प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जनवरी पृ. १४-१५
  • प्रमोदवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रमोदवन
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रमोदवन भनेको के हो?
  • प्रमोदवन कहाँ छ?
  • प्रमोदवनमा कस्ता मानिसहरू बस्न पाउँछन्‌?
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 जनवरी पृ. १४-१५

बाइबलको दृष्टिकोण

प्रमोदवन

प्रमोदवन भनेको के हो?

मानिसहरू के भन्छन्‌?

थुप्रैको विश्‍वासअनुसार असल मानिसहरू मरिसकेपछि सुन्दर ठाउँमा जान्छन्‌, जहाँ तिनीहरू सदाका लागि हाँसी-खुसी बाँच्न सक्छन्‌। यसलाई तिनीहरू स्वर्ग भन्छन्‌। त्यसैले प्रमोदवन भन्‍ने शब्द सुन्‍नेबित्तिकै तिनीहरू यस्तै ठाउँको कल्पना गर्छन्‌। तर अरू कतिपयले भने यस्तो शिक्षा केवल मिथ्या हो भन्‍ने गर्छन्‌।

बाइबल के भन्छ?

बाइबलमा उल्लिखित मानिसजातिको पहिलो घर अर्थात्‌ अदनको बगैंचालाई सङ्‌केत गर्न “प्रमोदवन” भन्‍ने शब्द चलाउने गरिएको छ। (उत्पत्ति २:७-१५) बाइबलले त्यो बगैंचा कुनै काल्पनिक बगैंचा होइन तर वास्तविक बगैंचा हो भनेर बताउँछ। त्यो बगैंचामा पहिलो मानव जोडीले रोगबिमार अनि मृत्युविनाको जीवन बिताएका थिए। (उत्पत्ति १:२७, २८) तर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेपछि तिनीहरूले त्यो बगैंचारूपी घर गुमाए। तर भविष्यमा मानिसहरूले फेरि त्यस्तै अवस्थामा जीवन बिताउन पाउनेछन्‌ भनेर बाइबलका विभिन्‍न भविष्यवाणीले सङ्‌केत गर्छ।

तपाईंले यस विषयमा किन चासो राख्नुपर्छ?

परमेश्‍वर मायालु हुनुहुन्छ भने उहाँले आफ्ना विश्‍वासी उपासकहरूलाई प्रमोदवनरूपी ठाउँमा सुन्दर जीवन दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वास गर्नु तार्किक छ। साथै उहाँको अनुमोदन पाउन उहाँका जनहरूले के-के गर्नुपर्छ, त्यो पनि उहाँ बताउनुहुन्छ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। परमेश्‍वरको अनुमोदन पाउने हो भने हामीले उहाँको ज्ञान लिनुपर्छ र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ भनेर बाइबल बताउँछ।—यूहन्‍ना १७:३; १ यूहन्‍ना ५:३.

“परमेश्‍वरले . . . अदनमा एउटा बगैंचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यहीं राख्नुभयो।”—उत्पत्ति २:८.

प्रमोदवन कहाँ छ?

मानिसहरू के भन्छन्‌?

केही मानिसहरू सुन्दर संसार स्वर्गमा छ भन्‍ने विश्‍वास गर्छन्‌। अरूहरू भने भविष्यमा यसै पृथ्वीमा प्रमोदवन स्थापना हुनेछ भन्छन्‌।

बाइबल के भन्छ?

मानिसजातिको लागि तयार पारिएको सुरुको प्रमोदवन यसै पृथ्वीमा थियो। मानिसहरूको स्थायी घर पृथ्वी नै हो भनेर परमेश्‍वरले स्पष्ट तरिकामा बताउनुभयो। उहाँले यो पृथ्वी सधैंभरि रहिरहनेगरि बनाउनुभयो भनी बाइबल बताउँछ। (भजन १०४:५) बाइबल यसो भन्छ: “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिसजातिलाई दिनुभएको छ।”—भजन ११५:१६.

त्यसैले यस पृथ्वीमा प्रमोदवन स्थापना हुनेछ भनेर बाइबलले प्रतिज्ञा गरेकोमा हामी छक्क पर्नु पर्दैन। प्रमोदवनमा परमेश्‍वरले मानिसहरूलाई वरदानस्वरूप कहिल्यै अन्त नहुने जीवन दिनुहुनेछ। जताततै शान्ति र एकता छाउनेछ। दुःख-पीडाको नामोनिसान हुनेछैन। अनि मानिसहरूले यस पृथ्वीमा भएका प्राकृतिक भण्डारको पूर्ण उपभोग गर्नेछन्‌ र आनन्द बटुल्नेछन्‌।—यशैया ६५:२१-२३.

“परमेश्‍वरको बासस्थान मानिसहरूसित भएको छ . . . अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

प्रमोदवनमा कस्ता मानिसहरू बस्न पाउँछन्‌?

मानिसहरू के भन्छन्‌?

थुप्रै धर्मले असल मानिसहरू मात्र सुन्दर संसारमा बस्न पाउनेछन्‌ भनेर सिकाउँछ। तर कस्तो मानिसलाई “असल” भन्‍ने, त्योचाहिं अन्योलको विषय बनेको छ। धार्मिक चाडबाड, रीतिथितिमा भाग लिनु वा जप, आराधना गर्नु नै पर्याप्त छ भनेर कोही-कोही सोच्ने गर्छन्‌।

बाइबल के भन्छ?

बाइबलले “धर्मात्माहरू” प्रमोदवनमा बास गर्नेछन्‌ भनी सिकाउँछ। तर परमेश्‍वरले कस्तो मानिसलाई “धर्मात्मा” ठान्‍नुहुन्छ? धार्मिक रीतिथितिमा संलग्न हुने तर उहाँको इच्छालाई बेवास्ता गर्ने व्यक्‍तिलाई परमेश्‍वर धर्मात्मा ठान्‍नुहुन्‍न। बाइबल यसो भन्छ: “होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रूचाउनु हुन्‍न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्‍नु साँढ-भेडाको बोसोभन्दा असल हो।” (१ शमूएल १५:२२) सरल शब्दमा भन्‍ने हो भने “धर्मात्मा” भन्‍नाले बाइबलमा उल्लिखित परमेश्‍वरका आज्ञाहरू पालन गर्ने मानिसहरू भन्‍ने बुझिन्छ जसले प्रमोदवनमा सधैंभरि जीवन बिताउनेछन्‌।

तपाईं के गर्न सक्नुहुन्छ?

धार्मिक रीतिथितिमा भाग लिंदैमा परमेश्‍वरको आज्ञा पालन गरेको भन्‍न मिल्दैन। यसमा अरू कुरा पनि मुछिएको छ। तपाईंको दैनिक आचरणले परमेश्‍वरलाई आनन्दित वा दुःखी बनाउँछ। बाइबलको कुरा होसियारीसाथ जाँचेर तपाईं परमेश्‍वरलाई खुसी पार्ने तरिका सिक्न सक्नुहुन्छ। अनि उहाँलाई खुसी बनाउन गाह्रो छैन। बाइबल यसो भन्छ: “उहाँका आज्ञाहरू बोझिला छैनन्‌।” (१ यूहन्‍ना ५:३) तपाईं आज्ञाकारी हुनुभयो भने उहाँले तपाईंलाई इनामस्वरूप प्रमोदवनमा प्रवेश गर्न दिनुहुनेछ। यसो गर्न उहाँ आतुर हुनुहुन्छ। (g13-E 01)

“धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌ र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने