बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
“मेरो लागि मार्सल आर्टस् नै सबथोक थियो”
जन्म मिति: १९६२
जन्म स्थान: अमेरिका
पृष्ठभूमि: मार्सल आर्टस्मा डुबेका
मेरो विगत
मलाई मार्सल आर्टस् एकदमै मन पर्थ्यो। एकचोटि मार्सल आर्टस् खेल्ने बेलामा मैले आफूसित अभ्यास गर्ने साथीलाई हिर्काउँदा उसको नाकमा बेस्सरी चोट लाग्यो। यो घटनाले गर्दा मलाई यसरी अरूलाई चोट दिने खेलमा भाग लिनु ठीक होला कि नहोला भनेर मनमा शङ्का लाग्न थाल्यो। यही घटनाले गर्दा मैले धेरै वर्षसम्म खेलिरहेको मार्सल आर्टस् छोड्ने निर्णय गरेँ। तर त्योभन्दा पहिला मैले कसरी मार्सल आर्टस् खेल्न थालेँ, त्यो बताउन चाहन्छु।
मेरो जन्म अमेरिकाको न्यु योर्कको बफलोनजिकै भएको थियो। हाम्रो परिवार सुखी थियो र हामी क्याथोलिक धर्म मान्थ्यौँ। त्यसैले मलाई क्याथोलिक स्कुलमा पढ्न पठाइयो। म पादरीहरूलाई चर्चको सेवामा सघाउने काम पनि गर्थेँ। दिदी र म जीवनमा सफल भएको आमाबुबा चाहनुहुन्थ्यो। स्कुलमा राम्रो नम्बर ल्याउने हो भने आमाबुबाले मलाई स्कुलपछि खेलहरू खेल्न र पार्ट-टाइम जागिर खान पनि दिनुहुन्थ्यो। यसले गर्दा मैले सानैदेखि अनुशासनमा बस्न सिकेँ।
मैले १७ वर्षको उमेरदेखि मार्सल आर्टस् सिक्न थालेँ। म हरेक दिन तीन घण्टा अभ्यास गर्थेँ, त्यो पनि हप्ताको छ दिन। यसबाहेक अझ सिपालु हुनको लागि म एक्लै छँदा पनि घण्टौँ विभिन्न टेक्निकहरू अभ्यास गर्थेँ अनि नयाँ-नयाँ तरिका सिक्न भिडियो पनि हेर्थेँ। आँखामा पट्टी र हातमा धारिलो हतियार बोकेर अभ्यास गर्न पनि मलाई खुबै मज्जा लाग्थ्यो। म यत्ति सिपालु भइसकेको थिएँ कि म चाङका चाङ फल्याक र इँटाहरू हातैले फोर्न सक्थेँ। पछि म उत्कृष्ट खेलाडी बन्न सकेँ र मैले थुप्रै ट्रफी जितेँ। मेरो लागि मार्सल आर्टस् नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो।
मैले जीवनमा ठूलो सफलता हासिल गरेँ जस्तो लाग्थ्यो। मैले विश्वविद्यालयबाट राम्रो अङ्क ल्याएर पढाइ पूरा गरेको थिएँ। त्यसपछि मैले ठूलो कम्पनीमा कम्प्युटर इन्जिनियरको रूपमा काम गरेँ। कम्पनीले मलाई थुप्रै सुविधा र एउटा ठूलो घर पनि दिएको थियो। मेरो एउटी राम्री गर्लफ्रेन्ड पनि थिइन्। बाहिरबाट हेर्दा मेरो जीवन साँच्चै सफल देखिन्थ्यो तर मेरो मनमा भने जीवनसम्बन्धी थुप्रै प्रश्न थिए।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
मेरो मनमा थुप्रै प्रश्न थिए। त्यसैले म हप्ताको दुई चोटि चर्च जान थालेँ अनि प्रार्थना पनि गरेँ। यस्तै सिलसिलामा मेरो एउटा साथीसित कुराकानी पनि भयो। मैले त्यो साथीलाई सोधेँ: “हाम्रो जीवनको उद्देश्य के हो? अहिले किन यत्ति धेरै समस्या छन् अनि अन्याय किन हुन्छ?” त्यो साथीले मलाई तिनको मनमा पनि पहिला यस्तै प्रश्नहरू आएको थियो भनेर जवाफ दिए। तर तिनले बाइबलबाट ती सबै प्रश्नको जवाफ पाएको अनि अहिले यहोवाका साक्षीहरूसित अध्ययन गरिरहेको कुरा बताए। तिनले मलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ भन्ने किताब पनि दिए।a सुरुमा त मलाई अरू धर्मको किताब पढ्नु ठीक छैन जस्तो लाग्यो। तर मैले सोचेँ, ‘बाइबलले मेरा प्रश्नहरूको जवाफ दिन्छ भने एकचोटि यहोवाका साक्षीहरूसित अध्ययन गरेर हेर्नु ठीकै होला।’
बाइबलले सिकाउने कुराहरू थाह पाउँदा म त छक्कै परेँ। बाइबलमा बताइएअनुसार परमेश्वरले मानिसहरूलाई सुरुमा एउटा सुन्दर प्रमोदवनमा राख्ने उद्देश्य राख्नुभएको रहेछ र त्यो उद्देश्य परिवर्तन भएको छैन भनेर थाह पाउँदा एकदमै खुसी लाग्यो। (उत्पत्ति १:२८) मैले आफ्नै बाइबलमा परमेश्वरको नाम यहोवा देख्दा छक्कै परेँ। त्यति मात्र होइन, मैले धेरै चोटि गर्ने गरेको ‘प्रभुको प्रार्थनामा’ भएको परमेश्वर वास्तवमा यहोवा नै हुनुहुँदो रहेछ भनेर बल्ल बुझेँ। (भजन ८३:१८; मत्ति ६:९) अनि मैले परमेश्वरले अहिले हुन दिनुभएको अन्याय र दुःखकष्ट केही समयको लागि मात्रै हो, पछि उहाँले ती सबै हटाउनुहुनेछ भनेर थाह पाएँ। यसरी बाइबलबाट सिक्दै जाँदा यी सबै कुरा मलाई असाध्यै चित्त बुझ्यो र मेरो मन छोयो।
म पहिलो चोटि यहोवाका साक्षीहरूको सभामा गएको अझै याद छ। त्यहाँ सबै जना मित्रैलो हुनुहुन्थ्यो र मकहाँ आएर मेरो नाम पनि सोध्नुभयो। म गएको पहिलो सभा मेरो लागि एकदमै विशेष थियो किनभने त्यतिबेला दिइएको विशेष जनभाषण परमेश्वरले सुन्नुहुने प्रार्थनाको विषयमा थियो। यो मलाई असाध्यै रोचक लाग्यो किनभने मैले पनि परमेश्वरलाई मदतको लागि प्रार्थना गर्थेँ। त्यसपछि म गएको अर्को सभा येसुको मृत्युको स्मरणार्थ थियो। त्यतिबेला केटाकेटीले समेत बाइबल पल्टाएर हेरेको देख्दा म त दङ्ग परेँ। सुरु-सुरुमा मलाई बाइबलका पदहरू पल्टाउन आउँदैनथ्यो। तर यहोवाका साक्षीहरूले मलाई मदत गर्नुभयो अनि पछि बाइबल राम्रोसँग चलाउन सिकाउनुभयो।
सभाहरूमा उपस्थित हुँदै जाँदा यहोवाका साक्षीहरूको शिक्षालाई मैले अझ धेरै मोल गर्न थालेँ। म हरेक सभामा धेरै कुरा सिक्थेँ अनि प्रोत्साहन र स्फूर्ति पाएको महसुस गर्थेँ। एक जना साक्षीले मलाई बाइबल अध्ययनको प्रस्ताव पनि राख्नुभयो।
यहोवाका साक्षीहरूमाझ मैले जे देखेँ, त्यो मैले चर्चमा देखेको कुराभन्दा बिलकुलै फरक थियो। यहोवाका साक्षीहरू आपसमा मिलेर बस्थे अनि उनीहरू यहोवालाई खुसी बनाउन चाहन्थे। यहोवाका साक्षीहरूमाझ देखेको प्रेमले गर्दा नै उनीहरू साँचो ख्रिष्टियनहरू हुन् भनेर म पक्का भएँ।—युहन्ना १३:३५.
मैले जति-जति बाइबल अध्ययन गर्दै गएँ, बाइबलको स्तरअनुरूप छाँटकाँट पनि गर्दै गएँ। तर मलाई मार्सल आर्टस् कहिल्यै छोड्न सक्दिनँ जस्तो लाग्थ्यो किनकि मलाई यो असाध्यै मन पर्थ्यो र अरूसित प्रतिस्पर्धा गर्न खुबै रमाइलो लाग्थ्यो। यो कुरा मैले मेरो बाइबल अध्ययन सञ्चालकलाई पनि बताएँ। उहाँले मलाई भन्नुभयो, “अहिले अध्ययन गर्दै जानुहोस्। पछि आफैले सही निर्णय गर्न सक्नुहुनेछ।” त्यो सल्लाह साँच्चै राम्रो साबित भयो। मैले जति-जति बाइबल अध्ययन गर्दै गएँ, यहोवालाई खुसी बनाउने इच्छा पनि त्यति नै बढ्दै गयो।
मैले आफूसित अभ्यास गर्ने साथीको नाकमा चोट पुऱ्याएको घटनाबारे सुरुमै बताइसकेको छु। हो, त्यही घटनापछि मेरो जीवनले नयाँ मोड लियो। त्यो घटनापछि मेरो मनमा ठूलो प्रश्न खेलिरह्यो, ‘मैले अरूलाई यसरी चोट पुऱ्याएँ भने के म येसुको चेला बन्न योग्य हुन्छु होला र?’ मैले यसैया २:३, ४ मा गरिएको भविष्यवाणी पनि सिकेको थिएँ, जहाँ बताइएअनुसार यहोवालाई प्रेम गर्नेहरूले “फेरि युद्ध गर्न सिक्नेछैनन्।” अरूले अन्याय गरे तापनि चेलाहरूले बदला लिनु हुँदैन भनेर येसुले पनि सिकाउनुभएको थियो। (मत्ति २६:५२) त्यसकारण मैले आफूलाई असाध्यै मन परेको मार्सल आर्टस् खेल्न छोडेँ।
मैले बाइबलमा दिइएको सल्लाहअनुसारै “परमेश्वरको भक्ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम” दिन थालेँ। (१ तिमोथि ४:७) पहिला म आफ्नो पूरै समय मार्सल आर्टस् खेल्न बिताउँथेँ तर अहिले त्यो समय बाइबल पढ्ने, सभा जाने र अरूलाई सुसमाचार सुनाउने काममा बिताउन थालेको छु। मैले बाइबलबाट सिकिरहेको कुरा मेरो गर्लफ्रेन्डलाई पटक्कै मन परेन। त्यसैले हामी छुट्टियौँ। मैले जनवरी २४, १९८७ मा बप्तिस्मा गरेँ। त्यसपछि देखि नै मैले पूर्ण-समय सेवकको रूपमा यहोवाको सेवा गर्न थालेँ। मैले केही समय अमेरिकाको न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा पनि सेवा गरे।
मैले कसरी लाभ उठाएको छु?
बाइबलबाट सत्य कुरा सिकेपछि मेरो जीवन साँच्चै अर्थपूर्ण भएको छ र मैले भविष्यको आशा पाएको छु। म अहिले साँच्चै खुसी छु र कुनै पनि कुराको अभाव महसुस गर्दिनँ। हुनत म अहिले पनि नियमित रूपमा शारीरिक व्यायाम गर्छु तर मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको सेवा गर्नु हो।
पहिला मार्सल आर्टस् खेल्दा म वरपरका मानिसहरूले आक्रमण गरिहाल्यो भने तुरुन्तै प्रतिकार गर्न चनाखो भएर बस्थेँ। हुनत म अहिले पनि चनाखो भएर बस्छु तर आफू वरपरका मानिसहरूलाई मदत गर्न। बाइबलले मलाई ठूलो मनको हुन र असल पति बन्न सिकाएको छ। त्यसैले म र मेरी पत्नी ब्रेन्डा दुवै खुसी छौँ।
पहिला मेरो जीवनमा मार्सल आर्टस् नै सबथोक थियो तर अहिले मैले त्योभन्दा कता हो कता बहुमूल्य कुरा भेट्टाएको छु। बाइबलका यी शब्दहरू साँचो साबित भएका छन्: “शारीरिक तालिमबाट केही फाइदा त हुन्छ तर परमेश्वरको भक्तिबाट भने सबै कुरामा फाइदा हुन्छ किनकि त्यसमा वर्तमान र भावी, दुवै जीवनमा पाइने आशिष्हरूको प्रतिज्ञा समावेश हुन्छ।”—१ तिमोथि ४:८.
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिँदैन।