-
एज्राले परमेश्वरको व्यवस्था सिकाएबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ६६
एज्राले परमेश्वरको व्यवस्था सिकाए
इस्राएलीहरू यरुसलेम फर्केको करिब ७० वर्ष भइसकेको थियो तर केही यहुदी अझै फारसी साम्राज्यकै विभिन्न ठाउँमा बसोबास गर्थे। तिनीहरूमध्ये एक जना एज्रा नाम गरेका पुजारी थिए। तिनले परमेश्वरको व्यवस्था सिकाउँथे। यरुसलेमका मानिसहरूले परमेश्वरको व्यवस्था पालन गरिरहेका छैनन् भनेर एज्राले थाह पाए। त्यसैले तिनी त्यहाँ गएर इस्राएलीहरूलाई मदत गर्न चाहन्थे। फारसी राजा आर्टजारसेजले तिनलाई भने: ‘परमेश्वरले तिमीलाई उहाँको व्यवस्था सिकाउन बुद्धि दिनुभएको हो। जाऊ र तिमीसँग जान चाहनेहरूलाई पनि लैजाऊ।’ एज्राले यरुसलेम फर्कन चाहनेहरू सबैलाई भेटे। लामो यात्रामा सुरक्षा दिनुहोस् भनेर तिनीहरूले यहोवालाई प्रार्थना गरे र यात्रा सुरु गरे।
तिनीहरू चार महिनापछि यरुसलेम पुगे। मुखियाहरूले एज्रालाई भने: ‘इस्राएलीहरूले परमेश्वरको आज्ञा पालन गरेका छैनन् र तिनीहरूले झूटा देवता पुज्ने स्त्रीहरूसित विवाह गरेका छन्।’ एज्राले के गरे? तिनले मानिसहरूकै अगाडि भुईँमा घुँडा टेकेर यस्तो प्रार्थना गरे: ‘हे यहोवा, तपाईँले हाम्रो लागि थुप्रै कुरा गर्नुभयो तर हामीले तपाईँविरुद्ध पाप गरेका छौँ।’ मानिसहरूले प्रायश्चित त गरे तर तिनीहरूले अझै गलत काम गरिरहेका थिए। यस मामिलालाई हेर्न तिनले नाइके र न्यायकर्ताहरू रोजे। त्यसको तीन महिनापछि अझै यहोवाको उपासना नगर्नेहरूलाई फर्काइयो।
बाह्र वर्ष बित्यो। यतिन्जेल यरुसलेमको पर्खाल पुनर्निर्माण गरियो। त्यसैले एज्राले मानिसहरूलाई चोकमा भेला हुन भने र परमेश्वरको व्यवस्था पढेर सुनाए। तिनले व्यवस्थाको पुस्तक खोल्दा सबै मानिस उभिए। तिनले यहोवाको प्रशंसा गरे र तिनीहरूले पनि सहमतिमा आफ्नो हात उठाए। त्यसपछि एज्राले व्यवस्थामा लेखिएको कुरा पढ्दा र त्यसलाई स्पष्टसित बुझाउँदा तिनीहरूले ध्यान दिएर सुने। तिनीहरूले फेरि परमेश्वरबाट तर्किएको मानिलिए र रोए। भोलिपल्ट एज्राले तिनीहरूलाई व्यवस्थाको पुस्तकबाट अझ धेरै पढेर सुनाए। तिनीहरूले चाँडै झुप्रोबासको चाड मनाउनुपर्ने कुरा थाह पाए। त्यसैले तिनीहरूले तयारी गर्न थालिहाले।
चाडको सात दिनसम्म मानिसहरूले खुसी मनाए र बाली राम्रो भएकोमा यहोवालाई धन्यवाद चढाए। यहोसुको दिनदेखि त्यतिबेलासम्म यसरी झुप्रोबासको चाड मनाइएको थिएन। चाडपछि मानिसहरू भेला भएर यसरी प्रार्थना गरे: ‘हे यहोवा, तपाईँले हामीलाई दासत्वबाट उद्धार गर्नुभयो, निर्जनभूमिमा खुवाउनुभयो र यस सुन्दर भूमि दिनुभयो। तर हामीले पटक-पटक तपाईँको आज्ञा पालन गरेनौँ। तपाईँले हामीलाई चेतावनी दिन भविष्यवक्ताहरू पठाउनुभयो तर हामीले सुन्दै सुनेनौँ। तैपनि तपाईँले धैर्य गर्नुभयो। तपाईँले अब्राहामसित गर्नुभएको वाचा तोड्नुभएन। अब हामी वाचा बाँध्छौँ कि हामी तपाईँको आज्ञा पालन गर्नेछौँ।’ तिनीहरूले आफ्नो वाचा लेखेर राखे र मुखियाहरू, लेवीहरू र पुजारीहरूले त्यसमा छाप लगाए।
“आनन्दित त तिनीहरू हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्!”—लुका ११:२८
-
-
यरुसलेमको पर्खालबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ६७
यरुसलेमको पर्खाल
एज्राको समयमा नहेम्याह भन्ने अर्को एक जना इस्राएली थिए। तिनी आर्टजारसेजका सेवक थिए र फारसको सुसन सहरमा बस्थे। यहुदाबाट नहेम्याहका भाइले यस्तो नराम्रो खबर ल्याए: ‘यरुसलेम फर्केर गएका मानिसहरू सुरक्षित छैनन्। बेबिलोनीहरूले भत्काएका यरुसलेमका पर्खालहरू र त्यसका मूलढोकाहरू भत्किएकै अवस्थामा छन्।’ नहेम्याह साह्रै दुःखी भए। तिनी मदत गर्न यरुसलेम जान चाहन्थे। त्यसैले राजाले तिनलाई जान देऊन् भनेर तिनले प्रार्थना गरे।
नहेम्याह उदास भएको कुरा राजाले याद गरे। तिनले भने: ‘मैले तिमी यत्ति उदास भएको पहिला कहिल्यै देखेको थिइनँ। के भयो?’ नहेम्याहले भने: ‘मेरो सहर यरुसलेम भताभुङ्ग अवस्थामा छ र म कसरी उदास नभई बस्न सक्छु र?’ तब राजाले सोधे: ‘तिमी मबाट के चाहन्छौ?’ नहेम्याहले तुरुन्तै मनमनै प्रार्थना गरे अनि भने: ‘महाराजलाई उचित लाग्छ भने मलाई यरुसलेमको पर्खाल पुनर्निर्माण गर्न जाने अनुमति दिनुहोस्।’ राजा आर्टजारसेजले नहेम्याहलाई अनुमति दिए अनि त्यो लामो यात्रामा तिनी सुरक्षित होऊन् भनेर बन्दोबस्त मिलाए। साथै तिनले नहेम्याहलाई यहुदाको राज्यपाल बनाए अनि सहरका मूलढोकाहरू बनाउन काठ दिए।
यरुसलेम पुगेपछि नहेम्याहले सहरको पर्खालको निरीक्षण गरे। त्यसपछि तिनले पुजारीहरू अनि शासकहरूलाई भेला गरेर भने: ‘सहर एकदमै दयनीय अवस्थामा छ। अब हामीले तुरुन्तै काम सुरु गर्नुपर्छ।’ तिनीहरू सहमत भए र पर्खालको पुनर्निर्माण गर्न थाले।
तर इस्राएलीहरूका केही शत्रुले तिनीहरूको खिसी गर्दै भने: ‘तिमीहरूले बनाइरहेको पर्खाललाई एउटा फ्याउरोले नै गर्ल्यामगुर्लुम ढाल्न सक्छ।’ ती कामदारहरूले तिनीहरूको कुराको वास्ता गरेनन् अनि आफ्नो काम गरिरहे। तिनीहरूले पर्खाल झन्झनै अग्लो अनि बलियो बनाउँदै लगे।
शत्रुहरूले फरक-फरक दिशाबाट यरुसलेममाथि एक्कासि आक्रमण गर्ने फैसला गरे। तिनीहरूको योजना थाह पाएर यहुदीहरू निकै डराए। तर नहेम्याहले भने: ‘नडराओ, यहोवा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ।’ तिनले कामदारहरूको सुरक्षाको लागि पहरेदारहरू तैनाथ गरे र शत्रुहरूले आक्रमण गर्न सकेनन्।
पर्खाल अनि मूलढोकाको पुनर्निर्माणको काम ५२ दिनमै सिद्धियो। यरुसलेमको पर्खालको उद्घाटन गर्ने बेला नहेम्याहले सबै लेवीलाई यरुसलेम ल्याए। तिनले उनीहरूलाई गीत गाउने दुई वटा दलमा विभाजित गरे। उनीहरू फोहरा-ढोकाको सिँढी हुँदै पर्खालमाथि चढे र सहर घुम्न दुई दल विपरीत दिशाबाट अघि बढे। तिनीहरूले बिगुल, झ्याली र वीणा बजाउँदै यहोवाको स्तुतिगान गाए। एज्रा एउटा दलसित गए भने नहेम्याहचाहिँ अर्को दलसित गए र यी दुई दल मन्दिरमा भेटे। पुरुष, स्त्री र केटाकेटी सबैले यहोवाको निम्ति बलि चढाए र खुसी मनाए। तिनीहरूले खुसी मनाएको स्वर टाढाटाढासम्म सुनिन्थ्यो।
“तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।”—यसैया ५४:१७
-