प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • योना समुद्रमा डुब्दै छन्‌ र एउटा विशाल माछा तिनी नजिकै आउँदै छ

      पाठ ५४

      यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो

      अस्सेरियाली सहर निनवेका मानिसहरू दुष्ट थिए। तिनीहरूलाई दुष्ट काम गर्न छोड्‌ने चेतावनी दिन यहोवा परमेश्‍वरले भविष्यवक्‍ता योनालाई निनवे जान भन्‍नुभयो। तर योना अर्कैतिर भागे। तिनी तर्सिस जाने जहाज चढे।

      जहाज समुद्रमा हुँदा ठूलो आँधी चल्यो। यो देखेर नाविकहरू असाध्यै डराए। तिनीहरूले आ-आफ्नो ईश्‍वरलाई पुकारे र भने: “कसले गर्दा यस्तो सङ्‌कष्ट आइपरेको हो?” आखिर योनालाई यसो भन्‍न कर लाग्यो: ‘मैले गर्दा यो आँधी आएको हो। म यहोवाले अह्राउनुभएको कामबाट भागिरहेको छु। मलाई उठाएर समुद्रमा फाल्नुहोस्‌ र आँधी रोकिनेछ।’ नाविकहरू तिनलाई समुद्रमा फाल्न चाहँदैनथे तर तिनीहरू त्यसो गर्न बाध्य भए। त्यसपछि समुद्र शान्त भयो।

      योनालाई आफू मर्छु जस्तो लागेको थियो। डुब्दै जान थालेपछि तिनले यहोवालाई पुकारे। उहाँले एउटा विशाल माछा पठाउनुभयो। त्यस माछाले तिनलाई निल्यो तर मार्नचाहिँ मारेन। माछाको पेटभित्रबाट तिनले यस्तो प्रार्थना गरे: ‘म सधैँ तपाईँको आज्ञा पालन गर्ने भाकल गर्छु।’ यहोवाले तिनलाई तीन दिनसम्म माछाको पेटभित्र सुरक्षित राख्नुभयो। त्यसपछि त्यस माछाले योनालाई सुक्खा जमिनमा ओकल्यो।

      यहोवाले योनालाई बचाउनुभयो। के अब तिनी निनवे जानै पर्दैन? त्यसो त पक्कै होइन। उहाँले तिनलाई फेरि त्यहाँ जान भन्‍नुभयो। यस पटक तिनले परमेश्‍वरले आज्ञा गर्नुभएअनुसारै गरे। निनवे गएर तिनले त्यहाँका दुष्ट मानिसहरूलाई भने: “अबको ४० दिनमा निनवे नाश हुनेछ!” तर अचम्मको कुरा, निनवेका मानिसहरूले योनाको कुरा सुनेर दुष्ट कामहरू गर्न छोडे। निनवेका राजाले आफ्ना मानिसहरूलाई भने: ‘परमेश्‍वरलाई पुकार र पश्‍चात्ताप गर। अनि उहाँले हामीलाई नाश गर्नुहुन्‍न कि?’ मानिसहरूले पश्‍चात्ताप गरेको देखेपछि यहोवाले निनवेलाई नाश गर्नुभएन।

      योना निनवे पुग्नै लागेका छन्‌

      योनालाई निनवे सहर नाश नहुँदा रिस उठ्यो। सोच त, यहोवाले योनासित व्यवहार गर्दा धीरज र कृपा देखाउनुभयो तर योना भने निनवेका मानिसहरूप्रति कृपालु भएनन्‌। बरु त्यस सहरलाई के हुँदो रहेछ भनेर हेर्न तिनी सहरबाहिर एउटा लौकाको बोटको छहारीमा बसे। त्यो बोट ओइलायो र योना रिसले चूर भए। त्यसैले यहोवाले तिनलाई भन्‍नुभयो: ‘तिमीलाई निनवेका मानिसहरूको भन्दा त्यो लौकाको बोटको चिन्ता रहेछ। मैले कृपा देखाएँ र तिनीहरू बचे।’ उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? निनवेका मानिसहरू कुनै पनि बोटभन्दा धेरै महत्त्वपूर्ण थिए।

      “यहोवा परमेश्‍वर . . . तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।”—२ पत्रुस ३:९

      प्रश्‍नहरू: यहोवाले योनालाई कस्तो पाठ सिकाउनुभयो? योनाको कथाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

      योना १:१–४:११

  • यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • एक जना स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा आक्रमण गर्दै छन्‌

      पाठ ५५

      यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे

      अस्सेरियाली साम्राज्यले इस्राएलको दस-गोत्रे राज्यमाथि कब्जा जमाइसकेको थियो। अब भने अस्सेरियाका राजा सनहेरिब यहुदाको दुई-गोत्रे राज्यमाथि कब्जा जमाउन चाहन्थे। तिनले एकपछि अर्को गर्दै यहुदाका सहरहरू जित्न थाले। तिनले सबैभन्दा चाह गरेको सहरचाहिँ यरुसलेम थियो। तर तिनलाई यहोवा परमेश्‍वरले यरुसलेमको सुरक्षा गर्दै हुनुहुन्छ भनेर थाह थिएन।

      यरुसलेममाथि हमला नगर्न यहुदाका राजा हिजकियाहले सनहेरिबलाई धेरै पैसा दिए। सनहेरिबले त्यो पैसा लिए तापनि तिनले यरुसलेममाथि आक्रमण गर्न शक्‍तिशाली सेना पठाए। अस्सेरियाली सेना झन्‌झनै नजिक आइपुगेको देखेर सहरका मानिसहरू डराए। तब हिजकियाहले तिनीहरूलाई भने: ‘नडराओ, अस्सेरियालीहरू शक्‍तिशाली छन्‌ तर यहोवा परमेश्‍वरले हामीलाई तिनीहरूभन्दा शक्‍तिशाली बनाउनुहुनेछ।’

      सनहेरिबले यरुसलेमका मानिसहरूको खिल्ली उडाउन आफ्नो सन्देशवाहक रबसाकेलाई पठाए। रबसाके सहरबाहिर उभिएर यसो भन्दै कराए: ‘यहोवाले तिमीहरूलाई मदत गर्न सक्दैन। हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌। तिमीहरूलाई हामीबाट बचाउन सक्ने कोही ईश्‍वर छैन।’

      हिजकियाहले के गरौँ भनेर यहोवा परमेश्‍वरलाई सोधे। यहोवा परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: ‘रबसाकेको कुरा सुनेर नडराऊ। सनहेरिबले यरुसलेमलाई कब्जा गर्नेछैन।’ त्यसपछि हिजकियाहले सनहेरिबबाट केही पत्रहरू पाए, जसमा यस्तो लेखिएको थियो: ‘आफूलाई हाम्रो हातमा सुम्पिदेओ। यहोवाले तिमीहरूलाई बचाउन सक्दैन।’ हिजकियाहले यसो भनेर प्रार्थना गरे: ‘हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌ ताकि सबै मानिसहरूले तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।’ परमेश्‍वरले भन्‍नुभयो: ‘अस्सेरियाको राजा यरुसलेममा छिर्नेछैन, म मेरो सहरको रक्षा गर्नेछु।’

      यरुसलेममाथि चाँडै जित हासिल गर्ने कुरामा सनहेरिब पक्का थिए। तर एक रात यहोवाले सहरबाहिर छाउनीमा बसिरहेका सिपाहीहरू भएको ठाँउमा एक जना स्वर्गदूत पठाउनुभयो। ती स्वर्गदूतले १ लाख ८५ हजार सिपाहीलाई मारे! राजा सनहेरिबले सबैभन्दा शक्‍तिशाली सिपाहीहरू गुमाए। तिनीसँग हार मानेर घर फर्कनुबाहेक अरू कुनै विकल्प रहेन। यहोवाले आफ्नो प्रतिज्ञाअनुसारै हिजकियाह र यरुसलेमको रक्षा गर्नुभयो। यदि तिमी त्यहाँ यरुसलेममा भएको भए यहोवामाथि भरोसा राख्थ्यौ?

      “यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्‌ अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।”—भजन ३४:७

      प्रश्‍नहरू: यहोवाले कसरी यरुसलेमको रक्षा गर्नुभयो? के तिमीलाई यहोवाले तिम्रो पनि रक्षा गर्नुहुन्छ जस्तो लाग्छ?

      २ राजा १७:१-६; १८:१३-३७; १९:१-३७; २ इतिहास ३२:१-२३

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने