प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यरुसलेम विनाश हुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • यरुसलेम र मन्दिर जलिरहेको छ

      पाठ ५८

      यरुसलेम विनाश हुन्छ

      यहुदाका मानिसहरूले पटक-पटक यहोवा परमेश्‍वरलाई त्यागे र झूटा देवताहरूको उपासना गरे। उहाँले धेरै वर्षसम्म तिनीहरूलाई मदत गर्न खोज्नुभयो। उहाँले तिनीहरूलाई चेतावनी दिन धेरै भविष्यवक्‍ता पठाउनुभयो तर तिनीहरूले सुनेनन्‌। बरु तिनीहरूले भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए। परमेश्‍वरले कसरी तिनीहरूले गरिरहेको मूर्तिपूजा हटाइदिनुभयो?

      बेबिलोनको राजा नबुकद्‌नेजरले एकपछि अर्को राज्यलाई जित्दै थिए। यरुसलेममाथि पहिलो चोटि जित हासिल गर्दा तिनले राजा यहोयाकिन, उनका भारदारहरू, योद्धाहरू र शिल्पकारहरूलाई बन्दी बनाएर बेबिलोन लगे। तिनले परमेश्‍वरको मन्दिरका बहुमूल्य कुराहरू पनि लगे। त्यसपछि नबुकद्‌नेजरले सिदकियाहलाई यहुदाको राजा बनाए।

      सुरुसुरुमा सिदकियाहले नबुकद्‌नेजरको कुरा माने। तर छिमेकी राज्यहरू र झूटा भविष्यवक्‍ताहरूले सिदकियाहलाई बेबिलोनको विद्रोह गर्ने सल्लाह दिए। यर्मियाले तिनलाई यस्तो चेतावनी दिए: ‘तपाईँले विद्रोह गर्नुभयो भने यहुदामा हत्या, अनिकाल र रुढी हुनेछ।’

      आठ वर्ष शासन गरेपछि सिदकियाहले बेबिलोनको विद्रोह गर्ने निर्णय गरे। तिनले मिश्री सेनासित मदत मागे। त्यसपछि नबुकद्‌नेजरले यरुसलेममाथि आक्रमण गर्न आफ्नो सेना पठाए र तिनीहरूले सहरलाई घेराबन्दी गरे। यर्मियाले सिदकियाहलाई भने: ‘यहोवा भन्‍नुहुन्छ, “बेबिलोनसामु तिमीले आत्मसमर्पण गऱ्‍यौ भने तिमी र यो सहर आगोले नाश हुनेछैन। तर त्यसो गरेनौ भने बेबिलोनीहरूले यरुसलेमलाई जलाइदिनेछन्‌। अनि तिमीलाई कैदी बनाएर लग्नेछन्‌।”’ सिदकियाहले भने: ‘म आत्मसमर्पण गर्दिनँ!’

      साढे एक वर्षपछि बेबिलोनी सेना पर्खाल भत्काएर यरुसलेमभित्र छिरे र सहरमा आगो लगाइदिए। तिनीहरूले मन्दिर र थुप्रै मानिसलाई जलाइदिए अनि हजारौँलाई कैदी बनाएर लगे।

      सिदकियाह यरुसलेमबाट भागे तर बेबिलोनीहरूले तिनलाई खेदे। तिनीहरूले सिदकियाहलाई यरिहोनजिकै पक्रेर नबुकद्‌नेजरकहाँ लगे। बेबिलोनका राजाले सिदकियाहकै आँखाअगाडि तिनका छोराहरूको हत्या गर्न लगाए। त्यसपछि नबुकद्‌नेजरले सिदकियाहलाई अन्धो बनाएर झ्यालखानामा हालिदिए। पछि त्यहीँ तिनको मृत्यु भयो। तर यहोवाले यहुदाका मानिसहरूसित यस्तो प्रतिज्ञा गर्नुभयो: ‘म तिमीहरूलाई ७० वर्षपछि फेरि यरुसलेम फर्काएर ल्याउनेछु।’

      बेबिलोनमा कैदी बनाएर लगिएका जवान मानिसहरूलाई चाहिँ के हुने थियो? के तिनीहरू यहोवाप्रति वफादार रहने थिए?

      “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा, तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।”—प्रकाश १६:७

      प्रश्‍नहरू: नबुकद्‌नेजर को थिए? तिनले यरुसलेमलाई के गरे? सिदकियाह को थिए?

      २ राजा २४:१, २, ८-२०; २५:१-२४; २ इतिहास ३६:६-२१; यर्मिया २७:१२-१४; २९:१०, ११; ३८:१४-२३; ३९:१-९; इजकिएल २१:२७

  • यहोवाको आज्ञा पालन गर्ने चार युवक
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • दानिएल, हानन्याह, मिसाएल र अजर्याह राजाको भोजन खान इन्कार गर्दै छन्‌

      पाठ ५९

      यहोवाको आज्ञा पालन गर्ने चार युवक

      नबुकद्‌नेजरले यरुसलेमको राजघरानाकालाई बेबिलोन लैजाँदा तिनीहरूलाई दरबारका प्रमुख अफिसर अस्पनजको जिम्मा लगाए। नबुकद्‌नेजरले अस्पनजलाई तिनीहरूमध्येबाट सबैभन्दा स्वस्थ र बुद्धिमान्‌ युवकहरू छान्‍न भने। ती युवकहरूले तीन वर्ष तालिम पाउने थिए। यस्तो तालिमले तिनीहरूलाई बेबिलोनको मुख्य अफिसरहरू हुन तयार बनाउने थियो। तिनीहरूले बेबिलोनमा बोलिने अक्काडीयन भाषा पढ्‌न, लेख्न र बोल्न सिक्नुपर्थ्यो। साथै तिनीहरूले राजा र दरबारका अन्य अफिसरहरूले खाने खानेकुरा खानुपर्थ्यो। तिनीहरूमध्ये चार जना युवकको नाम दानिएल, हानन्याह, मिसाएल र अजर्याह थियो। अस्पनजले तिनीहरूलाई यस्तो बेबिलोनी नाम दिए: बेल्तसजर, सद्रक, मेसक र अबेद्‌नेगो। के यो शिक्षाले तिनीहरूलाई यहोवाको सेवा गर्नदेखि रोक्ने थियो?

      ती चार युवक यहोवाको आज्ञा पालन गर्न दृढ थिए। राजाको भोजन खानु हुँदैन भनेर तिनीहरूलाई थाह थियो किनभने त्यसमा परमेश्‍वरको व्यवस्थाअनुसार अशुद्ध खानेकुरा पनि थियो। त्यसैले तिनीहरूले अस्पनजलाई भने: ‘कृपया हामीलाई राजाको भोजन खान कर नगर्नुहोस्‌।’ अस्पनजले तिनीहरूलाई भने: ‘तिमीहरूले यो खानेकुरा खाएनौ र राजाको नजरमा तिमीहरू कमजोर देखियौ भने उहाँले मलाई मार्नुहुनेछ!’

      दानिएलले एउटा उपाय निकाले। तिनले ती अफिसरलाई भने: ‘बिन्ती छ, १० दिनको लागि हामीलाई केवल सागपात र पानी दिनुहोस्‌। त्यसपछि हामीलाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस्‌।’ ती अफिसरले तिनको कुरा माने।

      दस दिनपछि हेर्दा दानिएल र तिनका तीन जना साथी अरू युवकभन्दा स्वस्थ र हृष्टपुष्ट देखिए। आफ्नो आज्ञा पालन गरेकोमा यहोवा तिनीहरूसित खुसी हुनुभयो। उहाँले दानिएललाई दर्शनहरू र सपनाहरू बुझ्ने बुद्धिसमेत दिनुभयो।

      तालिम सिद्धिएपछि अस्पनजले ती युवकहरूलाई नबुकद्‌नेजरसामु हाजिर गराए। राजाले तिनीहरूसित कुरा गर्दा त्यस समूहका अरू युवकभन्दा दानिएल, हानन्याह, मिसाएल र अजर्याह बुद्धिमान्‌ र समझदार भएको पाए। राजाले दरबारमा काम गर्न ती चार जनालाई छाने। महत्त्वपूर्ण विषयहरूमा राजा अक्सर तिनीहरूको सल्लाह लिन्थे। यहोवाले तिनीहरूलाई राज्यका सबै बुद्धिमान्‌ मानिस र तन्त्रमन्त्र गर्नेहरूभन्दा बुद्धिमान्‌ बनाउनुभएको थियो।

      दानिएल, हानन्याह, मिसाएल र अजर्याह विदेशमा भए तापनि तिनीहरूले आफूहरू यहोवाका मानिस हौँ भनेर बिर्सिएनन्‌। आमाबुबा तिमीसँगै नहुँदा समेत के तिमी दानिएलहरूजस्तै यहोवालाई सम्झिनेछौ?

      “तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्‌। बरु बोली, चालचलन, प्रेम, विश्‍वास अनि चोखो आचरणको सन्दर्भमा विश्‍वासी जनहरूको निम्ति उदाहरण बन।”—१ तिमोथि ४:१२

      प्रश्‍नहरू: दानिएल र तिनका तीन जना साथीले किन यहोवाको आज्ञा पालन गरे? यहोवाले कसरी तिनीहरूलाई मदत गर्नुभयो?

      दानिएल १:१-२१

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने