“आजदेखि मलाई पक्का भयो, परमेश्वर साँच्चै हुनुहुँदो रहेछ!”
युक्रेनकी एलेक्जान्ड्रा चेक गणतन्त्रको प्रागमा बस्छिन्। एक दिन अफिसबाट घर फर्कंदा उनले बस स्टपमा एउटा ब्याग देखिन्। मान्छेहरूले ब्यागलाई लातले हिर्काउँदै हिंडिरहेका थिए। उनले ब्याग टिपिन् र खोलेर हेरिन्। कस्तो अचम्म! ब्यागमा त पाँच-पाँच हजार कोरूना नोटको बिटै रहेछ! (त्यहाँको पैसालाई कोरूना भनिन्छ।) त्यहाँ कसैले पनि ब्याग खोजिरहेको थिएन। विदेशी भएकोले चेक गणतन्त्रमा खर्च जुटाउन एलेक्जान्ड्रालाई निकै गाह्रो भइरहेको थियो। त्यत्रो पैसा भेट्टाएपछि उनले के गरिन्?
घरमा पुगेपछि एलेक्जान्ड्राले छोरी भिक्टोरियालाई ब्याग देखाइन्। ब्याग कसको रहेछ भनेर नाम र ठेगाना दुवै जनाले खोजे। तर अहँ भेटिएन। केही नम्बर लेखिएको कागजको टुक्रा भने भेटियो। त्यस कागजको एकापट्टि बैंकको खाता नम्बर लेखिएको थियो भने अर्कोपट्टि अरू नै नम्बर थियो। ब्यागमा त्यहाँको बैंकसम्म पुग्ने तरिका र ३,३०,००० कोरूना (लगभग १०,००० अमेरिकी डलर) उल्लेख भएको कागजको टुक्रा पनि भेटियो। कागजको टुक्रामा जति रकम उल्लेख भएको थियो, ठीक त्यति नै रकम ब्यागमा फेला पऱ्यो।
कागजको टुक्रामा लेखिएको नम्बर हेरेर एलेक्जान्ड्राले बैंकमा फोन गरिन्। तर फोनै लागेन। तब, आमा-छोरी नै बैंकमा गएर सबै कुरा बताए। ब्यागमा भेटिएको खाता नम्बर कसको हो भनेर सोधपुछ गरे। तर बैंकमा त्यस नम्बरको कुनै खाता थिएन। ब्यागमा भेटिएको अर्को नम्बर लिएर भोलिपल्ट एलेक्जान्ड्रा बैंकमा पुगिन्। त्यो, एउटी आइमाईको खाता नम्बर रहेछ। ठेगाना पत्ता लगाएर आमा-छोरीले त्यस आइमाईलाई फोन गरे। कुराकानीपछि त्यो पैसा त्यही आइमाईको हो भन्ने कुरा पक्का भयो। जब तिनीहरूको भेट भयो, एकदम खुसी हुँदै ती आइमाईले आमा-छोरीलाई धन्यवाद दिइन् र भनिन्: “पैसा फर्काएबापत् तपाईंहरूलाई केही दिनुपर्छ कि?
भिक्टोरियाले भनिन्: “केही दिनु पर्दैन। हामीलाई पैसा चाहिएको भए त तपाईंलाई किन खबर गर्थ्यौं र? सबै पैसा राखिहाल्थ्यौं नि!” भिक्टोरियालाई चेक भाषा त्यति राम्ररी बोल्न आउँदैन थियो। तैपनि टुटे-फुटेको भाषामा उनले भनिन्: “हामी यहोवाका साक्षीहरू भएकाले पैसा फर्काएका हौं। जे हाम्रो होइन त्यो नलिन हामीले बाइबलबाट सिकेका छौं। यो पैसा राख्न हाम्रो मनले मानेन।” (हिब्रू १३:१८) ती आइमाई असाध्यै खुसी भइन् र भनिन्: “आजदेखि मलाई पक्का भयो, परमेश्वर साँच्चै हुनुहुँदो रहेछ!” (w06 7/15)