प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 मे पृ. ३१-३२
  • ‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 मे पृ. ३१-३२
सन्‌ १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा भएको अधिवेशनमा उपस्थित भएका मानिसहरूको भीड

हाम्रो अभिलेखालयबाट

‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’

सन्‌ १९२२ सेप्टेम्बरको शुक्रबार बिहानको कुरा हो। हलमा ८,००० मानिस खचाखच भरिएका थिए। अनि बेस्सरी गर्मी भइरहेको थियो। अधिवेशनको त्यस महत्त्वपूर्ण कार्यक्रमको दौडान यदि कोही बाहिर जान चाहन्छन्‌ भने जान सक्छन्‌ तर फेरि भित्र छिर्न भने अनुमति दिइनेछैन भनेर चेयरम्यानले घोषणा गरे।

सुरुको “प्रशंसा सेवा”-को बेला भजनहरू गाइयो। त्यसपछि जोसेफ एफ. रदरफोर्ड माइकको अगाडि उभिनुभयो। दर्शकहरूको मनमा एक प्रकारको खुलदुली थियो। कोही भने गर्मी सहन नसकेर ओहोरदोहोर गरिरहेका थिए। तर वक्‍ताले तिनीहरूलाई बस्न र ध्यान दिएर सुन्‍न आग्रह गर्नुभयो। के भाषण सुनिरहेकाहरूले मञ्चको माथिपट्टि राम्ररी बेरेर राखिएको ठूलो कपडा याद गरे?

भाइ रदरफोर्डले “स्वर्गको राज्य नजिकै छ” भन्‍ने विषयमा भाषण दिनुभएको थियो। उहाँले भाषणमा पहिले-पहिलेका भविष्यवक्‍ताहरूले निडर भई आउँदै गरेको राज्यबारे घोषणा गरेको विषयमा बताउनुहुँदा डेढ घण्टाजति उहाँको वजनदार आवाज हलमा गुञ्जिरहेको थियो। भाषणको अन्ततिर उहाँले यो प्रश्‍न सोध्नुभयो: “महिमित राजाले शासन गर्न थालिसक्नुभयो भनेर के तपाईंहरू विश्‍वास गर्नुहुन्छ?” श्रोताहरूले ठूलो स्वरमा एकै चोटि भने: “गर्छौं!”

तब ठूलो स्वरमा भाइ रदरफोर्डले भन्‍नुभयो: “यदि गर्नुहुन्छ भने हे सर्वोच्च परमेश्‍वरका पुत्रहरू हो, क्षेत्रमा फर्कनुहोस्‌! हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌!”

यो घोषणा गर्नेबित्तिकै मञ्चको माथिपट्टि बेरेर राखिएको कपडा खोलियो। त्यसमा यस्तो लेखिएको थियो: “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌।”

त्यस घटनाबारे रे बपले यसो भने: “दशर्कहरूमाझ एक प्रकारको तरङ्‌ग आयो।” त्यो विशाल समूहले “ताली बजाउँदा हलका दलिनहरू हल्लिएका थिए” भनी आना गार्डनरले बताइन्‌। फ्रेड ट्‌वारोसले भने: “सबै जना एकै चोटि जुरुक्क उठे।” इभान्जेलोस स्कोफासले यसो भने: “हामी सबैलाई एउटा बलियो शक्‍तिले सिटबाट तानेको जस्तो लाग्यो, हामी जुरुक्क उठ्यौं र हाम्रो गहभरि आँसु भरियो।”

त्यस अधिवेशनमा उपस्थित धेरैजसो भाइबहिनी परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा भाग लिन थालिसकेका थिए। तर यस अधिवेशनले तिनीहरूमा अझै नयाँ जोस थपिदियो। ती बाइबल स्टुडेन्ट्‌स “अझ जोसिलो र प्रेमले ओतप्रोत” भई प्रचार गर्न निस्के भनी एथेल बेनेकोफले सुनाइन्‌। यसै सिलसिलामा “को जाने” भन्‍ने प्रश्‍नको सकारात्मक जवाफ दिन त्यतिबेला १८ वर्षकी ओडिसा टक अग्रसर भइन्‌। तिनले भनिन्‌: “कहाँ प्रचार गर्ने, कसरी प्रचार गर्ने अनि के प्रचार गर्ने मलाई केही थाह थिएन। तर एउटा कुरामा भने पक्का थिएँ, म यशैयाजस्तै बन्‍न चाहन्थें, जसले यसो भने: ‘म हाजिर छु। मलाई पठाउनुहोस्‌।’ ” (यशै. ६:८) राल्फ लेफ्लरले भने: “परमेश्‍वरको राज्यबारे अहिले विश्‍वभरि विज्ञापन गरिंदै छ तर त्यसको सुरुवात भने त्यो विशेष दिन गरिएको घोषणाबाट भएको थियो।”

यसकारण सन्‌ १९२२ मा ओहायोको सिडार प्वाइन्टमा भएको अधिवेशन यहोवाका साक्षीहरूको इतिहासमा अत्यन्तै उल्लेखनीय छ। जर्ज ग्याङ्‌गसले यसो भन्‍नुभयो: “त्यस अधिवेशनमा उपस्थित भएपछि कुनै पनि अधिवेशन नछुटाउने इच्छा जाग्यो।” उहाँलाई याद भएसम्म उहाँले एउटा पनि अधिवेशन छुटाउनुभएको थिएन। जुलिया विल्कक्सले यस्तो लेखिन्‌: “सन्‌ १९२२ मा सिडार प्वाइन्टमा भएको अधिवेशनबारे हाम्रा प्रकाशनहरूमा कुनै कुरा आउँदा अहिले पनि म निकै उत्साहित हुन्छु। अनि सधैं ‘हे यहोवा, यो अधिवेशनमा बस्न दिनुभएकोमा तपाईंलाई धन्यवाद’ भन्छु।”

कुनै न कुनै अधिवेशनले हाम्रो पनि मन छोएको छ होला। अनि हाम्रा महान्‌ परमेश्‍वर र उहाँको राजाप्रतिको प्रेम र जोस अझै बढाएको छ होला। आफूले बिर्सनै नसक्ने अधिवेशन सम्झँदा हामी पनि यसो भन्‍न जुरमुरिन्छौं: “हे यहोवा, यो अधिवेशनमा बस्न दिनुभएकोमा तपाईंलाई धन्यवाद छ।”

ती रहस्यमय प्लेकार्ड

यी अङ्‌ग्रेजी अक्षरहरू “ADV” जताततै थिए—रूखमा, भवनमा अनि अधिवेशनको कार्यक्रम पर्चीमा समेत! ती प्लेकार्डहरू देख्ने सबैको मनमा खुलदुली भइरहेको थियो। a

“हरेक खाँबोमा र ढोकामाथि ठूलठूला काला अक्षरमा ADV लेखिएको सेतो कार्ड राखिएको थियो। ती अक्षरहरूको अर्थ के हो भनेर हामीले सोध्यौं। तर कसैलाई थाह थिएन। कसैलाई थाह थियो भने पनि उहाँहरूले हामीलाई भन्‍नुभएन।”—एडिथ ब्रेनिसेन।

a ती प्लेकार्डहरू कस्ता थिए भन्‍ने कुरा आजसम्म पनि रहस्यमा नै छ। हाम्रो अभिलेखालय विभागले त्यससम्बन्धी कुनै पनि तस्बिर भेट्टाएको छैन।

अरूले नदेखेको घटना, हाम्रो प्रार्थनाको जवाफ

आर्थर र नेली क्लाउस राम्रो सिट पाउनको लागि बिहान चाँडै आए। आर्थरले भने: “एउटा पनि शब्द नछुटाई ध्यान दिएर सुनिरहेको थिएँ।” तर एक्कासि तिनको पेट कटक्क दुख्यो। तिनलाई बाहिर जान मन थिएन किनभने एक चोटि निस्केपछि भित्र छिर्न पाइँदैनथ्यो। निस्कन लागेको देखेर परिचारकले तिनलाई सोधे: “यस्तो समयमा पनि बाहिर निस्कनुहुने?” तर के गर्ने, आर्थरलाई बाहिर ननिस्की भएको थिएन।

भित्र फर्कन लाग्दा आर्थरले हलभित्रबाट तालीको गडगडाहट सुने। आर्थरले हलभित्रको कुरा कहाँबाट सुन्‍न सकिन्छ होला भनेर यताउता हेर्न थाले। तिनले माथि छतमा एउटा ठाउँ भेट्टाए। त्यहाँबाट हलभित्र भइरहेको कुरा सुन्‍न सकिन्थ्यो। तिनी १६ फिट माथि उक्लेर छतमा भएको झ्यालमा गए।

माथि झ्यालमा पुग्दा आर्थरले त्यहाँ केही भाइहरू देखे। तिनीहरू तल वक्‍तालाई हेर्दै थिए। तर तिनीहरूलाई केही आपत्‌ परेको जस्तो देखिन्थ्यो। कुरा के रहेछ भने तिनीहरूलाई अझै एउटा चक्कु चाहिरहेको थियो। किनभने ब्यानर झार्न तिनीहरूले एकै चोटि दुई चार वटा डोरी काट्‌नुपर्थ्यो। तर आर्थरसित चक्कु थियो त? धन्‍न तिनीसित एउटा चक्कु थियो। आर्थर र अरू भाइहरू आ-आफ्नो ठाउँमा तम्तयार बसे र डोरी काट्‌ने सङ्‌केत पर्खे। भाइ रदरफोर्डले दोस्रो चोटि “विज्ञापन गर्नुहोस्‌!” भन्‍नुहुँदा तिनीहरूले डोरी काट्‌नुपर्ने थियो।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार त्यो ठूलो तीन रङ्‌गे ब्यानर सर्लक्क तल झारियो। त्यसको बीचमा येशूको चित्र थियो।

ब्यानर झार्ने भाइहरू भऱ्‍याङ चढेर छतमा गएका थिए तर कसैले त्यो भऱ्‍याङ झिकिदिएछ। तिनीहरू कतै पनि जान सकेनन्‌। त्यसैले ती भाइहरूले चक्कु भएको एक जना भाइ पठाइदिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गरेका रहेछन्‌। पछि यो कुरा भाइहरूले आर्थरलाई बताए। आर्थरलाई देख्दा यो त यहोवाले नै अचम्म तरिकामा प्रार्थनाको जवाफ दिनुभएको रहेछ भनेर तिनीहरू पक्का भए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने