-
रिसले गलत काम गर्न लगाउन सक्छबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४
रिसले गलत काम गर्न लगाउन सक्छ
अदनको बगैँचाबाट निकालिएपछि आदम र हव्वाका धेरै छोराछोरी भए। तिनीहरूको जेठो छोरा कयिन किसान भए र माइलो छोरा हाबिल गोठालो भए।
एकदिन कयिन र हाबिलले यहोवा परमेश्वरलाई भेटी चढाए। भेटी भनेको के हो, तिमीलाई थाह छ? भेटी भनेको परमेश्वरलाई दिइने उपहार हो। उहाँ हाबिलको भेटीसित खुसी हुनुभयो तर कयिनको भेटीसित भने खुसी हुनुभएन। त्यसैले कयिन रिसले चूर भए। रिसले तिनलाई गलत काम गर्न लगाउन सक्छ भनेर यहोवा परमेश्वरले कयिनलाई सम्झाउनुभयो। तर कयिनले सुनेनन्।
बरु कयिनले हाबिललाई यसो भने: “आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे। त्यसपछि यहोवाले के गर्नुभयो? यहोवाले कयिनलाई परिवारबाट टाढा पठाएर सजाय दिनुभयो। तिनी कहिल्यै आफ्नो परिवार भएको ठाउँमा फर्केर आउन पाउने थिएनन्।
यस घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आफूले सोचेजस्तो नहुँदा हामीलाई रिस उठ्न सक्छ। हामीले कहिलेकाहीँ भित्रभित्रै आफूलाई रिस उठेको चाल पाउन सक्छौँ अथवा अरूले हामी रिसाएको देखेर सम्झाउन सक्छन्। त्यस्तो बेला रिस हटाउन हामीले तुरुन्तै कदम चाल्नुपर्छ।
हाबिल यहोवालाई प्रेम गर्थे। तिनले यहोवाको नजरमा जे सही थियो, त्यही गरे। त्यसैले यहोवाले तिनलाई कहिल्यै बिर्सनुहुनेछैन। पृथ्वीलाई प्रमोदवन बनाउनुभएपछि यहोवाले हाबिललाई फेरि जीवित पार्नुहुनेछ।
“पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।”—मत्ति ५:२४
-
-
नुहको जहाजबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ५
नुहको जहाज
पृथ्वीमा मानिसहरू बढ्दै गए। धेरैजसो मानिस खराब थिए। कोही-कोही स्वर्गदूतसमेत खराब भए। तिनीहरू स्वर्ग छोडेर तल पृथ्वीमा आए। तिनीहरू पृथ्वीमा किन आए, तिमीलाई थाह छ? मानिसको रूप धारण गरेर तिनीहरू स्त्रीहरूसित विवाह गर्न चाहन्थे।
ती स्वर्गदूतहरू र स्त्रीहरूका छोराहरू जन्मिए। तिनीहरूबाट जन्मिएका छोराहरू बलिया-बलिया थिए। उनीहरू मानिसहरूलाई धेरै सताउँथे। यहोवाले यस्तो अवस्था रहिरहन दिनुहुने थिएन। त्यसैले उहाँले ती दुष्ट मानिसहरूलाई जलप्रलय ल्याएर नाश गर्ने निर्णय गर्नुभयो।
त्यतिबेला एक जना मानिस भने फरक थिए। तिनी यहोवालाई प्रेम गर्थे। तिनको नाम नुह थियो। तिनको परिवारमा तिनकी पत्नी, तीन छोरा र तीन बुहारी थिए। तिनका छोराहरूको नाम सेम, हाम र यापेत थियो। यहोवा परमेश्वरले नुहलाई पानीमा तैरिन सक्ने बाकसजस्तै एउटा ठूलो जहाज बनाउन भन्नुभयो। जहाजभित्र बस्दा तिनी र तिनको परिवार जलप्रलयबाट जोगिन सक्थे। यहोवाले नुहलाई जनावरहरूलाई पनि जहाजभित्र लैजान भन्नुभयो। यसो गर्दा जनावरहरू पनि जलप्रलयबाट जोगिन सक्थे।
नुहले तुरुन्तै जहाज बनाउने काम सुरु गरे। नुह र तिनको परिवारलाई जहाज बनाउन झन्डै ५० वर्ष लाग्यो। तिनीहरूले यहोवा परमेश्वरले भन्नुभएअनुसारै जहाज बनाए। त्यतिबेला नुहले जलप्रलयबारे मानिसहरूलाई चेतावनी पनि दिए। तर कसैले तिनको कुरा सुनेनन्।
अब जहाजभित्र जाने समय भयो। त्यसपछि के भयो, आऊ अब हामी बुझौँ।
“नुहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।”—मत्ति २४:३७
-