-
ठूलो रूखजस्तै एउटा राज्यबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ६२
ठूलो रूखजस्तै एउटा राज्य
एक रात नबुकद्नेजरले एकदमै डरलाग्दो सपना देखे। तिनले सपनाको अर्थ खोलिदिन आफ्ना बुद्धिमान् मानिसहरूलाई बोलाए। तर कसैले तिनको सपनाको अर्थ खोलिदिन सकेन। अन्तमा राजाले दानिएललाई आफूले देखेको सपना बताए।
नबुकद्नेजरले दानिएललाई भने: ‘मैले सपनामा एउटा रूख देखेँ। त्यो रूख यत्ति धेरै बढ्यो कि त्यसको टुप्पोले आकाश छोयो। पृथ्वीको हरेक कुनाबाट त्यो रूख देखिन्थ्यो। त्यसका पातहरू सुन्दर थिए र त्यसमा प्रशस्त फल फलेको थियो। त्यसको छहारीमा पशुहरू आएर बस्थे अनि हाँगाहरूमा चराचुरुङ्गीहरू बस्थे। त्यसपछि एक स्वर्गदूत स्वर्गबाट तल ओर्लिरहेको मैले देखेँ। तिनले ठूलो स्वरमा भने: “त्यस रूखलाई काटिदेओ, त्यसका हाँगाहरू पनि काटिदेओ। तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू। त्यस रूखको मन बदलिएर पशुको जस्तो हुनेछ। यसरी सात काल बित्नेछ। तब सर्वोच्च परमेश्वर नै मानिसजातिको शासक हुनुहुन्छ र शासन गर्ने अधिकार उहाँले जसलाई चाहनुहुन्छ, त्यसैलाई दिनुहुन्छ भनेर सबै मानिसले जान्नेछन्।”’
यहोवाले त्यो सपनाको अर्थ दानिएललाई बताउनुभयो। अर्थ बुझेपछि दानिएल डराए। तिनले भने: ‘हे मेरा प्रभु, यो सपना हजुरका शत्रुहरूबारे भए हुन्थ्यो तर यो हजुरबारे हो। त्यो काटिएको रूख हजुर नै हुनुहुन्छ। हजुरले आफ्नो राज्य गुमाउनुहुनेछ र पशुहरूले जस्तै घाँस खानुहुनेछ। तर स्वर्गदूतले रूखको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू भनेकोले हजुर फेरि राजा हुनुहुनेछ।’
सपना देखेको एक वर्षपछि नबुकद्नेजर बेबिलोन सहरको बखान गर्दै राजदरबारको कौसीमा टहलिरहेका थिए। तिनले भने: ‘मैले निर्माण गरेको यो भव्य सहरलाई हेर। म कत्ति महान् छु!’ तिनले यो कुरा बोल्न नपाउँदै स्वर्गबाट एउटा यस्तो आवाज आयो: ‘ए नबुकद्नेजर, तिम्रो हातबाट राज्य खोसिएको छ।’
त्यति नै बेला नबुकद्नेजर बौलाहा भए र जङ्गली जनावरजस्तै भए। तिनलाई राजदरबारबाट निकालियो अनि तिनी पशुहरूसँग बस्न थाले। तिनको कपाल चीलको प्वाँखजस्तै लामो भयो र नङ पनि चराको नङ्ग्राजस्तै भयो।
सात वर्ष बितेपछि नबुकद्नेजरको होस फर्कियो अनि यहोवाले तिनलाई फेरि बेबिलोनको राजा बनाउनुभयो। तिनले भने: ‘म स्वर्गका राजा यहोवा परमेश्वरको प्रशंसा गर्छु। अब मलाई थाह भयो कि उहाँ शासक हुनुहुन्छ। उहाँ घमन्डीहरूलाई नम्र तुल्याउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ।’
“नाशको अघि घमन्ड अनि पतनको अघि अहङ्कार आउँछ।”—हितोपदेश १६:१८
-
-
भित्तामा लेखिएका शब्दहरूबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ६३
भित्तामा लेखिएका शब्दहरू
केही समयपछि बेलसजर बेबिलोनको राजा भए। एक रात तिनले १ हजार उच्च अधिकारीलाई भोजमा निम्त्याए। तिनले आफ्ना सेवकहरूलाई नबुकद्नेजरले यहोवाको मन्दिरबाट ल्याएका सुनका कचौराहरू ल्याउन भने। बेलसजर र तिनका पाहुनाहरूले त्यसमा मद्य पिए र आफ्ना देवताहरूको जयजयकार गरे। ठीक त्यसै बेला मानिसको हातका औँलाहरू देखा परे र ती औँलाहरूले भित्तामा लेख्न थाले। तर ती शब्दहरू कसैले बुझ्न सकेनन्।
बेलसजर एकदमै डराए। तिनले जादुगरहरूलाई बोलाए र यस्तो वाचा गरे: ‘जसले यी शब्दहरूको अर्थ बताउन सक्छ, उसलाई म बेबिलोनको तेस्रो ठूलो शासक बनाउनेछु।’ तिनीहरूले कोसिस गरे तर कसैले बताउन सकेन। तब रानी भित्र आइन् र भनिन्: ‘हजुरको राज्यमा दानिएल नाम गरेका एक जना मानिस छन्, जसले नबुकद्नेजरलाई यस्ता कुराहरूको अर्थ खोलिदिन्थे। तिनले यी शब्दहरूको अर्थ खोलिदिन सक्छन्।’
दानिएल राजाकहाँ हाजिर भए। बेलसजरले तिनलाई भने: ‘तिमीले यी शब्दहरू पढेर यसको अर्थ बतायौ भने म तिमीलाई गलामा सुनको हार लगाइदिइनेछु र तिमीलाई बेबिलोनको तेस्रो ठूलो शासक बनाउनेछु।’ दानिएलले भने: ‘मलाई हजुरको उपहार चाहिँदैन तर म यी शब्दहरूको अर्थ खोलिदिनेछु। हजुरका बुबा नबुकद्नेजर घमन्डी हुनुहुन्थ्यो तर यहोवाले उहाँलाई नम्र तुल्याउनुभयो। उहाँलाई के-के भएको थियो, हजुरलाई थाह छ तर हजुरले यहोवाको मन्दिरबाट ल्याइएको सुनको कचौरामा मद्य पिएर उहाँको अनादर गर्नुभयो। त्यसैले परमेश्वरले भित्तामा लेख्नुभएका शब्दहरू यी नै हुन्: मने, मने, तकेल र पर्सिन। यी शब्दहरूको अर्थ हो: मादी-फारसले बेबिलोनलाई कब्जा गर्नेछ र हजुर राजा रहनुहुनेछैन।’
बेबिलोनलाई कब्जा गर्न असम्भव जस्तो देखिन्थ्यो। त्यस सहरलाई बलियो पर्खाल र गहिरो नदीले सुरक्षा दिएको थियो। त्यसै रात मादी र फारसीहरूले बेबिलोनमाथि आक्रमण गरे। फारसी राजा कोरेसले आफ्ना सिपाहीहरू सहरको मूलढोकासम्म पुग्न सकून् भनेर नदीको पानीलाई अन्तै मोडिदिए। तिनीहरू त्यहाँ पुग्दा ढोकाहरू खुल्लै थिए। सिपाहीहरू सहरभित्र पसे, सहरलाई कब्जा गरे र राजालाई मारे। अनि कोरेस बेबिलोनको शासक बने।
एक वर्षभित्रै कोरेसले यस्तो घोषणा गरे: ‘यहोवाले मलाई यरुसलेममा उहाँको मन्दिर पुनर्निर्माण गर्न भन्नुभएको छ। तिमीहरूमध्ये जो-जो मदत गर्न चाहन्छौ, यरुसलेम फर्कन सक्छौ।’ यहोवाले प्रतिज्ञा गर्नुभएझैँ यरुसलेम नाश भएको ७० वर्षपछि धेरै यहुदी आफ्नो घर फर्के। नबुकद्नेजरले मन्दिरबाट ल्याएका सुनचाँदीका कचौरा र भाँडाकुँडाहरू कोरेसले फिर्ता पठाइदिए। यहोवाले आफ्ना मानिसहरूलाई मदत गर्न कसरी कोरेसलाई चलाउनुभयो, के तिमीले याद गऱ्यौ?
“त्यसको पतन भएको छ! महान् बेबिलोनको पतन भएको छ; त्यो प्रेतहरू बास गर्ने ठाउँ भएकी छे।”—प्रकाश १८:२
-