प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ९/१ pp. २७-३१
  • “तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरसामु कसरी जाने?
  • कुन-कुन कुराको लागि प्रार्थना गर्ने?
  • हामीले पाप गरेका छौं भने नि?
  • प्रार्थनाको जवाफ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ९/१ pp. २७-३१

“तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌”

“सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌।”—फिलिप्पी ४:६.

१. हामीले कोसित कुराकानी गर्ने सम्मान पाएका छौं र यो किन ठूलो सुअवसर हो?

आफ्नो देशको शासकसित भेट्‌ने समय माग्नुभयो भने मजाले कुरा गर्न पाउँछु जस्तो लाग्छ? शासकसितै बसेर कुरा गर्न भने गाह्रै होला उनको सचिवसित भने कुरा गर्न पाइएला कि? तर ब्रह्‍माण्डकै सर्वोच्च शासक यहोवा परमेश्‍वरसित भने हामी जहाँसुकै अनि जहिलेसुकै कुरा गर्न सक्छौं। उचित तरिकाले गरेको प्रार्थना उहाँ सधैं सुन्‍नुहुन्छ। (हितोपदेश १५:२९) ओहो! कत्ति ठूलो सुअवसर! यस्तो सम्मान पाएकोमा “प्रार्थना सुन्‍नुहुने” भनेर सम्बोधन गर्न अत्यन्तै सुहाउने परमेश्‍वरलाई सधैं प्रार्थना गर्न हामी उत्प्रेरित हुँदैनौं र?—भजन ६५:२.

२. हाम्रो प्रार्थना परमेश्‍वरलाई स्वीकार्य होस्‌ भन्‍ने चाहन्छौं भने कुन आवश्‍यकता पूरा गर्नुपर्छ?

२ तर कसैले सोध्लान्‌, “परमेश्‍वरले कस्तो प्रार्थना सुन्‍नुहुन्छ?” परमेश्‍वरले स्वीकार्नुहुने तरिकामा प्रार्थना गर्न पूरा गर्नुपर्ने एउटा आवश्‍यकताबारे बाइबल यसो भन्छ: “विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) अघिल्लो लेखमा बताइएअनुसार परमेश्‍वरसामु जान पूरा गर्नुपर्ने महत्त्वपूर्ण आवश्‍यकता हो—विश्‍वास। यहोवा परमेश्‍वरसामु जान चाहनेहरूको प्रार्थना सुन्‍न उहाँ इच्छुक हुनुहुन्छ। तर प्रार्थना गर्नेहरूले पनि विश्‍वास र असल काम गर्नै पर्छ। साथै, निष्कपट भई सही मनसायले प्रार्थना गर्नु पनि उत्तिकै जरुरी छ।

३. (क) प्राचीन समयका विश्‍वासी जनहरूको प्रार्थनाले देखाएअनुसार हामी के-कस्तो कुराको लागि प्रार्थना गर्न सक्छौं? (ख) हामीले गर्ने प्रार्थना कति थरीका हुन सक्छन्‌?

३ आफ्नो समयका मसीहीहरूलाई प्रेरित पावलले यस्तो आग्रह गरे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌।” (फिलिप्पी ४:६, ७) प्रार्थना गरेर परमेश्‍वरलाई आफ्नो चिन्ता पोख्ने थुप्रैको उदाहरण बाइबलमा छ। यिनीहरूमध्ये केही हुन्‌: हन्‍ना, एलिया, हिजकियाह र दानियल। (१ शमूएल २:१-१०; १ राजा १८:३६, ३७; २ राजा १९:१५-१९; दानियल ९:३-२१) हामीले उनीहरूको उदाहरण पछ्याउनुपर्छ। याद गर्नुहोस्‌, पावलले भनेअनुसार प्रार्थना विभिन्‍न थरीका हुन्छन्‌। तिनले धन्यवादसाथ प्रार्थना गर्ने सल्लाह दिए। त्यसको अर्थ, प्रार्थना गर्दा परमेश्‍वरले हाम्रो लागि गर्नुभएका कुराको निम्ति उहाँलाई धन्यवाद दिनु हो। परमेश्‍वरलाई धन्यवाद दिंदा उहाँको प्रशंसा पनि गर्न सकिन्छ। अन्तरबिन्ती भनेको नम्र तर व्यग्र भई गरिने बिन्ती हो भने, माग गर्नु भनेको चाहिं केही खास कुराको लागि आग्रह गर्नु हो। (लूका ११:२, ३) स्वर्गमा हुनुहुने पितालाई यी तीन तरिकामध्ये जुनसुकै तरिकामा प्रार्थना गरे पनि हाम्रो बिन्ती सुन्‍न उहाँ इच्छुक हुनुहुन्छ।

४. यहोवालाई हाम्रो आवश्‍यकता थाह भए तापनि किन हामीले आफ्नो माग उहाँमा जाहेर गर्नुपर्छ?

४ तर कसैले सोध्लान्‌: ‘हामीलाई के चाहिन्छ, यहोवालाई सब थाह छ नि, हैन र?’ हो, उहाँलाई थाह छ। (मत्ती ६:८, ३२) त्यसोभए, किन हामीले आफ्नो माग जाहेर गरोस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ? यस प्रश्‍नको जवाफ पाउन यो उदाहरण विचार गर्नुहोस्‌: ठूलठूला कम्पनीहरूले उपहार कार्यक्रम राखेका हुन्छन्‌। तर त्यो उपहार लिन ग्राहकले पनि तोकिएको पसलमा गएर उपहार दाबी गर्नै पर्छ। अन्यथा, तिनलाई उपहार कार्यक्रमप्रति चासो नै छैन रहेछ भन्‍ने बुझिन्छ। त्यसै गरी, प्रार्थना गरेर आफ्नो माग परमेश्‍वरमा जाहेर गरेनौं भने उहाँले गर्नुभएको प्रबन्धलाई कदर नगरेसरह हुन्छ। येशूले भन्‍नुभयो: “माग त तिमीहरूले पाउनेछौ।” (यूहन्‍ना १६:२४) त्यसकारण, प्रार्थना गरेर आफ्नो माग जाहेर गऱ्‍यौं भने यहोवामाथि भर पर्छौं भन्‍ने प्रमाण दिइरहेका हुन्छौं।

परमेश्‍वरसामु कसरी जाने?

५. किन हामीले येशूको नाउँमा प्रार्थना गर्नुपर्छ?

५ प्रार्थना गर्ने तरिकाबारे यहोवाले नचाहिंदा नियमहरू तोक्नुभएको छैन। तैपनि, उहाँले स्वीकार्नुहुने तरिकामा प्रार्थना गर्न सिक्नु जरुरी छ र त्यो तरिका बाइबलमा बताइएको छ। जस्तै, येशूले आफ्ना चेलाहरूलाई यसरी सिकाउनुभयो: “तिमीहरू पितासँग जे मागौला, उहाँले मेरो नाउँमा तिमीहरूलाई दिनुहुनेछ।” (यूहन्‍ना १६:२३) यसको अर्थ, एक मात्र माध्यम येशूमार्फत परमेश्‍वरले सारा मानिसजातिलाई आशिष्‌ दिनुहुन्छ भनेर स्वीकार्दै येशूको नाउँमा यहोवालाई प्रार्थना गर्नुपर्छ।

६. प्रार्थना गर्दा हाम्रो आसन कस्तो हुनुपर्छ?

६ प्रार्थना गर्दा हाम्रो आसन कस्तो हुनुपर्छ? परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौं भने आसन यस्तै हुनुपर्छ भनेर बाइबलमा तोकिएको छैन। (१ राजा ८:२२; नहेम्याह ८:६; मर्कूस ११:२५; लूका २२:४१) महत्त्वपूर्ण कुरा के हो भने, हामीले निष्कपट भई सही मनसायले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।—योएल २:१२, १३.

७. (क) “आमिन” शब्दको अर्थ के हो? (ख) प्रार्थनाको अन्तमा “आमिन” भन्‍नु किन उपयुक्‍त छ?

७ तर प्रार्थना गर्दा किन “आमिन” भन्‍नुपर्छ? बाइबलले बताएअनुसार प्रार्थनाको अन्तमा र त्यसमा पनि विशेष गरी समूहमा प्रार्थना गर्दा अन्तमा “आमिन” भन्‍नु उपयुक्‍त छ। (भजन ७२:१९; ८९:५२) हिब्रू शब्द आमिनको मूल अर्थ हो, “पक्कै पनि।” प्रार्थनाको अन्तमा “आमिन” भन्‍नुको अर्थ प्रार्थनामा व्यक्‍त गरिएको कुरासित सहमत छु र ती पूरा भएको चाहन्छु भनेर पक्का गर्नु हो भनी म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया व्याख्या गर्छ। त्यसकारण, व्यक्‍तिगत प्रार्थनाको अन्तमा “आमिन” भन्‍नुको अर्थ प्रार्थनामा भनिएको कुरा निष्कपट अभिव्यक्‍ति हो भन्‍ने संकेत हो। मण्डलीमा सबैको प्रतिनिधित्व गर्दै प्रार्थना गर्ने व्यक्‍तिले अन्तमा “आमिन” भनेपछि श्रोताहरूले पनि मनमनै अथवा ठूलो स्वरले “आमिन” भन्‍नुको अर्थ प्रार्थनामा भनिएको कुराप्रति हृदयदेखि नै समर्थन जनाउनु हो।—१ कोरिन्थी १४:१६.

८. याकूब र अब्राहामले जस्तै हामीले पनि कसरी प्रार्थना गर्नुपर्ने हुन सक्छ र त्यसरी प्रार्थना गर्दा के देखाइरहेका हुनेछौं?

८ प्रार्थनामा मागेका कुरा हामीलाई साँच्चै चाहिएको हो भन्‍ने देखाओस्‌ भनेर परमेश्‍वर कहिलेकाहीं चाहनुहुन्छ। त्यसकारण, हामी पनि प्राचीन समयका याकूबजस्तै हुनुपर्ने हुन सक्छ, जसले यहोवाको आशिष्‌ पाउन रातभर स्वर्गदूतसित लडेका थिए। (उत्पत्ति ३२:२४-२६) अथवा कुनै-कुनै बेला हामी अब्राहामजस्तै हुनुपर्ला, जसले लूत र सदोममा हुन सक्ने धर्मी व्यक्‍तिहरूको पक्षमा परमेश्‍वरसित बारम्बार बिन्ती गरे। (उत्पत्ति १८:२२-३३) हामीले पनि परमेश्‍वरले गर्नुहुने न्याय तथा उहाँले देखाउनुहुने करुणा र दयाको आधारमा उहाँसामु गएर आफूलाई अनमोल लाग्ने कुराको निम्ति प्रार्थना गर्नुपर्छ।

कुन-कुन कुराको लागि प्रार्थना गर्ने?

९. हाम्रो प्रार्थनामा कुन कुराले प्राथमिकता पाउनुपर्छ?

९ याद गर्नुहोस्‌, पावलले भने: “सबै कुरामा . . . तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌।” (फिलिप्पी ४:६) त्यसकारण, हाम्रो व्यक्‍तिगत प्रार्थनामा जीवनको हरेक पक्ष समावेश गर्न सकिन्छ। तर, हाम्रो प्रार्थनामा यहोवाको इच्छाले प्राथमिकता पाउनुपर्छ। यस सम्बन्धमा दानियलले राम्रो उदाहरण बसालेका छन्‌। पाप गरेको कारण इस्राएलीहरूले सजाय पाउँदा दया देखाउन आग्रह गर्दै दानियलले यहोवालाई यसरी प्रार्थना गरे: “आफ्नै नाउँको खातिर ढीलो नगर्नुहोस्‌। हे परमेश्‍वर।” (दानियल ९:१५-१९) यहोवाको नाउँ पवित्र भएको र उहाँको इच्छा पूरा भएको चाहन्छौं भन्‍ने कुरा के हाम्रो प्रार्थनामा देखिन्छ?

१०. व्यक्‍तिगत कुराबारे पनि प्रार्थना गर्नु उचित छ भनेर हामी कसरी थाह पाउन सक्छौं?

१० तर त्यसो भन्दैमा व्यक्‍तिगत चिन्ताको विषयमा चाहिं प्रार्थना गर्नै हुँदैन भनेको पक्कै होइन। भजनरचयिताले जस्तै हामी पनि परमेश्‍वरका गहिरा-गहिरा कुरा बुझ्न सकौं भनेर प्रार्थना गर्न सक्छौं। तिनले यसरी प्रार्थना गरे: “मलाई समझ दिनुहोस्‌, र म तपाईंको व्यवस्था पालन गर्नेछु। मेरो पूरा हृदयले म त्यो पालन गर्नेछु।” (भजन ११९:३३, ३४; कलस्सी १:९, १०) येशूले पनि “उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो।” (हिब्रू ५:७) यसरी, आपत्‌ वा परीक्षामा पर्दा परमेश्‍वरसित प्रार्थना गरेर बल माग्नु जायज छ भनेर येशूले आफ्नो उदाहरणबाट देखाउनुभयो। माफी दिने र दैनिक भोजन जुटाउने जस्ता व्यक्‍तिगत विषयबारे पनि प्रार्थना गर्न सकिन्छ भनेर येशूले चेलाहरूलाई सिकाउनुभयो।

११. प्रलोभनमा नपर्न प्रार्थनाले हामीलाई कसरी मदत गर्न सक्छ?

११ नमुना प्रार्थनामा येशूले चेलाहरूलाई यस्तो आग्रह गर्न पनि सिकाउनुभयो: “हामीलाई परीक्षामा नल्याउनुहोस्‌, तर दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ती ६:९-१३) पछि उहाँले यस्तो सल्लाह दिनुभयो: “जागा रह, र प्रार्थना गर, र परीक्षामा नपर।” (मत्ती २६:४१) प्रलोभन आइपर्दा प्रार्थना गर्नु अत्यन्त जरुरी छ। काम अथवा स्कूलमा बाइबल सिद्धान्त बेवास्ता गर्न लगाउने प्रलोभन आइपर्न सक्छ। हामीले भाग नलिने गतिविधिमा सहभागी हुन साथीहरूले हामीलाई बोलाउन सक्छन्‌। तिनीहरूले हामीलाई बाइबलका नैतिक सिद्धान्तहरू उल्लंघन हुने काम गर्न लगाउन सक्छन्‌। त्यस्तो बेला अर्थात्‌ प्रलोभनमा पर्नुअघि र प्रलोभन आइपर्दा येशूले सल्लाह दिनुभएझैं परमेश्‍वरलाई प्रार्थना गरेर हामीलाई जोगाउनुहोस्‌ भन्‍नु बुद्धिमानी हुन्छ।

१२. के-कस्तो कुराले चिन्तित हुँदा हामी प्रार्थना गर्छौं र यहोवाबाट हामी के आशा गर्न सक्छौं?

१२ अहिले पनि परमेश्‍वरका सेवकहरूलाई नानाथरीको दबाब र फिक्री आउँछ। रोगबिमार र भावनात्मक दबाबले थुप्रैलाई पिरोलिरहेको छ। दिनहुँजसो भइरहेका हिंसात्मक घटनाहरूले बाँच्नै गाह्रो भइसक्यो। आर्थिक कठिनाइले गर्दा हातमुख जोर्न धौ-धौ परिरहेको छ। हामीलाई पिरोल्ने यस्ता चिन्ता यहोवालाई पोख्दा उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ! भजन १०२:१७ पदले यहोवाबारे यसो भन्छ: “उहाँले दीनहरूका प्रार्थनातर्फ ध्यान लगाउनुभएको छ, तिनीहरूको प्रार्थनालाई उहाँले तुच्छ गर्नुभएको छैन।”

१३. (क) के-कस्तो व्यक्‍तिगत कुराबारे प्रार्थना गर्नु उचित छ? (ख) यस्तो प्रार्थनाको एउटा उदाहरण दिनुहोस्‌।

१३ वास्तवमा, हामीले यहोवालाई गर्ने सेवा अथवा उहाँसितको हाम्रो सम्बन्धलाई असर गर्ने जुनसुकै कुराबारे प्रार्थना गर्नु उचित छ। (१ यूहन्‍ना ५:१४) विवाह गर्ने, जागिर खाने अथवा सेवकाई विस्तार गर्ने विषयमा निर्णय गर्नुपर्दा यसबारे प्रार्थना गरेर यहोवाको डोऱ्‍याइ खोज्न नहिचकिचाउनुहोस्‌। फिलिपिन्सकी एउटी साक्षी बहिनीलाई विचार गर्नुहोस्‌। तिनी अग्रगामी सेवा गर्न चाहन्थिन्‌ तर जीवन धान्‍न तिनको जागिर नै थिएन। तिनी भन्छिन्‌: “एकदिन शनिबार मैले प्रार्थनामा ‘म अग्रगामी बन्‍न चाहन्छु’ भनेर यहोवालाई बताएँ। त्यही दिन प्रचारमा गएको बेला एउटी किशोरीलाई मैले एउटा पुस्तक दिएँ। अचानक तिनले भनिन्‌: ‘तपाईं सोमबार बिहानै मेरो स्कूलमा आउनुहोस्‌ है।’ ‘किन होला?’ मैले सोधें। ‘स्कूलमा एउटा पद खाली छ र तुरुन्तै मान्छे चाहिएको छ’ भनेर ती किशोरीले बताइन्‌। सोमबार म स्कूल गएँ र तुरुन्तै जागिर पनि पाइहालें। सबै कुरा फटाफट भयो।” संसारभर यहोवाका थुप्रै साक्षीले यस्तै अनुभव गरेका छन्‌। त्यसकारण, हृदयको कुरा पोखेर यहोवालाई आफ्नो माग जाहेर गर्न नहिचकिचाउनुहोस्‌।

हामीले पाप गरेका छौं भने नि?

१४, १५. (क) पाप गर्ने व्यक्‍तिले समेत प्रार्थना गर्न हिचकिचाउनु हुँदैन, किन? (ख) यहोवासितको सम्बन्धलाई सुधार्न आफैले प्रार्थना गर्नुको अलावा अरू के पनि गर्नुपर्छ?

१४ पाप गर्ने व्यक्‍तिले प्रार्थनाबाट कसरी मदत पाउन सक्छ? पाप गरेकोले लाज मानेर कसै-कसैले प्रार्थना गर्नै छोडेका छन्‌। तर त्यसो गर्नु बुद्धिमानी होइन। यो उदाहरण विचार गर्नुहोस्‌: हवाइजहाज उडाउँदा बाटो बिरायो भने एयरपोर्टको कन्ट्रोल टावरमा सम्पर्क राखेर मदत माग्नुपर्छ भनेर पाइलटलाई थाह हुन्छ। तर ‘बाटो बिराएँ, कस्तो लाजमर्दो भयो’ भन्‍ने सोचेर पाइलटले कन्ट्रोल टावरमा सम्पर्क गर्नै अप्ठ्यारो मान्यो भने के होला? हो, ठूलो दुर्घटना हुन्छ! त्यसै गरी, पाप गरेको व्यक्‍तिले लाज मानेर परमेश्‍वरलाई प्रार्थना गर्नै छोड्यो भने उसलाई झन्‌ धेरै हानि हुन सक्छ। पापको कारण लाज मानेर परमेश्‍वरसित कुरा गर्न पटक्कै छोड्‌नु हुँदैन। वास्तवमा, गम्भीर पाप गर्नेहरूलाई यहोवा उहाँसित कुरा गर्ने निम्तो दिनुहुन्छ। यशैयाले आफ्नो समयका पापीहरूलाई यहोवालाई पुकार्न आग्रह गरे किनकि “उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।” (यशैया ५५:६, ७) हो, पहिले त पापी मार्ग त्यागेर अनि साँचो पश्‍चात्ताप गर्दै हामीले आफ्नो हृदयलाई नम्र बनाउनुपर्छ, त्यसपछि ‘यहोवालाई मनाउनुपर्छ।’—भजन ११९:५८; दानियल ९:१३.

१५ पाप गरेका छौं भने अर्को महत्त्वपूर्ण कारणले गर्दा पनि प्रार्थना गर्नुपर्छ। आध्यात्मिक मदत चाहिने व्यक्‍तिबारे चेला याकूबले यसो भने: “त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्‌, र तिनीहरूले . . . त्यसको विषयमा प्रार्थना गरून्‌। . . . र [यहोवाले] त्यसलाई उठाउनुहुनेछ।” (याकूब ५:१४, १५) हो, पाप गर्ने व्यक्‍तिले यहोवालाई प्रार्थना गरेर आफ्नो पाप स्वीकार्नु त पर्छ नै, यसबाहेक आफ्नो निम्ति प्रार्थना गरिदिन प्राचीनहरूलाई पनि आग्रह गर्नुपर्छ। यसो गर्दा त्यस व्यक्‍तिले यहोवासितको आफ्नो सम्बन्धलाई सुधार्ने मदत पाउनेछ।

प्रार्थनाको जवाफ

१६, १७. (क) यहोवाले प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ? (ख) प्रार्थना गर्नु र प्रचार गर्नुबीच गहिरो सम्बन्ध छ भनेर कुन उदाहरणले प्रस्ट पार्छ?

१६ प्रार्थनाको जवाफ कसरी पाइन्छ? कुनै-कुनै प्रार्थनाको जवाफ तुरुन्तै पाइन्छ र प्रार्थनाकै जवाफ हो भनेर प्रस्टै थाह हुन्छ। (२ राजा २०:१-६) तर कुनै-कुनै प्रार्थनाको जवाफ पाउनचाहिं अलि समय लाग्न सक्छ र प्रार्थनाकै जवाफ हो भनेर प्रस्टसित थाह पाउन पनि गाह्रो हुन सक्छ। इन्साफ पाउन बारम्बार न्यायाधीशकहाँ जाने विधवाको उदाहरण येशूले बताउनुभयो। हामीले पनि त्यसरी नै बारम्बार यहोवालाई प्रार्थना गर्नुपर्ने हुन सक्छ। (लूका १८:१-८) तर परमेश्‍वरको इच्छाअनुसार प्रार्थना गरेका छौं भने उहाँले कहिल्यै पनि ‘मलाई तकलीफ नदेओ’ भन्‍नुहुन्‍न भनेर हामी ढुक्क हुन सक्छौं।—लूका ११:५-९.

१७ यहोवाका जनहरूले प्रार्थनाको जवाफ पाएको अनुभव धेरै चोटि गरेका छन्‌। प्रचारमा जाँदा अक्सर प्रार्थनाको जवाफ पाएको प्रस्टै देखिएको छ। जस्तै, फिलिपिन्सका दुई साक्षी बहिनीले एकदमै टाढा इलाकामा बाइबल साहित्यहरू दिंदै थिए। एउटी आइमाईलाई पर्चा दिंदा उनको आँखा रसायो। ती आइमाईले भनिन्‌: “मलाई बाइबलको कुरा सिकाउन कोही पठाइदिनुहोस्‌ भनेर हिजो राती मात्र मैले परमेश्‍वरलाई प्रार्थना गरेकी थिएँ र आजै उहाँले मलाई जवाफ दिनुभयो।” केही समय नबित्दै तिनी राज्यभवनमा हुने सभाहरूमा उपस्थित हुन थालिन्‌। दक्षिणपूर्वी एसियाका एक साक्षी भाइलाई चाहिं कडा सुरक्षा व्यवस्था गरिएको ठूलठूला आवास भवनमा प्रचार गर्न अलि डर लाग्थ्यो। तर यहोवालाई प्रार्थना गरेर साहसी हुँदै तिनी आवास भवनभित्र छिरे। एउटा फ्ल्याटको ढोका ढकढक्याउँदा एउटी युवतीले ढोका खोलिन्‌। साक्षी भाइले आफू आउनुको कारण खुलाउँदा ती युवती त रुन पो थालिन्‌। ‘म यहोवाका साक्षीहरूलाई खोजिरहेकी थिएँ र यहोवाका साक्षीहरूसित भेट होस्‌ भनेर मैले प्रार्थना पनि गरेकी थिएँ’ भनेर तिनले बताइन्‌। ती युवतीलाई यहोवाका साक्षीहरूको नजिकैको मण्डलीका भाइबहिनीहरूसित भेट गराइदिन पाउँदा साक्षी भाइ एकदम खुसी भए।

१८. (क) प्रार्थनाको जवाफ पाउँदा हामीले के गर्नुपर्छ? (ख) प्रार्थना गर्न पाउने हरेक मौकाको फाइदा उठायौं भने के कुरामा ढुक्क हुन सक्छौं?

१८ प्रार्थना गर्न पाउनु साँच्चै ठूलो सुअवसर हो। यहोवा हाम्रो प्रार्थना सुन्‍न र त्यसको जवाफ दिन इच्छुक हुनुहुन्छ। (यशैया ३०:१८, १९) तर यहोवाले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ, त्यो बुझ्न हामी सजग हुनै पर्छ। हामीले सधैं आफूले खोजेकै जस्तो जवाफ त नपाऔंला। तैपनि, उहाँले दिनुभएको डोऱ्‍याइ प्रस्टसँग बुझेपछि उहाँलाई धन्यवाद दिन र उहाँको प्रशंसा गर्न कहिल्यै बिर्सनु हुँदैन। (१ थिस्सलोनिकी ५:१८) यसबाहेक, पावलले दिएको यो सल्लाह सधैं सम्झनुहोस्‌: “सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌।” हो, परमेश्‍वरसित कुरा गर्न पाउने हरेक मौकाको फाइदा उठाउनुहोस्‌। यसरी, पावलले प्रार्थनाको जवाफ पाउनेहरूबारे भनेका यी शब्दहरू सही रहेछन्‌ भन्‍ने महसुस गरिरहनुहुनेछ: “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.  (w 06 9/1)

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• हामीले गर्ने प्रार्थना कति थरीका हुन सक्छन्‌?

• हामीले कसरी प्रार्थना गर्नुपर्छ?

• के-कस्तो विषयमा प्रार्थना गर्न सक्छौं?

• पाप गर्ने व्यक्‍तिले प्रार्थना गर्दा कस्तो मदत मिल्छ?

[पृष्ठ २९-मा भएका चित्रहरू]

हृदयदेखि गरेको प्रार्थनाले प्रलोभनहरूमा नपर्न हामीलाई मदत गर्छ

[पृष्ठ ३१-मा भएका चित्रहरू]

प्रार्थनामा हामी यहोवालाई धन्यवाद दिन, आफ्नो चिन्ता पोख्न अनि माग जाहेर गर्न सक्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने