प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अगस्त pp. २-७
  • दानिएलको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दानिएलको अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दानिएलजस्तै साहसी हुनुहोस्‌
  • दानिएलजस्तै वफादार हुनुहोस्‌
  • दानिएलबाट सिकिरहनुहोस्‌
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अगस्त pp. २-७

अध्ययन लेख ३३

दानिएलको अनुकरण गर्नुहोस्‌

“तिमी अतिप्रिय छौ।”—दानि. ९:२३.

गीत ७३ साहस हाम्रो बढाइदेऊ

परिचयa

१. बेबिलोनीहरू किन भविष्यवक्‍ता दानिएलदेखि प्रभावित भए?

भविष्यवक्‍ता दानिएललाई बेबिलोनीहरूले कैदी बनाएर आफ्नो जन्मस्थल यरुसलेमबाट टाढा लैजाँदा तिनी जवानै थिए। तैपनि बेबिलोनीहरू तिनलाई देखेर प्रभावित भएका थिए। तिनीहरूले दानिएलको ‘बाहिरी रूप हेरे’ र तिनी “कुनै खोट नभएका, हेर्नमा राम्रा” अनि कुलीन घरानाबाट आएको याद गरे। (१ समु. १६:७) यी कारणहरूले गर्दा बेबिलोनीहरूले दानिएललाई राजाको दरबारमा काम गर्न विशेष तालिम दिए।—दानि. १:३, ४, ६.

२. यहोवाले दानिएललाई किन माया गर्नुभयो? (इजकिएल १४:१४)

२ यहोवाले दानिएलको बाहिरी रूप वा तिनले दरबारमा पाएको विशेष ओहदा हेर्नुभएन। बरु तिनको भित्री व्यक्‍तित्व हेर्नुभयो र तिनलाई माया गर्नुभयो। यहोवाले दानिएलको नाम दशकौँसम्म वफादार रहेका नुह र अय्युबसितै उल्लेख गर्नुहुँदा तिनी १८/१९ वा २२/२३ वर्ष मात्र पुगेका हुन सक्छन्‌। तैपनि यहोवाले तिनलाई नुह र अय्युबजत्तिकै धर्मी ठान्‍नुभयो। (उत्प. ५:३२; ६:९, १०; अय्यु. ४२:१६, १७; इजकिएल १४:१४ पढ्‌नुहोस्‌।) अनि यहोवाले लामो समयसम्म वफादार रहेकोमा दानिएललाई बुढेसकालसम्मै माया गर्नुभयो।—दानि. १०:११, १९.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ यस लेखमा हामी दानिएलका दुई वटा गुणबारे विचार गर्नेछौँ, जसले गर्दा तिनी यहोवाको नजरमा अतिप्रिय भए। सुरुमा हामी यी दुई वटा गुणबारे र तिनले कस्ता अवस्थामा यी गुणहरू देखाए भनेर छलफल गर्नेछौँ। अनि दानिएललाई यी गुणहरू विकास गर्न केले मदत गऱ्‍यो भनेर पनि विचार गर्नेछौँ। अन्तमा हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। यो लेख विशेषगरि जवानहरूको लागि तयार पारिएको भए तापनि हामी सबैले यसबाट लाभ उठाउन सक्छौँ।

दानिएलजस्तै साहसी हुनुहोस्‌

४. दानिएलले कसरी साहस देखाए? एउटा घटना बताउनुहोस्‌।

४ साहसी व्यक्‍तिलाई पनि डर लाग्न सक्छ। तर त्यसले गर्दा तिनी सही काम गर्नदेखि पछि हट्‌दैनन्‌। दानिएल साहसी युवा थिए। तिनले साहस देखाएको दुइटा घटना विचार गरौँ। पहिलो घटना बेबिलोनीहरूले यरुसलेमलाई नाश गरेको लगभग दुई वर्षपछि घटेको हुनुपर्छ। राजा नबुकद्‌नेजरले विशाल मूर्तिबारे डरलाग्दो सपना देखेका थिए। दानिएल र अन्य बुद्धिमान्‌ मानिसहरूले राजाको सपना बताउन र त्यसको अर्थ खोल्न सकेनन्‌ भने राजाले तिनीहरूलाई मार्ने धम्की दिएका थिए। (दानि. २:३-५) दानिएलले तुरुन्तै कदम चाल्नुपर्ने थियो। अन्यथा थुप्रैले आफ्नो ज्यान गुमाउनुपर्ने हुन्थ्यो। “दानिएल राजाकहाँ गए र राजाले देखेको सपनाको अर्थ बताउन केही समय पाऊँ भनी बिन्ती गरे।” (दानि. २:१६) यसो गर्न तिनलाई साहस र विश्‍वास चाहिन्थ्यो। यसअघि तिनले सपनाको अर्थ खोलेको विवरण कतै पाइँदैन। दानिएलले आफ्ना साथीहरू सद्रक, मेसक र अबेद्‌नेगोलाई “यस रहस्यको अर्थ खोलिदिएर कृपा देखाउन स्वर्गका परमेश्‍वरलाई बिन्ती गर्नू” भनी अनुरोध गरे। (दानि. २:१८) यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। उहाँको मदत पाएर दानिएलले राजा नबुकद्‌नेजरको सपनाको अर्थ खोलिदिए। यसरी दानिएल र तिनका साथीहरूको ज्यान जोगियो।

५. दानिएलको साहसको जाँच भएको अर्को घटनाबारे बताउनुहोस्‌।

५ दानिएलले विशाल मूर्तिको सपनाको अर्थ खोलिदिएको केही समयपछि तिनको साहसको फेरि जाँच भयो। नबुकद्‌नेजरले फेरि एउटा डरलाग्दो सपना देखे। तिनले सपनामा अत्यन्तै अग्लो रूख देखे। दानिएलले साहसी हुँदै राजालाई सपनाको अर्थ खोलिदिए। तिनले राजा बौलाउने र केही समयको लागि राजसत्ता गुमाउने कुरासमेत बताइदिए। (दानि. ४:२५) यस्तो कुरा सुनेपछि राजाले तिनलाई राजद्रोहको आरोपमा मृत्युदण्ड दिन सक्थे तर यस्तो खतराको बाबजुद तिनले साहसी हुँदै सपनाको अर्थ बताइदिए।

६. दानिएललाई साहसी भइरहन कुन कुराले मदत गरेको हुन सक्छ?

६ दानिएललाई जीवनभर साहसी भइरहन कुन कुराले मदत गरेको हुन सक्छ? दानिएल सानो छँदा तिनका आमाबुबाले पक्कै पनि तिनको लागि राम्रो उदाहरण बसाले। तिनीहरूले इस्राएली आमाबुबालाई दिइएको निर्देशन पालन गर्दै दानिएललाई परमेश्‍वरको व्यवस्था सिकाए। (व्यव. ६:६-९) दानिएललाई दस आज्ञाजस्तो व्यवस्थाका आधारभूत कुराहरू मात्र होइन, गहिरा कुराहरू पनि थाह थियो। जस्तै: इस्राएलीहरूले खान हुने र खान नहुने कुराहरू।b (लेवी ११:४-८; दानि. १:८, ११-१३) दानिएललाई परमेश्‍वरका मानिसहरूको इतिहासबारे राम्रो ज्ञान थियो र व्यवस्था उल्लङ्‌घन गर्दा तिनीहरूले कस्तो नतिजा भोगे भनेर पनि थाह थियो। (दानि. ९:१०, ११) साथै आफूले जीवनमा बटुलेको अनुभवबाट जीवनमा जस्तोसुकै गाह्रो परिस्थिति आए तापनि यहोवा अनि शक्‍तिशाली स्वर्गदूतहरूले मदत गर्नुहुनेछ भन्‍ने कुरामा तिनी ढुक्क हुन सके।—दानि. २:१९-२४; १०:१२, १८, १९.

दानिएल सिंहासनमा बसेका राजा नबुकद्‌नेजरसित कुरा गर्दै छन्‌ र दरबारका अन्य व्यक्‍तिहरू छक्क पर्दै दानिएलको कुरा सुन्दै छन्‌।

अध्ययन, प्रार्थना र यहोवामाथि भरोसा गरेर दानिएलले साहस विकास गरे (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. दानिएललाई साहसी हुन अरू कुन कुराले मदत गऱ्‍यो? (चित्र पनि हेर्नुहोस्‌।)

७ दानिएलले यर्मियालगायत परमेश्‍वरका अन्य भविष्यवक्‍ताहरूका लेखोटहरू अध्ययन गरे। तिनले यस्तो अध्ययनबाट लामो समयदेखि बेबिलोनको कैदमा रहेका यहुदीहरू चाँडै मुक्‍त हुनेछन्‌ भनेर थाह पाए। (दानि. ९:२) बाइबलका भविष्यवाणीहरू पूरा भएको देख्दा यहोवामाथिको दानिएलको भरोसा पक्कै बलियो भएको हुनुपर्छ। अनि यहोवामाथि बलियो भरोसा राख्नेहरूले अदम्य साहस देखाउन सक्छन्‌। (रोमी ८:३१, ३२, ३७-३९ तुलना गर्नुहोस्‌।) सबैभन्दा महत्त्वपूर्ण कुरा, दानिएल स्वर्गमा बस्नुहुने बुबालाई नियमित रूपमा प्रार्थना गर्थे। (दानि. ६:१०) तिनले प्रार्थनामा आफ्ना पापहरू स्विकारे र आफ्ना भावनाहरू पोखे। तिनले मदतको लागि यहोवालाई पुकारे। (दानि. ९:४, ५, १९) हामीजस्तै साधारण मानिस भएकोले तिनी जन्मजातै साहसी थिएनन्‌। तिनले अध्ययन र प्रार्थना गरेर अनि यहोवामाथि भरोसा गरेर यो गुण विकास गरे।

८. साहस विकास गर्न हामीले के गर्नुपर्छ?

८ साहस विकास गर्न हामीले के गर्नुपर्छ? आमाबुबाले हामीलाई साहसी हुन प्रोत्साहन दिन सक्नुहुन्छ तर आफूसित भएको साहस हामीलाई पैतृक सम्पत्तिको रूपमा दिन सक्नुहुन्‍न। साहस विकास गर्नु भनेको नयाँ सीप सिक्नुजस्तै हो। कुनै सीप तिखार्ने एउटा तरिका भनेको प्रशिक्षकले गरेको कामलाई नजिकबाट नियाल्नु र तिनले गरेजस्तै गर्नु हो। त्यसैगरि हामीले पनि अरूले यो गुण कसरी देखाउँछन्‌ भन्‍ने कुरा नजिकबाट नियालेर अनि तिनीहरूको उदाहरण अनुकरण गरेर साहसी हुन सिक्न सक्छौँ। त्यसोभए हामी दानिएलबाट के सिक्न सक्छौँ? तिनीजस्तै हामी परमेश्‍वरको वचनसित राम्ररी परिचित हुनुपर्छ। यहोवासित नियमित रूपमा अनि खुलस्त कुराकानी गरेर हामीले उहाँसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यहोवाले हामीलाई सधैँ मदत गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएर उहाँमाथि भरोसा गर्नुपर्छ। यसो गऱ्‍यौँ भने विश्‍वासको जाँच हुँदा हामी साहसी हुन सक्छौँ।

९. साहसी हुँदा हामी कस्तो लाभ उठाउन सक्छौँ?

९ साहसी हुँदा हामी थुप्रै तरिकामा लाभ उठाउन सक्छौँ। जर्मनीका बेन भाइको उदाहरण विचार गरौँ। तिनको स्कुलमा सबै जना क्रमविकासमा विश्‍वास गर्थे अनि बाइबलमा बताइएको सृष्टिको कुरा मिथ्या हो भन्थे। एकदिन शिक्षकले तिनलाई कक्षाको अगाडि उभिएर सृष्टिमा विश्‍वास गर्नुको कारणबारे बताउन भने। तिनले साहसीपूर्वक आफ्नो विश्‍वासबारे बताए। नतिजा कस्तो भयो? बेन भन्छन्‌: “शिक्षकले मेरो कुरा ध्यान दिएर सुन्‍नुभयो र मेरो नोटको फोटोकपी गरेर सबैलाई एक-एक कपी दिनुभयो।” बेनका साथीहरूले कस्तो प्रतिक्रिया देखाए? तिनी भन्छन्‌: “धेरैजसो साथीले मेरो कुरा ध्यान दिएर सुने र मेरो प्रशंसा गरे।” बेनको अनुभवले देखाएजस्तै साहसी मानिसहरूले अरूको आदर कमाउँछन्‌। उनीहरूले असल हृदय भएका व्यक्‍तिहरूलाई यहोवाबारे सिक्न मदत गर्न पनि सक्छन्‌। हो, हामीसित साहस विकास गर्नुपर्ने जायज कारणहरू छन्‌।

दानिएलजस्तै वफादार हुनुहोस्‌

१०. वफादारी भनेको के हो?

१० बाइबलमा “वफादारी,” “अटल प्रेम” वा “कृपा” भनेर अनुवाद गरिएको हिब्रू शब्दले अक्सर परमेश्‍वरले आफ्ना सेवकहरूलाई गहिरो स्नेहले उत्प्रेरित भएर गर्नुहुने प्रेमलाई बुझाउँछ। बाइबलमा परमेश्‍वरका सेवकहरूबीच हुने प्रेमलाई बुझाउन पनि यही शब्द प्रयोग गरिएको छ। (२ समु. ९:६, ७) हामी यहोवाप्रति वफादार भएको उहाँ चाहनुहुन्छ। हामी यहोवाप्रतिको वफादारीलाई बढाउँदै लैजान सक्छौँ। यस सन्दर्भमा दानिएलको उदाहरण विचार गरौँ।

भविष्यवक्‍ता दानिएल आकाशतिर हेर्दै छन्‌ र तिनी सिंहहरूले घेरिएका छन्‌। एक जना स्वर्गदूतले तिनलाई सुरक्षा दिइरहेका छन्‌।

यहोवाले एक जना स्वर्गदूत पठाउनुभएर र सिंहहरूको मुख थुनिदिनुभएर दानिएललाई तिनको वफादारीको इनाम दिनुभयो (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. बुढेसकालमा दानिएलले यहोवाप्रति वफादार भएको कसरी देखाए? (आवरण चित्र हेर्नुहोस्‌।)

११ थुप्रै चोटि दानिएलको वफादारीको जाँच भयो। त्यस्तै एउटा ठूलो जाँच तिनी ९० वर्ष नाघिसकेपछि भएको थियो। त्यतिबेला बेबिलोन सहर मादी र फारसको कब्जामा थियो अनि राजा दाराको शासन चलिरहेको थियो। दरबारका अफिसरहरू दानिएललाई मन पराउँदैनथे न त तिनका परमेश्‍वरको आदर नै गर्थे। त्यसैले तिनीहरूले दानिएललाई मार्ने षड्यन्त्र रचे। तिनीहरूले राजालाई एउटा उर्दी जारी गर्न लगाए। त्यस उर्दीले दानिएल आफ्ना परमेश्‍वरप्रति वफादार छन्‌ कि राजाप्रति भनेर देखाउने थियो। दानिएलले आफू राजाप्रति वफादार भएको देखाउन र सजाय पाउनदेखि जोगिन ३० दिनसम्म यहोवालाई प्रार्थना नगरे पुग्थ्यो। तर दानिएलले सम्झौता गरेनन्‌। त्यसैले तिनलाई सिंहको खोरमा फ्याँकियो। तर यहोवाले सिंहहरूको मुख थुनिदिनुभएर दानिएलको वफादारीको इनाम दिनुभयो। (दानि. ६:१२-१५, २०-२२) हामी पनि कसरी दानिएलजस्तै यहोवाप्रति वफादार भइरहन सक्छौँ?

१२. दानिएल कसरी यहोवाप्रति वफादार भइरहन सके?

१२ अगाडि उल्लेख गरिएजस्तै यहोवाप्रति वफादार हुन उहाँप्रति गहिरो प्रेम हुनु आवश्‍यक छ। दानिएल जस्तोसुकै अवस्थामा पनि यहोवाप्रति वफादार थिए किनभने तिनी उहाँलाई गहिरो प्रेम गर्थे। यहोवाका गुणहरूबारे अनि उहाँले ती गुणहरू कसरी देखाउनुभयो भन्‍नेबारे मनन गरेकोले नै दानिएलले उहाँप्रति गहिरो प्रेम विकास गर्न सके। (दानि. ९:४) साथै परमेश्‍वरले तिनीलगायत अरू इस्राएलीहरूको लागि गर्नुभएका असल कुराहरूमा पनि तिनले मनन गरे। तिनी ती कुराहरूको लागि निकै कृतज्ञ थिए।—दानि. २:२०-२३; ९:१५, १६.

दुई जवान साक्षी शान्त हुँदै रिसाएका साथीहरू र शिक्षकहरूलाई आफ्नो विश्‍वासबारे बताउँदै छन्‌।

दानिएलले जस्तै यहोवालाई प्रेम गरेर तपाईँ अझ वफादार हुन सक्नुहुन्छ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. (क) जवानहरू वफादारीको जाँच हुने कस्ता परिस्थितिहरूमा पर्न सक्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।) (ख) भिडियोमा देखाइएजस्तै कसैले यहोवाका साक्षीहरू समलिङ्‌गीहरूलाई समर्थन गर्छन्‌ कि गर्दैनन्‌ भनेर सोध्दा तपाईँ के भन्‍नुहुन्छ?

१३ दानिएलले जस्तै जवान भाइबहिनीले यहोवा र उहाँको स्तरको कदर नगर्ने मानिसहरूसित धेरै समय बिताउनुपर्ने हुन्छ। त्यस्ता मानिसहरू आफ्नो भन्दा बेग्लै धर्म मान्‍ने मानिसहरूलाई पटक्कै मन पराउँदैनन्‌। कोही-कोही त जवान भाइबहिनीको वफादारी तोड्‌न जबरजस्ती गर्छन्‌। अष्ट्रेलियामा बस्ने ग्र्यामी भाइको उदाहरण विचार गरौँ। तिनले स्कुलमा गाह्रो अवस्थाको सामना गर्नुपऱ्‍यो। शिक्षिकाले विद्यार्थीहरूलाई यस्तो प्रश्‍न सोधिन्‌: ‘कसैले “म समलिङ्‌गी हुँ” भनेर बतायो भने तिमीहरू कस्तो प्रतिक्रिया देखाउँछौँ?’ शिक्षिकाले समलिङ्‌गीहरूलाई समर्थन गर्नेहरूलाई एउटा साइडमा र समर्थन नगर्नेहरूलाई अर्को साइडमा उभिन भनिन्‌। ग्र्यामी यसो भन्छन्‌: “म र अर्को एक जना साक्षीबाहेक अरू सबै समर्थन गर्नेहरूको साइडमा उभिए। त्यसपछि क्लास नसकुन्जेल एक घण्टासम्म शिक्षिका र साथीहरूले हाम्रो गिल्ला गरे। मैले शान्त भएर अनि व्यावहारिक तरिकामा आफ्नो विश्‍वासबारे बताउने कोसिस गरेँ। तर कसैले पनि मेरो कुरा सुनेन।” यसरी वफादारीको जाँच हुँदा तिनले कस्तो महसुस गरे? तिनी भन्छन्‌: “साथीहरूले मेरो गिल्ला गर्दा सहन गाह्रो भयो तर यहोवाप्रति वफादार भएर आफ्नो विश्‍वासको पक्षमा बोल्न सकेकोमा म धेरै खुसी छु।”c

१४. यहोवाप्रति वफादार भइरहने एउटा तरिका के हो?

१४ दानिएलले जस्तै यहोवालाई जत्ति धेरै प्रेम गर्छौँ, उहाँप्रति वफादार हुने सङ्‌कल्प त्यत्ति नै बलियो हुनेछ। उहाँका गुणहरूबारे सिकेर हामी यस्तो प्रेम विकास गर्न सक्छौँ। जस्तै: हामी उहाँले बनाउनुभएका कुराहरू नियाल्न सक्छौँ। (रोमी १:२०) यदि तपाईँ यहोवाप्रतिको प्रेम र आदरलाई अझै बलियो बनाउन चाहनुहुन्छ भने “सृष्टि या संयोग?” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरू पढ्‌न वा भिडियोहरू हेर्न सक्नुहुन्छ। साथै जीवन सृष्टि कि संयोग? वा जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न भन्‍ने पुस्तिकाहरू पढ्‌न सक्नुहुन्छ। डेनमार्ककी एक जवान बहिनी एस्तर यसो भन्छिन्‌: “यस पुस्तिकामा एकदमै प्रभावकारी तर्कहरू चलाइएका छन्‌। यसमा तपाईँले कुन कुरामा विश्‍वास गर्नुपर्छ भनेर बताइएको छैन बरु तथ्यहरू एकदमै सरल तरिकामा प्रस्तुत गरिएका छन्‌। त्यसको आधारमा तपाईँ आफै निर्णय गर्न सक्नुहुन्छ।” अगाडि उल्लेख गरिएका बेन यसो भन्छन्‌: “यी लेखहरू र पुस्तिकाहरूले मेरो विश्‍वास बलियो बनायो। परमेश्‍वरले नै जीवन सृष्टि गर्नुभएको हो भनेर म विश्‍वस्त भएँ।” यी लेखहरू र पुस्तिकाहरू पढेपछि तपाईँ पनि बाइबलमा बताइएको यस कुरासित पक्कै सहमत हुनुहुनेछ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो।”—प्रका. ४:११.d

१५. यहोवासितको सम्बन्धलाई बलियो बनाउने अर्को तरिका के हो?

१५ यहोवाप्रतिको प्रेमलाई गहिरो बनाउने अर्को तरिका भनेको उहाँको छोरा येसुको जीवनी अध्ययन गरेर हो। जर्मनीमा बस्ने जवान बहिनी समाइराले यसै गरिन्‌। तिनी भन्छिन्‌: “मैले येसुमार्फत यहोवालाई अझै राम्ररी चिन्‍न सकेँ।” सानी छँदा समाइराले यहोवा तिनलाई माया गर्नुहुन्छ र तिनको साथी बन्‍नुहुन्छ भनेर बुझ्न सकेकी थिइनन्‌। तर येसुको भावना भने तिनी बुझ्न सक्थिन्‌। तिनी अझै यसो भन्छिन्‌: “सानै बेलादेखि मलाई येसु मन पर्थ्यो किनभने उहाँ मित्रैलो हुनुहुन्थ्यो र साना केटाकेटीलाई माया गर्नुहुन्थ्यो।” तिनले येसुबारे जत्ति धेरै सिक्न थालिन्‌, त्यत्ति नै यहोवासितको तिनको सम्बन्ध पनि बलियो हुँदै गयो। किन? तिनी भन्छिन्‌: “मैले येसुले आफ्नो बुबाको हुबहु नक्कल गर्नुहुन्छ भनेर बुझ्न थालेँ। येसु आफ्नो बुबाजस्तै हुनुहुन्छ। यहोवाले येसुलाई पृथ्वीमा पठाउनुको एउटा कारण मानिसजातिले यहोवालाई अझ राम्ररी चिन्‍न सकून्‌ भनेर हो।” (युह. १४:९) यदि तपाईँ यहोवासितको सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ भने येसुबारे अझ धेरै सिक्नुभए कसो होला? यसो गर्नुभयो भने यहोवाप्रतिको प्रेम र वफादारी बढ्‌दै जानेछ।

१६. हामी किन वफादार हुनुपर्छ? (भजन १८:२५; मिका ६:८)

१६ हामी अरूप्रति वफादार छौँ भने हाम्रा साथीहरू पनि अक्सर हामीप्रति वफादार हुन्छन्‌। (रुथ १:१४-१७) साथै हामी यहोवाप्रति वफादार छौँ भने मनोशान्ति पाउन सक्छौँ। किन? किनभने यहोवाले वफादारप्रति वफादार रहने प्रतिज्ञा गर्नुभएको छ। (भजन १८:२५; मिका ६:८ पढ्‌नुहोस्‌।) सोच्नुहोस्‌ त, सर्वोच्च सृष्टिकर्ता हामी तुच्छ मानिसहरूलाई सधैँभरि प्रेम गर्ने वाचा गर्नुहुन्छ। यस्तो घनिष्ठ मित्रतालाई कुनै पनि परीक्षा, खेदो र मृत्युले समेत तोड्‌न सक्दैन। (दानि. १२:१३; लुका २०:३७, ३८; रोमी ८:३८, ३९) दानिएलको अनुकरण गर्दै यहोवाप्रति वफादार रहनु साँच्चै महत्त्वपूर्ण छ!

दानिएलबाट सिकिरहनुहोस्‌

१७-१८. दानिएलबाट अरू कस्तो कुरा सिक्न सक्छौँ?

१७ यस लेखमा हामीले दानिएलका दुई वटा गुणबारे मात्रै छलफल गऱ्‍यौँ। हामी तिनीबाट अझ धेरै कुरा सिक्न सक्छौँ। जस्तै: यहोवाले दानिएललाई दर्शन तथा सपनाहरूमार्फत भविष्यमा हुने थुप्रै कुरा प्रकट गर्नुभयो र ती भविष्यवाणीहरूको अर्थ खुलाउन मदत दिनुभयो। तीमध्ये थुप्रै पूरा भइसके। प्रत्येक मानिसलाई असर गर्ने अरू कतिपय भविष्यवाणी भने पूरा हुन बाँकी छन्‌।

१८ यसपछिको लेखमा हामी दानिएलका दुइटा भविष्यवाणीबारे छलफल गर्नेछौँ। ती भविष्यवाणीहरू राम्ररी बुझ्यौँ भने हामी जवान र वृद्ध सबैले अहिल्यै बुद्धिमानी निर्णय गर्न सक्नेछौँ। साथै ती भविष्यवाणीहरूले हामीलाई अझै साहसी र वफादार हुन अनि निकट भविष्यमा आउने परीक्षाहरूको लागि तयार रहन मदत गर्नेछ।

के तपाईँले सम्झनुभएको छ?

  • यहोवा दानिएललाई किन प्रेम गर्नुहुन्थ्यो?

  • दानिएलले कसरी साहस देखाए?

  • हामी कसरी यहोवाप्रति अझ वफादार हुन सक्छौँ?

गीत ११९ साँचो विश्‍वास हुनै पर्छ

a आज थुप्रै जवान भाइबहिनीले साहस र वफादारी देखाउनुपर्ने अवस्थाको सामना गर्छन्‌। सृष्टिकर्तामा विश्‍वास गरेकोले स्कुलका साथीहरूले तिनीहरूको गिल्ला गर्न सक्छन्‌। अथवा यहोवाको सेवा गरेकोले अनि उहाँको स्तरअनुसार चलेकोले साथीहरूले तिनीहरूलाई मूर्ख ठान्‍न सक्छन्‌। तर यस लेखबाट भविष्यवक्‍ता दानिएलको अनुकरण गर्नेहरू अनि साहसी र वफादार भई यहोवाको सेवा गर्नेहरू साँच्चै बुद्धिमान्‌ हुन्‌ भनेर बुझ्नेछौँ।

b दानिएलले यी तीन कारणले गर्दा बेबिलोनीहरूको खानेकुरालाई अशुद्ध ठानेका हुन सक्छन्‌: (१) तिनीहरूलाई खान दिइएको मासु व्यवस्थाले निषेध गरेको जनावरको हुन सक्थ्यो। (व्यव. १४:७, ८) (२) व्यवस्थाअनुसार खान मिल्ने जनावर भए तापनि रगत भने राम्ररी ननिथारिएको हुन सक्थ्यो। (लेवी १७:१०-१२) (३) बेबिलोनीहरू अक्सर जनावरहरू सुरुमा तिनीहरूका देवीदेवतालाई बलि चढाउँथे; त्यसैले तिनीहरू त्यस्तो मासु खानुलाई ती देवीदेवताको उपासना गर्नुसरह ठान्थे।—लेवी ७:१५ र १ कोरिन्थी १०:१८, २१, २२ तुलना गर्नुहोस्‌।

c jw.org मा “साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ” भन्‍ने भिडियो हेर्नुहोस्‌।

d यहोवाप्रतिको प्रेमलाई अझ बलियो बनाउन तपाईँ यहोवासित नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) किताब पनि पढ्‌न सक्नुहुन्छ। यसमा उहाँका गुणहरू र व्यक्‍तित्वबारे बताइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने