-
मानिस मरेपछि कहाँ जान्छ?बाइबलले हामीलाई के सिकाउँछ?
-
-
अध्याय छ
मानिस मरेपछि कहाँ जान्छ?
१-३. कसैको मृत्यु हुँदा मानिसहरू कस्ता प्रश्नहरू सोध्छन् र यी प्रश्नहरूको जवाफ विभिन्न धर्मले कसरी दिएको छ?
बाइबलमा ‘मृत्यु नहुने’ समय आउँदै छ भनेर प्रतिज्ञा गरिएको छ। (प्रकाश २१:४) फिरौतीको बलिदानले गर्दा कसरी मानिसहरूले सधैँभरि बाँच्ने जीवन पाउन सम्भव भयो, हामीले अध्याय ५ मा सिक्यौँ। हाम्रो अगाडि त्यस्तो आशा भए तापनि हरेक दिन मानिसहरू मर्छन्। (उपदेशक ९:५) त्यसैले हाम्रो मनमा यस्तो प्रश्न उठ्छ, मानिस मरेपछि कहाँ जान्छ?
२ आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा हामीलाई यस प्रश्नले झनै पिरोल्छ। हामीलाई यस्तो लाग्न सक्छ: ‘ऊ अहिले कहाँ छ होला? उसले कतै दुःख पो पाइरहेको छ कि? उसले हामीलाई हेरिरहेको छ कि? के उसले हामीलाई मदत गर्न सक्छ? के उसलाई फेरि भेट्न पाइएला?’
३ यी प्रश्नहरूको जवाफ धर्मपिच्छे फरक-फरक छ। कुनै-कुनै धर्मले असल मानिस स्वर्ग जान्छ, खराब मानिस नरक जान्छ भनेर सिकाउँछ। कुनै धर्मले चाहिँ मरेको मानिसको आत्मा तिनीहरूको पुर्खासित मिल्न जान्छ भनेर सिकाउँछ। अनि कतिपय धर्मले मरेपछि आ-आफ्नो कर्मअनुसार मानिसको न्याय गरिन्छ अनि तिनीहरूको पुनर्जन्म हुन्छ अर्थात् तिनीहरू अर्कै मानिस वा जनावर भएर फेरि जन्मिन्छन् भनेर सिकाउँछ।
४. मृत्युबारे धेरैजसो धर्मले सिकाउने एउटा कुरा के हो?
४ विभिन्न धर्मले फरक-फरक कुरा सिकाए पनि धेरैजसो धर्मले सिकाउने एउटा कुरा भने ठ्याक्कै मिल्छ। त्यो हो, मानिस मरे पनि उसको कुनै न कुनै अंश जीवितै रहन्छ। तर के यो कुरा साँचो हो?
मानिस मरेपछि कहाँ जान्छ?
५, ६. मानिस मरेपछि के हुन्छ?
५ मानिस मरेपछि के हुन्छ भन्ने कुरा यहोवा परमेश्वरलाई थाह छ। मानिस मरेपछि उसको कुनै पनि अंश जीवित रहँदैन भनेर उहाँले बाइबलमा बताउनुभएको छ। मृत्यु जीवनको उल्टो हो। त्यसैले मृत्युपछि उसको भावना, सम्झने क्षमता कतै जीवित भएर बस्दैन।a मरेको मानिसले देख्न, सुन्न वा सोच्न सक्दैन।
६ “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन” भनेर राजा सुलेमानले लेखे। मरेको मानिसले कसैलाई प्रेम गर्न वा घृणा गर्न सक्दैन अनि उसले ‘चिहानमा न कुनै काम गर्न, न केही सोच्न सक्छ अनि त्यहाँ न ज्ञान, न बुद्धि नै हुन्छ।’ (उपदेशक ९:५, ६, १० पढ्नुहोस्) बाइबलको भजन १४६:४ मा बताइएअनुसार मानिस मरेपछि उसका “विचारहरू” पनि मर्छन्।
मरिसकेको मानिसको अवस्थाबारे येसुले के भन्नुभयो?
यहोवा परमेश्वरले मानिसहरूलाई पृथ्वीमा सधैँभरि बाँच्नको लागि सृष्टि गर्नुभयो
७. येसुले मृत्युलाई केसित तुलना गर्नुभयो?
७ येसुले आफ्नो मिल्ने साथी लाजरसको मृत्यु हुँदा आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्।” तर येसुले लाजरस आराम गरिरहेका छन् भन्न खोज्नुभएको थिएन। किनभने उहाँले यसो पनि भन्नुभयो: “लाजरस मरिसकेका छन्।” (युहन्ना ११:११-१४) यसरी येसुले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। येसुले लाजरस स्वर्गमा छन् वा मरिसकेका आफन्तहरूसित छन् भन्नुभएन। अनि लाजरसले नरकमा सास्ती पाइरहेका छन् वा तिनी अर्कै मानिस अथवा जनावर भएर फेरि जन्मिएका छन् पनि भन्नुभएन। लाजरसको अवस्था गहिरो निद्रामा परेको मानिसको जस्तै थियो। बाइबलका अरू पदमा पनि मृत्युलाई गहिरो निद्रासित तुलना गरिएको छ। येसुका एक जना चेला स्तिफनसको हत्यापछि “तिनी मृत्युको चिर निद्रामा परे” भनी बाइबलमा बताइएको छ। (प्रेषित ७:६०) पावलले पनि आफ्नो समयका केही ख्रिष्टियन “मृत्युको चिर निद्रामा परिसकेका छन्” भनेर लेखे।—१ कोरिन्थी १५:६.
८. परमेश्वरले मानिसलाई मर्नको लागि सृष्टि गर्नुभएको थिएन भनेर हामी किन भन्न सक्छौँ?
८ परमेश्वरले आदम र हव्वालाई मर्नको लागि सृष्टि गर्नुभएको थिएन। यहोवा परमेश्वरले तिनीहरू स्वस्थ भइरहून् र सधैँभरि बाँचून् भनेर बनाउनुभएको थियो। उहाँले मानिसजातिको मनमा सधैँभरि बाँच्ने इच्छा पनि हालिदिनुभएको थियो। (उपदेशक ३:११) कोही पनि आमाबुबा आफ्नो छोराछोरी बूढाबूढी भएको र मरेको चाहँदैन। यहोवा परमेश्वर पनि हामी बूढाबूढी भएको र मरेको हेर्न चाहनुहुन्न। यदि परमेश्वरले हामीलाई सधैँभरि बाँच्नको लागि सृष्टि गर्नुभएको थियो भने हामी किन मर्छौँ त?
हामी किन मर्छौँ?
९. यहोवा परमेश्वरले दिनुभएको आज्ञा पालन गर्न आदम र हव्वालाई किन गाह्रो थिएन?
९ अदनको बगैँचामा यहोवा परमेश्वरले आदमलाई यो आज्ञा दिनुभएको थियो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ। तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।” (उत्पत्ति २:९, १६, १७) यो आज्ञा पालन गर्न गाह्रो थिएन। अनि आदम र हव्वाको लागि असल के हो र खराब के हो, त्यो निर्धारण गर्ने अधिकार यहोवा परमेश्वरसित थियो। उहाँको आज्ञा मानेर तिनीहरूले उहाँको अख्तियार स्विकारेको देखाउन सक्थे। साथै उहाँले दिनुभएको सबै कुराको लागि धन्यवादी भएको कुरा पनि तिनीहरूले देखाउन सक्थे।
१०, ११. (क) सैतानले आदम र हव्वालाई कसरी बहकायो? (ख) आदम र हव्वाको गल्ती किन माफी दिन लायकको थिएन?
१० तर दुःखको कुरा, आदम र हव्वाले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्। सैतानले हव्वालाई यसो भन्यो: “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्नुभएको हो?” हव्वाले यस्तो जवाफ दिइन्: “हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ। तर बगैँचाको बीचमा भएको रूखबारे भने परमेश्वरले यसो भन्नुभएको छ: ‘त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।’”—उत्पत्ति ३:१-३.
११ त्यसपछि सैतानले यसो भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ! किनकि परमेश्वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्। तिमीहरू परमेश्वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।” (उत्पत्ति ३:४-६) आफ्नो लागि के असल, के खराब, त्यो आफैले निर्णय गर्न सक्छ भनेर हव्वाले सोचेको सैतान चाहन्थ्यो। परमेश्वरको आज्ञा पालन नगर्दा हुन सक्ने नतिजाबारे पनि सैतानले झूट बोल्यो। सैतानले हव्वा मर्नेछैन भन्यो। त्यसैले हव्वाले फल टिपेर खाइन् र आफ्नो पतिलाई पनि दिइन्। आदम र हव्वालाई यहोवा परमेश्वरले त्यो फल नखानू भन्नुभएको छ भनेर थाह थियो अनि त्यो आज्ञा पालन गर्न गाह्रो पनि थिएन। तर तिनीहरूले परमेश्वरको आज्ञा पालन नगर्ने निर्णय गरे र त्यो फल खाए। यसरी तिनीहरूले स्वर्गमा बस्नुहुने आफ्नो मायालु बुबाको अनादर गरे। तिनीहरूको गल्ती माफी दिन लायकको थिएन।
१२. आदम र हव्वाले यहोवा परमेश्वरको आज्ञा नमान्नु किन दुःखलाग्दो कुरा हो?
१२ हाम्रो पहिलो आमाबुबाले त्यसरी आफ्नो सृष्टिकर्ताको अनादर गर्नु धेरै दुःखलाग्दो कुरा हो! आफूले निकै मेहनत गरेर हुर्काएको छोरा वा छोरीले तपाईँको विरोध गर्छ र तपाईँले भनेको पटक्कै मान्दैन भने तपाईँलाई कस्तो लाग्छ? धेरै चित्त दुख्छ नि, होइन र?
आदम माटोबाट बनाइएका थिए र माटोमै मिले
१३. यहोवा परमेश्वरले आदमलाई ‘तिमी माटोमै मिल्नेछौ’ भन्नुको अर्थ के थियो?
१३ परमेश्वरको आज्ञा पालन नगरेकोले आदम र हव्वाले सधैँभरि बाँच्ने मौका गुमाए। यहोवा परमेश्वरले आदमलाई यसो भन्नुभयो: “तिमी माटै हौ र माटोमै मिल्नेछौ।” (उत्पत्ति ३:१९ पढ्नुहोस्) यसको मतलब आदमलाई माटोबाट बनाइएको थियो, त्यसैले तिनी मरेपछि फेरि माटोमै मिल्ने थिए। (उत्पत्ति २:७) पाप गरेपछि आदम मरे र तिनको अस्तित्व मेटियो।
१४. हामी किन मर्छौँ?
१४ आदम र हव्वाले परमेश्वरको आज्ञा पालन गरेको भए तिनीहरू आजसम्म जीवितै हुनेथिए। तर तिनीहरूले उहाँको आज्ञा पालन नगरेर पाप गरे। अन्तमा तिनीहरू मरे। पाप भनेको आमाबुबाबाट छोराछोरीमा सर्ने घातक रोगजस्तै हो। हाम्रो पहिलो आमाबुबाबाट हामी सबैमा पाप सऱ्यो। त्यसैले हामी सबै जना जन्मँदै पापी भएर जन्मन्छौँ अनि एकदिन हामी सबै मर्छौँ। (रोमी ५:१२) तर परमेश्वरले कहिल्यै त्यस्तो उद्देश्य राख्नुभएको थिएन। मानिसहरू मरून् भनेर उहाँले कहिल्यै चाहनुभएको थिएन। बाइबलले मृत्युलाई “शत्रु” भनेको छ।—१ कोरिन्थी १५:२६.
सत्य कुरा थाह पाउँदा हुने फाइदा
१५. मृत्युबारे सत्य कुरा थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?
१५ मृत्युबारे सत्य कुरा थाह पाउँदा हामी झूटा शिक्षाहरूको पासोमा पर्नदेखि जोगिन्छौँ। मरिसकेको मानिसले कुनै किसिमको दुःख वा पीडा महसुस गर्दैन भनेर बाइबलले बताउँछ। हामी तिनीहरूसित कुरा गर्न सक्दैनौँ न त तिनीहरू हामीसित कुरा गर्न सक्छन्। हामी तिनीहरूलाई मदत गर्न सक्दैनौँ न त तिनीहरू हामीलाई मदत गर्न सक्छन्। तिनीहरूले हाम्रो कुनै हानि गर्न सक्दैनन्, त्यसैले तिनीहरूसित डराउनु पर्दैन। तर थुप्रै धर्मले मानिस मरेपछि अर्कै लोकमा जान्छ अनि धर्मगुरुहरूलाई दान दियौँ भने मरेका मानिसहरूले ती कुरा पाउँछन् भनेर सिकाउँछ। तर मानिस मरेपछि कहाँ जान्छ, त्यसबारे सत्य कुरा थाह पाउँदा हामीलाई त्यस्ता झूटा कुराहरूले बहकाउन सक्दैन।
१६. थुप्रै धर्मले मरिसकेका मानिसहरूको अवस्थाबारे कस्तो कुरा सिकाउँछ?
१६ सैतान झूटो धर्मलाई आफ्नो माध्यम बनाएर हामीलाई झूटो कुरा सिकाउँछ। उदाहरणको लागि, मानिस मरे पनि उसको कुनै न कुनै अंश भने जीवितै रहन्छ भनेर कुनै-कुनै धर्मले सिकाउँछ। के तपाईँको धर्मले पनि त्यस्तै कुरा सिकाउँछ? अथवा मरिसकेका मानिसको अवस्थाबारे बाइबलले जे भन्छ, त्यही सिकाउँछ? सैतानले झूटो कुरा सिकाएर मानिसहरूलाई यहोवा परमेश्वरबाट टाढा लैजाने कोसिस गर्छ।
१७. पापीहरूलाई नरकको आगोमा हालिन्छ भन्ने शिक्षाले किन यहोवाको बदनाम गर्छ?
१७ मृत्युबारे धेरैजसो धर्मले सिकाउने कुरा अचम्मलाग्दो छ। उदाहरणको लागि, कुनै-कुनै धर्मले पापी मानिसहरूलाई नरकको आगोमा हालेर सधैँभरि सास्ती दिइन्छ भनेर सिकाउँछ। यस्तो झूटो कुराले यहोवा परमेश्वरको बदनाम गर्छ। उहाँ मानिसहरूलाई कहिल्यै सास्ती दिनुहुन्न! (१ युहन्ना ४:८ पढ्नुहोस्) कुनै आमा वा बुबाले आफ्नो छोराछोरीलाई सजाय दिन उसको हात आगोमा झोस्छ भने तपाईँलाई कस्तो लाग्छ? त्यो आमा वा बुबा कति निर्दयी रहेछ भनेर सोच्नुहुन्छ नि, होइन र? के तपाईँ त्यस्तो व्यक्तिसित घनिष्ठ हुन चाहनुहुन्छ र? यहोवा त्यस्तै निर्दयी परमेश्वर हुनुहुन्छ भनेर हामीले सोचेको सैतान चाहन्छ!
१८. हामी मरेका मानिसहरूसित किन डराउनु पर्दैन?
१८ केही धर्मले मानिस मरेपछि प्रेत बन्छ भनेर सिकाउँछ। ती प्रेतहरू या त हाम्रो मित्र या हाम्रो शत्रु बन्न सक्ने भएकोले तिनीहरूको चित्त बुझाउनुपर्छ अनि तिनीहरूलाई चिढ्याउनु हुँदैन भनेर पनि सिकाउँछ। त्यस्ता झूटा कुराहरूमा विश्वास गर्ने मानिसहरू संसारमा धेरै छन्। तिनीहरू मरेका मानिसहरूसित डराउँछन्। त्यसैले यहोवा परमेश्वरको सट्टा तिनीहरूको उपासना गर्छन्। मरेका मानिसहरूले देख्न, सुन्न अनि केही पनि अनुभव गर्न सक्दैनन् भनेर नबिर्सनुहोस्। त्यसैले हामी तिनीहरूसित डराउनु पर्दैन। यहोवा परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँ साँचो परमेश्वर हुनुहुन्छ र हामीले उहाँको मात्र उपासना गर्नुपर्छ।—प्रकाश ४:११.
१९. मृत्युबारे सत्य कुरा थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?
१९ मृत्युबारे सत्य कुरा थाह पायौँ भने विभिन्न कुरीति अनि अन्धविश्वासबाट हामी मुक्त हुन्छौँ। अनि यो सत्यले हामीलाई यहोवा परमेश्वरले हाम्रो जीवन र हाम्रो भविष्यबारे गर्नुभएको सुन्दर प्रतिज्ञाहरू सिक्न अनि बुझ्न मदत गर्छ।
२०. हामी अर्को अध्यायमा के सिक्नेछौँ?
२० हजारौँ वर्षअघि अय्युब नाम गरेका एक जना भक्त मानिसले यसरी सोधेका थिए: “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?” (अय्युब १४:१४) यसबारे बाइबलले दिने जवाफ साँच्चै रोचक छ। हामी अर्को अध्यायमा यसबारे सिक्नेछौँ।
-
-
मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्!बाइबलले हामीलाई के सिकाउँछ?
-
-
अध्याय सात
मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्!
१-३. (क) हामी सबै जना केको कैदमा छौँ? (ख) यहोवा परमेश्वरले मृत्युलाई के गर्नुहुनेछ?
तपाईँलाई कसैले झूटो आरोप लगाएर आजीवन कैद सजाय दियो भने तपाईँ के गर्नुहुन्छ? तपाईँ अँध्यारो भविष्यबाहेक केही देख्नुहुन्न होला अनि असाध्यै निराश पनि हुनुहोला। तर यसरी पूरै आशा मारिसकेको बेला एक जना मानिस आएर तपाईँलाई कैदबाट निकाल्ने वचन दियो अनि ऊसित तपाईँलाई कैदबाट छुटाउने क्षमता पनि छ भने तपाईँलाई कस्तो लाग्छ?
२ हामी सबै जना मृत्युको कैदमा परेका छौँ। हामीले जतिसुकै कोसिस गरे तापनि त्यसबाट मुक्त हुन सक्दैनौँ। तर यहोवा परमेश्वर हामीलाई मृत्युबाट छुटाउन सक्नुहुन्छ। अनि उहाँले यसो भन्नुभएको छ: “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।”—१ कोरिन्थी १५:२६.
३ मृत्युसित डराउनै नपर्ने समय आएपछि कत्ति ढुक्क महसुस होला, कल्पना गर्नुहोस् त! यहोवा परमेश्वरले मृत्युलाई हटाउनुका साथै मरिसकेका मानिसहरूलाई मृत्युबाट ब्युँताउनुहुनेछ। यो कुरा थाह पाएर तपाईँलाई कस्तो लाग्यो? “मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरू” फेरि जिउनेछन् भनेर यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ।—यसैया २६:१९.
आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा
४. (क) परिवारको कुनै सदस्य वा साथीभाइको मृत्यु हुँदा हामीलाई केले सान्त्वना दिन्छ? (ख) येसुका केही घनिष्ठ साथी को-को थिए?
४ परिवारको सदस्य वा साथीभाइको मृत्यु हुँदा त्यसको चोट सहन असाध्यै गाह्रो हुन्छ। हामी लाचार महसुस गर्छौँ। हामीले लाख कोसिस गरे पनि मरिसकेको व्यक्तिलाई फिर्ता ल्याउन सक्दैनौँ। तर यस्तो बेला बाइबलले हामीलाई सान्त्वना दिन्छ। (२ कोरिन्थी १:३, ४ पढ्नुहोस्) यहोवा परमेश्वर र येसु मरिसकेका हाम्रा प्रियजनलाई मृत्युबाट ब्युँताउन कत्तिको इच्छुक हुनुहुन्छ भनेर बुझ्न एउटा घटना विचार गरौँ। येसु पृथ्वीमा हुनुहुँदा उहाँ लाजरस र उनका दिदीहरू मार्था र मरियमलाई भेट्न जाने गर्नुहुन्थ्यो। उनीहरू तीनै जना येसुका घनिष्ठ साथी थिए। बाइबल भन्छ: “मार्था, तिनकी बहिनी र लाजरसलाई येसु माया गर्नुहुन्थ्यो।” तर एकदिन लाजरसको मृत्यु भयो।—युहन्ना ११:३-५.
५, ६. (क) लाजरसको परिवार र साथीभाइले शोक गरिरहेको देखेर येसुले के गर्नुभयो? (ख) मृत्युबारे येसु कस्तो महसुस गर्नुहुन्छ भनेर थाह पाउनु हाम्रो लागि किन सान्त्वनादायी छ?
५ येसु मार्था र मरियमलाई सान्त्वना दिन जानुभयो। येसु आउँदै हुनुहुन्छ भन्ने कुरा सुनेपछि मार्था उहाँलाई भेट्न सहरबाहिर निस्किन्। येसुलाई भेट्न पाउँदा उनी धेरै खुसी भइन् अनि यसो भनिन्: “तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” येसु चाँडै आउनुभएको भए उहाँले भाइलाई निको पार्नुहुन्थ्यो भन्ने मार्थालाई लागेको थियो। येसुले मार्थाकी बहिनी मरियम रुँदै गरेको पनि देख्नुभयो। उनीहरूको पीडा देखेर येसु दुःखी हुनुभयो र रुनुभयो। (युहन्ना ११:२१, ३३, ३५) आफूले माया गरेको व्यक्ति गुमाउनुपर्दा त्यसको चोट कति गहिरो हुन्छ, येसुले महसुस गर्नुभयो।
६ मृत्युको कारण कसैलाई गुमाउनुपर्दा हुने पीडा येसुले बुझ्नुहुन्छ भनेर थाह पाउनु हाम्रो लागि धेरै सान्त्वनादायी कुरा हो। येसु आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसैले यहोवा परमेश्वर पनि हाम्रो पीडा बुझ्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (युहन्ना १४:९) यहोवा परमेश्वरसित मृत्युलाई सधैँभरिको लागि हटाउने शक्ति छ र उहाँले चाँडै त्यसो गर्नुहुनेछ।
“ए लाजरस, बाहिर आऊ!”
७, ८. मार्थालाई चिहानबाट ढुङ्गा हटाउन किन उचित लागेन? तर येसुले के गर्नुभयो?
७ येसु लाजरसलाई राखिएको चिहानमा जानुहुन्छ र चिहानको मुख थुन्न राखिएको ठूलो ढुङ्गा हटाउन लगाउनुहुन्छ। तर मार्थालाई ढुङ्गा हटाउन उचित लाग्दैन। किनभने लाजरसलाई चिहानमा राखिएको चार दिन भइसकेको थियो। (युहन्ना ११:३९) येसुले के गर्न लाग्नुभएको थियो, मार्थालाई थाह थिएन।
लाजरसलाई फेरि जीवित पारिँदा तिनका परिवार र साथीभाइहरू कति खुसी भए होलान्!—युहन्ना ११:३८-४४
८ मानिसहरूले चिहानको ढुङ्गा हटाइसकेपछि येसु यसो भन्दै लाजरसलाई बोलाउनुहुन्छ: “बाहिर आऊ!” तब मरिसकेको लाजरस “हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो।” (युहन्ना ११:४३, ४४) लाजरस फेरि जीवित भयो! त्यो देखेर मार्था र मरियम चकित भए। अनि परिवार र साथीभाइ सबैले लाजरसलाई फेरि भेट्न पाए। उनीहरूले उसलाई अँगालो हाल्न, छुन र ऊसित कुरा गर्न सके। कस्तो अचम्मलाग्दो कुरा, होइन र? यसरी येसुले लाजरसलाई मृत्युबाट ब्युँताउनुभयो।
“ए नानी, म तिमीलाई भन्छु, उठ!”
९, १०. (क) मानिसहरूलाई जीवित पार्ने शक्ति येसुले कसबाट पाउनुभयो? (ख) मृत्युबाट ब्युँताइएका मानिसहरूबारे बाइबलमा दिइएको विवरणले हामीलाई कस्तो आशा दिन्छ?
९ के येसुले आफ्नै शक्ति चलाएर मरेको मानिसलाई फेरि जीवित पार्नुभएको थियो? अहँ, थिएन। लाजरसलाई मृत्युबाट ब्युँताउनुअघि येसुले यहोवा परमेश्वरलाई प्रार्थना गर्नुभएको थियो अनि परमेश्वरले लाजरसलाई फेरि जीवित पार्ने शक्ति येसुलाई दिनुभयो। (युहन्ना ११:४१, ४२ पढ्नुहोस्) तर मृत्युबाट ब्युँताइएको मानिस लाजरस मात्र थिएन। बाइबलले १२ वर्षकी एउटी केटीबारे पनि बताउँछ, जो धेरै बिरामी थिई। उसको बुबा याइरस आफ्नी छोरीको हालत देखेर व्याकुल भएका थिए। त्यसैले तिनले आफ्नी छोरीलाई निको पारिदिनुहोस् भनेर येसुलाई बिन्ती गरे। ऊ याइरसको एक मात्र सन्तान थिई। तर याइरसले येसुलाई बिन्ती गरिरहेको बेला केही मानिसहरू आए र यसो भने: “तपाईँकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?” तर येसुले याइरसलाई भन्नुभयो: “चिन्ता नगर, केवल विश्वास गर अनि ऊ बाँच्नेछे।” त्यसपछि उहाँ याइरससँगै तिनको घरमा जानुभयो। त्यहाँ येसुले मानिसहरू रोइरहेको देख्नुभयो। उहाँले भन्नुभयो: “रुन छोड किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।” ती केटीको बुबाआमालाई येसुले के भन्न खोज्नुभएको होला भन्ने लागेको हुनुपर्छ। त्यसपछि येसुले सबै जनालाई घरबाहिर पठाउनुभयो र ती केटीको बुबाआमालाई लिएर उसलाई राखिएको कोठामा जानुभयो। येसुले केटीको हात समात्दै यसो भन्नुभयो: “नानु, उठ!” ऊ तुरुन्तै उठी र हिँडडुल गर्न थाली! यो देखेर उसको आमाबुबालाई कत्ति खुसी लाग्यो होला, कल्पना गर्नुहोस् त! येसुले तिनीहरूको मरिसकेकी छोरीलाई फेरि जीवित पार्नुभयो। (मर्कुस ५:२२-२४, ३५-४२; लुका ८:४९-५६) यहोवा परमेश्वरले येसुमार्फत आफ्नी छोरीलाई मृत्युबाट ब्युँताउनुभएको कुरा सायद तिनीहरूले कहिल्यै बिर्सेनन् होला।a
१० येसुले मृत्युबाट ब्युँताउनुभएका मानिसहरू पछि फेरि मरे। तैपनि बाइबलमा यी मानिसहरूको विवरण पढ्दा त्यसले हामीलाई बलियो आशा दिन्छ। यहोवा परमेश्वर मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न चाहनुहुन्छ र उहाँले त्यसो गर्नु पनि हुनेछ।
मृत्युबाट ब्युँताइएका मानिसहरूको विवरणबाट हामी के सिक्न सक्छौँ?
पत्रुसले ख्रिष्टियन स्त्री डोरकासलाई फेरि जीवित पारे।—प्रेषित ९:३६-४२
एलियाले एउटी विधवाको छोरालाई फेरि जीवित पारे।—१ राजा १७:१७-२४
११. मरेकाहरूको अवस्थाबारे उपदेशक ९:५ ले के भन्छ?
११ “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन” भनेर बाइबलले स्पष्ट पारेको छ। लाजरसको मृत्यु हुँदा तिनको अवस्था पनि त्यस्तै थियो। (उपदेशक ९:५) येसुले भन्नुभएझैँ लाजरस निद्रामा परेको मानिसजस्तै थिए। (युहन्ना ११:११) त्यसैले चिहानमा हुँदा लाजरसलाई “केही पनि थाह” थिएन।
१२. लाजरस साँच्चै जीवित भएका थिए भनी हामी किन भन्न सक्छौँ?
१२ येसुले लाजरसलाई ब्युँताउनुहुँदा धेरै मानिसले त्यो घटना देखेका थिए। येसुका शत्रुहरूलाई समेत यो अचम्मलाग्दो घटनाबारे थाह थियो। यसले लाजरस साँच्चै जीवित भएका थिए भनेर साबित गर्छ। (युहन्ना ११:४७) साथै धेरै जना मानिस लाजरसलाई भेट्न गए र येसु वास्तवमै परमेश्वरका छोरा हुनुहुन्छ भनेर तिनीहरूले विश्वास गर्न थाले। तर येसुका शत्रुहरूलाई यो कुरा मन परेन। त्यसैले उनीहरूले येसु र लाजरस दुवैलाई मार्ने मतो गरे।—युहन्ना ११:५३; १२:९-११.
१३. मरिसकेको मानिसलाई यहोवा परमेश्वरले फेरि जीवित पार्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौँ?
१३ येसुले “चिहानमा हुनेहरू सबै” फेरि जीवित हुनेछन् भन्नुभयो। (युहन्ना ५:२८) यसको मतलब यहोवा परमेश्वरले आफ्नो सम्झनामा भएकाहरू सबैलाई फेरि ब्युँताउनुहुनेछ। तर मरिसकेको मानिसलाई फेरि जीवित बनाउन यहोवा परमेश्वरले उसको सबै कुरा सम्झेको हुनुपर्छ नि, होइन र? के परमेश्वरले त्यसो गर्न सक्नुहुन्छ? ब्रह्माण्डमा अरबौँ ताराहरू छन्, तैपनि यहोवा परमेश्वरलाई हरेक ताराको नाम थाह छ भनी बाइबल बताउँछ। (यसैया ४०:२६ पढ्नुहोस्) उहाँ त्यति धेरै ताराको नाम सम्झन सक्नुहुन्छ भने आफूले फेरि ब्युँताउन चाहेको मानिसहरूको सबै कुरा सम्झन सक्नुहुन्न होला र? अझ बिर्सन नहुने कुरा त के हो भने, यहोवा परमेश्वर नै सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँसित मरिसकेको मानिसलाई फेरि जीवित पार्ने शक्ति छ भनेर हामी ढुक्क हुन सक्छौँ।
१४, १५. मरिसकेका मानिसहरू फेरि जीवित हुनेबारे अय्युबका शब्दहरूबाट हामी के थाह पाउन सक्छौँ?
१४ अय्युब भन्ने परमेश्वरको एक जना वफादार सेवकले पनि उहाँले मरिसकेका मानिसलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनेर विश्वास गर्थे। उनले सोधे: “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?” त्यसपछि उनले यहोवा परमेश्वरलाई यसो भने: “तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु। आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।” हो, यहोवा परमेश्वर मरिसकेका मानिसहरू फेरि जीवित भएको हेर्न तीव्र इच्छा गर्नुहुन्छ भनेर अय्युबलाई थाह थियो।—अय्युब १४:१३-१५.
१५ मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन् भनेर थाह पाउँदा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? सायद तपाईँ मरिसकेका आफ्ना परिवारका सदस्य अनि साथीभाइलाई सम्झनुहुन्छ होला। तपाईँलाई तिनीहरू फेरि जीवित होलान् कि नहोलान् जस्तो लाग्ला। मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न यहोवा साँच्चै इच्छुक हुनुहुन्छ भनेर थाह पाउँदा हामी सान्त्वना पाउँछौँ। आउनुहोस्, परमेश्वरले क-कसलाई मृत्युबाट फेरि ब्युँताउनुहुनेछ र तिनीहरू कहाँ बस्नेछन् भन्नेबारे बाइबलले के बताउँछ, विचार गरौँ।
तिनीहरूले “उसको स्वर सुन्नेछन् र बाहिर निस्किआउनेछन्”
१६. परमेश्वरले भविष्यमा मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्नुहुँदा तिनीहरूको जीवन कस्तो हुनेछ?
१६ विगतमा मृत्युबाट ब्युँताइएका मानिसहरूले यसै पृथ्वीमा आफ्ना परिवार र साथीभाइलाई भेट्न पाए। भविष्यमा पनि यस्तै हुनेछ। परमेश्वरले मरिसकेका मानिसहरूलाई यसै पृथ्वीमा ब्युँताउनुहुनेछ। तर तिनीहरूको अवस्था पहिलेको भन्दा राम्रो हुनेछ। किन? किनभने यहोवा परमेश्वरले ज-जसलाई यस पृथ्वीमा फेरि जीवित पार्नुहुनेछ, उनीहरूले सधैँभरि बाँच्ने मौका पाउनेछन्। तिनीहरू फेरि मर्नुपर्ने छैन। अनि त्यतिबेलाको संसार अहिले हामी बाँचिरहेको संसारभन्दा धेरै फरक हुनेछ। त्यहाँ कुनै युद्ध, अपराध र रोगबिमार हुनेछैन।
१७. परमेश्वरले क-कसलाई फेरि जीवित पार्नुहुनेछ?
१७ यहोवा परमेश्वरले क-कसलाई फेरि जीवित पार्नुहुनेछ? “चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् र बाहिर निस्किआउनेछन्” भनेर येसुले बताउनुभयो। (युहन्ना ५:२८, २९) त्यसैगरि प्रकाश २०:१३ मा यसो भनिएको छ: “समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए।” हो, अरबौँ मानिसलाई जीवित पारिनेछ। प्रेषित पावलले पनि “धर्मी र अधर्मी दुवै”-लाई फेरि जीवित पारिनेछ भनेर बताए। (प्रेषित २४:१५ पढ्नुहोस्) धर्मी भनेको को हो अनि अधर्मी भनेको को हो?
मरेकाहरूलाई नयाँ संसारमा जीवित पारिनेछ र उनीहरूले आफ्ना प्रियजनलाई भेट्नेछन्
१८. मृत्युबाट ब्युँताइने “धर्मी” मानिसहरू को हुन्?
१८ “धर्मी” मानिसहरूमा येसु यस पृथ्वीमा आउनुअघिका यहोवा परमेश्वरका वफादार सेवकहरू पर्छन्। जस्तै: नुह, अब्राहाम, सारा, मोसा, रुथ अनि एस्तर। तिनीहरू सबैलाई यसै पृथ्वीमा फेरि ब्युँताइनेछ। तपाईँले हिब्रू अध्याय ११ पढेर यी पुरुष र स्त्रीहरूमध्ये कसै-कसैबारे थाह पाउन सक्नुहुन्छ। त्यसोभए अहिले हाम्रो समयमा मृत्युको निद्रामा परेका यहोवा परमेश्वरका वफादार सेवकहरूबारे चाहिँ के भन्न सकिन्छ? उनीहरू पनि “धर्मी” मानिसहरूमै पर्छन्, त्यसैले उनीहरूलाई पनि ब्युँताइनेछ।
१९. “अधर्मी” मानिसहरू को हुन्? यहोवा परमेश्वरले तिनीहरूलाई कस्तो मौका दिनुहुनेछ?
१९ “अधर्मी” भनेको चाहिँ ती अरबौँ मानिस हुन्, जसले यहोवा परमेश्वरलाई चिन्ने मौका कहिल्यै पाएनन्। तिनीहरू मरिसकेको भए तापनि यहोवा परमेश्वरले तिनीहरूलाई बिर्सनुभएको छैन। उहाँले तिनीहरूलाई फेरि मृत्युबाट ब्युँताउनुहुनेछ अनि तिनीहरूले उहाँलाई चिन्ने अनि उहाँको सेवा गर्ने मौका पाउनेछन्।
२०. मरिसकेका सबैलाई किन फेरि जीवित पारिनेछैन?
२० के यसको मतलब जो-जो मरिसकेका छन्, तिनीहरू सबैलाई फेरि जीवित पारिनेछ? त्यसो त होइन। कसै-कसैलाई मृत्युबाट ब्युँताइनेछैन भनेर येसुले बताउनुभयो। (लुका १२:५) त्यसोभए कसलाई मृत्युबाट ब्युँताउने अनि कसलाई नब्युँताउने भनेर कसले निर्णय गर्नुहुनेछ? यहोवा परमेश्वर प्रमुख न्यायकर्ता हुनुहुन्छ तर “जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न” उहाँले येसुलाई अख्तियार दिनुभएको छ। (प्रेषित १०:४२) दुष्ट ठहरिएका र परिवर्तन हुन नचाहेका मानिसहरूलाई परमेश्वरले मृत्युबाट ब्युँताउनुहुनेछैन।—नोट १९ हेर्नुहोस्।
कसै-कसैलाई मृत्युबाट ब्युँताएर स्वर्ग लगिनेछ
२१, २२. (क) मृत्युबाट ब्युँतेर स्वर्ग जाने मानिसहरूले कस्तो शरीर पाउनेछन्? (ख) मृत्युबाट ब्युँतेर स्वर्ग जाने पहिलो व्यक्ति को हुनुहुन्थ्यो?
२१ कोही-कोही स्वर्ग जानेछन् भनी बाइबल बताउँछ। तर ज-जसलाई मृत्युबाट ब्युँताएर स्वर्ग लगिनेछ, तिनीहरूले मानव शरीर पाउनेछैनन्। बरु तिनीहरूलाई अदृश्य शरीर दिइनेछ।
२२ यसरी स्वर्ग जानेहरूमध्ये पहिलो व्यक्ति येसु हुनुहुन्थ्यो। (युहन्ना ३:१३) उहाँलाई मारिएको तीन दिनपछि यहोवा परमेश्वरले मृत्युबाट ब्युँताउनुभयो। (भजन १६:१०; प्रेषित १३:३४, ३५) तर येसुलाई मानव शरीरमा ब्युँताइएको थिएन। उहाँ “मानिसको रूपमा मर्नुभयो तर अदृश्य व्यक्तिको रूपमा ब्युँताइनुभयो” भनी पत्रुसले बताए। (१ पत्रुस ३:१८) परमेश्वरले येसुलाई मृत्युबाट ब्युँताएर शक्तिशाली स्वर्गदूत बनाउनुभयो। (१ कोरिन्थी १५:३-६) तर त्यसरी स्वर्ग जाने व्यक्ति उहाँ मात्र हुनुहुन्न भनी बाइबल बताउँछ।
२३, २४. येसुले भन्नुभएको “सानो बगाल” को हो र तिनीहरूको सङ्ख्या कति छ?
२३ आफ्नो मृत्यु हुनुभन्दा अघि येसुले आफ्ना वफादार चेलाहरूलाई यसो भन्नुभएको थियो: “म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु।” (युहन्ना १४:२) येसुले आफ्ना अनुयायीहरूमध्ये कोही-कोही स्वर्ग जानेछन् अनि उहाँसँगै जीवन बिताउनेछन् भन्न खोज्दै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई “सानो बगाल” भन्नुभयो। यसबाट स्वर्ग जाने मानिसहरूको सङ्ख्या थोरै रहेछ भनेर बुझ्न सक्छौँ। (लुका १२:३२) येसुका चेला युहन्नाले तिनीहरूको सङ्ख्या तोकेरै बताए। तिनले येसु स्वर्गको “सियोन डाँडामा उभिरहेको” दर्शन देखे र उहाँसित “१ लाख ४४ हजार जना थिए।”—प्रकाश १४:१.
२४ त्यसोभए १ लाख ४४ हजार जनालाई कहिले स्वर्ग लगिने थियो? ख्रिष्टले स्वर्गमा शासन गर्न थाल्नुभएपछि तिनीहरूलाई मृत्युबाट ब्युँताएर स्वर्ग लगिने थियो भनेर बाइबल बताउँछ। (१ कोरिन्थी १५:२३) हामी अहिले त्यही समयमा बाँचिरहेका छौँ र ती १ लाख ४४ हजार जनामध्ये धेरै जना स्वर्ग गइसकेका छन्। ती १ लाख ४४ हजार जनामध्ये जो-जो अहिले पृथ्वीमा जीवित छन्, उनीहरूलाई मृत्यु हुनेबित्तिकै ब्युँताएर स्वर्ग लगिनेछ। यो समूहमा नपर्ने अनगिन्ती मानिसहरू नि? परमेश्वरले तिनीहरूलाई भविष्यमा मृत्युबाट ब्युँताउनुहुनेछ र सुन्दर पृथ्वीमा राख्नुहुनेछ।
२५. हामी अर्को अध्यायमा के सिक्नेछौँ?
२५ यहोवा परमेश्वरले अब चाँडै सबै मानिसजातिलाई मृत्युबाट मुक्त गर्नुहुनेछ। उहाँले मृत्युलाई सधैँभरिका लागि हटाउनुहुनेछ! (यसैया २५:८ पढ्नुहोस्) त्यसोभए स्वर्ग जाने मानिसहरूले त्यहाँ के गर्नेछन्? उनीहरूले स्वर्गमा स्थापित परमेश्वरको राज्यमा येसुसितै शासन गर्नेछन् भनी बाइबल बताउँछ। हामी त्यस राज्यबारे अर्को अध्यायमा सिक्नेछौँ।
a बाइबलमा जवान, वृद्ध, पुरुष, स्त्री अनि इस्राएली र विदेशीहरूलाई मृत्युबाट ब्युँताइएका विवरणहरू पाउँछौँ। तपाईँ ती विवरणहरू १ राजा १७:१७-२४; २ राजा ४:३२-३७; १३:२०, २१; मत्ति २८:५-७; लुका ७:११-१७; ८:४०-५६; प्रेषित ९:३६-४२; २०:७-१२ मा पढ्न सक्नुहुन्छ।
-