प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कसको कुरा पत्याउने?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • कसको कुरा पत्याउने?

      “हरेक घर कुनै न कुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।”—हिब्रू ३:४.

      बाइबलको यो तर्क तपाईंलाई कत्तिको चित्तबुझ्दो लाग्छ? यी शब्दहरू लगभग २,००० वर्षअघि लेखिएका हुन्‌ र यो २,००० वर्षभित्र मानवजातिले थुप्रै वैज्ञानिक उन्‍नतिहरूको स्वाद चाखिसक्यो। त के यो पृथ्वीको रचनाकार, सृष्टिकर्ता वा परमेश्‍वरमाथि विश्‍वास राख्ने अझै कोही छन्‌?

      विकसित मुलुकहरूमा समेत थुप्रै मानिसहरू सृष्टिकर्तामाथि विश्‍वास राख्छन्‌। उदाहरणका लागि, सन्‌ २००५ मा न्युजवीक साप्ताहिक पत्रिकाले सर्वेक्षण लिंदा ८० प्रतिशत अमेरिकी जनताले “परमेश्‍वरले नै यो विश्‍व ब्रह्‍माण्डको सृष्टि गर्नुभएको हो भनेर विश्‍वास” गर्ने गरेको थाह लाग्यो। तर कतै शिक्षाको कमीले गर्दा पो त्यसो भएको हो कि? के सृष्टिकर्तामाथि विश्‍वास गर्ने वैज्ञानिकहरू पनि छन्‌? सन्‌ १९९७ मा नेचर भन्‍ने विज्ञान पत्रिकाले लिएको सर्वेक्षणअनुसार झन्डै ४० प्रतिशत जीवशास्त्री, भौतिकशास्त्री अनि गणितज्ञले परमेश्‍वरको अस्तित्व छ भनेर स्वीकार्नुका साथै उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर पनि विश्‍वास गर्दा रहेछन्‌।

      तथापि, बिलकुलै भिन्‍न विचार राख्ने वैज्ञानिकहरू पनि छन्‌। नोबेल पुरस्कार विजेता डा. हर्बट ए. हाउप्टमानले हालै एउटा विज्ञान सम्मेलनमा प्रकृति बाहिरका कुराहरू र त्यसमाथि पनि अझ विशेष गरी ईश्‍वरमाथि विश्‍वास गर्नु विशुद्ध विज्ञानसित मेल नखाने कुरा हो भनेका थिए। “यस किसिमको विश्‍वासले मानवजातिको उन्‍नतिमा बाधा पुऱ्‍याउँछ” भन्‍ने तिनको तर्क थियो। परमेश्‍वरको अस्तित्व स्वीकार्ने वैज्ञानिकहरू समेत खुलेर वनस्पति वा प्राणीहरूको रचनाकार हुनै पर्छ भनेर सिकाउन हिचकिचाउँछन्‌। किन? यसको एउटा कारण प्रस्ट पार्दै स्मिथसोनियन नामक अनुसन्धान तथा शैक्षिक संगठनका जीवावशेष विशेषज्ञ डगलस एच. अरविन भन्छन्‌: “विज्ञानले कुनै पनि कुरा वा घटना चमत्कारले भयो भनेर स्वीकार्दैन।”

      तपाईं के विश्‍वास गर्न चाहनुहुन्छ, तपाईंकै हातमा छ। कागले कान लग्यो भनेर कानै नछामी दौडन सक्नुहुन्छ वा समझदार हुनुहुन्छ भने प्रमाणहरू खोजेर आफै निष्कर्षमा पुग्न पनि सक्नुहुन्छ। यस पछिका लेखहरूमा वैज्ञानिक जगत्‌मा हालै पत्ता लागेका कुराहरूबारे पढ्‌दै जानुहुँदा आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘के परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु तार्किक कुरा हो?’ (g 9/06)

      [पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

      प्रमाणहरू खोजेर आफै निष्कर्षमा पुग्नुहोस्‌

      [पृष्ठ ३-मा भएको पेटी]

      के यहोवाका साक्षीहरू सृष्टिवादी हुन्‌?

      बाइबलको उत्पत्ति नाउँ गरेको किताबमा सृष्टिबारे जे-जति वर्णन गरिएको छ, यहोवाका साक्षीहरू त्यसमा विश्‍वास राख्छन्‌। तर त्यसो भन्दैमा उनीहरूलाई सृष्टिवादी भन्‍न मिल्दैन। किन? पहिलो कारण, थुप्रै सृष्टिवादीहरू पृथ्वीलगायत सम्पूर्ण ब्रह्‍माण्ड अनि जीवजीवात आजभन्दा लगभग १०,००० वर्षअघि ६ दिनभित्र सृष्टि भएको हो भनेर विश्‍वास गर्छन्‌। तर बाइबलले त्यसो भन्दैन।a यसबाहेक, सृष्टिवादीहरूले बाइबलको शिक्षासित मेल नखाने थुप्रै धर्मसिद्धान्तहरू अँगालेका छन्‌। यहोवाका साक्षीहरू परमेश्‍वरको वचनले सिकाउने शिक्षाहरू मात्र अँगाल्छन्‌।

      अर्को कारण, थुप्रै मुलुकका मानिसहरू “सृष्टिवादी” भन्‍ने बित्तिकै राजनीतिमा सक्रियतापूर्वक भाग लिने उग्र कट्टरपन्थीहरू भनेर सोच्ने गर्छन्‌। किनकि सृष्टिवादीहरू आफ्नो धार्मिक विश्‍वासलाई टेवा पुऱ्‍याउने नीतिनियम, कानुन वा शिक्षा लागू गर्न राजनीतिज्ञ, न्यायाधीश अनि शिक्षकहरूलाई दबाब दिने गर्छन्‌।

      यसको ठीक विपरीत यहोवाका साक्षीहरू राजनैतिक मामिलाहरूमा तटस्थ रहने गर्छन्‌। सरकारले आफ्नो अख्तियार चलाएर कुनै नीतिनियम वा कानुनहरू बनाउँदा यहोवाका साक्षीहरू त्यसको विरोध गर्दैनन्‌। (रोमी १३:१-७) येशूले आफ्ना चेलाहरू यस “संसारका होइनन्‌” भन्‍नुभएको हुनाले उनीहरू त्यसलाई गम्भीरतापूर्वक लिन्छन्‌। (यूहन्‍ना १७:१४-१६) परमेश्‍वरको राज्यको प्रचार गरेर उनीहरू मानिसहरूलाई उहाँको स्तरअनुसार जिउने तरिकाहरू सिकाउँछन्‌। तर अरूलाई बाइबल स्तरअनुसार चल्न जबरजस्ती गर्ने नीतिनियमहरू बनाउन खोज्ने उग्र कट्टरपन्थी धार्मिक समूहरूलाई समर्थन गरेर यहोवाका साक्षीहरू आफ्नो मसीही तटस्थता भंग गर्दैनन्‌।—यूहन्‍ना १८:३६.

      [फुटनोट]

      a यस पत्रिकाको पृष्ठ १८ मा “बाइबल के भन्छ: के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?” लेख हेर्नुहोस्‌।

  • प्रकृतिले के सिकाउँछ?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • प्रकृतिले के सिकाउँछ?

      “गएर पशुलाई सोध्नुहोस्‌ र तिनीहरूले तपाईंलाई सिकाउनेछन्‌, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्‌, अथवा पृथ्वीसित बोल्नुहोस्‌, र त्यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्‌।”—अय्यूब १२:७, ८, NRV.

      हालसालै वैज्ञानिक अनि इन्जिनियरहरूले बोटबिरुवा र पशुहरूबाट साँच्चै नै सिक्न थालेका छन्‌। भनौं भने, विभिन्‍न प्राणीहरूको क्षमता, रङ तथा बनौटको अध्ययन तथा नकल गर्ने नयाँ विधा नै सुरु भइसकेको छ, जसलाई अंग्रेजीमा बायोमिमेटिक्स भनिन्छ। हाल चालु अवस्थामा रहेका विभिन्‍न यन्त्रहरूलाई अझ सुधार्न अनि नयाँ किसिमका यन्त्रहरू तयार पार्न वैज्ञानिकहरूले यसो गर्न थालेका हुन्‌। आउनुहोस्‌, यसको केही उदाहरणहरू छलफल गरौं र यसरी छलफल गर्दा आफैलाई यो प्रश्‍न सोध्न नबिर्सनुहोस्‌: ‘प्रशंसाको वास्तविक हकदार को हुनुहुन्छ? सृष्टिकर्ता वा उहाँको सृष्टिको नकल गर्ने वैज्ञानिक?’

      ह्वेल माछाको सिको

      हवाईजहाज बनाउने इन्जिनियरहरूले हम्पब्याक ह्वेलमाछालाई हेरेर निकै कुरा सिक्न सक्छन्‌। पूर्ण वयस्क भइसकेको हम्पब्याक ह्वेल माछाको वजन ३० टन अर्थात्‌ सर-सामानले टन्‍न भरिएको ट्रकको वजन बराबर हुन्छ। अरू माछाको तुलनामा यसको शरीर दह्रो र पखेटाको आकार पनि चराको जस्तै हुन्छ। तैपनि, १२ मिटर लामो यो जीव पानीमा बडो मजाले पौडन सक्छ। उदाहरणको लागि, यसले आफ्नो आहार—माछा, झिंगे माछा, गंगटो, मसिना कीराहरू इत्यादिलाई कसरी पक्रन्छ ध्यान दिनुहोस्‌। आफ्नो आहार फेला पारेपछि, त्यसको मुन्तिर फनफनी घुम्दै अनि जोडले हावाका फोकाहरू फ्याँक्दै हम्पब्याक ह्वेल माथि उक्लन्छ। यसरी यसले वेगले फ्याँकेको हावाका फोकाहरूको घेरा १.५ मिटरको मात्र भए तापनि त्यसले माछा पक्रने जालको जस्तै काम गर्छ। किनकि हम्पब्याक ह्वेलले फ्याँकेको यी हावाका फोकाहरू समुद्रको सतहतिर उक्लँदै जाँदा माछा अनि अरू साना जलप्राणीहरू ती फोकाभित्र अल्मलिन्छन्‌। त्यति भएपछि हम्पब्याक ह्वेललाई के चाहियो र! यसले आरामसित तिनीहरूलाई क्वाप्प निल्छ।

      दह्रो जीउ भएको यो १२ मिटर लामो ह्वेल माछा असाध्यै सानो घेरा बनाएर फनफनी घुम्न सकेको देखेर वैज्ञानिकहरू ताजुब मान्छन्‌। किनकि दह्रो अनि त्यसमाथि १२ मिटर लामो जीउ हुने प्राणीलाई घुम्न सानो होइन, ठूलै घेरा चाहिनुपर्ने हो। अरू जलप्राणीहरूले यसो गर्न नसक्नु तर हम्पब्याक ह्वेलले मात्र सक्नुको रहस्य यसको पखेटामा लुकेको रहेछ। किनकि यसको पखेटाको किनारा हवाईजहाजको पखेटाजस्तो चिप्लो अनि चिल्लो नभएर करौंतीको दाँतीजस्तो गिर्खा-गिर्खा परेको हुन्छ।

      यी गिर्खाहरूले हम्पब्याक ह्वेललाई मास्तिर उचाल्नुका साथै पानीलाई मख्खन काटे जस्तै काट्‌न मदत गर्दो रहेछ। कसरी? नेचुरल हिस्ट्री भन्‍ने विज्ञान पत्रिकाअनुसार यी गिर्खाहरूले गर्दा पखेटा माथि पानी एकनासले अनि चाँड-चाँडो घुम्न थाल्छ र त्यसले हम्पब्याकलाई मास्तिर तान्छ। यदि यी गिर्खा नहुँदा हुन्‌ त, पानी पखेटामाथि होइन कि पखेटाको पछिल्तिर घुम्छ र त्यसले मास्तिर तान्‍न मदत गर्दैन। फलस्वरूप सानो घेरा बनाएर उक्लन पनि सक्दैन।

      हम्पब्याकको यो क्षमता पत्ता लगाएर फाइदा छ त? फाइदा छ। यदि हवाईजहाजको पखेटा हम्पब्याक ह्वेलको जस्तै बनाउने हो भने हावाको वेगलाई नियन्त्रण गर्न कम यन्त्रहरू भए पुग्छ। यसबाहेक, हवाईजहाज सुरक्षित हुनुका साथै मर्मत सम्भार गर्न पनि त्यत्ति गाह्रो हुनेछैन। बायोमेकानिक विशेषज्ञ जोन लंगअनुसार निकट भविष्यमा “सम्भवतः हरेक जेट विमानको पखेटामा हम्पब्याक ह्वेलको जस्तै गिर्खाहरू हुनेछ।”

      सिगल चराको सिको

      हुन त, चराहरूको नकल गरेरै हवाईजहाजको पखेटा बनाइएका हुन्‌। तथापि, अहिले आएर इन्जिनियरहरूले अझ बढी वा अझ राम्ररी चराहरूको सिको गर्न थालेका छन्‌। न्यु साइन्टिस्ट भन्‍ने विज्ञान पत्रिकाअनुसार “फ्लोरिडा विश्‍वविद्यालयका वैज्ञानिकहरूले सिगल भन्‍ने समुद्री चराजस्तै हावामा तैरन, तेज गतिले तल झर्न वा माथि उक्लन सक्ने रिमोट कन्ट्रोलले चल्ने फुच्चे हवाईजहाज बनाएका छन्‌।”

      सिगलले आफ्नो पखेटालाई कुम र कुहिनानेर खुम्चाएर हावामा गजबले कावा खान सक्छ। सिगलको यस्तो लचिलो पखेटाको सिको गर्दै बनाइएको माथि उल्लिखित “२४ इन्चको हवाईजहाजको मोडेलको पखेटालाई सानो मोटरले विभिन्‍न तरिकाले मोड्‌न सकिन्छ” भनी उक्‍त पत्रिका बताउँछ। सिगलको नकल गरेर बनाइएको यो फुच्चे हवाईजहाज गगनचुम्बी भवन माथि-माथि र बीच-बीचमा पल्टनबाजी खेल्न सक्छ। ठूलठूला सहरहरूमा रासायनिक वा जैविक हतियार खोज्न आफूले चाहेअनुसार चलाउन सकिने यस्तै हवाईजहाज बनाउन अमेरिकी वायुसेना आतुर छ।

      माउसुलीको सिको

      जमीनमा कुद्‌ने प्राणीले पनि वैज्ञानिकहरूलाई निकै कुरा सिकाउन सक्छ। जस्तै, भित्ता-भित्ता अनि छतमुनि समेत कुद्‌न सक्ने माउसुलीलाई लिनुहोस्‌। बाइबलका लेखकहरूले समेत यो प्राणीको प्रशंसा गरेका छन्‌। (हितोपदेश ३०:२८, NW) गुरुत्वाकर्षणको नियमलाई चुनौती दिन सक्ने यो प्राणीको क्षमताको रहस्य के होला?

      ऐनाजस्तो चिप्लो ठाउँमा समेत टाँसिएर हिंड्‌न सक्ने यसको क्षमताको रहस्य पैतालामुनिका अति सूक्ष्म रौंहरू हुन्‌, जसलाई सिटी भनिन्छ। तर माउसुलीको पैतालाले भित्तामा हिंड्‌न गम निकाल्दैन। भान डर वाल्स भन्‍ने अति सूक्ष्म शक्‍तिले गर्दा दुई वटा सतहका अणुहरू एकआपसमा टाँसिन सक्छन्‌ भनेर विज्ञानले पत्ता लगाएको छ। हो, माउसुली यही शक्‍तिले गर्दा भित्तामा हिंड्‌न सक्छ। सामान्यतया भान डर वाल्स शक्‍तिभन्दा गुरुत्वाकर्षणको शक्‍ति बढी हुन्छ। त्यसैले त हामी भित्तामा हत्केला टँसाएर चढ्‌न सक्दैनौं नि! तर माउसुलीको कुरा अर्कै छ। यसको पैतालामुनिका अति मसिना सिटीहरूले गर्दा भित्ताको सतहमा यसको पैताला चिप्प परेर टाँसिन्छ। यसरी टाँसिएको यसको पैतालामुनिका हजारौं रौंहरूमा भान डर वाल्स शक्‍ति फैलँदा माउसुली आफ्नो हलुको भारलाई थामेर छतमुनि समेत उँधो मुन्टो लाएर बस्न सक्छ।

      माउसुलीको यो क्षमता पत्ता लगाएर हामीलाई के फाइदा हुन सक्छ त? माउसुलीको पैतालाको नकल गरेर बनाइएको कृत्रिम वस्तुलाई भेल्क्रोको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ।a एक जना वैज्ञानिकलाई उद्धरण गर्दै दि इकोनोमिस्ट पत्रिकाले “माउसुली टेप” अर्थात्‌ माउसुलीको सिटीजस्तै कृत्रिम टेपलाई “विभिन्‍न उपचारको बेला रासायनिक गम लगाउन नमिल्ने अवस्था आएमा” प्रयोग गर्न सकिन्छ भनेका छन्‌।

      प्रशंसाको वास्तविक हकदार को?

      नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसले (नासा) बिच्छी जस्तै हिंड्‌न सक्ने आठ खुट्टे रोबट बनाउँदैछ भने फिनल्याण्डका इन्जिनियरहरूले ठूलो कीराजस्तै हिंड्‌ने अनि जस्तोसुकै ठाउँमा चढ्‌न सक्ने छ खुट्टे ट्र्याक्टर बनाइसकेका छन्‌। चिसो हुँदा बन्द हुने र सुख्खा हुँदा खुल्ने सल्लाको फलको नकल गरेर केही वैज्ञानिकहरूले नयाँ कपडा तयार पारिसकेका छन्‌, जसले मौसमअनुसार शरीरलाई न्यानो वा शीतल बनाउन सक्छ। त्यस्तै गरी मोटरगाडी बनाउने एउटा कारखानाले बक्सफिश भन्‍ने माछाको चिप्लो शरीरलाई हेरेर मोटरगाडी बनाउँदैछ। अरू केही वैज्ञानिकहरूले चाहिं हल्का, मजबुत अनि गोलीले नछेड्‌ने किसिमको कवच तयार पार्ने उद्देश्‍यले ढुंगामा टाँसिएर बस्ने एक किसिमको शंखेकीराको अध्ययन गर्दैछन्‌।

      प्रकृतिलाई हेरेर थुप्रै नयाँ-नयाँ उपायहरू सिक्न सकिने भएकोले वैज्ञानिकहरूले हजारौं प्राणीहरूको जानकारी संकलन गरेका छन्‌। दि इकोनोमिस्ट पत्रिकाअनुसार कुनै नयाँ उत्पादनको डिजाइन गर्दा देखा पर्ने “विभिन्‍न समस्याको प्राकृतिक समाधान” खोज्न वैज्ञानिकहरूले यही जानकारी केलाउन सक्छन्‌। यसरी विभिन्‍न प्राणीहरूको जानकारीको सँगालोलाई वैज्ञानिकहरूले “जैविक प्रतिलिपि अधिकार” भन्‍ने नाउँ दिएका छन्‌। सामान्यतया, प्रतिलिपि अधिकार भन्‍नाले कुनै कम्पनी वा व्यक्‍तिविशेषले आविष्कार गरेको यन्त्र वा उपाय अरूले नकल गर्न नपाऊन्‌ भनेर त्यसलाई दर्ता गर्ने प्रबन्ध हो। दि इकोनोमिस्ट पत्रिकाअनुसार “प्राकृतिक कुराहरूको अध्ययनबाट नकल गर्न सकिने डिजाइन वा उपायहरूलाई ‘जैविक प्रतिलिपि अधिकार’ नाउँ दिएर वैज्ञानिकहरूले आफूले नकल गरेको डिजाइन वा उपायको वास्तविक अधिकार प्रकृति स्वयम्‌सित छ भनेर जोड दिंदैछन्‌।”

      प्रकृतिले यति उत्तम उपाय तथा डिजाइन तयार पार्न कहाँबाट सिक्यो? थुप्रै वैज्ञानिकहरू क्रमविकास हुँदै जाँदा प्रकृति आफैले वर्षौंको दौडान विभिन्‍न गल्ती सुधार्दै सिकेको हो भन्छन्‌। तर अरू वैज्ञानिकहरूको विचार फरक छ। उदाहरणका लागि, सन्‌ २००५ मा माइक्रोबायोलोजिस्ट माइकल बिहीले न्यु योर्क टाइम्स-मा यस्तो लेखेका थिए: “प्रकृतिका विभिन्‍न डिजाइनहरूलाई विचार गर्दा एउटा चित्तबुझ्दो तर्कसित सहमत नभई रहन सकिन्‍न, त्यो हो: हाँसजस्तै देखिने, हाँसजस्तै हिंड्‌ने, हाँसजस्तै कराउने प्राणी, हाँस होइन भनेर प्रमाण दिन मिल्ने ठाउँ छैन भने त्यो हाँस नै हो भनेर मानि लिनुपर्छ।” उसोभए तिनको निष्कर्ष के त? “प्रकृतिको डिजाइनले के भन्‍न खोज्दैछ, सुन्‍नुहोस्‌।”

      सुरक्षित अनि कम इन्धनले चल्न सक्ने हवाईजहाज बनाउने इन्जिनियरले पक्कै पनि त्यसको श्रेय लिन चाहन्छ। त्यसै गरी बहुउपयोगी ब्यान्डेज वा आरामदायी कपडा वा सुविधासम्पन्‍न अत्याधुनिक मोटरगाडीको आविष्कार गर्ने व्यक्‍तिले आफूलाई आफ्नो डिजाइनको हकदार सम्झन्छ। वास्तवमा भन्‍ने हो भने, अरूको डिजाइन वा आविष्कारको नकल गर्ने तर त्यसको मूल डिजाइनरलाई चाहिं श्रेय नदिने व्यक्‍तिलाई अपराधी मान्‍न पनि सकिन्छ।

      उसोभए विभिन्‍न प्राणीहरूको हुबहु नकल गरेर नयाँ-नयाँ आविष्कार गर्ने ठूलठूला इन्जिनियरहरूले आफूले सिको गरेको डिजाइन वा उपायको श्रेय बुद्धिविहीन क्रमविकासलाई दिनु तपाईंलाई कत्तिको ठीक लाग्छ? प्रकृतिको नकल गरेर आविष्कार गर्न कुनै चानचुने मान्छे होइन, तर निकै ठूलो विद्धान्‌ चाहिन्छ भनेर तपाईं मानिलिनुहुन्छ भने प्रकृति स्वयम्‌को डिजाइन गर्ने पनि कोही हुनुपर्छ भनेर स्वीकार्नुपर्ने होइन र? विद्यार्थीले आफ्नो गुरुको हुबहु नकल गर्दै चित्र कोर्छ भने तपाईं कसलाई बढ्‌ता श्रेय दिनुहुन्छ? विद्यार्थीलाई वा उसको गुरुलाई?

      तार्किक निष्कर्ष

      प्रकृतिमा देखिने विभिन्‍न डिजाइनहरूलाई नियालेर हेरेपछि थुप्रै विचारशील मानिसहरू भजन रचयिताजस्तै यो निष्कर्षमा पुगेका छन्‌: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” (भजन १०४:२४) बाइबलको अर्को लेखक पावल पनि त्यस्तै निष्कर्षमा पुगेका थिए। तिनले यस्तो लेखे: “[परमेश्‍वरको] अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ।”—रोमी १:१९, २०.

      तथापि, बाइबलको आदर गर्ने अनि परमेश्‍वरमाथि विश्‍वास राख्ने थुप्रै निष्कपट व्यक्‍तिहरूले अर्कै निष्कर्ष निकालेका छन्‌। त्यो हो, सृष्टि गर्दा परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको पनि हुनसक्छ नि। के बाइबलले यस्तै सिकाउँछ? (g 9/06)

      [फुटनोट]

      a भेल्क्रो पनि कुरोको बोटको नकल गरेर बनाइएको वस्तु हो। भेल्क्रो लुगा, झोला इत्यादिमा चलाइने जिप्परको साटो प्रयोग गरिने अर्को साधन हो।

      [पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

      प्रकृतिले यति उत्तम उपाय कहाँबाट सिक्यो?

      [पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

      प्रकृतिको प्रतिलिपि अधिकार कोसित छ?

      [पृष्ठ ७-मा भएको पेटी/चित्र]

      कुनै कुराको नकल गर्न बुद्धिमान्‌ रचनाकार चाहिन्छ भने त्यसको मौलिक रूप बनाउन के कुनै रचनाकार हुनु आवश्‍यक छैन र?

      माउसुलीको पैतालामा न त फोहोर टाँसिन्छ, न त्यसले गम नै निकाल्छ। टेफलोन भन्‍ने कृत्रिम रेजिनबाहेक सबै ठाउँमा त्यो सजिलै हिंड्‌न सक्छ। वैज्ञानिकहरू त्यसको नकल गर्ने कोसिस गर्दैछन्‌

      जतासुकै सजिलै उडाउन मिल्ने यो हवाईजहाजको पखेटा, सिगल चराको पखेटाको नकल हो

      बक्सफिश भन्‍ने माछाको अत्यन्तै कम घर्षण हुने डिजाइनको नकल गरेर तयार पारिएको गाडीको नमुना

      [स्रोत]

      Airplane: Kristen Bartlett/ University of Florida; gecko foot: Breck P. Kent; box fish and car: Mercedes-Benz USA

      [पृष्ठ ८-मा भएको पेटी/चित्र]

      बुद्धिमान्‌ प्राणी

      थुप्रै प्राणीहरू आ-आफ्नो वासस्थान वरपर यताउता ओहोरदोहोर गरेको देख्दा उनीहरू कत्तिको ‘बुद्धिमान्‌’ हुँदा रहेछन्‌ भनेर देख्ने मौका पाइन्छ। (हितोपदेश ३०:२४, २५) निम्न दुई उदाहरण विचार गर्नुहोस्‌।

      ◼ कमिलाको ट्राफिक नियन्त्रण: खानेकुरा खोज्न निस्केको कमिलाको ताँतीले कसरी आफ्नो गुँड फेला पार्छ? बेलाइतका अनुसन्धानकर्ताहरूअनुसार कमिलाले गन्ध छोड्‌नुको साथै सजिलै घर फर्कन मिल्ने बाटो बनाउन कुनै-कुनैले ज्यामितिको सहायता लिंदा रहेछन्‌। उदाहरणको लागि, न्यु साइन्टिस्ट भन्‍ने विज्ञान पत्रिकाअनुसार एउटा जातको कमिलाले (Monomorium pharaonis) “आफ्नो गुँडबाट ५० देखि ६० डिग्री कोणको छड्‌के बाटाहरू बनाउँछ।” कमिलाले बनाउने यो बाटोको विशेषता? आहार खोजेर गुँडमा फर्केको कमिलाको ताँती जब दोबाटोमा पुग्छ, एउटा अलि बढी छड्‌के परेको र अर्को कम छड्‌के परेको दुई वटा बाटो फेला पार्छ। कमिलाहरूले जहिले पनि कम छड्‌के परेको बाटो नै रोज्छन्‌, जसले सधैं सीधै गुँडसम्म पुऱ्‍याउँछ। माथि उल्लिखित लेख अझ के भन्छ भने, यसरी “छड्‌के परेको बाटोले गर्दा कमिलाहरूलाई आवतजावत गर्न सजिलो हुन्छ। कमिलाहरू दुई विपरीत दिशातर्फ हिंडिरहेका छन्‌ भने पनि घर फर्कंदा सधैं कम छड्‌के परेको बाटो रोज्ने भएकोले गलत दिशातर्फ हिंडेर शक्‍ति खेर जाने डर कहिल्यै हुँदैन।”

      ◼चराको कम्पास: मौसम अनुकूल होस्‌ वा प्रतिकूल, लामो यात्रामा निस्केका चराहरू बाटो बिराउँदैनन्‌। कसरी? किनकि अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार चराहरूले पृथ्वीको चुम्बकीय शक्‍ति महसुस गर्न सक्छन्‌। तथापि, पृथ्वीको “चुम्बकीय शक्‍ति ठाउँअनुसार फरक हुनुका साथै चुम्बकीय शक्‍ति सधैं विशुद्ध उत्तर दिशातर्फ फर्केको हुन्छ भन्‍ने छैन” भनेर साइन्स नामक विज्ञान पत्रिका बताउँछ। उसोभए चराहरूले कसरी ठीक बाटो पत्ता लगाउँछन्‌ त? चराहरूले हरेक साँझ घाम कहाँनेर डुब्छ त्यो हेरेर आफ्नो आन्तरिक कम्पासलाई मिलाउँछन्‌ जस्तो देखिन्छ। पृथ्वीको अक्षांश अनि मौसमअनुसार घाम डुब्ने ठाउँ फरक-फरक हुने गर्छ। तसर्थ, साइन्स पत्रिकाअनुसार यी चराहरू “क्यालेन्डरको काम गर्ने आफ्नो आन्तरिक घडीलाई” पनि मिलाउँदै गन्तव्य स्थानतिर अगाडि बढ्‌छन्‌ भन्‍ने अनुसन्धानकर्ताहरूको अनुमान छ।

      कसले कमिलालाई ज्यामितिको ज्ञान दियो? चरालाई कसले कम्पास, आन्तरिक घडी र यी दुवै क्षमताको प्रयोग गरेर बाटो पत्ता लगाउने बुद्धि दियो? बुद्धिविहीन क्रमविकासले? वा कुनै बुद्धिमान्‌ सृष्टिकर्ताले?

      [स्रोत]

      © E.J.H. Robinson 2004

  • सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?

      “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”—प्रकाश ४:११.

      चार्ल्स डार्विनले क्रमविकासको सिद्धान्तलाई प्रख्यात बनाएको केही समयपछि नै थुप्रै कथित इसाई धर्मावलम्बीहरूले परमेश्‍वरप्रतिको विश्‍वास नत्यागीकनै यस सिद्धान्तलाई अँगाल्ने उपाय खोज्न थाले।

      सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको हुनुपर्छ भन्‍ने कुरा आजका अधिकांश “इसाई” समूहहरूलाई आपत्तिजनक लाग्दैन जस्तो देखिन्छ। परमेश्‍वरले ब्रह्‍माण्डको रचना गर्नुहुँदा नै निर्जीव रसायनहरूबाट जीवहरू देखा पर्ने अनि अन्तमा गएर मानिसको उत्पत्ति हुने किसिमले रच्नुभएको थियो भनेर कोही-कोही सिकाउँछन्‌। आस्तिक क्रमविकास भनेर चिनिने यस सिद्धान्तमा विश्‍वास गर्नेहरूका अनुसार सुरुमा एक पटक परमेश्‍वरले यो प्रक्रिया थाल्नुभएपछि बाँकी कुरा आफसेआफ विकास हुँदै आयो, परमेश्‍वरको कुनै हस्तक्षेप आवश्‍यक परेन। अनि अरू कतिपयको सोचाइमा चाहिं प्रायजसो बोटबिरुवा र जनावरहरू क्रमविकासद्वारा उत्पत्ति भएका थिए तर बीच-बीचमा परमेश्‍वरको पनि भूमिका थियो।

      क्रमविकास र बाइबलको शिक्षा मेल खान्छ?

      क्रमविकासको सिद्धान्त बाइबल शिक्षासित साँच्चै मेल खान्छ त? क्रमविकासको सिद्धान्त यदि सत्य हो भने प्रथम मानव आदमको सृष्टिबारे बाइबलमा दिइएको विवरण तथ्य घटना नभई मानिसहरूलाई नैतिकताको पाठ सिकाउन रचिएको एउटा नीतिकथा मात्र हुनेछ। (उत्पत्ति १:२६, २७; २:१८-२४) बाइबल विवरणलाई के येशूले पनि नीतिकथा मात्र ठान्‍नुहुन्थ्यो? येशूले भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्‍नुभयो, यही कारण मानिसले आफ्ना आमाबाबुलाई छोडेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ, र ती दुई जना एक शरीर हुनेछन्‌। र ती अब दुई होइन, तर एउटै शरीर हुन्छन्‌। यसकारण जसलाई परमेश्‍वरले एक साथ जोडनुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।”—मत्ती १९:४-६.

      यति बेला येशूले उत्पत्तिको दोस्रो अध्यायमा वर्णन गरिएको सृष्टिको विवरण उद्धृत गर्दै हुनुहुन्थ्यो। यदि येशूले पहिलो विवाहलाई एउटा काल्पनिक कथा ठान्‍नुहुन्थ्यो भने विवाहको पवित्रताबारे आफ्नो शिक्षालाई समर्थन गर्न के उहाँले यस्तो काल्पनिक कथाको सहारा लिनुहुन्थ्यो होला र? पक्कै लिनुहुन्थेन। येशूले उत्पत्तिको पुस्तकको विवरण चलाउनुको मतलब यो एउटा सत्य इतिहास हो भनेर उहाँलाई थाह थियो।—यूहन्‍ना १७:१७.

      त्यसै गरी येशूका चेलाहरूले पनि सृष्टिबारे उत्पत्तिको पुस्तकमा दिइएको विवरणमा विश्‍वास गर्थे। उदाहरणका लागि, लूकाले लेखेको सुसमाचारको पुस्तकमा येशूको पुर्ख्यौली बताउँदै जाँदा प्रथम मानव आदमसम्म बताइएको छ। (लूका ३:२३-३८) यदि आदम एउटा काल्पनिक पात्र हो भने येशूको पुर्ख्यौलीमा कहाँदेखि चाहिं काल्पनिक पात्रले प्रवेश पाएको होला त? यदि यो पुर्ख्यौली विवरण दन्त्यकथा मात्र हो भने आफू दाऊदको वंशमा जन्मिएको मसीह हुँ भनी येशूले गर्नुभएको दाबीमाथि विश्‍वास गर्ने आधार के त? (मत्ती १:१) सुसमाचारको पुस्तकका लेखक लूकाले भने, ‘पहिलेदेखि नै सबै कुरा मैले ठीक-ठीक बुझेको छु।’ कुरा स्पष्ट छ, उत्पत्तिको पुस्तकमा बताइएको सृष्टिको विवरणमा तिनी विश्‍वास गर्थे।—लूका १:३.

      उत्पत्तिको विवरणमा विश्‍वास भएकैले प्रेरित पावलले पनि येशूमाथि विश्‍वास गर्न सके। तिनले यस्तो लेखे: “मृत्यु एक जना मानिसबाट भएको हुनाले मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसबाट भयो। किनकि जसरी आदममा सबै मर्दछन्‌, त्यसरीनै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्‌।” (१ कोरिन्थी १५:२१, २२) यदि आदम सबै मान्छेको पुर्खा थिएन र ऊद्वारा नै “पाप संसारमा प्रवेश” भएको होइन भने वंशानुगत पापको असर मेटाउन येशू किन मर्नुपर्थ्यो र?—रोमी ५:१२; ६:२३.

      उत्पत्तिको पुस्तकमा दिइएको सृष्टिको विवरणमाथि शंका गर्नु भनेको मसीही विश्‍वासको जगमाथि नै शंका गर्नु हो। क्रमविकासको सिद्धान्त र मसीही शिक्षा एकअर्काका विपरीत ध्रुवहरू हुन्‌। यी दुईबीच मेल गराउन खोज्यौं भने आफ्नै विश्‍वास कमजोर हुन्छ र “सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” व्यक्‍ति हुन्छौं।—एफिसी ४:१४.

      बलियो जगमा आधारित विश्‍वास

      शताब्दीयौंको दौडान बाइबलले थुप्रै आलोचना र आक्रमण खपेको छ। अनि यस्ता आक्रमणहरू आइपर्दा बाइबलको सत्यता बारम्बार पुष्टि भएको छ। इतिहास, स्वास्थ्य र विज्ञानबारे बाइबलले बताएका कुराहरू भरपर्दा छन्‌ भनेर पटक-पटक साबित भएको छ। मानिसहरूबीचको सम्बन्धबारे बाइबलले दिएको सल्लाह सधैं नै उत्तिकै भरोसायोग्य छ। मानव दर्शन र सिद्धान्तहरू केही समय पलाएर ओइलाइहाल्ने हरियो घाँसजस्तै हुन्‌। तर परमेश्‍वरको वचन “सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८.

      क्रमविकासको शिक्षा वैज्ञानिक सिद्धान्त मात्र नभएर दशकौंको दौडान विभिन्‍न किसिमका थपघट हुँदै अहिलेको अवस्थासम्म आइपुगेको मानव दर्शन पनि हो। डार्विनले दिएको क्रमविकासको सिद्धान्त आफै पनि हालैका वर्षहरूमा विकास हुने क्रममा छ। प्रकृतिमा देखिने रचनाको चित्तबुझ्दो जवाफ दिन यस सिद्धान्तमा आमूल परिवर्तन आएको छ। यसबारे अझ बढी केलाएर हेर्न हामी तपाईंलाई आग्रह गर्छौं। यस अंकका अरू लेखहरू पढेर तपाईंले यसबारे थाह पाउन सक्नुहुनेछ। साथै, यस पृष्ठमा र पृष्ठ ३२ मा देखाइएका पुस्तक-पुस्तिकाहरू पनि पढ्‌न सक्नुहुन्छ।

      हामीलाई आशा छ, यस विषयमा अनुसन्धान गर्नुभएपछि बाइबलले बताएका कुराहरूमा तपाईंको भरोसा अझ बढेको महसुस गर्नुहुनेछ। योभन्दा पनि महत्त्वपूर्ण कुरा त भविष्यको लागि बाइबलले गरेको प्रतिज्ञामा तपाईंको विश्‍वास अझ मजबुत हुनेछ। (हिब्रू ११:१) सायद तपाईं यहोवाको प्रशंसा गर्न समेत उत्प्रेरित हुनुहोला, “जसले स्वर्ग र पृथ्वी सृजनुभयो।”—भजन १४६:६. (g 9/06)

      यी पनि पढ्‌ने कि?

      सबैका लागि उपयोगी किताब बाइबल सत्य हो भन्‍ने केही उदाहरणहरू यस पुस्तिकामा छलफल गरिएको छ

      Is There a Creator Who Cares About You? थप वैज्ञानिक प्रमाणहरू केलाउनुहोस्‌। एक जना मायालु परमेश्‍वर हुनुहुन्छ भने उहाँले किन दुःखकष्ट रहिरहन दिनुभएको छ, थाह पाउनुहोस्‌

      बाइबलले वास्तवमा के सिकाउँछ? पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो? भन्‍ने प्रश्‍नको जवाफ यस पुस्तकको अध्याय ३ मा पाइन्छ

      [पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

      सृष्टिबारे उत्पत्तिको पुस्तकमा दिइएको विवरणमा येशू विश्‍वास गर्नुहुन्थ्यो। के उहाँ भ्रममा हुनुहुन्थ्यो?

      [पृष्ठ ९-मा भएको पेटी]

      के हो क्रमविकास?

      एउटा परिभाषाअनुसार “क्रमविकास” भनेको “एक क्रमले निरन्तर परिवर्तन भइरहनु” हो। तथापि, यस शब्दको अरू परिभाषाहरू पनि छन्‌। जस्तै, निर्जीव वस्तुमा ठूलठूला परिवर्तन भएर ब्रह्‍माण्ड बन्‍नु। यसबाहेक, जीवित प्राणीहरूमा हुने साना परिवर्तनहरूलाई बुझाउन वा अर्को शब्दमा भन्‍नुपर्दा बोटबिरुवा तथा प्राणीहरू कसरी वरपरको वातावरणसित घुलमिल हुँदै जान्छन्‌ भन्‍ने कुराको व्याख्या गर्न पनि क्रमविकास शब्दको प्रयोग गरिन्छ। तथापि, यस शब्दको सबैभन्दा धेरै प्रयोग भने निर्जीव रासायनिक पदार्थबाट एउटा कोषको उत्पत्ति भयो अनि त्यो कोष बिस्तारै विकास हुँदै जटिल प्राणीहरूमा परिवर्तन हुँदै गयो र अन्तमा सबैभन्दा बुद्धिमान्‌ प्राणी, मान्छे बन्यो भन्‍ने सिद्धान्तको व्याख्या गर्न चलाइन्छ। यस लेखमा यो तेस्रो अर्थलाई ध्यानमा राखेर “क्रमविकास” भन्‍ने शब्द प्रयोग गरिएको छ।

      [पृष्ठ १०-मा भएको चित्रको स्रोत]

      Space photo: J. Hester and P. Scowen (AZ State Univ.), NASA

  • बायोकेमिस्टसितको कुराकानी
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • बायोकेमिस्टसितको कुराकानी

      हाल अमेरिकाको पेन्सिलभेनियास्थित लिहाइ युनिभर्सिटीमा बायोकेमिस्ट्री विषय प्राध्यापन गराइरहेका माइकल जे. बिहीले सन्‌ १९९६ मा डार्विन्स्‌ ब्ल्याक बक्स्‌—द बायोकेमिकल च्यालेन्ज टु इभुलुसन पुस्तक निकालेका थिए। मे ८, १९९७ अंकको ब्यूँझनुहोस्‌! (अंग्रेजी) पत्रिकाको “हामी यहाँ कसरी आयौं?—संयोगवश वा रचनाद्वारा?” भन्‍ने शृंखलाबद्ध लेखमा उनको त्यस पुस्तकबारे चर्चा गरिएको थियो। अहिले डार्विन्स्‌ ब्ल्याक बक्स प्रकाशित भएको एक दशक बितिसकेको छ र क्रमविकासमा विश्‍वास गर्ने वैज्ञानिकहरू यस पुस्तकमा बिहीले पेस गरेका तर्कहरूको खण्डन गर्न लागिपरेका छन्‌। बिही रोमन क्याथोलिक हुन्‌। त्यसैले उनका आलोचकहरू उनको वैज्ञानिक चिनारीलाई उनको धार्मिक आस्थाले ओझेलमा पारेको छ भन्‍ने आरोप लगाउँछन्‌। कतिपय भने उनका तर्कहरू अवैज्ञानिक छन्‌ भनेर दाबी गर्छन्‌। यसै मेसोमा ब्यूँझनुहोस्‌!-ले प्राध्यापक बिहीसित उनको विचारधाराले यत्तिका वादविवाद पैदा गर्नुको कारणबारे कुराकानी गरेको थियो।

      ब्यूँझनुहोस्‌!: प्राणी तथा वनस्पतिले एक जना बुद्धिमान्‌ रचनाकार हुनुपर्छ भन्‍ने प्रमाण दिन्छ भनेर तपाईं किन सोच्नुहुन्छ?

      प्राध्यापक बिही: कुनै पनि कुराको विभिन्‍न भागहरू मिलेर जटिल कार्यहरू गरेको देख्दा हामी यसको रचना गरिएको थियो भन्‍ने निष्कर्षमा पुग्छौं। उदाहरणका लागि, हामीले दिनदिनै प्रयोग गर्ने घाँस काट्‌ने मेसिन, कार वा त्योभन्दा पनि साधारण कुरालाई नै लिनुहोस्‌। सबैभन्दा राम्रो त मुसौरोलाई नै विचार गरे पनि पुग्छ। मुसा समात्न सक्ने गरी यसका विभिन्‍न भागहरू टाकटुक्क मिलाइएकोले रचनाकारविना यो सम्भव छैन भन्‍ने निष्कर्षमा तपाईं पुग्नुहुन्छ।

      प्राणीलाई जीवित राख्न जीवजन्तुहरूको सानोभन्दा सानो अंगले पनि के कसरी काम गर्छ भनेर बुझ्न विज्ञान सक्षम भइसकेको छ। अचम्म लाग्दो कुरा, यी साना अंगहरूले जटिल मेसिनहरूले जस्तै काम गर्छन्‌ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। उदाहरणका लागि, जीवित कोषहरूमा एक छेउबाट अर्को छेउमा पोषण तत्त्व ओसारपसार गर्ने “ट्रकहरू” जस्तै संयन्त्र हुन्छ। यी “ट्रकहरू” दायाँ वा बायाँ कता लाग्ने भनेर निर्देशन दिने ससाना “संकेत चिह्नहरू” पनि कोषभित्रै हुन्छन्‌। कुनै-कुनै कोषहरूमा त “मोटरबोटको पछाडि हुनेजस्तै इन्जिन” पनि हुन्छ, जसले कोषलाई तरल पदार्थमा अगाडि बढ्‌न मदत गर्छ। एकआपसमा मिलेर काम गर्ने यस्तो जटिल संरचना देख्दा जो कोही पनि यी सबै रचना भएका हुन्‌ भन्‍ने निष्कर्षमा पुग्छ। डार्विनको सिद्धान्तले जेसुकै बताए तापनि यस्तो जटिलता देखेपछि रचनाकारको अस्तित्व स्वीकार्नुबाहेक हामीसित अरू कुनै विकल्प छैन। यस्ता कुराहरूले रचनाको प्रमाण दिन्छ भनी हामीले अनुभव गरिआएको कुरा हो। त्यसैले यी रचनाहरूको पछाडि एक जना बुद्धिमान्‌ रचनाकारको हात छ भनेर सोच्नु कुनै गलत कुरा होइन।

      ब्यूँझनुहोस्‌!: तपाईंको विचारमा अधिकांश वैज्ञानिकहरू बुद्धिमान्‌ रचनाकारबारे तपाईंको निष्कर्षसित असहमत हुनुको कारण के होला?

      प्राध्यापक बिही: बुद्धिमान्‌ रचनाकारको धारणा विज्ञानले व्याख्या गर्न सक्दैन र यो प्रकृतिभन्दा बाहिरको कुरा हो जस्तो लागेकोले थुप्रै वैज्ञानिकहरू मेरो निष्कर्षसित सहमत छैनन्‌। मेरो जस्तो निष्कर्षमा पुग्न उनीहरू डराउँछन्‌। तथापि, मैले सिकेको कुरा यही हो—प्रमाणले जे देखाउँछ, विज्ञानले त्यो पत्याउनै पर्छ। मेरो विचारमा रचनाकारको अस्तित्वको स्वीकारोक्‍ति सँग-सँगै आइपर्ने नैतिक जिम्मेवारीदेखि पन्छिनकै लागि सुस्पष्ट प्रमाणलाई बेवास्ता गर्नु डरछेरूवापन बाहेक अरू केही होइन।

      ब्यूँझनुहोस्‌!: बुद्धिमान्‌ रचनाकार हुनुहुन्छ भन्‍ने धारणा स्वीकार्नु अज्ञानता हो भन्‍ने विचारधारा राख्ने आलोचकहरूलाई तपाईं के भन्‍न चाहनुहुन्छ?

      प्राध्यापक बिही: प्रकृतिमा रचनाकारको प्रमाण देख्न सकिन्छ भन्‍ने निष्कर्षमा पुग्नु अज्ञानता होइन। हामीलाई थाह नभएको कुराको आधारमा होइन तर थाह भएको कुराको आधारमा यस्तो निष्कर्षमा पुगेका हौं। डार्विनले १५० वर्षअघि दि ओरिजि अफ स्पिसिज भन्‍ने पुस्तक निकाल्दा जीवको उत्पत्ति र जीवित रहने प्रक्रियालाई एकदमै सरल ठानिन्थ्यो। वैज्ञानिकहरू कोषलाई यति साधारण ठान्थे, यो समुद्री हिलोमा आफसेआफ उत्पत्ति हुन सक्छ भन्‍ने विश्‍वास गरिन्थ्यो। तर कोष कति जटिल हुँदोरहेछ भन्‍ने विषयमा त्यस बेलादेखि यता विज्ञानले थुप्रै कुरा थाह पाइसकेको छ। साँच्चै भन्‍ने हो भने २१ औं शताब्दीमा हामीसित भएको कुनै पनि मेसिन कोषको तुलनामा आउन सक्दैन। यस्तो जटिल कार्यले उद्देश्‍यसहितको रचनाको प्रमाण दिन्छ।

      ब्यूँझनुहोस्‌!: तपाईंले भर्खरै बताउनुभएको कोषको जटिल कार्य प्राकृतिक छनौटको माध्यमद्वारा क्रमविकासकै उपज हो भनेर विज्ञानले कुनै प्रमाण दिएको छ कि?

      प्राध्यापक बिही: जतिसुकै खोज्नुहोस्‌, तपाईंले एउटा पनि यस्तो विज्ञानका लेखहरू भेट्‌नुहुनेछैन जुन लेखमा डार्विनले बताएझैं कोषहरूमा कसरी परिवर्तन हुन्छ भनेर गहिरो अध्ययन अनुसन्धान गरिएको होस्‌। दस वर्षअघि मेरो पुस्तक प्रकाशित भएदेखि यता नेसनल एकेडेमी अफ साइन्सेज र अमेरिकन एसोसिएसन फर दि एडभान्सभेन्ट अफ साइन्स लगायत थुप्रै वैज्ञानिक संगठनहरू जीवित प्राणीहरूले बुद्धिमान्‌ रचनाकारको प्रमाण दिन्छ भन्‍ने धारणाको विपक्षमा सक्दो वकालत गर्न आफ्ना सदस्यहरूलाई अपील गर्दैछन्‌। तर अहिलेसम्म एउटै चित्तबुझ्दो खण्डन प्रकाशित गर्न सकेका छैनन्‌।

      ब्यूँझनुहोस्‌!: वनस्पति वा जन्तुको कुनै-कुनै अंग राम्ररी रचना गरिएको छैन भनेर दाबी गर्नेहरूलाई तपाईं के भन्‍नुहुन्छ?

      प्राध्यापक बिही: जीवजन्तुको कुनै अंगको काम के हो भनेर हामीलाई थाह छैन भन्दैमा यसको आवश्‍यकतै छैन भन्‍न मिल्दैन। उदाहरणको लागि, कुनै समय अवशेषाङ्‌ग (प्रयोजनविहीन देखिने) मानिएका अंगहरूलाई देखाएर मानव शरीर वा अरू जीवजन्तुहरू राम्ररी रचना गरिएको छैन भनिन्थ्यो। जस्तै, पहिले-पहिले एपिन्डिक्स र किलकिलेलाई अवशेषाङ्‌ग ठानी अप्रेसन गरेर हटाइन्थ्यो। तर यी अंगहरूले रोग प्रतिरोधात्मक क्षमतामा महत्त्वपूर्ण भूमिका खेल्दारहेछन्‌ भनेर पछि मात्र थाह लाग्यो। अहिले यी अंगहरूलाई अवशेषाङ्‌ग मानिंदैन।

      अनि अर्को कुरा जीवविज्ञानमा कुनै-कुनै कुरा अकस्मात्‌ हुन सक्छ। तर यसो भयो भन्दैमा राम्ररी रचना नगरिएको कारण यस्तो भएको हो भन्‍न मिल्दैन। उदाहरणको लागि, मेरो कार कुच्चियो वा टायर पन्चर भयो भन्दैमा कार वा टायर कसैले रचना नगरी आफसेआफ आयो भन्‍न मिल्दैन। त्यसै गरी, जीव विज्ञानमा पनि कुनै कुरा अकस्मात्‌ हुनुको मतलब जीवन धान्‍ने जटिल प्रक्रिया कसैले रचना नगरी आफसेआफ आयो भन्‍न मिल्दैन। यसो भन्‍नु चित्तबुझ्दो कुरै होइन। (g 9/06)

      [पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “मेरो विचारमा रचनाकारको अस्तित्वको स्वीकारोक्‍ति सँग-सँगै आइपर्ने नैतिक जिम्मेवारीदेखि पन्छिनकै लागि सुस्पष्ट प्रमाणलाई बेवास्ता गर्नु डरछेरूवापन बाहेक अरू केही होइन”

  • के क्रमविकास तथ्य हो?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • के क्रमविकास तथ्य हो?

      “यदि तपाईं घाम तातो हुन्छ भनेर विश्‍वास गर्नुहुन्छ भने क्रमविकासमा पनि विश्‍वास गर्नुपर्छ।” यो हो, क्रमविकासका अग्रज वैज्ञानिक प्रोफेसर रीचर्ड डकिन्सको तर्क। हो, घाम तातो छ भनेर आफैले अनुभव गर्न र वैज्ञानिक परीक्षणद्वारा पनि प्रमाणित गर्न सकिन्छ। के क्रमविकासको शिक्षा पनि त्यसरी नै अवलोकन अनि परीक्षणबाट प्रमाणित भइसकेको छ त?

      यस प्रश्‍नको जवाफ दिनुअघि हामी एउटा कुरामा स्पष्ट हुन जरुरी छ। वर्षौंको दौडान वनस्पति तथा प्राणीहरूको सन्तान दरसन्तान जन्मँदै जाँदा केही हलका परिवर्तनहरू हुन सक्छ भनेर थुप्रै वैज्ञानिकहरूले टिप्पणी गरेका छन्‌। चार्ल्स डार्विनले यस्तो परिवर्तनलाई “क्रमिक परिवर्तनले गर्दा हुने विकास” भन्‍ने नाउँ दिएका थिए। हो, वनस्पति तथा पशुप्राणीहरूमा यस्ता हलका परिवर्तनहरू हुन्छन्‌ भनेर प्रत्यक्ष देखिएको छ, परीक्षण गरिएको छ र खेतीपाती वा पशुपालनमा लागेका कृषकहरूले त्यस्ता परिवर्तनहरूको लाभ उठाएर नयाँ नसल तयार पारेका पनि छन्‌।a यस्ता परिवर्तनहरूलाई तथ्यको रूपमा सहर्ष स्वीकार्न सकिन्छ। तथापि, वैज्ञानिकहरूले यस्ता साना परिवर्तनहरूलाई “सूक्ष्म क्रमविकास” (माइक्रोइभोलुसन) भन्‍ने नाउँ दिएका छन्‌। यो नाउँ दिएर वैज्ञानिकहरूले के प्रमाणित गर्न खोजेका हुन्‌, स्पष्ट छ। वैज्ञानिकहरू (सबैले देखेको) यस्ता सूक्ष्म परिवर्तनहरू नै ठूलो अनि बृहत्‌ (तर कसैले नदेखेको) परिवर्तनहरूको (माक्रोइभोलुसन) प्रमाण हो भनेर तर्क गर्छन्‌।

      तर डार्विनले यस्तो सामान्य परिवर्तनलाई आफ्नै ढंगमा अर्थ्याए। ओरिजिन अफ स्पिसिज नामक आफ्नो प्रख्यात किताबमा डार्विनले यस्तो लेखेका थिए: “म कुनै पनि जीवलाई बेग्लै वा विशिष्ट सम्झिन्‍नँ। किनकि सबै जीव, मुठीभर पुर्खाहरूबाट विकसित हुँदै बनेका प्राणीहरू मात्रै हुन्‌।” डार्विनको भनाइअनुसार वर्षौंको दौडान यी “मुठीभर पुर्खाहरू” अर्थात्‌ तथाकथित सरल जीवमा बिस्तारै “अत्यन्तै हलका परिवर्तनहरू” हुँदै गयो र कालान्तरमा लाखौं प्रकारका जीवजन्तु बन्यो। क्रमविकासमा विश्‍वास राख्नेहरू, सरल जीवमा भइरहने सूक्ष्म परिवर्तन एकमाथि अर्को थपिंदै जाँदा त्यसले अन्ततः ठूलो परिवर्तनलाई जन्मायो, र फलस्वरूप माछा पछि गएर उभयचर र उभयचर पछि गएर बाँदर अनि बाँदर पछि गएर मान्छे बन्यो भनेर सिकाउँछन्‌। सूक्ष्म परिवर्तनबाट अन्ततः ठूलो परिवर्तन देखा पर्नुलाई वैज्ञानिकहरू बृहत्‌ क्रमविकास (माक्रोइभोलुसन) भन्‍ने गर्छन्‌। थुप्रै मानिसहरूलाई वैज्ञानिकहरूको यो व्याख्या चित्त बुझ्छ। ‘कुनै एक स्पिसिजको (किसिम) जीवमा सूक्ष्म परिवर्तनहरू हुन सक्छन्‌ भने क्रमविकासले गर्दा लामो समयको दौडान त्यही जीवमा ठूलो परिवर्तन किन हुन सक्दैन र?’ भनेर उनीहरू तर्क गर्छन्‌।b

      माक्रोइभोलुसनको शिक्षा निम्न तीन वटा मुख्य पूर्वानुमानमा आधारित छ:

      १. नयाँ स्पिसिजको उत्पत्ति हुन उत्परिवर्तन (म्युटेसन) हुन आवश्‍यक छ।c

      २. प्राकृतिक छनौटले (नेचुरल सेलेक्सन) गर्दा नयाँ स्पिसिजको उत्पत्ति हुन्छ।

      ३. जीवावशेषले (फोसिल) वनस्पति तथा पशुप्राणीमा माक्रोइभोलुसन भएको हो भन्‍ने प्रमाण दिन्छ।

      के माक्रोइभोलुसनको चित्तबुझ्दा प्रमाणहरू फेला परिसक्यो त?

      के म्युटेसनले नयाँ स्पिसिज बनाउन सक्छ?

      कुनै पनि वनस्पति वा पशुप्राणीको शारीरिक बनौट तथा रूपरङ कस्तो हुने हो, आनुवंशिक अर्थात्‌ जेनेटिक कोडमा निहित निर्देशनहरूमा भर पर्छ। जेनेटिक कोड, हरेक कोषको न्युक्लियसभित्र हुने ब्लूप्रिन्ट हो।d जेनेटिक कोडको म्युटेसन भएमा अर्थात्‌ कुनै उद्देश्‍यविहीन परिवर्तन भएमा वनस्पति अनि पशुप्राणीका सन्तानमा हेरफेर आउन सक्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। यसलाई आधार मान्दै म्युटेसन जेनेटिक्स अध्ययनका पिता, नोबेल पुरस्कार विजेता हर्मन जे. मुलरले सन्‌ १९४६ मा यस्तो दाबी गरेका थिए: “पशुप्राणी तथा वनस्पतिमा थुप्रै दुर्लभ अनि मूलतः सूक्ष्म प्रकारका परिवर्तनहरू क्रमशः हुँदै जानसक्ने क्षमता निहित भएकोले नै वैज्ञानिकहरूले पशुप्राणी तथा वनस्पतिको कृत्रिम विकास गर्न सकेका हुन्‌। प्राकृतिक छनौटले गर्दा क्रमविकास हुन सक्नुको आधार पनि यही सूक्ष्म परिवर्तनहरू हुन्‌।”

      वास्तवमा, म्युटेसनले गर्दा नयाँ स्पिसिजका साथै वनस्पति तथा पशुप्राणीको पूर्णतया नयाँ जाति उत्पत्ति हुन सक्छ भन्‍ने दाबीमा माक्रोइभोलुसनको शिक्षा आधारित छ। के यस्तो दाबीलाई प्रमाणित गरेर पनि देखाउन सकिन्छ? गत १०० वर्ष भित्र जीनको अध्ययनबाट पत्ता लागेको केही कुरा ध्यान दिनुहोस्‌।

      संयोगवश हुने म्युटेसन प्रक्रियाद्वारा यदि प्राकृतिक छनौटले वनस्पतिको नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्छ भने वैज्ञानिकहरूले सुविधासम्पन्‍न प्रयोगशालामा कृत्रिम म्युटेसन गराएर अझ उन्‍नत प्रकारको जीव उत्पत्ति गर्न सक्नुपर्ने हो भनेर सन्‌ १९३० दशकको उत्तरार्धतिर वैज्ञानिकहरू निकै उत्साहित भएका थिए। जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रीसर्चका वैज्ञानिक भोल्फ एकहार्ड लोनिगले ब्यूँझनुहोस्‌! पत्रिकालाई दिएको अन्तरवार्ताअनुसार “जीवशास्त्री र त्यसमाथि पनि अझ विशेष गरी जीन विशेषज्ञ र प्रजनन विशेषज्ञहरू (ब्रिडर) यस्तो सम्भावनाले गर्दा निकै उल्लसित थिए।” तर यसरी उत्साहित हुनुको कारण? बोटबिरुवामा हुने जीनको म्युटेसनको अध्ययनमा २८ वर्ष बिताइसकेका लोनिगले यसो भने: “बोटबिरुवा तथा पशुप्राणीको प्रजनन गराउने पुरानो विधिलाई मिल्काएर नयाँ विधि अपनाउने समय सुरु भो भन्‍ने यी विशेषज्ञहरूको विचार थियो। वनस्पति तथा पशुप्राणीहरूमा उपयोगी म्युटेसन गराएर नयाँ अनि उन्‍नत जातको बोटबिरुवा तथा पशुप्राणी बनाउन सकिन्छ भन्‍ने उनीहरूको सोचाइ थियो।”e

      क्रमविकासमा नयाँ आयाम थप्ने भनेर अमेरिका, एसिया अनि युरोपका वैज्ञानिकहरूले ठूलठूलो बजेटका अनुसन्धानहरू सुरु गरे। अहिले ती अनुसन्धानहरू सुरु भएको ४० वर्ष भइसक्यो। उसोभए कस्तो परिणाम प्राप्त भयो त? पेटर फन जेन्गबुस भन्‍ने अनुसन्धानकर्ताअनुसार “पानी सरह खर्च गर्दासमेत विकिरणविधिबाट उपलब्धिमूलक जाति उत्पत्ति गर्ने कोसिस बालुवाको महल बनाउन खोजे सरह भयो।” लोनिगअनुसार “सन्‌ १९८० को दशक सुरु हुँदासम्ममा संसारभरिका वैज्ञानिकहरूको उत्साह अनि आशा धूलोमा मिलिसकेको थियो। पश्‍चिमी मुलुकहरूमा त म्युटेसन ब्रिडिङलाई छुट्टै अनुसन्धानको विषयको रूपमा लिन समेत छाडियो। म्युटेसनबाट जे-जस्ता ठिमाहा जाति उत्पत्ति भए ती सबैमा ‘नकारात्मक’ परिवर्तन मात्र पाइयो—म्युटेसनपछि धेरै त मरे भने बाँकी अरू माउभन्दा पनि कमजोर भएर निस्के।f

      तथापि, गत १०० वर्षभित्र म्युटेसनको अनुसन्धान गरेर संकलन गरिएका जानकारी अनि म्युटेसनद्वारा नयाँ ठिमाहा जाति निकाल्न विगत ७० वर्षमा गरिएका विभिन्‍न प्रयोगहरूबाट वैज्ञानिकहरूले धेरै कुरा सिक्न सकेका छन्‌। यी सबै जानकारी तथा प्रमाणहरूको अध्ययन गरेपछि लोनिगको भनाइ यस्तो छ: “म्युटेसनले [वनस्पति वा प्राणीहरूको] मौलिक किसिमलाई परिवर्तन गरेर पूर्णतया नयाँ किसिमको जीव उत्पन्‍न गर्न सक्दैन। यो निष्कर्ष २० औं शताब्दीमा भएका म्युटेसनको अध्ययन तथा प्रयोगद्वारा बटुलिएको सबै अनुभव अनि नतिजाहरूसित मेल खानुका साथै सम्भाव्यताको नियमसित पनि मेल खान्छ। तसर्थ, ल अफ रिकरेन्ट भेरिएसनको नियमलाई आधार मानेर भन्‍नुपर्दा वंशाणुगत रूपमा निर्धारित मौलिक स्पिसिजहरूको आफ्नै निश्‍चित सीमा हुन्छ र कुनै आकस्मिक म्युटेसनले त्यो सीमा तोड्‌न वा पार गर्न सक्दैन।

      अब विचार गर्नुहोस्‌, यत्ति धेरै ज्ञान अनि प्रशिक्षण पाइसकेका वैज्ञानिकहरूले त म्युटेसन गराएर आफूले चाहे बमोजिमको नयाँ स्पिसिज उत्पन्‍न गर्न सकेनन्‌ भने के कुनै बुद्धिविहीन प्रक्रियाले नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्ला त? म्युटेसनले मौलिक वनस्पति वा पशुप्राणीलाई परिवर्तन गरी नयाँ जीव बनाउन सक्दैन भनेर अनुसन्धानले देखाइसकेको अवस्थामा माक्रोइभोलुसनले गर्दा नयाँ जीवहरूको उत्पत्ति भएको हो भनेर स्वीकार्नु कत्तिको तार्किक होला?

      के प्राकृतिक छनौटले गर्दा नयाँ स्पिसिज देखा पर्न सक्छ?

      हावापानीसित घुलमिल हुनसक्ने जीव बाँचिरहन्छ, घुलमिल हुने नसक्ने जीव अन्ततः लोप भएर जान्छ भनेर डार्विन विश्‍वास गर्थे र तिनले यस्तो प्रक्रियालाई प्राकृतिक छनौट भन्‍ने नाउँ पनि दिए। नयाँ स्पिसिजको उत्पत्ति अनि वृद्धि हुँदै गएपछि जुन-जुन स्पिसिजको जीन, परिवर्तित नयाँ वातावरणसँगसँगै म्युटेसन हुँदै गयो प्राकृतिक छनौटले त्यसलाई मात्र छान्दै गयो भनेर आधुनिक क्रमविकासवादीहरू सिकाउँछन्‌। यसरी वातावरणसँगसँगै जीनको म्युटेसन हुने जीवहरू कालान्तरमा नयाँ जीवहरूमा परिवर्तन भए भनेर क्रमविकासवादीहरू अनुमान लगाउँछन्‌।

      म्युटेसनले गर्दा नयाँ जातको वनस्पति वा प्राणीको उत्पत्ति हुन सक्दैन भन्‍ने बलियो संकेत विभिन्‍न अनुसन्धानबाट प्राप्त भइसक्यो भनेर हामीले माथि नै बुझिसक्यौं। उसोभए प्राकृतिक छनौटले म्युटेसन गराएर नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्छ भन्‍ने के प्रमाण क्रमविकासवादीहरूले अघि सार्न सक्छन्‌ त? सन्‌ १९९९ मा अमेरिकाको नेसनल एकडेमी अफ साइन्सेजले निकालेको पुस्तिकाले यस्तो प्रमाण दिन खोजेको थियो: “क्रमविकासले गर्दा नयाँ स्पिसिजको उत्पत्ति हुन सक्छ भन्‍ने बलियो प्रमाणको रूपमा डार्विनले गालापागोस द्वीपमा अध्ययन गरेका फिन्च चराको १३ स्पिसिजहरूलाई लिन सकिन्छ, जसलाई अक्सर डार्विन फिन्च चरा पनि भन्‍ने गरिन्छ।”

      सन्‌ १९७० को दशकमा पिटर अनि रोजमेरी ग्रान्टको समूहले यी फिन्च चराहरूको अध्ययन सुरु गरेको थियो। अध्ययनबाट के पत्ता लाग्यो भने, एक वर्ष अनिकाल पर्दा छोटो चुच्चो हुने फिन्चहरू भन्दा लामो चुच्चो हुने फिन्चहरू त्यति सजिलै मर्दा रहेनछन्‌। फिन्चको १३ स्पिसिजलाई छुट्याउने विशेषता नै चुच्चोको आकार र बनौट भएकोले पिटर र रोजमेरीको यो खोजलाई महत्वपूर्ण मानिएको थियो। माथि उल्लिखित पुस्तिकाअनुसार “हरेक १० वर्षमा एक चोटि अनिकाल पऱ्‍यो भने नयाँ स्पिसिजको फिन्च चरा उत्पत्ति हुन २०० वर्ष लाग्न सक्छ भनेर ग्रान्ट दम्पतीले अनुमान लगाए।”

      तर नेसनल एकडेमी अफ साइन्सेजले निकालेको यस पुस्तिकामा केही प्रतिकूल तर महत्वपूर्ण तथ्यहरूलाई भने समावेश गरिएको छैन। त्यो के हो भने, अनिकालको बेला छोटो भन्दा लामो चुच्चो हुने फिन्चहरू सजिलै बच्ने भए तापनि सहकाल सुरु भएको केही वर्षभित्रै छोटो चुच्चो हुने फिन्चहरूकै संख्या बढ्‌दो रहेछ। तसर्थ, पिटर ग्रान्ट र स्नातक तहका विद्यार्थी लाइल गिब्जले सन्‌ १९८७ मा नेचर नामक विज्ञान पत्रिकामा “छनौटको प्रक्रिया उल्टो हुन थालेको” देखियो भनेर लेखे। सन्‌ १९९१ मा ग्रान्टले “प्राकृतिक छनौटले गर्दा फिन्च चराको संख्या हरेक चोटि हावापानीअनुसार घटबढ हुँदो रहेछ” भनेर लेखेका थिए। अनुसन्धानकर्ताहरूले अझ के पनि पत्ता लगाए भने “बेग्ला-बेग्लै जातका फिन्च चराहरू मिलेर नयाँ प्रकारको फिन्च चरा जन्माउँदा रहेछन्‌ र यसरी जन्मेका फिन्च चराहरू आफ्ना माउहरूभन्दा धेरै लामो समय बाँच्दा रहेछन्‌। यसरी बेग्ला-बेग्लै जातका चराहरू मिलेर सन्तान जन्माउने हो भने २०० वर्षभित्रै दुई वटा “स्पिसिज” मिलेर नयाँ स्पिसिजको फिन्च चरा बन्‍नेछ भन्‍ने पिटर र रोजमेरी ग्रान्टको निष्कर्ष थियो।

      वास्तवमा सन्‌ १९६६ मै क्रमविकासवादी जीवशास्त्री जोर्ज क्रिस्टोफर विलियमले यसो भनिसकेका थिए: “क्रमविकासबाट कसरी नयाँ जीवको उत्पत्ति हुन्छ भनेर व्याख्या गर्न अघि सारिएको प्राकृतिक छनौटको सिद्धान्तले वास्तवमा क्रमविकासको भन्दा पनि वनस्पति तथा पशुपन्छी कसरी बद्‌लिंदो वातावरणसित घुलमिल हुँदै जान्छन्‌ भनेर पो व्याख्या गर्छ।” विलियमको यो निष्कर्ष सही हो भने प्राकृतिक छनौटले स्पिसिजलाई परिवर्तित नयाँ हावापानीसित घुलमिल हुन मदत गरिरहेको मात्र हुन सक्छ भनी सन्‌ १९९९ मा क्रमविकासवादी जेफ्री सोट्‌र्सले लेखे। सोट्‌र्सअनुसार प्राकृतिक छनौटले “बिल्कुलै नयाँ स्पिसिज उत्पत्ति गरेको छैन।”

      हुन पनि, डार्विनले अध्ययन गरेका फिन्च चराहरू अहिले पनि जस्ताको तस्तै छन्‌। प्राकृतिक छनौटले कुनै “नयाँ स्पिसिज उत्पत्ति गरेको छैन।” त्यसमाथि बेग्ला-बेग्लै जातका फिन्च चराहरू मिलेर नयाँ जातको फिन्च चरा जन्माउन सक्दो रहेछ भनेर पत्ता लागेको तथ्यले वास्तवमा क्रमविकासवादीहरूले नयाँ स्पिसिज भनेर केलाई भन्‍न खोजेका हुन्‌, प्रश्‍न खडा गर्छ। यसबाहेक नाउँ चलेका वैज्ञानिक प्रतिष्ठानहरूले समेत प्रमाणलाई बंग्याएर आफूलाई ठीक लागेको कुरा तेर्साउँदा रहेछन्‌ भन्‍ने कुरा यसबाट देखिन्छ।

      के जीवावशेषले माक्रोइभोलुसनको प्रमाण दिन्छ?

      माथि उद्धृत नेसनल एकडेमी अफ साइन्सेजको पुस्तिकामा माक्रोइभोलुसनलाई प्रमाणित गर्ने पर्याप्त जीवावशेष वैज्ञानिकहरूले फेला पारिसकेका छन्‌ भनेर पाठकहरूलाई भान पार्न खोजिएको देखिन्छ। उक्‍त पुस्तिकाको एउटा अंश यसो भन्छ: “माछाबाट उभयचर, उभयचरबाट रेप्टिलिया, रेप्टिलियाबाट म्यामेलिया अनि बाँदरको पनि एउटा जाति अर्को जातिमा परिवर्तन हुँदै गएको प्रमाणित गर्ने यति धेरै किसिमका जीवहरू फेला परिसकेका छन्‌ कि, कुन चरणमा परिवर्तन भयो भनेर वर्गीकरण गर्न गाह्रो छ।”

      तर नेसनल एकडेमी अफ साइन्सेजले गर्वसाथ व्यक्‍त गरेको यो निष्कर्ष पत्याउन गाह्रो पर्छ। किन? किनकि सन्‌ २००४ मा नेसनल जियोग्राफिक पत्रिकाले अहिलेसम्म फेला परेका जीवावशेषहरूको रेकर्डलाई अपूरो चलचित्रसँग तुलना गरेको थियो—“एउटा यस्तो चलचित्र जसको १,००० वटा चित्रहरू हुनुपर्नेमा ९९९ वटा चित्रहरू बेपत्ता छन्‌।” के एउटा चित्रको भरमा माक्रोइभोलुसनको व्याख्या गर्न मिल्ला त? वास्तवमा जीवावशेषहरूको रेकर्डले के देखाउँछ? जीवावशेषहरूको रेकर्डलाई हेर्दा निकै लामो समयसम्म “धेरैजसो जीवमा कुनै परिवर्तन आएन” भन्‍ने कुरा प्रस्टै देखिन्छ भनेर क्रमविकासका कट्टर समर्थक नाइल्ज एल्ड्रेज स्वीकार्छन्‌।

      आजको मितिसम्म संसारभरिका वैज्ञानिकहरूले २० करोड ठूला अनि अरबौं साना जीवावशेषहरू संकलन गरिसकेका छन्‌। यस्तो विस्तृत अनि विशाल जीवावशेषहरूको संकलनले सबै मौलिक जीवहरू एक्कासि देखा परेको र समयको दौडानमा उनीहरूमा कुनै परिवर्तन नआएको अनि धेरैजसो जीवहरू एक्कासि लोप भएको प्रमाण दिन्छ भन्‍नेमा थुप्रै अनुसन्धानकर्ताहरू सहमत छन्‌। जीवावशेषले दिने प्रमाणको अध्ययन गरिसकेपछि जीवशास्त्री जोनाथन वेल्स के लेख्छन्‌ भने “किङडम, फाइला वा क्लास जुनै तहमा हेरे पनि एउटै जीवबाट अन्य जीवहरूको विकास हुँदै गएको देखिंदैन। जीवावशेष अनि मलिक्युलर प्रमाणको आधारमा भन्‍नुपर्दा क्रमविकासलाई तथ्य मान्‍नुपर्ने कुनै ठोस कारण पाइँदैन।”

      क्रमविकास —तथ्य हो कि मिथ्या?

      उसोभए थुप्रै नाउँ चलेका क्रमविकासवादीहरू किन माक्रोइभोलुसन तथ्य हो भनेर जिद्दी गर्छन्‌ त? त्यस्तै नाउँ चलेको एकजना क्रमविकासवादी रीचर्ड लवन्टनले अर्को क्रमविकासवादी रीचर्ड डकिन्सका केही तर्कहरूको आलोचना गरेपछि लेखेका थिए, थुप्रै वैज्ञानिकहरू आफूले ‘ईश्‍वरवादलाई तिरस्कार गर्ने पहिल्यै कसम खाइसकेको हुँदा प्रमाणले जेसुकै देखाओस्‌ क्रमविकासलाई तथ्यको रूपमा स्वीकार्न तयार हुन्छन्‌।’ अधिकांश वैज्ञानिकहरू बुद्धिमान्‌ रचनाकारले सृष्टि गरेको हो कि भनेर कोट्याउन समेत चाहँदैनन्‌। किनकि लवन्टन स्वयंको भनाई उद्धृत गर्नुपर्दा वैज्ञानिकहरू “ईश्‍वर वा सृष्टिकर्ताको अस्तित्वलाई एक पाइलो उभिने ठाउँसमेत दिन चाहँदैनन्‌।”

      यसै सन्दर्भमा समाजशास्त्री रड्‌नी स्टार्कको यो भनाइ साइन्टिफिक अमेरिकन पत्रिकामा उल्लेख गरिएको थियो: “वैज्ञानिक विचारधारा हुने व्यक्‍तिले धर्मलाई आफ्नो दिमागबाट पूरै हटाउनुपर्छ भनेर जोड दिन थालेको २०० वर्ष भइसक्यो।” स्टार्कले अझ यतिसम्म भने कि वैज्ञानिक अनुसन्धान गरिने विश्‍वविद्यालयहरूमा “धर्ममा विश्‍वास राख्ने व्यक्‍तिहरू मुख सिलाएर बस्छन्‌ भने धर्ममा विश्‍वास नराख्नेहरू अरूको धज्जी उडाउँदै बस्छन्‌।” स्टार्कअनुसार “धर्ममा विश्‍वास नगर्ने व्यक्‍तिहरूलाई [वैज्ञानिकहरूको समाजमा] उच्च वर्गको मान्‍ने परिपाटी नै बसिसकेको छ।”

      के तपाईं माक्रोइभोलुसन तथ्य हो भनेर स्वीकार्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, विज्ञानले पत्ता लगाएका नयाँ-नयाँ खोजहरूलाई अज्ञेयवादी वा नास्तिकवादी वैज्ञानिकहरूले आफ्नो एकोहोरो विचार व्यक्‍त गर्ने भाँडो बनाउँदैनन्‌ भनेर स्वीकार्नुहोस्‌। म्युटेसनले एउटा जीवलाई समेत कुनै नयाँ जीवमा परिवर्तन गर्न सकेको छैन भनेर अरबौं म्युटेसनको अध्ययन अनि एक शताब्दी लामो अनुसन्धानले प्रमाणित गरिसकेको भए तापनि म्युटेसन र प्राकृतिक छनौटले गर्दा नै सबै जटिल जीवहरूको उत्पत्ति भएको हो भनेर विश्‍वास गर्नुहोस्‌। सबै मौलिक प्राणी तथा वनस्पतिहरू अचानक देखा परे अनि अरबौं वर्ष बितिसक्दा पनि कहिल्यै परिवर्तन भएर अर्कै जीव बनेन भनेर जीवावशेषको अध्ययनले प्रमाणित गरिसकेको भए तापनि सबै प्राणीहरू एउटै प्राणीबाट विकास हुँदै देखा परेका हुन्‌ भनेर विश्‍वास गर्नुहोस्‌। के तपाईंलाई यसरी अन्धाधुन्ध विश्‍वास गर्नु मिथ्यालाई तथ्यको रूपमा स्वीकार्नुजस्तो लाग्दैन? (g 9/06)

      [फुटनोटहरू]

      a कुकुर पाल्ने मानिसहरूले दुई बेग्ला-बेग्लै जातको कुकुरको प्रजनन गराएर माउभन्दा फरक किसिमको कुकुर जन्माउन सक्छन्‌। जस्तै, माउको भन्दा छोटो खुट्टा वा लामो भुत्ला भएको। तथापि, यसरी जन्मेको नयाँ प्रकारको कुकुरको बनौट माउको भन्दा फरक हुनुको कारण चाहिं जीनले गर्ने विभिन्‍न कामहरूमध्ये कुनै एउटाले काम नगर्नु हो। उदाहरणको लागि, डाक्सहुन्ट जातको कुकुर होचो हुनुको कारण, कुर्कुरे हाडको राम्ररी विकास हुन नसकेर हो।

      b यस लेखमा “स्पिसिज” (किसिम) भन्‍ने शब्द बारम्बार चलाइएको भए तापनि मौलिक बाइबलको उत्पत्ति भन्‍ने किताबमा यो शब्द प्रयोग गरिएको पाइँदैन। बाइबलले “जात-जातको” भन्‍ने सीमित अर्थ लाग्ने ठेट शब्द चलाएको छ। अक्सर वैज्ञानिकहरूले नयाँ स्पिसिज भनेर नाउँ दिएको जीव, बिल्कुलै नयाँ जीव नभएर उत्पत्तिमा उल्लिखित एउटै “जात” भित्रको अर्को प्रजाति मात्र हो।

      c “जीवहरू कसरी वर्गीकरण गरिन्छ” पेटी हेर्नुहोस्‌

      d कोषको साइटोप्लाजम्‌, त्यसको झिल्ली र अन्य तत्वहरूले पनि जीवको बनौट वा कामलाई असर गर्छ भनेर अनुसन्धानले देखाएको छ।

      e लोनिगले यस लेखमा व्यक्‍त गरेका विचारहरू नितान्त निजी विचारहरू हुन्‌ र त्यसको म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रीसर्चसँग कुनै सरोकार छैन।

      f म्युटेसनबाट उन्‍नत किसिमको वनस्पति निकाल्ने प्रयास गर्दा, मौलिक जातिबाट झन्‌-झन्‌ नयाँ ठिमाहा निस्कनुको साटो मौलिक जातिसित मेल खाने एउटै किसिमको ठिमाहा जाति फेरि-फेरि निस्किरहेको पाइयो। यस्तो नतिजालाई आधार मान्दै लोनिगले यसलाई “ल अफ रिकरेन्ट भेरिएसन” भन्‍ने नाउँ दिए। यसबाहेक यसरी वनस्पतिको म्युटेसनबाट निस्केका ठिमाहाहरूमध्ये १ प्रतिशत मात्र थप अनुसन्धानका लागि योग्य ठहरिए भने यो १ प्रतिशतको पनि १ प्रतिशत मात्र व्यापारिक प्रयोजनका लागि उपयुक्‍त पाइयो। वनस्पतिको जस्तै पशुप्राणीको पनि म्युटेसनबाट नयाँ ठिमाहा जाति निकाल्ने प्रयास अत्यन्तै असफल भएकोले अन्ततः त्यस्तो योजनालाई पूर्णतया त्यागियो।

      [पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “म्युटेसनले [वनस्पति वा प्राणीहरूको] मौलिक किसिमलाई परिवर्तन गरेर पूर्णतया नयाँ किसिमको जीव उत्पन्‍न गर्न सक्दैन”

      [पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]

      स्पिसिज बद्‌लिंदो हावापानीसित घुलमिल हुन सक्छ भन्‍ने कुराबाहेक डार्विनको फिन्च चराहरूको अध्ययनबाट अरू कुनै ठोस कुरा पत्ता लागेन

      [पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]

      जीवावशेषको अध्ययनअनुसार सबै मौलिक प्राणी अचानक देखा परे र कहिल्यै परिवर्तन भएनन्‌

      [पृष्ठ १४-मा भएको तालिका]

      (ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

      जीवहरू कसरी वर्गीकरण गरिन्छ

      जीवहरूको वर्गीकरण गर्दा स्पिसिज भनिने सानो समूहदेखि सुरु गरेर किङडम भनिने ठूलो समूहमा गएर टुंगिन्छ।g उदाहरणको लागि, फलफूलमा लाग्ने झिंगाका साथै मानिसको वर्गीकरण तल दिइएको छ। त्यो तुलना गरेर हेर्नुहोस्‌।

      मानिस फलफूलमा लाग्ने झिंगा

      स्पिसिज सेपियेन्स मिलानोगास्टर

      जेनस होमो ड्रोसोफिला

      फेमिली होमिनिड्‌स ड्रोसोफिलिड्‌स

      र्डर प्राइमेट्‌स डिप्टेरा

      क्लास म्यामल्स इन्सेक्ट्‌स

      फाइलम कर्डेट्‌स अर्थोपोड्‌स

      किङडम एनिमल्स एनिमल्स

      [फुटनोट]

      g नोट: वनस्पति र जन्तुहरूले आ-आफ्नै “जातका” सन्तानहरू उत्पादन गर्नेछन्‌ भनी उत्पत्तिको १ अध्यायले बताउँछ। (उत्पत्ति १:१२, २१, २४, २५) तर बाइबलमा चलाइएको “जात-जातका” भन्‍ने शब्द वैज्ञानिक पदावली होइन। त्यसैले यो र विज्ञानले चलाउने स्पिसिज शब्द एउटै हो भनेर झुक्किनु हुँदैन।

      [स्रोत]

      जोनाथन वेल्सद्वारा लिखित आइकन्स अफ इभोलुसन—साइन्स अर मिथ? ह्वाइ मच अफ ह्वाट वि टिच अबाउट इभोलुसन इज रङ पुस्तकमा आधारित तालिका।

      [पृष्ठ १५-मा भएको चित्र]

      फलफूलमा लाग्ने झिंगाको म्युटेसनबाट बनेको यो ठिमाहा (माथि) कुरूप भए पनि झिंगै हो

      [स्रोत]

      ©Dr. Jeremy Burgess/Photo Researchers, Inc.

      [पृष्ठ १५-मा भएको चित्र]

      म्युटेसनबाट नयाँ किसिमको वनस्पति निकाल्ने प्रयास गर्दा मौलिक जातिबाट झन्‌-झन्‌ नयाँ ठिमाहा निस्कनुको साटो मौलिक जातिसित मेल खाने एउटै किसिमको ठिमाहा जाति फेरि-फेरि निस्किरहेको पाइयो (म्युटेसनद्वारा उत्पन्‍न फूल ठूलो आकारको छ)

      [पृष्ठ १३-मा भएको चित्रको स्रोत]

      From a Photograph by Mrs. J. M. Cameron/ U.S. National Archives photo

      [पृष्ठ १६-मा भएको चित्रको स्रोत]

      Finch heads: © Dr. Jeremy Burgess/ Photo Researchers, Inc.

      [पृष्ठ १७-मा भएको चित्रको स्रोत]

      Dinosaur: © Pat Canova/Index Stock Imagery; fossils: GOH CHAI HIN/AFP/Getty Images

  • सृष्टिकर्तामाथि हामी किन विश्‍वास गर्छौं
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • सृष्टिकर्तामाथि हामी किन विश्‍वास गर्छौं

      विभिन्‍न वैज्ञानिक विधाका विशेषज्ञहरू प्रकृति बुद्धिमान्‌ रचनाको सुन्दर थुँगा हो भनेर मानि लिन्छन्‌। पृथ्वीमा पाइने जटिल प्राणी तथा बोटबिरुवाहरू कुनै दुर्घटनाको उपज हुन्‌ भनेर पत्याउन उनीहरू गाह्रो मान्छन्‌। तसर्थ, थुप्रै वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सृष्टिकर्तामाथि विश्‍वास गर्छन्‌।

      यसरी विश्‍वास गर्नेहरूमध्ये केही यहोवाका साक्षी पनि भइसकेका छन्‌। बाइबलको परमेश्‍वर नै यस भौतिक ब्रह्‍माण्डको रचनाकार तथा निर्माता हुनुहुन्छ भनेर उनीहरू विश्‍वस्त छन्‌। तर उनीहरू कसरी यस्तो निष्कर्षमा पुगे त? ब्यूँझनुहोस्‌!-ले उनीहरूमध्ये कसै-कसैलाई यो प्रश्‍न गर्दा यस्तो चाखलाग्दो जवाफ दिएका थिए।a

      ‘जीव तथा वनस्पतिको जटिलता’

      ◼ भोल्फ एकहार्ड लोनिग

      परिचय: मैले बोटबिरुवामा हुने जेनेटिक म्युटेसनसित सम्बन्धित विभिन्‍न वैज्ञानिक अनुसन्धान गर्न थालेको २८ वर्ष भइसक्यो। त्यसमध्ये २१ वर्ष त जर्मनीको कलोनस्थित म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रीसर्चमा काम गरेर बिताएँ। मैले यहोवाका साक्षीहरूको मसीही मण्डलीमा प्राचीनको हैसियतले सेवा गरेको पनि झन्डै तीन दशक भइसक्यो।

      फिजियोलोजी अनि मर्फोलोजी जस्ता जैवीक विषयको अध्ययन गर्दा अनि जीनसम्बन्धी अनुसन्धान गर्दा जीव तथा वनस्पति वास्तवमा कति जटिल हुँदा रहेछन्‌ भनेर बुझ्ने मौका मैले पाएको छु। त्यसैले म हर जीव तथा वनस्पति, चाहे त्यो एक कोषीय जीव नै किन नहोस्‌, ती सबै कुनै एक जना बुद्धिमान्‌ व्यक्‍तिले बनाएको हुनुपर्छ भनेर विश्‍वस्त छु।

      जीव तथा वनस्पतिको रचना अत्यन्तै जटिल हुन्छ भन्‍ने कुरा वैज्ञानिक माहोलमा हुनेहरूको निम्ति नयाँ कुरा होइन। तर प्रायः नयाँ अनि रोमाञ्चकारी तथ्यहरू पत्ता लाग्दा, त्यसको श्रेय क्रमविकासलाई दिने गरिन्छ। मेरो विचारमा बाइबलमा सृष्टिबारे जे-जति लेखिएको छ, त्यसलाई वैज्ञानिक तथ्यहरूसित दाँज्ने हो भने, बाइबलप्रति मानिसहरूको गलत धारणा स्वतः हराउनेछ। मैले त्यस्ता गलत तर्कहरूलाई तौलेर हेर्न थालेको दशकौं भइसक्यो। मैले विभिन्‍न जीवित प्राणी तथा वनस्पतिहरूको गहन अध्ययन गर्नुका साथै ब्रह्‍माण्डका विभिन्‍न नियमहरूको सन्तुलनले गर्दा कसरी पृथ्वीमा जीवनको सुरुआत हुन सम्भव हुनसक्यो, त्यसबारे अध्ययन गरेको छु। अनि मेरो एउटै निष्कर्ष छ, सृष्टिकर्ता हुनै पर्छ, हुनुहुन्छ।

      “हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ”

      ◼ बाइरन लिआँ मिडोज

      परिचय: म अमेरिकामा बस्छु अनि नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनमा (नासा) लेजर भौतिक विज्ञानको क्षेत्रमा काम गर्छु। अहिले म, विश्‍वभरिको हावापानी, मौसमलगायत त्यस्तै अन्य भूमण्डलीय घटनाहरूलाई अझ राम्ररी मोनिटर गर्ने प्रविधिको विकास गर्ने योजनामा समावेश छु। म भर्जिनिया, किल्मार्नक इलाकाको मण्डलीमा प्राचीनको हैसियतले सेवा पनि गर्दैछु।

      अनुसन्धानको क्रममा म अक्सर भौतिक विज्ञानका सिद्धान्तहरूलाई केलाउने मौका पाउँछु। म सधैं कुनै घटना किन अनि कसरी हुन्छ भनेर म सधैं बुझ्ने प्रयास गरिरहेको हुन्छु। मैले स्पष्ट देख्ने गरेको कुरा के छ भने, हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ। अहिले हामी प्रकृतिमा जे-जति कुरा देखिरहेका छौं, ती सबैको मूल कारण परमेश्‍वर नै हुनुहुन्छ भनेर विश्‍वास गर्ने पर्याप्त वैज्ञानिक आधार छ भनेर म विश्‍वास गर्छु। किनकि प्रकृतिका विभिन्‍न नियमहरू यति स्थिर अनि भरपर्दा छन्‌ कि, कसैले केही नगरीकनै ती नियमहरू आफै उत्पन्‍न भए होलान्‌ भनेर म विश्‍वास गर्न सक्दिनँ। सृष्टिकर्ताले नै ती नियमहरू बनाएको हुनुपर्छ।

      तैपनि थुप्रै वैज्ञानिकहरू किन क्रमविकासमा विश्‍वास गर्छन्‌ त? त्यसको एउटा कारण त, क्रमविकासका समर्थकहरू अनुसन्धान अनि ठोस प्रमाणहरूको आधारमा होइन कि आफ्नै पूर्व सोचविचारहरूले प्रेरित भएर क्रमविकासको व्याख्या गर्न खोज्छन्‌। धेरै पढे-लेखेका वैज्ञानिकहरूले समेत प्रमाणको आधारमा नभई आफूलाई लागेको कुरा व्याख्या गर्नु कुनै नौला कुरा होइन। तर देखेकै भरमा आफ्नै निष्कर्ष निकाल्नु ठीक कुरा भने पक्कै पनि होइन। उदाहरणका लागि, लेजर फिजिक्सको अध्ययन गर्ने व्यक्‍तिले प्रकाशको किरणमा तरङ्‌गमा हुने विशेषताहरू देखेर प्रकाश पनि ध्वनि जस्तै तरङ्‌ग हो भनेर जिद्दी गर्ला। तर उसको त्यो निष्कर्ष पक्कै अपूरो हुन्छ, किनकि प्रकाश, फोटोन भन्‍ने कणहरूको समूह पनि हो भनेर प्रमाणले देखाउँछ। त्यस्तै गरी, एक टुक्रो प्रमाणको आधारमा क्रमविकास तथ्य हो भनेर जिद्दी गर्ने व्यक्‍तिहरूले अन्य प्रमाणहरू बेवास्ता गरिरहेका हुन्छन्‌ र आफ्नै पूर्व धारणाले अन्धो भएकोले सम्पूर्ण प्रमाणले वास्तवमा के बताउँछ, देख्न सकिरहेका हुँदैनन्‌।

      मलाई ताजुब लागेको कुरा त के हो भने, क्रमविकासका “विशेषज्ञ” भनौंदाहरू नै एउटा ठोस निष्कर्षमा पुग्न नसकिरहेको अवस्थामा मानिसहरू क्रमविकासको सिद्धान्तलाई तथ्य भनेर स्वीकारिरहेका छन्‌। यदि गणितको एक जना विशेषज्ञले २ र २ को जोड ४ हुन्छ र अर्कोले, होइन ३ हुन्छ वा ६ हुन्छ भन्छ भने के तपाईं अंक गणितलाई प्रमाणित तथ्यको रूपमा स्वीकार्न सक्नुहुन्छ? यदि विज्ञानको नैतिक जिम्मेवारी, प्रमाणित गर्न सकिने, परीक्षण गर्न सकिने अनि नतिजा पुनः देखाउन सकिने कुरालाई मात्र स्वीकार्नु हो भने, सम्पूर्ण प्राणी तथा वनस्पति कुनै एउटा प्राणीबाट क्रमशः विकास हुँदै आएको हो भनी स्वीकार्नु सोह्रै आना मिथ्या हो। (g 9/06)

      “अस्तित्वमा नभएको कुराबाट कसरी कुनै कुरा अस्तित्वमा आउनसक्छ र?”

      ◼ केनेथ लोइड टानाका

      परिचय: म पेसाले भूगोलशास्त्री हुँ र अहिले म एरिजोनाको फ्ल्यागस्टाफमा अमेरिकी भौगोलिक सर्भेमा काम गर्छु। मैले बितेको तीन दशकदेखि ग्रहहरूको भौगोलिक अध्ययन गर्नुका साथै भूगोल विज्ञानसम्बन्धी विभिन्‍न क्षेत्रका वैज्ञानिक अनुसन्धानहरूमा भाग लिएको छु। मेरा दर्जनौं अनुसन्धानमूलक लेख तथा मंगल ग्रहका भौगोलिक नक्साहरू आधिकारिक वैज्ञानिक पत्रिकाहरूमा प्रकाशित भइसकेका छन्‌। म यहोवाको साक्षी पनि हुँ र अरूलाई बाइबल पढ्‌ने प्रोत्साहन दिन महिनामा ७० घण्टा बिताउने गर्छु।

      विद्यार्थी छँदा हामीलाई क्रमविकास तथ्य हो भनेर सिकाइन्थ्यो। तर यति विशाल ब्रह्‍माण्ड तयार पार्न चाहिने उर्जा स्वतः उत्पन्‍न भयो भनेर स्वीकार्न मलाई गाह्रो लाग्थ्यो। एक न एक जना शक्‍तिशाली सृष्टिकर्ता हुनै पर्छ भनेर म विश्‍वास गर्थें। हुन पनि अस्तित्वमा नभएको कुराबाट कसरी कुनै कुरा अस्तित्वमा आउनसक्छ र? सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने सबैभन्दा बलियो आधार म त बाइबलमै भेट्टाउँछु। मैले अध्ययन गरेर दक्षता हासिल गरेको क्षेत्रसित मेल खाने थुप्रै वैज्ञानिक तथ्यहरू म बाइबलमा पाउँछु, जस्तै पृथ्वीको आकार गोलो छ भनेर उल्लेख हुनु अनि त्यसै गरी पृथ्वी “शून्यतामा” अडेको छ भनेर बताउनु। (अय्यूब २६:७, NRV; यशैया ४०:२२) मानिसहरूले वैज्ञानिक अनुसन्धान गरेर पत्ता लगाउनुभन्दा धेरै अघि नै यी कुराहरू बाइबलमा लेखिसकिएका थिए।

      हाम्रो आफ्नै बनौटलाई पनि विचार गर्नुहोस्‌। हामीसित इन्द्रियहरूको चेतना छ। हामी चेतनशील छौं, सोच्ने बुद्धि छ, अरूसित आफ्नो विचार पोख्ने अनि भावनाहरू व्यक्‍त गर्ने क्षमता छ। उदाहरणस्वरूप प्रेमलाई लिनुहोस्‌। हामी प्रेम महसुस गर्न सक्छौं, अनि देखाउन पनि सक्छौं। यस्ता अद्‌भुत गुणहरू हामी मानिससित किन छन्‌, क्रमविकासले व्याख्या गर्न सक्दैन।

      ‘क्रमविकासका प्रमाणहरू कत्तिको भरपर्दा छन्‌?’ आफैलाई सोध्नुहोस्‌। भौगर्भिक रेकर्ड अपूरो, जटिल अनि भ्रामक भएकोले क्रमविकास नै भएको हो भने प्रमाणित गर्न सकिंदैन। अर्कोतर्फ, क्रमविकासमा विश्‍वास गर्ने व्यक्‍तिहरूले क्रमविकास कसरी भयो भनेर प्रयोगशालामा वैज्ञानिक तरिकामा प्रमाणित गरेर देखाउन सकेका पनि छैनन्‌। हुन त वैज्ञानिकहरूले तथ्यांकहरू संकलन गर्न निकै उच्च वैज्ञानिक प्रविधिहरूको सदुपयोग गर्छन्‌। तर प्राप्त भएको त्यस्ता तथ्यांकहरूलाई आफ्नै स्वार्थपूर्ति हुने किसिमले व्याख्या पनि गर्छन्‌। अनुसन्धानबाट कुनै ठोस निष्कर्ष निस्केन वा विरोधाभाषपूर्ण निष्कर्ष निस्क्यो भने वैज्ञानिकहरूले आफ्नै धारणालाई अघि सार्ने गरेको अक्सर पाइन्छ। सत्य-तथ्य प्रस्तुत गर्नुभन्दा पनि कतिपय वैज्ञानिकहरू आफ्नो पेसा अनि नाउँलाई बढी महत्त्वपूर्ण ठान्छन्‌।

      एक जना वैज्ञानिक अनि साथै बाइबलको विद्यार्थी भएको नाताले मलाई अधकल्चो सत्य मन पर्दैन। म थाह लागिसकेको तथ्य अनि अनुसन्धानहरूसित पूर्णतया मेल खाने तथ्यहरूलाई मात्र सबैभन्दा सही निष्कर्ष सम्झन्छु। तसर्थ, सृष्टिकर्तामाथि विश्‍वास गर्नु नै मेरो निम्ति सबैभन्दा चित्तबुझ्दो निष्कर्ष हो।

      ‘सूक्ष्म कोषको रचना नै सृष्टिकर्तामाथि विश्‍वास गर्ने आधार’

      ◼ पोला किन्चलो

      परिचय: मैले कोष तथा मलिक्युलर बायोलोजी अनि माइक्रोबायोलोजीका विभिन्‍न क्षेत्रहरूमा अनुसन्धान गरेर निकै वर्षको अनुभव बटुलेकी छु। अहिले म अमेरिका, जर्जियाको एटलान्टामा एमरी विश्‍वविद्यालयमा काम गर्छु। रूसी भाषाको इलाकामा म बाइबल प्रशिक्षकको रूपमा स्वयंसेवा पनि गर्दैछु।

      जीवविज्ञानको अध्ययनको क्रममा मैले चार वर्ष कोष र त्यसका विभिन्‍न तत्त्वहरूको अध्ययनमै मात्र बिताएँ। मैले कोषका विभिन्‍न तत्त्वहरू जस्तै, डि एन ए, आर एन ए अनि प्रोटिनको अध्ययन गर्दा र कोषले कसरी एउटा पदार्थलाई अर्को पदार्थमा परिणत गर्न सक्दो रहेछ भनेर बुझ्न खोज्दा वास्तवमा एउटा सूक्ष्म कोषसमेत कति जटिल अनि व्यवस्थित हुँदो रहेछ, देखेकी छु। मानिसहरूले कोषको अध्ययन गरेर धेरै कुरा सिकिसकेको भए तापनि त्योभन्दा पनि धेरै कुरा सिक्न अझै बाँकी रहेको देख्दा म आफै निकै प्रभावित भएकी छु। भनौं भने, एउटा सूक्ष्म कोषको रचना नै मेरो लागि सृष्टिकर्तामाथि विश्‍वास गर्ने एउटा आधार हो।

      बाइबल अध्ययन गरेपछि मैले त्यो सृष्टिकर्ता यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ भनेर चिन्‍ने मौका पाएँ। उहाँ बुद्धिमान्‌ रचनाकार मात्र नभई मायालु बुबा पनि हुनुहुन्छ भनेर म विश्‍वास गर्छु। यसबाहेक बाइबलले जीवनको उद्देश्‍य र सुखी भविष्यबारे पनि बताउँछ।

      स्कूलमा क्रमविकास विषय पढ्‌ने विद्यार्थीहरू केमा विश्‍वास गर्ने भनेर अलमलमा परेका हुन सक्छन्‌। कहिलेकाहीं क्रमविकासको कुरा सुन्दा के सत्य, के झूटो छुट्याउन गाह्रो पर्न सक्छ। परमेश्‍वरमाथि विश्‍वास गर्ने विद्यार्थीहरूका लागि यो विषय विश्‍वासको जाँच साबित हुन सक्छ। म त्यस्ता सबै केटाकेटीहरूलाई यो प्रोत्साहन दिन चाहन्छु कि, उनीहरू यो जाँचमा सफल हुन सक्छन्‌। बस्‌, उनीहरूले आफू वरपरका पशुपन्छी, बोटबिरुवा अनि अरू अचम्मलाग्दा प्राकृतिक कुराहरूलाई नियालेर विचार गरे पुग्छ। सृष्टिकर्ताबारे अझ धेरै ज्ञान हासिल गरेर अनि उहाँका गुनहरूबारे सिकेर पनि उनीहरूले आफ्नो विश्‍वासलाई बलियो बनाउन सक्छन्‌। मैले पनि त्यसै गरें र वास्तवमा बाइबलले सृष्टिबारे जे भनेको छ, त्यो सत्य मात्र होइन विशुद्ध विज्ञानसित मेल पनि खान्छ भन्‍ने निष्कर्षमा पुग्न सकें।

      “अति साधारण नियमअनुसार चलेको देखेर म अत्यन्तै प्रभावित भएको छु”

      ◼ एन्रिक हर्नान्डिज लेमुस

      परिचय: म यहोवाको साक्षी अनि पूर्ण समय प्रचारक हुँ। म मेक्सिकोको नेसनल युनिभर्सिटीमा काम गर्ने भौतिकशास्त्री तथा गणितज्ञ पनि हुँ। म गणितका विभिन्‍न फर्मूलाहरूको प्रयोग गरेर भौतिकशास्त्रको अध्ययन गर्छु। अहिले म ताप तथा गुरुत्वाकर्षणको शक्‍तिले गर्दा ताराहरूको “मृत्यु र जन्म” हुन्छ भन्‍ने कुरा व्याख्या गर्न अध्ययन गर्दैछु। मैले डि एन ए-को जटिलताको अनुसन्धान पनि गरेको छु।

      जीवन यति जटिल छ कि, संयोगले उत्पन्‍न भएको हुनै सक्दैन। उदाहरणका लागि, डि एन ए-भित्र अटाउने अपार जानकारीलाई नै लिनुहोस्‌। एउटा क्रोमोजोम अचानक अस्तित्वमा आउनसक्ने सम्भावना, ९० खरबमा १ भन्दा पनि कम हुन्छ। अर्को शब्दमा भन्‍नुपर्दा सम्भावना यति कम कि असम्भव छ भनेर मानी लिए पनि हुन्छ। तसर्थ, कुनै बुद्धिहीन शक्‍तिले एउटा क्रोमोजोम मात्र होइन, आश्‍चर्यजनक जटिलताले भरिएको प्राणी तथा वनस्पतिको सृष्टि गऱ्‍यो भनेर विश्‍वास गर्नु पूरै मूर्खता सिवाय केही होइन।

      मैले सूक्ष्मदर्शक यन्त्रले भौतिक तत्त्वहरूको अति जटिल विशेषतादेखि लिएर विशाल टेलिस्कोपको मदतले ब्रह्‍माण्डका विभिन्‍न नक्षत्रहरूको अध्ययन गरेको छु। चाहे नक्षत्रको गति होस्‌ वा भौतिक तत्त्वहरूको परमाणुको गति, ती सबै अति साधारण नियमअनुसार चलेको देखेर म अत्यन्तै प्रभावित भएको छु। यस्ता नियमहरूलाई म अति बुद्धिमान्‌ गणितज्ञको उपजका साथै महान्‌ कलाकारको हस्तकलाको रूपमा लिन चाहन्छु।

      म यहोवाको साक्षी हुँ भनेर परिचय दिंदा मानिसहरू अक्सर अचम्म मान्छन्‌। मैले कसरी ईश्‍वरमा विश्‍वास गर्न सकेको होला, उनीहरू कहिलेकाहीं प्रश्‍न गर्छन्‌। म उनीहरूको यस्तो प्रतिक्रियालाई बुझ्छु। किनकि प्रायजसो धर्मले आफ्ना अनुयायीहरूलाई आफूले सिकेको कुराको प्रमाण माग्न वा त्यसबारे अनुसन्धान गर्न प्रोत्साहित गर्दैन। तर बाइबलले “बुद्धि” चलाउन प्रोत्साहित गर्छ। (हितोपदेश ३:२१, NRV) हामी प्रकृतिमा जे-जस्तो डिजाइन देख्छौं र बाइबलले जे-जति प्रमाण दिन्छ, ती सबैको आधारमा परमेश्‍वरको अस्तित्व छ भनेर मात्र होइन कि उहाँ हाम्रो प्रार्थना सुन्‍न उत्सुक पनि हुनुहुन्छ भनेर म विश्‍वस्त छु।

      [फुटनोट]

      a यस लेखमा विभिन्‍न विशेषज्ञहरूले व्यक्‍त गरेको धारणालाई उनीहरूले काम गरिरहेको संघ-संस्था वा कार्यालयको धारणाको रूपमा नलिन हामी अनुरोध गर्छौं।

      [पृष्ठ २२-मा भएको चित्रको स्रोत]

      Mars in background: Courtesy USGS Astrogeology Research Program, http://astrogeology.usgs.gov

  • वनस्पतिमा पाइने आकर्षक संरचना
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • वनस्पतिमा पाइने आकर्षक संरचना

      प्रायजसो वनस्पतिहरूमा एक प्रकारको घुमाउरो संरचना (स्पाइरल) बन्‍ने गरेको कुरा के तपाईंले याद गर्नुभएको छ? उदाहरणका लागि, भुँइकटहरमा एकापट्टि आँखाहरूको ८ वटा लहर र अर्कापट्टि ५ वा १३ वटा लहर घुमाउरो पाराले बेरिएको देख्नुभएको होला। (चित्र न. १ हेर्नुहोस्‌।) त्यसै गरी तपाईंले सूर्यमुखी फूलको बीउ हेर्नुभयो भने एकापट्टिबाट ५५ वटा र अर्कापट्टिबाट ८९ वटा घुमाउरो लहर देख्नुहुनेछ। कहिलेकाहीं लहरको संख्या योभन्दा बढी पनि हुन सक्छ। काउलीमा समेत तपाईंले यस्तै घुमाउरो संरचना देख्नुहुनेछ। घुमाउरो संरचना कस्तो हुँदोरहेछ भनेर एक चोटि ठम्याइसक्नुभएपछि फलफूल वा तरकारी पसलमा जाँदा त्यस्तो संरचना देखेर दङ्‌गै पर्नुहुनेछ। वनस्पतिहरूमा घुमाउरो संरचना हुनुको कारण के हो? अनि घुमाउरा लहरहरूको संख्याको कुनै महत्त्व छ?

      वनस्पतिहरू कसरी हुर्कन्छन्‌?

      अधिकांश वनस्पतिहरूमा डाँठ, पात र फूलहरू मेरिस्टिमबाट निस्कन्छ अनि त्यहाँबाट निस्केको नयाँ वनस्पति-अंगलाई प्राइमोर्डियम भनिन्छ। यसरी नयाँ डाँठ, पात वा फूल निस्कँदा योभन्दा पहिले निस्केको डाँठ, पात वा फूलसित कोण बनाएर नयाँ दिशातिर निस्कन्छ।a (चित्र न. २ हेर्नुहोस्‌।) अधिकांश वनस्पतिहरूमा नयाँ अंग निस्कँदा एउटा निश्‍चित कोण बनाएर निस्कने हुँदा घुमाउरो संरचना बन्छ। यो कोण कति डिग्रीको हुन्छ?

      एउटा गाह्रो काम विचार गरौं है त: कल्पना गर्नुहोस्‌, तपाईं एउटा यस्तो बिरुवा डिजाइन गर्दै हुनुहुन्छ जसमा नयाँ डाँठ, पात वा फूल निस्कँदा अलिकता पनि ठाउँ खेर नजाने गरी टम्म मिलेको हुनुपर्छ। मानि लिनुहोस्‌, तपाईंले एक फन्कोको पाँच भागको दुई भागपछि नयाँ प्राइमोर्डियम निस्कने गरी डिजाइन गर्नुभयो। यसरी डिजाइन गर्दा पाँचौं प्राइमोर्डियमको पालोमा तपाईं फेरि पहिलो प्राइमोर्डियमकै ठाउँमा आइपुग्नुहुन्छ अनि पहिलो प्राइमोर्डियम जुन दिशामा निस्केको थियो पाँचौं पनि त्यतैतिर निस्कन्छ। यसो गर्दा लहर-लहर बन्छ र ती लहरबीचको ठाउँ त्यत्तिकै खेर जान्छ। (चित्र न. ३ हेर्नुहोस्‌।) वास्तवमा भन्‍ने हो भने वृत्तको सरल भिन्‍नबाट निस्कने जुनसुकै संख्याअनुसार मिलाउँदा टम्म मिलेर बस्नुको साटो लहर-लहर भएर बस्छ। “गोल्डन एंगल” भनिने लगभग १३७.५ डिग्रीको कोणमा राख्दा मात्रै टम्म मिलाउन सकिन्छ। (चित्र न. ५ हेर्नुहोस्‌।) यो कोण यति विशेष हुनुको कारण के हो?

      गोल्डन एंगल सबैभन्दा उपयुक्‍त हुन्छ किनभने यसलाई वृत्तको सरल भिन्‍नको रूपमा लेख्न सकिंदैन। गोल्डन एंगलसित लगभग मिल्ने भिन्‍नहरू क्रमशः ५/८, ८/१३, १३/२१ हुन्‌ तर ठ्याक्कै मिल्ने भिन्‍न भने कुनै पनि छैन। वनस्पतिहरूमा नयाँ अंग निस्कँदा पहिले निस्केको अंगसित लगभग १३७.५ डिग्रीको कोण बनाएर निस्कने हुँदा दुइटा पात, फूल वा डाँठ ठ्याक्क एउटै दिशामा कहिल्यै पनि निस्कँदैन। (चित्र न. ४ हेर्नुहोस्‌।) त्यसैले प्राइमोर्डियमहरू लहर-लहर (रेडियल) भएर बस्नुको सट्टा घुमाउरो (स्पाइरल) भएर बस्छ।

      मेरिस्टिमबाट निस्केका प्राइमोर्डियमहरूको कम्प्युटर नमुना अध्ययन गर्दा के पत्ता लाग्यो भने यो कोण एकदमै सही छ भने मात्र झट्टै देखिहाल्ने घुमाउरो संरचना बन्छ। एक डिग्रीको दस भागको एक भाग मात्र यताउता भयो भने पनि हुनुपर्ने जस्तो घुमाउरो हुँदैन।चित्र न. ५ हेर्नुहोस्‌।

      फूलमा कतिवटा पत्र हुन्छ?

      रोचक कुरा, गोल्डन एंगल बनाएर नयाँ अंग निस्कँदा जति वटा घुमाउरो संरचना बन्छ, त्यसको सम्बन्ध फिबोनात्सी नम्बर भनिने संख्याहरूको श्रेणीसित हुन्छ। तेह्रौं शताब्दीका इटालियन गणितज्ञ लियोनार्डो फिबोनात्सीले सबैभन्दा पहिले यस श्रेणीबारे उल्लेख गरेका थिए। यस श्रेणीमा १ पछि आउने कुनै पनि संख्या त्यसभन्दा अघिल्ला दुई संख्याको कुल योग बराबर हुन्छ—जस्तै, १, १, २, ३, ५, ८, १३, २१, ३४, ५५, आदि।

      घुमाउरो संरचना हुने अधिकांश वनस्पतिका फूलहरूको पत्र अक्सर फिबोनात्सी नम्बरमा हुन्छ। अध्ययन गर्नेहरूले बताएअनुसार साधारणतया नाककोरे (बटरकप) फूलमा ५ पत्र हुन्छ, ब्लडरूटमा ८, फायरविडमा १३, एस्टरमा २१, साधारण डेजीमा ३४ र माइकलमास डेजीमा ५५ वा ८९। (चित्र न. ६ हेर्नुहोस्‌।) फलफूल र तरकारीमा पनि अक्सर फिबोनात्सी नम्बर देख्न सकिन्छ। उदाहरणको लागि, केराको बोक्रामा पाँच पाटा हुन्छ र भित्र पनि पाँच खण्ड नै हुन्छ।

      “उहाँले हरेक कुरा . . . सुन्दर बनाउनुभएको छ”

      गोल्डन एंगलको अनुपात मिलेको संरचना सबैभन्दा राम्रो देखिंदो रहेछ भनेर कलाप्रेमीहरूले थाह पाएको निकै भइसक्यो। के कारणले गर्दा वनस्पतिहरूमा हुने नयाँ वृद्धि ठ्याक्कै यही कोणमा हुन्छ? धेरैले यसलाई जीवित वस्तुहरूको डिजाइनमा एक जना बुद्धिमान्‌ व्यक्‍तिको हात छ भन्‍ने कुराको प्रमाणको रूपमा लिन्छन्‌।

      जीवित वस्तुहरूमा देख्न सकिने डिजाइन र त्यसबाट आनन्द लिन सक्ने हाम्रो क्षमतालाई विचार गर्दा एक जना सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ भन्‍ने निष्कर्षमा थुप्रै पुगेका छन्‌। हाम्रो सृष्टिकर्ताबारे बाइबल यसो भन्छ: “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ।”—उपदेशक ३:११, NRV. (g 9/06)

      [फुटनोट]

      a रोचक कुरा, सूर्यमुखी फूलमा भने बीउहरूको घुमाउरो लहर अरू फूलहरूमा जस्तो भित्रबाट सुरु भएर बाहिर नगई पहिले बाहिरी घेराको बीउ बन्छ र क्रमशः भित्रतिर बन्दै जान्छ।

      [पृष्ठ २४, २५-मा भएको रेखाचित्र]

      १

      २

      ३

      ४

      ५

      ६

      [पृष्ठ २४-मा भएको चित्र]

      मेरिस्टिमलाई नजिकबाट नियाल्दा

      [स्रोत]

      R. Rutishauser, University of Zurich, Switzerland

      [पृष्ठ २५-मा भएको चित्रको स्रोत]

      White flower: Thomas G. Barnes @ USDA-NRCS PLANTS Database

  • सृष्टिमा विश्‍वास गरौं वा क्रमविकासमा —कुनै फरक पर्छ र?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • सृष्टिमा विश्‍वास गरौं वा क्रमविकासमा — कुनै फरक पर्छ र?

      के तपाईंलाई जीवनको कुनै उद्देश्‍य छ जस्तो लाग्छ? क्रमविकासको सिद्धान्त सही हो भने साइन्टिफिक अमेरिकन भन्‍ने पत्रिकामा लेखिएअनुसारै ‘हाम्रो जीवनको अन्तिम लक्ष्य नै अस्तित्वविहीन हुनु हो।’

      यसले के भन्‍न खोजेको हो, सो विचार गर्नुहोस्‌। जीवनको अन्तिम लक्ष्य नै अस्तित्वविहीन हुनु हो भने, जीवनको अर्थ धेरथोर असल काम गर्न प्रयास गर्नु अनि भावी पुस्तालाई आफ्ना वंशाणुगत गुणहरू सार्नु मात्र हुनेछ। अनि मृत्यु हुँदा तपाईं सदाको लागि नामेट हुनुहुनेछ। तपाईंको दिमाग अनि जीवनको उद्देश्‍यबारे सोच्ने, तर्क गर्ने अनि चिन्तन गर्ने यसको क्षमता केवल एउटा संयोग हुनेछ।

      कुरा त्यति मात्र होइन। क्रमविकासमा विश्‍वास गर्ने धेरैजसो व्यक्‍तिले परमेश्‍वरको अस्तित्व छैन वा मानिसहरूको गतिविधिमा उहाँले हस्तक्षेप गर्नुहुन्‍न भन्‍ने विश्‍वास गर्छन्‌। त्यसो हो भने, हाम्रो भविष्य राजनैतिक, बौद्धिक र धार्मिक नेताहरूको हातमा हुने भयो। विगतको इतिहासलाई हेर्ने हो भने मानव समाजलाई पिरोलिरहेको गञ्जागोल, द्वन्द्व र भ्रष्टाचार पनि यथावतै रहिरहने भयो। क्रमविकासै भएको हो भने यस्तो आशाविहीन लक्ष्य राखेर जिउनु स्वाभाविकै हुनेछ: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”—१ कोरिन्थी १५:३२.

      यो कुरासित यहोवाका साक्षीहरू सहमत छैनन्‌ किनभने यो क्रमविकासको सिद्धान्तद्वारा प्रभावित छ। बरु, यहोवाका साक्षीहरू बाइबलको कुरा सही हो भन्‍ने विश्‍वास गर्छन्‌। (यूहन्‍ना १७:१७) यसकारण मानिसको सुरुवातबारे बाइबलले बताउने कुरासित तिनीहरू सहमत छन्‌: “जीवनको मूल [परमेश्‍वरसँग] छ।” (भजन ३६:९) यी शब्दहरूको अर्थ गहन छ।

      हो, जीवनको उद्देश्‍य छ। हाम्रो सृष्टिकर्ताको इच्छाअनुसार जीवन बिताउन चाहनेहरूको लागि उहाँले एउटा मायालु उद्देश्‍य राख्नुभएको छ। (उपदेशक १२:१३) यस उद्देश्‍य अनुरूप उहाँले गञ्जागोल, द्वन्द्व र भ्रष्टाचार अनि मृत्युसमेत नहुने संसारमा जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। (यशैया २:४; २५:६-८) संसारभरि छरिएर रहेका लाखौं यहोवाका साक्षीहरू निर्धक्क भई यसो भन्‍न सक्छन्‌—परमेश्‍वरबारे सिकेर उहाँको इच्छाअनुसार चल्दा जीवन साँच्चै अर्थपूर्ण हुन्छ र अरू कुनै पनि कुराले यो दिन सक्दैन!—यूहन्‍ना १७:३.

      तपाईं जेमा विश्‍वास गर्नुहुन्छ, त्यसले अवश्‍य फरक पार्छ! किनभने यसमा अहिले तपाईंको आनन्द मात्र होइन तर भविष्यको जीवन पनि निर्भर छ। अब के रोज्ने, त्यो तपाईंकै हातमा छ। प्रकृतिमा देख्न सकिने अद्‌भुत प्रमाणहरूलाई बेकारको भनेर पन्छाउन खोज्ने सिद्धान्तलाई विश्‍वास गर्नुहुन्छ अथवा बाइबलले जे भन्छ, त्यसमा? बाइबलअनुसार पृथ्वी अनि यसमा भएका सबै जीवजीवातहरू अद्‌भुत डिजाइनर यहोवाले बनाउनुभएको हो जसले “सबै कुरा . . . सृष्टि गर्नुभएको” छ।—प्रकाश ४:११. (g 9/06)

  • के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • बाइबल के भन्छ

      के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?

      धेरै मानिसहरूको सोचाइमा सृष्टिसम्बन्धी बाइबलको विवरण र विज्ञान मेल खाँदैन। तर वास्तवमा नमिल्ने त विज्ञान र बाइबल होइन तर विज्ञान र इसाई कट्टरपन्थी भनौदा समूहहरूबीचको धारणा हो। यीमध्ये कुनै-कुनै समूह बाइबलको विवरणअनुसार सम्पूर्ण सृष्टि नै लगभग १०,००० वर्षअघि छ दिनभित्रमा गरिएको थियो भन्‍ने गलत सोचाइ राख्छन्‌।

      तर यस्तो तर्कसित बाइबल सहमत छैन। यसो हो भने त गत सय वर्षको दौडान भएका सबै वैज्ञानिक आविष्कारहरूले बाइबलको सत्यतामाथि शंका उब्जाउने थियो। बाइबललाई ध्यान दिएर केलायौं भने प्रमाणित वैज्ञानिक तथ्यहरूसित पटक्कै बाझिएको पाइँदैन। यसैकारण यहोवाका साक्षीहरू “इसाई” कट्टरपन्थी र थुप्रै सृष्टिवादीहरूका तर्कसित सहमत छैनन्‌। बाइबलले वास्तवमा के सिकाउँछ भनेर तल दिइएका केही तथ्यहरूले देखाउँछ।

      “आदिमा” तर कहिले?

      बाइबलको सुरुको पुस्तक उत्पत्तिको पहिलो हरफमै एउटा सरल तर एकदमै सशक्‍त वाक्य पाउँछौं: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) यस पदले अध्याय १ को पद ३ देखि बताइएको सृष्टिको दिन सुरु हुनुभन्दा पहिले भएका घटनाहरू उल्लेख गरेको हो भन्‍ने कुरामा बाइबलविद्‌हरू सहमत छन्‌। यहाँ भन्‍न खोजिएको कुरा गहन छ। बाइबलको सुरुको पदअनुसार हामी बसिरहेको ग्रहलगायत सारा ब्रह्‍माण्ड, सृष्टिको छ दिनभन्दा अघि अथाह समयदेखि नै अस्तित्त्वमा थियो।

      भूगर्भशास्त्रीहरूको अनुमानअनुसार पृथ्वी लगभग ४ अरब वर्षअघि बनेको हो। खगोलविद्‌हरूको अनुमानअनुसार भने यो ब्रह्‍माण्ड १५ अरब वर्ष पुरानो हुन सक्छ। अहिलेसम्म पत्ता लागेको र पछि पत्ता लाग्न सक्ने कुराहरूसित के उत्पत्ति १:१ बाझिन्छ? बाझिंदैन। बाइबलले “आकाश र पृथ्वी” ठ्याक्कै कति वर्षअघि बनेका हुन्‌ भनेर बताएको छैन। बाइबलको यस विवरणलाई विज्ञानले खण्डन गर्न सक्दैन।

      सृष्टिको दिन कति लामो थियो?

      सृष्टिको दिन कति लामो थियो? के त्यो साँच्चै २४ घण्टे दिन थियो? उत्पत्तिको पुस्तकका लेखक मोशाले सृष्टिका छ दिनलाई नै आधार मानेर हरेक हप्ता सातौं दिनमा मनाइने विश्राम दिनबारे बताएका थिए। यसकारण सृष्टिका दिनहरू पनि साँच्चै २४ घण्टे दिन हुनुपर्छ भनेर कोही-कोही बताउँछन्‌। (प्रस्थान २०:११) के उत्पत्तिको पुस्तकमा दिइएको विवरण यो कुरासित मिल्छ?

      अहँ, मिल्दैन। “दिन” भनेर अनुवाद गरिएको हिब्रू शब्दले २४ घण्टे समयावधिलाई मात्र नभई अरू समयावधिलाई पनि बुझाउन सक्छ। उदाहरणका लागि, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै थोकलाई समेट्‌दै मोशाले सृष्टिको छ दिनलाई नै एक दिन भनेका छन्‌। (उत्पत्ति २:४) त्यसकारण सृष्टिको प्रत्येक दिन २४ घण्टा लामो थियो भनेर आफूखुसी निष्कर्षमा पुग्ने आधार बाइबलमा पाइँदैन।

      त्यसोभए सृष्टिको दिन कति लामो थियो? उत्पत्ति अध्याय १ र २ को शब्द केलाउँदा निकै लामो समयावधि हुनुपर्छ भनेर बुझ्न सक्छौं।

      एकपछि अर्को सृष्टि गरियो

      मोशाले यी सबै विवरण हिब्रू भाषामा र त्यो पनि सामान्य मानिसले बुझ्नसक्ने ढंगमा लेखेका थिए। यी दुइटा कुरा अनि सृष्टिको “दिन” सुरु हुनुअघि नै ब्रह्‍माण्ड सृष्टि भइसकेको थियो भनेर थाह पाउँदा सृष्टिको विवरणसित मुछिएका प्रायजसो विवाद स्पष्ट पार्न सकिन्छ। कसरी?

      उत्पत्तिको विवरणलाई ध्यान दिएर केलायौं भने पहिलो ‘दिनमा’ सुरु भएका घटनाहरू त्यसपछिका दिनहरूमा पनि चलिरहेका थिए भन्‍ने देखिन्छ। उदाहरणका लागि, सृष्टिको पहिलो “दिन” सुरु हुनुअघि नै सूर्य सृष्टि भइसकेको भए तापनि बाक्लो बादलले छेकेको कारण यसको प्रकाश पृथ्वीसम्म पुग्न सकेको थिएन। (अय्यूब ३८:९) पहिलो “दिन” बादल हट्‌न थाल्यो जसले गर्दा सूर्यको प्रकाश वायुमण्डललाई छेडेर पृथ्वीसम्म पुग्न सम्भव भयो।a

      दोस्रो “दिन” बाक्लो बादल हट्‌दै गयो अनि माथिको बादल र तलको समुद्र छुट्टियो। चौथो “दिन” बाक्लो बादल निकै हटिसकेको हुँदा “आकाशको अन्तरमा” सूर्य र चन्द्र प्रस्टै देखियो। (उत्पत्ति १:१४-१६) अर्को शब्दमा भन्‍ने हो भने, पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र स्पष्ट देखियो। यी घटनाहरू एकपछि अर्को गर्दै भएका थिए।

      उत्पत्तिको विवरणले बताएअनुसार आकाश खुल्दै गएपछि उड्‌ने र जमिनमा हिंड्‌ने कीरालगायत किसिम-किसिमका उड्‌ने प्राणीहरू पाँचौं ‘दिनमा’ देखा पर्न थाले। तर बाइबलले बताएझैं परमेश्‍वरले छैटौं ‘दिनमा’ पनि “सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट” बनाइरहनुभएको थियो।—उत्पत्ति २:१९.

      त्यसैले कुरा स्पष्ट छ, बाइबलमा प्रयोग भएको भाषालाई केलाउने हो भने सृष्टिको समयावधि अर्थात्‌ एक ‘दिनमा’ भएका केही ठूलठूला घटनाहरू एकै क्षणमा भएको नभई एकपछि अर्को गर्दै बिस्तारै भएका हुन्‌ र कुनै-कुनै घटना त सृष्टिको अरू ‘दिनसम्म’ चलिरहेको हुन सक्छ।

      आफ्ना-आफ्नै किसिमका

      यसरी एकपछि अर्को गर्दै बोटबिरुवा र जनावरहरू देखा परेको हुँदा विभिन्‍न प्रकारका जीवजन्तुहरू बनाउन परमेश्‍वरले क्रमविकासको सहारा लिनुभयो भन्‍न मिल्छ र? अहँ, मिल्दैन। बाइबलमा स्पष्टसित बताइएको छ, परमेश्‍वरले सबै वनस्पति र जनावरहरूको मुख्य-मुख्य “किसिम” सृष्टि गर्नुभयो। (उत्पत्ति १:११, १२, २०-२५) तर यी वनस्पति तथा जनावरहरूको मुख्य-मुख्य ‘किसिमलाई’ पछि वातावरण सँगसँगै परिवर्तन हुने गरी बनाउनुभएको थियो कि? एउटा “किसिमको” वनस्पति वा जन्तुभित्र कतिसम्म परिवर्तन हुन सक्छ? यसबारे पनि बाइबलले बताएको छैन। तर ‘किसिम-किसिमका सबै जीवित प्राणीले भरियो’ चाहिं भनिएको छ। (उत्पत्ति १:२१) यसबाट के बुझिन्छ भने, एउटै “किसिम” भित्र पनि अरू कति किसिम हुन सक्छ, त्यसको सीमा छ। जीवावशेषको (फोसिल) रेकर्ड र वर्तमान अनुसन्धान एउटा कुरामा भने सहमत छ, बितेको अनगन्ती समयको दौडान वनस्पति र जनावरहरूको मुख्य-मुख्य किसिममा खासै कुनै परिवर्तन आएको छैन।

      कोही-कोही कट्टरपन्थीहरूले दाबी गरेझैं पृथ्वी र यसमा भएका सबै जीवित प्राणीहरू लगायत ब्रह्‍माण्ड केही हजार वर्षअघि मात्र बनेको हुनुपर्छ भनेर उत्पत्तिको विवरणले सिकाउँदैन। ब्रह्‍माण्डको सृष्टि र पृथ्वीमा जीवनको सुरुवातबारे उत्पत्तिको विवरण हालै पत्ता लागेका थुप्रै वैज्ञानिक तथ्यहरूसित मेल खान्छ।

      थुप्रै वैज्ञानिकहरू आफ्नो दार्शनिक सोचाइले गर्दा परमेश्‍वरले नै सबै कुरा सृष्टि गर्नुभयो भन्‍ने तथ्यलाई इन्कार गर्छन्‌। तर रोचक कुरा के छ भने, बाइबलको पुरानो किताब उत्पत्तिमा मोशाले ब्रह्‍माण्डको सुरुवात थियो र समयको दौडान एकपछि अर्को गर्दै पृथ्वीमा जीवहरूको सृष्टि भयो भनी लेखे। मोशाले यो वैज्ञानिक तवरमा सही जानकारी लगभग ३,५०० वर्षअघि नै कसरी पाउन सके? यसको चित्तबुझ्दो जवाफ एउटै मात्र हुन सक्छ। आकाश र पृथ्वी सृष्टि गर्ने शक्‍ति तथा बुद्धि भएको व्यक्‍तिले नै मोशालाई वैज्ञानिक तवरमा सही त्यो जानकारी दिएको हुनुपर्छ। यसले गर्दा बाइबल “परमेश्‍वरबाट प्रेरणा” भएको हो भनेर झनै प्रस्ट हुन्छ।—२ तिमोथी ३:१६. (g 9/06)

      [फुटनोट]

      a पहिलो “दिन” भएका कुराहरूको विवरणमा हिब्रू शब्द ओर प्रयोग गरिएको छ र यसले साधारणतया प्रकाशलाई बुझाउँछ। तर चौथो ‘दिनको’ विवरणमा भने माओर शब्द प्रयोग गरिएको छ जसको अर्थ हो, प्रकाशको स्रोत।

      के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

      ▪ परमेश्‍वरले ब्रह्‍माण्ड कहिले सृष्टि गर्नुभयो?—उत्पत्ति १:१.

      ▪ के पृथ्वी साँच्चै छ दिनमा सृष्टि गरिएको थियो?—उत्पत्ति २:४.

      ▪ पृथ्वीको सुरुवातबारे मोशाको विवरण कसरी वैज्ञानिक तवरमा सही हुन सक्यो?—२ तिमोथी ३:१६.

      [पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]

      उत्पत्तिको विवरणले ब्रह्‍माण्ड केही हजार वर्षअघि छोटो समयावधिभित्र सृष्टि गरिएको हो भनेर सिकाउँदैन

      [पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” —उत्पत्ति १:१

      [पृष्ठ १८-मा भएको चित्रको स्रोत]]

      Universe: IAC/RGO/David Malin Images

      [पृष्ठ २०-मा भएको चित्रको स्रोत]

      NASA photo

  • क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने?
    ब्यूँझनुहोस्‌!—२००६ | अक्टोबर
    • युवाहरू सोध्छन्‌ . . .

      क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने?

      “क्लासमा क्रमविकासबारे पढाइँदा त्यो आफूले अहिलेसम्म सिकेको कुराभन्दा एकदमै फरक थियो। क्रमविकास साँच्चै भएजस्तो गरी बताइयो अनि मलाई त्यसमा विश्‍वास लाग्दैन भनेर बताउन असाध्यै डर लाग्यो।”—रायन, १८ वर्ष।

      “म १२ वर्ष जतिको हुँदा मलाई पढाउने मिस क्रमविकासको कट्टर समर्थक हुनुहुन्थ्यो। उहाँले आफ्नो गाडीमा क्रमविकासको स्टिकरसमेत टाँस्नुभएको थियो! त्यसैले म सृष्टिमा विश्‍वास गर्छु भनेर बताउनै कस्तो-कस्तो लाग्यो।” —टाइलर, १९ वर्ष।

      “हामीलाई सामाजिक शिक्षा पढाउने मिसले अब क्रमविकासबारे पढ्‌ने भन्‍नुहुँदा म त झसङ्‌गै भएँ। यस विवादास्पद विषय पढ्‌दा म कुन कुरामा विश्‍वास गर्छु भनेर क्लासमा सबैको अगाडि बताउनुपर्नेछ भनेर मलाई थाह थियो।” —राकेल, १४ वर्ष।

      रायन, टाइलर र राकेललाई जस्तै क्लासमा क्रमविकासबारे पढाइँदा तपाईंलाई पनि अप्ठ्यारो लाग्छ होला। किनभने ‘सबै कुरा परमेश्‍वरले सृष्टि गर्नुभएको हो’ भन्‍ने तपाईं विश्‍वास गर्नुहुन्छ। (प्रकाश ४:११) आफ्नो वरपर देखिने कुरामा एक जना बुद्धिमान्‌ रचनाकार हुनुपर्छ भन्‍ने प्रशस्त प्रमाण पाउनुहुन्छ। तर स्कूलको किताबले भने हामी क्रमविकास भएर आयौं भनी सिकाउँछ अनि शिक्षकहरू पनि त्यसै भन्छन्‌। यस्तो “जान्‍ने बुझ्ने” व्यक्‍तिहरूको अगाडि केही बोल्दा अरूले बडो जान्‍ने भयो भन्लान्‌ जस्तो लाग्न सक्छ। अनि यो उमेरमा भगवानबारे कुरा गऱ्‍यो भने साथीहरूले के भन्‍ने होलान्‌?

      यस्ता प्रश्‍नहरूले तपाईंलाई पिरोलिरहेको छ भने पीर नमान्‍नुहोस्‌! सृष्टिमा विश्‍वास गर्ने व्यक्‍ति तपाईं मात्र होइन। क्रमविकासमा विश्‍वास नगर्ने वैज्ञानिकहरू पनि थुप्रै छन्‌। थुप्रै शिक्षकहरूले पनि यसमा विश्‍वास गर्दैनन्‌। अमेरिकाकै कुरा गर्ने हो भने पनि, ५ जना विद्यार्थीमध्ये ४ जनाले क्रमविकासमा विश्‍वास गर्दैनन्‌ जबकि स्कूलको किताबले भने क्रमविकासबारे नै सिकाउँछ।

      तैपनि तपाईंको मनमा प्रश्‍न उठ्‌ला: ‘म क्रमविकासमा विश्‍वास गर्दिनँ तर सृष्टिमा विश्‍वास गर्छु भनेर कसरी भन्‍ने?’ तपाईंलाई डर लागिरहेको छ भने नआत्तिनुहोस्‌। तपाईं निर्धक्क भएर आफ्नो कुरा बताउन सक्नुहुन्छ। तर यसको लागि तपाईंले केही तयारी भने गर्नुपर्छ।

      पहिला आफै पक्का हुनुहोस्‌!

      तपाईंका आमाबाबु यहोवाको साक्षी हुनुहुन्छ भने उहाँहरूले सिकाएको भरमा तपाईं सृष्टिमा विश्‍वास गर्नुहुन्छ होला। तर अब तपाईं हुर्कंदै हुनुहुन्छ र आफ्नो विश्‍वासको बलियो जग बसाल्दै आफ्नै “तर्कशक्‍तिले” परमेश्‍वरको उपासना गर्न चाहनुहुन्छ। (रोमी १२:१, NW) पावलले प्रथम शताब्दीका मसीहीहरूलाई “सबै कुराको जाँच गर” भनी प्रोत्साहन दिए। (१ थिस्सलोनिकी ५:२१) सृष्टिमा आफ्नो विश्‍वासलाई तपाईं कसरी जाँच्न सक्नुहुन्छ?

      पहिला, परमेश्‍वरबारे पावलले के लेखे, त्यो विचार गर्नुहोस्‌: “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह” पाइन्छ। (रोमी १:२०) यसलाई मनमा राख्दै हाम्रो शरीर, पृथ्वी, विशाल ब्रह्‍माण्ड र समुद्रलाई विचार गर्नुहोस्‌। कीरा-फट्याङ्‌ग्रा, बोटबिरुवा, जनावर—यीमध्ये तपाईंलाई कुन चाहिं रोचक लाग्छ, त्यसलाई विचार गर्नुहोस्‌। अनि आफ्नो “तर्कशक्‍ति” चलाएर आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌, ‘सृष्टिकर्ता हुनुहुन्छ भनेर मैले विश्‍वास गर्नुको कारण के हो?’

      यस प्रश्‍नको जवाफ दिन १४ वर्षीय साम मानव शरीरलाई नियाल्छन्‌। उनी यसो भन्छन्‌: “मानिसको शरीर एकदमै जटिल छ र यसका सबै भागहरू मिलेर काम गर्छ। यस्तो मानव शरीर क्रमविकास भएर बनेको हुन सक्दैन!” यो कुरामा सहमत हुँदै १६ वर्षीया हली भन्छिन्‌: “मलाई डायबिटिज भएको पत्ता लागेदेखि, शरीरका विभिन्‍न अङ्‌गहरूले के-कस्तो काम गर्छन्‌ भनेर मैले धेरै कुरा सिकेकी छु। जस्तै हाम्रो पेटमा हुने प्याङ्‌क्रियाजजस्तो सानो अङ्‌गले रगत र अरू अङ्‌गहरूलाई चालु हालतमा राख्न कति धेरै काम गर्छ, अचम्मै लाग्छ।”

      अरू जवानहरूले भने बेग्लै पक्षलाई विचार गर्छन्‌। उन्‍नाइस वर्षीय जारेड भन्छन्‌, “मेरो लागि सबैभन्दा ठूलो प्रमाण, मानिससित हुने आध्यात्मिक झुकाव हो। साथै, मानिससित सिक्ने चाहना हुन्छ र उसले सौन्दर्यको आनन्द उठाउन पनि सक्छ। बाँच्नको लागि यी गुणहरू चाहिंदैन तर क्रमविकासको सिद्धान्तले भने चाहिन्छ भन्छ। मलाई चित्त बुझ्ने एउटै मात्र कुरा छ। त्यो हो, हामीले जीवनको आनन्द उठाओस्‌ भनेर कसैले हामीलाई यस पृथ्वीमा राखेको हुनुपर्छ।” सुरुमा बताइएको टाइलर पनि यस्तै निष्कर्षमा पुगेका छन्‌। “जीवन धान्‍न बोटबिरुवाले खेल्ने भूमिका र तिनीहरूको बुझ्नै नसकिने जटिलताबारे विचार गर्दा, सृष्टिकर्ता पक्कै हुनुहुन्छ भनेर मलाई विश्‍वास लाग्छ।”

      तपाईंले राम्रोसित सोचविचार गर्नुभएको छ अनि आफू विश्‍वस्त हुनुहुन्छ भने सृष्टिबारे बताउन सजिलो हुन्छ। त्यसकारण साम, हली, जारेड र टाइलरले जस्तै परमेश्‍वरको सृष्टिमा देखिने अद्‌भुत कुराहरू हेर्न र विचार गर्न समय निकाल्नुहोस्‌। यसो गर्नुभएपछि तपाईं पक्कै पनि प्रेरित पावलजस्तै निष्कर्षमा पुग्नुहुनेछ—“उहाँको कामद्वारा” परमेश्‍वरको अस्तित्वबारे मात्र होइन तर उहाँका गुणहरू पनि बुझ्न सकिन्छ।a

      बाइबलले वास्तवमा के सिकाउँछ, सो जान्‍नुहोस्‌

      सृष्टि नै भएको हो भनेर बताउनको लागि परमेश्‍वरले बनाउनुभएका कुराहरूलाई नियालेर हेर्नुको अलावा यस विषयमा बाइबल के भन्छ भनेर थाह पाउनु पनि जरुरी छ। बाइबलले स्पष्टसित नबताएका कुराहरूमा वादविवाद गरिरहनु पर्दैन। यहाँ दिइएका केही उदाहरण विचार गर्नुहोस्‌:

      ◼ मेरो विज्ञान किताबले त सौर्यमण्डल बनेको अरबौं वर्ष भइसक्यो भन्छ। पृथ्वी वा सौर्यमण्डल कति वर्ष पहिले बनेका हुन्‌ भनेर बाइबलले बताएको छैन। सृष्टिको पहिलो “दिन” सुरु हुनुभन्दा अरबौं वर्षअघि नै ब्रह्‍माण्ड बनेको हुन सक्छ भन्‍ने कुरा बाइबलसित बाझिंदैन।—उत्पत्ति १:१, २.

      ◼ मेरो शिक्षक भन्‍नुहुन्छ, साँच्चैको छ दिनमा पृथ्वी सृष्टि भएको हुनै सक्दैन। बाइबलले सृष्टिको छ “दिन” साँच्चैको २४ घण्टे दिन थियो भनेर बताउँदैन। थप जानकारीको लागि यसै पत्रिकाको पृष्ठ १८-२० हेर्नुहोस्‌।

      ◼ समय बित्दै जाँदा जनावर र मानिसमा कस्ता परिवर्तनहरू भए भनेर क्लासमा हामीले थुप्रै उदाहरण छलफल गऱ्‍यौं। परमेश्‍वरले “जात जातका” जीवित प्राणीहरू बनाउनुभयो भनेर बाइबल बताउँछ। (उत्पत्ति १:२०, २१) निर्जीव कुराबाट जीवनको सुरुवात भयो वा परमेश्‍वरले एउटा कोषद्वारा क्रमविकासको प्रक्रिया सुरु गर्नुभयो भनेर बाइबल बताउँदैन। तैपनि प्रत्येक ‘जातभित्र’ विभिन्‍न प्रजातिहरू हुन सक्छन्‌। त्यसकारण बाइबलको विवरणअनुसार हेर्ने हो भने प्रत्येक ‘जातमा’ अलि-अलि परिवर्तन हुन सक्छ।

      आफूले विश्‍वास गर्ने कुरामा निर्धक्क हुनुहोस्‌!

      सृष्टिमा विश्‍वास गर्छु भनेर बताउन अप्ठ्यारो वा लाज मान्‍नुपर्ने कारण छैन। प्राप्त प्रमाणहरू विचार गर्दा सृष्टिमा विश्‍वास गर्नु एकदमै व्यावहारिक छ। भनौं भने, एक जना बुद्धिमान्‌ डिजाइनरले हामीलाई बनाउनुभएको हो भनेर विश्‍वास गर्नु वैज्ञानिक प्रमाणसित मिल्छ। त्यसकारण, सृष्टि होइन तर क्रमविकासलाई मान्‍न ठूलो विश्‍वास चाहिन्छ अनि चमत्कार गर्ने व्यक्‍ति नभए तापनि चमत्कार भयो भनेर पत्याउनुपर्ने हुन्छ। यस पत्रिकाका अरू लेखहरू पढिसक्नुभएपछि भने प्राप्त प्रमाण सृष्टिसित मेल खान्छ भनेर तपाईं विश्‍वस्त हुनुहुनेछ। अनि आफ्नो तर्कशक्‍ति चलाएर सोचविचार गर्नुभएपछि क्रमविकासमा होइन तर सृष्टिमा विश्‍वास गर्छु भनेर साथीहरूको अगाडि निर्धक्क भई बताउन सक्नुहुनेछ।

      सुरुमा बताइएकी राकेललाई यस्तै भयो। उनी भन्छिन्‌: “आफू कुन कुरामा विश्‍वास गर्छु भनेर अरूलाई नबताई बस्नु हुँदैन भन्‍ने निष्कर्षमा पुग्न मलाई केही दिन लाग्यो। लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? भन्‍ने पुस्तक मैले आफ्नो मिसलाई दिएँ अनि यसमा दिइएका मुख्य-मुख्य कुरा नछुटोस्‌ भनेर ठाउँ-ठाउँमा चिह्न पनि लगाइदिएँ। यो पुस्तक पढेपछि क्रमविकासको सिद्धान्तलाई अर्कै पक्षबाट हेर्न सकेको र पछि क्लासमा सिकाउँदा यसमा दिइएको जानकारी पनि समावेश गर्नेछु भनी उहाँले बताउनुभयो!” (g 9/06)

      “युवाहरू सोध्छन्‌ . . . ” भन्‍ने शृङ्‌खलाका अन्य लेखहरू www.watchtower.org/ype वेबसाइटमा हेर्न सक्नुहुन्छ।

      [फुटनोट]

      a थुप्रै जवानहरूले यी प्रकाशनहरूमा दिइएको जानकारी राम्ररी केलाउँदा कुरा अझ प्रस्टसित बुझेका छन्‌: लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? र इज देअर अ क्रिएटर हु क्येर्स अवाउट यू? यी दुवै किताब यहोवाका साक्षीहरूले प्रकाशित गरेका हुन्‌।

      एकछिन सोच्नुहोस्‌

      ◼ सृष्टिमा विश्‍वास गर्छु भनेर कुनै अप्ठ्यारो नमानी स्कूलमा कसरी बताउन सक्नुहुन्छ?

      ◼ सबै कुरा सृष्टि गर्नुहुने व्यक्‍तिप्रति तपाईं कसरी कृतज्ञता देखाउन सक्नुहुन्छ?—प्रेरित १७:२६, २७.

      [पृष्ठ २७-मा भएको पेटी]

      “प्रशस्त प्रमाण छ”

      “सृष्टिकर्ता हुनुहुन्छ भनेर सानैदेखि सिकाइएको तर अब स्कूलमा भने क्रमविकासबारे सिक्नु परेको विद्यार्थीलाई तपाईं के भन्‍नुहुन्छ?” यो प्रश्‍न एक जना माइक्रोबायोलजिस्टलाई सोधिएको थियो जो यहोवाका साक्षी हुन्‌। उनी के भन्छिन्‌? “आमाबाबुले सानैदेखि सिकाएकोले मात्र होइन तर आफैले प्रमाण जाँचेको आधारमा सृष्टिकर्ता साँच्चै हुनुहुन्छ भनेर देखाउने एउटा मौका ठान्‍नुपर्छ। शिक्षकहरूले क्रमविकासको सिद्धान्त ‘प्रमाणित’ गरेर देखाउनु पर्दा तिनीहरू त्यसो गर्न सक्दैनन्‌ अनि कसैले सिकाएकोले मात्र यो सिद्धान्तलाई विश्‍वास गरेको भन्छन्‌। तपाईं सृष्टिमा विश्‍वास गर्छु भन्‍नुहोला तर कसैले सिकाएको भरमा मात्र विश्‍वास गरिरहनुभएको हुन सक्छ। त्यसकारण परमेश्‍वर साँच्चै हुनुहुन्छ भनेर पक्का हुन तपाईंले गर्नुभएको प्रयास बेकार जानेछैन। प्रशस्त प्रमाण छ। अनि प्रमाण भेट्टाउन गाह्रो छैन।”

      [पृष्ठ २८-मा भएको पेटी/चित्र]

      कुन कुराले गर्दा तपाईं विश्‍वस्त हुनुहुन्छ?

      सृष्टिकर्ता साँच्चै हुनुहुन्छ भनेर तपाईं विश्‍वस्त हुन सक्ने तीन वटा कुरा तल लेख्नुहोस्‌:

      १. ․․․․․․․․․․

      २. ․․․․․․․․․․

      ३. ․․․․․․․․․․

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने