के परमेश्वरको नजर तपाईंमाथि छ?
महान् सृष्टिकर्ता यहोवाले देख्न सक्नुहुन्छ र? निश्चय नै सक्नुहुन्छ। बाइबल सफासँग यसो भन्छ: “के आँखा सृजनेले देख्नुहुन्न र?” (भजन ९४:९) यहोवाको नजर कुनै पनि मानिसको भन्दा कता हो कता श्रेष्ठ छ। उहाँले हाम्रो बाहिरी रूप मात्र देख्नुहुने होइन तर उहाँ “मन जाँच गर्ने” परमेश्वर पनि हुनुहुन्छ र उहाँले ‘मनको इच्छा जाँच’ गर्न सक्नुहुन्छ। (हितोपदेश १७:३; २१:२) हो, उहाँमा हाम्रो सोचाइ, मनसाय र भित्री आकाङ्क्षा लेखाजोखा गर्ने क्षमता छ।
जीवनमा हामीले भोग्न सक्ने सारा-गाह्रा परिस्थितिहरूबारे यहोवा सचेत हुनुहुन्छ र हाम्रो पुकारा सुन्नुहुन्छ। भजनहारले लेखे: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्, र उहाँका कान तिनीहरूका पुकारा सुन्न खुला हुन्छन्। टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१५, १८) यहोवाले हाम्रो अवस्था बुझ्नुहुन्छ र निष्कपट अन्तरबिन्तीको जवाफ दिनुहुन्छ भनी थाह पाउनु कत्ति सान्त्वनादायी!
गुप्तमा गरेका कामहरू पनि यहोवाको नजरबाट लुक्न सक्दैन। हो, “जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।” (हिब्रू ४:१३) त्यसकारण, हाम्रो कामकाज असल होस् वा खराब, परमेश्वरको नजरबाट छिप्न सक्दैन। (हितोपदेश १५:३) उदाहरणको लागि, उत्पत्ति ६:८, ९ ले “नूहमाथि चाहिं परमप्रभुको अनुग्रह भयो” र तिनी “परमेश्वरको साथै हिंडनेगर्थे” भनी बताउँछ। हो, नूहले यहोवाको अनुग्रह र आशिष् पाए किनकि उनी आज्ञाकारी भए र उनले परमेश्वरका धार्मिक सिद्धान्तहरू पालन गरे। (उत्पत्ति ६:२२) तर त्यसको विपरीत, नूहको समयका अरू मानिसहरू भने हिंस्रक र नैतिक रूपमा पतित थिए। यस्तो अवस्थाप्रति परमेश्वर अनभिज्ञ हुनु हुन्नथ्यो। “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” अन्तमा, यहोवाले ती दुष्टहरूमाथि विनाश ल्याउनुभयो तर नूह र उनका परिवारलाई भने बचाउनुभयो।—उत्पत्ति ६:५; ७:२३.
के यहोवाले तपाईंलाई पनि अनुग्रहको नजरले हेर्नुहुनेछ? साँच्चै नै, “जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै” यहोवाको नजर रहिरहन्छ। (२ इतिहास १६:९) पृथ्वीका सम्पूर्ण दुष्टहरूलाई चाँडै नै उहाँले फेरि हटाउनुहुनेछ र नम्रहरूलाई छुटकारा दिनुहुनेछ।—भजन ३७:१०, ११. (w07 8/1)