-
सदासर्वदा रहिरहने एउटा राज्यबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ६०
सदासर्वदा रहिरहने एउटा राज्य
एक रात राजा नबुकद्नेजरले एउटा अचम्मको सपना देखे। त्यसले गर्दा तिनलाई छटपटी भयो र तिनी निदाउनै सकेनन्। तिनले आफ्ना जादुगरहरूलाई बोलाएर भने: ‘मैले देखेको सपनाको अर्थ मलाई भन।’ तिनीहरूले भने: ‘हे महाराज, हामीलाई तपाईँले देख्नुभएको सपना बताउनुहोस्।’ तर नबुकद्नेजरले तिनीहरूलाई भने: ‘तिमीहरूले मैले देखेको सपना बताएनौ भने म तिमीहरूलाई मार्नेछु।’ तिनीहरूले तिनलाई फेरि भने: ‘हामीलाई तपाईँले देख्नुभएको सपना बताउनुहोस् र हामी त्यसको अर्थ बताइदिन्छौँ।’ अनि तिनले भने: ‘तिमीहरू मलाई छक्याउन खोज्दै छौ। मैले देखेको सपना के हो भन।’ तिनीहरूले राजालाई भने: ‘तपाईँको माग पूरा गर्न सक्ने मानिस यस संसारमा कोही छैन। तपाईँले माग गर्नुभएको कुरा असम्भव छ।’
नबुकद्नेजर रिसले आगो भए र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसलाई मार्न हुकुम दिए। ती मानिसहरूमा दानिएल, सद्रक, मेसक र अबेद्नेगो पनि पर्थे। दानिएलले राजाकहाँ गएर केही समय पाऊँ भनी बिन्ती गरे। त्यसपछि उनी र उनका साथीहरूले यहोवालाई प्रार्थना गरेर उहाँसित मदत मागे। उहाँले के गर्नुभयो?
एउटा दर्शनमा यहोवाले दानिएललाई नबुकद्नेजरले देखेको सपना र त्यसको अर्थ खोलिदिनुभयो। भोलिपल्ट दानिएल राजाको सेवककहाँ गए र भने: ‘कुनै पनि बुद्धिमान् मानिसलाई नमार्नुहोस्। म राजालाई सपनाको अर्थ बताउनेछु।’ ती सेवकले दानिएललाई राजाकहाँ लिएर गए। दानिएलले राजालाई भने: ‘परमेश्वरले तपाईँलाई भविष्यमा हुने कुरा प्रकट गर्नुभएको छ। तपाईँले यस्तो सपना देख्नुभएको थियो: तपाईँले सपनामा एउटा अत्यन्तै विशाल मूर्ति देख्नुभयो। त्यस मूर्तिको टाउको सुनको, छाती र हात चाँदीको, पेट र तिघ्रा तामाको, गोडा फलामको अनि पाउ फलाम र माटोले बनेको थियो। अनि पहाडबाट एउटा ढुङ्गा काटियो र त्यो ढुङ्गा त्यस मूर्तिको पाउमा बजारियो। तब त्यो मूर्ति धुलोपिठो भयो र हावाले उडाएर लग्यो। तर त्यो ढुङ्गाचाहिँ बढ्दै गएर एउटा ठूलो पहाड बन्यो र त्यसले पूरै पृथ्वीलाई ढाक्यो।’
त्यसपछि दानिएलले भने: ‘तपाईँले देख्नुभएको सपनाको अर्थ यो हो: तपाईँको राज्य नै त्यो सुनको टाउको हो। चाँदीचाहिँ तपाईँपछि आउने अर्को राज्य हो। अनि तामाजस्तै एउटा राज्य खडा हुनेछ, जसले सारा पृथ्वीमाथि शासन गर्नेछ। त्यसपछिको राज्य फलामजस्तै बलियो हुनेछ। अन्तिम राज्यचाहिँ विभाजित हुनेछ; कुनै फलामजस्तै बलियो हुनेछ भने कुनैचाहिँ माटोजस्तै कमजोर हुनेछ। त्यो ढुङ्गाबाट बनेको ठूलो पहाडचाहिँ परमेश्वरको राज्य हो। त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र यो राज्यचाहिँ सदासर्वदा रहिरहनेछ।’
तब राजा नबुकद्नेजरले भुईँसम्मै घोप्टो परेर दानिएललाई दण्डवत् गरे। तिनले भने: ‘तिम्रा परमेश्वरले तिमीलाई मैले देखेको सपना प्रकट गरिदिनुभयो। उहाँजस्तो अरू कोही ईश्वर छैन।’ दानिएललाई मार्नुको सट्टा नबुकद्नेजरले उनलाई सबै बुद्धिमान् मानिसका प्रमुख र बेबिलोन प्रान्तका शासक बनाए। यहोवाले दानिएलको प्रार्थनाको जवाफ कसरी दिनुभयो, के तिमीले याद गऱ्यौ?
“तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा जम्मा गरे।”—प्रकाश १६:१६
-
-
तिनीहरूले ढोगेनन्बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ६१
तिनीहरूले ढोगेनन्
राजा नबुकद्नेजरले मूर्तिको सपना देखेको केही समयपछि सुनको ठूलो मूर्ति बनाए। तिनले त्यो मूर्ति दुराको मैदानमा स्थापना गरे र सद्रक, मेसक र अबेद्नेगोलगायत सबै प्रमुखलाई त्यस मूर्तिको अगाडि भेला हुन भने। त्यसपछि राजाले यस्तो आदेश दिए: ‘जब तिमीहरूले बिगुल, वीणा र ठूलो बाँसुरी बजाएको सुन्छौ, तब तिमीहरूले भुईँसम्मै घोप्टो परेर मूर्तिलाई ढोग्नू। जसले ढोग्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।’ ती तीन हिब्रूले मूर्तिलाई ढोग्ने थिए कि तिनीहरूले यहोवाको मात्र उपासना गर्ने थिए?
राजाले बाजा बजाउने आदेश दिए। सद्रक, मेसक र अबेद्नेगोबाहेक अरू सबैले ढोगे। केही मानिसले यो कुरा याद गरे र राजालाई भने: ‘ती तीन हिब्रूले तपाईँको मूर्तिलाई ढोगेनन्।’ नबुकद्नेजरले तिनीहरूलाई आफूकहाँ ल्याउन हुकुम गरे र भने: ‘म तिमीहरूलाई मूर्तिलाई ढोग्ने अर्को मौका दिन्छु। तिमीहरूले इन्कार गऱ्यौ भने तिमीहरूलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिदिन्छु। अनि हेरौँला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउँदो रहेछ!’ तिनीहरूले भने: ‘हामीलाई अर्को मौका चाहिँदैन। हाम्रा परमेश्वरले हामीलाई बचाउनुहुनेछ। तर हे महाराज, यदि उहाँले त्यसो गर्नुभएन भने पनि हामी त्यस मूर्तिलाई ढोग्नेछैनौँ।’
नबुकद्नेजर रिसले चूर भए। तिनले आफ्ना मानिसहरूलाई भने: ‘आगोको भट्टीलाई सदाभन्दा सात गुणा बढी दन्काओ!’ त्यसपछि तिनले आफ्ना सिपाहीहरूलाई यस्तो हुकुम दिए: ‘यी मानिसहरूलाई बाँधेर दन्किरहेको आगोको भट्टीमा फालिदेओ!’ त्यो भट्टी यत्ति दन्किरहेको थियो कि तिनीहरूलाई लाने सिपाहीहरू आगोको ज्वालाले गर्दा मरे। ती तीन हिब्रू आगोको भट्टीमा परे। तर नबुकद्नेजरले दनदनी बलिरहेको आगोमा चार जना पुरुष हिँडिरहेको देखे। तिनी एकदमै डराए र आफ्ना उच्च अधिकारीहरूलाई भने: ‘हामीले ती तीन जनालाई बाँधेर आगोमा फालेका थियौँ, होइन? म त चार जना पो देख्छु अनि चौथोचाहिँ स्वर्गदूतजस्तो देखिन्छ!’
नबुकद्नेजर भट्टीको नजिक गएर तिनीहरूलाई भने: ‘सर्वोच्च परमेश्वरका सेवकहरू हो, बाहिर निस्क!’ सद्रक, मेसक र अबेद्नेगो आगोको भट्टीबाट बाहिर आउँदा तिनीहरूलाई केही नभएको देखेर सबै छक्क परे। तिनीहरूको शरीर, केश र लुगा जस्ताको तस्तै थियो अनि तिनीहरूको शरीरबाट आगोको गन्धसमेत आएको थिएन।
नबुकद्नेजरले भने: ‘सद्रक, मेसक र अबेद्नेगोका ईश्वर महान् हुनुहुन्छ। यिनीहरूलाई बचाउन उहाँले स्वर्गदूत पठाउनुभयो। उहाँजस्तो ईश्वर अरू कोही छैन।’
के तिमी ती तीन हिब्रूजस्तै जस्तोसुकै अवस्थामा पनि यहोवाप्रति वफादार रहिरहन्छौ?
“तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।”—मत्ति ४:१०
-