-
यहोवा परमेश्वरको अग्निमय सेनाबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ५२
यहोवा परमेश्वरको अग्निमय सेना
सिरियाका राजा बेन-हददले इस्राएलमाथि आक्रमण गरी नै रहे। तर भविष्यवक्ता एलिसाले हरेक पटक इस्राएलका राजालाई होसियार गराएकोले तिनी बच्न सफल हुन्थे। त्यसैले बेन-हददले एलिसालाई पक्रन खोजे। एलिसा दोथान भन्ने सहरमा भएको कुरा थाह पाएपछि तिनले एलिसालाई पक्रन सिरियाली सेनालाई पठाए।
सिरियालीहरू त्यो रात दोथानमा आए। भोलिपल्ट बिहान एलिसाको चाकर बाहिर निस्कँदा सहरलाई ठूलो सेनाले घेरेको देखे। उनी निकै डराए र यसरी कराए: “मालिक! अब हामी के गरौँ?” एलिसाले भने: “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।” त्यति नै बेला यहोवाले ती चाकरको आँखा खोलिदिनुभयो र उनले चारैतिरका डाँडा अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे।
सिरियाली सेनाले एलिसालाई पक्रन खोज्दा तिनले यस्तो प्रार्थना गरे: ‘हे यहोवा, बिन्ती छ, यिनीहरूलाई अन्धो बनाइदिनुहोस्।’ एलिसाले बिन्ती गरेझैँ भयो। ती सिपाहीहरूले देख्न त देखिरहेका थिए तर तिनीहरू कहाँ छन् भनेर थाह पाउनै सकेनन्। एलिसाले ती सिपाहीहरूलाई भने: ‘तिमीहरू गलत सहरमा आइपुग्यौ। मेरो पछि आओ। तिमीहरूले खोजेको मानिसकहाँ म तिमीहरूलाई पुऱ्याइदिन्छु।’ एलिसाले तिनीहरूलाई इस्राएलका राजा बस्ने ठाउँ सामरिया लगिदिए।
सिरियालीहरूले आफूहरू कहाँ छौँ भनेर थाह पाउँदा ढिला भइसकेको थियो। इस्राएलका राजाले एलिसालाई सोधे: “के म यिनीहरूलाई मारिदिऊँ?” के एलिसाले आफूलाई हानि पुऱ्याउन खोज्ने ती मानिसहरूसँग बदला लिने मौका यही हो भनेर सोचे? अहँ, सोचेनन्। बरु एलिसाले भने: ‘यिनीहरूलाई नमार्नुहोस्। यिनीहरूलाई रोटी र पानी खान दिनुहोस् अनि आफ्नो बाटो फर्काइदिनुहोस्।’ त्यसैले राजाले तिनीहरूलाई ठूलो भोज दिए र घर फर्काइदिए।
“हामी परमेश्वरमा पूरा भरोसा राख्छौँ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।”—१ युहन्ना ५:१४
-
-
यहोयादाको साहसबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ५३
यहोयादाको साहस
ईजेबेलकी एउटी छोरीको नाम अथल्याह थियो। तिनी आफ्नी आमाजत्तिकै दुष्ट थिइन्। अथल्याहको विवाह यहुदाका राजासँग भएको थियो। तिनको पतिको मृत्यु भएपछि तिनको छोराले शासन गर्न थाले। तर आफ्नो छोराको मृत्यु भएपछि भने तिनी आफैले यहुदामा शासन गर्न थालिन्। त्यसपछि तिनले आफ्नो ठाउँमा शासक हुन सक्ने राजघरानाका सबै उत्तराधिकारीको हत्या गर्न खोजिन्। यहाँसम्म कि तिनी आफ्नै नातिहरूको हत्या गर्न समेत पछि परिनन्। सबै जना तिनीसँग डराउँथे।
प्रधानपुजारी यहोयादा र उनकी पत्नी यहोसेबालाई अथल्याहले असाध्यै खराब काम गर्दै छिन् भनेर थाह थियो। तिनीहरूले आफ्नो ज्यानै खतरामा पारेर अथल्याहको नाति यहोआसलाई लुकाए। यहोआस त्यतिबेला दूधेबालक थिए। तिनीहरूले यहोआसलाई मन्दिरमा हुर्काए।
यहोआस सात वर्षको हुँदा यहोयादाले कप्तानहरू र लेवीहरूलाई भेला गराएर भने: ‘मन्दिरका ढोकाहरूमा पहरा दिनू र कसैलाई पनि भित्र घुस्न नदिनू।’ त्यसपछि यहोयादाले यहोआसलाई यहुदाको राजा बनाए र तिनको शिरमा मुकुट लगाइदिए। यहुदाका मानिसहरूले ठूलो स्वरमा भने: “राजा दीर्घायु होऊन्!”
मानिसहरूले खुसी मनाइरहेको आवाज सुनेपछि रानी अथल्याह मन्दिरतिर दौडिन्। नयाँ राजालाई देखेपछि उनी यसो भनेर चिच्याइन्: “यो त धोका भयो, धोका!” तब कप्तानहरूले दुष्ट रानीलाई पक्रेर लगे अनि मारे। तर तिनले यहुदामा पारेको नराम्रो प्रभाव नि?
यहोयादाले यहुदाका सबै मानिसलाई यहोवा परमेश्वरसित करार बाँध्न मदत गरे, जुन करारअनुसार तिनीहरूले उहाँको मात्र उपासना गर्नुपर्थ्यो। यहोयादाले तिनीहरूलाई बाआलको मन्दिर भत्काउन र मूर्तिहरू धुलोपिठो पार्न भने। मानिसहरूले फेरि मन्दिरमा उपासना गर्न सकून् भनेर तिनले त्यहाँ पुजारीहरू र लेवीहरू नियुक्त गरे। कुनै पनि अशुद्ध मानिस मन्दिरभित्र छिर्न नपाओस् भनेर तिनले मन्दिरको सुरक्षा गर्न पहरेदारहरू नियुक्त गरे। त्यसपछि यहोयादा र कप्तानहरूले यहोआसलाई राजमहलभित्र लगे र सिंहासनमा बसाले। यहुदाका मानिसहरूले खुसी मनाए। बल्ल तिनीहरूले दुष्ट रानी अथल्याह र बाआल उपासनाबाट पूरै अलग भएर यहोवा परमेश्वरको उपासना गर्न पाए। यहोयादाले देखाएको साहसले गर्दा धेरै मानिसले लाभ उठाए नि, होइन र?
“तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित नडराऊ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्नामा नाश गर्न सक्नेसित डराऊ।”—मत्ति १०:२८
-