प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv chap. १ pp. ४-१५
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
  • ‘हामी उहाँका आज्ञा पालन गर्छौं’
  • “उहाँका आज्ञाहरू बोझिला छैनन्‌”
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • हृदयमा लेखिएको प्रेमको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv chap. १ pp. ४-१५
A beautiful sunset over an island and an ocean

अध्याय १

‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ

“परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।”—१ यूहन्‍ना ५:३.

१, २. यहोवा परमेश्‍वरलाई प्रेम गर्न तपाईंलाई केले उत्प्रेरित गर्छ?

के तपाईं परमेश्‍वरलाई प्रेम गर्नुहुन्छ? यदि तपाईंले यहोवा परमेश्‍वरमा जीवन समर्पण गरिसक्नुभएको छ भने पक्कै पनि ‘परमेश्‍वरलाई प्रेम गर्छु’ भन्‍नुहुन्छ होला। अनि यसो भन्‍नु उचित पनि हो। हामी स्वाभाविक रूपमै यहोवालाई प्रेम गर्छौं। उहाँले हामीलाई प्रेम गर्नुभएकोले नै हामी उहाँलाई प्रेम गर्छौं। यसबारे बाइबल यसो भन्छ: “जहाँसम्म हाम्रो कुरा छ, हामी प्रेम गर्छौं, किनकि पहिला उहाँले [यहोवाले] हामीलाई प्रेम गर्नुभयो।”—१ यूहन्‍ना ४:१९.

२ हामीलाई प्रेम व्यक्‍त गर्न पहिला यहोवा नै अग्रसर हुनुभयो। उहाँले हामीलाई बस्नको लागि सुन्दर पृथ्वी दिनुभयो। उहाँ हाम्रो भौतिक आवश्‍यकता पूरा गरिदिनुहुन्छ। (मत्ती ५:४३-४८) अझ महत्त्वपूर्ण कुरा त उहाँ हाम्रा आध्यात्मिक आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ। उहाँले हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ। साथै प्रार्थना सुन्‍नेछु अनि मदतको लागि पवित्र शक्‍ति दिनेछु भनेर ढुक्क पार्दै उहाँ हामीलाई प्रार्थना गर्ने निम्तो दिनुहुन्छ। (भजन ६५:२; लूका ११:१३) सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले पाप र मृत्युबाट छुटकारा पाउन सकोस्‌ भनेर उहाँले फिरौतीस्वरूप आफ्नो प्यारो छोरा पठाउनुभयो। हामीप्रति यहोवाको प्रेम कत्ति महान्‌!—यूहन्‍ना ३:१६; रोमी ५:८.

३. (क) परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामीले के गर्नुपर्छ? (ख) हामीले कुन महत्त्वपूर्ण प्रश्‍न विचार गर्नुपर्छ? त्यसको जवाफ कहाँ पाइन्छ?

३ यहोवाको प्रेमबाट हामीले सधैंभरि लाभ उठाओस्‌ भन्‍ने उहाँको चाहना छ। तर उहाँको प्रेमबाट लाभ उठाउने या नउठाउने, त्यो हाम्रै हातको कुरा हो। परमेश्‍वरको वचन हामीलाई यस्तो सल्लाह दिन्छ: “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख अनि . . . अनन्त जीवन पाउने . . . आशा गर।” (यहूदा २१) ‘आफूलाई लायक बनाइराख’ भन्‍ने वाक्यले परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामीले चाल्नुपर्ने कदमलाई बुझाउँछ। उहाँले हामीलाई जस्तो प्रेम देखाउनुभएको छ त्यसको बदलामा हामीले पनि ठोस कदम चालेर उहाँलाई प्रेम गर्छु भन्‍ने कुरा देखाउनै पर्छ। त्यसकारण हामीले विचार गर्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्‍न हो: ‘परमेश्‍वरलाई प्रेम गर्छु भनेर म कसरी देखाउन सक्छु?’ परमेश्‍वरको प्रेरणा पाएर प्रेषित यूहन्‍नाले लेखेका शब्दहरूमा हामी यसको जवाफ पाउँछौं: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।” (१ यूहन्‍ना ५:३) यी शब्दहरूको अर्थ हामीले होसियारीसाथ जाँच्नुपर्छ किनभने हाम्रा परमेश्‍वरलाई एकदमै प्रेम गर्छौं भनेर हामी देखाउन चाहन्छौं।

‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ

४, ५. तपाईंले परमेश्‍वरलाई कसरी प्रेम गर्न थाल्नुभयो? बताउनुहोस्‌।

४ ‘परमेश्‍वरलाई प्रेम गर्नु’—यी शब्दहरू लेख्दा प्रेषित यूहन्‍ना कुन कुरालाई सङ्‌केत गर्दै थिए? हामी प्रत्येकले परमेश्‍वरप्रति महसुस गर्ने गहिरो भावनालाई। तपाईंले यहोवालाई कहिलेदेखि प्रेम गर्न थाल्नुभयो, के तपाईंलाई याद छ?

A man praying
A man symbolizing his dedication to God by means of water baptism

समर्पण र बप्तिस्मा गर्दा जीवनमा यहोवालाई प्रेम गर्दै उहाँको आज्ञा पालन गर्न थालेको देखिन्छ

५ यहोवा अनि उहाँको उद्देश्‍यबारे पहिलो पटक सत्य थाह पाएको अनि त्यसमा विश्‍वास गर्न थालेको क्षण सम्झनुहोस्‌। पापी भएर जन्मेको कारण परमेश्‍वरबाट टाढिनुपरे तापनि आदमले गुमाएको त्रुटिरहित अवस्था र अनन्त जीवन पाउने ढोका यहोवाले ख्रीष्टमार्फत खोलिदिनुभएको छ भनेर तपाईंले बुझ्नुभयो। (मत्ती २०:२८; रोमी ५:१२, १८) तपाईंको खातिर आफ्नो सबैभन्दा प्यारो छोरा पठाएर बलिदान चढाउने जुन प्रबन्ध यहोवाले गर्नुभयो त्यसले के सम्भव तुल्याएको छ भनेर पनि तपाईंले बुझ्न थाल्नुभयो। यसले तपाईंको मन छोयो अनि यस्तो महान्‌ प्रेम देखाउने परमेश्‍वरलाई तपाईंले पनि प्रेम गर्न थाल्नुभयो।—१ यूहन्‍ना ४:९, १०.

६. साँचो प्रेम कसरी देखाइन्छ? परमेश्‍वरप्रतिको प्रेमले तपाईं के गर्न उत्प्रेरित हुनुभयो?

६ तर त्यस्तो भावना यहोवाप्रतिको साँचो प्रेमको सुरुवात मात्र थियो। प्रेम भावना मात्र होइन; न त मुखले भन्‍नु मात्र नै हो। “म यहोवालाई माया गर्छु” भनेर मात्र परमेश्‍वरलाई साँचो प्रेम गरेको हुँदैन। विश्‍वासजस्तै साँचो प्रेम पनि कामबाट देखाइन्छ। (याकूब २:२६) आफूले प्रेम गरेको मान्छेलाई खुसी बनाउने काम गरेर हामी प्रेम देखाउँछौं। तसर्थ स्वर्गका पिता यहोवाप्रति प्रेम पलाएपछि तपाईं उहाँलाई खुसी बनाउने तरिकामा जिउन उत्प्रेरित हुनुभयो। के तपाईं बप्तिस्मा भइसकेको साक्षी हुनुहुन्छ? हुनुहुन्छ भने तपाईंले परमेश्‍वरप्रतिको गहिरो प्रेम अनि वफादारीले गर्दा जीवनमा सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्नुभयो। तपाईंले यहोवाको इच्छाअनुसार गर्न आफूलाई उहाँमा समर्पण गर्नुभयो। अनि बप्तिस्मा गरेर आफूलाई यहोवामा समर्पण गरेको कुरा अरूलाई देखाउनुभयो। (रोमी १४:७, ८) यसरी यहोवाप्रति गरेको प्रतिज्ञा पूरा गर्नुमा प्रेषित यूहन्‍नाले उल्लेख गरेको अर्को कुरा पनि समावेश छ।

‘हामी उहाँका आज्ञा पालन गर्छौं’

७. परमेश्‍वरका केही आज्ञा के-के हुन्‌? उहाँका आज्ञाहरू पालन गर्नुमा के समावेश छ?

७ परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ यूहन्‍ना यसरी बताउँछन्‌: ‘हामी परमेश्‍वरका आज्ञा पालन गर्छौं।’ परमेश्‍वरका आज्ञा के-के हुन्‌? यहोवाले आफ्नो वचन बाइबलमार्फत हामीलाई तोकेरै थुप्रै आज्ञा दिनुभएको छ। उदाहरणको लागि उहाँले यस्ता कुरा निषेध गर्नुभएको छ: पियक्कड हुने, अवैध यौनसम्बन्ध राख्ने, मूर्तिपूजा गर्ने, चोरी गर्ने, ढाँट्‌ने आदि। (१ कोरिन्थी ५:११; ६:१८; १०:१४; एफिसी ४:२८; कलस्सी ३:९) परमेश्‍वरका आज्ञाहरू पालन गर्नुमा बाइबलको स्पष्ट नैतिक स्तरअनुसार जिउनु समावेश छ।

८, ९. बाइबलले तोकेरै नियम नदिएको परिस्थितिमा समेत यहोवालाई खुसी पार्ने कुरा हामी कसरी थाह पाउन सक्छौं? उदाहरण दिनुहोस्‌।

८ तर यहोवालाई खुसी तुल्याउने हो भने तोकेरै दिइएका उहाँका आज्ञाहरू मानेर मात्र पुग्दैन। यहोवाले हामीलाई दैनिक जीवन बिताउनको लागि एक-एक नियमले बाँध्नुभएको छैन। त्यसैले दैनिक जीवनमा बाइबलले तोकेरै आज्ञा नदिएका थुप्रै परिस्थितिको हामीले सामना गर्नुपर्ने हुन सक्छ। त्यस्तो परिस्थितिमा हामीले के गरेको यहोवालाई मन पर्छ, त्यो कसरी थाह पाउने? परमेश्‍वर कसरी सोच्नुहुन्छ, त्यसबारे बाइबलमा प्रस्ट सङ्‌केत दिइएको छ। बाइबल अध्ययन गर्दै जाँदा यहोवाले प्रेम गर्ने कुरा अनि उहाँले घृणा गर्ने कुराबारे हामी सिक्छौं। (भजन ९७:१०; हितोपदेश ६:१६-१९) उहाँले कस्तो मनोवृत्ति अनि कस्तो कामको मोल गर्नुहुन्छ, त्यो पनि हामी बुझ्छौं। हामी जति धेरै यहोवाको व्यक्‍तित्व अनि तौर-तरिकाबारे सिक्छौं त्यति नै उहाँको सोचाइअनुसार निर्णय गर्न सक्छौं। यसले हामीले गर्ने कामलाई असर गर्छ। त्यसैले बाइबलले तोकेरै नियम नदिएको परिस्थितिमा समेत “यहोवाको इच्छा के हो,” त्यो हामी प्रायः बुझ्न सक्छौं।—एफिसी ५:१७.

९ उदाहरणको लागि बाइबलले हामीलाई घोर हिंसा अनि अनैतिकता भएको फिल्म वा टिभी कार्यक्रम नहेर्नू भनेर तोकेरै आज्ञा दिएको छैन। तर के हामीलाई साँच्चै नै यस्तो विषयमा तोकेरै दिएको नियम चाहिन्छ र? यस्तो विषयलाई यहोवा कुन दृष्टिले हेर्नुहुन्छ, त्यो हामीलाई थाह छ। उहाँको वचनले हामीलाई स्पष्टसित यसो भनेको छ: “दुष्ट र अत्याचार निको मान्‍नेलाई [यहोवाको] आत्माले घृणा गर्छ।” (भजन ११:५) बाइबलले यसो पनि भनेको छ:  “अवैध यौनसम्बन्ध राख्ने अनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।” (हिब्रू १३:४) परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएका यी शब्दहरूलाई मनमा राख्यौं भने हामी यहोवाको इच्छा प्रस्टै बुझ्न सक्छौं। त्यसैले फिल्म, टिभी, इन्टरनेट र अन्य माध्यमबाट आउने परमेश्‍वरले घृणा गर्ने सामग्रीहरू हेरेर हामी मनोरञ्जन लिदैनौं। हानिकारक छैन जस्तो गरी अहिलेको संसारले देखाउने नैतिक तवरमा पतित मनोरञ्जनबाट अलग्गै रह्‍यौं भने यहोवा खुसी हुनुहुनेछ भनेर हामीलाई थाह छ। a

१०, ११. हामी किन यहोवाप्रति आज्ञाकारी हुने छनौट गर्छौं? हामी उहाँलाई कस्तो प्रकारको आज्ञाकारिता देखाउँछौं?

१० हामीले परमेश्‍वरको आज्ञा पालन गर्नुको मुख्य कारण के हो? परमेश्‍वरको सोचाइ बुझेपछि हामी किन दिनहुँ त्यसैअनुसार जीवन बिताउन चाहन्छौं? सजाय नपाउन वा परमेश्‍वरको इच्छालाई बेवास्ता गर्नेहरूले भोग्ने हानिकारक नतिजाबाट जोगिन मात्र हामी त्यस्तो जीवन बिताउने छनौट गर्दैनौं। (गलाती ६:७) बरु यहोवाप्रति आज्ञाकारी हुने कुरालाई हामी उहाँप्रति प्रेम देखाउने अनमोल मौकाको रूपमा लिन्छौं। सानो बच्चाले आफ्नो बुबाको मायालु मुस्कान पाउन खोजेजस्तै हामी पनि यहोवाको निगाह पाउन चाहन्छौं। (भजन ५:१२) यहोवा हाम्रो बुबा हुनुहुन्छ, हामी उहाँलाई प्रेम गर्छौं। ‘यहोवाको निगाह पाउने’ तरिकामा जीवन बिताइरहेका छौं भनेर थाह पाउँदा अन्त कतैबाट पनि पाउन नसकिने अपार आनन्द अनि गहिरो सन्तुष्टि हामी पाउँछौं।—हितोपदेश १२:२.

११ आज्ञा पालन मन नलागी-नलागी गर्ने कुरा होइन। साथै छानी-छानी वा सर्त राखेर पनि आज्ञा पालन गरिंदैन।b ‘यो आज्ञा पालन गर्छु, त्यो गर्दिनँ’, ‘यस्तो भयो भने गर्छु नत्र गर्दिनँ’, ‘कुनै अप्ठेरो पर्दैन भने मात्र आज्ञा पालन गर्छु’ भनेर हामी भन्‍ने गर्दैनौं। बरु हामी “मनैदेखि आज्ञाकारी” हुन्छौं। (रोमी ६:१७) बाइबलका भजनहारले हामी जस्तै महसुस गर्छौं। तिनले लेखे: “मैले प्रेम गरेको तपाईंका आज्ञाहरूमा म आनन्दित हुनेछु।” (भजन ११९:४७) हो, हामी यहोवाका आज्ञाहरू पालन गर्न मन पराउँछौं। पूर्णतया अनि कुनै सर्त नराखी उहाँको आज्ञा पालन गर्नुपर्छ र उहाँ यसको हकदार हुनुहुन्छ भनेर हामीले बुझेका छौं। (व्यवस्था १२:३२) नूहबारे बाइबलमा यहोवाले जे भन्‍नुभएको छ हाम्रो विषयमा पनि त्यस्तै भनेको हामी चाहन्छौं। धेरै वर्षदेखि आज्ञाकारी भएर परमेश्‍वरलाई प्रेम देखाएका विश्‍वासी कुलपिता नूहबारे बाइबल यसो भन्छ: “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्पत्ति ६:२२.

१२. हामीले कसरी आज्ञा पालन गऱ्‍यौं भने यहोवाको हृदय आनन्दित हुन्छ?

१२ हामीले खुसीसाथ आज्ञा पालन गर्दा यहोवालाई कस्तो लाग्छ? हामीले उहाँको “हृदयलाई आनन्दित” बनाइरहेका हुन्छौं भनेर बाइबल बताउँछ। (हितोपदेश २७:११) के हाम्रो आज्ञाकारिताले ब्रह्‍माण्डकै सर्वोच्च प्रभुको हृदयलाई साँच्चै आनन्दित तुल्याउँछ होला र? वास्तवमै भन्‍नुपर्दा तुल्याउँछ अनि उहाँ आनन्दित हुने ठोस कारण पनि छ। यहोवाले हामीलाई नैतिकताको ज्ञान भएको स्वतन्त्र प्राणीको रूपमा सृष्टि गर्नुभयो। यसको मतलब हामीसित छनौट गर्ने स्वतन्त्रता छ; हामी उहाँको आज्ञा पालन गर्न पनि सक्छौं, नगर्न पनि सक्छौं। (व्यवस्था ३०:१५, १६, १९, २०) जब हामी खुसीसाथ यहोवाको आज्ञा पालन गर्ने छनौट गर्छौं र परमेश्‍वरप्रतिको पूर्ण प्रेमले उत्प्रेरित भएर निर्णय गर्छौं तब स्वर्गका हाम्रा बुबालाई अत्यन्तै खुसी र आनन्दित बनाइरहेका हुन्छौं। (हितोपदेश ११:२०) त्यति मात्र होइन हामीले जीवनको सर्वोत्तम मार्ग पनि पछ्याइरहेका हुन्छौं।

“उहाँका आज्ञाहरू बोझिला छैनन्‌”

१३, १४. परमेश्‍वरका “आज्ञाहरू बोझिला छैनन्‌” भनेर किन भन्‍न सकिन्छ? यसलाई बुझाउने उदाहरण दिनुहोस्‌।

१३ यहोवाले गरेको मागको विषयमा प्रेषित यूहन्‍नाले हामीलाई एकदमै निर्धक्क बनाएका छन्‌। तिनले यसो भने: “उहाँका आज्ञाहरू बोझिला छैनन्‌।” पहिलो यूहन्‍ना ५:३ मा “बोझिला” भनेर नेपालीमा अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ हो—गह्रौं।c अर्को बाइबल अनुवादमा यस्तो लेखिएको छ: “उहाँका आज्ञाहरू कडा छैनन्‌।” ( पवित्र बाइबल, RV) यहोवाले माग गरेका कुरा हामीले पूरा गर्नै नसक्ने र बोझिला छैनन्‌। उहाँका नियमहरू त्रुटिपूर्ण मानिसले पालन गर्नै नसक्ने किसिमका छैनन्‌।

१४ यसलाई बुझ्न हामी यो उदाहरण विचार गरौं। तपाईंको एकदमै मिल्ने साथीले तपाईंलाई उसको घर बनाउने काममा सघाइदेऊ भन्छ। त्यहाँ ओसार्नुपर्ने थुप्रै काठहरू छन्‌। कुनै-कुनै काठ एक जनाले पनि सजिलैसित बोक्न सक्ने हल्का छन्‌ भने कुनै-कुनैचाहिं दुई जनाले बोक्नुपर्ने गह्रौं खालका छन्‌। तपाईंलाई बोक्नको लागि साथीले काठ छुट्ट्याइदिन्छ। तर के उसले तपाईंले बोक्नै नसक्ने काठ दिन्छ र? पक्कै पनि दिंदैन! त्यस्तो गह्रौं काठ तपाईं एक्लैलाई बोकाएर ऊ तपाईंलाई दुःख दिन चाहँदैन। त्यसैगरि हाम्रो मायालु अनि दयालु परमेश्‍वरले पनि हामीलाई पालन गर्नै नसक्ने आज्ञाहरू दिनुहुन्‍न। (व्यवस्था ३०:११-१४) उहाँ हामीलाई गह्रौं भारी कहिल्यै बोकाउनुहुन्‍न। हामी के-कति गर्न सक्छौं भन्‍ने कुरा यहोवा बुझ्नुहुन्छ किनभने उहाँ “हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटो नै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।”—भजन १०३:१४.

१५. यहोवाका आज्ञाले हामीलाई एकदमै लाभ पुऱ्‍याउँछ भनेर हामी किन ढुक्क हुन सक्छौं?

१५ यहोवाका आज्ञाहरू पक्कै पनि बोझिला छैनन्‌; बरु हामीलाई एकदमै लाभ पुऱ्‍याउने खालका छन्‌। (यशैया ४८:१७) त्यसैले त मोशाले प्राचीन समयका इस्राएलीहरूलाई यसो भन्‍न सके: “परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो। त्यसो गर्दा हाम्रो निरन्तर हित हुनेछ, औ आज पर्यन्तझैं उहाँले हाम्रो जीवनको पनि रक्षा गर्नुहुनेछ।” (व्यवस्था ६:२४) यहोवाले हामीलाई नियमहरू दिंदा हाम्रो भलो चिताउनुहुन्छ अर्थात्‌ हामीलाई पछिसम्म हित हुने कुरा ध्यान दिनुहुन्छ भनेर हामी पनि ढुक्क हुन सक्छौं। उहाँ हाम्रो हानि हुने आज्ञा दिनुहुन्छ भनेर त हामी सोच्नै सक्दैनौं! यहोवा अथाह बुद्धि भएको परमेश्‍वर हुनुहुन्छ। (रोमी ११:३३) त्यसैले हाम्रो लागि कुन कुरा लाभदायी छ, त्यो उहाँ जान्‍नुहुन्छ। साथै उहाँ प्रेमको मूर्त रूप पनि हुनुहुन्छ। (१ यूहन्‍ना ४:८) प्रेम उहाँको अभिन्‍न भाग हो अनि उहाँ जे-जति भन्‍नुहुन्छ र गर्नुहुन्छ त्यो सब प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। उहाँले आफ्ना सेवकहरूका लागि दिएका सम्पूर्ण आज्ञा प्रेममै आधारित छ।

१६. अहिलेको पतित संसारबाट आउने प्रभाव अनि हाम्रो पापी शारीरिक झुकावको बाबजुद हामी किन आज्ञाकारी हुन सक्छौं?

१६ त्यसो भन्‍नुको मतलब परमेश्‍वरको आज्ञा पालन गर्न सजिलो छ भन्‍न खोजेको त होइन। “दुष्टको हातमा परेको” पतित संसारबाट आउने प्रभावहरू विरुद्ध हामीले सङ्‌घर्ष गर्नै पर्छ। (१ यूहन्‍ना ५:१९) साथै परमेश्‍वरको नियम उल्लङ्‌घन गर्न लगाउने हाम्रो आफ्नै पापी शरीरसित पनि लड्‌नै पर्छ। (रोमी ७:२१-२५) तर पनि हामी परमेश्‍वरलाई प्रेम गर्न सक्छौं। परमेश्‍वरप्रति आज्ञाकारी भएर उहाँलाई प्रेम गरेको साबित गर्न चाहनेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ। उहाँ “आफ्नो आज्ञा पालन गर्नेहरूलाई” पवित्र शक्‍ति दिनुहुन्छ। (प्रेषित ५:३२) यो शक्‍तिले हामीमा सुन्दर फलहरू फलाउँछ अर्थात्‌ आज्ञाकारी हुन मदत गर्ने अनमोल गुणहरू विकास गर्छ।—गलाती ५:२२,२३

१७, १८. (क) यस किताबमा हामी कुन कुरा केलाउनेछौं? त्यतिबेला हामीले कुन कुरा मनमा राख्नुपर्छ? (ख) अर्को अध्यायमा कुन विषय छलफल गरिनेछ?

१७ यस किताबमा यहोवाका सिद्धान्तहरू, उहाँको नैतिक स्तर अनि उहाँलाई मन पर्ने अरू थुप्रै कुरा हामी केलाउनेछौं। यी सब केलाउँदा हामीले थुप्रै महत्त्वपूर्ण कुरा मनमा राख्नुपर्ने हुन्छ। यहोवा आफ्नो नियम अनि सिद्धान्त पालन गर्न हामीलाई जबरजस्ती गर्नुहुन्‍न अनि हामी मनदेखि नै आज्ञाकारी भएको उहाँ चाहनुहुन्छ भनेर नबिर्सौं। अहिले नै अपार आशिष्‌ पाउने अनि भविष्यमा अनन्त जीवन पाउने मार्गमा हिंड्‌न उहाँले हामीलाई बोलाइरहनुभएको छ भन्‍ने कुरा सम्झिरहौं। साथै पूर्ण हृदयले आज्ञाकारी हुनु भनेको यहोवालाई धेरै प्रेम गर्छौं भनेर देखाउने सुनौलो मौका हो भन्‍ने कुरा विचार गरौं।

१८ सही र गलत छुट्ट्याउन सकोस्‌ भनेर हामीलाई प्रेम गर्दै यहोवाले हामीमा अन्तस्करण राखिदिनुभएको छ। तर यदि अन्तस्करणलाई भरपर्दो मार्ग-दर्शक बनाउने हो भने हामीले यसलाई राम्ररी तालिम दिनै पर्छ। यो विषय हामी अर्को अध्यायमा छलफल गर्नेछौं।

a स्वस्थकर मनोरञ्जन छान्‍ने विषयमा यस किताबको अध्याय ६ हेर्नुहोस्‌।

b दुष्ट स्वर्गदूतहरूले समेत आज्ञा पालन गर्छन्‌, तर मन नलागी-नलागी। येशूले दुष्ट स्वर्गदूतहरूलाई तिनीहरूले वशमा पारेका मानिसहरूबाट निस्कने आज्ञा दिंदा उहाँको अख्तियार स्वीकार्दै तिनीहरू बाहिर निस्के, तर खुसीसाथ होइन।—मर्कूस १:२७; ५:७-१३.

c मत्ती २३:४ मा “बोझिला नियमहरूको भारी” अर्थात्‌ सदुकी र फरिसीहरूले मानिसहरूमाथि लाद्‌ने गरेका एक-एक नियमहरूलाई र मानिसले बनाएका परम्परालाई बुझाउन यो शब्द प्रयोग गरिएको छ। यही शब्दलाई प्रेषित २०:२९, ३० मा “अत्याचारी” भनेर अनुवाद गरिएको छ। उक्‍त शब्दले “टेढोमेढो कुरा गरेर” अरूलाई बहकाउने कठोर धर्मत्यागीहरूलाई बुझाउँछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • यहोवा आफ्ना उपासकहरूले कसरी आज्ञा पालन गरेको चाहनुहुन्छ? यस्तो आज्ञा पालनले किन हामीलाई एकदमै लाभ पुऱ्‍याउँछ?—व्यवस्था ५:२८-३३.

  • हाम्रो आज्ञाकारितालाई यहोवा कत्तिको महत्त्वपूर्ण ठान्‍नुहुन्छ?—१ शामूएल १५:२२,२३

  • परमेश्‍वरको आज्ञा पालन गर्ने विषयमा येशूको मनोभावबाट हामी के सिक्न सक्छौं?—यूहन्‍ना ८:२९.

  • यहोवाको आज्ञा पालन गर्नु मात्रै उचित हो, किन?—प्रकाश ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने