प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. १५ पृ. १३१-पृ. १३४ अनु. ४
  • चिटिक्क परेको रूपरङ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिटिक्क परेको रूपरङ
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. १५ पृ. १३१-पृ. १३४ अनु. ४

अध्याय १५

चिटिक्क परेको रूपरङ

तपाईंले के गर्नुपर्छ?

लुगाफाटा सफा, सुकिलो हुनुपर्छ र पहिरनबाट शालीनता झल्कनुपर्छ। कपाल चट्ट मिलाएर कोरिएको हुनुपर्छ। आफ्नो मुद्राबाट सतर्क भएको देखाउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

तपाईंको रूपरङ हेरेर अरूले तपाईंको धार्मिक विश्‍वास र तपाईंको जीवनशैलीबारे अड्‌कल लगाउँछन्‌।

तपाईंको रूपरङ हेरेर नै तपाईंबारे विभिन्‍न लख काट्‌न सकिन्छ। यहोवा हृदयभित्र के छ, त्यो हेर्नुहुन्छ तर “मानिसले रूप हेरीकन विचार गर्छ।” (१ शमू. १६:७) तपाईं सफा हुनुहुन्छ र तपाईंले चट्ट मिलाएर कोरीबाटी गर्नुभएको छ भने तपाईं आत्मसम्मान भएको व्यक्‍ति हुनुहुन्छ भन्‍ने निष्कर्ष मानिसहरूले निकाल्छन्‌ र तपाईंको कुरा अझ उत्सुक भएर सुन्छन्‌। साथै तपाईंले चट्ट मिलाएर लुगाफाटा लगाउनुभएको छ भने सङ्‌गठन र हामीले उपासना गर्ने परमेश्‍वरप्रति श्रोताले राम्रो दृष्टिकोण राख्छन्‌।

लागू गर्नुपर्ने निर्देशन: व्यक्‍तिगत रूपरङबारे बाइबलले नानाथरीका नियम तोकेको छैन। तर हामीले सही निर्णय गर्न सकोस्‌ भनेर बाइबलमा थुप्रै व्यावहारिक सिद्धान्त दिइएका छन्‌। सबैभन्दा महत्त्वपूर्ण त “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति” गर्नु हो। (१ कोरि. १०:३१) हाम्रो रूपरङको सन्दर्भमा के-कस्ता सिद्धान्त याद गर्नुपर्छ?

पहिलो सिद्धान्त, बाइबलले हामीलाई शरीर र लुगाफाटा सफा राख्न प्रोत्साहन दिएको छ। सरसफाइको सन्दर्भमा यहोवाले प्राचीन समयमा इस्राएलीहरूलाई थुप्रै नियम दिनुभएको थियो। उदाहरणका लागि पुजारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा तोकिएको ठीक-ठीक समयमा नुहाएर चोखो हुनुपर्थ्यो र लुगाफाटा धुनुपर्थ्यो। (लेवी १६:४, २४, २६, २८) अहिले हामी मोशाको व्यवस्था पालन गर्दैनौं, तर ती व्यवस्थामा भएका सिद्धान्तहरू भने अहिले पनि लागू हुन्छन्‌। (यूह. १३:१०; प्रका. १९:८) विशेषगरि उपासना गर्न सभामा जाँदा वा प्रचारमा निस्कँदा हाम्रो शरीर र लुगाफाटा सफा, सुकिलो हुनुपर्छ, सास गनाएको हुनुहुँदैन। अन्यथा अरूलाई रिस उठ्‌न सक्छ। यस सम्बन्धमा मण्डलीमा भाषण दिने वा प्रस्तुति देखाउने भाइबहिनीले राम्रो उदाहरण बसाल्नुपर्छ। आफ्नो रूपरङमा ध्यान दिएर हामीले यहोवा परमेश्‍वर र उहाँको सङ्‌गठनलाई आदर गरेको देखाइरहेका हुन्छौं।

दोस्रो सिद्धान्त, बाइबल हामीलाई शालीनता र सुझबुझ विकास गर्न सल्लाह दिन्छ। प्रेषित पावलले ख्रीष्टियन स्त्रीहरूलाई तिनीहरूको सिंगारमा “शालीनता र सुझबुझ होस्‌” भनेर आग्रह गरे। साथै तिनले यसरी पनि आग्रह गरे: “नानाकिसिमले कपाल बाटेर, सुन वा मोतीको गरगहना लगाएर वा अत्यन्तै महँगो वस्त्र पहिरिएर होइन तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिंगारून्‌, किनकि परमेश्‍वरको भक्‍ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।” (१ तिमो. २:९, १०) पुरुषहरूले पनि लुगाफाटा र कोरीबाटीमा शालीनता र सुझबुझ देखाउनुपर्छ।

शालीन व्यक्‍ति जानाजानी अरूलाई ठेस लगाउँदैनन्‌ र आफूतर्फ अनावश्‍यक ध्यान खिच्दैनन्‌। सुझबुझ प्रयोग गर्ने व्यक्‍तिले सबै कुरालाई ध्यान दिइसकेपछि मात्र अरूको विषयमा धारणा बनाउँछन्‌। परमेश्‍वरका स्तरहरूलाई आदर गरेकोले नै यी गुण देखाउने व्यक्‍ति यसरी सन्तुलित हुन सकेका हुन्‌। यी गुणहरू देखाउनुको अर्थ आकर्षित हुनेगरि लुगा लगाउनै मिल्दैन भन्‍ने होइन, तर रूपरङमा सुझबुझ देखाउनु हो र लुगाफाटा तथा सिंगारपटारमा भड्‌किलो नहुनु हो। (१ यूह. २:१६) हामी यी सिद्धान्त हाम्रा उपासना स्थलमा, प्रचारमा वा अन्य क्रियाकलापमा भाग लिंदा लागू गर्न चाहन्छौं। घरमा लगाउने लुगामा समेत शालीनता र सुझबुझ झल्किनुपर्छ। स्कूलमा वा काममा अनौपचारिक साक्षी दिने मौका मिल्छ। त्यतिखेर हामीले सभामा, सम्मेलनमा र अधिवेशनमा लगाउने खालको लुगा लगाएका त हुँदैनौं तैपनि हाम्रो पहिरन सफा, सुकिलो र शालीन हुनुपर्छ।

हो, हामी उस्तै खालको लुगा लगाउँदैनौं र त्यस्तो आशा पनि गरिंदैन। मानिसको रुचि र छनौट बेग्लाबेग्लै छ र यो जायज पनि छ। तर पनि बाइबलले दिएको निर्देशन सधैं लागू गर्नुपर्छ।

प्रेषित पत्रुसले कपालको स्टाइल र पहिरनभन्दा महत्त्वपूर्ण कुरा “मनको सिंगार” हो भनी स्पष्ट पारे। (१ पत्रु. ३:३, ४) प्रेम, आनन्द, शान्ति, दया र बलियो विश्‍वास मनमा प्रशस्त छन्‌ भने यी नै हाम्रा आध्यात्मिक पहिरनसरह हुन्छन्‌ र यसले परमेश्‍वरको साँच्चै आदर गर्छ।

तेस्रो सिद्धान्त, बाइबल हामीलाई हाम्रो रूपरङ चिटिक्क मिलेको छ कि छैन विचार गर्न आग्रह गर्छ। पहिलो तिमोथी २:९ मा “भद्र पोसाक”-बारे उल्लेख गरिएको छ। प्रेषित पावलले स्त्रीहरूको पहिरनबारे बताइरहेको भए तापनि त्यही सिद्धान्त पुरुषहरूलाई पनि लागू हुन्छ। पोसाक भद्र हुनु भनेको सफा, सुकिलो र चट्ट मिलेको हुनु हो। सम्पन्‍न होऔं वा नहोऔं, हामी सबै नै सफा देखिन र चिटिक्क पर्न सक्छौं।

हाम्रो रूपरङबारे मानिसहरूले सबैभन्दा पहिले याद गर्ने कुरा हाम्रो कपालको स्टाइल हो। हाम्रो कपाल सफा, चिटिक्क परेको हुनुपर्छ। स्थानीय चलनअनुसार र वंशानुगत कारणले गर्दा हामीले आफ्नो कपालको स्टाइल बनाएका होऔंला। तैपनि कपालको स्टाइलबारे १ कोरिन्थी ११:१४, १५ मा पाइने प्रेषित पावलको सल्लाह हामीले ध्यान दिनुपर्छ। तर हाम्रो कपालको स्टाइल देखेरै मानिसहरूलाई हामी छोरामान्छे हौं कि छोरीमान्छे हौं भनी छुट्ट्याउन गाह्रो हुन्छ भने त्यस्तो स्टाइल बाइबल सिद्धान्तविपरीत हुन्छ।—व्यव. २२:५.

पुरुषहरू पनि दाह्री खौरेर सफा, चट्ट देखिनुपर्छ। जुँगा पाल्नुलाई आदरणीय मानिने ठाउँमा जुँगा पाल्ने भाइहरूले जुँगा चट्ट मिलाउनुपर्छ।

चौथो सिद्धान्त, हाम्रो रूपरङले संसार र त्यसका तौरतरिकाप्रतिको प्रेम झल्काउनुहुँदैन। प्रेषित यूहन्‍नाले यस्तो चेतावनी दिए: “संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम गर्ने मानिस नबन।” (१ यूह. २:१५-१७) यो संसार खराब इच्छा गर्नेहरूले भरिएको छ। खराब इच्छामा पापी शरीरको अभिलाषा र तडकभडक पर्छन्‌ भनी यूहन्‍ना उल्लेख गर्छन्‌। हावासरि फैलिएको विद्रोही मनोभाव वा अख्तियारप्रतिको अनाज्ञाकारिताबारे पनि बाइबलले ध्यान खिचेको छ। (हितो. १७:११; एफि. २:२) यी अभिलाषा तथा मनोवृत्ति अक्सर मानिसहरूको लुगाफाटा र कोरीबाटीमा देखिन्छ। परिणामस्वरूप तिनीहरू अभद्र, उत्ताउलो, भड्‌किलो, चट्‌किलो, लुगाफाटा लगाउँछन्‌ वा लापरबाही तरिकाले र अल्छी र फोहोरी देखिने खालको लुगाफाटा लगाउँछन्‌। यहोवाका सेवकहरू भएकोले हामी ख्रीष्टियनहरूलाई नसुहाउने स्टाइलको नक्कल गर्दैनौं।

संसारको प्रभावमा पर्नुको सट्टा आध्यात्मिक तवरमा परिपक्व पुरुष तथा स्त्रीहरूले लुगाफाटा र कोरीबाटीको सम्बन्धमा बसालेको असल उदाहरणले तपाईंलाई प्रभाव पारोस्‌। जनभाषण दिने भाइहरूले कस्ता लुगाफाटा लगाउँछन्‌, जनवक्‍ता बन्‍न चाहने युवकहरूले याद गर्नुपर्छ। वर्षौंदेखि वफादार भई प्रचारकार्यमा लागिरहेका प्रत्येक साक्षीले बसालेको उदाहरणबाट हामी सबैले पाठ सिक्न सक्छौं।—१ तिमो. ४:१२; १ पत्रु. ५:२, ३.

पाँचौं सिद्धान्त, के गर्नु उचित छ भनेर निर्णय गर्नुअघि “ख्रीष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन” भन्‍ने तथ्यलाई मनमा राख्नुपर्छ। (रोमी १५:३) येशूको प्रमुख चासो परमेश्‍वरको इच्छाबमोजिम गर्नु थियो। येशू आफ्नै सुविधामा ध्यान दिनुभन्दा अरूलाई मदत गर्न अघि सर्नुहुन्थ्यो। कुनै खास किसिमको लुगाफाटा र कोरीबाटीले हामी र हामीले सेवा गरिरहेको इलाकाका मानिसबीच तगारो खडा गर्छ भने हामीले के गर्नुपर्छ? ख्रीष्टले देखाएको विनम्र स्वभाव अनुकरण गर्दा बुद्धिमानी निर्णय गर्न मदत पाउँछौं। प्रेषित पावलले यो सिद्धान्त अघि सारे: “ठेस लाग्ने कुनै कारण हामी दिंदैनौं।” (२ कोरि. ६:३) त्यसैकारण मानिसहरूले हाम्रो सन्देश सुन्‍नै नचाहने किसिमको लुगाफाटा लगाउने वा कपालको स्टाइल बनाउने गर्दैनौं।

मुद्रा: चिटिक्क परेको रूपरङमा सही मुद्रा पनि समावेश छ। हुन त हामी सबैको एउटै मुद्रा छैन। तर रोचक कुरा के छ भने आत्मसम्मान भएको र आशावादी व्यक्‍तिलाई चिनाउन बाइबलमा खडा हुनु वा शिर ठाडो पार्नुजस्ता वाक्यांश प्रयोग गरिएको छ। (लेवी २६:१३; लूका २१:२८) तथापि धेरै वर्षसम्म कुप्रेर काम गरेकोले वा ढल्कँदो उमेर वा शारीरिक कमजोरीले गर्दा कुनै भाइ वा बहिनी सीधै उभिन सक्दैनन्‌ होला वा उभिन तिनलाई कुनै चीजको सहारा लिनुपर्छ होला। तर सीधै उभिन सक्नेहरूलाई अरूसित कुरा गर्दा सीधै उभिन प्रोत्साहन दिइन्छ किनभने त्यसो गरिएन भने ती भाइ वा बहिनी भावशून्य छन्‌ वा तिनी अरूसित माफी मागिरहेका छन्‌ भन्‍ने भान पर्न जान्छ। त्यसैगरि वक्‍ताले कागज राख्ने स्ट्यान्डमा कहिलेकाहीं आफ्नो हात अड्याउनु गलत होइन तर तिनले स्ट्यान्डमा अडेस लगाएनन्‌ भने श्रोतामा अझै सकारात्मक छाप पार्न सक्छन्‌।

सफा र चिटिक्क मिलेको सरसामान: हाम्रो रूपरङ मात्र होइन हामीले प्रचारमा प्रयोग गर्ने सरसामान पनि सफा, सुकिलो र चिटिक्क परेको हुनुपर्छ।

तपाईंको बाइबललाई नै विचार गर्नुहोस्‌। हाम्रो बाइबल थोत्रो भइसकेको भए तापनि विभिन्‍न कारणले गर्दा नयाँ बाइबल प्राप्त गरिहाल्न सक्दैनौं होला। तैपनि हामीले प्रयोग गरेको बाइबल जतिसुकै पुरानो होस्‌, त्यसको राम्ररी हेरविचार गरिएको छ भन्‍ने देखिनुपर्छ।

प्रचारमा प्रयोग गरिने झोलामा सामान राख्ने तरिका फरक-फरक भए तापनि सामान चट्ट मिलाएर राख्नुपर्छ। घरधनीलाई बाइबलबाट पद पढेर सुनाउने बेला प्रकाशकको बाइबलबाट कागज खसेको देख्नुभएको छ कि? अथवा मण्डलीमा भाषण दिइरहेको भाइको बाइबलबाट कागज झरेको देख्नुभएको छ कि? त्यतिखेर तपाईंको ध्यान भङ्‌ग भयो नि, होइन र? त्यसैकारण बाइबलभित्र राखिएको कागज-पत्रले समेत ध्यान भङ्‌ग गर्न सक्ने भएकोले ती कागज-पत्रलाई झोलामा नै राम्ररी मिलाएर राख्नुहोस्‌। बाइबल वा अन्य धार्मिक प्रकाशनलाई भुइँमा राख्दा धार्मिक कुराको अनादर गरेको ठानिन्छ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌।

हाम्रो लुगाफाटा र कोरीबाटी चिटिक्क परेको हुनै पर्छ। त्यसले अरूमा पनि राम्रो छाप पार्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त के हो भने, चिटिक्क परेको हाम्रो रूपरङले “सबै कुरामा हाम्रो उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा” बढाउँछ।—ती. २:१०.

आफ्नो रूपरङ केलाउनुहोस्‌

  • के सबै कुरा सफा छन्‌?

  • तपाईंको रूपरङमा शालीनता र सुझबुझ झल्किन्छ?

  • के सबै कुरा चिटिक्क मिलेका छन्‌?

  • कपाल चट्ट मिलाएर कोर्नुभएको छ?

  • कतै तपाईंको रूपरङले तपाईं संसारलाई माया गर्नुहुन्छ भन्‍ने भान त पार्दैन?

  • तपाईंको रूपरङ कसैको लागि ठक्करको कारण हुन सक्छ कि?

अभ्यास गर्नुहोस्‌:- तपाईंले जस्तोसुकै योजना गरेको भए तापनि एक हप्ताभरि नै दिनको एक पटक पृष्ठ १३२ को “आफ्नो रूपरङ केलाउनुहोस्‌” पेटीमा दिइएको सूचीअनुसार आफ्नो रूपरङ जाँच्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने