-
स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७०
स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्
रोमी साम्राज्यका शासक सिजर अगस्तसले सबै यहुदीलाई आ-आफ्नो गृहनगर फर्केर नाम दर्ता गर्नू भनी आदेश दिएका थिए। त्यसैले युसुफ र मरियम पनि बेतलेहेम गए। युसुफको परिवार त्यस ठाउँका थिए। मरियम सुत्केरी हुने बेला नजिकै आइसकेको थियो।
बेतलेहेम पुगेपछि तिनीहरूले बस्नको लागि गोठ मात्र पाउन सके। त्यहीँ मरियमले आफ्नो छोरा येसुलाई जन्माइन्। तिनले नरम कपडाले शिशु येसुलाई बेरेर डुँडमा राखिन्।
बेतलेहेमनजिकै केही गोठालाहरू राती बाहिर चौरमा बगालको हेरचाह गरिरहेका थिए। तब अचानक एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे र तिनीहरूको चारैतिर यहोवाको महिमा चम्कियो। गोठालाहरू असाध्यै डराए तर ती स्वर्गदूतले भने: ‘नडराओ, मसित तिमीहरूको लागि राम्रो समाचार छ। आज बेतलेहेममा मसीहको जन्म भएको छ।’ त्यतिबेला स्वर्गमा थुप्रै स्वर्गदूत देखा परे र भने: ‘स्वर्गमा परमेश्वरको महिमा अनि पृथ्वीमा शान्ति होस्।’ त्यसपछि स्वर्गदूतहरू तिनीहरूलाई छोडेर गए। तिनीहरूले चाहिँ के गरे?
तिनीहरूले यसो भन्न थाले: “आओ, हामी तुरुन्तै बेतलेहेम जाऔँ।” तिनीहरू हतारिँदै गए अनि मरियम र युसुफलाई उनीहरूको भर्खरै जन्मेको छोरासँगै गोठमा भेट्टाए।
स्वर्गदूतले ती गोठालाहरूलाई भनेको कुरा सुन्नेजति सबै छक्क परे। मरियमले चाहिँ ती स्वर्गदूतले भनेका सब कुराबारे गहिरिएर सोचिन् र मनमा राखिन्। ती गोठालाहरू बगाल भएको ठाउँमा फर्के अनि तिनीहरूले सुनेको र देखेको सबै कुराको लागि यहोवालाई धन्यवाद चढाए।
“म परमेश्वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।”—युहन्ना ८:४२
-
-
यहोवा परमेश्वरले येसुको रक्षा गर्नुभयोबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७१
यहोवा परमेश्वरले येसुको रक्षा गर्नुभयो
इस्राएलको पूर्वतिर बस्ने मानिसहरू ताराले तिनीहरूलाई डोऱ्याउन सक्छ भनेर विश्वास गर्थे। एक रात पूर्वतिरका केही मानिसले आकाशमा ताराजस्तो चम्किलो केही कुरा अघि बढिरहेको देखे। ती मानिसहरूले त्यसलाई पछ्याए। त्यो “तारा”-ले तिनीहरूलाई यरुसलेमतर्फ डोऱ्यायो। तिनीहरूले मानिसहरूलाई यसो भनेर सोध्न थाले: ‘यहुदीहरूका राजा हुनुहुने बालक कहाँ हुनुहुन्छ? हामी उहाँको दर्शन गर्न आएका हौँ।’
नयाँ राजाबारे सुनेपछि यरुसलेमका राजा हेरोद निकै चिन्तित भए। तिनले मुख्य पुजारीहरूलाई सोधे: ‘नयाँ राजा कहाँ जन्मनुपर्ने हो?’ तिनीहरूले राजालाई भने: ‘भविष्यवक्ताहरूले भनेअनुसार उहाँ बेतलेहेममा जन्मनुहुनेछ।’ त्यसैले हेरोदले पूर्वतिरका ती मानिसहरूलाई बोलाएर भने: ‘बेतलेहेम जाओ र त्यस सानो बालकलाई खोज। उहाँलाई भेट्टाएपछि फर्केर मलाई खबर गर। म पनि उहाँको दर्शन गर्न चाहन्छु।’ तर हेरोद झूट बोलिरहेका थिए।
त्यो “तारा” फेरि अघि बढ्न थाल्यो। ती मानिसहरूले त्यसलाई बेतलेहेमसम्मै पछ्याए। त्यो “तारा” एउटा घरमाथि पुगेपछि अडियो र तिनीहरू त्यस घरभित्र पसे। तिनीहरूले येसुलाई उहाँकी आमा मरियमसँग भेट्टाए। तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। साथै तिनीहरूले सुन, सेतो धूप र मर्र उहाँलाई उपहारस्वरूप दिए। येसुलाई खोज्न के यहोवाले साँच्चै ती मानिसहरूलाई पठाउनुभएको थियो? अहँ, थिएन।
त्यो रात यहोवाले युसुफलाई सपनामा भन्नुभयो: ‘हेरोद येसुलाई मार्न चाहन्छ। आफ्नी पत्नी र छोरालाई लिएर मिश्र भाग। मैले फर्कन सुरक्षित छ नभनेसम्म त्यहीँ बस।’ युसुफ र तिनको परिवार तुरुन्तै मिश्र गए।
यहोवाले पूर्वतिरका मानिसहरूलाई हेरोदकहाँ नफर्कनू भन्नुभएको थियो। तिनीहरू फर्कँदैनन् भनेर थाह पाएपछि हेरोद रिसले आगो भए। येसुलाई भेट्टाउन नसकेपछि हेरोदले बेतलेहेममा येसुको उमेरका सबै बालकलाई मार्ने आदेश दिए। तर येसु निकै टाढा मिश्रमा सुरक्षित हुनुहुन्थ्यो।
पछि हेरोदको मृत्यु भयो। यहोवाले युसुफलाई भन्नुभयो: ‘अब कुनै खतरा छैन, तिमीहरू फर्कन सक्छौ।’ मरियम र येसुलाई लिएर युसुफ इस्राएल फर्के र नासरतमा बस्न थाले।
“मेरो मुखबाट निस्कने वचन . . . जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।”—यसैया ५५:११
-