हाम्रो अभिलेखालयबाट
न्युजिल्यान्डका यहोवाका साक्षीहरू—शान्तिप्रिय र समर्पित ख्रिष्टियनहरू
अक्टोबर २१, १९४० मा न्युजिल्यान्ड सरकारले यहोवाका साक्षीहरूको सङ्गठन सरकार र समाजको लागि खतरनाक सङ्गठन हो भनेर घोषणा गऱ्यो। सरकारको यस घोषणाले गर्दा थुप्रै कठिनाइ भोग्नुपरे पनि यहोवाका साक्षीहरू पछि हटेनन्। जस्तै, अख्तियारवालाहरूले छापा मार्ने र पक्राउ गर्ने खतरा भए पनि तिनीहरू उपासनाको लागि एक ठाउँमा भेला हुन छोडेनन्।
एन्डी क्लर्ककी पत्नी मेरी यहोवाको साक्षी थिइन् तर तिनी भने यहोवाको साक्षी थिएनन्। जस्तोसुकै खतरा भए पनि आफ्नी पत्नी सभाहरूमा उपस्थित हुन दृढ छिन् भन्ने कुरा तिनले याद गरे। सभामा जाँदा उनी पक्राउ पर्ने हुन् कि भनेर तिनलाई चिन्ता लागेको थियो। पहिला एन्डी खासै हाम्रा सभाहरूमा जाँदैन थिए तर त्यस बेलादेखि तिनी मेरीसितै सभामा जान थाले। तिनले मेरीलाई यसो भने: “ठीक छ, यदि उनीहरूले तिमीलाई पक्राउ गर्न खोजे भने म पनि तिमीसितै जेल जानेछु।” यसरी एन्डी आफ्नी पत्नीसितै नियमित रूपमा सभामा जान थाले र पछि बप्तिस्मा गरेर साक्षी पनि भए। दोस्रो विश्वयुद्धको दौडान न्युजिल्यान्डका थुप्रै साक्षीले बहिनी मेरीले जस्तै खेदोको बाबजुद परमेश्वरप्रति वफादार रहने सङ्कल्प गरेका थिए।
बन्दीगृहमा वृद्धि
एक दिन ७८ वर्षीय जोन मर्रेलाई घरघरमा गएर बाइबलबारे कुरा गरिरहेको बेला प्रहरीले पक्राउ गरे। अदालतले तिनलाई खतरनाक सङ्गठनको गतिविधिमा भाग लिएको आरोपमा दोषी ठहर गऱ्यो। अरू थुप्रै साक्षीलाई अदालतसामु उभ्याइयो; तिनीहरूमध्ये केहीलाई जरिबाना तिर्न लगाइयो र अरूलाई भने तीन महिनाको लागि जेल सजाय दिइयो। तिनीहरूमध्ये कतिपय त थुप्रै चोटि पक्राउ परे।
आफ्नो बाइबल प्रशिक्षित अन्तस्करणले गर्दा साक्षीहरूले सैन्य सेवामा भाग लिन इन्कार गरे। (यसैया २:४) त्यसैले युद्धको दौडान तिनीहरूलाई सेनामा भर्ती हुन बोलाइँदा तिनीहरूले थुप्रै गाह्रो परिस्थितिको सामना गर्नुपऱ्यो। तिनीहरूलाई सैन्य सेवाको लागि तालिम दिइएन तर लगभग ८० जना साक्षीलाई युद्धको अवधिभरि बन्दीगृहमा पठाइयो। कठोर दुर्व्यवहार अनि कठ्याङ्ग्रिने जाडोको बाबजुद त्यहाँ पनि ती भाइहरूले आनन्दित भई यहोवाको उपासना गरिरहे।
बन्दीगृहमा भएका साक्षीहरूले तुरुन्तै आध्यात्मिक गतिविधिहरू सुरु गरिहाले। तिनीहरूले मण्डलीको रूपमा नियमित सभाहरू सञ्चालन गरे अनि अरू कैदीहरूलाई साक्षी दिने प्रबन्ध मिलाए। कुनै-कुनै बन्दीगृहमा त साक्षीहरूलाई एक जना गार्डको निगरानीमा सम्मेलनहरू गर्न पनि अनुमति दिइयो। केही कैदीहरूले बन्दीगृहमा सत्य सिके अनि त्यहीँ बप्तिस्मा पनि गरे।
बन्दीगृहमा भएका साक्षीहरू ईश्वरतान्त्रिक सेवा स्कुल सञ्चालन गर्दै
अगाडि उल्लेख गरिएका मेरी र एन्डीको कान्छो छोरा ब्रुसले बन्दीगृहमा बिताएको समयलाई आध्यात्मिक कुराहरू सिक्ने मौकाको रूपमा हेरे। तिनी यसरी सम्झन्छन्, “मेरो लागि त त्यो स्कुल जानुजस्तै थियो किनभने त्यहाँ मैले अनुभवी भाइहरूसित बाइबलका गहिरा विषयहरूमा कुराकानी गर्ने अनि उहाँहरूबाट सिक्ने मौका पाएँ।”
सन् १९४४ मा सरकारले बन्दीगृहमा पठाइएका कोही-कोहीलाई रिहा गर्ने कुरा विचार गऱ्यो। तर सैन्य अधिकारीहरूले त्यसलाई समर्थन गरेनन्। किनभने साक्षीहरूलाई रिहा गरियो भने उनीहरूले पक्कै आफ्नो विश्वासबारे अरूसित कुरा गर्न छोड्नेछैनन् भनेर तिनीहरूलाई थाह थियो। तिनीहरूले पेस गरेको रिपोर्टमा यस्तो लेखिएको थियो: “कैदको सजायले यी कट्टरपन्थीहरूको काम केही हदसम्म रोक्न सके तापनि तिनीहरूलाई परिवर्तन भने कहिल्यै गर्न सक्नेछैन।”
तिनीहरू समाजको लागि खतरनाक थिएनन्
साक्षीहरूको काममा प्रतिबन्ध लगाइएकोले केही मानिसले यहोवाका साक्षीहरूको विषयमा चासो लिन थाले। समयको अन्तरालमा थुप्रैले यहोवाका साक्षीहरू समाजको लागि खतरनाक होइनन्, बरु तिनीहरू शान्तिप्रिय ख्रिष्टियनहरू हुन् भनेर बुझे। परिणामस्वरूप सन् १९३९ मा न्युजिल्यान्डमा भएका ३२० जना साक्षीको सङ्ख्या सन् १९४५ मा बढेर ५३६ पुग्यो।
त्यही समयतिर खुला विचारधारा भएका अधिकारीहरूले यहोवाका साक्षीहरूमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको याद गरे। एक जना न्यायाधीशले साक्षीकार्यमा भाग लिएकोले पक्राउ परेका एक भाइविरुद्ध पेस गरिएका प्रमाणहरू केलाएपछि त्यो मुद्दा रद्द गरिदिए। तिनले यसो भने: “बाइबल वितरण गरेकै आधारमा कसैलाई अपराधी ठहराउन मेरो मनले दिँदैन र जहाँसम्म मैले कानुनलाई बुझेको छु, यो अपराध हुनै सक्दैन।”
युद्धको अन्तमा प्रतिबन्ध हटेपछि साक्षीहरू आफ्ना छिमेकीहरूलाई परमेश्वरको राज्यबारे सिकाउन दृढ भए। सन् १९४५ मा न्युजिल्यान्डका सम्पूर्ण मण्डलीहरूका लागि शाखा कार्यालयले पठाएको पत्रमा यस्तो लेखिएको थियो: “हामी सबैप्रति विवेकी, मित्रैलो अनि दयालु होऔँ। विवाद अनि कलहमा नमुछिऔँ। याद गर्नुहोस्, हामीले भेट्ने मानिसहरू आफ्नो धर्मले सिकाउने कुरामा विश्वास गर्छन् र त्यसैअनुसार जिउन कटिबद्ध छन्। . . . तिनीहरूमध्ये धेरै जना प्रभुको ‘भेडा’ हुन्, जसलाई हामीले यहोवा र उहाँको राज्यतर्फ डोऱ्याउनुपर्छ।”
अहिले न्युजिल्यान्डका यहोवाका साक्षीहरूले स्थानीय बासिन्दाहरू अनि पर्यटकहरूलाई बाइबलको सन्देश सुनाइरहेका छन्। एकदिनको कुरा हो, टुरङ्गीमा ४ जना साक्षीको एउटा समूहले १७ वटा देशबाट आएका ६७ जना व्यक्तिसित केही घण्टामै कुरा गरे।
स्पष्ट छ, न्युजिल्यान्डका मानिसहरूले यहोवाका साक्षीहरू शान्तिप्रिय अनि बाइबल सत्यअनुरूप जीवन बिताउने समर्पित ख्रिष्टियनहरू हुन् भनेर बुझेका छन्। हरेक वर्ष सयौँ मानिस बप्तिस्मा गरेर यहोवाको साक्षी बन्छन्। सन् २०१९ सम्ममा १४,००० भन्दा धेरै साक्षीले आनन्दित भई यो दक्षिणी मुलुकमा यहोवाको सेवा गरिरहेका थिए।