के तपाईं आफ्नो आँखाले देख्न सक्नेभन्दा बढी कुरा देख्नुहुन्छ?
गाडी चालकहरूले घुमाउरो मोडमा अर्कोतिरबाट के आइरहेको छ, राम्ररी देख्न सक्दैनन्। तर, सडकको घुमाउरो मोडमा राखिएको ऐनामा अर्को दिशाबाट आइरहेको गाडी देखेर दुर्घटनाबाट बच्न सकिन्छ। त्यसरी नै, मानिसहरूले पनि अदृश्य सृष्टिकर्ता देख्न सक्दैनन्। तर अदृश्य सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह पाउने के कुनै तरिका छ?
प्रथम शताब्दीका लेखकले हामी नदेख्ने कुराहरू पनि कसरी देख्न सक्छौं भनी बताए। तिनले यस्तो लेखे: “[परमेश्वरको] अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”—रोमी १:२०.
त्यसबारे यसो विचार गर्नुहोस्। के तपाईं आफू वरपरका कतिपय कुराहरूमा बुद्धि झल्किएको पाउनुहुन्छ जुन कुराहरू मानिसको क्षमताले गर्न सक्दैन? के त्यस्ता कुराहरूले तपाईंलाई मानिसभन्दा श्रेष्ठ व्यक्ति हुनुहुन्छ भनी बुझ्न “हृदयका आँखा” खोलेर हेर्न मदत गर्दैन र? आउनुहोस्, केही उदाहरणहरू विचार गरौं।—एफिसी १:१८.
सृष्टिबाट सिक्ने
के तपाईं निस्पट्ट अँध्यारो रातमा चम्किला ताराहरूले भरिएको आकाशमा महान् रचयिताको प्रमाण देखेर दंग पर्नुभएको छ? त्यस्तै हेरेर पुरातन समयका एक जना व्यक्तिले यस्तो टिप्पणी गरे, “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” तिनले यसो पनि भने, “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईंले नियुक्त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाई चासो लिनुहुन्छ?”—भजन ८:३, ४; १९:१.
मानिसले नक्कल गर्न नसक्ने सृष्टिलाई हेरेर दंग पर्नु स्वाभाविकै हो। एउटा प्रख्यात कविताको हरफ यस्तो छ: “परमेश्वरले मात्र रूख बनाउन सक्नुहुन्छ।” यद्यपि, त्योभन्दा अद्भुत कुरा, बच्चाको सृष्टि हो र यो कार्यमा आमाबाबुले एक एक कदममा कुनै प्रत्यक्ष निर्देशन दिइरहेका हुँदैनन्। बुबाको शुक्रकीटसित आमाको अण्डा मिलन भएपछि नयाँ कोषमा डि एन ए-को सबै जानकारी पुग्छ। भनिन्छ, “डि एन ए-मा हुने सबै जानकारी लेख्ने हो भने ६०० पृष्ठे पुस्तक हजारवटा चाहिनेछ।”
त्यो त केवल सुरुआत हो। सुरुको कोष विभाजन भएर दुइटा, त्यसपछि चार अनि आठवटा हुँदै धेरैवटा बन्छ। लगभग २७० दिनपछि, करोडौं करोड जीवित कोषहरू मिलेर बच्चा बन्छ र यी कोषहरू २०० भन्दा बढी प्रकारका हुन्छन्। अनि सोच्नुहोस् त, यत्ति धेरै प्रकारका यतिबिघ्न कोषहरू एकै चोटि बनाउन चाहिने सबै जानकारी सुरुको एउटा कोषमा थियो! के तपाईं यस्तो सृष्टिकर्ताको प्रशंसा गर्न उत्प्रेरित हुनुहुन्न र? यस भजनरचयिताले व्यक्त गरेको प्रशंसालाई ध्यान दिनुहोस्: “तपाईंलेनै मेरो अन्तस्करण बनाउनुभयो। तपाईंले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो। म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु।”—भजन १३९:१३-१६.
यी “चमत्कारहरू” अध्ययन गरेका व्यक्तिहरू आश्चर्यचकित हुन्छन्। शिकागो र इलिनोइ प्रान्तको चिकित्सा समाजको भूतपूर्व अध्यक्ष, डा. जेम्स एच. हटन, कोषहरूको एकअर्कालाई जानकारी प्रसारण गर्ने “असाधारण” क्षमता देखेर आफू आश्चर्यचकित भएको कुरा बताए। हाम्रा वैज्ञानिक अनुसन्धानकर्ताहरूले यस्ता कुराहरूबारे सिक्न सक्नु साँच्चै राम्रो कुरा हो। तर कुनै ईश्वरीय बुद्धिमान् स्रोतले नै यी सबैको योजना बनाएको हुनुपर्छ।”
डा. हटनले अझै यसो भने: “इन्डोक्राइनसम्बन्धी आफ्नै विशेष क्षेत्रलाई विचार गर्दै इन्डोक्राइनका कार्य र यसका विकारहरू अध्ययन गर्दा यी अत्यावश्यक अंगहरूको जटिलताको लागि ईश्वरीय शक्ति जिम्मेवार हुनुपर्छ भनी विश्वास दिलाउँछ।” तिनले अन्तमा यसो भने: “यी चमत्कारहरू हेर्दा सर्वशक्तिमान्, सर्वज्ञानी शक्तिले यो ब्रह्माण्डको योजना बनाएर यसलाई गतिशीलता दियो भन्ने बलियो प्रमाण पाइन्छ।”
यी टिप्पणीहरू गरिसकेपछि डा. हटनले यो प्रश्न गरे: “के उहाँ एक-एकवटा भंगेरा खसेको पनि ध्यान दिनुहुने परमेश्वर हुनुहुन्छ?” तिनले जवाफ दिए: “त्यसो त होइन होला। मेरो दैनिक क्रियाकलापमा उहाँले चासो राख्नुहुन्छ जस्तो पनि लाग्दैन।”
किन धेरैजसो मानिसहरू सृष्टिको “चमत्कारमा” बुद्धिको प्रमाण स्वीकार्छन् तर मानिसजातिप्रति चासो राख्नुहुने परमेश्वरको अस्तित्वमा शंका गर्छन्?
के परमेश्वरले साँच्चै हाम्रो चासो राख्नुहुन्छ?
थुप्रै मानिसहरू यदि परमेश्वर हुनुहुन्छ भने उहाँले मानिसहरूलाई दुःखकष्ट सहन दिनुहुनेथिएन भन्ने तर्क गर्छन्। कोही कोहीले सोध्ने सामान्य प्रश्न हो, “कहाँ हुनुहुन्थ्यो परमेश्वर, जुन बेला हामीलाई उहाँको जरुरत परेको थियो?” दोस्रो विश्वयुद्धमा लाखौं नाजीहरू मारिएको दुर्दशाबाट बचेका एक जना व्यक्ति त्यो दुःखकष्ट देखेर असाध्यै विचलित हुँदै यसो भने: “मेरो हृदय यति तितो भएको छ कि तपाईंले त्यसलाई चाट्नुभयो भने तपाईंलाई विष लाग्नेछ।”
अतः धेरैका लागि यसले दुबिधा खडा गर्छ। माथि उल्लिखित पुरातन समयका व्यक्तिले टिप्पणी गरेअनुसार आफू वरपरका कुराहरूको सुव्यवस्था र रचना हेऱ्यौं भने सृष्टिकर्ताको प्रमाण प्रस्ट हुन्छ। यद्यपि, उहाँ हाम्रो चासो राख्ने परमेश्वर हुनुहुन्छ भने के उहाँले त्यस्तो भयानक दुःखकष्ट हुने अनुमति दिनहुन्छ होला र? हामीले परमेश्वरलाई चिनेर सही ढंगमा उहाँको उपासना गर्ने हो भने त्यो महत्त्वपूर्ण प्रश्नको चित्तबुझ्दो जवाफ पाउनैपर्छ। हामी यसको जवाफ कहाँ पाउन सक्छौं?
हामी तपाईंलाई के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिका प्राप्त गर्न आग्रह गर्छौं। यही ब्यूँझनुहोस्!-को पृष्ठ ३२ मा त्यो पुस्तिका कसरी प्राप्त गर्न सकिन्छ भनेर बताइएको छ। “परमेश्वरले दुःखकष्ट हुने अनुमति किन दिनुभएको छ?” र “विद्रोहको के नतिजा भएको छ?” भन्ने अंशहरू ध्यान दिएर केलाउनुभयो भने चित्तबुझ्दो जवाफ पाउनुहुनेछ भन्ने हाम्रो आशा छ।
[पृष्ठ ११-मा भएको चित्र]
के तपाईं यी कुराहरूमा सृष्टिकर्ताको प्रमाण देख्नुहुन्छ?