प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इलिसिबा एउटा बच्चा जन्माउँछिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • जकरिया उनको छोराको नाम युहन्‍ना हुनेछ भनेर आफ्ना साथीहरू र नातेदारहरूलाई देखाउँदै छन्‌

      पाठ ६८

      इलिसिबा एउटा बच्चा जन्माउँछिन्‌

      यरुसलेमको पर्खाल पुनर्निर्माण गरेको ४०० वर्षभन्दा धेरै भइसकेको थियो। जकरिया नाम गरेका पुजारी र तिनकी पत्नी इलिसिबा नजिकैको एउटा सहरमा बस्थे। तिनीहरूको बिहे भएको धेरै वर्ष भइसकेको थियो तर तिनीहरूको सन्तान थिएन। एकदिन मन्दिरमा धूप चढाउँदै गर्दा गब्रिएल स्वर्गदूत जकरियाकहाँ देखा परे। तिनी असाध्यै डराए तर गब्रिएलले तिनलाई भने: ‘नडराऊ। मैले यहोवा परमेश्‍वरबाट तिम्रो लागि एउटा सुसमाचार ल्याएको छु। तिम्री पत्नी इलिसिबाले एउटा छोरो जन्माउनेछिन्‌ र उसको नाम युहन्‍ना राख्नू। उहाँले युहन्‍नालाई एउटा विशेष कामको लागि रोज्नुभएको छ।’ तब जकरियाले सोधे: ‘यो कुरा म कसरी पत्याऊँ? किनकि मेरो र मेरी पत्नीको उमेर ढल्किसक्यो।’ गब्रिएलले भने: ‘तिमीलाई यो समाचार सुनाउन परमेश्‍वरले मलाई पठाउनुभएको हो। तर तिमीले मैले भनेको कुरा पत्याएनौ, त्यसैले यो कुरा पूरा नहोउन्जेल तिमी गुँगो हुनेछौ।’

      जकरियाले मन्दिरबाट बाहिर निस्कन अरू बेलाभन्दा ढिलो गरे। त्यसैले भित्र के भयो भनेर बाहिर पर्खिरहेका मानिसहरूले जान्‍न चाहे। जकरिया बोल्न सकेनन्‌। तिनले इसारा गरेर कुरा गरे। त्यसपछि मानिसहरूले जकरियाले परमेश्‍वरबाट सन्देश पाएको हुनुपर्छ भनेर बुझे।

      केही समयपछि इलिसिबा गर्भवती भइन्‌ र स्वर्गदूतले भनेझैँ एउटा छोरो जन्माइन्‌। उनका साथीहरू र नातेदारहरू बच्चा हेर्न आए। तिनीहरू उनीसँगै रमाए। उनले भनिन्‌: ‘उसको नाम युहन्‍ना हो।’ तिनीहरूले भने: ‘तिम्रो नातागोतामा कसैको पनि नाम युहन्‍ना छैन। उसको नाम पनि बुबाको जस्तै जकरिया राख्नुपर्छ।’ तर जकरियाले यस्तो लेखे: ‘उसको नाम युहन्‍ना हो।’ उत्तिखेरै जकरिया फेरि बोल्न सक्ने भए! युहन्‍नाको जन्मबारे यहुदियाभरि चर्चा भयो र ‘ठूलो भएपछि यो बालक कस्तो हुने होला?’ भनेर मानिसहरूले सोच्न थाले।

      त्यसपछि जकरिया पवित्र शक्‍तिले भरिए र तिनले यस्तो भविष्यवाणी गरे: ‘यहोवाको प्रशंसा होस्‌। उहाँले हाम्रो उद्धारको लागि मसीह पठाउनेछु भनेर अब्राहामसित प्रतिज्ञा गर्नुभएको थियो। युहन्‍ना भविष्यवक्‍ता हुनेछन्‌ र मसीहको लागि बाटो तयार पार्नेछन्‌।’

      इलिसिबाकी नातेदार मरियमको जीवनमा पनि एउटा अचम्मलाग्दो कुरा भयो। यसबारे हामी अर्को पाठमा पत्ता लगाऔँ।

      “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि भने सबै कुरा सम्भव छ।”—मत्ति १९:२६

      प्रश्‍नहरू: गब्रिएलले जकरियालाई के भने? युहन्‍नाले कस्तो विशेष काम गर्ने थिए?

      मत्ति ११:७-१४; लुका १:५-२५, ५७-७९; यसैया ४०:३; मलाकि ३:१

  • गब्रिएल मरियमलाई भेट्‌छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • गब्रिएल स्वर्गदूत मरियमकहाँ देखा पर्छन्‌

      पाठ ६९

      गब्रिएल मरियमलाई भेट्‌छन्‌

      एक जना स्वर्गदूत सपनामा युसुफकहाँ देखा पर्छन्‌

      इलिसिबाको मरियम भन्‍ने एउटी जवान नातेदार थिइन्‌। तिनी गालिलको नासरत सहरमा बस्थिन्‌। तिनको सिकर्मी युसुफसँग मगनी भएको थियो। इलिसिबा गर्भवती भएको छैटौँ महिनामा गब्रिएल मरियमकहाँ देखा परे र भने: ‘तिमीलाई मेरो अभिवादन! तिमीले यहोवाको निगाह पाएकी छ्यौ।’ गब्रिएलको कुरा तिनले बुझिनन्‌। गब्रिएलले तिनलाई भने: ‘तिमी गर्भवती हुनेछ्यौ र छोरा जन्माउनेछ्यौ। तिमीले उहाँको नाम येसु राख्नू। उहाँ राजा हुनुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।’

      मरियमले भनिन्‌: ‘म त कुमारी नै छु। मैले कसरी बच्चा जन्माउन सक्छु र?’ गब्रिएलले भने: ‘परमेश्‍वरको लागि केही असम्भव छैन। पवित्र शक्‍ति तिमीमाथि आउनेछ र तिमीले छोरा जन्माउनेछ्यौ। तिम्री नातेदार इलिसिबा पनि गर्भवती छिन्‌।’ मरियमले भनिन्‌: ‘म यहोवाकी दासी हुँ! तपाईँले भन्‍नुभएअनुसारै होस्‌।’

      युसुफ गर्भवती मरियमलाई आफ्नी पत्नीको रूपमा स्विकार्छन्‌

      मरियम इलिसिबालाई भेट्‌न पहाडी इलाकामा पर्ने सहर गइन्‌। तिनले उनलाई अभिवादन गर्दा उनको गर्भको शिशु उफ्रियो। उनले पवित्र शक्‍तिले भरिएर भनिन्‌: ‘मरियम तिमीलाई यहोवाले आशिष्‌ दिनुभएको छ। मेरा प्रभुकी आमा मकहाँ आउनु कत्ति ठूलो सम्मान!’ तिनले भनिन्‌: ‘म सारा हृदयले यहोवाको प्रशंसा गर्छु।’ तिनी तीन महिना इलिसिबासित बसेर नासरत फर्किन्‌।

      मरियम गर्भवती भएको थाह पाएपछि युसुफले तिनीसित सम्बन्धविच्छेद गर्ने निधो गरे। तर एक स्वर्गदूत सपनामा उनीकहाँ आएर भने: ‘मरियमसित बिहे गर्न नडराऊ! किनभने तिनले कुनै गल्ती गरेकी छैनन्‌।’ त्यसैले युसुफले मरियमलाई पत्नी स्विकारेर घरमा ल्याए।

      “आकाशमा, पृथ्वीमा . . . यहोवा आफूलाई जे उचित लाग्छ, त्यही गर्नुहुन्छ।”—भजन १३५:६

      प्रश्‍नहरू: गब्रिएलले मरियमलाई तिनको छोराबारे के भने? इलिसिबा र मरियमलाई आफ्नो जीवनमा घटेको घटनाबारे कस्तो लाग्यो?

      मत्ति १:१८-२५; लुका १:२६-५६; यसैया ७:१४; ९:७; दानिएल २:४४; गलाती ४:४

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने