प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ३ पृ. ७-९
  • समलिङ्‌गी यौनसम्बन्धबारे बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समलिङ्‌गी यौनसम्बन्धबारे बाइबल के भन्छ?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?
  • बाइबलले भेदभावलाई बढावा दिन्छ?
  • के बाइबलको शिक्षा कठोर छ?
  • “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ”
  • के समलिङ्‌गी यौनसम्बन्ध गलत हो?
    युवाहरू सोध्छन्‌
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ३ पृ. ७-९
एक जना व्यक्‍ति बाइबल पढ्‌दै

समलिङ्‌गी यौनसम्बन्धबारे बाइबल के भन्छ?

थुप्रै देशमा समलिङ्‌गी विवाह विवादको विषय बनेको छ। तर सन्‌ २०१५ मा अमेरिकाको सर्वोच्च अदालतले देशभर समलिङ्‌गी विवाहलाई कानुनी मान्यता दियो। त्यसपछि यसबारे इन्टरनेटमा हेर्ने मानिसहरूको सङ्‌ख्या ह्वात्तै बढ्यो। सबैभन्दा धेरै चर्चामा आएका विषयहरूमध्ये एउटा यो थियो, “समलिङ्‌गी विवाहबारे बाइबल के भन्छ?”

समलिङ्‌गी विवाह गर्न पाउने कानुनी अधिकारबारे बाइबलले तोकेरै बताएको छैन। तर समलिङ्‌गी यौनसम्बन्धबारे भने केही कुरा बताएको छ।

मानिसहरूले बाइबलको कुरा राम्रोसँग जाँचेका हुँदैनन्‌। तैपनि तिनीहरूलाई समलिङ्‌गी यौनसम्बन्धबारे बाइबलको धारणा बुझेको छु जस्तो लाग्छ। कसै-कसैलाई बाइबलले समलिङ्‌गी यौनसम्बन्धलाई घृणा गर्छ जस्तो लाग्छ। तर कसै-कसैलाई भने बाइबलमा “छिमेकीलाई प्रेम गर” भनेर बताइएकोले सबै किसिमको यौनसम्बन्ध जायज छ भन्‍ने लाग्छ।—रोमी १३:९.

बाइबल के भन्छ?

तलको कुन कुरा तपाईंलाई सही लाग्छ?

  1. १. बाइबलले समलिङ्‌गी यौनसम्बन्धलाई निषेध गर्छ।

  2. २. बाइबलले समलिङ्‌गी यौनसम्बन्धलाई समर्थन गर्छ।

  3. ३. बाइबलले समलिङ्‌गीहरूलाई घृणा र भेदभाव गर्ने कुरालाई बढावा दिन्छ।

जवाफ:

  1. १. सही। बाइबल भन्छ, ‘पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।’ (१ कोरिन्थी ६:९, १०) यही कुरा स्त्रीहरूलाई पनि लागू हुन्छ।—रोमी १:२६.

  2. २. गलत। बाइबलले वैवाहिक बन्धनमा बाँधिएका पुरुष र स्त्रीबीच मात्र यौनसम्बन्ध हुनुपर्छ भनेर सिकाउँछ।—उत्पत्ति १:२७, २८; हितोपदेश ५:१८, १९.

  3. ३. गलत। बाइबलले समलिङ्‌गी यौनसम्बन्धलाई निषेध गरेको छ। तर समलिङ्‌गीहरूलाई भेदभाव, घृणा अथवा अरू कुनै किसिमको दुर्व्यवहार गर्ने छुट दिएको छैन।—रोमी १२:१८.[१]

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू बाइबलको नैतिक स्तरअनुसार चल्नु नै जीवन बिताउने सबैभन्दा राम्रो तरिका हो भनेर विश्‍वास गर्छन्‌ र त्यसैअनुरूप जीवन बिताउँछन्‌। (यशैया ४८:१७)[२] त्यसैले तिनीहरू समलिङ्‌गी यौनसम्बन्धलगायत सबै किसिमको अवैध यौनसम्बन्धलाई तिरस्कार गर्छन्‌। (१ कोरिन्थी ६:१८)[३] यस्तो नैतिक स्तरअनुरूप जिउने छनौट गर्नु उनीहरूको अधिकार हो।

यहोवाका साक्षीहरू “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू” भन्‍ने बाइबलको सिद्धान्तअनुसार चल्ने कोसिस गर्छन्‌

यहोवाका साक्षीहरू ‘सबै मानिससित शान्ति कायम गर्ने’ प्रयास गर्छन्‌। (हिब्रू १२:१४) तिनीहरू समलिङ्‌गी यौनसम्बन्धलाई तिरस्कार गर्छन्‌। तर त्यसो भन्दैमा अरूले पनि त्यस्तै सोचाइ राख्नुपर्छ भनेर जिद्दी गर्दैनन्‌। तिनीहरू समलिङ्‌गीहरूलाई हेप्ने, घृणा गर्ने, कुटपिट गर्ने जस्ता आपराधिक काम गर्दैनन्‌ न त त्यस्तो समाचार सुन्दा रमाउँछन्‌। यहोवाका साक्षीहरू “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू” भन्‍ने बाइबलको सिद्धान्तअनुसार चल्ने कोसिस गर्छन्‌।—मत्ती ७:१२.

बाइबलले भेदभावलाई बढावा दिन्छ?

कसै-कसैले बाइबलले समलैङ्‌गिक भेदभावलाई बढावा दिन्छ अनि बाइबलको नैतिक स्तर पछ्याउने व्यक्‍तिहरू सङ्‌कुचित विचारधाराका हुन्छन्‌ भन्‍ने गर्छन्‌। तिनीहरू यस्तो तर्क गर्छन्‌, ‘बाइबल लेखिएको समयका मानिसहरू सङ्‌कुचित विचारधाराका थिए। तर आज हामी मानिसको देश, जात जुनसुकै भए पनि सबैलाई समान व्यवहार गर्छौं। अनि कुनै व्यक्‍तिले आफूले चाहेअनुसार जुनसुकै लिङ्‌गको व्यक्‍तिसित यौनसम्बन्ध राखे पनि त्यो हामीलाई स्वीकार्य छ।’ तिनीहरूको विचारमा समलिङ्‌गी यौनसम्बन्ध तिरस्कार गर्नु भनेको बेग्लै वर्णको व्यक्‍तिलाई तिरस्कार गर्नुजस्तै हो। के यो तर्क सही हो? होइन। किन?

किनभने समलिङ्‌गी यौनसम्बन्धलाई घृणा गर्नु र समलिङ्‌गी व्यक्‍तिहरूलाई घृणा गर्नुमा फरक छ। बाइबलले हरप्रकारका मानिसहरूको आदर गर्नुपर्छ भनेर सिकाएको छ। (१ पत्रुस २:१७)[४] तर यसको मतलब ख्रीष्टियनहरूले सबै किसिमको आचरण स्विकार्नै पर्छ भन्‍ने होइन।

यो उदाहरण विचार गर्नुहोस्‌: तपाईंलाई चुरोट हानिकारक लाग्छ अनि त्यसको नाम सुन्दा पनि घिन लाग्छ। तर तपाईंको सहकर्मीको चुरोट खाने बानी छ भने नि? यस सन्दर्भमा तपाईंको विचार सहकर्मीको भन्दा फरक छ भन्दैमा के तपाईं सङ्‌कुचित विचारधाराको हुनुहुन्छ भन्‍न मिल्छ? मिल्दैन। तर उसले तपाईंलाई आफ्नो जस्तै विचारधारा राख्न कर गर्छ भने उसलाई चाहिं सङ्‌कुचित विचारधाराको भन्‍न मिल्छ। तपाईंको सहकर्मी चुरोट खान्छ तर तपाईं खानुहुन्‍न। के चुरोट नखाँदैमा तपाईंले उसलाई भेदभाव गरेको भन्‍न मिल्छ र?

यहोवाका साक्षीहरू बाइबलको नैतिक स्तरअनुरूप जीवन बिताउँछन्‌। तिनीहरू बाइबलले निषेध गरेको कुनै पनि आचरणलाई समर्थन गर्दैनन्‌। साथै तिनीहरू आफ्नोभन्दा फरक जीवनशैली भएका मानिसहरूको खिल्ली उडाउँदैनन्‌ न त उनीहरूलाई दुर्व्यवहार नै गर्छन्‌।

के बाइबलको शिक्षा कठोर छ?

समलिङ्‌गी झुकाव भएका मानिसहरूबारे चाहिं के भन्‍न सकिन्छ? के यस्तो झुकाव जन्मजातै आउने कुरा हो? त्यसो हो भने अरूको स्वाभाविक इच्छालाई रोक्न खोज्नु कठोर भएन र?

कुनै व्यक्‍ति जन्मजातै समलिङ्‌गी हुन्छन्‌ या हुँदैनन्‌, त्यसबारे बाइबलमा केही बताइएको छैन। तर मान्छेमा कुनै-कुनै झुकावले गहिरो जरा गाडेर बसेको हुन्छ भनेर बताइएको छ। साथै परमेश्‍वरलाई खुसी बनाउन कस्ता आचरणहरू तिरस्कार गर्नै पर्छ, त्यो पनि बताइएको छ। (२ कोरिन्थी १०:४, ५) त्यस्ता आचरणहरूमध्ये एउटा समलिङ्‌गी यौनसम्बन्ध हो।

बाइबलको यस्तो शिक्षा कसै-कसैलाई कठोर लाग्छ। तिनीहरूको विचारमा ‘हामीमा भएको इच्छा-आकाङ्‌क्षा अझ विशेषगरि यौनइच्छालाई दबाएर राख्नु हुँदैन, त्यो पूरा गर्नै पर्छ; भनौं भने यसलाई दबाएर राख्न पनि सकिंदैन।’ तर मानिससित आफ्नो इच्छा-आकाङ्‌क्षालाई वशमा राख्ने क्षमता छ भनेर बाइबल बताउँछ। जनावरले आफूलाई जस्तो मन लाग्यो त्यस्तै गर्छ तर मानिस-ले भने आफूले चाहेजस्तो गर्ने कि नगर्ने भनेर छनौट गर्न सक्छ।—कलस्सी ३:५.[५]

यो उदाहरण विचार गर्नुहोस्‌: विशेषज्ञहरूअनुसार कुनै-कुनै आनीबानी मानिसमा जन्मजात आउँछ। जस्तै, कडा रिस। मान्छे जन्मजातै रिसाहा स्वभावको हुन्छ या हुँदैन, यसबारे बाइबलले केही बताएको छैन। तर कोही-कोही भने “रिसाउने” अनि “क्रोधी-स्वभावको” हुन्छ भनेर बताएको छ। (हितोपदेश २२:२४; २९:२२) साथै बाइबल यसो पनि भन्छ, “रिसाउन छोड्‌ र क्रोधलाई त्याग्‌।”—भजन ३७:८; एफिसी ४:३१.

बाइबलको यो सल्लाह मन नपराउने विरलै होला। अनि रिसाहा स्वभाव भएका व्यक्‍तिहरूको लागि यो सल्लाह कठोर छ भन्‍नेहरू पनि छैन होला। वास्तवमा कुनै व्यक्‍तिमा रिसाहा स्वभाव जन्मजातै आउँछ भनेर मानिलिने विशेषज्ञहरूसमेत त्यस्ता व्यक्‍तिहरूलाई उनीहरूको रिस वशमा राख्न सक्दो मदत गर्छन्‌।

यहोवाका साक्षीहरू पनि बाइबलको स्तरसित बाझिने जुनसुकै आचरणहरूलाई वशमा राख्नुपर्छ भनेर विश्‍वास गर्छन्‌। यस्ता आचरणहरूमा विपरीत लिङ्‌गको व्यक्‍तिसित अवैध यौनसम्बन्ध राख्नु पनि समावेश छ। यस सन्दर्भमा बाइबलले यस्तो सल्लाह दिएको छ, “तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता र आदरसाथ वशमा राख्न जान, तर कामवासनाको लालचसाथ होइन।”—१ थिस्सलोनिकी ४:४, ५.

“तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ”

प्रथम शताब्दीमा ख्रीष्टियन हुन चाहनेहरू विभिन्‍न पृष्ठभूमिबाट आएका थिए। तिनीहरूको जीवनशैली फरक-फरक थियो र कसै-कसैले आफ्नो जीवनमा ठूलो परिवर्तन गरेका थिए। जस्तै, बाइबलमा तिनीहरू “अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नेहरू, अस्वाभाविक यौनसम्बन्धका लागि राखिएका पुरुषहरू, पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू” थिए भनेर बताइएको छ। तिनीहरूबारे यसो पनि भनिएको छ, “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ।”—१ कोरिन्थी ६:९-११.

“तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ” भन्‍नुको मतलब समलिङ्‌गी यौनसम्बन्ध राख्न छोड्‌नेहरूमा पछि कहिल्यै त्यस्तो यौनइच्छा जागेन भन्‍ने हो? त्यसो त होइन किनभने बाइबलले यस्तो सल्लाह दिएको छ: “तिमीहरू पवित्र शक्‍तिको भरमा हिंडिरहो, तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।”—गलाती ५:१६.

बाइबलले ख्रीष्टियनहरूमा कहिल्यै कुइच्छा जाग्दैन भनेर बताएको छैन। बरु कुइच्छाअनुसार नचल्ने छनौट गर्न सक्छन्‌ भनेर बताएको छ। कुनै व्यक्‍तिले त्यस्तो इच्छालाई मनमा खेलाएर बस्यो भने पाप गर्ने हदसम्म पुग्न सक्छ। यो कुरा बुझेकोले ख्रीष्टियनहरूले त्यस्तो इच्छालाई आफ्नो वशमा राख्न सिकेका छन्‌।—याकूब १:१४, १५.[६]

त्यसकारण बाइबलले मानिसको झुकाव र काम अलग-अलग कुरा हो भनेर बताएको छ। (रोमी ७:१६-२५) समलिङ्‌गी झुकाव भएको व्यक्‍तिले आफ्नो मनमा खेल्ने विभिन्‍न कुइच्छा जस्तै: रिस, लोभ अनि पतिपत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने इच्छालाई वशमा राख्न सक्छन्‌। त्यसैगरि तिनले समलिङ्‌गी झुकावलाई पनि वशमा राख्न सक्छन्‌।—१ कोरिन्थी ९:२७; २ पत्रुस २:१४, १५.

हुन त यहोवाका साक्षीहरू बाइबलमा दिइएको नैतिक स्तरलाई समर्थन गर्छन्‌। तर त्यसो भन्दैमा आफ्नो विचारधारा अरूमाथि जबरजस्ती थोपर्ने काम गर्दैनन्‌ न त आफ्नोभन्दा फरक जीवनशैली भएका मानिसहरूको अधिकार हनन हुने काम नै गर्छन्‌। बरु आफूसँग भएको सकारात्मक सन्देश जो इच्छुक छन्‌, तिनीहरूलाई खुसीसाथ सुनाउँछन्‌।—प्रेषित २०:२०. (g16-E No. 4)

^ १. रोमी १२:१८: ‘सबै मानिससित शान्तिमा बस।’

^ २. यशैया ४८:१७: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ।”

^ ३. १ कोरिन्थी ६:१८: “अवैध यौनसम्बन्धदेखि भाग।”

^ ४. १ पत्रुस २:१७: “हरप्रकारका मानिसहरूको आदर गर।”

^ ५. कलस्सी ३:५. “त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना।”

^ ६. याकूब १:१४, १५: “तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप गरेपछि मृत्यु उत्पन्‍न हुन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने