प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नयाँ नाइके र दुई साहसी स्त्री
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • बाराक दबोरालाई सँगै आउन इसारा गर्छन्‌

      पाठ ३२

      नयाँ नाइके र दुई साहसी स्त्री

      यहोसुले परमेश्‍वरका मानिसहरूलाई वर्षौँसम्म डोऱ्‍याए र ११० वर्षको उमेरमा तिनको मृत्यु भयो। तिनी जीवित हुँदा इस्राएलीहरूले यहोवाको उपासना गरे। तर तिनको मृत्युपछि इस्राएलीहरूले कनानीहरूले जस्तै मूर्तिहरू पुज्न थाले। तिनीहरू यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँडेनन्‌। त्यसैले उहाँले तिनीहरूलाई कनानी राजा याबिनको हातमा सुम्पिदिनुभयो र तिनीहरूको जीवन कष्टकर भयो। तिनीहरूले मदतको लागि उहाँलाई गुहारे। त्यसैले उहाँले तिनीहरूको लागि नयाँ नाइके रोज्नुभयो। तिनी बाराक थिए। तिनले मानिसहरूलाई यहोवातर्फ फर्कन मदत गर्ने थिए।

      भविष्यवक्‍ता दबोराले बाराकलाई आफूकहाँ बोलाउन लगाइन्‌। उनले बाराकलाई यहोवाको यो सन्देश दिइन्‌: ‘दस हजार पुरुष लिएर जाऊ र किसोन खोल्सामा याबिनको सेनालाई भेट। त्यहाँ तिमीले याबिनका सेनापति सिसरालाई हराउनेछौ।’ बाराकले दबोरालाई भने: ‘तपाईँ मसँगै आउनुभयो भने मात्र म जान्छु।’ उनले भनिन्‌: ‘म तिमीसँग जानेछु। तर यो कुरा याद राख, सिसरालाई तिमीले मार्नेछैनौ। यहोवा परमेश्‍वरले तिनलाई एउटी स्त्रीले मार्नेछिन्‌ भन्‍नुभएको छ।’

      त्यसपछि दबोरा युद्धको तयारी गर्न बाराक र तिनको सेनासित तबोर डाँडामा गइन्‌। यो कुरा सुन्‍नेबित्तिकै सिसरा आफ्नो रथ र सेना जम्मा गरेर किसोन खोल्सामा गए। दबोराले बाराकलाई भनिन्‌: ‘आज यहोवा परमेश्‍वरले तिमीलाई विजयी तुल्याउनुहुनेछ।’ बाराक र तिनका १० हजार सिपाही सिसराको शक्‍तिशाली सेनासित भिड्‌न डाँडाबाट ओर्ले।

      किसोन खोल्सामा एक्कासि बाढी आयो। त्यो यहोवाले नै गर्नुभएको थियो। सिसराका रथहरू दलदलमा फसे र तिनी रथ छोडेर भागे। बाराक र तिनको सेनाले सिसराको सेनालाई हराए तर सिसरा भने उम्के! सिसरा याएल नामकी स्त्रीको पालमा गएर लुके। उनले सिसरालाई दूध दिइन्‌ र कम्बल ओढाइदिइन्‌। सिसरा असाध्यै थाकेकोले मस्त निदाए। याएल बिस्तारै सिसरा भएतिर गइन्‌ र तिनको कन्चटमा किला ठोकिदिइन्‌। तिनी त्यहीँ मरे।

      बाराक र दबोरा यहोवाको स्तुति गाउँछन्‌

      बाराक सिसरालाई खोज्दै त्यहाँ आइपुगे। याएल पालबाट बाहिर आइन्‌ र भनिन्‌: ‘भित्र आउनुहोस्‌। तपाईँले खोजिरहनुभएको मानिस म देखाइदिन्छु।’ बाराक भित्र गए र सिसराको लास देखे। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई शत्रुहरूमाथि विजयी बनाइदिनुभएकोमा बाराक र दबोराले उहाँको स्तुति गाए। त्यसपछि इस्राएलमा ४० वर्षसम्म शान्ति छायो।

      “स्त्रीहरूको विशाल सेनाले [यहोवाको] सुसमाचार घोषणा गर्छ।”—भजन ६८:११

      प्रश्‍नहरू: दबोराले इस्राएलीहरूलाई कसरी मदत गरिन्‌? याएलले कसरी साहस देखाइन्‌?

      न्यायकर्ता ४:१–५:३१

  • रुथ र नाओमी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • नाओमी रुथलाई घर फर्किन भन्छिन्‌

      पाठ ३३

      रुथ र नाओमी

      इस्राएलमा अनिकाल पर्दा नाओमी नाम गरेकी इस्राएली स्त्री आफ्नो पति र दुई छोरासँगै मोआबमा सरेकी थिइन्‌। पछि नाओमीको पतिको मृत्यु भयो। तिनका छोराहरूले मोआबी स्त्रीहरू रुथ र ओर्पासँग बिहे गरे। तर दुःखको कुरा, नाओमीका दुवै छोराको मृत्यु भयो।

      नाओमीले इस्राएलमा अनिकाल सिद्धिएको सुनेपछि आफ्नो घर फर्कने निर्णय गरिन्‌। रुथ र ओर्पा पनि तिनीसँगै आए तर बाटोमा नाओमीले तिनीहरूलाई भनिन्‌: ‘तिमीहरू दुवै असल पत्नी र असल बुहारी थियौ। म तिमीहरूले फेरि बिहे गरेको चाहन्छु। त्यसैले तिमीहरू आफ्नो घर मोआब फर्क।’ ती स्त्रीहरूले भने: ‘हामी तपाईँलाई माया गर्छौँ! तपाईँलाई छोडेर जाँदैनौँ।’ नाओमीले तिनीहरूलाई फर्किन कर गरिन्‌। त्यसपछि ओर्पा आफ्नो माइती फर्किन्‌ तर रुथ भने फर्किनन्‌। नाओमीले रुथलाई भनिन्‌: ‘ओर्पा आफ्ना मानिस र आफ्ना देवीदेवताकहाँ फर्की। तिमी पनि ऊसितै फर्क र आफ्नै माइतीमा जाऊ।’ तर रुथले भनिन्‌: ‘म तपाईँलाई छोडेर जान्‍नँ। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌ अनि तपाईँका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।’ तिम्रो विचारमा रुथले यसो भन्दा नाओमीलाई कस्तो लाग्यो होला?

      रुथ र नाओमी इस्राएल आइपुग्दा जौ काट्‌ने समय भएको थियो। एकदिन रुथ बोअज भन्‍ने मानिसको खेतमा सिलाबाला बटुल्न गइन्‌। बोअज राहाबको छोरा थिए। बोअजले मोआबी स्त्री रुथले नाओमीको साथ नछोडेको कुरा सुनेका थिए। तिनले खेतालाहरूलाई रुथको लागि खेतमा सदाभन्दा अलि धेरै सिलाबाला छोडिदिन भने।

      रुथ बोअजको खेतमा सिलाबाला बटुल्दै छिन्‌

      साँझ नाओमीले रुथलाई सोधिन्‌: ‘आज कसको खेतमा सिलाबाला बटुल्यौ?’ रुथले भनिन्‌: ‘बोअज भन्‍ने मानिसको खेतमा।’ नाओमीले बुहारीलाई भनिन्‌: ‘बोअज हाम्रा नातेदार हुन्‌। अरू स्त्रीसँगै तिनकै खेतमा काम गर्नू। त्यहाँ तिमी सुरक्षित हुनेछ्यौ।’

      बोअज, रुथ र ओबेदसँग नाओमी

      बाली काट्‌ने समय नसिद्धिउन्जेल रुथले बोअजको खेतमा काम गरिन्‌। बोअजले रुथ परिश्रमी र असल स्त्री भएको याद गरे। त्यतिबेला कुनै पुरुषको मृत्यु भयो तर तिनका छोराहरू छैनन्‌ भने तिनको नातेदारले तिनकी पत्नीसित बिहे गर्ने चलन थियो। त्यसैले बोअजले रुथसँग बिहे गरे। तिनीहरूको एउटा छोरा जन्मियो र उसको नाम ओबेद राखियो। ओबेद राजा दाउदका हजुरबुबा थिए। नाओमीका साथीहरू खुसी भए। तिनीहरूले भने: ‘तपाईँलाई यहोवा परमेश्‍वरले पहिला रुथ दिनुभयो, जसले तपाईँलाई असाध्यै माया गर्छिन्‌। अहिले एउटा नाति दिनुभएको छ। यहोवा परमेश्‍वरको जय होस्‌!’

      “कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।”—हितोपदेश १८:२४

      प्रश्‍नहरू: रुथले नाओमीलाई माया गरेको कुरा कसरी देखाइन्‌? यहोवा परमेश्‍वरले रुथ र नाओमीको कसरी ख्याल राख्नुभयो?

      रुथ १:१–४:२२; मत्ति १:५

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने