-
येसु बाह्र वर्षको हुनुहुँदाबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७२
येसु बाह्र वर्षको हुनुहुँदा
युसुफ र मरियम येसुलगायत अरू छोराछोरीसँग नासरतमा बस्थे। युसुफ परिवार पाल्न सिकर्मी काम गर्थे। तिनले परिवारलाई यहोवा र उहाँको व्यवस्थाबारे सिकाए। युसुफको परिवार उपासना गर्न नियमित सभाघर जान्थे अनि हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जान्थे।
येसु १२ वर्षको हुनुहुँदा हरेक वर्षजस्तै आफ्नो परिवारसँगै लामो यात्रा गरेर यरुसलेम जानुभयो। त्यहाँ निस्तार चाड मनाउन आएका मानिसहरूको भीड थियो। चाडपछि युसुफ र मरियमले घर फर्कन यात्रा सुरु गरे अनि तिनीहरूले येसु घर फर्किरहेका अरू यात्रीसँगै हुनुहुन्छ भन्ठाने। तर तिनीहरूले उहाँलाई नातागोतामाझ भेट्टाएनन्।
तिनीहरू यरुसलेम फर्के र तीन दिनसम्म आफ्नो छोरालाई खोजे। अन्तमा तिनीहरू मन्दिर गए। येसु त्यहाँ शिक्षकहरूको बीचमा बसिरहनुभएको थियो। उहाँ ध्यान दिएर सुन्दै र प्रश्नहरू सोध्दै हुनुहुन्थ्यो। शिक्षकहरू उहाँसँग यत्ति प्रभावित भए कि उनीहरूले उहाँलाई नै प्रश्नहरू सोध्न थाले। उनीहरू उहाँको जवाफ सुनेर छक्क परे। उहाँले परमेश्वरको व्यवस्था राम्ररी बुझ्नुभएको कुरा उनीहरूले थाह पाए।
युसुफ र मरियम एकदमै चिन्तित भएका थिए। त्यसैले मरियमले भनिन्: ‘बाबु, तिमीलाई हामीले कत्ति खोजिसक्यौँ! तिमी कहाँ थियौ?’ येसुले भन्नुभयो: “म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईँहरूलाई थाह थिएन?”
येसु आफ्ना आमाबुबासितै नासरत फर्कनुभयो। युसुफले येसुलाई सिकर्मीको काम सिकाए। तिम्रो विचारमा येसु बालक छँदा कस्तो हुनुहुन्थ्यो? हुर्कँदै जाँदा येसु बुद्धिमान् हुँदै जानुभयो अनि उहाँले परमेश्वर र मानिसहरूको अनुग्रह पाउनुभयो।
“हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।”—भजन ४०:८
-
-
युहन्ना बाटो तयार पार्छन्बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७३
युहन्ना बाटो तयार पार्छन्
जकरिया र इलिसिबाको छोरा युहन्ना हुर्केपछि भविष्यवक्ता भए। मसीह आउँदै हुनुहुन्छ भनेर मानिसहरूलाई सिकाउन यहोवा परमेश्वरले युहन्नालाई चलाउनुभयो। तर युहन्नाले सभाघर वा सहरमा गएर सिकाउनुको सट्टा निर्जनभूमिमा गएर प्रचार गरे। तिनको कुरा सुन्न मानिसहरू यरुसलेम र सारा यहुदियाबाट आउँथे। परमेश्वरलाई खुसी बनाउन खराब कामहरू गर्न छोड्नुपर्छ भनेर तिनले मानिसहरूलाई सिकाए। तिनको कुरा सुनेपछि धेरै जनाले आफ्नो पापको पश्चात्ताप गरे र तिनले तिनीहरूलाई यर्दन नदीमा बप्तिस्मा गराए।
युहन्ना सरल जीवन बिताउँथे। तिनी उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि सलह र वन-मह खान्थे। मानिसहरू युहन्नाबारे जान्न उत्सुक थिए। घमन्डी फरिसी र सदुकीहरूसमेत तिनलाई हेर्न आउँथे। तिनले तिनीहरूलाई भने: ‘तिमीहरू परिवर्तन हुनुपर्छ र पश्चात्ताप गर्नुपर्छ। अब्राहामको सन्तान हौँ भनेर आफैलाई अरूभन्दा ठूलो नठान। तिमीहरू अब्राहामको सन्तान हौ भन्दैमा परमेश्वरका सन्तान हुँदैनौ।’
धेरै जनाले युहन्नाकहाँ आएर सोधे: ‘त्यसोभए परमेश्वरलाई खुसी बनाउन हामी के गरौँ त?’ तिनले यहुदीहरूलाई जवाफ दिए: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस्।” तिनले किन त्यसो भने, के तिमीलाई थाह छ? परमेश्वरलाई खुसी बनाउने हो भने मानिसहरूलाई माया गर्नुपर्छ भनेर आफ्ना चेलाहरूले बुझेको तिनी चाहन्थे।
युहन्नाले कर उठाउनेहरूलाई भने: ‘इमानदार भएर काम गर अनि कसैलाई लुट्ने काम नगर।’ तिनले सैन्य सेवामा लागेकाहरूलाई भने: ‘कसैबाट घूस नलेओ अनि झूट पनि नबोल।’
पुजारीहरू र लेवीहरूले पनि युहन्नाकहाँ आएर सोधे: ‘तिमी को हौ? सबै जना जान्न चाहन्छन्।’ तब युहन्नाले जवाफ दिए: ‘यसैयाले भनेझैँ मानिसहरूलाई यहोवा परमेश्वरकहाँ पुऱ्याउन उजाड ठाउँमा कराउने मानिस मै हुँ।’
युहन्नाले सिकाइरहेको कुरा मानिसहरूलाई मन पर्थ्यो। युहन्ना नै मसीह हुन् कि भनेर धेरै जना अलमलमा परेका थिए। तर तिनले तिनीहरूलाई भने: ‘मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ। उहाँको जुत्ता खोल्न समेत म लायकको छैनँ। म पानीले बप्तिस्मा गराउँछु तर उहाँले पवित्र शक्तिले बप्तिस्मा गराउनुहुनेछ।’
“ती मानिस ज्योतिको गवाही दिन साक्षीको रूपमा आए ताकि तिनीद्वारा हरकिसिमका मानिसले विश्वास गर्न सकून्।”—युहन्ना १:७
-