प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ पृ. १६-२०
  • युरोपमा नाजी शासनको बेला जाँचिएको विश्‍वास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युरोपमा नाजी शासनको बेला जाँचिएको विश्‍वास
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल सत्य सिक्दै
  • आध्यात्मिक वृद्धि
  • सन्‌ १९३८—एउटा कालो वर्ष
  • मेरो दाइ, विलि
  • बाइबल सच्चाइको लागि विलिको अडान
  • भिन्कोको मृत्युसम्मै निष्ठा
  • अन्तमा स्वतन्त्रता!
  • एउटी मायालु सहयोगी
  • यहोवाको प्रेममा सन्तुष्ट
  • यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मेरा आमाबुबाको उदाहरणबाट बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • कमजोर भए पनि म बलवान्‌ छु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ पृ. १६-२०

युरोपमा नाजी शासनको बेला जाँचिएको विश्‍वास

एन्टोन लिटोन्याको वृत्तान्तमा आधारित

मार्च १२, १९३८ मा हिटलरको सेनाले अस्ट्रियाको सिमाना पार गऱ्‍यो। रेडियोमा फौजी गीत र राजनैतिक नाराहरू घन्किए। मेरो मातृभूमि अस्ट्रियामा देशभक्‍तिको लहर चल्यो।

हिटलरले अस्ट्रिया कब्जा गरेपछि मानिसहरूको मनमा आशाका लहरहरू दौडिए। हिटलरको “हजार वर्षीय साम्राज्य”-ले गरिबी अनि बेरोजगारीलाई हटाउनेछ भनेर धेरैले आशा राखेका थिए। क्याथोलिक पादरीहरूले समेत राष्ट्रको पक्ष लिंदै देशभक्‍तिको भावनामा साथ दिए र हिटलरलाई सलामी चढाए।

म भर्खर १९ वर्षको लक्का जवान भए तापनि हिटलरका प्रतिज्ञाहरूबाट प्रभावित भइनँ। मानव सरकारले मानिसजातिका समस्याहरू समाधन गर्न सक्छ भन्‍ने मलाई रत्तीभर विश्‍वास थिएन।

बाइबल सत्य सिक्दै

परिवारको तेस्रो अनि सबैभन्दा कान्छो सन्तानको रूपमा मेरो जन्म अप्रिल १९, १९१९ मा अस्ट्रियाको डोनाभिट्‌समा भयो। बुबा खानीमा काम गर्ने एक परिश्रमी व्यक्‍ति हुनुहुन्थ्यो। सन्‌ १९२३ मा उहाँले हाम्रो परिवारलाई फ्रान्स लैजानुभयो र फ्रान्सकै खानी शहर भनेर चिनिने लीभीनमा उहाँले काम पाउनुभयो। बुबालाई राजनीतिमा दृढ विश्‍वास भएकोले धर्मप्रति थोपा पनि आस्था थिएन तर आमा भने भक्‍त क्याथोलिक हुनुहुन्थ्यो। आमाले बच्चाहरूलाई हुर्काउने क्रममा परमेश्‍वरप्रति विश्‍वास राख्न सिकाउनुभयो र हरेक रात उहाँ हामीसँगै बसेर प्रार्थना गर्नुहुन्थ्यो। पछि, धर्मप्रति बुबाको अविश्‍वास यति बढ्यो कि उहाँले आमालाई चर्च जान रोक लगाउनुभयो।

सन्‌ १९२० दशकको अन्ततिर युगोस्लाभियाली मूलका एक युवक भिन्टसेन्ट्‌स प्लाटाइससित हाम्रो चिनजान भयो र हामी तिनलाई भिन्को नाउँले बोलाउने गर्थ्यौं। उनी हाल यहोवाका साक्षीहरू भनेर चिनिने त्यतिबेलाका बाइबल स्टुडेन्ट्‌हरूको सम्पर्कमा थिए। केही समयपछि एक जना बाइबल स्टुडेन्ट्‌ हाम्रो परिवारलाई भेट्‌न हामीकहाँ आउन थाले। बुबाले आमालाई चर्च जान रोक लगाउनुभएकोले परमेश्‍वरलाई घरमै उपासना गर्न सकिन्छ कि भनेर आमाले भिन्कोलाई सोध्नुभयो। परमेश्‍वर “हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न,” भनी लेखिएको प्रेरित १७: २४ देखाउँदै परमेश्‍वरलाई उपासना गर्ने उपयुक्‍त स्थान घर नै हो भनी उनले आमालाई बुझाए। यो कुरा सुनेर आमा खुसी हुनुभयो र बाइबल स्टुडेन्ट्‌हरूको घरमा सञ्चालन हुने सभाहरूमा उपस्थित हुन थाल्नुभयो।

बुबाकै शब्दमा भन्‍नुपर्दा आमाले गर्नुभएका यी सब कुरा उहाँलाई वाहियात लाग्थ्यो र यसलाई तत्कालै बन्द गर्न उहाँले आमालाई आदेश दिनुभयो। बाइबल स्टुडेन्ट्‌हरूसितको संगतिबाट अलग गराउन हामी सबैलाई आइतबारको मासमा उपस्थित हुन बुबाले कर लगाउनुभयो! आमाले त्यहाँ जान ठाडै इन्कार गर्नुभएको हुनाले मैले चर्चको धार्मिक पूजाआजामा सघाउने व्यक्‍तिको हैसियतमा काम गर्नुपर्ने बुबाको अडान थियो। यस सन्दर्भमा बुबाको इच्छाको कदर गर्दै आमाले नियमित रूपमा मेरो मन अनि हृदयमा बाइबलका सिद्धान्तहरू बसाल्ने अनि मलाई बाइबल स्टुडेन्ट्‌हरूका सभाहरूमा लैजान छोड्‌नुभएन।

सन्‌ १९२८ मा भिन्को र मेरी दिदी जोसेफिना जसलाई हामी पेपी नाउँले बोलाउँछौं, तिनीहरूले यहोवाप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिए। पछि तिनीहरूले विवाह गरे। अर्को वर्ष लीभीनमा तिनीहरूकी छोरी फिनीको जन्म भयो। तीन वर्षपछि तिनीहरूलाई युगोस्लाभियामा पूर्ण-समय सेवा गर्न आमन्त्रित गरियो जहाँ साक्षीहरूको कार्यमाथि प्रतिबन्ध थियो। थुप्रै कठिनाइहरूको बावजुद यहोवाको सेवाको लागि तिनीहरूको आनन्द र जोसमा अलिकता पनि कमी आएन। तिनीहरूको असल उदाहरणले मेरो मनमा पूर्ण-समय सेवक बन्‍ने इच्छा जगाइदियो।

आध्यात्मिक वृद्धि

दुःखको कुरा, हाम्रा आमाबाबुको मतभेद १९३२ मा गएर छुटानाममा टुंगियो। म आमासित अस्ट्रिया फर्कें तर मेरो ठूल्दाइ विल्हेल्म (विलि) फ्रान्समै बसे। त्यसपछि बुबासित मेरो धेरै सम्पर्क भएन। आफ्नो मृत्युसम्म पनि उहाँ हाम्रो विरोधी नै रहनुभयो।

आमा र म अस्ट्रियाको एउटा गाउँ गाम्लिट्‌समा बसोबास गर्न थाल्यौं। नजिकै कुनै मण्डली नभएकोले उहाँले मसित नियमित रूपमा बाइबल आधारित प्रकाशनहरू छलफल गर्नुहुन्थ्यो। खुसीको कुरा, हामीलाई आध्यात्मिक स्फूर्ति दिन भाइ एडवार्ट भोहिन्ट्‌स महिनाको दुईपल्ट ग्राजबाट १०० किलोमिटर साइकल यात्रा गरेर हाम्रो घरसम्म आइपुग्नुहुन्थ्यो!

सन्‌ १९३८ मा हिटलरको आतंकपूर्ण शासनको सुरुवातमै भाइ भोहिन्ट्‌स पक्राउ पर्नुभयो। लिन्जस्थित नाउँ मात्रको पीडारहित मृत्यु शिविरमा उहाँलाई लगियो र त्यहाँ विषालु ग्याँसद्वारा उहाँको हत्या गरियो। यो खबर सुनेर हामी शोकित भयौं। तिनको उल्लेखनीय विश्‍वासले हामीलाई विश्‍वासी भई यहोवाको सेवा गरिरहन सुदृढ बनायो।

सन्‌ १९३८—एउटा कालो वर्ष

अस्ट्रियामा १९३५ मा साक्षीहरूको कार्यमाथि प्रतिबन्ध लगाइएको थियो। हिटलरका सेना १९३८ मा अस्ट्रियामा प्रवेश गर्दा हाम्रो सेवकाई ठूलो खतरामा पऱ्‍यो। छिमेकीहरूलाई आमा र म यहोवाका साक्षी हौं भनेर थाह थियो, त्यसैले हामीले भूमिगत हुने निर्णय गऱ्‍यौं। नाजीहरूले मलाई पक्रन नसकून्‌ भनेर मैले अन्‍न राख्ने भण्डारमा समेत रात काट्‌न थालें।

सन्‌ १९३८ को सुरुतिर मैले आफ्नो आधारभूत पढाइ सिध्याएर बेकरीमा काम गर्न थालिसकेको थिएँ। मैले “हिटलरको जय होस्‌” भन्‍न र हिटलर यूथ अर्गनाइजेशनको सदस्य बन्‍न नमानेकोले मलाई जागिरबाट निकालियो। तर म यहोवा परमेश्‍वरप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतिकात्मक रूप दिन झन्‌ बढी कटिबद्ध भएँ।

अप्रिल ८, १९३८ मा आमा र मैले सँगै बप्तिस्मा लियौं। एक रात, हामी र अन्य सात जना जंगलको एकान्तमा रहेको एउटा छाप्रोमा भेला भयौं। बप्तिस्माको भाषणपछि हामी एक-एक गर्दै दस-दस मिनेटको अन्तरालमा साँघुरो गल्ली हुँदै लुगा धुने ठाउँमा गयौं। त्यहाँ हामीले क्रंकीटको ठूलो भाँडोमा बप्तिस्मा लियौं।

अप्रिल १०, १९३८ मा अस्ट्रियालाई जर्मनीमा गाभ्ने या नगाभ्ने भनेर नाउँ मात्रको जनमतसंग्रह गरियो। सारा देशभरि “हिटलरलाई मत दिनुहोस्‌!” भनी अपिल गरिएका पोस्टरहरू देखा परे। धेरै समय फ्रान्समा बसोबास गरेको हुनाले हामीले कुनै पनि देशको नागरिकता पाएका थिएनौं त्यसैले आमा र मैले भोट हाल्नु आवश्‍यक थिएन। पछि यही कारणले गर्दा मेरो ज्यान पनि जोगियो। दक्षिण अस्ट्रियाको क्लागेनफर्टबाट भाइ फ्रान्ज गान्स्टले हाम्रो लागि प्रहरीधरहरा-का प्रतिहरू नियमित रूपमा ल्याइदिने गर्नुहुन्थ्यो। यसरी दोस्रो विश्‍वयुद्धले उग्र रूप लिनुअघि परमेश्‍वरको वचनबाट हामी आध्यात्मिक तवरमा बलियो हुन सक्यौं।

मेरो दाइ, विलि

मभन्दा चार वर्ष जेठो मेरो दाइ विलिले नौ वर्षअघि हामीले फ्रान्स छोडेदेखि आमा र मसित एक चोटि पनि सम्पर्क गर्नुभएको थिएन। जवान छँदा आमाले उहाँलाई बाइबलमा भएका कुराहरू सिकाउनुभएको थियो। तापनि हिटलरको राजनैतिक कार्यक्रम नै उज्ज्वल भविष्यको एक मात्र माध्यम हो भन्‍ने विश्‍वासमा उहाँ बहकिनुभयो। सन्‌ १९४० मे महिनामा फ्रान्सेली अदालतले नाजीको हैसियतमा गैरकानुनी गतिविधिहरूमा संलग्न भएको आरोपमा उहाँलाई दुई वर्षको जेल सजाय सुनायो। जर्मन फौज फ्रान्समा प्रवेश गरेपछि उहाँलाई छिट्टै रिहा गरियो। त्यसबेला उहाँले पेरिसबाट हामीलाई एउटा कार्ड पठाउनुभयो। उहाँ जीवितै हुनुभएको थाह पाएर हामी खुसी त भयौं तर उहाँले अँगाल्नुभएको बाटो थाह पाउँदा हामी स्तब्ध भयौं।

एस एस -सित (शुटशाफेल, हिटलरका विशिष्ट सुरक्षादल) राम्रो सम्बन्ध भएको हुनाले युद्ध चलिरहेको बेला पनि विलि दाइ हामीलाई भेट्‌न आइरहनुहुन्थ्यो। हिटलरको सैन्य सफलताले उहाँमाथि गहिरो छाप पारेको थियो। जब जब म उहाँको ध्यान हाम्रो बाइबल आधारित आशामा खिच्ने प्रयास गर्थें, अक्सर यसो भनेर उहाँले कुरा टुंग्याउनुहुन्थ्यो: “वाहियात कुरा! हिटलरको जोडदार आक्रमणलाई हेर। अब जर्मनहरू छिट्टै संसारकै मालिक हुनेछन्‌!”

फ्रेब्रुअरी १९४२ मा जागिरबाट छुट्टी लिएर घर बस्नुभएको बेला एक दिन मैले उहाँलाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित इनिमिज नामक पुस्तक पढ्‌न दिएँ। एकै पटकमा सबै पुस्तक पढिसक्नुभएको देखेर म तीन छक परें। त्यस पुस्तकले उहाँलाई हिटलरको शासन एक दिन विनाशमा जानेछ भन्‍ने कुरा महसुस गरायो। उहाँले एउटा निरंकुश व्यवस्थालाई सहयोग गर्दै आउनुभएको थियो र चाँडै आफ्नो गल्ती सुधार्न उहाँ कटिबद्ध हुनुभयो।

बाइबल सच्चाइको लागि विलिको अडान

अर्को महिना हामीलाई भेट्‌न आउनुहुँदा विलि दाइको स्वभावमा पूरै परिवर्तन आएको थियो। उहाँले यसो भन्‍नुभयो: “एन्टोन, मैले गलत बाटो अपनाएको रहेछु!”

मैले भनें: “दाइ, तर तपाईंले अलि ढिलो गर्नुभयो।”

उहाँले जवाफ दिनुभयो: “होइन, त्यति धेरै ढिलो भएको छैन! बाइबलले भन्छ ‘बाँचुन्जेल तैंले आफूले गर्नुपर्ने सबै काम गर’ अनि म अहिलेसम्म जीवित रहेकोमा परमेश्‍वरलाई धन्यवाद दिन्छु!”—उपदेशक ९:१०.

मैले सोधें: “त्यसोभए तपाईं के गर्न चाहनुहुन्छ त?”

उहाँले जवाफ दिनुभयो: “अब म सेनाको जागिर छोड्‌न चाहन्छु। म नाजीहरूसितको सारा सम्बन्ध तोड्‌दैछु, हेरौं के होला।”

फेरि एक चोटि हाम्री दिदी पेपीलाई भेट्‌न उहाँ उत्तिखेरै युगोस्लाभियाको जाग्रेबमा जानुभयो। त्यहाँ केही समय साक्षीहरूको प्रतिबन्धित सभाहरूमा उपस्थित भइसकेपछि उहाँले गुप्त रूपमा बप्तिस्मा लिनुभयो। अन्ततः उडन्ता पुत्र फर्किएको थियो!—लूका १५:११-२४.

फ्रान्समा रहेका नाजीहरूबाट उम्कन दाइले सिमाना पार गरेर स्वीजरल्याण्डतिर भाग्ने प्रयास गर्नुभयो। यद्यपि, जर्मन सेनाले उहाँलाई पक्रियो। जुलाई २७, सन्‌ १९४२ मा सैन्य अदालतमा उहाँमाथि मुद्दा दायर गरियो र अनुमतिविना सैन्य सेवा छोडेको अभियोगमा उहाँलाई मृत्युदण्डको फैसला सुनाइयो। बर्लिन-टागल सैन्य जेलमा मैले उहाँलाई भेट्‌ने अनुमति पाएँ। मलाई एउटा सानो कोठामा लगियो र केही समयपछि साङ्‌लाले बाँधिएको अवस्थामा एउटा गार्डसित दाइ कोठामा आउनुभयो। उहाँलाई त्यो अवस्थामा देखेर मैले आँसु थाम्नै सकिनँ। हामीलाई अंगालो हाल्नसमेत दिइएन र त्यो अन्तिम बिदाइको भेट २० मिनेटमै टुंग्याउनुपर्थ्यो।

दाइले मेरो आँखामा आँसु देख्नुभयो र भन्‍नुभयो: “एन्टोन, तिमी किन रुन्छ्‌यौ?” तिमी त खुसी हुनुपर्छ! यहोवाले फेरि एक चोटि मलाई सच्चाइ थाह पाउन मदत गर्नुभएकोमा म उहाँप्रति धेरै कृतज्ञ छु! यदि म हिटलरको लागि मर्नुपरेको भए मेरोलागि कुनै आशा हुने थिएन। तर यहोवाको लागि मर्नुको अर्थ म पुनरुत्थान हुन्छु भन्‍ने मलाई पक्का विश्‍वास छ र हामी फेरि भेट्‌न सक्नेछौं!”

दाइले हामीलाई लेख्नुभएको अन्तिम पत्र यस्तो थियो: “मैले सेवा गरेको प्यारो परमेश्‍वरले मलाई आवश्‍यक सबै कुरा दिनुहुन्छ र उहाँले अन्तसम्म मेरो साथ छोड्‌नुहुन्‍न। त्यसैले म सबै कुरा सहन र विजयी हुन सक्नेछु। म फेरि एक चोटि भन्‍न चाहन्छु, प्रभुमा अटल रहेकोमा मलाई कुनै पछुतो छैन, यस कुरामा तपाईंहरू ढुक्क हुनुहोस्‌!”

भोलिपल्ट सेप्टेम्बर २, सन्‌ १९४२ मा बर्लिन नजिकैको ब्रान्डेनबर्ग पेनिटेनटेरीमा दाइलाई मृत्युदण्ड दिइयो। त्यतिखेर उहाँ २७ वर्षको हुनुहुन्थ्यो। उहाँको उदाहरणले फिलिप्पी ४:१३ का शब्दहरूको यथार्थतालाई पुष्टि दियो: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”

भिन्कोको मृत्युसम्मै निष्ठा

जर्मन सेना १९४१ मा युगोस्लाभियामा छिरे र तिनीहरूले पेपी, उनका पति भिन्को र तिनीहरूका १२ वर्षीय छोरी फिनीलाई अस्ट्रियाको घरमा फर्कन बाध्य तुल्याए। त्यतिबेलासम्ममा अस्ट्रियामा रहेका धेरै जसो साक्षीहरू जेल वा यातना शिविरमा पुगिसकेका थिए। कुनै देशको नागरिक नभएको अर्थात्‌ जर्मन नागरिक नभएको कारण तिनीहरूलाई हाम्रो घर नजिकै पर्ने दक्षिण अस्ट्रियाको फार्मको श्रम शिविरमा खटाइयो।

पछि, अगस्त २६, १९४३ मा गेस्तापोले (नाजी गुप्त प्रहरी) भिन्कोलाई पक्राउ गऱ्‍यो। फिनीले आफ्नो बुबालाई बिदाइ गर्ने कोसिस गर्दा प्रहरी प्रमुखले तिनलाई यस्तरी हिर्काए कि तिनी उछिट्टिएर कोठाको अर्को कुनामा पुगिन्‌। भिन्कोलाई अक्सर केरकार गरिन्थ्यो अनि गेस्तापोले तिनलाई निर्ममतासाथ पिट्‌थे र पछि तिनलाई म्युनिकस्थित स्टाडेलहिममा लगियो।

अक्टोबर ६, १९४३ मा प्रहरीहरूले मेरो काम गर्ने ठाउँमै आएर मलाई पक्रे र मलाई पनि भिन्को भएको ठाउँ स्टाडेलहिम पेनिटेनटरीमा लगे। मैले फ्रान्सेली भाषा फर्रर बोल्न सक्ने भएकोले मलाई फ्रान्सेली युद्धबन्दीहरूको दोभाषेको रूपमा प्रयोग गरियो। जेल परिसरमा हिंड्‌दा भिन्कोसित कुराकानी गर्ने अवसर मिल्थ्यो।

अन्ततः भिन्कोलाई मृत्युदण्डको फैसला सुनाइयो। तिनलाई, साक्षीहरूलाई बाइबल साहित्य आपूर्ति गरेको तथा यातना शिविरमा पति हुने साक्षी पत्नीहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको थियो। तिनलाई पनि विलिलाई मृत्युदण्ड दिइएको बर्लिन नजिकै रहेको कारागारमा सारियो र त्यहीं अक्टोबर ९, १९४४ मा तिनको टाउको छिनाइयो।

आफ्नो परिवारसित भिन्कोको अन्तिम भेट साह्रै हृदयविदारक थियो। तिनीहरूले भिन्कोलाई साङ्‌लाले बाँधिएको अनि पिटिएको अवस्थामा पाए र साङ्‌लाले गर्दा आफ्नो परिवारलाई अँगालो हाल्न भिन्कोलाई धेरै गाह्रो भयो। त्यतिखेर फिनी १४ वर्षकी थिइन्‌। आफ्नो बुबाका अन्तिम शब्दहरू तिनलाई अझै याद छ: “फिनी, आफ्नी आमाको ख्याल राख है!”

आफ्नो बुबाको मृत्युपछि फिनीलाई तिनकी आमाबाट खोसेर नाजी परिवारसित राखियो र तिनीहरूले तिनलाई “सुधार” गर्ने प्रयास गरे। तिनी अक्सर निर्ममतासाथ पिटिन्थे। जब रूसी फौज अस्ट्रियामा प्रवेश गऱ्‍यो फिनीलाई नराम्रो दुर्व्यवहार गर्ने त्यो जर्मन परिवारलाई रूसीहरूले गोली ठोके। तिनीहरूले त्यस परिवारलाई कुख्यात नाजीहरू भन्‍ने संज्ञा दिए।

लडाइँपछि मेरी दिदीले क्षेत्र सेवकाईलाई निरन्तरता दिइन्‌। तिनले आफ्नो दोस्रो पति हान्स फोर्स्टरसित १९९८ मा आफ्नो मृत्यु नहोउन्जेल यहोवाका साक्षीहरूको स्वीस शाखामा सेवा गरिन्‌। फिनीले आफ्ना बुबाआमाको पदचिह्न पछ्याइन्‌ र हाल तिनी स्वीजरल्याण्डमा साँचो परमेश्‍वर यहोवाको सेवा गर्दैछिन्‌।

अन्तमा स्वतन्त्रता!

म्युनिकमा १९४५ को सुरुतिर बम आक्रमणमा परेका भवनहरूमध्ये हाम्रो जेल पनि थियो। शहर भताभुङ्‌ग भयो। जेलमा आएको १८ महिना बितिसकेपछि न्यायाधीशबाट मेरो फैसला हुने दिन आयो। यो दिन मे ८, १९४५ मा आधिकारिक युद्धविराम हुने दिनभन्दा ठीक दुई हप्ता अघि थियो। फैसला हुने दिनमा मलाई सोधियो: “के तिमी सैनिक सेवा गर्न इच्छुक छौं?”

मैले यस्तो जवाफ दिएँ, “बन्दीहरूलाई बर्दी लगाउन अनि ‘हिटलरको जय होस्‌’ भन्‍न निषेध गरिएको छ। मलाई जर्मन सेनामा सेवा गर्न इच्छुक छौ कि छैनौ भन्‍ने प्रश्‍न सोधिंदा मैले यसो भने: “कृपया मलाई सेनामा भर्ती हुने फाराम दिनुहोस्‌ र त्यसपछि म आफ्नो निर्णय सुनाउँला!”

केही दिनपछि युद्ध रोकियो र तिनीहरूले म मुक्‍त भएको कुरा बताए। केही समयपछि म ग्राजमा बसाइँ सरें जहाँ ३५ जना साक्षीहरूको एउटा सानो मण्डली थियो। अहिले ग्राज इलाकामा आठवटा उन्‍नतिशील मण्डलीहरू छन्‌।

एउटी मायालु सहयोगी

युद्ध अन्त भएको केही समयपछि हेलेन डुन्स्ट्‌ नाउँ गरेकी एक जवान शिक्षिकासित मेरो भेट भयो जो नाजी पार्टीकी एक सदस्य थिइन्‌। तिनी नाजीवादबाट पूर्णतया असन्तुष्ट थिइन्‌। मैले पहिलो पटक तिनीसित कुरा गर्दा तिनले यस्तो प्रश्‍न गरिन्‌: “परमेश्‍वरको नाउँ यहोवा हो भनेर अरूलाई थाह नभएर साक्षीहरूलाई मात्र थाह हुनुको कारण के हो?”

मैले यस्तो जवाफ दिएँ, “किनभने अधिकांश मानिसहरूले बाइबलमा अनुसन्धान गर्दैनन्‌। त्यसपछि मैले बाइबल खोलेर तिनलाई परमेश्‍वरको नाउँ देखाइदिएँ।

तिनले यसो भनिन्‌, “यदि बाइबलले परमेश्‍वरको नाउँ यहोवा हो भनी बताउँछ भने हामीले सबैलाई यसबारे बताउनुपर्छ!” हेलेनले बाइबल सत्य प्रचार गर्न थालिन्‌ अनि एक वर्षपछि पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिइन्‌। हामीले जून ५, १९४८ मा विवाह गऱ्‍यौं।

अप्रिल १, १९५३ मा हामी यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरू भयौं। अन्ततः न्यु योर्कस्थित दक्षिण लानसिङ नजिकै पर्ने वाचटावर बाइबल स्कूल अफ गिलियडको ३१ औं कक्षामा सहभागी हुन हामीले निमन्त्रणा पायौं। त्यहाँ हामीले ६४ बेग्ला-बेग्लै मुलुकबाट आएका सँगी विद्यार्थीहरूसितको हृदयस्पर्शी संगतिबाट आनन्द उठायौं।

हाम्रो दीक्षान्त समारोह पछि हामीलाई पुनः अस्ट्रियामा खटाइयो। मण्डलीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउन केही वर्ष हामीलाई विभिन्‍न मण्डलीहरूको भ्रमण गर्ने काममा खटाइयो। त्यसपछि हामीलाई लक्जम्बर्गस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्न निम्त्याइयो। केही समयपछि हामीलाई भियनामा रहेको अस्ट्रियाली शाखा कार्यालयमा सेवा गर्न आग्रह गरियो। त्यहाँ सेवा गर्ने क्रममा भियनामा रहेका धेरै युगोस्लाभियाली आप्रवासीहरूलाई साक्षी दिनको लागि १९७२ मा हामीले सर्बो-क्रोएसियाली भाषा सिक्न थाल्यौं। हाल भियनामा युरोपका सबै भागहरूबाट आएका मानिसहरू मिलेर बनेको सर्बो-क्रोएसियाली भाषाका आठवटा मण्डलीहरू छन्‌!

अगस्त २७, २००१ मा हेलेन मृत्युको चिर निन्द्रामा परिन्‌। हाम्रो विवाहको ५३ सुखद वर्षहरूमा तिनी एक भरपर्दो र मूल्यवान्‌ सहयोगी साबित भइन्‌। अहिले पुनरुत्थानको आशा मेरोलागि झनै प्रिय बन्दै गइरहेको छ।

यहोवाको प्रेममा सन्तुष्ट

आफ्नो जीवनमा मैले भोग्नुपरेका वियोगहरूको बावजुद अस्ट्रिया शाखा कार्यालयमा मैले पाएको कामबाट म सन्तुष्ट छु। हालै, मैले “नाजी शासनमा बिर्सिएका पीडितहरू” शीर्षकको प्रदर्शनीमा आफ्नो अनुभव सुनाउने सुअवसर पाएँ।” सन्‌ १९९७ देखि यता यो प्रदर्शनी अस्ट्रियाका ७० शहर र गाउँहरूमा आयोजना भइसकेको छ अनि यस प्रदर्शनीले नाजी जेल र यातना शिविरबाट बचेका प्रत्यक्षदर्शीहरूलाई नाजी सतावटको सामना गर्नुपर्दा साँचो मसीहीहरूले देखाएको विश्‍वास अनि साहसबारे बताउने मौका दियो।

त्यस्ता विश्‍वासीहरूलाई व्यक्‍तिगत तवरमा चिन्‍न पाउनु मेरोलागि ठूलो सुअवसर हो। तिनीहरू रोमी ८:३८, ३९ लाई सत्य साबित गर्ने ज्वलन्त प्रमाणहरू हुन्‌: “नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानका कुराहरूले, न पछि हुने कुराहरूले, न शक्‍तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” (g03 2/08)

[पृष्ठ १७-मा भएको चित्र]

सन्‌ १९३० मा मेरो परिवार (बायाँबाट दायाँ): म, पेपी, बुबा, विलि, आमा र भिन्को

[पृष्ठ १८-मा भएको चित्र]

मृत्युदण्ड दिइनुभन्दा केही समयअघि मेरो दाइ विलि

[पृष्ठ १९-मा भएको चित्र]

म र भिन्को दुवैले म्युनिकस्थित स्टाडेलहिम पेनिटेनटेरीमा केही समय बितायौं

[पृष्ठ १९-मा भएको चित्र]

भिन्कोकी छोरी फिनीलाई क्रूर नाजी परिवारसित राखियो; तिनी आजसम्म पनि विश्‍वासी रहेकी छिन्‌

[पृष्ठ २०-मा भएको चित्र]

विवाहको ५३ वर्षहरूको दौडान हेलेन मेरोलागि एक मूल्यवान्‌ साथी थिइन्‌

[पृष्ठ २०-मा भएको चित्र]

“नाजी शासनमा बिर्सिएका पीडितहरू” विषयको प्रदर्शनीमा बोल्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने