प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जनवरी पृ. २-६
  • मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानसिक स्वास्थ्यबारे केही तथ्य
  • मानसिक समस्यालाई राम्ररी बुझ्नुहोस्‌
  • मानसिक समस्याको उपचार गर्नुहोस्‌
  • आध्यात्मिक स्वास्थ्य महत्त्वपूर्ण छ
  • तपाईंको प्रियजनको मानसिक सन्तुलन ठीक नहुँदा
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • मानसिक सुस्वास्थ्यबारे ईश्‍वरको प्रतिज्ञा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जनवरी पृ. २-६
मानसिक रोगले पीडित श्रीमान्‌लाई हेर्दै गरेकी चिन्तित पत्नी

आवरण लेख

मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?

आफूलाई मानसिक रोग लागेको छ भनेर थाह पाउँदा क्लाउडियाले यसो भनिन्‌: “एकछिन त मेरो मुटुले नै ठाउँ छोड्यो। मानसिक रोग लागेकोले मैले लज्जित र लाचार महसुस गरे।”

क्लाउडियाका पति मार्कले यसो भने: “आफ्नो अवस्था स्वीकार्न हामीलाई निकै समय लाग्यो। तर क्लाउडियालाई साथ दिनुपर्छ भनेर मैले बुझें।”

तपाईं वा तपाईंले माया गरेको व्यक्‍तिलाई मानसिक रोग लागेको छ भनेर थाह पाउनुभयो भने तपाईं कस्तो महसुस गर्नुहुन्छ? चिन्ता नगर्नुहोस्‌, मानसिक रोगको उपचार छ। मानसिक समस्यालाई अझ राम्ररी बुझ्न मदत गर्ने केही कुराहरू विचार गरौं।

मानसिक स्वास्थ्यबारे केही तथ्य

“संसारभरिका लाखौं मानिसहरू मानसिक समस्याबाट पिरोलिएका छन्‌ र यसले तिनीहरूको घर-परिवारलाई पनि असर पुऱ्‍याएको छ। हरेक ४ जनामा १ जनालाई आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक रोगले सताउँछ। धेरै मानिसलाई लाग्ने मानसिक रोग डिप्रेसन हो। साथै वास्तविकता ठम्याउन नसक्ने स्थिति जसलाई स्कित्जोफ्रेनिया भनिन्छ अनि भावनालाई नियन्त्रण गर्न नसकिने स्थिति जसलाई बाइपोलार डिसअडर भनिन्छ, यी रोगहरू गम्भीर प्रकारका मानसिक रोगहरूमा पर्छन्‌। . . . मानसिक रोगले धेरै जनालाई असर गरे तापनि प्रायः मानिसहरूले यस रोगलाई लुकाउँछन्‌ र उपचारको बेवास्ता गर्छन्‌। साथै यस्ता रोग लागेकाहरूलाई मानिसहरूले हेला गर्ने गरेको पाइन्छ।”—विश्‍व स्वास्थ्य सङ्‌गठन

विश्‍व स्वास्थ्य सङ्‌गठनअनुसार मानसिक रोगीलाई समाजले हेला गर्ने भएकोले धेरै मानिसहरू यसको उपचार गर्न हिच्किचाउँछन्‌।

मानसिक रोगको उपचार गर्न सकिने भए तापनि गत वर्ष अमेरिकामा मात्र लगभग ६० प्रतिशत वयस्कले र ८ देखि १५ वर्षका झन्डै ५० प्रतिशत युवाहरूले मानसिक रोगको उपचार पाएनन्‌ भनेर नेशनल अलाएन्स्‌ अन मेन्टल इल्नेस्‌ भन्‍ने संस्थाले रिपोर्ट गरेका छन्‌।

मानसिक समस्यालाई राम्ररी बुझ्नुहोस्‌

मानसिक समस्या भएकी एक महिला

मानसिक समस्या भनेको के हो? विशेषज्ञहरू अनुसार मानसिक समस्या भनेको कुनै पनि व्यक्‍तिले राम्ररी सोच्न नसक्ने, भावनालाई नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन हुँदै जाने अवस्था हो। यस्तो अवस्थामा भएका मानिसहरू प्रायः अरूसित व्यवहार गर्न र जीवनमा आउने समस्याहरूको सामना गर्न नसक्ने हुन्छन्‌।

मानसिक स्वास्थ्य समस्या व्यक्‍तिगत कमीकमजोरीको कारण हुने होइन

मानसिक समस्याका लक्षणहरू कति गम्भीर हुन सक्छन्‌ भन्‍ने कुरा व्यक्‍ति विशेष आफै, तिनको अवस्था र रोगको प्रकारमा भर पर्छ। यसले पुरुष, स्त्रीका साथै कुनै पनि उमेर, संस्कृति, जाति, धर्म, शैक्षिक र आर्थिक स्तरका मानिसहरूलाई असर गर्न सक्छ। मानसिक स्वास्थ्य समस्या व्यक्‍तिगत कमीकमजोरीको कारण हुने होइन। सही उपचार विधि अपनाएमा मानसिक रोगीले पनि अरू मानिसले जस्तै सामान्य जीवन बिताउन सक्छन्‌।

मानसिक समस्याको उपचार गर्नुहोस्‌

मानसिक स्वास्थ्य विशेषज्ञहरूले थुप्रै प्रकारका मानसिक समस्याहरूको राम्रो उपचार गर्न सक्छन्‌। त्यसैले पहिलो कदम भनेको एक दक्ष अनुभवी मानसिक स्वास्थ्य विशेषज्ञबाट आफ्नो रोगको विषयमा आवश्‍यक जानकारी बटुल्नु हो।

मानसिक समस्या भएकी महिला एक दक्ष विशेषज्ञसित कुराकानी गर्दै

मानसिक समस्या भएकाहरूले उपयुक्‍त उपचार स्वीकारेको खण्डमा मात्र लाभ उठाउन सक्छन्‌। कसै-कसैलाई आफ्नो मानसिक समस्याबारे कुराकानी गर्न अप्ठ्यारो लाग्न सक्छ। तर उपचारबाट लाभ उठाउने हो भने विशेषज्ञहरूसित आफ्नो रोगको विषयमा खुलस्त कुराकानी गर्नुपर्छ। तिनीहरूले रोगीलाई आफ्नो रोगबारे राम्ररी बुझ्न अनि जीवनमा आउने समस्याको सामना गर्न मदत दिन सक्छन्‌। साथै हार नमानी उपचार गरिरहन पनि प्रोत्साहन दिन सक्छन्‌। विशेषज्ञको परामर्श लिने बेला परिवारको कुनै सदस्य वा साथीले चाहिने आश्‍वासन र मदत दिएर पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छन्‌।

थुप्रै मानिसले आफ्नो रोगबारे राम्ररी बुझेपछि अनि विशेषज्ञहरूको सल्लाहअनुसार उपचार गरेपछि तिनीहरूले मानसिक समस्याको सामना गर्न सिकेका छन्‌। सुरुमा उल्लेख गरिएका मार्क यसो भन्छन्‌: “मेरी श्रीमतीलाई मानसिक रोग लागेको पत्ता नलागेसम्म हामीलाई यो रोगबारे खासै थाह थिएन। तर थाह पाइसकेपछि भने हामीले जीवनमा आउने हरेक परिस्थितिहरूलाई एक-एक गर्दै सामना गर्न सिक्यौं। साथै हामीले भरोसायोग्य विशेषज्ञहरू, परिवार अनि साथीहरूबाट पनि मदत पायौं।”

पहिलो कदम भनेको एक दक्ष अनुभवी मानसिक स्वास्थ्य विशेषज्ञबाट आफ्नो रोगको विषयमा आवश्‍यक जानकारी बटुल्नु हो

यस कुरामा सहमत हुँदै क्लाउडिया यसो भन्छिन्‌: “मलाई मानसिक रोग लागेको छ भनेर पहिलो पटक थाह पाउँदा पासोमा परे जस्तै लाग्यो। मेरो रोगको कारण हामी धेरै कामकुरा गर्न सक्दैनौं तर पनि असम्भव जस्तो देखिने समस्या समाधान गर्न सकिंदो रहेछ भनेर मैले बुझें। त्यसैले डाक्टर र विशेषज्ञहरूसित मिलेर आफ्नो मानसिक रोगको सामना गरिरहेकी छु। साथै अरूसित राम्रो सम्बन्ध बनाउँदा र गर्नुपर्ने कामहरू चिन्तित नभई बिस्तारै गर्दा मैले धेरै मदत पाएकी छु।”

आध्यात्मिक स्वास्थ्य महत्त्वपूर्ण छ

बाइबल पढिरहेकी महिला

आध्यात्मिक क्रियाकलापले रोगहरू निको पार्छ भनेर बाइबलले सिकाउँदैन। तर संसारभरिका थुप्रै परिवारले बाइबलको शिक्षाबाट सान्त्वना र बल पाएका छन्‌। उदाहरणको लागि हाम्रो मायालु सृष्टिकर्ता “चूर्ण हृदय भएकाहरू” र “निराश भएकाहरू” लाई सान्त्वना दिन इच्छुक हुनुहुन्छ भनेर बाइबलमा बताइएको छ।—भजन ३४:१८, NRV.

बाइबल स्वास्थ्यसम्बन्धी किताब नभए तापनि यसले भावनात्मक पीडा र दुःखदायी परिस्थितिको सामना गर्न चाहिने व्यावहारिक निर्देशन दिन्छ। साथै भविष्यमा मानिसहरूलाई कुनै किसिमको रोगबिमार वा पीडाले सताउने छैन भनेर पनि बाइबलमा आशा दिइएको छ। परमेश्‍वरको वचनमा यस्तो प्रतिज्ञा गरिएको छ: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गडा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३५:५, ६. (g14-E 12)

मानसिक समस्या भोग्नुपर्दा

“मलाई ज्यादै डर लाग्दा कुनै-कुनै काम गर्नै सक्दिनँ जस्तो लाग्छ अनि कहिलेकाहीं चाहिं ध्यान दिनै नसकेर पढ्‌नसमेत सक्दिनँ। कुनै बेला भने मलाई निराशाले छोप्छ र कसैसित भेटघाट गर्न मन लाग्दैन, चाहे ती मेरा घनिष्ठ साथीहरू नै किन नहोऊन्‌। छिट्टै सबै ठीक भइहाल्छ नि अथवा अवस्था सोचेजस्तो त्यत्ति खराब छैन भनेर कसै-कसैले सम्झाउँछन्‌। अरू चाहिं जीवनको राम्रो पक्षमा ध्यान दिने सल्लाह दिन्छन्‌। यी सबै कुरा त मैले धेरै चोटि गर्ने कोसिस गरिसकें! मानिसहरूले राम्रै सोचेर भनेको भए तापनि यस्ता कुराहरूले झन्‌ मलाई आफै दोषी, अयोग्य र असफल भएको महसुस गराउँछ।”—क्लाउडिया, दक्षिण अफ्रिका।

मानसिक समस्याको सामना कसरी गर्न सक्नुहुन्छ?

  1. १. मानसिक स्वास्थ्य विशेषज्ञले बताएअनुसारै उपचार गर्नुहोस्‌।a

  2. २. एकै दिनमा धेरै काम भ्याउने कोसिस नगर्नुहोस्‌, सन्तुलित हुनुहोस्‌।

  3. ३. शारीरिक स्वास्थ्यको पनि ख्याल गर्नुहोस्‌।

  4. ४. पर्याप्त मात्रामा सुत्नुहोस्‌।

  5. ५. हरेक दिन आराम गर्न समय निकाल्नुहोस्‌।

  6. ६. पोषणयुक्‍त र सन्तुलित खाना खानुहोस्‌।

  7. ७. मद्यपान र डाक्टरले सिफारिस नगरेको औषधी धेरै सेवन नगर्नुहोस्‌।

  8. ८. एक्लै नबस्नुहोस्‌। तपाईंको हेरविचार गर्ने र तपाईंले भरोसा गर्ने मानिसहरूसित समय बिताउनुहोस्‌।

  9. ९. आफ्नो आध्यात्मिक आवश्‍यकतालाई पनि ध्यान दिनुहोस्‌।

a ब्यूँझनुहोस्‌! पत्रिकाले कुनै खास किसिमको उपचार सिफारिस गर्दैन। आफूले गर्ने कुनै पनि उपचार बाइबल सिद्धान्त विपरीत छैन भन्‍ने कुरामा ख्रीष्टियनहरू पक्का हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने