प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१ पृ. ३०-३१
  • ज्योतिषहरू र बाइबल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्योतिषहरू र बाइबल
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मोलेक तथा इस्राएलमा ज्योतिषविद्या
  • बालक येशू ख्रीष्टलाई भेट्‌न जाने मेजाई
  • ज्योतिषविद्याको ईश्‍वरीय भत्सर्ना
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१ पृ. ३०-३१

ज्योतिषहरू र बाइबल

ज्योतिषहरूका गतिविधिबारे बाइबलले धेरै पटक उल्लेख गरेको छ। उदाहरणको लागि, सा.यु.पू. आठौं शताब्दीमा नाश हुनै आँटेको सहरलाई बचाउन तारा नियाल्ने ज्योतिष सल्लाहकारहरूलाई अगमवक्‍ता यशैयाले यस्तो चुनौती दिए: “तँ [बेबिलोन] आफ्ना धेरै युक्‍तिमा थकित भएकी छस्‌, अब ज्योतिषीहरू, ग्रह हेर्नेहरू, हरेक औंसीका भविष्य बताउनेहरू खडा होऊन्‌, र तँमाथि आइपर्ने कुराहरू तँलाई बताऊन्‌।”—यशैया ४७:१३.

तथापि, ‘ज्योतिषहरू’ भनी अनुवाद गरिएको हिब्रू शब्द गा-जिरिन दनियलको पुस्तकको यसै भागमा मात्र उल्लेख गरिएको छ जुन आरामिक भाषामा लेखिएको थियो। (दानियल २:४–७:२८) यसको मूल अर्थ “छुट्ट्याउनु” हुन्छ र स्वर्गलाई विभिन्‍न भागहरूमा छुट्ट्याउनु भन्‍ने अर्थ दिन यहाँ यो शब्द चलाइएको हो। ज्योतिषहरूको यस गुटमा “बच्चा जन्मेको बेला ताराहरूको स्थान हेरेर गणनासम्बन्धी विविध कला अनि दैवी शक्‍तिद्वारा प्रत्येक व्यक्‍तिको भाग्य निर्धारण गर्ने व्यक्‍तिहरू” सामेल छन्‌। (गेसिनियोसको हिब्रू र कल्दी शब्दकोष, १६६, १६७) ज्योतिषविद्या मुख्यतः बहुदेववादसित सम्बन्धित छ; जलप्रलयको केही समयपश्‍चात्‌ मानिसहरू यहोवाको शुद्ध उपासनाबाट तर्किंदा तल्लो मेसोपोटामिया उपत्यकामा ज्योतिषविद्याको सुरुवात भएको हुन सक्छ। समयको अन्तरालमा “ज्योतिषहरू” भन्‍ने शब्द कल्दीहरूको पर्यायवाची नै बन्‍न पुग्यो।

ज्योतिषविद्याको यस झुटो विज्ञानमा स्वर्गको हरेक भागमा फरक-फरक देवताले शासन गर्छन्‌ भन्‍ने विश्‍वास गरिन्थ्यो। सूर्य उदाउने र अस्ताउने, दिन र रात बराबर हुने दिन, दक्षिणायन र उत्तरायण, चन्द्रमाको अवस्था, ग्रहण लाग्ने र तारा खस्ने जस्ता एक-एक आकाशीय गतिविधि र घटनाहरू यिनै देवहरूले गर्दा हुने गर्छ भनिन्थ्यो। अतः यी ब्रह्‍माण्डीय गतिवधिहरूलाई नियमित तवरमा नियालिन्थ्यो, हरेक घटनाको विस्तृत चार्ट एवम्‌ तालिकाहरू बनाइन्थ्यो र यसैको आधारमा मानिसका गतिविधि तथा पृथ्वीका घटनाहरूको भविष्यवाणी गरिन्थ्यो। सार्वजनिक र निजी सबै कुराहरू स्वर्गका यिनै देवताहरूले नियन्त्रण गर्थे भन्‍ने विश्‍वास गरिन्थ्यो। फलतः ज्योतिषहरूलाई शकुन अपशकुन नदेखाइ र त्यसको व्याख्या गर्न नलगाई अनि तिनीहरूको सल्लाह नसुनी कुनै राजनैतिक वा सैन्य निर्णय गरिंदैनथ्यो। यसरी सर्वसाधारणको जीवनमाथि पादरीवर्गहरूको शक्‍ति र प्रभाव बढ्‌दै गयो। तिनीहरू आफूसित अलौकिक शक्‍ति, अन्तरदृष्टि र महान्‌ बुद्धि भएको दाबी गर्थे। ग्रह नक्षत्र हेर्नको लागि वेधशाला नराखी बेबिलोनीहरूमाझ कुनै पनि ठूलो मन्दिर ठड्याइदैनथ्यो।

इतिहासको कालक्रममा दानियल र उनका तीन जना साथी ज्योतिषहरूको यस भूमिमा बन्दी बनाइए। बेबिलोनी राजाले यी हिब्रूहरू “राज्यभरिमा सबै ज्योतिषी र मंत्र–मंत्र गर्नेहरूभन्दा . . . दश गुणा असल पाए।” (दानियल १:२०) त्यसपछि दानियलललाई “जादुगरहरूका प्रधान” भनियो। (दानियल ४:९) तर ‘स्वर्गलाई भाग-भाग लगाउँदै’ तारा हेर्ने अवलोकनकर्ता हुन दानियलले कहिल्यै पनि यहोवाको उपासना त्यागेनन्‌। ज्योतिषहरू तथा “ज्ञानी पुरुषहरू[ले]” नबुकदनेसरलाई तिनको सपनाको अर्थ बताउन नसक्दा दानियललाई राजासामु ल्याइयो अनि राजालाई दानियलले यसो भने: “स्वर्गमा एक परमेश्‍वर हुनुहुन्छ, जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ।” तर “जसै मलाई यो रहस्य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्दा ममा बढ्‌ता बुद्धि भएको कारणले होइन।”—दानियल २:२८, ३०, NRV.

मोलेक तथा इस्राएलमा ज्योतिषविद्या

मोलेकको उपासनासित ज्योतिषविद्याको नजिकको सम्बन्ध छ भनेर देखाउने प्रमाणहरू छन्‌ र मोलेक एउटा यस्तो देव थियो जसलाई कहिलेकाहीं साँढेको टाउकोद्वारा चित्रण गरिन्थ्यो। बेबिलोनी, कनानी, मिश्रीहरूले आफ्ना देवहरू मार्डुक, मोलेक, बाल अनि यस्तै देवताहरूको प्रतीकको रूपमा साँढेको उपासना गर्थे। वृषराशिको एउटा सबैभन्दा महत्त्वपूर्ण चिह्न साँढे थियो। सूर्य देवतालाई अक्सर साँढेद्वारा प्रतिनिधित्व गरिन्थ्यो, सिङले किरणहरूलाई चित्रण गर्छ भने साँढेको बलियो प्रजनन्‌ शक्‍तिले सूर्यको “जीवन दिने” शक्‍तिलाई चित्रण गर्छ। विभिन्‍न नाउँले चिनिने इस्टार अथवा अस्टार्टेको प्रतीकको रूपमा गाईलाई पनि त्यस्तै आदर दिइन्थ्यो। अतः हारून र यारोबामले इस्राएलमा यस्तो प्रकारको साँढे उपासना (बाछो उपासना) सुरु गर्दा यो यहोवाको नजरमा साँच्चै घोर पाप थियो।—प्रस्थान ३२:४, ८; व्यवस्था ९:१६; १ राजा १२:२८-३०; २ राजा १०:२९.

इस्राएलका धर्मत्यागी दस कुललाई यस ज्योतिष गुटमा सामेल भएकोमा निन्दा गरियो र दक्षिणका दुई कुलको राज्यमा दुष्ट राजा आहाज र नाति मनेश्‍शेले ताराको उपासना गर्ने अनि क्रुरतासाथ आफ्ना छोराछोरीहरू जिउँदै बलि चढाउने कुराको नेतृत्व लिए। (२ राजा १६:३, ४; २१:३, ६; २ इतिहास २८:३, ४; ३३:३, ६) यद्यपि, असल राजा योशियाहले “पूजा-थानमा धूप बाल्ने नियुक्‍त भएका र बाललाई औ घाम, जुन, नक्षत्र र आकाशका तारा-मण्डलका निम्ति धूप बाल्ने” विदेशी देवका पुजाहारीहरूलाई दमन गरिदिए।—२ राजा २३:५, १०, २४.

उजाडस्थानमा इस्राएलीहरूले गरेको विद्रोहबारे स्तिफनसको विवरणले मोलेक उपासना, बाछो उपासना अनि ज्योतिषविद्याको अन्तरसम्बन्धलाई देखाउँछ। जब तिनीहरू “हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्‌,” भनेर हारूनसित कराए यहोवाले “पीठ फर्काउनुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको सेवा गर्नालाई सुम्पिदिनुभयो, जस्तो अगमवक्‍ताहरूका पुस्तकमा लेखिएको छ—‘. . . मलाई पशुमेध र बलिदान चढायौ? औ तिमीहरूले मोलेकको तम्बू र तिमीहरूको रिफन देवताका तारा, र तिमीहरूले पूज्नालाई बनाएका मूर्तिहरू उठाइलग्यौ।”—प्रेरित ७:४०-४३.

बालक येशू ख्रीष्टलाई भेट्‌न जाने मेजाई

ज्योतिषहरूले बालक येशू ख्रीष्टको लागि उपहारहरू ल्याए। युनानी भाषामा तिनीहरूलाई मे-जोई भनिन्थ्यो। (मत्ती २:१) यी मे-जोईहरू को थिए भन्‍ने विषयमा टिप्पणी गर्दै द इम्पेरियल बाइबल डिक्सनरी (खण्ड २, पृष्ठ १३९) यसो भन्छ: “हेरोडोटसअनुसार मेजाई मादीहरूको एउटा कुल थियो जसलाई सपनाहरूको अर्थ खोल्ने र धार्मिक अनुष्ठानहरू सम्पन्‍न गर्ने आधिकारिक जिम्मा सुम्पिएको थियो भन्‍ने दाबी गरिन्थ्यो . . . निष्कर्षमा भन्‍नुपर्दा तिनीहरू पण्डित र पुरेत वर्गका थिए अनि भनिन्थ्यो, पुस्तकको अध्ययनद्वारा अनि ताराहरू नियालेर भविष्यका घटनाहरूको अलौकिक अन्तरदृष्टि तिनीहरूले प्राप्त गरेका थिए। . . . पछि-पछिका अनुसन्धानहरूले मादी-फारसलाई नभई मेजाईवाद फस्टाएको केन्द्र बेबिलोनलाई नै मानेको देखिन्छ। ‘यद्यपि, तिनीहरूले कल्दीहरूबाट आफ्नो पुरेत जातिको लागि मेजाई भन्‍ने नाउँ प्राप्त गरे अनि यसरी हामी मेजाई मादी कुलका नै थिए भनेर हेरोडोटसले भन्‍नुको कारण बुझ्न सक्छौं।’ ”

अतः येशूलाई भेट्‌न जाने मे-जोई ज्योतिषहरू नै थिए भन्‍ने बलियो प्रमाण छ। अतः तिनीहरू झुठा देवताहरूका सेवकहरू थिए अनि जानेर अथवा नजानेर तिनीहरूलाई डोऱ्‍याइरहेको जस्तो देखिएको ताराको तिनीहरू पछि लागे। “यहूदीहरूका राजा” जन्मिसकेको तथ्यबारे तिनीहरूले हेरोदलाई सजग गराए। त्यसपछि हेरोदले येशूलाई मार्न खोजे। ज्योतिषहरूको प्रेत देवहरूभन्दा यहोवा सर्वोच्च साबित हुनुभएको कारण तिनीहरूको षड्यन्त्र असफल भयो; “सपनामा ईश्‍वरवाणी पाएर” ज्योतिषीहरू अर्कै बाटो भएर घर फर्के।—मत्ती २:२, १२.

ज्योतिषविद्याको ईश्‍वरीय भत्सर्ना

एउटा महान्‌ सत्य यस्तो छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” जसमा हाम्रो सौर्य मण्डलका ग्रहहरू लगायत तारापुञ्जका निश्‍चित ताराहरू समावेश छन्‌। (उत्पत्ति १:१, १६; अय्यूब ९:७-१०) यद्यपि, यस्तो महान्‌ सृष्टिबाटै मानिसले देवताहरू बनाऊन्‌ भन्‍ने यहोवाको इच्छा थिएन। त्यसैले उहाँले आफ्ना मानिसहरूलाई “माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति[को]” उपासना नगर्नु भन्‍ने कडा आज्ञा दिनुभयो। (प्रस्थान २०:३, ४) सबै प्रकारको ज्योतिषविद्यालाई निषेध गरियो।—व्यवस्था १८:१०-१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने