प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल सिंहको खोरमा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • डाही मानिसहरू दानिएललाई खोलिएको झ्याल भएतिर हेरेर प्रार्थना गरिरहेको भेट्टाउँछन्‌

      पाठ ६४

      दानिएल सिंहको खोरमा

      बेबिलोनको अर्को राजाको नाम मादी दारा थियो। दाराले दानिएलसित अरूको भन्दा विशेष क्षमता भएको याद गरे। त्यसैले तिनले दानिएललाई आफ्नो राज्यका सबै उच्च अधिकारीको हाकिम बनाए। ती मानिसहरूले दानिएलको डाह गरे र उनलाई हटाउने उपाय खोजे। दानिएल दिनदिनै दिनको तीन पटक प्रार्थना गर्छन्‌ भनेर तिनीहरूलाई थाह थियो। त्यसैले तिनीहरूले दारालाई भने: ‘हे महाराज, राज्यको सबैले हजुरबाहेक अरू कसैलाई प्रार्थना गर्न नपाउने कानुन जारी गर्नुहोस्‌। यो कानुन पालन नगर्नेहरूलाई सिंहको खोरमा फ्याँक्नुपर्छ।’ यो कुरा दारालाई चित्त बुझ्यो र तिनले त्यस कानुनमा दस्तखत गरे।

      यो नयाँ कानुनबारे थाह पाउनेबित्तिकै दानिएल घर गए। खोलिएको झ्याल भएतिर गएर उनले घुँडा टेकेर यहोवालाई प्रार्थना गरे। ती डाही मानिसहरू उनको घरभित्र पसे र उनलाई प्रार्थना गरिरहेको भेट्टाए। तिनीहरू दौडेर दाराकहाँ गएर भने: ‘दानिएलले तपाईँको आज्ञा पालन गरेन। त्यसले दिनको तीन पटक आफ्नो परमेश्‍वरलाई प्रार्थना गर्दै छ।’ दारालाई दानिएल मन पर्थ्यो र उनी मरेको चाहँदैनथे। त्यस दिनभरि दाराले उनलाई बचाउन उपाय खोजे। तर आफूले दस्तखत गरिसकेको कानुन राजाले समेत बदल्न सक्दैनथे। त्यसैले दारा दानिएललाई हिंस्रक सिंहहरूको खोरमा फ्याँक्ने आदेश दिन बाध्य भए।

      दानिएलको चिन्ता लागेकोले त्यस रात दारालाई निद्रै लागेन। बिहान हुनेबित्तिकै तिनी हतारिँदै सिंहको खोरतिर गए र दानिएललाई यसो भन्दै बोलाए: ‘के तिम्रा परमेश्‍वरले तिमीलाई बचाउनुभयो?’

      दाराले कसैको स्वर सुने। त्यो स्वर दानिएलको थियो! उनले दारालाई भने: ‘यहोवाको स्वर्गदूतले सिंहहरूको मुख थुनिदिए। सिंहहरूले मलाई केही हानि गरेनन्‌।’ दारा साह्रै खुसी भए! तिनले दानिएललाई खोरबाट माथि ल्याउने आदेश दिए। उनको शरीरमा चिथोरेको एउटै घाउ थिएन। राजाले यस्तो आदेश दिए: ‘दानिएललाई दोष लगाउने मानिसहरूलाई सिंहको खोरमा फ्याँकिदेओ।’ ती मानिसहरूलाई खोरमा फ्याँक्दा सिंहहरूले झम्टिहाले।

      दाराले आफ्ना मानिसहरूलाई यस्तो आदेश दिए: ‘सबै मानिसले दानिएलका परमेश्‍वरको डर मानून्‌। उहाँले दानिएललाई सिंहहरूबाट जोगाउनुभयो।’

      के तिमी पनि दानिएलले जस्तै यहोवालाई दिनदिनै प्रार्थना गर्छौ?

      दानिएल सिंहको खोरमा

      “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने . . . यहोवा परमेश्‍वर जान्‍नुहुन्छ।”—२ पत्रुस २:९

      प्रश्‍नहरू: दानिएल दिनको तीन पटक के गर्थे? यहोवाले उनलाई कसरी जोगाउनुभयो?

      दानिएल ६:१-२८

  • एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • रानी एस्तर कडा सुरक्षा भएको राजा आहासुरसको भित्री चोकमा जान्छिन्‌

      पाठ ६५

      एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌

      रानी एस्तर

      एस्तर यहुदी थिइन्‌। तिनी फारसको सुसन सहरमा बस्थिन्‌। धेरै वर्षअघि नबुकद्‌नेजरले तिनको परिवारलाई यरुसलेमबाट लगेका थिए। तिनलाई तिनको आफन्त मोर्दकैले हुर्काएका थिए। मोर्दकै फारसी राजा आहासुरसका सेवक थिए।

      राजा आहासुरस नयाँ रानी चाहन्थे। तिनका सेवकहरूले त्यस ठाउँका सबैभन्दा सुन्दरी स्त्रीहरूलाई तिनीकहाँ ल्याए। ती स्त्रीहरूमध्ये एस्तर पनि थिइन्‌ र राजाले एस्तरलाई रानी बनाउन रोजे। मोर्दकैले एस्तरलाई आफू यहुदी भएको कुरा नभन्‍नू भने।

      हामान नाम गरेका घमन्डी मानिस सबै भारदारका हाकिम थिए। उनी सबैले उनलाई ढोगेको चाहन्थे। तर मोर्दकैले ढोगेनन्‌। त्यसैले हामान असाध्यै रिसाए र मोर्दकैलाई मार्न खोजे। मोर्दकै यहुदी हुन्‌ भन्‍ने थाह पाएपछि हामानले फारस साम्राज्यका सबै यहुदीलाई मार्ने योजना बनाए। उनले राजालाई भने: ‘यहुदीहरू खतरनाक छन्‌। तपाईँले तिनीहरूलाई नाश गर्नुपर्छ।’ आहासुरसले भने: ‘तिमीलाई जे ठीक लाग्छ, त्यही गर।’ तिनले उनलाई यससम्बन्धी कानुन बनाउने अधिकार दिए। उनले अदार महिनाको १३ औँ दिनमा सबै यहुदीलाई मार्नुपर्ने कानुन बनाए। यहोवाले यो सबै हेरिरहनुभएको थियो।

      एस्तरलाई यो कानुनबारे थाह थिएन। त्यसैले मोर्दकैले तिनलाई त्यसको एक प्रति पठाए र भने: ‘राजाकहाँ गएर कुरा गर।’ एस्तरले भनिन्‌: ‘राजाले नबोलाईकनै राजमहलमा जानेहरूलाई मृत्युदण्ड दिइन्छ। राजाले मलाई नबोलाउनुभएको ३० दिन भइसक्यो! तर म राजाकहाँ जान्छु। उहाँले आफ्नो राजदण्ड मतर्फ तेर्स्याउनुभयो भने म बाँच्नेछु, तेर्स्याउनुभएन भने मर्नेछु।’

      एस्तर राजमहलको भित्री चोकमा गइन्‌। राजाले तिनलाई देखेपछि आफ्नो राजदण्ड तिनीतर्फ तेर्स्याए। तिनी राजाको नजिक गइन्‌ र राजाले तिनलाई सोधे: ‘एस्तर, तिमी मबाट के चाहन्छ्यौ?’ तिनले भनिन्‌: ‘म तपाईँ र हामानलाई भोजको निम्तो दिन चाहन्छु।’ त्यस भोजमा एस्तरले तिनीहरूलाई फेरि अर्को भोजको निम्तो दिइन्‌। दोस्रो भोजमा राजाले फेरि एस्तरलाई सोधे: “तिमी मबाट के चाहन्छ्यौ?” तिनले भनिन्‌: ‘कसैले म र मेरा मानिसहरूलाई मार्न खोजिरहेको छ। बिन्ती छ, हामीलाई बचाउनुहोस्‌।’ राजाले तिनलाई सोधे: ‘कसले तिमीलाई मार्न खोजिरहेको छ?’ तिनले भनिन्‌: ‘त्यो दुष्ट मानिस यही हामान हो।’ आहासुरस रिसले आगो भए र तुरुन्तै हामानलाई मार्ने आदेश दिए।

      तर हामानले बनाएको कानुन कसैले खारेज गर्न सक्दैनथ्यो, राजाले समेत। त्यसैले राजाले मोर्दकैलाई भारदारहरूको हाकिम बनाए र नयाँ कानुन बनाउने अधिकार दिए। कसैले आक्रमण गरेमा यहुदीहरूले आफ्नो बचाउ गर्न पाउने कानुन मोर्दकैले बनाए। अदार महिनाको १३ औँ दिनमा यहुदीहरूले तिनीहरूका शत्रुहरूलाई जिते। त्यसबेलादेखि हरेक वर्ष तिनीहरूले त्यस जितको उत्सव मनाए।

      “मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ। अनि तिमीहरूले तिनीहरूलाई र जातिजातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।”—मत्ति १०:१८

      प्रश्‍नहरू: यहुदीहरूविरुद्ध कस्तो योजना बनाइयो? एस्तरले यहोवामाथिको आफ्नो भरोसा कसरी देखाइन्‌?

      एस्तर २:५-२०; ३:१–५:८; ७:१–८:१४; ९:१-२८

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने