प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ९/१ पृ. २७-३१
  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दक्ष आमाबाबुले असल उदाहरण बसाल्छन्‌
  • दक्ष आमाबाबु छोराछोरीसँगै प्रार्थना गर्छन्‌
  • दक्ष आमाबाबुले छोराछोरीलाई अध्ययन गर्ने असल बानी बसाल्न प्रोत्साहन दिन्छन्‌
  • शान्तिमय वातावरण बनाउनुहोस्‌
  • छोराछोरीको जिम्मेवारी
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ९/१ पृ. २७-३१

यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌

“वीर योद्धाको हातमा भएका काँडझैं युवावस्थाका छोराहरू हुन्छन्‌।”—भजन १२७:४.

१, २. कसरी छोराछोरी “वीर योद्धाको हातमा भएका काँडझैं” हुन्‌?

धनुर्धारी निशानामा बाण हान्‍न तरखर गर्दैछन्‌। उनी काँडलाई धनुको ताँदोमा राम्ररी चढाउँछन्‌ र भएभरको बल लगाएर धनु तन्काउँछन्‌। त्यसरी धनु तन्काइरहन गाह्रै भए तापनि उनले काँडलाई निशानामा ताक्न समय लगाउँछन्‌। अनि मात्र काँड छोड्‌छन्‌! के काँड निशानामै लाग्ला त? यो विभिन्‍न कुरामा निर्भर हुन्छ। जस्तै: धनुर्धारीको दक्षता, हावाको बहाव, काँडको अवस्था आदि।

२ राजा सुलेमानले छोराछोरीलाई ‘वीर योद्धाको हातमा भएका काँडसित’ तुलना गरे। (भजन १२७:४) यस दृष्टान्तलाई कसरी चलाउन सकिन्छ, विचार गर्नुहोस्‌। तुलनात्मक हिसाबले हेर्दा धनुर्धारीले काँडलाई धनुमा एकछिन मात्र राख्छन्‌। निशानामा लगाउन उनले काँडलाई तुरुन्तै छोडिहाल्नुपर्छ। त्यसैगरि, तुलनात्मक हिसाबले आमाबाबुसित पनि छोराछोरीको मनमा यहोवाप्रति भित्रैदेखि प्रेम विकास गर्न थोरै मात्र समय छ। केही समयपछि छोराछोरी हुर्केर आफै निर्णय गर्न सक्ने हुन्छन्‌। (मत्ती १९:५) के छोराछोरी आमाबाबुले ताकेको निशानामा पुग्छन्‌? मतलब, आफै निर्णय गर्न सक्ने भइसकेपछि पनि के तिनीहरूले यहोवालाई प्रेम गर्दै उहाँको सेवा गरिरहने छन्‌? यो विभिन्‍न कुरामा निर्भर हुन्छ। तीमध्ये तीन वटा चाहिं यी हुन्‌: आमाबाबुको दक्षता, छोराछोरी हुर्कने वातावरण र छोराछोरी अर्थात्‌ ‘काँडले’ प्रशिक्षणप्रति देखाउने प्रतिक्रिया। आउनुहोस्‌, यी तीनै पक्षलाई अझ विस्तृत रूपमा जाँचौं। पहिला, दक्ष आमाबाबुमा हुनुपर्ने केही गुण विचार गर्नेछौं।

दक्ष आमाबाबुले असल उदाहरण बसाल्छन्‌

३. किन आमाबाबुले मुखले भनेअनुसार काम पनि गर्नै पर्छ?

३ येशूले जे सिकाउनुभयो त्यो व्यवहारमा पनि उतार्नुभयो। यो, उहाँले आमाबाबुको लागि बसाल्नुभएको उदाहरण हो। (यूहन्‍ना १३:१५) अर्कोतिर, उहाँले फरिसीहरूको निन्दा गर्नुभयो। तिनीहरू भन्‍न त भन्थे तर भनेअनुसार गर्दैन थिए। (मत्ती २३:३) यहोवालाई प्रेम गर्न छोराछोरीलाई उत्प्रेरित गर्नको लागि आमाबाबुले पनि भनेअनुसार काम गर्नै पर्छ। कामविनाको बोली ताँदोविनाको धनुजस्तै काम नलाग्ने हुन्छ।—१ यूहन्‍ना ३:१८.

४. आमाबाबुले आफूलाई कस्ता प्रश्‍न सोध्नु बेस हुन्छ र किन?

४ आमाबाबुले उदाहरण बसाल्नु किन यत्तिको महत्त्वपूर्ण छ? जसरी वयस्कहरूले येशूको उदाहरण हेरेर यहोवालाई प्रेम गर्न सिक्छन्‌ त्यसरी नै छोराछोरीले पनि आमाबाबुको उदाहरण पछ्याएर परमेश्‍वरलाई प्रेम गर्न सिक्न सक्छन्‌। बच्चाहरूको संगतले या त तिनीहरूलाई बलियो बनाउँछ या तिनीहरूको ‘भला चाल-चलनलाई बिगारिदिन्छ।’ (१ कोरिन्थी १५:३३) छोराछोरी हुर्कने-बढ्‌ने र राम्रो संस्कार पाउने समयमा तिनीहरूमाथि सबैभन्दा बढी प्रभाव पार्ने नजिकको मित्र भनेका आमाबाबु नै हुन्‌। किनभने छोराछोरीले यो महत्त्वपूर्ण समय आमाबाबुसितै बिताउँछन्‌। तसर्थ, आमाबाबुले आफूलाई यस्ता प्रश्‍न सोध्नु बेस हुन्छ: ‘म कस्तो मित्र हुँ? के मेरो उदाहरणले छोराछोरीलाई भला चालचलन विकास गर्न प्रोत्साहित गर्छ? प्रार्थना गर्ने र बाइबल पढ्‌ने महत्त्वपूर्ण पक्षमा म कस्तो उदाहरण बसाल्दैछु?

दक्ष आमाबाबु छोराछोरीसँगै प्रार्थना गर्छन्‌

५. आमाबाबुको प्रार्थनाबाट छोराछोरीले के सिक्न सक्छन्‌?

५ तपाईंको प्रार्थना सुनेर छोराछोरीले यहोवाबारे धेरै कुरा सिक्न सक्छन्‌। खाना खानुअघि तपाईंले प्रार्थना गर्दा परमेश्‍वरलाई धन्यवाद चढाएको अनि बाइबल अध्ययनअघि र पछि प्रार्थना गरेको छोराछोरीले सुनेमा तिनीहरू कस्तो निष्कर्षमा पुग्नेछन्‌? हाम्रो भौतिक आवश्‍यकता यहोवाले जुटाइदिनुहुन्छ र यसको लागि उहाँलाई धन्यवाद टक्राउनुपर्छ र बाइबलको सत्य कुरा सिकाउने पनि परमेश्‍वर नै हुनुहुन्छ भनी तिनीहरूले सिक्नेछन्‌। यी मूल्यवान्‌ पाठ हुन्‌।—याकूब १:१७.

६. यहोवा हरेक व्यक्‍तिको ख्याल राख्नुहुन्छ भनेर तपाईं छोराछोरीलाई कसरी महसुस गराउन सक्नुहुन्छ?

६ तथापि, खाना खाने र बाइबल अध्ययनको बेला बाहेक अरू समयमा तपाईंले परिवारसित प्रार्थना गर्नुभयो अनि आफू र छोराछोरीलाई लाभदायी हुने कुनै विषय छलफल गर्नुभयो भने अझ बढी लाभ उठाउनुहुनेछ। यसो गरेर तपाईंले छोराछोरीलाई यहोवा तपाईंको परिवारको भाग हुनुहुन्छ र उहाँले हरेक व्यक्‍तिको राम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरा महसुस गर्न मदत गर्नुहुनेछ। (एफिसी ६:१८; १ पत्रुस ५:६, ७) एक जना बुबा यसो भन्छन्‌: “छोरी जन्मेदेखि नै हामीले ऊसँगै बसेर प्रार्थना गर्ने गऱ्‍यौं। ऊ हुर्कंदै जाँदा अरूसित उचित सरसंगति गर्नेबारे र उसलाई असर गर्ने अन्य विषयमा सँगै बसेर प्रार्थना गऱ्‍यौं। विवाह गरेर नजाउन्जेल छोरीसँग बसेर प्रार्थना नगरेको कुनै दिन नै थिएन।” के तपाईं पनि छोराछोरीसँगै दिनुहुँ प्रार्थना गर्न सक्नुहुन्छ? के तपाईं छोराछोरीलाई यहोवा तिनीहरूको भौतिक र आध्यात्मिक आवश्‍यकताको मात्र होइन तर भावनात्मक आवश्‍यकताको पनि ख्याल गर्ने मित्र हुनुहुन्छ भनेर बुझ्न मदत गर्न सक्नुहुन्छ?—फिलिप्पी ४:६, ७.

७. तोकेरै प्रार्थना गर्न आमाबाबुले के थाह पाउनु आवश्‍यक छ?

७ हो, तोकेरै प्रार्थना गर्नको लागि तपाईंले छोराछोरीको जीवनमा के भइरहेको छ त्यो जान्‍नु आवश्‍यक छ। दुई छोरी हुर्काइसकेका बुबा के भन्छन्‌ ध्यान दिनुहोस्‌: “हरेक हप्ताको अन्तमा आफूलाई यी दुइटा प्रश्‍न सोध्ने गर्थें: ‘यस हप्ता के-कस्ता कुराले मेरा छोरीहरूलाई चिन्तामा पारे? अनि तिनीहरूका जीवनमा के-कस्ता राम्रा कुराहरू भए?’ ” आमाबाबु हो, के तपाईंहरू पनि आफूलाई यस्ता प्रश्‍न सोध्न सक्नुहुन्छ अनि त्यसपछि ती प्रश्‍नका केही जवाफलाई छोराछोरीसँगै प्रार्थना गर्दा समावेश गर्न सक्नुहुन्छ? त्यसो गर्नुभयो भने, छोराछोरीलाई प्रार्थना सुन्‍नुहुने यहोवालाई प्रार्थना गर्न मात्र होइन तर उहाँलाई प्रेम गर्न पनि सिकाइरहनु भएको हुनेछ।—भजन ६५:२.

दक्ष आमाबाबुले छोराछोरीलाई अध्ययन गर्ने असल बानी बसाल्न प्रोत्साहन दिन्छन्‌

८. किन आमाबाबुले छोराछोरीलाई परमेश्‍वरको वचन अध्ययन गर्ने बानी बसाल्न मदत गर्नै पर्छ?

८ बाइबल अध्ययनप्रति आमाबाबुको मनोवृत्तिले परमेश्‍वरसितको छोराछोरीको सम्बन्धमा कसरी असर गर्न सक्छ? कुनै दुई व्यक्‍तिबीचको सम्बन्धलाई बलियो बनाउँदै लैजान र कायम राख्न आपसमा कुरा गरेर मात्र पुग्दैन, कुरा सुन्‍नु पनि पर्छ। यहोवाको कुरा सुन्‍ने एउटा तरिका ‘विश्‍वासी दास’ मार्फत उपलब्ध प्रकाशनहरूको मदत लिएर बाइबल अध्ययन गर्नु हो। (मत्ती २४:४५-४७; हितोपदेश ४:१, २) तसर्थ, छोराछोरीलाई यहोवासित चिरकालीन र मायालु सम्बन्ध गाँस्न मदत दिनको लागि आमाबाबुले तिनीहरूलाई परमेश्‍वरको वचन अध्ययन गर्ने बानी बसाल्न प्रोत्साहन दिनुपर्छ।

९. छोराछोरीलाई अध्ययन गर्ने असल बानी विकास गर्न कसरी मदत दिन सकिन्छ?

९ छोराछोरीलाई अध्ययन गर्ने असल बानी बसाल्न कसरी मदत गर्न सकिन्छ? यस सन्दर्भमा पनि सबैभन्दा उत्तम तरिका भनेको आमाबाबुले उदाहरण बसालिदिनु हो। तपाईंले नियमित बाइबल पढेको र अध्ययन गरेको के छोराछोरीले देख्छन्‌? हुन त, छोराछोरीको पालनपोषण गर्न तपाईं अति व्यस्त हुनुहोला अनि भन्‍नुहोला बाइबल पढ्‌न र अध्ययन गर्न मसित समय खोइ त! तर आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘के छोराछोरीले मलाई दिनहुँ टिभीको अगाडि देख्छन्‌?’ देख्छन्‌ भने, त्यसरी टिभी हेर्ने केही समय व्यक्‍तिगत अध्ययन गर्न प्रयोग गरेर छोराछोरीका लागि असल उदाहरण बसाल्न सक्नुहुन्छ कि?

१०, ११. किन आमाबाबुले पारिवारिक बाइबल अध्ययन नियमित रूपमा गर्नुपर्छ?

१० आमाबाबुले छोराछोरीलाई यहोवाको कुरा सुन्‍न सिकाउन सक्ने अर्को व्यावहारिक तरिका हो—नियमित तवरमा पारिवारिक अध्ययन गरेर। (यशैया ३०:२१) कतिपयले सोच्लान्‌: ‘छोराछोरीलाई सभाहरूमा नियमित लगिरहेकै छौं क्यारे, किन उनीहरूसित पारिवारिक अध्ययन गर्नुपऱ्‍यो र?’ उनीहरूसित अध्ययन गर्नुका थुप्रै उचित कारण छन्‌। छोराछोरीलाई सिकाउने मुख्य जिम्मा यहोवाले आमाबाबुलाई सुम्पनुभएको छ। (हितोपदेश १:८; एफिसी ६:४) पारिवारिक बाइबल अध्ययनले छोराछोरीलाई के सिकाउँछ भने, उपासना भनेको सार्वजनिक रूपमा मात्र गरिने औपचारिक विधि होइन तर पारिवारिक जीवनको एउटा भाग हो।—व्यवस्था ६:६-९.

११ यसबाहेक, पारिवारिक अध्ययन राम्रोसँग सञ्चालन गर्दा आमाबाबुले आध्यात्मिकता र नैतिकताप्रति छोराछोरीको सोचाइ बुझ्ने मौका पनि पाउन सक्छन्‌। उदाहरणका लागि, छोराछोरी सानो छँदा आमाबाबुले बाइबलका कथाहरू भएको मेरो पुस्तक जस्ता प्रकाशन प्रयोग गर्न सक्छन्‌।a यस पुस्तकको प्रायः प्रत्येक अनुच्छेद छलफल गर्दा आमाबाबुले छोराछोरीलाई तिनीहरूको विचार व्यक्‍त गर्न प्रोत्साहन दिन सक्छन्‌। पुस्तकमा दिइएका बाइबल पदहरूमाथि तर्क गरेर आमाबाबुले छोराछोरीलाई “खराब र असल छुट्याउन” ज्ञानेन्द्रिय शक्‍ति विकास गर्न मदत दिन सक्छन्‌।—हिब्रू ५:१४.

१२. कसरी आमाबाबुले पारिवारिक अध्ययनलाई छोराछोरीको आवश्‍यकतासित मिल्दो बनाउन सक्छन्‌ र यस सन्दर्भमा कुन तरिका तपाईंले प्रभावकारी पाउनुभएको छ?

१२ छोराछोरी ठूलो हुँदै जाँदा पारिवारिक अध्ययनलाई तिनीहरूको आवश्‍यकताअनुसार छाँटकाँट गर्नुहोस्‌। एक दम्पतीले किशोरावस्थामा पुगेका छोरीहरू स्कूलको डान्स कार्यक्रममा जान खोज्दा त्यसबारे तार्किक रूपमा विचार गर्न कसरी मदत दिए, याद गर्नुहोस्‌। पिता भन्छन्‌: “हाम्रो अर्को पारिवारिक अध्ययनमा, हामी आमाबाबुले छोरीहरूको भूमिका र छोरीहरूले चाहिं हामी आमाबाबुको भूमिका खेल्ने है भनेर छोरीहरूलाई भन्यौं। बुबा र आमाको भूमिका कसले खेल्ने, त्यो छोरीहरू आफैले छान्‍न सक्थे। तर स्कूलको डान्स कार्यक्रममा जाने/नजानेबारे निर्देशन दिन भने उनीहरू दुवै मिलेर अनुसन्धान गर्नुपर्थ्यो।” नतिजा के भयो? पिता भन्छन्‌, “स्कूलको डान्स कार्यक्रममा जानु किन बुद्धिमानी कुरा होइन भनेर बताउँदै हामीसित (छोरीहरूको भूमिकामा) बाइबल आधारित तर्क गर्दा हाम्रा छोरीहरू (आमाबाबुको भूमिकामा) सही र गलत छुट्याउन कत्ति सक्षम रहेछन्‌, सो देखेर हामी त दंग पऱ्‍यौं। हामी प्रभावित भएको अर्को कुरा के थियो भने, तिनीहरूले डान्स कार्यक्रममा जानुको सट्टा यसो गर्न सकिन्छ भनेर स्वीकार्न सकिने किसिमको सल्लाह दिएका थिए। यसबाट हामीले तिनीहरूको सोचाइ र इच्छा बुझ्ने राम्रो मौका पायौं।” हो, पारिवारिक अध्ययनलाई नियमित र परिवारलाई मिल्ने बनाउन लगनशीलता र सोचविचार चाहिन्छ। तर प्रयास अनुसारको आशिष्‌ पनि पाइन्छ।—हितोपदेश २३:१५.

शान्तिमय वातावरण बनाउनुहोस्‌

१३, १४. (क) घरमा आमाबाबुले कसरी शान्तिमय वातावरण बनाउन सक्छन्‌? (ख) आमाबाबुले आफ्ना गल्ती स्वीकार्दा कस्ता लाभदायी नतिजा निक्लन सक्छ?

१३ धनुर्धारीले उचित वातावरण भएको बेला काँड हान्यो भने ठीक निशानामा लाग्ने सम्भावना धेरै हुन्छ। त्यसै गरी आमाबाबुले घरको वातावरण शान्तिमय बनाएमा छोराछोरीले यहोवालाई प्रेम गर्न सिक्ने सम्भावना बढी हुन्छ। याकूबले यस्तो लेखे: “मेल-मिलाप खोज्नेहरूका निम्ति धर्मको फल मिलापमै रोपिन्छ।” (याकूब ३:१८) आमाबाबुले घरमा कसरी शान्तिमय वातावरण बनाउन सक्छन्‌? विवाहित जोडीले वैवाहिक बन्धनलाई बलियो बनाइ राख्नुपर्छ। आपसमा प्रेम र आदर गर्ने पति-पत्नीले छोराछोरीलाई यहोवा र अरू मानिसलाई प्रेम गर्न र आदर देखाउन सजिलै सिकाउन सक्छन्‌। (गलाती ६:७; एफिसी ५:३३) प्रेम र आदरले शान्तिलाई बढाउँछ। शान्तिमय सम्बन्ध भएका दम्पतीले परिवारभित्र उठ्‌न सक्ने कलहलाई अझ राम्ररी साम्य पार्न सक्नेछन्‌।

१४ जसरी कुनै पनि विवाह सिद्ध छैन त्यसरी नै हाल पृथ्वीमा कुनै पनि परिवार सिद्ध छैन। छोराछोरीसित व्यवहार गर्दा कोही बेला आमाबाबु पवित्र आत्माको फल देखाउन चुक्न सक्छन्‌। (गलाती ५:२२, २३) त्यस्तो बेला आमाबाबुले के गर्नुपर्छ? के आफ्नो गल्ती स्वीकार्दा छोराछोरीबाट पाइरहेको आदरमा कमी आउँछ? प्रेरित पावलको उदाहरणलाई विचार गर्नुहोस्‌। उनी धेरैका आध्यात्मिक पिता थिए। (१ कोरिन्थी ४:१५) तर, उनले आफ्नो गल्ती खुलमखुला स्वीकारे। (रोमी ७:२१-२५) तैपनि, उनको नम्रता र इमानदारिता देखेर उनीप्रतिको हाम्रो आदर घट्‌नुको साटो झन्‌ बढ्‌छ। आफ्ना कमीकमजोरीको बावजूद पावलले कोरिन्थ मण्डलीलाई निर्धक्कसित यस्तो लेख्न सके: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरिन्थी ११:१) यदि आफ्ना गल्ती स्वीकार्नुभयो भने छोराछोरीले तपाईंका गल्तीलाई अवश्‍यै वास्ता गर्ने छैनन्‌।

१५, १६. आमाबाबुले छोराछोरीलाई मसीही भाइबहिनीलाई प्रेम गर्न किन प्रशिक्षण दिनुपर्छ र यो कसरी गर्न सकिन्छ?

१५ छोराछोरी यहोवाको प्रेममा बढ्‌दै जान सक्ने वातावरण बनाउन आमाबाबुले अरू के गर्न सक्छन्‌? प्रेरित यूहन्‍नाले यस्तो लेखे: “यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु’ भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।” (१ यूहन्‍ना ४:२०, २१) तसर्थ, तपाईंले छोराछोरीलाई मसीही भाइबहिनीप्रति प्रेम देखाउन प्रशिक्षण दिनुहुँदा परमेश्‍वरलाई प्रेम गर्न सिकाइ रहनुभएको हुन्छ। आमाबाबुले आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘मण्डलीबारे प्रायजसो मैले गर्ने कुरा प्रोत्साहनजनक छ वा आलोचनात्मक?’ तपाईं यो कसरी थाह पाउन सक्नुहुन्छ? छोराछोरीले सभा र मण्डलीका भाइबहिनीबारे के भन्छन्‌, ध्यान दिएर सुन्‍नुहोस्‌। तिनीहरूको बोलीमा तपाईंको विचार झल्केको सायद तपाईं पाउनुहुन्छ।

१६ आमाबाबुले कसरी छोराछोरीलाई आध्यात्मिक भाइबहिनीलाई प्रेम गर्न मदत दिन सक्छन्‌? दुई किशोर छोराका पिता पिटर भन्छन्‌: “हाम्रा छोराहरू सानै हुँदादेखि नै हामीले आध्यात्मिक तवरमा परिपक्व भाइबहिनीलाई घरमा खाना खान निम्त्याउँथ्यौं र उनीहरूसँग समय बिताउँथ्यौं। यसरी हामीले धेरै रमाइला क्षणहरू बिताएका छौं। हाम्रा छोराहरू यहोवालाई प्रेम गर्ने व्यक्‍तिहरूको संगतिमा हुर्केका छन्‌ र अहिले तिनीहरूले यहोवाको सेवालाई जीवनको रमाइलो मार्ग हो भनेर बुझेका छन्‌।” पाँच छोरीका पिता डेनिस भन्छन्‌: “हामीले छोरीहरूलाई मण्डलीका पाको उमेरका अग्रगामी भाइबहिनीहरूसित संगत गर्न प्रोत्साहन दियौं। अनि सम्भव भएसम्म परिभ्रमण निरीक्षकहरू र तिनीहरूकी पत्नीलाई घरमा बोलाउँथ्यौं।” के तपाईं पनि छोराछोरीलाई मण्डली भनेको तपाईंको ठूलो परिवार हो भनेर बुझ्ने मदत दिन अग्रसर हुन सक्नुहुन्छ?—मर्कूस १०:२९, ३०.

छोराछोरीको जिम्मेवारी

१७. आखिर छोराछोरीले कस्तो निर्णय गर्नुपर्ने हुन्छ?

१७ धनुर्धारीको दृष्टान्तलाई फेरि एक पटक विचार गर्नुहोस्‌। उनी दक्ष होलान्‌। तैपनि, काँड बाङ्‌गिएको छ भने काँडलाई निशानामा लगाउन उनलाई अवश्‍यै निकै गाह्रो पर्छ। प्रतीकात्मक अर्थमा भन्‍नुपर्दा, आमाबाबुले पनि बाङ्‌गिएको काँडलाई सोझो पार्न खुब कोसिस गर्नेछन्‌। मतलब, छोराछोरीको गलत सोचाइलाई सुधार्न भएभरको प्रयास गर्नेछन्‌। तर आफूलाई संसारको तौरतरिका अनुसार ढाल्न दिने हो या यहोवाको मदत लिएर आफ्नो ‘बाटो सुगम’ बनाउने हो त्यसको निर्णय चाहिं आखिर छोराछोरीले नै गर्नुपर्ने हुन्छ।—हितोपदेश ३:५, ६; रोमी १२:२.

१८. छोराछोरीको छनौटले अरूमाथि कस्तो प्रभाव पार्न सक्छ?

१८ छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नुपर्ने गहन जिम्मेवारी आमाबाबुको भए तापनि छोराछोरी हुर्केपछि कस्ता व्यक्‍ति बन्‍ने हुन्‌, त्यो तिनीहरूकै निर्णयमा भर पर्छ। (एफिसी ६:४) तसर्थ छोराछोरी हो, आफूलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘के म मेरा आमाबाबुले दिएको मायालु प्रशिक्षण स्वीकार्छु?’ स्वीकार्नुभयो भने, तपाईंले जीवनको सबैभन्दा उत्तम मार्ग छनौट गरिरहनुभएको हुनेछ। तपाईंले आफ्ना आमाबाबुलाई असाध्यै प्रसन्‍न तुल्याउनुहुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले यहोवाको हृदयलाई आनन्दित तुल्याउनुहुनेछ।—हितोपदेश २७:११. (w 07 9/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईंलाई याद छ?

• प्रार्थना र बाइबल अध्ययनको सन्दर्भमा आमाबाबुले कसरी असल उदाहरण बसाल्न सक्छन्‌?

• आमाबाबुले कसरी घरमा शान्तिमय वातावरण बनाउन सक्छन्‌?

• छोराछोरीले कस्तो छनौट गर्नुपर्ने हुन्छ र तिनीहरूको छनौटले अरूमाथि कसरी प्रभाव पार्नेछ?

[पृष्ठ २९-मा भएको चित्र]

व्यक्‍तिगत अध्ययनको सन्दर्भमा के तपाईंले छोराछोरीका लागि असल उदाहरण बसाल्नुभएको छ?

[पृष्ठ ३०-मा भएको चित्र]

शान्तिमय पारिवारिक वातावरणले खुसीयाली ल्याउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने