-
येसु परमेश्वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७८
येसु परमेश्वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ
येसुले बप्तिस्मा गर्नुभएको केही समयपछि “परमेश्वरको राज्य नजिकै आएको छ” भनेर प्रचार गर्न थाल्नुभयो। उहाँ गालिल र यहुदिया जानुहुँदा चेलाहरू पनि उहाँको पछि लागे। उहाँ आफ्नो गृहनगर नासरतमा फर्कनुभएपछि सभाघर जानुभयो र यसैयाको मुठा खोलेर ठूलो स्वरले पढ्नुभयो: ‘मैले सुसमाचार प्रचार गर्न सकूँ भनेर यहोवा परमेश्वरले मलाई पवित्र शक्ति दिनुभएको छ।’ उहाँ के भन्न खोज्दै हुनुहुन्थ्यो? मानिसहरू उहाँले चमत्कारहरू गर्नुभएको हेर्न चाहन्थे तर उहाँले पवित्र शक्ति पाउनुको मुख्य कारण सुसमाचार प्रचार गर्नु थियो। त्यसपछि आफ्नो कुरा सुनिरहेकाहरूलाई उहाँले भन्नुभयो: ‘आज यो भविष्यवाणी पूरा भयो।’
येसु गालिल समुद्रमा जानुभयो। त्यहाँ उहाँले चार जना जलारीलाई भेट्नुभयो, जो पछि उहाँका चेला बने। उहाँले तिनीहरूलाई भन्नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।” ती चार जना पत्रुस, अन्द्रियास, याकुब र युहन्ना थिए। उत्तिखेरै तिनीहरूले माछा मार्ने काम छोडेर उहाँको पछि लागे। तिनीहरूले गालिलभरि परमेश्वरको राज्यबारे प्रचार गरे। तिनीहरूले सभाघर, बजार र सडकहरूमा प्रचार गरे। तिनीहरू जहाँ गए पनि मानिसहरूको भीड तिनीहरूको पछि लाग्यो। चारैतिर उहाँको चर्चा हुन थाल्यो, टाढा पर्ने सिरियासम्मै।
केही समयपछि येसुले केही चेलालाई मानिसहरूलाई निको पार्ने र प्रेतहरू धपाउने शक्ति दिनुभयो। उहाँले सहर-सहर अनि गाउँ-गाउँ हुँदै प्रचार गर्नुहुँदा अरू चेलाहरू उहाँसँगै गए। मरियम मग्दलिनी, योअन्ना, सुसन्ना र अरू थुप्रै वफादार स्त्रीले येसु र उहाँका अनुयायीहरूको ख्याल राखे।
येसुले चेलाहरूलाई तालिम दिनुभएपछि प्रचार गर्न पठाउनुभयो। तिनीहरूले गालिलभरि यात्रा गर्दा अरू थुप्रै मानिस चेला बने र बप्तिस्मा गरे। चेला बन्न चाहनेहरू यत्ति धेरै थिए कि उहाँले तिनीहरूलाई बाली काट्ने समयको फसलसित तुलना गर्नुभयो। उहाँले भन्नुभयो: ‘यहोवालाई बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर प्रार्थना गर।’ पछि उहाँले ७० जना चेला छान्नुभयो र तिनीहरूलाई दुई-दुई गरी यहुदियाभरि प्रचार गर्न पठाउनुभयो। तिनीहरूले सबै खाले मानिसलाई परमेश्वरको राज्यबारे सिकाए। चेलाहरू फर्केर येसुलाई सबै कुरा बताउन उत्सुक थिए। सैतानले प्रचारकार्य रोक्न सकेन।
आफू स्वर्ग फर्किसकेपछि चेलाहरूले यो महत्त्वपूर्ण काम गरिरहून् भन्ने येसु चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो: ‘सारा संसारमा सुसमाचार प्रचार गर। मानिसहरूलाई परमेश्वरको वचन सिकाओ र बप्तिस्मा गराओ।’
“मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”—लुका ४:४३
-
-
येसु चमत्कारहरू गर्नुहुन्छबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ७९
येसु चमत्कारहरू गर्नुहुन्छ
येसु परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न पृथ्वीमा आउनुभएको थियो। येसु राजा हुनुभएपछि उहाँले के-के गर्नुहुनेछ भनेर देखाउन यहोवा परमेश्वरले उहाँलाई चमत्कारहरू गर्न पवित्र शक्ति दिनुभयो। उहाँ जस्तोसुकै रोग पनि निको पार्न सक्नुहुन्थ्यो। उहाँ जहाँ-जहाँ जानुभयो, बिरामीहरू निको हुन उहाँकहाँ आए र उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। अन्धाहरूले देख्न, बहिराहरूले सुन्न र पक्षाघात भएकाहरू हिँड्न सके। प्रेतहरूको वशमा परेकाहरू पनि तिनीहरूबाट मुक्त भए। उहाँको लुगाको किनारा छुनेहरू पनि निको भए। येसु जहाँ-जहाँ जानुभयो, त्यहाँ-त्यहाँ मानिसहरूले उहाँलाई पछ्याए। एक्लै बस्न मन लागेको बेला पनि मानिसहरू उहाँकहाँ आउँदा उहाँले तिनीहरूलाई फर्काउनुभएन।
एकचोटि येसु बसिरहनुभएको घरमा मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई ल्याए। तर घरभरि मानिसहरू भएकोले तिनीहरू भित्र छिर्न सकेनन्। त्यसैले तिनीहरूले छाना उघारेर त्यस मानिसलाई येसु हुनुभएको ठाउँमा ओराले। त्यसपछि येसुले त्यस मानिसलाई भन्नुभयो: ‘उठ र हिँड।’ ऊ हिँडेको देखेर मानिसहरू चकित भए।
अर्को एकचोटि येसु एउटा गाउँभित्र पस्नुहुँदा १० जना कुष्ठरोगीले टाढैबाट ठूलो स्वरमा भने: ‘हे येसु, हामीलाई मदत गर्नुहोस्!’ त्यतिबेला कुष्ठरोगीहरू अरू मानिसको नजिक आउन पाउँदैनथे। येसुले तिनीहरूलाई मन्दिर जान भन्नुभयो। परमेश्वरको व्यवस्थाअनुसार कुष्ठरोगीहरू निको भएपछि मन्दिर जानुपर्थ्यो। तिनीहरू बाटोमा जाँदाजाँदै निको भए। तिनीहरूमध्ये एक जनाले आफू निको भएको चाल पाएपछि ऊ येसुलाई धन्यवाद दिन उहाँकहाँ फर्क्यो र परमेश्वरको प्रशंसा गऱ्यो। दस जनामध्ये एक जनाले मात्र येसुलाई धन्यवाद दियो।
बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री जसरी भए पनि निको हुन चाहन्थी। भीडमा येसुको पछिल्तिर गएर उसले उहाँको लुगाको किनारा छोई। तुरुन्तै ऊ निको भई। त्यसपछि येसुले भन्नुभयो: “मलाई छुने को हो?” त्यो स्त्री डराई तर उसले अगाडि आएर सत्य कुरा बताई। येसुले उसलाई सान्त्वना दिँदै भन्नुभयो: ‘नानी, ढुक्क भएर जाऊ।’
याइरस नाम गरेका एक अफिसरले येसुलाई यस्तो बिन्ती गरे: ‘मेरो घरमा आइदिनुहोस्! मेरी सानी छोरी धेरै बिरामी छे।’ तर येसु याइरसको घरमा पुग्नुअघि नै ती सानी केटीको मृत्यु भइसकेको थियो। त्यहाँ पुग्नुहुँदा येसुले त्यस परिवारसँगै धेरै मानिसले शोक गरिरहेको देख्नुभयो। येसुले तिनीहरूलाई भन्नुभयो: ‘नरोऊ किनकि ऊ निदाइरहेकी छे।’ त्यसपछि उहाँले उसको हात समातेर भन्नुभयो: “नानु, उठ!” ऊ जुरुक्कै उठेर बसी। येसुले उसका आमाबुबालाई उसलाई केही खानेकुरा दिन भन्नुभयो। उसका आमाबुबा कत्ति खुसी भए होलान्, सोच त!
“परमेश्वरले उहाँलाई पवित्र शक्ति अनि तागतले अभिषेक गर्नुभयो अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई निको पार्दै हिँड्नुभयो। परमेश्वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।”—प्रेषित १०:३८
-