै हेरेर पनि भविष्य अनुमान गरिन्थ्यो।” बाइबल टिप्पणीकार क्रिस्टोफर वर्डस्वर्थ यसो भन्छन्: “कहिलेकाहीँ पानीले भरिएको प्यालामा घामको प्रकाशले पानीमाथि बनेको प्रतिविम्बबाट भविष्यबारे अनुमान लगाइन्थ्यो।”