जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जनवरी ११-१७
बाइबलमा पाइने अनमोल धन | लेवी २०-२१
“यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्याउनुहुन्छ”
it-1-E पृ. ११९९
उत्तराधिकार
मालिकको मृत्युपछि तिनको सम्पत्ति तिनको सन्तान वा तिनले रोजेको कुनै उत्तराधिकारीलाई दिइन्थ्यो। पुर्खा वा आफूभन्दा अघिको व्यक्तिबाट उत्तराधिकारको रूपमा पाएको कुनै पनि कुरा। यसको लागि मुख्य हिब्रू क्रिया नाचाल (नाम, नाचाला) प्रयोग गरिएको छ। यसमा उत्तराधिकारको रूपमा हक लाग्ने भाग वा पुर्ख्यौली सम्पत्ति पाउनु वा दिनु समावेश छ। (गन २६:५५; इज ४६:१८) यारास क्रिया कहिलेकाहीँ उत्तराधिकारी हुने अर्थमा प्रयोग गरिएको छ। तर धेरैजसो ‘उत्तराधिकारीको’ अर्थमा बाहेक “अधिकार” गर्ने सन्दर्भमा पनि यो शब्द प्रयोग गरिएको छ। (उत्प १५:३; लेवी २०:२४) यसले सैन्य बल प्रयोग गरेर ‘कब्जा गर्नु; खेद्नु’ भन्ने अर्थ पनि दिन्छ। (व्य २:१२; ११:२३) उत्तराधिकारसित सम्बन्धित ग्रीक शब्द क्लेरोस-ले मुख्यगरि ‘गोला हाल्नुलाई’ बुझाउँथ्यो तर पछि यसले “हिस्सा” र अन्तमा “उत्तराधिकार”-लाई बुझायो।—मत्ति २७:३५; प्रे ८:२१; २६:१८.
it-1-E पृ. ३१७ अनु. २
चराचुरुङ्गी
जलप्रलयपछि नुहले जनावरहरू सँगसँगै “शुद्ध चराचुरुङ्गी” पनि बलिदानको रूपमा चढाए। (उत्प ८:१८-२०) त्यसपछि परमेश्वरले मानिसहरूलाई चराचुरुङ्गी खाने अनुमति दिनुभयो तर रगतचाहिँ खानु हुँदैन थियो। (उत्प ९:१-४; लेवी ७:२६; १७:१३ तुलना गर्नुहोस्) त्यसबेला कुनै चराचुरुङ्गी “शुद्ध” थियो कि थिएन भन्ने कुरा परमेश्वरले त्यो बलिदान स्विकार्नुभयो कि स्विकार्नुभएन भन्ने कुरासित सम्बन्धित थियो। तर चराचुरुङ्गी खाने सन्दर्भमा मोसाको व्यवस्था दिइनुअघिसम्म कुनै पनि चराचुरुङ्गीलाई “अशुद्ध” ठहऱ्याइएको थिएन भनेर बाइबल रेकर्डहरूले देखाउँछ। (लेवी ११:१३-१९, ४६, ४७; २०:२५; व्य १४:११-२०) कुनै चरा कस्ता कारणहरूले गर्दा “अशुद्ध” हुन्थ्यो भनेर बाइबलमा तोकेरै बताइएको छैन। अशुद्ध भनेर ठहऱ्याइएको चराचुरुङ्गीमा धेरैजसो सिनु खाने चराचुरुङ्गी पर्थे। (फाप्रे चरा हेर्नुहोस्।) नयाँ करार स्थापना भएपछि यस्तो निषेधज्ञा हटाइयो, जुन कुरा परमेश्वरले पत्रुसलाई दर्शनमार्फत स्पष्ट पार्नुभयो।—प्रे १०:९-१५.
बहुमूल्य रत्न
it-1-E पृ. ५६३
शरीरमा काटेर चोट बनाउनु
परमेश्वरको व्यवस्थामा कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू भनेर तोकेरै बताइएको थियो। (लेवी १९:२८; २१:५; व्य १४:१) यस्तो आज्ञा दिनुको कारण इस्राएल यहोवाको निम्ति एक पवित्र जाति थियो अर्थात् तिनीहरू उहाँको विशेष सम्पत्ति थिए। (व्य १४:२) इस्राएलीहरू कुनै पनि प्रकारको मूर्तिपूजाबाट अलग रहनुपर्थ्यो। साथै कसैको मृत्युको शोक मनाउन आफ्नै शरीरमा काटेर चोट बनाउनु एकदमै अनुचित थियो। किनभने तिनीहरूलाई मृतकको अवस्थाबारे राम्ररी थाह थियो र तिनीहरूसित फेरि जीवित हुने आशा पनि थियो। (दा १२:१३; हिब्रू ११:१९) साथै त्यस्तो निषेधाज्ञाले परमेश्वरले सृष्टि गर्नुभएको मानव शरीरप्रति उचित आदर देखाउन पनि सिकाउँथ्यो।
जनवरी १८-२४
बाइबलमा पाइने अनमोल धन | लेवी २२-२३
“ऋतुअनुसारका चाडहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?”
it-1-E पृ. ८२६-८२७
अखमिरा रोटीको चाड
अखमिरा रोटीको चाडको पहिलो दिन उपासना गर्न भेला हुने विशेष दिन थियो र त्यो विश्रामदिन पनि थियो। चाडको दोस्रो दिन अर्थात् नीसान १६ मा प्यालेस्टाइनमा उब्जने जौको पहिलो फलको बिटा पुजारीकहाँ ल्याइन्थ्यो। यस चाडअघि भर्खरै कटनी गरिएको नयाँ अन्न, रोटी वा भुटेको अन्न खान हुँदैनथ्यो। अनि पुजारीले त्यस्तो पहिलो फलको बिटा प्रतीकात्मक रूपमा यहोवासामु डोलाउने गर्थे, अग्निभेटीको रूपमा एक वर्षे निष्खोट थुमा चढाउँथे, अन्नभेटीको रूपमा मसिनो पीठोलाई तेलमा मुछेर चढाउँथे अनि मद्यभेटी पनि चढाउँथे। (लेवी २३:६-१४) पछि पुजारीहरूले गरेजस्तो सुरुमा अन्न वा पीठो वेदीमा जलाउने कुनै आज्ञा दिइएको थिएन। यस रमाइलो अवसरमा जातिको रूपमा पहिलो फल चढाउने मात्र नभई इस्राएलमा जग्गाजमिन भएको प्रत्येक परिवार र व्यक्तिविशेषले धन्यवादको बलि चढाउने प्रबन्ध गरिएको थियो।—प्रस्थ २३:१९; व्य २६:१, २; पहिलो फल हेर्नुहोस्।
महत्त्व। त्यतिबेला अखमिरा रोटी खानु यहोवाले मोसालाई दिनुभएको निर्देशनअनुरूप थियो, जुन प्रस्थान १२:१४-२० मा पाइन्छ। पद १९ मा यस्तो एउटा कडा आज्ञा समावेश छ: “सात दिनसम्म तिमीहरूको घरमा खमिरा पीठो नभेटियोस्।” अखमिरा रोटीले यहुदीहरूलाई वर्षेनी तिनीहरू हतारहतार मिश्रबाट निस्केको कुराको सम्झना गराउँथ्यो (त्यतिबेला तिनीहरूसित खमिर हालेर पीठो मुछ्ने समय थिएन [प्रस्थ १२:३४])। त्यसले इस्राएलीहरूलाई आफूले भोगेको दुःख र त्यसबाट पाएको छुटकाराको सम्झना गराउँथ्यो। त्यसबारे यहोवा स्वयम्ले यसो भन्नुभयो: “तिमीहरूले मिश्रमा भोगेको दुःख सम्झनेछौ अनि मिश्रबाट छुटकारा पाएको कुरा पनि जिन्दगीभर बिर्सनेछैनौ।” (व्य १६:३) इस्राएलीहरूले वर्षेनी मनाउने तीन वटा ठूला चाडमध्ये यो पहिलो चाडले तिनीहरूले अहिले एउटा जातिको रूपमा पाएको स्वतन्त्रता र यहोवा तिनीहरूको मुक्तिदाता हुनुहुन्छ भनेर मानिलिएको कुराको सम्झना गराउँथ्यो।—व्य १६:१६.
it-2-E पृ. ५९८ अनु. २
पेन्तिकोस
पेन्तिकोसको पहिलो दिन गहुँको कटनीको पहिलो फल यहोवालाई चढाइन्थ्यो। तर गहुँको कटनीको पहिलो फलको प्रयोग जौको कटनीको पहिलो फलको भन्दा फरक थियो। एपाको दस भागको दुई भाग गहुँको मसिनो पीठोमा (४.४ लि.) खमिर हालेर दुई वटा रोटी बनाउनुपर्थ्यो। ती तिनीहरूले “आ-आफ्नो घरबाट” ल्याउनुपर्थ्यो। यसको मतलब ती रोटीहरू पवित्र कुराहरूको लागि प्रयोग गरिने जस्तो नभई घरमा दिनहुँ प्रयोग गरिने जस्तो हुनुपर्थ्यो। (लेवी २३:१७) त्यससँगै अग्निभेटी र पापभेटी पनि चढाइन्थ्यो र दुई वटा पाठो मेलबलिको रूपमा चढाइन्थ्यो। पुजारीले आफ्नो हातमा रोटी र पाठोको मासु राखेर यहोवासामु डोलाउँथे; यसले ती यहोवालाई चढाएको कुराको चित्रण गर्थ्यो। रोटी र पाठो चढाएपछि पुजारीले ती मेलबलिको रूपमा खान्थे।—लेवी २३:१८-२०.
कुराकानी गर्ने सीप तिखारौँ
w०७-E ७/१५ पृ. २६
पाठकहरूको प्रश्न
कटनीको समय आधिकारिक रूपमा सबै इस्राएली पुरुष अखमिरा रोटीको चाड मनाउन भेला हुँदा सुरु हुन्थ्यो। त्यसोभए पवित्र स्थानमा ल्याउनुपर्ने जौको पहिलो फल कसले कटनी गर्थे?
मोसाको व्यवस्थामा इस्राएलीहरूलाई यस्तो निर्देशन दिइएको थियो: “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्: अखमिरा रोटीको चाडमा, हप्ताहरूको चाडमा र झुप्रोबासको चाडमा।” (व्यवस्था १६:१६) राजा सुलेमानको समयदेखि परमेश्वरले रोज्नुभएको ठाउँ यरुसलेमको मन्दिर भयो।
तीन वटा चाडमध्ये पहिलो वसन्त ऋतुको सुरुतिर पर्थ्यो। त्यसलाई अखमिरा रोटीको चाड भनिन्थ्यो। त्यो नीसान १४ मा निस्तार चाड मनाइसकेपछि भोलिपल्टदेखि सात दिनसम्म अर्थात् नीसान २१ सम्म चल्थ्यो। चाडको दोस्रो दिन अर्थात् नीसान १६ मा यहुदीहरूको धार्मिक क्यालेन्डरअनुसार वर्षको पहिलो कटनीको काम सुरु हुन्थ्यो। त्यस दिन प्रधानपुजारीले जौको कटनीको “पहिलो फलको एक बिटा” लिएर पवित्र स्थानमा यहोवा परमेश्वरसामु डोलाउनुपर्थ्यो। (लेवी २३:५-१२) अखमिरा रोटीको चाडमा सबै पुरुष उपस्थित हुनुपर्थ्यो। त्यसोभए भेटी चढाउनको लागि कटनी कसले गर्थे?
अखमिरा रोटीको चाडको बेला कटनीको पहिलो फल यहोवालाई चढाउने आज्ञा सम्पूर्ण राष्ट्रलाई दिइएको थियो। प्रत्येक व्यक्तिविशेषले कटनी सुरु गरेर आफैले पवित्र स्थानमा पहिलो फल ल्याउनु पर्दैन थियो। बरु राष्ट्रको रूपमा त्यसो गर्न आज्ञा दिइएको थियो। त्यसैले अखमिरा रोटीको चाडको लागि जौ काटेर बिटा बनाउन नजिकैको जौको खेतमा प्रतिनिधिहरू पठाइन्थ्यो। यस विषयमा यहुदी विश्वकोश (अङ्ग्रेजी) यसो भन्छ: “यरुसलेम वरपरको जौ पाकिसकेको भए त्यहीँबाट ल्याइन्थ्यो नत्र इस्राएलको कुनै पनि ठाउँबाट ल्याउन सकिन्थ्यो। तीन जना पुरुषले कटनी गर्न आ-आफ्नो हँसिया र डालो प्रयोग गर्थे।” त्यसपछि जौको एक बिटा प्रधानपुजारीकहाँ ल्याइन्थ्यो र तिनले त्यो यहोवासामु चढाउँथे।
कटनीको पहिलो फल चढाउने आज्ञाले इस्राएलीहरूलाई परमेश्वरले तिनीहरूको जमिन र कटनीमा दिनुभएको आशिष्को लागि कृतज्ञता व्यक्त गर्ने राम्रो मौका दियो। (व्यवस्था ८:६-१०) तर अझ महत्त्वपूर्ण कुरा, विधिअनुसार चढाइने भेटी “आउन लागेका असल कुराहरूको छाया” थियो। (हिब्रू १०:१) याद गर्नुहोस्, नीसान १६ मा कटनीको पहिलो फल यहोवालाई चढाइन्थ्यो अनि त्यही दिन अर्थात् इस्वी संवत् ३३ को नीसान १६ मा येसु फेरि जीवित हुनुभएको थियो। येसुबारे प्रेषित पावलले यस्तो लेखे: “ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल हुनुहुन्छ। . . . तर हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई। त्यसपछि जो ख्रिष्टका हुन्, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।” (१ कोरिन्थी १५:२०-२३) प्रधानपुजारीले यहोवासामु डोलाउने पहिलो फलको बिटाले फेरि जीवित पारिनुभएको येसु ख्रिष्टलाई पूर्वचित्रण गर्थ्यो। उहाँ अनन्त जीवनको लागि मृत्युबाट फेरि जीवित पारिनुभएकाहरूमध्ये पहिलो हुनुहुन्छ। यसरी येसुले मानिसजातिको लागि पाप र मृत्युबाट छुटकारा पाउने बाटो खोलिदिनुभयो।
जनवरी २५-३१
बाइबलमा पाइने अनमोल धन | लेवी २४-२५
“स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता”
it-1-E पृ. ८७१
स्वतन्त्रता
स्वतन्त्रता दिनुहुने परमेश्वर। यहोवा स्वतन्त्रता दिनुहुने परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरुन्जेल उहाँले तिनीहरूलाई गरिबीबाट स्वतन्त्रता दिने प्रतिज्ञा गर्नुभयो। (व्य १५:४, ५) तर व्यवस्थाअनुसार कोही व्यक्ति गरिब भएमा आफ्नो अनि आफ्नो परिवारको आवश्यकताहरू पूरा गर्न तिनले आफैलाई दासको रूपमा बेच्न सक्थे। तर व्यवस्थामा कुनै हिब्रू दास भएको सातौँ वर्षमा स्वतन्त्र छोडिदिने प्रबन्ध गरिएको थियो। (प्रस्थ २१:२) स्वर्ण वर्षमा (हरेक ५० वर्षमा) देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गरिन्थ्यो। हरेक हिब्रू दासलाई स्वतन्त्र छोडिन्थ्यो र तिनले आफूले बेचेको सम्पत्ति फिर्ता पाउँथे।—लेवी २५:१०-१९.
it-1-E पृ. १२०० अनु. २
उत्तराधिकार
जमिन पुस्तौँपुस्तादेखि एउटै परिवारको हुने भएकोले त्यसलाई सधैँको लागि बेच्न सकिँदैनथ्यो। जमिन बेच्नु भनेको वास्तवमा त्यसले दिने उब्जनीको आधारमा जमिनको मोल तोकेर त्यसलाई भाडामा दिनु थियो। त्यसको मोल अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यसको आधारमा तोकिन्थ्यो। स्वर्ण वर्ष आउनुअघि त्यो जमिन फेरि किनिएको थिएन भने त्यो जमिन सुरुको जग्गाधनीले नै फिर्ता पाउँथे। (लेवी २५:१३, १५, २३, २४) यो नियम पर्खालले नघेरिएका सहरहरूमा भएका घरहरूलाई पनि लागू हुन्थ्यो किनभने त्यस्ता घरहरूलाई खुला ठाउँमा भएका जग्गाजमिनसरह ठानिन्थ्यो। पर्खालले घेरिएको सहरमा भएको घरको सन्दर्भमा बेच्ने मान्छेसित त्यो फेरि किन्ने अधिकार एक वर्षसम्म मात्र हुन्थ्यो तर त्यसपछि भने त्यो घर सधैँभरि किन्ने मान्छेको सम्पत्ति हुन्थ्यो। लेवीहरूको सहरमा भएका घरहरूको सन्दर्भमा भने बेच्ने मान्छेसित फेरि किन्ने अधिकार सधैँभरि रहन्थ्यो किनभने लेवीहरूले जग्गाजमिन पैतृक सम्पत्तिको रूपमा पाउँदैनथे।—लेवी २५:२९-३४.
it-2-E पृ. १२२-१२३
स्वर्ण वर्ष
स्वर्ण वर्षसम्बन्धी दिइएको आज्ञा पालन गर्दा इस्राएल राष्ट्र गरिबीको चपेटामा पर्नदेखि जोगिन्थ्यो, जुन अवस्था अहिले हामी थुप्रै देशमा देख्छौँ। यस्ता देशहरूमा दुई वटा समूह मात्र छन् जस्तो देखिन्छ, एकदमै धनी अनि एकदमै गरिब। व्यक्तिविशेषले पाउने सुविधाले गर्दा पूरै राष्ट्र बलियो हुन्थ्यो किनभने कमजोर आर्थिक अवस्थाले गर्दा कोही पनि एकदमै गरिब र कुनै काम गर्न नसक्ने अवस्थामा पुग्दैन थियो। बरु सबैले राष्ट्रको हित हुनेगरि आफ्नो सीप र क्षमता चलाउन सक्थे। यहोवाप्रति आज्ञाकारी रहुन्जेल इस्राएल राष्ट्रले उहाँको आशिष् पाउँथ्यो। त्यसले गर्दा जमिनले प्रशस्त उब्जनी दिन्थ्यो र तिनीहरूले असल शिक्षा पाउँथे। यसरी तिनीहरूले परमेश्वरको शासनले मात्र दिन सक्ने असल सरकार र समृद्धिको आनन्द उठाउन सक्थे।—यसै ३३:२२.
बहुमूल्य रत्न
w०९-E ९/१ पृ. २२ अनु. ४
कसैले तपाईँलाई रिस उठाउँदा
कुनै इस्राएलीले अर्को इस्राएलीको आँखा फुटाइदियो भने व्यवस्थाअनुसार तिनलाई उचित सजाय दिनुपर्थ्यो। तर आक्रमणको सिकार भएको व्यक्तिले आफूलाई आक्रमण गर्ने मानिस वा तिनको परिवारको कुनै सदस्यविरुद्ध केही गरिहाल्न मिल्दैनथ्यो। व्यवस्थाअनुसार त्यो मामिला उचित तरिकामा सुल्झाउन न्यायकर्ताहरूकहाँ लैजानुपर्थ्यो। जानाजानी हिंसा वा अपराध गर्ने मानिसले सजाय पाउँदा त्यो अरूको लागि चेतावनीमूलक पाठ हुन्थ्यो। तर कुरा यत्तिमै सीमित छैन।
फेब्रुअरी १-७
बाइबलमा पाइने अनमोल धन | लेवी २६-२७
“यहोवाको आशिष् कसरी पाउन सकिन्छ?”
it-1-E पृ. २२३ अनु. ३
श्रद्धा
यहोवाले मोसालाई चलाउनुभएको र तिनीसित कुरा गर्नुभएको तरिकाले गर्दा मोसाले इस्राएलीहरूसामु आश्चर्यजनक कामहरू (हिब्रू, मोरा) गरे। (व्य ३४:१०, १२; प्रस्थ १९:९) यहोवामाथि विश्वास गर्नेहरूले मोसाको अख्तियारप्रति उचित भय राखे। परमेश्वर मोसामार्फत बोल्नुभएको कुरा तिनीहरूले मानिलिए। इस्राएलीहरूले यहोवाको पवित्र स्थानप्रति पनि गहिरो श्रद्धा देखाउनुपर्ने थियो। (लेवी १९:३०; २६:२) त्यसको मतलब तिनीहरूले यहोवा परमेश्वरले निर्देशन दिनुभएअनुसारै उहाँको उपासना गरेर अनि उहाँका आज्ञाहरूअनुसारै चलेर उहाँको पवित्र स्थानप्रति गहिरो आदर देखाउनुपर्ने थियो।
बहुमूल्य रत्न
it-2-E पृ. ६१७
महामारी
परमेश्वरको व्यवस्था तिरस्कार गर्दा भोग्नुपरेको नतिजा। इस्राएल राष्ट्रले परमेश्वरसितको करार भङ्ग गरेमा परमेश्वरले ‘तिनीहरूमाझ महामारी पठाउने’ चेतावनी दिनुभएको थियो। (लेवी २६:१४-१६, २३-२५; व्य २८:१५, २१, २२) धर्मशास्त्रमा सुस्वास्थ्य, शारीरिक होस् वा आध्यात्मिक, परमेश्वरको आशिष्सित सम्बन्धित छ। (व्य ७:१२, १५; भज १०३:१-३; हित ३:१, २, ७, ८; ४:२१, २२; प्रका २१:१-४) अनि रोगबिमार चाहिँ पाप र त्रुटिपूर्ण अवस्थासित सम्बन्धित छ। (प्रस्थ १५:२६; व्य २८:५८-६१; यसै ५३:४, ५; मत्ति ९:२-६, १२; युह ५:१४) हुनत हो, कुनै-कुनै बेला यहोवा परमेश्वरले कोही-कोहीमाथि सीधै रोगबिमारले प्रहार गर्नुभयो, जस्तै: मरियम, उज्जियाह र गेहजीलाई कुष्ठरोगले प्रहार गर्नुभयो। (गन १२:१०; २इ २६:१६-२१; २रा ५:२५-२७) तर धेरैजसो अवस्थामा व्यक्तिविशेष वा राष्ट्रले गरेको गलत कामको नतिजास्वरूप रोगबिमार र महामारी आइपरेजस्तो देखिन्छ। तिनीहरूले जे छरे, त्यसैको कटनी गरे। आफूले चालेको गलत कदमले गर्दा तिनीहरूको शरीरमाथि दुःख आइपऱ्यो। (गला ६:७, ८) अवैध यौनसम्बन्धमा फसेकाहरूबारे प्रेषित पावलले यसो भने: “परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको इच्छाअनुसारै अशुद्धतामा छोडिदिनुभयो। . . . तिनीहरूले आफ्नो कर्तुतको पूरापूर उचित दण्ड पाए।”—रोमी १:२४-२७.
कुराकानी गर्ने सीप तिखारौँ
w०९-E ८/१ पृ. ३०
हाम्रा पाठकहरू सोध्छन्
म कति अनुदान दिऊँ?
“खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) यी शब्दहरू संसारभरिका लाखौँ मानिसलाई थाह छ। तर चर्च जाने कोही-कोहीले आफ्नो क्षमताभन्दा बढी दिनुपर्ने बाध्यता महसुस गर्छन्। वास्तवमा कुनै-कुनै धार्मिक समूहले आफ्ना सदस्यहरूले यति रकम दिनुपर्छ भनेर तोकेका हुन्छन्। यस्तो चलनलाई दशांश दिनु भनिन्छ अर्थात् आफ्नो कमाइको १० प्रतिशत चर्चलाई दिनु।
के हामीले अनुदानस्वरूप निश्चित रकम दिनुपर्छ भनी बाइबल बताउँछ? आफैलाई सोध्नुहोस्, म कति अनुदान दिऊँ?
विगतका दिनै पर्ने र स्वैच्छिक अनुदानका उदाहरणहरू
इस्राएलीहरूले परमेश्वरलाई कति दिनुपर्थ्यो भन्नेबारे स्पष्ट निर्देशन बाइबलमा पाइन्छ। (लेवी २७:३०-३२; गन्ती १८:२१, २४; व्यवस्था १२:४-७, ११, १७, १८; १४:२२-२७) यी अनुदान दिनै नसकिने थिएनन्। उहाँको व्यवस्था पालन गरेमा उहाँले तिनीहरूलाई ‘प्रशस्त दिने’ प्रतिज्ञा गर्नुभयो।—व्यवस्था २८:१, २, ११, १२.
अरू अवस्थामा भने इस्राएलीहरूले स्वैच्छिक रूपमा धेरै वा थोरै अनुदान दिन सक्थे। उदाहरणको लागि, राजा दाउदले यहोवाको लागि मन्दिर बनाउने योजना बनाउँदा तिनका प्रजाले “५ हजार टालेन्ट सुन” अनुदान दिए। (१ इतिहास २९:७) यसलाई येसु पृथ्वीमा हुनुहुँदा उहाँले देख्नुभएको एउटा कुरासित तुलना गर्नुहोस्। उहाँले मन्दिरको दानपात्रमा “एक जना गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का खसालेकी” देख्नुभयो। तिनले खसालेको अनुदानको मूल्य कति थियो? एक दिनको ज्यालाको १/६४ भाग बराबर। तैपनि येसुले त्यो थोरै रकम स्वीकार्य छ भन्नुभयो।—लुका २१:१-४.
के ख्रिष्टियनहरूले निश्चित रकम दिनुपर्छ?
ख्रिष्टियनहरू इस्राएलीहरूलाई दिइएको व्यवस्थाको करारको अधीनमा छैनन्। त्यसैले तिनीहरू परमेश्वरलाई निश्चित रकम दिन बाध्य छैनन्। तर साँचो ख्रिष्टियनहरू दिँदा आनन्दित हुन्छन्। येसु ख्रिष्ट आफैले यसो भन्नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.
यहोवाका साक्षीहरू स्वैच्छिक अनुदान दिएर विश्वव्यापी प्रचारकार्यलाई सघाउँछन्। यी अनुदानहरू प्रकाशनहरू छाप्न र सभाभवन भनिने तिनीहरूको उपासनास्थल निर्माण गर्न र स्याहारसम्भार गर्न प्रयोग गरिन्छ। अनुदानस्वरूप सङ्कलन भएको रकम तलब दिन प्रयोग गरिँदैन। चेला बनाउने काममा पूर्ण-समय भाग लिएका कोही-कोहीले यातायात र अरू व्यक्तिगत खर्चको लागि केही सहयोग पाउँछन्। तर कसैले पनि त्यस्तो सहयोगको माग गर्दैनन्। वास्तवमा धेरैजसो यहोवाका साक्षीलाई तिनीहरूले गर्ने प्रचारकार्यको लागि कुनै आर्थिक सहयोग दिइँदैन। बरु तिनीहरूमध्ये धेरैजसो पावलले पाल सिलाउने काम गरेजस्तै आफ्नो खर्च जुटाउन काम गर्छन्।—२ कोरिन्थी ११:९; १ थिस्सलोनिकी २:९.
कोही व्यक्ति यहोवाका साक्षीहरूको कामको लागि अनुदान दिन चाहन्छन् भने तिनले कति दिनुपर्छ? प्रेषित पावलले यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ८:१२; ९:७.
फेब्रुअरी ८-१४
बाइबलमा पाइने अनमोल धन | गन्ती १-२
“यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ”
it-1-E पृ. ३९७ अनु. ४
छाउनी
इस्राएलीहरूको छाउनी एकदमै ठूलो थियो। छाउनीमा जम्मा ६ लाख ३ हजार ५ सय ५० लडाकु पुरुष थिए। यसबाहेक स्त्री, केटाकेटी, बूढाबूढी, अशक्त, २२ हजार लेवी अनि “विदेशीहरूको ठूलो दल” पनि थिए। त्यहाँ ३० लाख वा त्योभन्दा धेरै मानिस भएका हुन सक्छन्। (प्रस्थ १२:३८, ४४; गन ३:२१-३४, ३९) यस्तो छाउनीले कति इलाका ढाक्थ्यो भनेर पक्का छैन। यसबारे फरक-फरक अनुमान लगाइएको छ। यरिहोको वारिपट्टि मोआबको मरुभूमिमा “बेथ-यसिमोथदेखि लिएर हाबिल-सित्तिमसम्मै” पाल टाँगिएको कुरा उल्लेख गरिएको छ।—गन ३३:४९.
बहुमूल्य रत्न
it-2-E पृ. ७६४
दर्ता
प्रायजसो कुल र घरानाअनुसार नाम र वंश दर्ता गरिन्थ्यो। यसको उद्देश्य जनगणना लिनु मात्र थिएन। बाइबलमा उल्लेख गरिएको राष्ट्रिय दर्ताका थुप्रै उद्देश्य थिए। जस्तै, कर तिर्न, सैन्य सेवामा खटाउन वा पवित्र स्थानमा जिम्मेवारीहरू दिन (यसमा लेवीहरू समावेश थिए)।
कुराकानी गर्ने सीप तिखारौँ
w०८-E ७/१ पृ. २१
के तपाईँलाई थाह थियो?
इस्राएलमा जम्मा १३ कुल भए तापनि बाइबलमा किन १२ कुलको मात्र चर्चा गरिएको छ?
इस्राएलका कुलहरू वा परिवारहरू याकुबका छोराहरूका सन्तान थिए। याकुबको नाम परिवर्तन गरेर इस्राएल राखिएको थियो। यी कुलपिताका १२ छोरा थिए। तिनीहरू हुन्—रुबेन, सिमियोन, लेवी, यहुदा, दान, नप्तालि, गाद, असेर, इस्साकार, जबुलुन, युसुफ र बिन्यामिन। (उत्पत्ति २९:३२–३०:२४; ३५:१६-१८) यिनीहरूमध्ये ११ जना दाजुभाइको नामबाट कुलहरूको नाम राखियो। तर युसुफको नामबाट भने कुलको नाम राखिएन। बरु तिनका छोराहरू एप्रैम र मनस्सेको नामबाट दुइटा कुलको नाम राखियो र तिनीहरूले पनि कुलनायकको रूपमा पूरै मान्यता पाए। त्यसैले इस्राएलमा जम्मा १३ कुल थिए। त्यसोभए बाइबलमा किन १२ कुलको मात्र चर्चा गरिएको छ।
इस्राएलीहरूमध्ये लेविको कुलका पुरुषहरूलाई यहोवाको वासस्थान र पछि मन्दिरमा सेवा गर्न अलग्गै छुट्ट्याइएको थियो। त्यसैले तिनीहरूले सैन्य सेवामा भाग लिनु पर्दैनथ्यो। यहोवाले मोसालाई यसो भन्नुभयो: “लेविको कुलका पुरुषहरूको नाम दर्ता नगर्नू; अरू इस्राएलीहरूको गन्ती गर्दा तिनीहरूलाई सामेल नगर्नू। तिमीले लेवीहरूलाई साक्षीपाटी राखिएको वासस्थान, त्यसका सबै सरसामान र त्यससित सम्बन्धित सबै काममाथि नियुक्त गर्नू।”—गन्ती १:४९, ५०.
प्रतिज्ञा गरिएको देशमा लेवीहरूको लागि इलाका पनि छुट्ट्याइएको थिएन। बरु तिनीहरूलाई इस्राएलभरि नै ४८ वटा विभिन्न सहर दिइएको थियो।—गन्ती १८:२०-२४; यहोसु २१:४१.
यी दुई कारणले गर्दा प्रायजसो लेविको कुललाई कुलहरूको सूचीमा समावेश गरिँदैनथ्यो। त्यसैले इस्राएलको १२ कुलको मात्र उल्लेख गरिन्छ।—गन्ती १:१-१५.
फेब्रुअरी १५-२१
बाइबलमा पाइने अनमोल धन | गन्ती ३-४
“लेवीहरूले चढाउने सेवा”
it-2-E पृ. ६८३ अनु. ३
पुजारीहरू
व्यवस्थाको करारअन्तर्गत। इस्राएलीहरू मिश्रको दासत्वमा हुँदा यहोवाले दसौँ विपत्तिमा मिश्रमा पहिला जन्मेकाहरू जति सबैलाई प्रहार गर्नुहुँदा इस्राएलका पहिलो सन्तानलाई भने आफ्नो लागि छुट्ट्याउनुभयो। (प्रस्थ १२:२९; गन ३:१३) ती पहिलो सन्तानहरू यहोवाका थिए र उहाँले तिनीहरूलाई आफ्नो सेवामा विशेष तरिकामा चलाउनुहुने थियो। परमेश्वरले इस्राएलका यी सबै पहिलो सन्तानलाई पुजारी र पवित्र स्थानको रेखदेख गर्ने काममा चलाउन सक्नुहुन्थ्यो। तर उहाँले आफ्नो उद्देश्य पूरा गर्न यस सेवाको लागि लेविको कुलका पुरुषहरू रोज्नुभयो। त्यसैले उहाँले इस्राएललाई अन्य १२ कुलका (युसुफका छोराहरू एप्रैम र मनस्सेका सन्तानलाई दुई कुल गनिन्छ) पहिला जन्मेको सन्तानको सट्टामा लेविको कुलका पुरुषहरूलाई लिन अनुमति दिनुभयो। जनगणना लिइँदा लेविको कुलका पुरुषहरूको तुलनामा अन्य कुलका एक महिना वा सोभन्दा माथिको उमेरका पहिलो सन्तान २७३ जनाले धेरै भएको देखियो। त्यसैले परमेश्वरले ती धेरै भएका २७३ जना प्रत्येकको लागि फिरौतीको मोलस्वरूप हारुन र तिनका छोराहरूलाई पाँच शेकेल (लगभग १३०० रुपैयाँ) तिर्न आज्ञा दिनुभयो। (गन ३:११-१६, ४०-५१) यसरी मोल तिर्ने प्रबन्ध मिलाउनुअघि नै यहोवाले लेविको कुलको हारुन र तिनका छोराहरूलाई इस्राएलको पुजारीको रूपमा सेवा गर्न नियुक्त गरिसक्नुभएको थियो।—गन १:१; ३:६-१०.
it-2-E पृ. २४१
लेविको कुल
जिम्मेवारीहरू। लेविको कुल लेवीका तीन छोराहरू गेर्सोन, कोहात र मरारिको परिवार मिलेर बनेको थियो। (उत्प ४६:११; १इ ६:१, १६) यी प्रत्येक परिवारलाई निर्जनभूमिमा पवित्र स्थाननजिकै ठाउँ छुट्ट्याइएको थियो। कोहाती घरानाको हारुनको परिवारले वासस्थानको अगाडि पूर्वतिर पाल टाँग्यो। अरू कोहातीहरूले वासस्थानको दक्षिणतिर, गेर्सोनीहरूले पश्चिमतिर र मरारिहरूले उत्तरतिर पाल टाँगे। (गन ३:२३, २९, ३५, ३८) वासस्थान जोडजाड गर्ने, खोलखाल गर्ने र बोकेर यताउता लैजाने काम लेवीहरूको थियो। अर्को ठाउँमा सर्ने बेला हारुन र तिनका छोराहरूले पवित्र कोठा र महापवित्र कोठाबीचको पर्दा निकाल्थे अनि साक्षीपाटी राखिएको सन्दुक, वेदीहरू र वासस्थानमा प्रयोग गरिने अन्य सरसामान ढाक्थे अनि कोहातीहरूले यी सबै चिजबिज बोक्थे। गेर्सोनीहरूले वासस्थानलाई ढाक्ने पाल, भेट हुने पालको प्रवेशद्वारको पर्दा, वासस्थानलाई चारैतिरबाट बारेका चोकका पालहरू अनि पालको डोरी बोक्थे। मरारिहरूले वासस्थानको चौकोस, खामा, चुलघर, पालको किल्ला र डोरीको (वासस्थानलाई चारैतिरबाट बारेका चोकका डोरीहरू) रेखदेख गर्थे।—गन १:५०, ५१; ३:२५, २६, ३०, ३१, ३६, ३७; ४:४-३३; ७:५-९.
it-2-E पृ. २४१
लेविको कुल
मोसाको समयमा लेविको कुलका पुरुषहरूले ३० वर्ष पुगेपछि आफूलाई दिइएको सबै जिम्मेवारी सम्हाल्थे, जस्तै: अर्को ठाउँमा सर्दा वासस्थान र यसका सरसामानहरू बोक्ने। (गन ४:४६-४९) वासस्थान यताउता सार्नेजस्ता गाह्रो कामबाहेक अन्य कुनै-कुनै जिम्मेवारी २५ वर्ष पुगेपछि सम्हाल्न सकिन्थ्यो। (गन ८:२४) राजा दाउदको समयमा जिम्मेवारी सम्हाल्न सक्ने उमेर २० वर्ष तोकियो। दाउदले यसो गर्नुको कारण अबउसो वासस्थान (त्यसको ठाउँ मन्दिरले लिने थियो) यताउता बोकेर लैजानु पर्दैन भने। लेवीहरूले ५० वर्ष पुगेपछि आफ्नो जिम्मेवारीबाट अवकाश पाउँथे। (गन ८:२५, २६; १इ २३:२४-२६; उमेर हेर्नुहोस्।) लेवीहरूले व्यवस्थाको पुस्तक सर्वसाधारणलाई पढेर सुनाउनुपर्ने र स्पष्टसित बुझाउनुपर्ने भएकोले तिनीहरू व्यवस्थामा पोख्त हुनुपर्थ्यो।—१इ १५:२७; २इ ५:१२; १७:७-९; नहे ८:७-९.
फेब्रुअरी २२-२८
बाइबलमा पाइने अनमोल धन | गन्ती ५-६
“तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?”
it-2-E पृ. ४७७
नाजिरी
नाजिरीको भाकल गर्नेहरूले यी तीन कुरा गर्न पाउँदैन थिए: (१) तिनीहरूले कुनै पनि नशालु पेय पदार्थ पिउनु हुँदैन थियो; अनि अङ्गुरबाट बनेको कुनै पनि चिज चाहे काँचो, पाकेको वा किसमिस नै किन नहोस्, खानु हुँदैन थियो। साथै ताजा रस, दाखमद्य बनाइएको वा कुनै पनि किसिमको रक्सीको सिर्का पिउनु हुँदैन थियो। (२) तिनीहरूले आफ्नो कपाल काट्नु हुँदैन थियो। (३) तिनीहरूले लास छुनु हुँदैन थियो। बुबा, आमा, दाजुभाइ अथवा दिदीबहिनीजस्तो नजिकको नातेदारको मृत्यु हुँदा समेत उनीहरूको लास छुनु हुँदैन थियो।—गन ६:१-७.
विशेष भाकल। यस्तो विशेष भाकल गर्ने व्यक्तिले “यहोवा परमेश्वरको सेवा गर्न नाजिरी [अर्थात् समर्पित व्यक्ति, छुट्ट्याइएको व्यक्ति] जीवन” बिताउनुपर्थ्यो। कट्टर सन्यासी जीवन बिताएर मानिसहरूको वाहवाही पाउनको लागि होइन। बरु ‘नाजिरीको रूपमा जीवन बिताउन्जेल ऊ यहोवा परमेश्वरको सामुन्ने पवित्र हुनुपर्थ्यो।’—गन ६:२, ८ फुटनोट।
नाजिरीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीले यहोवाको उपासनामा विशेष अर्थ राख्थ्यो। प्रधानपुजारीले पवित्र सेवा चढाउँथे। त्यसैले तिनले आफ्नो नजिकको नातेदारको समेत लास छुनु हुँदैन थियो। नाजिरीहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्थ्यो। प्रधानपुजारी र उप-पुजारीहरूले गम्भीर जिम्मेवारीहरू सम्हाल्थे। त्यसैले तिनीहरूले यहोवा परमेश्वरसामु पवित्र सेवा चढाउँदा दाखमद्य वा अन्य नशालु पेय पदार्थ पिउनु हुँदैन थियो।—लेवी १०:८-११; २१:१०, ११.
यसबाहेक नाजिरीले (हिब्रू, नाजिर) आफ्नो ‘कपाल बढ्न दिएर ऊ पवित्र रहनुपर्थ्यो।’ यसबाट तिनले नाजिरी जीवन बिताउने भाकल गरेका छन् भनेर अरूले थाह पाइहाल्थे। (गन ६:५) पवित्र विश्रामदिन र स्वर्ण वर्षको सन्दर्भमा “नछिमलेको” अङ्गुर बगानको लागि पनि यही हिब्रू शब्द नाजिर चलाइएको छ। (लेवी २५:५, ११) रोचक कुरा, प्रधानपुजारीले लगाउने फेटाको अगाडीपट्टीको सुनको पातामा “यहोवा पवित्र हुनुहुन्छ” भन्ने शब्दहरू कुँदिएका थिए। यसलाई “समर्पणको पवित्र चिन्ह” [हिब्रू, नेजेर, मूल शब्द नाजिर] भनिन्थ्यो। (प्रस्थ ३९:३०, ३१) त्यसैगरि इस्राएलका राजाहरूले लगाउने मुकुटलाई पनि नेजेर भनिन्थ्यो। (२स १:१०; २रा ११:१२; मुकुट; समर्पण हेर्नुहोस्।) ख्रिष्टियन मण्डलीमा स्त्रीहरूलाई शिरपोसको साटो लामो कपाल दिइएको छ भनेर प्रेषित पावलले बताए। यो तिनको स्थान पुरुषको भन्दा फरक छ भन्ने कुराको सम्झौटो हो। परमेश्वरको प्रबन्धको अधीनमा बस्नुपर्छ भन्ने कुरा तिनले बिर्सनु हुँदैन। त्यसैले कपाल नकाट्नु (पुरुषको लागि अस्वाभाविक), दाखमद्यबाट पूर्णतया अलग रहनु अनि शुद्ध र खोटरहित हुनुले समर्पित नाजिरीलाई आत्मत्यागी जीवन बिताउनु र परमेश्वरको इच्छाअनुसार चल्नुको महत्त्व सम्झाउँथ्यो।—१को ११:२-१६; कपाल; शिरपोस; प्रकृति हेर्नुहोस्।