-
येसु मसीह बन्नुहुन्छबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७४
येसु मसीह बन्नुहुन्छ
युहन्नाले यसो भनेर प्रचार गरिरहेका थिए: ‘मभन्दा अझै ठूलो कोही आउँदै हुनुहुन्छ।’ येसु लगभग ३० वर्षको हुनुहुँदा उहाँ गालिलबाट यर्दन नदीमा आउनुभयो, जहाँ युहन्नाले मानिसहरूलाई बप्तिस्मा गराउँथे। येसु युहन्नाले आफूलाई बप्तिस्मा गराएको चाहनुहुन्थ्यो तर तिनले भने: ‘मैले तपाईँलाई होइन, तपाईँले चाहिँ मलाई बप्तिस्मा गराउनुपर्ने हो।’ तब येसुले तिनलाई भन्नुभयो: ‘यहोवा परमेश्वर तिमीले मलाई बप्तिस्मा गराएको चाहनुहुन्छ।’ त्यसैले उहाँहरू यर्दन नदीमा जानुभयो र युहन्नाले येसुलाई पानीमा चुर्लुम्मै डुबाए।
उहाँले पानीबाट निस्कनेबित्तिकै प्रार्थना गर्नुभयो। त्यसैबेला आकाश उघ्रियो र परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लियो। अनि आकाशबाट यहोवा परमेश्वरको यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”
परमेश्वरको पवित्र शक्ति येसुमाथि आएपछि उहाँ ख्रिष्ट अर्थात् मसीह बन्नुभयो। यहोवा परमेश्वरले उहाँलाई जुन कामको लागि पठाउनुभएको थियो, अब उहाँले त्यो काम सुरु गर्नुहुने थियो।
येसु बप्तिस्मा गर्नुभएलगत्तै निर्जनभूमिमा जानुभयो र त्यहाँ ४० दिन बिताउनुभयो। त्यहाँबाट फर्किएपछि उहाँ युहन्नालाई भेट्न जानुभयो। तिनले येसु आफूतिर आइरहनुभएको देखेपछि भने: ‘उहाँ परमेश्वरको पाठो हुनुहुन्छ, जसले संसारको पाप हटाउनुहुनेछ।’ यसरी युहन्नाले येसु नै मसीह हुनुहुन्छ भनेर मानिसहरूलाई बताए। येसु निर्जनभूमिमा हुनुहुँदा के भएको थियो, तिमीलाई थाह छ? अब थाह पाऔँ है त।
“आकाशबाट यस्तो आवाज आयो: ‘तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।’”—मर्कुस १:११
-
-
दियाबल येसुको परीक्षा लिन्छबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७५
दियाबल येसुको परीक्षा लिन्छ
येसुले बप्तिस्मा गर्नुभएपछि पवित्र शक्तिले उहाँलाई निर्जनभूमिमा डोऱ्यायो। उहाँले ४० दिन केही नखानुभएकोले धेरै भोकाउनुभएको थियो। दियाबलले उहाँलाई प्रलोभनमा पार्न खोज्दै भन्यो: ‘तपाईँ साँच्चै परमेश्वरको छोरा हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी भइजाऊन् भन्नुहोस्।’ तर येसुले बाइबलमा लेखिएको कुरा यसरी बताउनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”
त्यसपछि दियाबलले येसुलाई यस्तो चुनौती दियो: ‘तपाईँ साँच्चै परमेश्वरको छोरा हुनुहुन्छ भने मन्दिरको सबैभन्दा अग्लो ठाउँबाट हाम फाल्नुहोस्। तपाईँलाई जोगाउन परमेश्वरले स्वर्गदूतहरूलाई पठाउनुहुनेछ भनेर लेखिएको छ।’ यसपटक पनि येसुले बाइबलमा लेखिएको कुरा यसरी बताउनुभयो: ‘यस्तो लेखिएको छ, “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू।”’
त्यसपछि सैतानले येसुलाई संसारको सबै राज्य अनि त्यसको सान र महिमा देखाउँदै भन्यो: ‘तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै राज्य र त्यसको महिमा म तपाईँलाई दिनेछु।’ येसुले भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ।’”
दियाबल गयो र स्वर्गदूतहरूले येसुलाई खानेकुरा दिए। त्यसपछि येसुले राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँलाई पृथ्वीमा यसै कामको लागि पठाइएको थियो। येसुको शिक्षा मानिसहरूलाई मन पऱ्यो र उहाँ जहाँ गए पनि तिनीहरू उहाँको पछि लागे।
“जब [दियाबलले] झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।”—युहन्ना ८:४४
-