प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ११/१ पृ. ६-९
  • पवित्र आत्मा तपाईंलाई जीवनमा चाहिने शक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पवित्र आत्मा तपाईंलाई जीवनमा चाहिने शक्‍ति
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “माग, तिमीहरूलाई दिइनेछ”
  • “चीलझैं उँभो उँभो” उड्‌दै
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पवित्र आत्मा वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ११/१ पृ. ६-९

पवित्र आत्मा तपाईंलाई जीवनमा चाहिने शक्‍ति

“मलाई तपाईंको सामनेबाट ननिकाल्नुहोस्‌। र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्‌।” (भज. ५१:११) गम्भीर गल्ती गरेपछि राजा दाऊदले यो व्यग्र प्रार्थना गरेका थिए।

दाऊदले जीवनमा पवित्र आत्माको शक्‍ति पटकपटक अनुभव गरेका थिए। किशोर छँदै पवित्र आत्माले तिनलाई भीमकाय गोल्यतलाई जित्न सक्षम तुल्याएको थियो। (१ शमूएल १७:४५-५०) यसले तिनलाई अहिलेसम्मकै सबैभन्दा मीठामीठा भजनहरूमध्ये केही भजन रच्न पनि मदत पुऱ्‍याएको थियो। दाऊदले बताए: “परमप्रभुका आत्मा मद्वारा बोल्नुभएको छ, र उहाँको वचन मेरो मुखमा छ।”—२ शमूएल २३:२.

दाऊदको जीवनमा पवित्र आत्माले काम गरेको पुष्टि येशू ख्रीष्ट आफैले पनि गर्नुभयो। एक पटक उहाँले स्रोताहरूलाई यसो भन्‍नुभयो: “दाऊद आफैले पवित्र आत्माद्वारा भनेका छन्‌, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान बनाउञ्जेल तिमी मेरो दाहिने हातपट्टि बस।” ’ ” (मर्कूस १२:३६; भजन ११०:१) भजनहरू रच्दा दाऊद पवित्र आत्माद्वारा डोरिएका थिए भनेर येशूलाई थाह थियो। दाऊदलाई मदत गर्ने पवित्र आत्माले के हामीलाई पनि मदत गर्न सक्छ?

“माग, तिमीहरूलाई दिइनेछ”

तपाईं कहिल्यै भजन रच्नुहुन्‍न होला। तर तपाईंले बडेमाको गोल्यतजस्तै हतास पार्ने अवरोधहरू सामना गर्नुपर्ने हुन सक्छ। यसको उदाहरणको रूपमा बीनालाई लेऔं।a तरुनीको पछि लागेर तिनलाई श्रीमान्‌ले चटक्कै छोडेर हिंडका रहेछन्‌। ऋणमा चुर्लुम्मै डुबाएर अनि दुइटी सानी छोरीको हेरविचार गर्न तिनलाई सुको पनि दिएका थिएनन्‌। तिनी भन्छिन्‌, “मैले धोका पाएँ र अवहेलित महसुस गरें। उसले छोडेर गए पनि परमेश्‍वरको पवित्र आत्माले मलाई सँभालेको महसुस गरें।”

के बीनाले प्रयासै नगरीकन पवित्र आत्मा पाउने आशा गरिन्‌? अहँ, गरिनन्‌। तिनले दिनहुँ प्रार्थना गर्दै परमेश्‍वरसित पवित्र आत्मा मागिन्‌। आइपर्ने अवस्थासित साहसी भई डट्‌न, छोरीहरूको राम्ररी हेरचाह गर्न र आत्म-सम्मान गुमेर छियाछिया भएको मन फेरि जोड्‌न परमेश्‍वरको बल चाहिन्छ भनेर तिनलाई थाह थियो। तिनले येशूका यी शब्द आत्मसात्‌ गरिन्‌: “माग, तिमीहरूलाई दिइनेछ, खोज, तिमीहरूले भेट्टाउनेछौ, घच्घच्याऊ तिमीहरूका निम्ति उघारिनेछ।”—मत्ती ७:७.

रमेशलाई पनि परमेश्‍वरको आत्मा चाहिएको महसुस भयो। तर कारण भने भिन्‍नै थियो। तिनलाई सूर्ती र गाँजाको लत लागेको थियो र जहिले पनि तान्‍ने गर्थे। दुई वर्षसम्म त तिनले यो कुलतसित संघर्ष गरे। तर निकै पटक हारे। रमेश बताउँछन्‌, “लागू पदार्थ खान छोड्‌दा मन हडबडाउँछ। तलतलले छटपटी भइरहन्छ।”

रमेश अझै भन्छन्‌: “परमेश्‍वरलाई स्वीकार्य तरिकाले पुज्न सकूँ भनेर जीवनमा आमूल परिवर्तन गर्ने अठोट गरें। बाइबलका सकारात्मक विचारले आफ्नो मन-मस्तिष्क भर्ने प्रयास गरें। बाइबलको स्तरबमोजिम जीवनमा सुधार गर्न सकूँ भनेर हरेक दिन परमेश्‍वरसित बल माग्दै व्यग्र प्रार्थना गर्थें। आफ्नै शक्‍तिमा भर परेर सफल हुन सकिंदैन भनेर मलाई राम्ररी थाह थियो। यहोवाले मेरा प्रार्थनाहरूको जवाफ कसरी दिनुभयो, मैले अनुभव गरें। विशेषगरि फेरि सूर्ती र गाँजा तान्‍न थालेर हतास हुँदा यहोवाले जवाफ दिनुभएको महसुस गरें। परमेश्‍वरको आत्माले मलाई थप बल दियो; उहाँको आत्माबिना कुलत त्याग्नै सक्ने थिइनँ।”—फिलिप्पी ४:६-८.

“चीलझैं उँभो उँभो” उड्‌दै

बीना र रमेशले अनुभव गरेझैं यहोवाका लाखौं साक्षीहरूले जीवनमा पवित्र आत्माको शक्‍ति महसुस गरेका छन्‌। यदि तपाईंले ब्रम्हाण्ड सृष्टि गर्न यहोवाले प्रयोग गर्नुभएको यो सक्रिय शक्‍ति वा पवित्र शक्‍ति पाउने इच्छा गर्नुभयो भने पाउन सक्नुहुन्छ। परमेश्‍वरसित उहाँको आत्मा मागिरहनुभयो भने उहाँ तपाईंलाई आफ्नो शक्‍ति दिन इच्छुक अनि उत्सुक हुनुहुन्छ। तर त्यो आत्मा पाउन तपाईंले परमेश्‍वरबारे सत्य कुरा सिक्नु र निष्कपट भई उहाँको इच्छाबमोजिम गर्नु जरुरी छ।—यशैया ५५:६; हिब्रू ११:६.

पवित्र आत्माको सशक्‍त शक्‍तिको छत्रछायामा तपाईंले सफलतासाथ उहाँको सेवा गर्न र जीवनमा आइपर्ने जुनसुकै चुनौतीसित डट्‌न बल पाउन सक्नुहुन्छ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “[यहोवाले] दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढाइदिनुहुन्छ। . . . परमप्रभुको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्‌। तिनीहरू चीलझैं उँभोउँभो उड्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंडेर जान्छन्‌, तर क्लान्त हुनेछैनन्‌।”—यशैया ४०:२८-३१.

( w 09 10/01)

[फुटनोट]

a केही नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ८-मा भएको चित्र]

‘हरेक दिन परमेश्‍वरसित बल माग्दै व्यग्र प्रार्थना गर्थें। आफ्नै शक्‍तिमा भर परेर सफल हुन सकिंदैन भनेर मलाई राम्ररी थाह थियो। यहोवाले मेरा प्रार्थनाहरूको जवाफ कसरी दिनुभयो, मैले अनुभव गरें’

[पृष्ठ ७-मा भएको पेटी]

क्रियाशील पवित्र आत्मा

परमेश्‍वरले पवित्र आत्मा प्रयोग गरेर पृथ्वी र सम्पूर्ण ब्रम्हाण्ड सृष्टि गर्नुभयो। भजनरचयिताले यसरी उद्‌गार गरे: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम-किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पतिले परिपूर्ण छ। तपाईंले आफ्नो आत्मा पठाउनुभएमा ती सृष्टि हुन्छन्‌।”—भजन १०४:२४, ३०; उत्पत्ति १:२; अय्यूब ३३:४.

पवित्र आत्माले ईश्‍वरभीरु मानिसहरूलाई बाइबल लेख्न प्रेरित गऱ्‍यो। प्रेरित पावलले लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) “परमेश्‍वरबाट प्रेरणा” भनेर नेपालीमा अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ हो—“परमेश्‍वरले सास हालिदिनुभयो।” यहोवाको सास अथवा आत्माले बाइबल लेखकहरूको सोचाइलाई डोऱ्‍याएकोले तिनीहरूले “परमेश्‍वरको वचन” लेखे।—१ थिस्सलोनिकी २:१३.

पवित्र आत्माले परमेश्‍वरका सेवकलाई सही भविष्यवाणी गर्न शक्‍ति दियो। प्रेरित पावल बताउँछन्‌: “कुनै धर्मशास्त्रको कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२०, २१; योएल २:२८.

पवित्र आत्माले येशूलाई अनि विश्‍वास गर्ने अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र चमत्कार गर्न मदत दियो। येशूले भन्‍नुभयो: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो, उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिनलाई पठाउनुभएको छ।”—लूका ४:१८; मत्ती १२:२८.

[पृष्ठ ९-मा भएको चित्र]

पवित्र आत्माले हामीलाई मदत गर्न सक्ने तरिकाहरू

पवित्र आत्माले तपाईंलाई प्रलोभनसित डट्‌न र हानिकारक बानीहरू छोड्‌न बल दिन सक्छ। प्रेरित पावलले भने: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.

पवित्र आत्माले तपाईंलाई ईश्‍वरीय गुणहरू खेती गर्न मदत गर्न सक्छ। “आत्माको फलचाहिं प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम हुन्‌।”—गलाती ५:२२, २३.

पवित्र आत्माले तपाईंलाई परीक्षाहरू सहन सुदृढ पार्न सक्छ। “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने