“नौ वर्षको केटोले गर्दा”
भेषवाभा पोल्याण्डको दक्षिणतिर बस्छिन्। जब-जब यहोवाका साक्षीहरू उनको घरमा आउँथे, तब कुरै नसुनीकन उनी साक्षीहरूलाई यसो भनेर फर्काइदिन्थिन्: ‘ठिकै छ, भै गयो!’ एकदिन नौ वर्षको केटा समुएल मम्मीसँगै प्रचारमा जाँदा भेषवाभाको घरमा प्रचार गर्न गए। सानो केटोले के भन्दो रहेछ सुनौं न त भनेर यसपाली भने भेषवाभाले कुरा सुनिन् र पृथ्वी सुन्दर बगैंचा हुनेछ भन्ने विषयमा लेखिएको पत्रिका पनि लिइन्।
येशूको मृत्युको स्मरणार्थ उत्सव आउनै लागेको थियो। त्यस विशेष अवसरमा समुएल भेषवाभालाई पनि बोलाउन चाहन्थे। स्मरणार्थ उत्सवको लागि निम्तो दिन तयार पारिएको पर्चा लिएर समुएल मम्मीसँगै ती महिलालाई फेरि भेट्न गए। केटो चिटिक्क परेर आएको देखेपछि भेषवाभा पनि ‘एकैछिन है’ भनेर लुगा फेर्न गइन्। लुगा फेरेर आएपछि उनले समुएलको कुरा सुनिन् र निम्तो स्वीकार्दै भनिन्: “म एक्लै आऊँ कि मेरो श्रीमान्लाई पनि लिएर आऊँ?” उनले फेरि भनिन्: “उहाँ आउनुभएन भने पनि मचाहिं आउँछु! समुएल, तिम्रो लागि भए पनि पक्का आउँछु!” वाचा गरेजस्तै उनी आइन् र समुएल पनि दङ्ग परे!
स्मरणार्थ भाषणको बेला समुएल भेषवाभाको छेवैमा बसे अनि भाषणमा छलफल भइरहेको बाइबलका पदहरू खोलेर भेषवाभालाई देखाए। यो देखेर भेषवाभा एकदमै प्रभावित भइन्। भेषवाभालाई कार्यक्रम एकदमै मनपऱ्यो। बाइबलका गहिरा-गहिरा कुरा सजिलो तरिकामा बुझाएको उनलाई एकदमै राम्रो लाग्यो। सभामा गरिएको न्यानो स्वागत र त्यहाँको मायालु वातावरणले भेषवाभाको मनै छोयो। त्यसपछि भेषवाभाले बाइबलका कुराहरूमा झनै चासो देखाउन थालिन् र यहोवाका साक्षीहरूको सभामा नियमित रूपमा जान लागिन्। हालसालै उनले भनिन्: “पहिला-पहिला यहोवाका साक्षीहरू मेरो घरमा आउँदा म उनीहरूलाई कुरै नसुनी फर्काइदिन्थें। त्यसो गरेकोमा अहिले पो कस्तो लाज लाग्छ। नौ वर्षको केटो समुएलले गर्दा मात्र मैले तपाईंहरूको कुरा सुनेकी!”
पोल्याण्डका समुएलले गरेझैं यहोवाका धेरै जवान साक्षीहरूले अरूलाई यहोवाको बारेमा बताएर अनि राम्रो बानी-बेहोरा देखाएर परमेश्वरको महिमा गर्छन्। त्यसैले तपाईं केटाकेटीहरूले पनि सफा मन भएका मानिसहरूलाई यहोवाको बारेमा बताएर उनीहरूलाई महत्त्वपूर्ण आध्यात्मिक कुरा बाँड्न सक्नुहुन्छ। (w 06 9/1)