प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१५ पृ. ८-१२
  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनी “राजाको क्रोधसित” डराएनन्‌
  • तिनले परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास गरे
  • ‘तिनीहरूले लाल समुद्र पार गरे’
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मोशा—विश्‍वासको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१५ पृ. ८-१२
१. इस्राएलीहरू चौकोसका खामाहरूमा रगत छर्कंदै; २. मोशा अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी अटल रहे; ३. एउटी मिश्री आमा आफ्नो मृत छोरालाई समाउँदै

के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?

“अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी तिनी अटल रहिरहे।”—हिब्रू ११:२७.

‘अदृश्‍य परमेश्‍वरलाई देख्दा’ कसरी . . .

  • मानिसको डरदेखि जोगिन सक्नुहुन्छ?

  • प्रचारकार्यमा सक्दो गर्न प्रोत्साहित हुनुहुन्छ?

  • महासङ्‌कष्टको दौडान बलियो भइरहन सक्नुहुन्छ?

१, २. (क) मोशाको जीवन किन खतरामा परेको जस्तो देखिन्थ्यो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) मोशा किन राजाको क्रोधसित डराएनन्‌?

फिरऊन शक्‍तिशाली शासक थिए र मिश्रीहरू उनलाई देवताको रूपमा पुज्थे। पूर्वमा मिश्रको शासन (अङ्‌ग्रेजी) किताबअनुसार मिश्रीहरूका लागि उनी पृथ्वीका अरू प्राणीभन्दा “बुद्धिमान्‌ र शक्‍तिशाली” थिए। मिश्रीहरू आफूसँग डराएको फिरऊन चाहन्थे। त्यसैले उनले आक्रमण गर्न तम्तयार अवस्थामा रहेको गोमनको आकृति भएको मुकुट लगाएका थिए। यस आकृतिले राजाका शत्रुहरूलाई तुरुन्तै नाश गरिने कुरा सम्झाउँथ्यो। त्यसैले यहोवाले यसो भन्दा मोशाले कस्तो महसुस गरे होलान्‌, सोच्नुहोस्‌ त: “मेरा प्रजा, अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फिरऊनकहाँ पठाउनेछु।”—प्रस्थ. ३:१०.

२ मोशा मिश्र गए र फिरऊनलाई परमेश्‍वरको सन्देश सुनाए। त्यस सन्देशले गर्दा फिरऊन असाध्यै रिसाए। मिश्रमाथि नौवटा विपत्ति आएपछि फिरऊनले मोशालाई यस्तो चेतावनी दिए: “होसियार बस्‌, मेरो सम्मुखमा फेरि देखा नपर्‌, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास्‌ त्यो दिन तँलाई मार्नेछु।” (प्रस्थ. १०:२८) फिरऊनकहाँबाट जानुअघि मोशाले राजाको जेठो छोरा मर्ने भविष्यवाणी गरे। (प्रस्थ. ११:४-८) त्यसपछि मोशाले सबै इस्राएली परिवारलाई बाख्रा वा थुमा मार्न र त्यसको रगत चौकोसका खामाहरूमा लगाउन निर्देशन दिए। मिश्री देवता “रा”-को लागि थुमा पवित्र थियो। (प्रस्थ. १२:५-७) फिरऊनले कस्तो प्रतिक्रिया देखाउने थिए? फिरऊनले जस्तोसुकै प्रतिक्रिया देखाऊन्‌, मोशा डराउने थिएनन्‌। किन? किनकि तिनले विश्‍वाससहित यहोवाको आज्ञा माने र ‘राजाको क्रोधसित डराएर त होइन, अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी अटल रहिरहे।’—हिब्रू ११:२७, २८ पढ्‌नुहोस्‌।

३. “अदृश्‍य परमेश्‍वर”-माथि मोशाको विश्‍वासबारे कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

३ तपाईंको विश्‍वास कत्तिको बलियो छ? विश्‍वासको आँखाले ‘परमेश्‍वरलाई देख्न’ सक्नुहुन्छ? (मत्ती ५:८) “अदृश्‍य परमेश्‍वरलाई” वास्तविक व्यक्‍तिको रूपमा हेर्न मोशाको उदाहरणले कसरी मदत गर्छ, विचार गरौं। यहोवामाथिको विश्‍वासले तिनलाई मानिसको डरदेखि कसरी जोगायो? परमेश्‍वरका प्रतिज्ञाहरूमा साँच्चै विश्‍वास गरेको कुरा तिनले कसरी देखाए? मोशा र तिनका मानिसहरू खतरामा पर्दा “अदृश्‍य परमेश्‍वरलाई” देख्ने क्षमताले तिनलाई कसरी बलियो बनायो?

तिनी “राजाको क्रोधसित” डराएनन्‌

४. यहोवामा विश्‍वास नगर्नेहरूले मोशाबारे के सोचेको हुनुपर्छ?

४ यहोवामा विश्‍वास नगर्नेहरूले मोशा फिरऊनको अगाडि एकछेउ पनि छैनन्‌ भनेर सोचेको हुनुपर्छ। उनीहरूको विचारमा मोशाको जीवन र भविष्य फिरऊनकै हातमा थियो। मोशा स्वयम्‌ले यहोवालाई यसरी सोधेका थिए: “फिरऊनकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?” (प्रस्थ. ३:११) लगभग ४० वर्षअघि मोशा मिश्रबाट भागेका थिए। तिनलाई यस्तो लागेको थियो होला, ‘फेरि मिश्र फर्केर राजालाई क्रोधित बनाउनु ठीक होला र?’

५, ६. फिरऊनसित होइन, यहोवासित डराउन मोशालाई केले मदत गऱ्‍यो?

५ मोशा मिश्र फर्कनुअघि यहोवाले तिनलाई महत्त्वपूर्ण पाठ सिकाउनुभयो। त्यसबारे पछि अय्यूबको पुस्तकमा मोशाले यस्तो लेखे: “परमेश्‍वरको डर नै बुद्धि हो।” (अय्यू. २८:२८) मोशालाई यस्तो डर विकास गर्न र बुद्धिमानी कदम चाल्न मदत मिलोस्‌ भनेर यहोवाले मानिस र आफूबीचको भिन्‍नता स्पष्ट पार्नुभयो। उहाँले सोध्नुभयो: “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?”—प्रस्थ. ४:११.

६ यहोवाले कस्तो पाठ सिकाउन खोज्नुभएको थियो? मोशालाई यहोवाले नै पठाउनुभएको थियो। त्यसैले तिनी डराउनुपर्दैनथ्यो। फिरऊनकहाँ गएर परमेश्‍वरको सन्देश सुनाउने शक्‍ति उहाँले नै दिनुहुनेथियो। अनि फिरऊन यहोवाको अगाडि एकछेउ पनि थिएनन्‌। साथै परमेश्‍वरका सेवकहरू मिश्रमा खतरामा परेको यो नै पहिलो पटक त थिएन। विगतका मिश्री राजाहरूको समयमा यहोवाले अब्राहाम, यूसुफ र मोशा स्वयम्‌लाई कसरी सुरक्षा दिनुभएको थियो, त्यसबारे मोशाले मनन गरे होलान्‌। (उत्प. १२:१७-१९; ४१:१४, ३९-४१; प्रस्थ. १:२२–२:१०) “अदृश्‍य परमेश्‍वर” यहोवामाथिको विश्‍वासको कारण मोशा साहसी हुँदै फिरऊनसामु देखा परे र यहोवाले भन्‍नुभएको एक-एक कुरा फिरऊनलाई सुनाए।

७. यहोवामाथिको विश्‍वासले एउटी बहिनीलाई कसरी सुरक्षा दियो?

७ यहोवामाथिको विश्‍वासले इल्ला नामकी बहिनीलाई पनि मानिसको डरको पासोमा नपर्न मदत गऱ्‍यो। सन्‌ १९४९ मा उनलाई सोभियत सरकारको सुरक्षा निकायले (के जि बि) इस्टोनियामा पक्राउ गऱ्‍यो। तिनीहरूले उनलाई नाङ्‌गो पारे अनि जवान प्रहरी अधिकारीहरूले उनीमाथि आँखा गाडे। उनले यसो भनिन्‌: “मैले अपमानित महसुस गरें। तर यहोवालाई प्रार्थना गरेपछि भने मनै शान्त भयो।” त्यसपछि इल्लालाई तीन दिनसम्म एकान्त कारावासमा राखियो। उनी भन्छिन्‌: “ती प्रहरी अधिकारीहरू यसरी कराए, ‘इस्टोनियाबाट यहोवाको नामोनिसानै मेटिदिनेछौं! तिमीलाई श्रम शिविरमा जाक्नेछौं। अनि केहीलाई साइबेरियापारि पुऱ्‍याइदिन्छौं।’ तिनीहरूले गिल्ला गर्दै यसो पनि भने, ‘खोइ त तिमीहरूको यहोवा?’” इल्ला मानिससित डराउने थिइन्‌ कि यहोवासित? प्रश्‍नहरू गरिंदा उनले नडराईकन यसो भनिन्‌: “मैले यस विषयमा निकै सोचविचार गरें। यहाँबाट छुटेर यहोवाको अनुमोदन गुमाउनुभन्दा यहीं बसेर यहोवासितको सम्बन्ध कायम राख्न चाहन्छु।” इल्लाको लागि यहोवा उनको अगाडि उभिएका ती मानिसहरूजस्तै वास्तविक हुनुहुन्थ्यो। यहोवामाथिको विश्‍वासले गर्दा उनी वफादार भइरहिन्‌।

८, ९. (क) मानिसको डरलाई जित्ने औषधी के हो? (ख) मानिसको डरको पासोमा पर्ने प्रलोभन आइपर्दा आफ्नो ध्यान कसमा लगाउनुपर्छ?

८ यहोवामाथिको विश्‍वासले डरलाई जित्न मदत गर्छ। अख्तियारवालाहरूले यहोवाको सेवा गर्नबाट रोक्न खोज्दा तपाईंको जीवन र भविष्य तिनीहरूकै हातमा छ जस्तो देखिन सक्छ। ‘यहोवाको सेवा गरिरहेर ती अख्तियारवालाहरूलाई चिढ्‌याउनु ठीक होला र’ जस्तो तपाईंलाई लाग्न सक्छ। नबिर्सनुहोस्‌: मानिसको डरलाई जित्ने औषधी भनेको परमेश्‍वरमाथिको विश्‍वास हो। (हितोपदेश २९:२५ पढ्‌नुहोस्‌) यहोवा सोध्नुहुन्छ: “मरणशील मानिस, अर्थात्‌ घाँसजस्तै ओइलाउने मानिसको छोरादेखि तँ किन डराउँछस्‌?”—यशै. ५१:१२, १३.

९ आफ्नो ध्यान सबैभन्दा शक्‍तिशाली बुबा यहोवामा लगाउनुहोस्‌। अन्यायी शासकहरूको कारण दुःख पाइरहेका व्यक्‍तिहरूलाई उहाँ याद गर्नुहुन्छ। त्यस्ता व्यक्‍तिहरूको अवस्था देख्दा उहाँ दुःखित हुनुहुन्छ र उनीहरूलाई मदत गर्नुहुन्छ। (प्रस्थ. ३:७-१०) सरकारी अधिकारीहरूको अगाडि आफ्नो विश्‍वासको पक्षमा बोल्नुपऱ्‍यो भने पनि ‘कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर्नुहोस्‌; के बोल्ने हो, त्यो तपाईंले त्यतिखेरै थाह पाउनुहुनेछ।’ (मत्ती १०:१८-२०) मानव शासक र सरकारी अधिकारीहरू यहोवाको अगाडि एकछेउ पनि छैनन्‌। अहिल्यै आफ्नो विश्‍वास बलियो बनाउनुभयो भने यहोवा वास्तविक व्यक्‍ति हुनुहुन्छ र उहाँ हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ भनेर थाह पाउनुहुनेछ।

तिनले परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास गरे

१०. (क) ईसापूर्व १५१३ को नीसान महिनामा यहोवाले इस्राएलीहरूलाई कस्तो निर्देशन दिनुभयो? (ख) मोशाले किन यहोवाको निर्देशन पालन गरे?

१० ईसापूर्व १५१३ को नीसान महिनामा यहोवाले मोशा र हारूनलाई इस्राएलीहरूकहाँ गएर यसो भन्‍न लगाउनुभयो: एउटा स्वस्थ थुमा वा बाख्रा छानेर त्यसलाई मार्नू अनि त्यसको रगत ढोकाको चौकोसको खामाहरूमा लगाउनू। (प्रस्थ. १२:३-७) मोशाले के गरे? तिनीबारे प्रेषित पावलले यस्तो लेखे: “विश्‍वासैले गर्दा तिनले निस्तार-चाड मनाएका थिए अनि रगत छ्यापेका थिए, ताकि नाश गर्नेले इस्राएलीहरूका जेठो सन्तानलाई हात नलगाओस्‌।” (हिब्रू ११:२८) यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर मोशालाई थाह थियो। मिश्रका सबै जेठो सन्तान मर्नेछन्‌ भन्‍ने यहोवाको प्रतिज्ञामा पनि तिनी विश्‍वास गर्थे।

११. मोशाले किन अरूलाई चेतावनी दिए?

११ मोशाका छोराहरू मिद्यानमा भएकोले उनीहरू सुरक्षित थिए (प्रस्थ. १८:१-६) तैपनि मोशाले यहोवाको आज्ञा माने र जेठो सन्तानको ज्यान खतरामा परेका अरू इस्राएली परिवारकहाँ यहोवाको सन्देश पुऱ्‍याए। किनकि तिनी सँगी मानवलाई प्रेम गर्थे। “नाश गर्ने”-को हातबाट इस्राएलीहरूका जेठो सन्तानलाई बचाउन मोशाले तुरुन्तै “इस्राएलका सबै बूढाप्रधानहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, . . . ‘निस्तारको बलिको निम्ति मार।’”—प्रस्थ. १२:२१.a

१२. यहोवाले हामीलाई कस्तो सन्देश घोषणा गर्न अह्राउनुभएको छ?

१२ स्वर्गदूतहरूको डोऱ्‍याइमा यहोवाका सेवकहरूले यो महत्त्वपूर्ण सन्देश घोषणा गरिरहेका छन्‌: “परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ, किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ। त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।” (प्रका. १४:७) यो सन्देश प्रचार गर्ने समय अहिल्यै हो। हामीले आफ्ना छिमेकीहरूलाई झूटो धर्मबाट निस्कन चेतावनी दिनै पर्छ। यसो गर्दा उनीहरूले “त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न” पर्नेछैन। (प्रका. १८:४) “अरू भेडा”-को मदत लिएर अभिषिक्‍त ख्रीष्टियनहरूले मानिसहरूलाई “परमेश्‍वरसित मिलाप” गर्न बिन्ती गरिरहेका छन्‌।—यूह. १०:१६; २ कोरि. ५:२०.

स्वर्गदूतहरूले विनाशकारी बतासलाई बलियोसित थामिराखेका छन्‌ भनी सम्झेर एउटी साक्षी बहिनी प्रचारकार्यमा जान तयार हुँदै

यहोवाका प्रतिज्ञाहरूमा भरोसा गर्नुभयो भने सुसमाचार प्रचार गर्ने तपाईंको इच्छा अझ प्रबल हुनेछ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. सुसमाचार प्रचार गर्ने इच्छा अझ प्रबल बनाउन के गर्नुपर्छ?

१३ “न्याय गर्ने समय” आइसकेको छ भनेर हामी विश्‍वस्त छौं। यहोवाले भन्‍नुभएझैं ढिलासुस्ती नगरी प्रचारकार्यमा भाग लिनु महत्त्वपूर्ण छ भनेर पनि हामी विश्‍वस्त छौं। एउटा दर्शनमा प्रेषित यूहन्‍नाले ‘पृथ्वीका चार कुनामा चार वटा स्वर्गदूत उभिरहेको र तिनीहरूले पृथ्वीका चार बतासलाई बलियोसित थामिराखेको’ देखे। (प्रका. ७:१) यी स्वर्गदूतहरू महासङ्‌कष्टको विनाशकारी बतास छोड्‌न तम्तयार भएको के तपाईं विश्‍वासको आँखाले देख्नुहुन्छ? देख्नुहुन्छ भने निर्धक्क भएर सुसमाचार प्रचार गर्न सक्नुहुनेछ।

१४. हामी किन “दुष्टलाई त्यसको दुष्ट चालको लागि चेतावनी दिन” चाहन्छौं?

१४ हामीले यहोवासित मित्रता गाँसिसकेका छौं र अनन्त जीवनको आशा पनि पाएका छौं। तर ‘दुष्टको प्राण बचाउन त्यसको दुष्ट चालको लागि चेतावनी दिने’ जिम्मेवारी हाम्रो हो भनेर पनि बुझेका छौं। (इजकिएल ३:१७-१९ पढ्‌नुहोस्‌) हो, हामी रक्‍तदोषी हुनबाट जोगिन मात्र प्रचार गर्दैनौं। हामी यहोवा र छिमेकीलाई प्रेम गर्छौं, त्यसैले प्रचार गर्छौं। असल छिमेकीको दृष्टान्तमा येशूले प्रेम र कृपा देखाउनु भनेको वास्तवमा के हो, स्पष्ट पार्नुभयो। हामीले आफैलाई सोध्न सक्छौं, ‘म सामरीजस्तो छु कि पुजारी र लेवीजस्तो? प्रचार गर्न सधैं इच्छुक हुन्छु कि प्रचार नगर्न बहाना बनाउँछु?’ (लूका १०:२५-३७) परमेश्‍वरका प्रतिज्ञाहरूमाथिको विश्‍वास र छिमेकीप्रतिको प्रेमले हामीलाई समय छँदै प्रचारकार्यमा सक्दो भाग लिन उत्प्रेरित गर्नेछ।

‘तिनीहरूले लाल समुद्र पार गरे’

१५. इस्राएलीहरूलाई किन आफू फन्दामा परेको जस्तो लाग्यो?

१५ मिश्र छोडेपछि इस्राएलीहरू खतरामा पर्दा “अदृश्‍य परमेश्‍वर”-माथिको विश्‍वासले मोशालाई मदत गऱ्‍यो। बाइबल भन्छ: “इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछि पछि आइरहेका देखे, र इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे।” (प्रस्थ. १४:१०-१२) के यो आशै नगरेको परिस्थिति थियो? पटक्कै थिएन। यहोवाले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्‌नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्‌।” (प्रस्थ. १४:४, NRV) यहोवाले चेतावनी दिइसक्नुभएको थियो। तैपनि इस्राएलीहरूमा विश्‍वास थिएन। तिनीहरूले आफ्नो आँखाअगाडि भएको विशाल लाल समुद्र, पछि-पछि आइरहेका फिरऊनका रथहरू अनि नेतृत्व लिइरहेका ८० वर्षीय गोठालो मात्र देखे। तिनीहरूलाई आफू फन्दामा परेको जस्तो लाग्यो।

१६. विश्‍वासले मोशालाई लाल समुद्रमा कसरी बलियो बनायो?

१६ मोशा डराएनन्‌। किन? किनकि तिनले विश्‍वासको आँखाले समुद्र र मिश्री सेनाभन्दा पनि शक्‍तिशाली कुरा देखे। तिनले ‘यहोवाले दिनुहुने उद्धार’ देखे। यहोवाले इस्राएलीहरूका लागि युद्ध लड्‌नुहुनेछ भनेर तिनलाई थाह थियो। (प्रस्थान १४:१३, १४ पढ्‌नुहोस्‌) मोशाको यस्तो विश्‍वासले गर्दा परमेश्‍वरका सेवकहरू बलियो भए र तिनीहरूले प्रोत्साहन पाए। बाइबल भन्छ: “विश्‍वासैले गर्दा तिनीहरूले सुक्खा भूमिमा हिंडेझैं गरी लाल समुद्र पार गरे तर मिश्रीहरूले त्यसै गर्ने आँट गर्दा भने समुद्रले तिनीहरूलाई निल्यो।” (हिब्रू ११:२९) त्यसपछि “मानिसहरूले परमप्रभुको भय माने। औ मानिसहरूले परमप्रभु र उहाँका दास मोशामाथि विश्‍वास गरे।”—प्रस्थ. १४:३१.

१७. भविष्यको कुन घटनाले हाम्रो विश्‍वासको जाँच गर्नेछ?

१७ अब चाँडै हाम्रो जीवन पनि खतरामा परेको जस्तो देखिनेछ। महासङ्‌कष्टको अन्तसम्ममा, यस संसारका सरकारहरूले हाम्रोभन्दा शक्‍तिशाली धार्मिक सङ्‌गठनहरूलाई विनाश गरिसकेका हुनेछन्‌। (प्रका. १७:१६) यहोवाले गर्नुभएको भविष्यवाणीअनुसार हामी ‘पर्खालविनाका गाउँहरू भएको देश, मूल-ढोका र बारहरूविनै बस्ने जातिहरूजस्तै’ निस्सहाय देखिनेछौं। (इज. ३८:१०-१२, १४-१६) विश्‍वासको आँखाले नहेर्नेहरूलाई बाँच्ने कुनै आशा छैन जस्तो लाग्न सक्छ। तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुनेछ?

१८. महासङ्‌कष्टको दौडान हामी किन बलियो भइरहन सक्छौं, व्याख्या गर्नुहोस्‌।

१८ हामी डराउनुपर्दैन। किन? किनकि यहोवाले आफ्ना मानिसहरूमाथि आइपर्ने आक्रमणबारे मात्र होइन, उनीहरूलाई बचाउनेबारे पनि भविष्यवाणी गर्नुभएको छ। उहाँले यसरी भविष्यवाणी गर्नुभएको छ: ‘त्यस दिन जब गोग इस्राएलको देशको विरुद्धमा आउँछ, तब मेरो क्रोध दन्केर आउनेछ। डाह र प्रचण्ड क्रोधको साथ म बोल्नेछु।’ (इज. ३८:१८-२३) त्यसपछि परमेश्‍वरले उहाँका जनहरूलाई हानि गर्न चाहने सबैलाई नाश गर्नुहुनेछ। यहोवाको “महा र भयङ्‌कर दिन”-मा उहाँले तपाईंलाई बचाउनुहुनेछ भन्‍ने कुरामा विश्‍वास गर्नुहुन्छ भने ‘यहोवाले दिनुहुने उद्धार’ देख्न र बलियो भइरहन सक्नुहुनेछ।—योए. २:३१, ३२.

१९. (क) यहोवा र मोशाबीचको मित्रता कस्तो थियो? (ख) “आफ्नो सबै चालमा” यहोवालाई सम्झनुभयो भने कस्तो फाइदा हुन्छ?

१९ ‘अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी अटल रहिरहेर’ यी रोमाञ्चकारी घटनाको लागि आफूलाई तयार राख्नुहोस्‌। नियमित रूपमा अध्ययन र प्रार्थना गरेर यहोवासितको मित्रता बलियो बनाउनुहोस्‌। मोशाले यहोवासितको मित्रता असाध्यै बलियो बनाएका थिए र यहोवाले तिनलाई शक्‍तिशाली कामहरू गर्न प्रयोग गर्नुभएको थियो। त्यसकारण बाइबलमा मोशालाई परमेश्‍वरले “घनिष्टसित” चिन्‍नुभएको व्यक्‍ति भनिएको छ। (व्यव. ३४:१०) मोशा असाधारण भविष्यवक्‍ता थिए। तपाईंमा विश्‍वास छ भने तपाईं पनि यहोवासित यत्ति घनिष्ठ हुनुहुनेछ, यहोवालाई देखेको जस्तै महसुस गर्नुहुनेछ। “आफ्नो सबै चालमा” यहोवालाई सम्झनुभयो भने उहाँले ‘तपाईंका बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।’—हितो. ३:६.

a मिश्रीहरूका जेठा सन्तानलाई मार्न यहोवाले स्वर्गदूतहरू पठाउनुभयो।—भज. ७८:४९-५१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने