पहिला शत्रु, अहिले मित्र
केही वर्षअघि सान्तियागो र तिनकी पत्नी लुडेस, पेरूको वेल्कापाता भन्ने रमणीय ठाउँमा बसाइँ सरे। त्यहाँका मानिसहरूलाई बाइबलले दिने आशाको सन्देश सुनाउनको लागि तिनीहरू बसाइँ सरेका थिए। तर केही समय नबित्दै कुज्को भन्ने ठाउँबाट एक जना पादरी आएर सबै मानिसहरूलाई एक ठाउँमा भेला गराए। यी यहोवाका साक्षीहरूले गर्दा नराम्रो विपत्ति आउनेछ र एकदमै हिउँ पर्नेछ जसले गर्दा तिमीहरूका गाईवस्तु मर्नेछन् र बालीनाली सखाप हुनेछ भनी ती पादरीले चेतावनी दिए।
पादरीको यो “भविष्यवाणी” थुप्रैले पत्याए अनि लगभग दुई वर्षसम्म कसैले पनि सान्तियागो र लुडेससित बाइबल अध्ययन गर्न चाहेनन्। त्यहाँका उप-मेयर मिगेलले सान्तियागो र लुडेसलाई ढुङ्गामूढा गर्दै लखेटे। तर ती साक्षीहरू भने सधैं मसीहीलाई सुहाउँदो शान्त व्यवहार गर्थे।
समय बित्दै जाँदा त्यस ठाउँका कोही-कोही मानिसहरू बाइबल अध्ययन गर्न राजी भए। मिगेलको मनोवृत्तिमा समेत परिवर्तन आयो। तिनले सान्तियागोसित अध्ययन गर्न थाले, बेस्सरी रक्सी पिउन छोडे अनि शान्त मानिस बने। पछि गएर मिगेल, तिनकी पत्नी र दुइटी छोरीले बाइबलको सत्य स्वीकारे।
अहिले त्यस ठाउँमा यहोवाका साक्षीहरूको एउटा जोसिलो मण्डली छ। मिगेलले हिर्काएका ढुङ्गाहरूले सान्तियागो र लुडेसलाई धन्न ठूलो चोटपटक नलागेकोमा तिनी खुसी छन्। शान्त व्यवहार देखाएर त्यस दम्पतीले बसालेको राम्रो उदाहरणको लागि पनि मिगेल आभारी छन्। (w06 1/1)
[पृष्ठ ३२-मा भएका चित्रहरू]
सान्तियागो र लुडेसको (माथि) शान्त स्वभावले गर्दा मिगेलको (दायाँ) मन बदलियो