प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ६ पृ. १२-१३
  • अल्हाजेन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अल्हाजेन
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • नाइल नदीमा बाँध
  • बुक अफ अप्टिक्स
  • क्यामरा अब्स्कुरा
  • वैज्ञानिक विधि
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ६ पृ. १२-१३

इतिहासका पानाबाट

अल्हाजेन

अल्हाजेन

तपाईंले अबु ‘अलि अल्‌-हासान इबन्‌ अल्‌-हेइथाम भन्‍ने नाम सुन्‍नुभएको छैन होला। पश्‍चिमेली देशहरूतिर तिनी अल्हाजेन नामले चिनिन्छन्‌। अरबी नाम अल्‌-हासानलाई ल्याटिन भाषामा भन्‍नुपर्दा अल्हाजेन भनिन्छ। तिनलाई “विज्ञानको इतिहासमा एक अत्यन्तै महत्त्वपूर्ण र प्रभावशाली व्यक्‍तित्व” मानिन्छ।

सङ्‌क्षिप्त जानकारी

  • तिनको गहन र प्रयोगात्मक परीक्षण विधिहरूका कारण अल्हाजेनलाई “संसारको पहिलो साँचो वैज्ञानिक” भनिन्छ।

  • अहिलेको आधुनिक फोटोग्राफी तिनले पत्ता लगाएका आधारभूत सिद्धान्तहरूमा आधारित छ।

  • तिनले लेन्ससम्बन्धी गरेका खोज-अनुसन्धानले चस्मा, माइक्रोस्कोप र टेलिस्कोपको आविष्कार गर्न ठूलो योगदान पुगेको थियो।

अल्हाजेनको जन्म इस्वी संवत्‌ ९६५ तिर बासरामा भएको थियो, जुन अहिले इराकमा पर्छ। खगोल विज्ञान, रसायनशास्त्र, गणित, चिकित्साशास्त्र, सङ्‌गीत, प्रकाश विज्ञान, भौतिकशास्त्र र साहित्य तिनको रुचि र अनुसन्धानका विषय थिए। हामी तिनीप्रति कृतज्ञ हुनुपर्ने खास कारण के हो?

नाइल नदीमा बाँध

नाइल नदीको बाँध र अल्हाजेनबारे एउटा प्रचलित कथा छ। तिनले नाइल नदीमा पानीको बहाबलाई नियन्त्रण गर्ने योजना बनाएका थिए, जुन करिब १,००० वर्षपछि मात्र सम्पन्‍न भयो। इस्वी संवत्‌ १९०२ मा अस्वानमा बाँध बाँधियो।

कथा यस्तो थियो: अल्हाजेनले मिश्रमा बाढी र खडेरीको समस्या कम गर्न नाइल नदीमा बाँध बाँध्ने महत्त्वाकाङ्‌क्षी योजना बनाएका थिए। कायरोका शासक खलिफ अल्‌-हाकिमले यस योजनाबारे सुनेपछि तिनले अल्हाजेनलाई मिश्रमा बोलाए। नाइल नदीलाई आफ्नै आँखाले देखेपछि अल्हाजेनले बाँध बनाउन सकिन्‍न भनेर बुझे। त्यसैले त्यहाँका क्रूर शासकबाट बच्न तिनले दिमागी सन्तुलन गुमाएको नाटक गरे। इस्वी संवत्‌ १०२१ मा खलिफको मृत्यु नभएसम्म अर्थात्‌ लगभग ११ वर्षसम्म तिनले पागल भएको भान पारे। पागलखानामा राखिंदा आफ्ना रुचिका अरू विषयमा ध्यान दिन तिनले प्रशस्त समय पाए।

बुक अफ अप्टिक्स

पागलखानाबाट निस्कने समयसम्ममा अल्हाजेनले बुक अफ अप्टिक्स-को लगभग सात वटा खण्ड लेखिसकेका थिए। यी किताबहरूलाई “भौतिक विज्ञानको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण किताबहरूमध्ये” गनिन्छ। यी किताबहरूमा तिनले प्रकाशको स्वभावसम्बन्धी गरेका परीक्षणहरूबारे लेखे। जस्तै: प्रकाश विभिन्‍न रङ्‌गमा टुक्रिने प्रक्रिया, ऐनामा ठोकिएर हुने परावर्तन र एउटा माध्यमबाट अर्को माध्यममा पास हुँदा हुने आवर्तन। तिनले दृश्‍य बोध, आँखाको संरचना र त्यसको काम गर्ने तरिकाबारे पनि अध्ययन गरेका थिए।

तेह्रौं शताब्दीसम्म अल्हाजेनले लेखेका यी पुस्तकहरू अरबीबाट ल्याटिन भाषामा अनुवाद भइसकेका थिए अनि सयौं वर्षसम्म युरोपेली विज्ञहरूले तिनले लेखेका किताबहरूलाई मूल आधार मान्दै काम गरे। अल्हाजेनले लेन्सहरूको भौतिक गुणहरूबारे लेखेका लेखहरू चस्मा बनाउने युरोपेली आविष्कारकहरूका लागि कोसेढुङ्‌गा साबित भयो। एउटा लेन्सको अगाडि अर्को लेन्स राख्दै ती आविष्कारकहरूले माइक्रोस्कोप र टेलिस्कोपको आविष्कार गरे।

क्यामरा अब्स्कुरा

अल्हाजेनले यस्तो वस्तु बनाए, जुन पछि गएर पहिलो क्यामेरा अब्स्कुरा बन्‍न पुग्यो। तिनले त्यसमार्फत फोटोग्राफीको आधारभूत सिद्धान्त पत्ता लगाए। तिनले बनाएको क्यामेरा अब्स्कुरा के थियो? त्यो एउटा “अँध्यारो कोठा” थियो, जहाँ छिद्रबाट आएको प्रकाश भित्तामा ठोकिन्थ्यो। त्यस भित्तामा बाहिरको दृश्‍य उल्टो आकृतिमा देखिन्थ्यो।

क्यामरा अब्स्कुरा

अल्हाजेनले यस्तो वस्तु बनाए, जुन पछि गएर पहिलो क्यामेरा अब्स्कुरा बन्‍न पुग्यो

अठारौं शताब्दीमा अब्स्कुरामा फोटोग्राफीक प्लेटहरू प्रयोग गर्न थालियो। ती प्लेटहरूले गर्दा तस्बिरहरू स्थायी रूपमा कैद गर्न सम्भव भयो। नतिजा? आधुनिक क्यामराको आविष्कार। अहिलेका सबै आधुनिक क्यामरामा प्रयोग गरिने भौतिक सिद्धान्त र क्यामरा अब्स्कुरामा प्रयोग भएको सिद्धान्त एउटै हो। हाम्रो आँखाले पनि त्यही सिद्धान्तअनुसार काम गर्छ।a

वैज्ञानिक विधि

अल्हाजेनले प्राकृतिक प्रक्रियाहरूको विषयमा होसियारी र व्यवस्थित भई गरेका अनुसन्धान साँच्चै उल्लेखनीय थियो। तिनको समयमा त्यस्तो प्रयास असाधारण थियो। तिनी सिद्धान्तहरूलाई परीक्षण गरेर हेर्ने सुरु-सुरुका अनुसन्धानकर्ताहरूमध्ये पर्छन्‌। तिनी त्यस्ता व्यक्‍ति थिए, जो सबैले स्विकार्ने विषयहरूमा यदि प्रमाणको कमी भयो भने प्रश्‍न उठाउन डराउँदैन थिए।

आधुनिक विज्ञानको मूल सिद्धान्तलाई यो भनाइले अझ स्पष्ट पार्छ: “तिमी जुन कुरा विश्‍वास गर्छौ, त्यसलाई प्रमाणित गरेर देखाऊ।” केहीले अल्हाजेनलाई “आधुनिक वैज्ञानिक विधिका पिता” भनेर पनि भन्‍ने गर्छन्‌। यी कुराहरूलाई विचार गर्दा हामी पनि तिनीप्रति कृतज्ञ हुनुपर्ने प्रशस्त कारण पाउँछौं।

a सत्रौं शताब्दीमा योहानेस केप्लरले क्यामरा अब्स्कुरा र हाम्रो आँखाबीचको समानताबारे व्याख्या नगरेसम्म पश्‍चिमेली देशका मानिसहरूले यसबारे राम्ररी बुझेकै थिएनन्‌।

“तिनले हामीलाई विज्ञान ‘प्रयोग गर्न’ सिकाए”

एक जना लेखक जिम अल्‌-खालिलिले यसो भने, “अल्हाजेनको महानता केवल एउटा अद्‌भुत आविष्कारमा मात्र सीमित छैन . . . तिनले हामीलाई विज्ञान ‘प्रयोग गर्न’ सिकाए।” अल्हाजेनले लेखेका बुक अफ अप्टिक्स-मा तिनले गरेका परीक्षण, त्यसको लागि चाहिने सामग्री, नाप र नतिजाको एक-एक विस्तृत जानकारी दिइएको छ। त्यसैले तिनको त्यस किताबलाई “साँचो विज्ञानको पाठ्यपुस्तक” पनि भनिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने