समस्याको समयमा आनन्द कायम राख्नुहोस्
“[ यहोवाको] शरण लिनेहरूचाहिं, . . . रमाऊन्। तिनीहरू सधैं आनन्दले कराऊन्।”—भज. ५:११.
१, २. (क) आज असह्य पीडा दिने केही कुरा के हुन्? (ख) सबैमाथि आइपर्ने विपत्तिको अलावा साँचो ख्रीष्टियानहरूले के पनि सहनैपर्छ?
मानिसहरूमाथि आइपर्ने विपत्तिबाट यहोवाका साक्षीहरू अछुतो छैनन्। परमेश्वरका थुप्रै जनहरू हिंसा, युद्ध र अरू अन्यायका सिकार भएका छन्। प्राकृतिक प्रकोप, गरिबी, बिमारी र मृत्युले असह्य पीडा दिन्छ। प्रेरित पावलले यसो भन्नु उपयुक्त थियो: “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।” (रोमी ८:२२) हामी आफ्नै असिद्धताको पनि सिकार भएका छौं। प्राचीन समयका राजा दाऊदले जस्तै हामी यसो भनौंला: “मेरा अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गह्रौं भारीझैं ती मेरो निम्ति अति गह्रौं छन्।”—भज. ३८:४.
२ सबै मानिसमाथि आइपर्ने विपत्तिको अलावा साँचो ख्रीष्टियानहरू प्रतीकात्मक खम्बा बोक्छन्। (लूका १४:२७, NW) हो, येशूलाई जस्तै उहाँका चेलाहरूलाई पनि घृणा गरिएको छ र सताइएको छ। (मत्ती १०:२२, २३; यूह. १५:२०; १६:२) त्यसैले नयाँ संसारमा पाइने आशिष्हरूको प्रतीक्षा गर्दै ख्रीष्टको पछि लाग्न कडा प्रयास र धीरज चाहिन्छ।—मत्ती ७:१३, १४; लूका १३:२४.
३. हामीले दुःख र निराशाले भरिएको जीवन बिताएको परमेश्वर चाहनुहुन्न भनी हामी कसरी थाह पाउन सक्छौं?
३ के त्यसको मतलब साँचो ख्रीष्टियानहरूले आनन्द र खुसीरहितको जीवन जिउँछन् भन्ने हो? के अन्त नआएसम्म हामीले दुःख र निराशाले भरिएको जीवन मात्रै बिताउनुपर्छ? स्पष्ट छ, यहोवाका प्रतिज्ञाहरू पूरा हुने समयको प्रतीक्षा गर्दै हामी आनन्दित रहेको उहाँ चाहनुहुन्छ। साँचो उपासकहरूलाई आनन्दित जन भनेर बाइबल पटक-पटक वर्णन गर्छ। ( यशैया ६५:१३, १४ पढ्नुहोस्) “[यहोवाको] शरण लिनेहरूचाहिं, . . . रमाऊन्। तिनीहरू सधैं आनन्दले कराऊन्” भनी भजन ५:११ बताउँछ। हो, विपत्तिको समयमा पनि अपार आनन्द, मनोशान्ति र सन्तुष्टिको जीवन अनुभव गर्न सकिन्छ। परीक्षाको सामना गरे तापनि आनन्दित भइरहन बाइबलले कसरी मदत गर्न सक्छ, आउनुहोस् हामी हेरौं।
यहोवा—“आनन्दित परमेश्वर”
४. आफ्नो इच्छा बेवास्ता गरिंदा परमेश्वर कस्तो महसुस गर्नुहुन्छ?
४ उदाहरणको लागि यहोवालाई विचार गर्नुहोस्। सर्वशक्तिमान् परमेश्वर भएकोले सारा ब्रह्माण्ड उहाँको अधीनमा छ। उहाँलाई केही कुराको कमी छैन र कोही पनि आवश्यक छैन। यहोवासित अद्वितीय शक्ति भए तापनि आफ्नो आत्मिक छोरामध्ये एक जनाले विद्रोह गरेर शैतान बन्दा उहाँलाई एकदमै दुःख लागेको हुनुपर्छ। पछि अरू स्वर्गदूतहरूले विद्रोहमा साथ दिंदा उहाँलाई अझ असर गरेको हुनुपर्छ। आफ्ना उत्कृष्ट सृष्टि आदम र हव्वाले उहाँलाई तिरस्कार गर्दा कत्ति पीडा महसुस भयो होला, त्यो पनि सोच्नुहोस् त! त्यसबेलादेखि यता तिनीहरूका अरबौं सन्तानले यहोवाको अख्तियारलाई तिरस्कार गरेका छन्।—रोमी ३:२३.
५. यहोवालाई विशेषगरि कुन कुराले पीडा दिएको छ?
५ शैतानले अझै पनि विद्रोह गरिरहेको छ। करिब ६,००० वर्षदेखि यहोवाले मूर्तिपूजा, हिंसा, हत्या र अनैतिक क्रियाकलाप हेर्नुपरेको छ। (उत्प. ६:५, ६, ११, १२) यसबाहेक उहाँले घीनलाग्दा झूट र आफूमाथि गरिएको निन्दा सुन्नुपरेको छ। कहिलेकाहीं आफ्नै साँचो उपासकहरूले समेत उहाँलाई चोट पुऱ्याएका छन्। यस्तै एउटा अवस्थाबारे बाइबल भन्छ: “कतिपल्ट तिनीहरू उजाड-स्थानमा उहाँको विरुद्धमा वागी भए, र मरूभूमिमा उहाँलाई दुःखित तुल्याए! औ फेरि फर्केर तिनीहरूले परमेश्वरको परीक्षा गरे, र इस्राएलका पवित्र जनलाई झोंक उठाए।” (भज. ७८:४०, ४१) आफ्ना जनहरूले तिरस्कार गर्दा यहोवा पक्कै पनि एकदमै दुःखित हुनुहुन्छ। (यर्मि. ३:१-१०) स्पष्टतः खराब कुरा हुन्छन् र ती हुँदा उहाँ एकदमै पीडा महसुस गर्नुहुन्छ।—यशैया ६३:९, १० पढ्नुहोस्।
६. पीडादायी अवस्थाको सामना परमेश्वर कसरी गर्नुहुन्छ?
६ तर चोट र निराशाले यहोवालाई केही गर्न नसक्ने तुल्याएको छैन। समस्याहरू आइपर्दा त्यसको खराब परिणामलाई कम गर्न यहोवाले तुरुन्तै कदम चाल्नुभएको छ। साथै अन्तमा गएर आफ्नो उद्देश्य पूरा होस् भनेर उहाँले पछिसम्मै असर गर्ने कदम पनि चाल्नुभएको छ। यी सकारात्मक कदमहरूलाई विचार गर्दा, यहोवा आफ्नो सार्वभौमिकता उच्च पारिने र फलस्वरूप आफ्ना वफादार उपासकहरूले आशिष् पाउने समयको आनन्दित भई बाटो हेर्नुहुन्छ। (भज. १०४:३१) हो, उहाँको जति नै निन्दा गरिए तापनि उहाँ “आनन्दित परमेश्वर” रहिरहनुहुन्छ।—१ तिमो. १:११, NW; भज. १६:११.
७, ८. कुनै नराम्रो कुरा हुँदा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?
७ वास्तवमा, समस्या समाधान गर्ने क्षमताको सन्दर्भमा हामी यहोवाको तुलनामा आउन सक्दैनौं। तैपनि दुःख आइपर्दा हामी यहोवाको अनुकरण गर्न सक्छौं। कुनै नराम्रो कुरा हुँदा खिन्न हुनु स्वाभाविक हो तर सधैं खिन्न हुनुपर्दैन। यहोवाकै स्वरूपमा सृष्टि गरिएकोले हामीसित सोच्ने क्षमता अनि व्यावहारिक बुद्धि छ जसले हामीलाई समस्या केलाउन र सम्भव हुँदा सकारात्मक कदम चाल्न मदत दिन्छ।
८ जीवनमा आइपर्ने समस्याहरू सामना गर्ने एउटा महत्त्वपूर्ण तरिका, कुनै-कुनै कुरा हाम्रो वशमा हुँदैन भनेर मानिलिनु हो। त्यस्ता कुरामा बढ्तै चिन्तित हुँदा झनै निराश हुन सक्छौं र साँचो उपासनासित सम्बन्धित आनन्द गुम्न सक्छ। समस्या सुल्झाउन व्यावहारिक कदम चालिसकेपछि त्यसमै चिन्तित नभएर अझ फलदायी कामहरूमा ध्यान केन्द्रित गर्नु बेस हुन्छ। अब छलफल गरिने बाइबल विवरणहरूले यो कुरालाई स्पष्ट पार्छ।
व्यावहारिकता अत्यावश्यक
९. हन्नाले कसरी व्यावहारिकता देखाइन्?
९ हन्नाको उदाहरणलाई विचार गर्नुहोस् जो अन्ततः अगमवक्ता शमूएलकी आमा बनिन्। बच्चा जन्माउन असमर्थ भएकीले तिनी साह्रै दुःखित थिइन्। बाँझी भएकीले तिनले गिल्ला खप्नुपऱ्यो। समय-समयमा हन्ना यति दुःखित हुन्थिन् कि तिनी रोई बसेर केही खान्नथिन्। (१ शमू. १:२-७) एकपटक यहोवाको मन्दिरमा जाँदा हन्ना “मनको ठूलो ताप लिएर उठिन्, र परमप्रभुको सामु उभिएर धुरूधुरू रुँदै प्रार्थना गरिन्।” (१ शमू. १:१०) हन्नाले मनको बह यहोवालाई पोखाइसकेपछि प्रधान पूजाहारी एली तिनीकहाँ आएर यसो भने: “शान्तिसित जाऊ, औ तिमीले उहाँलाई गरेको प्रार्थनाको जवाफ इस्राएलका परमेश्वरले तिमीलाई देऊन्।” (१ शमू. १:१७) यतिबेला, हन्नाले निश्चय नै आफूले गर्न सक्ने जति गरिसकेको महसुस गरिन्। बाँझोपनलाई तिनी हटाउन सक्दिनथिन्। हन्नाले व्यावहारिकता देखाइन्। त्यसपछि तिनी “गइहालिन् र केही खानेकुरो खाइन्, औ तिनी फेरि उदास भइनन्।”—१ शमू. १:१८.
१०. आफूले समाधान गर्न नसक्ने समस्या आइपर्दा पावलले कस्तो व्यावहारिक मनोवृत्ति देखाए?
१० प्रेरित पावलले पनि दुःख आइपर्दा त्यस्तै मनोवृत्ति देखाए। तिनलाई एउटा समस्याले ज्यादै पिरोलिरहेको थियो। तिनले त्यसलाई “शरीरमा एक किसिमको छेस्को” भने। (२ कोरि. १२:७) त्यो छेस्को जेसुकै भए तापनि पावलले निको पारिदिन यहोवालाई प्रार्थना गर्दै त्यसबाट छुटकारा पाउन सक्दो गरे। यसबारे पावलले यहोवालाई कतिपल्ट बिन्ती गरे? तीनपल्ट। तेस्रोपल्ट बिन्ती गरिसकेपछि परमेश्वरले पावललाई त्यो “छेस्को” चमत्कारपूर्ण ढंगमा हट्नेछैन भनेर बताउनुभयो। पावलले यो यथार्थलाई स्वीकारे र पूर्ण रूपमा उहाँको सेवा गर्नमै ध्यान केन्द्रित गरे।—२ कोरिन्थी १२:८-१० पढ्नुहोस्।
११. विपत्तिको बेला प्रार्थना र अन्तरबिन्तीको भूमिका कस्तो छ?
११ यी उदाहरणहरूको मतलब यो होइन कि हामीले समस्याबारे यहोवालाई प्रार्थना गर्न बन्द गर्नुपर्छ। (भज. ८६:७) बरु, परमेश्वरको वचन हामीलाई यस्तो आग्रह गर्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” यहोवाले यस्तो प्रार्थना र अन्तरबिन्तीको जवाफ कसरी दिनुहुनेछ? बाइबल भन्छ: “परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) हो, यहोवाले हाम्रो समस्या हटाउनुहुन्न होला तर हाम्रो विचारलाई रक्षा गरेर प्रार्थनाको जवाफ दिन सक्नुहुन्छ। कुनै विषयमा प्रार्थना गरिसकेपछि हामीलाई फिक्रीमा डुब्नुको खतराबारे महसुस हुन सक्छ।
परमेश्वरको इच्छाबमोजिम गर्न प्रसन्न हुनुहोस्
१२. लामो समयसम्म निराश हुनु किन हानिकारक हुन सक्छ?
१२ हितोपदेश २४:१० यो कुरा मानिलिन्छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्को दिनमा तँ झन् कति असहाय हुनेछस्।” अर्को हितोपदेश यसो भन्छ: “दु:खित हृदयले आत्मालाई चूर्ण पार्छ।” (हितो. १५:१३) केही ख्रीष्टियानहरू यत्ति निराश भएका छन् कि तिनीहरूले व्यक्तिगत बाइबल पढाइ र परमेश्वरको वचनमा मनन गर्न छोडेका छन्। तिनीहरूको प्रार्थना झारा टार्ने किसिमको भएको छ र तिनीहरूले सँगी उपासकहरूसित सरसंगत गर्न छोड्न सक्छन्। खिन्न भइरहनु हानिकारक छ भनेर स्पष्ट छ।—हितो. १८:१, १४.
१३. निराशा हटाउन सक्ने र केही हदसम्म आनन्द दिन सक्ने केही गतिविधि के हुन्?
१३ अर्कोतर्फ सकारात्मक दृष्टिकोणले हामीलाई जीवनको त्यस्तो पक्षमा ध्यान दिन मदत गर्नेछ जसले हामीलाई खुसी र आनन्द दिनेछ। दाऊदले लेखे: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु।” (भज. ४०:८) जीवनमा नराम्रो कुरा हुँदा हामीले गर्नै नहुने कुरा भनेको उपासनाको नियमित तालिकालाई निरन्तरता दिन छोड्नु हो। वास्तवमा निराशासित लड्ने एउटा राम्रो तरिका हो, आनन्द दिने गतिविधिमा भाग लिनु। उहाँको वचन पढ्दा र यो नियमित रूपमा गहिरिएर अध्ययन गर्दा हामी खुसी र आनन्दित हुन सक्छौं भनेर यहोवा हामीलाई भन्नुहुन्छ। (भज. १:१, २; याकू. १:२५) पवित्र धर्मशास्त्र र ख्रीष्टियान सभा दुवैबाट, हामीलाई प्रोत्साहन मिल्ने र हाम्रो हृदयलाई खुसी बनाउने “दयालु वचन” पाउन सक्छौं।—हितो. १२:२५; १६:२४.
१४. यहोवाको कस्तो आश्वासनले अहिले हामीलाई आनन्दित तुल्याउँछ?
१४ परमेश्वर हामीलाई आनन्दित हुन सक्ने थुप्रै कारण दिनुहुन्छ। उद्धार गर्छु भनेर उहाँले गर्नुभएको प्रतिज्ञा साँच्चै आनन्दको एउटा प्रमुख स्रोत हो। (भज. १३:५) अहिले हामी जस्तोसुकै परिस्थितिमा भए तापनि निष्कपटतासाथ परमेश्वरको खोजी गर्नेहरूलाई अन्तमा उहाँले इनाम दिनुहुनेछ भनेर हामीलाई थाह छ। ( उपदेशक ८:१२ पढ्नुहोस्) अगमवक्ता हबकूकले आफ्नो विश्वास सुन्दर ढंगमा यसरी व्यक्त गरे: “चाहे नेभाराको रूखमा फूल नफुलोस्, औ दाखको बोटमा फल नफलोस्, चाहे भद्राक्षको रूखमा फल नलागोस्, औ खेतले अन्न नउब्जाओस्, खोरमा भेडा-बाख्रा नष्ट भए पनि गोठमा गाई-वस्तुहरू रहेन भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।”—हब. ३:१७, १८.
“ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै हुनुहुन्छ”
१५, १६. भावी आशिष्हरूको प्रतीक्षा गर्दै बस्दा हामीले आनन्द उठाउन सक्ने परमेश्वरका केही वरदान बताउनुहोस्।
१५ हाम्रोलागि साँचिएको सुन्दर भविष्यको प्रतीक्षा गर्दै बस्दा यहोवाले दिनुभएको असल थोकहरूबाट हामीले आनन्द उठाएको उहाँ चाहनुहुन्छ। बाइबल भन्छ: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनुबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्वरको दान हो।” (उप. ३:१२, १३) “सुन्दर जीवन निर्वाह” गर्नुमा अरूको खातिर असल कामहरू गर्नु समावेश छ। लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ भनेर येशूले भन्नुभयो। आफ्नो जीवनसाथी, बालबच्चा, आमाबाबु र अन्य नातागोताहरूको लागि दयालु कार्य गर्दा गहिरो सन्तुष्टि मिल्छ। (हितो. ३:२७) आध्यात्मिक भाइबहिनीहरूप्रति करुणा र अतिथि सत्कार देखाउँदा अनि क्षमाशील हुँदा पनि त्यसले अपार आनन्द दिन्छ र यहोवालाई प्रसन्न तुल्याउँछ। (गला. ६:१०; कल. ३:१२-१४; १ पत्रु. ४:८, ९) अनि आत्मत्यागी मनोभावसाथ सेवाको काममा लाग्नु साँच्चै इनामदायी छ।
१६ माथि उद्धृत गरिएको उपदेशकको पुस्तकका शब्दहरूले खाने र पिउने जस्ता जीवनलाई खुसी तुल्याउने सामान्य कुराहरू उल्लेख गर्छ। हो, परीक्षाको बेलामा समेत यहोवाबाट जे-जति भौतिक इनाम पाएका छौं त्यसमा हामी आनन्दित हुन सक्छौं। यसबाहेक मनमोहक सूर्यास्त, प्रकृतिका सानदार दृश्य, साना जनावरहरूको चुलबुलेपनजस्ता सुन्दर कुराहरूको आनन्द उठाउन पैसा तिर्नु पर्दैन। तर ती कुराहरूले हामीलाई चकित तुल्याउन र आनन्द दिन सक्छ। यस्ता कुराहरूबारे सोच्दा यहोवाप्रतिको हाम्रो प्रेम बढ्छ किनकि सबै असल थोकको दाता उहाँ नै हुनुहुन्छ।
१७. दुःखकष्टबाट हामीलाई पूर्णतया राहत केले दिनेछ र त्यतिन्जेल हामीलाई कुन कुराले सान्त्वना दिन्छ?
१७ परमेश्वरप्रतिको प्रेम, उहाँप्रतिको आज्ञाकारिता र छुडौतीको बलिदानमाथिको विश्वासले अन्ततः असिद्धताको कारण पाइरहेका दुःखकष्टबाट हामीलाई पूर्णतया राहत दिनेछ र अनन्त आनन्दतर्फ डोऱ्याउनेछ। (१ यूह. ५:३) त्यतिन्जेल, हामीलाई दुःख दिने कुराहरूबारे यहोवा अनभिज्ञ हुनुहुन्न भनेर थाह पाउँदा हामी सान्त्वना पाउँछौं। दाऊदले लेखे: “तपाईंकै करुणामा म मग्न र आनन्दित हुनेछु। किनकि तपाईंले मेरो दुःख देख्नुभएको छ। दुःखका दिनमा मेरो आत्मालाई तपाईंले चिन्नुभएको छ।” (भज. ३१:७) हामीप्रतिको प्रेमले उत्प्रेरित भई यहोवाले हामीलाई विपत्तिबाट छुटकारा दिनुहुनेछ।—भज. ३४:१९.
१८. परमेश्वरका जनहरूमाझ आनन्द किन प्रबल हुनुपर्छ?
१८ यहोवाका प्रतिज्ञाहरू पूरा हुने समय पर्खंदै हामी आनन्दित परमेश्वर यहोवाको अनुकरण गरौं। नकारात्मक भावनाहरूको कारण आध्यात्मिक रूपमा केही गर्न नसक्ने नहोऔं। समस्या आइपर्दा सोच्ने क्षमता र व्यावहारिक बुद्धिले हामीलाई डोऱ्याओस्। यहोवाले हामीलाई आफ्ना भावनाहरू नियन्त्रणमा राख्न र विपत्तिका खराब असरलाई कम गर्न जे-जति कदम चाल्न सकिन्छ त्यो चाल्न मदत गर्नुहुनेछ। आउनुहोस् हामी उहाँबाट प्राप्त भौतिक तथा आध्यात्मिक, दुवै असल कुराहरूमा प्रसन्न होऔं। परमेश्वरसित नजिक भइरहँदा हामी आनन्दित हुन सक्नेछौं किनभने “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै हुनुहुन्छ।”—भज. १४४:१५. ( w 09 12/15)
तपाईंले के सिक्नुभयो?
• दुःखकष्टको सामना गर्दा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?
• दुःखकष्टको सामना गर्न व्यावहारिकताले हामीलाई कसरी मदत गर्न सक्छ?
• पीडाको बेला हामी कसरी परमेश्वरको इच्छाबमोजिम गर्नमा प्रसन्न हुन सक्छौं?
[पृष्ठ १८-मा भएको चित्र]
अहिले भइरहेका खराब कुराहरूले गर्दा यहोवा पीडा महसुस गर्नुहुन्छ
[पृष्ठ १८-मा भएको चित्र]
© G.M.B. Akash/Panos Pictures
[पृष्ठ २०-मा भएको चित्र]
यहोवाले हामीलाई आनन्द कायम राख्ने कारण दिनुभएको छ