प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अगस्त पृ. ३१-३२
  • “कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अगस्त पृ. ३१-३२
प्रचारमा जानको लागि समूहसँग भेट्‌दै गरेका योआनेस राउटा

सन्‌ १९२० को दशकतिर, प्रचार गरिरहेका योआनेस राउटा

हाम्रो अभिलेखालयबाट

“कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु”

“युरोपमा अहिले चर्किरहेको युद्ध यति विध्वंसकारी छ कि, त्यसको तुलनामा विगतमा लडिएका सारा युद्धहरू नै ओझेलमा पर्छ।” प्रथम विश्‍वयुद्धबारे सेप्टेम्बर १, १९१५ को प्रहरीधरहरा-मा यसरी व्याख्या गरिएको थियो। त्यस युद्धमा एकपछि अर्को गर्दै लगभग ३० वटा देश मुछिएका थिए। यसरी चर्किएको युद्धले “खासगरि जर्मन र फ्रान्सको, राज्य प्रचार गतिविधिमा केही हदसम्म बाधा पुग्यो” भनी प्रहरीधरहरा-मा लेखिएको थियो।

विश्‍वयुद्धको सामना गरिरहेको बेला बाइबल विद्यार्थीहरूले तटस्थतासम्बन्धी बाइबल सिद्धान्त त्यति राम्ररी बुझिसकेका थिएनन्‌। तैपनि तिनीहरू जोसिलो भएर प्रचारकार्यमा लागे। राज्य प्रचारकार्यमा आफ्नो तर्फबाट सक्दो गर्नको लागि विल्हेम हिल्देब्रान्टले द बाइबल स्टुडेन्ट्‌स मन्थ्‌ली नामक प्रकाशन फ्रान्सेली भाषामा मगाए। त्यतिबेला उनी फ्रान्समा अग्रगामीको (कल्पोर्टर) रूपमा नभई जर्मनी सेनाको रूपमा काम गर्दै थिए। एक जना जर्मन सैनिकले शान्तिको सन्देश प्रचार गरिरहेको देख्दा फ्रान्सेलीहरू अचम्म मान्थे।

जर्मनका अरू थुप्रै बाइबल विद्यार्थीले पठाएका पत्रहरू प्रहरीधरहरा-मा छापिएका थिए। ती पत्रहरूमा विद्यार्थीहरूले आफू सेनामा छँदै सुसमाचार प्रचार गर्न उत्प्रेरित भएको कुरा उल्लेख गरेका थिए। भाइ लेम्की जल सेनाको रूपमा काम गर्थे, आफूसँगै काम गर्ने साथीहरूलाई तिनले प्रचार गरे अनि उनीहरूमध्ये पाँच जनाले चासो देखाएकोले तिनले यस्तो लेखे: “जहाजमा यात्रा गर्दा समेत कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु।”

युद्ध लड्‌न गएका जर्ज काइसर पछि परमेश्‍वरको उपासक भएर घर फर्के। कसरी? एक दिन तिनले बाइबल विद्यार्थीहरूको प्रकाशन पाए। अनि तिनले मनैदेखि राज्य सन्देश स्वीकारे र युद्धमा भाग लिन छोडे। त्यसपछि सेनाको रूपमा काम गरे पनि हातहतियार चलाउनु नपर्ने खालको काम गरे। तिनले युद्ध रोकिएपछि अग्रगामीको रूपमा वर्षौंसम्म सेवा गरिरहे।

बाइबल विद्यार्थीहरूले तटस्थ रहने सन्दर्भमा सबै कुरा बुझिसकेका थिएनन्‌। तैपनि तिनीहरूको मनोवृत्ति युद्धमा भाग लिइरहेका मानिसहरूको आचरण भन्दा निकै फरक थियो। त्यतिबेला देशका नेता अनि चर्चका पादरीहरूले युद्धलाई समर्थन गरिरहेका थिए तर बाइबल विद्यार्थीहरूले भने “शान्तिका राजकुमार”-को पक्ष लिए। (यशै ९:६) हुन त कोही-कोही पूर्णरूपमा तटस्थ रहन सकेनन्‌ तैपनि तिनीहरू आफूले सिकेको कुरामा दृढ रहे। आफ्नो विश्‍वासबारे बाइबल विद्यार्थी कोनराड मोर्टेरले यसो भने: “ख्रीष्टियनहरूले हत्या गर्नुहुँदैन भनेर परमेश्‍वरको वचनबाट मैले स्पष्टसँग बुझेको छु।”—प्रस्थ. २०:१३.a

सुनौलो युग (अङ्‌ग्रेजी) पत्रिकाको विज्ञापन गर्न ठेलागाडीको प्रयोग गर्दै गरेका हान्स होल्टेरहोफ

सुनौलो युग (अङ्‌ग्रेजी) बारे विज्ञापन गर्न हान्स होल्टेरहोफले यो ठेलागाडी प्रयोग गरे

जर्मनमा अनिवार्य रूपमा सैन्य सेवामा भाग लिनुपर्ने कानुनी व्यवस्था थियो। तर आफ्नो धार्मिक अडानको कारण २० जना भन्दा धेरै बाइबल विद्यार्थीहरूले कुनै पनि प्रकारको सैन्य सेवामा भाग लिन इन्कार गरे। यसैले तिनीहरूमध्ये कसै-कसैलाई मानसिक अवस्था ठीक नभएको व्यक्‍ति समेत भनियो। जस्तै: गुस्ताभ कुजाथलाई मानसिक अस्पतालमा भर्ना गरेर उपचार समेत गरियो। सैन्य सेवा इन्कार गरेकोले हान्स होल्टेरहोफलाई पनि जेल हालियो तर तिनले त्यहाँ युद्धसँग सम्बन्धित कुनै पनि कामकुरामा भाग लिएनन्‌। गार्डहरूले तिनलाई चलहल गर्नै नसकिने गरी डोरीले बाँधेर राखे। त्यसले गर्दा तिनको हातखुट्टा पूरै लाटो भयो। तिनको सङ्‌कल्पलाई तोड्‌न नसकेकोले गार्डहरूले तिनलाई मृत्युदण्ड दिन्छु भनेर धम्क्याए। यस्तो गाह्रो अवस्था भोग्नुपर्दा समेत तिनी युद्धको दौडान तटस्थ रहिरहे।

अरू भाइहरूले पनि अनिवार्य सैन्य सेवामा भाग लिन इन्कार गरे र त्यसको सट्टा युद्धसँग नमुछिएको काम दिनको लागि अनुरोध गरे।b योआनेस राउटाले पनि यस्तै अडान लिए र तिनलाई रेलमार्गमा काम गर्न खटाइयो। कोनराड मोर्टेरलाई चिकित्सकहरूलाई मदत गर्न र रेनहोल्ड वेबरलाई नर्सको रूपमा काम गर्न खटाइयो। अगस्त क्राफ्जिगलाई पनि हातहतियार चलाउनु नपर्ने काम दिइयो, त्यसैले तिनी खुसी थिए। तिनीहरूले जस्तै अरू बाइबल विद्यार्थीहरूले पनि प्रेम र तटस्थ रहने सम्बन्धी जे-जति बुझेका थिए त्यसअनुसार यहोवाको सेवा गर्न कटिबद्ध थिए।

युद्धको दौडान बाइबल विद्यार्थीहरू तटस्थ रहेको कारण तिनीहरू सरकारी अधिकारीको निगरानीमा परे। त्यसपछिका वर्षहरूमा जर्मनका बाइबल विद्यार्थीहरूले प्रचारकार्यको कारण हजारौं मुद्दाहरू खेप्नुपऱ्‍यो। ती बाइबल विद्यार्थीहरूलाई आवश्‍यक कानुनी मदत दिनको लागि जर्मनी शाखाले मेगडबर्गमा रहेको बेथेलमा कानुन विभाग खडा गऱ्‍यो।

यहोवाका साक्षीहरूले तटस्थताको विषयमा अझ राम्ररी बुझ्दै गए। दोस्रो विश्‍वयुद्धको दौडान तिनीहरू युद्धमा मुछिएनन्‌, तिनीहरू तटस्थ रहे। त्यसैले जर्मन सरकारले साक्षीहरूलाई शत्रुको रूपमा हेरे र कठोर यातना दिए। यस विषयमा हामी “हाम्रो अभिलेखालयबाट”—मध्य युरोप भन्‍ने अर्को शृङ्‌खलामा छलफल गर्नेछौं।

a प्रथम विश्‍वयुद्धको समयतिरका बेलायतका बाइबल विद्यार्थीहरूको विषयमा प्रहरीधरहरा- मे १५, २०१३ को “हाम्रो अभिलेखालयबाट—‘परीक्षाको बेला’ तिनीहरू दृढ रहे” भन्‍ने लेख हेर्नुहोस्‌।

b सन्‌ १९०४ मा प्रकाशित सहस्रवर्षीय प्रभात शृङ्‌खला (अङ्‌ग्रेजी) किताबको छैटौं खण्डमा र सन्‌ १९०६ मा जर्मन भाषामा प्रकाशित अगस्त महिनाको जायन्स वाचटावर-मा यस्तो कदमबारे सुझाव दिइएको थियो। सेप्टेम्बर १९१५ को द वाचटावर-मा बाइबल विद्यार्थीहरू सेनामा भर्ती हुनुहुँदैन भन्‍ने नयाँ बुझाइ स्पष्ट पारियो। तर यो लेखचाहिं जर्मन भाषामा छापिएन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने