जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मार्च १-७
बाइबलमा पाइने अनमोल धन | गन्ती ७-८
“इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू”
it-1-E पृ. ४९७ अनु. ३
समुदाय
इस्राएलमा मुखियाहरूले अक्सर मानिसहरूको लागि काम गरिदिन्थे। (एज्रा १०:१४) त्यसैले “कुलनायकहरूले” वासस्थान स्थापना गरेपछि भेटीहरू चढाउँथे। (गन ७:१-११) साथै नहेम्याहको समयमा करारमा छाप लगाउनेहरू पुजारीहरू, लेवीहरू र अगुवाहरू थिए। (नहे ९:३८–१०:२७) इस्राएलीहरू निर्जनभूमिमा हुँदा तिनीहरूमाझ “कुलनायक, समुदायबाट चुनिएका र गण्यमान्य मानिस” थिए, जसमध्ये २५० जनाले कोरह, दातान, अबिराम र ओनलाई साथ दिएर मोसा र हारुनविरुद्ध खडा भए। (गन १६:१-३) यहोवाको आज्ञा पालन गर्दै मोसाले इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छाने। तिनीहरूले मोसालाई “मानिसहरूको बोझ बोक्न” मदत गर्ने थिए जुन तिनी एक्लैले बोक्न सक्दैन थिए। (गन ११:१६, १७, २४, २५) लेवी ४:१५ मा “समुदायका नाइकेहरू”-बारे उल्लेख गरिएको छ। यी जिम्मेवार पुरुषहरू नै इस्राएलका नाइकेहरू, मुखियाहरू, न्यायकर्ताहरू र अफिसरहरू थिए जस्तो देखिन्छ।—गन १:४, १६; यहो २३:२; २४:१.
it-2-E पृ. ७९६ अनु. १
रुबेन
इस्राएलीहरूको छाउनीमा रुबेनको कुलको एकापट्टि सिमियोनको कुल र अर्कोपट्टि गादको कुल थियो। यी तीनै कुल वासस्थानको दक्षिणपट्टि पाल टाँगेर बसेका थिए। यी तीन कुल मिलेर बनेको दलको नेतृत्व रुबेनको कुलले गर्थ्यो। यात्रा गर्दा यस दलले यहुदा, इस्साकार र जबुलुनका कुल मिलेर बनेको दललाई पछ्याउँथ्यो। (गन २:१०-१६; १०:१४-२०) वासस्थानको समर्पणको दिनमा यही क्रमअनुसार कुलहरूले भेटी चढाए।—गन ७:१, २, १०-४७.
बहुमूल्य रत्न
it-1-E पृ. ८३५
पहिलो सन्तान
इस्राएलीहरूका पहिलो सन्तान घरानाहरूका अगुवा हुन्थे र तिनीहरूले पूरै राष्ट्रको प्रतिनिधित्व गर्थे। वास्तवमा यहोवाले पूरै राष्ट्रलाई नै “पहिलो सन्तान” भन्नुभयो। अब्राहामसित बाँधिएको करारको आधारमा तिनीहरू उहाँको पहिलो सन्तान भए। (प्रस्थ ४:२२) तिनीहरूको जीवन जोगाउनुभएको कारणले यहोवाले “इस्राएलीहरूका हरेक पहिलो सन्तान . . . मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान” उहाँको लागि छुट्ट्याउन आज्ञा दिनुभयो। (प्रस्थ १३:२) त्यसैले पहिलो सन्तान परमेश्वरकै हुन्थे।
मार्च ८-१४
बाइबलमा पाइने अनमोल धन | गन्ती ९-१०
“यहोवा आफ्ना मानिसहरूलाई कसरी डोऱ्याउनुहुन्छ?”
it-1-E पृ. ३९८ अनु. ३
छाउनी
इस्राएलीहरूको विशाल छाउनी एक ठाउँबाट अर्को ठाउँमा सार्नु चानचुने कुरा थिएन। (गन्ती अध्याय ३३ मा मोसाले यसरी छाउनी झन्डै ४० पटक सारिएको कुरा बताएका छन्) यसबाट परमेश्वरका जनहरू कत्ति व्यवस्थित थिए भनेर देखिन्थ्यो। वासस्थानमाथि जबसम्म बादल रहन्थ्यो, तबसम्म छाउनी त्यही ठाउँमा रहन्थ्यो। अनि जब त्यो बादल वास्थानबाट माथि उठ्थ्यो तब इस्राएलीहरू फेरि यात्रा गर्थे। “यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे र यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू यात्रा अघि बढाउँथे।” (गन ९:१५-२३) घनले पिटेर बनाइएको चाँदीको दुइटा बिगुल फुकेर यहोवा परमेश्वरको यो आज्ञा छाउनीलाई दिइन्थ्यो। (गन १०:२, ५, ६) सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुक्नु छाउनी अर्को ठाउँमा सार्ने कुराको सङ्केत थियो। यो पहिलो चोटि “दोस्रो वर्षको [ई.पू. १५१२] दोस्रो महिनाको २० औँ दिन”-मा सारिएको थियो। करारको सन्दूक बोक्नेहरू सबैभन्दा अगाडि हुन्थे। त्यसपछि यहुदा, इस्साकार र जबुलुनका तीन वटा कुल मिलेर बनेको पहिलो दल तिनीहरूको पछिपछि जान्थ्यो र यसको नेतृत्व यहुदाको कुलले गर्थ्यो। त्यसपछि गेर्सोनी र मरारीहरू वासस्थानको आफ्नो जिम्मामा भएका सरसामान लिएर तिनीहरूको पछिपछि जान्थे। त्यसपछि रुबेन, सिमियोन र गादका तीन कुल मिलेर बनेको दल तिनीहरूको पछि जान्थ्यो र यसको नेतृत्व रुबेनको कुलले गर्थ्यो। त्यसपछि कोहातीहरू पवित्र स्थान बोकेर तिनीहरूको पछि लाग्थे। त्यसपछि एप्रैम, मनस्से र बिन्यामिनका कुल मिलेर बनेको तेस्रो दल तिनीहरूको पछि लाग्थ्यो। अनि सबैभन्दा पछाडि दान, असेर र नप्तालिको कुल मिलेर बनेको दल हुन्थ्यो र यसको नेतृत्व दानको कुलले गर्थ्यो। यसरी सबैभन्दा ठूलो र शक्तिशाली दुइटा दल सबैभन्दा अगाडि र पछाडि हुन्थ्यो।—गन १०:११-२८.
बहुमूल्य रत्न
it-1-E पृ. १९९ अनु. ३
एकसाथ भेला हुनु
एक ठाउँमा भेला हुनुको महत्त्व। आध्यात्मिक तवरमा पूरापूर लाभ उठाउन यहोवाको प्रबन्धअनुरूपै एक ठाउँमा भेला हुनु आवश्यक छ। यस कुरालाई इस्राएलीहरूले हरेक वर्ष मनाउनुपर्ने निस्तार चाडको आज्ञाले जोड दिएको थियो। कुनै पुरुष शुद्ध भएको बेला र कतै टाढा नगएको बेला उसले निस्तार चाड मनाउन हेलचेक्र्याइँ गऱ्यो भने उसलाई मृत्युदण्ड दिइन्थ्यो। (गन ९:९-१४) राजा हिजकियाहले यहुदा र इस्राएलका बासिन्दाहरूलाई निस्तार चाड मनाउन यरुसलेम बोलाउँदा तिनले पठाएको सन्देशको एक भाग यस्तो थियो: “हे इस्राएलका मानिसहरू हो . . . तिमीहरू यहोवातर्फ फर्क। . . . तिमीहरू आफ्ना पितापुर्खाजस्तो हठी नहोओ। यहोवा परमेश्वरको अधीनमा बस र उहाँको पवित्र स्थानमा आओ, जुन ठाउँलाई उहाँले सदाको लागि पवित्र पार्नुभएको छ अनि आफ्ना परमेश्वर यहोवाको सेवा गर ताकि उहाँको रिसको आगो तिमीहरूबाट हटोस्। . . . तिमीहरूका परमेश्वर यहोवा दयालु र कृपालु हुनुहुन्छ। तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँले तिमीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछैन।” (२इ ३०:६-९) त्यो आज्ञा जानाजानी बेवास्ता गर्नेहरूलाई परमेश्वरले त्याग्नुहुने थियो। हुनत आज ख्रिष्टियनहरूले निस्तार चाडजस्ता चाडहरू मनाउँदैनन् तैपनि पावलले तिनीहरूलाई सभाहरू नछुटाउन यस्तो आज्ञा दिए: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी त्यसो गरिरहौँ।”—हिब्रू १०:२४, २५; समुदाय हेर्नुहोस्।
मार्च १५-२१
बाइबलमा पाइने अनमोल धन | गन्ती ११-१२
“हामीले किन गनगन गर्नु हुँदैन?”
it-2-E पृ. ७१९ अनु. ४
झगडा
गनगन गर्नु। गनगन गर्ने व्यक्तिले अरूलाई निरुत्साहित बनाउँछ। इस्राएलीहरूले मिश्रबाट निस्केको केही समय नबित्दै यहोवाले तिनीहरूको नेतृत्व लिन छान्नुभएका पुरुषहरू, मोसा र हारुनमा दोष भेट्टाउन खोजेर उहाँविरुद्ध गनगन गरे। (प्रस्थ १६:२, ७) पछि तिनीहरूको गनगन सुनेर मोसा यत्ति निरुत्साहित भए कि तिनी मर्न चाहे। (गन ११:१३-१५) गनगन गर्ने व्यक्तिको लागि यो एकदमै खतरनाक हुन सक्छ। इस्राएलीहरूले मोसाविरुद्ध गरेको गनगन यहोवाले उहाँको नेतृत्वविरुद्ध गरिएको गनगन ठान्नुभयो। (गन १४:२६-३०) यसरी दोष भेट्टाउन खोजेकोले धेरैले आफ्नो ज्यान गुमाउनुपऱ्यो।
बहुमूल्य रत्न
it-2-E पृ. ३०९
मन्न
व्याख्या। मन्न “धनियाँको दानाजस्तै सेतोसेतो” र गोकुल धूपको चोपजस्तै “देखिन्थ्यो।” यो मैनजस्तै र पारदर्शी हुन्थ्यो अनि हेर्दा मोतीको दानाजस्तै देखिन्थ्यो। यसको स्वादचाहिँ “मह मिसाएर बनाइएको रोटीको जस्तो” वा “तेलमा पकाएको गुलियो रोटीजस्तो” हुन्थ्यो। यसलाई जाँतोमा पिँधेर वा ओखलमा कुटेर पीठोजस्तो मसिनो बनाइन्थ्यो। त्यसपछि यसलाई उमालेर गोलो रोटीजस्तो बनाइन्थ्यो।—प्रस्थ १६:२३, ३१; गन ११:७, ८.
मार्च २२-२८
बाइबलमा पाइने अनमोल धन | गन्ती १३-१४
बहुमूल्य रत्न
it-1-E पृ. ७४०
परमेश्वरले इस्राएललाई दिनुभएको देश
परमेश्वरले इस्राएललाई दिनुभएको देश साँच्चै असल थियो। मोसाले प्रतिज्ञा गरिएको देश कस्तो रहेछ भनेर थाह पाउन जासुसहरू पठाएका थिए र फर्कँदा तिनीहरूलाई त्यहाँको केही उब्जनी लिएर आउनु भनेका थिए। तिनीहरूले ल्याएको अन्जिर, अनार र अङ्गुरको झुप्पा यत्ति गह्रौँ थियो कि दुई जनाले लट्ठीमा बोकेर ल्याए। विश्वास कमजोर भएको कारणले तिनीहरू डराए तापनि तिनीहरूले यस्तो खबर भने सुनाए: “त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ।”—गन १३:२३, २७.
अप्रिल १९-२५
बाइबलमा पाइने अनमोल धन | गन्ती २२-२४
“यहोवा सरापलाई आशिष्मा बदल्नुहुन्छ”
it-2-E पृ. २९१
पागलपन
यहोवाको विरोध गरेर देखाएको पागलपन। भविष्यवक्ता बालामले मोआबी राजा बालाकबाट पैसा पाउनको लागि इस्राएलविरुद्ध भविष्यवाणी गर्न खोजेर मुर्ख्याइँ देखाए तर यहोवाले तिनलाई रोक्नुभयो। प्रेषित पत्रुसले बालामको विषयमा यसो भने: “बोल्न नसक्ने गधाले आफ्नो मुखबाट मानिसको आवाज निकालेर ती भविष्यवक्ताको पागलपनलाई रोक्यो।” प्रेषित पत्रुसले बालामको पागलपनलाई बुझाउन ग्रीक शब्द पाराफोर्निया चलाए, जसले “दिमाग खुस्कनु” भन्ने अर्थ दिन्छ।—२प २:१५, १६; गन २२:२६-३१.
अप्रिल २६–मे २
बाइबलमा पाइने अनमोल धन | गन्ती २५-२६
बहुमूल्य रत्न
it-1-E पृ. ३५९ अनु. १-२
सीमाना
कुलअनुसार जमिन भाग लगाउने काम दुई वटा कुराको आधारमा गरिन्थ्यो जस्तो देखिन्छ: गोला हाल्दा निस्केको नतिजा र कुल कति ठूलो वा सानो छ भन्ने कुरा; गोला हालेर निस्केको नतिजाबाट प्रत्येक कुलले पैतृक सम्पत्तिको रूपमा कुन ठाउँतिर जमिन पाउँथ्यो भन्ने कुरा मात्र निर्धारण हुन्थ्यो जस्तो देखिन्छ, यसरी उत्तर वा दक्षिण, पूर्व वा पश्चिम साथै तटवर्ती इलाका वा पहाडी इलाका, कतातिर पैतृक सम्पत्तिको रूपमा जमिन पाउने हो भनेर निर्धारण गरिन्थ्यो। गोलाको फैसला यहोवाले नै गर्नुहुन्थ्यो। त्यसले गर्दा कुलहरूबीच डाह वा झगडा उत्पन्न हुन पाउँदैनथ्यो। (हित १६:३३) यसरी उत्पत्ति ४९:१-३३ मा कुलपिता याकुबले परमेश्वरको प्रेरणा पाएर मर्ने बेला गरेको भविष्यवाणीअनुरूपै प्रत्येक कुलले आ-आफ्नो जमिन पाऊन् भन्ने कुरा परमेश्वरले पक्का गर्नुहुने थियो।
गोला हालेर कुनै कुलले कतातिर जमिन पाउने हो भन्ने कुरा पक्का भइसकेपछि त्यस कुलले त्यहाँको कति इलाका ओगट्ने हो भन्ने कुरा पक्का गर्नुपर्थ्यो। त्यो पक्का गर्न दोस्रो कुरा अर्थात् कुनै कुल कति ठूलो वा सानो छ भन्ने कुरा विचार गरिन्थ्यो। “सबै घरानालाई जमिन भाग लगाउनुअघि तिमीहरूले गोला हाल्नू। ठूलो समूहले पैतृक सम्पत्तिको रूपमा जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्। गोलाकै आधारमा सबैले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछन्।” (गन ३३:५४) जमिन कहाँ पाउने भनेर गोला हालेर निर्णय गरिने भए तापनि पैतृक सम्पत्तिको रूपमा कति जमिन पाउने भन्ने कुरामा छाँटकाँट गर्न सकिन्थ्यो। त्यसैले यहुदाको कुलको भागमा परेको इलाका धेरै ठूलो भएकोले त्यसको केही भाग सिमियोनको कुललाई दिइयो।—यहो १९:९.