बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
मेरो जीवन झन्झन् खस्कँदै थियो
जन्म मिति: सन् १९५२
जन्म स्थान: अमेरिका
वगतमा: रिसाहा र हिंस्रक व्यक्ति
मेरो विगत:
म अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा हुर्केँ। म हुर्केका टोलहरू खतरनाक ग्याङहरू र लागूपदार्थको लागि कुख्यात थिए। हामी छ जना छोराछोरीमध्ये म माइलो हुँ।
हामी इभान्जेलिकल चर्चका सदस्य थियौँ। आमाले हामीलाई नियमित रूपमा चर्च लैजानुहुन्थ्यो। तर किशोरावस्थामा पुगेपछि मैले दोहोरो जीवन बिताउन थालेँ। हरेक आइतबार म चर्चको सङ्गीत टोलीमा भजन गाउँथेँ। तर हप्ताका बाँकी दिनहरूचाहिँ पार्टी गर्ने, लागूपदार्थ सेवन गर्ने र अवैध यौनसम्बन्ध राख्ने जस्ता गतिविधिमा बित्थ्यो।
म झनक्क रिसाउने र हिंस्रक स्वभावको थिएँ। कसैसित झगडा पर्दा जसरी भए पनि जित्न अगाडि जे भेट्यो, त्यसैले हिर्काउँथेँ। आफ्नो रिस काबूमा राख्न चर्चमा सिकेको कुराले पनि कुनै मदत गरेन। म भन्ने गर्थेँ: “बदला लिने काम प्रभुको हो तर म उहाँको साधन हुँ।” सन् १९६० को दशकको अन्ततिर म हाइस्कुलमा पढ्दै थिएँ। त्यतिबेला म ‘ब्ल्याक प्यान्थर’ भन्ने एउटा राजनैतिक समूहबाट निकै प्रभावित भएँ। यो नागरिकको हकहितको लागि हिंसात्मक बाटो अपनाउने समूह भनेर चिनिन्थ्यो। म नागरिकको हकहितको लागि लड्ने एउटा विद्यार्थी सङ्घमा सामेल भएँ। हामीले धेरै चोटि विरोध-प्रदर्शनहरू गऱ्यौँ र त्यस्तो बेला हाम्रो स्कुल बन्दसमेत गरायौँ।
म यत्ति हिंस्रक स्वभावको थिएँ कि विरोध-प्रदर्शनहरू गरेर पनि मेरो रिस शान्त भएन। म गोरा जातिलाई घृणा गर्थेँ। त्यसैले उनीहरूलाई कुटपिट गर्ने जस्तो अपराधमा मुछिन थालेँ। एकचोटि म साथीहरूसित फिल्म हेर्न गएको थिएँ। त्यस फिल्ममा अमेरिकामा पहिले अफ्रिकाबाट ल्याइएका दासहरूलाई असाध्यै दुःख दिएको दृश्य थियो। यो देखेर हामी रिसले चूर भयौँ। अनि फिल्म हलमै गोरा जातिका केटाहरूलाई कुट्न थाल्यौँ। यतिले मात्र नपुगेर हामी गोरा जातिका अरू मानिसलाई पनि कुट्न उनीहरूको टोल-टोलमा गयौँ।
म १८/१९ वर्ष पुगुन्जेल त मेरो दाइ, म र दुई जना भाइ कुख्यात गुण्डा भइसकेका थियौँ। प्रहरीले हामीलाई पक्रने र छोड्ने त चलिरहन्थ्यो। मेरो एक जना भाइ खतरनाक ग्याङको सदस्य थियो र म पनि उनीहरूसित सङ्गत गर्थेँ। मेरो जीवन झन्झन् खस्कँदै थियो।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
मेरो एक जना साथीका आमाबुबा यहोवाका साक्षीहरू हुनुहुन्थ्यो। उहाँहरूले मलाई मण्डलीका सभाहरूमा आउन निम्तो दिनुभयो र मैले त्यो निम्तो स्विकारेँ। सभामा गएको पहिलो दिनदेखि नै मैले यहोवाका साक्षीहरू फरक छन् भनेर थाह पाएँ। सबैसित आफ्नै बाइबल थियो र तिनीहरू सभाको बेला त्यो पल्टाएर पढ्थे। सानो उमेरकाहरूले पनि भाषण दिन्थे। परमेश्वरको नाम यहोवा हो भनेर सिक्दा र त्यो नाम प्रयोग गरिएको सुन्दा असाध्यै खुसी लाग्यो। (भजन ८३:१८) मण्डलीमा विभिन्न जातिका मानिसहरू थिए तर त्यहाँ कुनै जातीय विभेद थिएन।
सुरु-सुरुमा म साक्षीहरूसित बाइबल अध्ययन गर्न चाहँदिनथेँ। तर मलाई उनीहरूको सभाचाहिँ रमाइलो लाग्थ्यो। एकचोटिको कुरा हो, म साक्षीहरूको सभामा गएको बेला मेरा साथीहरू भने कन्सर्ट हेर्न गए। त्यहाँ एक जना केटाले आफ्नो छालाको ज्याकेट नदिएको निहुँमा मेरा साथीहरूले उसलाई बेस्सरी कुटेर मारेछन्। त्यसको भोलिपल्ट आफूहरूले हत्या गरेको कुरा उनीहरूले धाक लगाउँदै बताए। उनीहरूलाई अदालतमा हाजिर गराइँदा अलिकति पनि पछुतो मानेको देखाएनन्। उनीहरूमध्ये धेरैजसोलाई जन्मकैदको सजाय सुनाइयो। त्यो रात उनीहरूसित नगएर मैले एकदमै बेस गरेँ जस्तो लाग्यो। मैले अब उप्रान्त सही बाटोमा हिँड्ने र बाइबल अध्ययन गर्ने सङ्कल्प गरेँ।
सानैदेखि जातीय भेदभाव देख्दै आएको हुनाले साक्षीहरूले एकअर्कालाई गर्ने व्यवहार देखेर म छक्कै परेँ। जस्तै: गोरा जातिका एक जना साक्षी विदेश भ्रमणमा जाँदा आफ्ना छोराछोरीलाई काला जातिको एउटा परिवारको जिम्मामा छोडेर गए। अनि गोरा जातिको एउटा परिवारले काला जातिको एक जना केटालाई आफ्नो घरमा बस्न दियो। येसुले युहन्ना १३:३५ मा भन्नुभएको कुरा यहोवाका साक्षीहरूले साँच्चै लागू गरिरहेका छन् भनेर म विश्वस्त भएँ। त्यहाँ यस्तो लेखिएको छ: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।” अब भने मलाई पक्का भयो, साँचो भाइचारा भएको ठाउँ यही हो।
बाइबल अध्ययन गर्दै जाँदा मैले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्छ भनेर बुझेँ। हो, मैले आफ्नो सोचाइ नयाँ बनाउनुपर्थ्यो किनभने म अरूसित मिलेर बस्नु मात्र पर्याप्त थिएन। यो नै जीवन बिताउने सर्वोत्तम तरिका हो भनेर पनि स्विकार्नुपर्थ्यो। (रोमी १२:२) मैले बिस्तारै उन्नति गर्दै गएँ र सन् १९७४ को जनवरी महिनामा बप्तिस्मा गरेर यहोवाको साक्षी बनेँ।
मैले आफ्नो सोचाइ नयाँ बनाउनुपर्थ्यो किनभने म अरूसित मिलेर बस्नु मात्र पर्याप्त थिएन। यो नै जीवन बिताउने सर्वोत्तम तरिका हो भनेर पनि स्विकार्नुपर्थ्यो।
बप्तिस्मा गरिसकेपछि पनि मैले रिस काबुमा राख्न कोसिस गरिरहनुपर्थ्यो। एकचोटि घर-घरको प्रचारकार्यमा भाग लिइरहेको बेला चोरले मेरो गाडीको रेडियो चोरेर भागिरहेको देखेँ र उसलाई लखेट्न थालेँ। म उसको नजिकै पुग्दा ऊ रेडियो भुईँमा फ्याँकेर भाग्यो। चोरले लगिसकेको मेरो रेडियो कसरी फिर्ता पाएँ भनेर अरूलाई सुनाउँदा एक जना एल्डरले मलाई सोध्नुभयो: “स्टिभन, त्यो चोरलाई भेटिहालेको भए के गर्थ्यौ?” यो प्रश्नले मलाई सोच्न लगायो र अरूसित मिलेर बस्न प्रयास गरिरहनुपर्छ भनेर महसुस गरेँ।
सन् १९७४ को अक्टोबर महिनादेखि मैले पूर्ण समय सेवा गर्न थालेँ र अरूलाई बाइबलको कुरा सिकाउन हरेक महिना १०० घण्टा बिताउँथेँ। पछि मैले न्यु योर्कको ब्रुक्लिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा स्वयम्सेवा गर्ने मौका पनि पाएँ। आमा बिरामी पर्नुभएकोले उहाँको हेरचाह गर्न सन् १९७८ मा लस एन्जलस फर्केँ। त्यसको दुई वर्षपछि मैले आरोन्डासित विवाह गरेँ। उनले मलाई आमा बाँचुन्जेल उहाँको स्याहारसुसार गर्न निकै मदत गरिन्। पछि आरोन्डा र म गिलियड स्कुल गयौँ र हामीलाई पानामा खटाइयो। अहिले पनि हामी यहीँ मिसनरीको रूपमा सेवा गर्दै छौँ।
बप्तिस्मा गरेपछि पनि म कुटाकुट हुन सक्ने अवस्थामा थुप्रै चोटि परेको छु। मानिसहरूले मलाई रिस उठाउन खोज्दा त्यो ठाउँ छोडेर अन्तै जान वा अरू कुनै तरिकामा अवस्था शान्त पार्न मैले सिकेको छु। मैले यस्तो अवस्थालाई राम्रोसित सँभालेको देख्दा मेरी पत्नी र अरू थुप्रै मानिसले मेरो तारिफ गरेका छन्। यस्तो गर्न सकेकोमा आफै दङ्ग पर्छु। मैले आफ्नै क्षमताले यस्ता परिवर्तनहरू गर्न सकेको होइनँ। बरु यो त मानिसलाई परिवर्तन गर्न सक्ने बाइबलको शक्तिको प्रमाण हो।—हिब्रू ४:१२
मैले कसरी लाभ उठाएको छु?
बाइबल पढेपछि मेरो जीवन अर्थपूर्ण भएको छ र मैले साँच्चै मिलेर बस्न सिकेको छु। अहिले म मानिसलाई रिसको झोकमा कुट्ने गर्दिनँ बरु उनीहरूलाई आध्यात्मिक तवरमा निको हुन मदत गर्छु। मैले बाइबल अध्ययन गराएको एकजना व्यक्ति पहिला हाइस्कुल पढ्दाखेरिको मेरो शत्रु थियो। उसले बप्तिस्मा गरेपछि केही समय हामी एउटै कोठामा बस्यौँ। अहिले पनि हामी मिल्ने साथी हौँ। आजको दिनसम्म मेरी पत्नी र मैले बाइबल अध्ययन गराएकाहरूमध्ये ८० जना भन्दा धेरै यहोवाका साक्षी भएका छन्।
मैले अर्थपूर्ण जीवनको साथै साँचो भाइचारामाझ आनन्द पाएको छु। यसको लागि म मनैदेखि यहोवालाई धन्यवाद दिन्छु।