प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 नोभेम्बर पृ. २६-३०
  • उद्देश्‍यपूर्ण जीवनको खोजी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्देश्‍यपूर्ण जीवनको खोजी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कलेजको जीवन
  • मैले देश-विदेश गएर जीवनको उद्देश्‍य खोज्न थालेँ
  • जीवनको उद्देश्‍यको खोजीमा समुद्री यात्रा गरेँ
  • साँचो धर्मको खोजी
  • जागिरको खोजी
  • मैले बल्ल उद्देश्‍यपूर्ण जीवन भेट्टाएँ!
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • प्रमोदवनको खोजमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 नोभेम्बर पृ. २६-३०
मार्टिन विथहोल्ट।

जीवनी

उद्देश्‍यपूर्ण जीवनको खोजी

मार्टिन विथहोल्टको वृत्तान्तमा आधारित

म भूमध्यसागरमा यात्रा गर्दै थिएँ। मेरो थोत्रो डुङ्‌गामा प्वाल परेको रहेछ र त्यसमा बेस्सरी पानी छिर्न थाल्यो। त्यत्तिकैमा आँधी पनि चल्यो। म एकदमै आत्तिएँ र मैले धेरै वर्षपछि प्रार्थना गरेँ। म यस्तो अवस्थामा कसरी पुगेँ?

मार्टिन सानो छँदा।

म सात वर्षको छँदा म र मेरो परिवार ब्राजिलमा बस्थ्यौँ

मेरो जन्म १९४८ मा नेदरल्याण्ड्‌समा भयो। त्यसपछिको वर्ष हामी सपरिवार ब्राजिलको साऊ पाउलोमा सऱ्‍यौँ। मेरो आमाबुबा सधैँ चर्च जानुहुन्थ्यो र हामी हरेक साँझ खाना खाएपछि सँगै बाइबल पढ्‌थ्यौँ। पछि १९५९ मा हामी अमेरिकाको मासाच्युसेट्‌स राज्यमा बसाइँ सऱ्‍यौँ।

त्यहाँ मेरो बुबाले आठ जनाको ठूलो परिवारको गुजारा चलाउन थुप्रै काम गर्नुभयो। सुरुमा उहाँले सेल्सम्यानको रूपमा र त्यसपछि सडक निर्माणमा काम गर्नुभयो। पछि उहाँले अन्तरराष्ट्रिय विमान कम्पनीमा जागिर पाउनुभयो। बुबाले यो जागिर पाउँदा हामी सबै जना धेरै खुसी भयौँ किनकि अब हामीले देश-विदेशमा यात्रा गर्न पाउने भयौँ।

स्कुलमा छँदा म अक्सर ‘ठूलो भएपछि के गर्ने होला’ भनेर सोच्ने गर्थेँ। मेरा केही साथी विश्‍वविद्यालय गए अनि अरूचाहिँ सेनामा भर्ती भए। तर म भने सैन्य सेवा गर्ने कुरा सोच्न पनि सक्दिनथेँ किनकि अरूसित झगडा गर्न वा कुटपिट गर्न मलाई मन पर्दैनथ्यो। त्यसैले मैले विश्‍वविद्यालय जाने निर्णय गरेँ। तर मेरो मनैदेखिको इच्छा अरूलाई मदत गर्ने थियो किनकि त्यसले नै मेरो जीवनलाई उद्देश्‍यपूर्ण बनाउँछ जस्तो लाग्थ्यो।

कलेजको जीवन

साक्षी हुनुअघि दाह्री पालेका मार्टिनले हातमा बाइबल बोकेका छन्‌।

म वर्षौँसम्म उद्देश्‍यपूर्ण जीवनको खोजीमा थिएँ

विश्‍वविद्यालयमा छँदा मलाई मानवशास्त्रमा चासो थियो किनकि मलाई जीवनको सुरुवातबारे बुझ्न मन थियो। हामीलाई कक्षामा क्रमविकासबारे सिकाइन्थ्यो र त्यसमा विश्‍वास गर्न भनिन्थ्यो। तर मलाई क्रमविकास तर्कसङ्‌गत लाग्दैनथ्यो र म आधारै नभएको कुरामा अन्धाधुन्ध विश्‍वास गर्न चाहन्‍नथेँ।

हामीलाई विश्‍वविद्यालयमा नैतिक शिक्षा सिकाइँदैनथ्यो। बरु जुनसुकै हालतमा सफल हुनुपर्छ भनेर जोड दिइन्थ्यो। त्यसैले म साथीहरूसित पार्टी गर्थेँ र लागूपदार्थ सेवन गर्थेँ। ती कुराहरूले आनन्द त दिन्थ्यो तर त्यो क्षणिक थियो। म सोच्ने गर्थेँ, ‘के उद्देश्‍यपूर्ण जीवन यस्तै हो त?’

पछि म बोस्टन सहरमा बसाइँ सरेँ र त्यहाँ विश्‍वविद्यालयमा भर्ना भएँ। कलेजको फिस तिर्न बिदाको समयमा काम पनि गर्थेँ। काम गर्ने ठाउँमै मैले एक जना यहोवाको साक्षीलाई भेटेँ। उसले मलाई दानिएल अध्याय चारमा भएको “सात काल”-को भविष्यवाणीबारे र हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍नेबारे बतायो। (दानि. ४:१३-१७) तर मैले उसको कुरा सुनेर त्यसलाई गम्भीरतापूर्वक लिएँ भने मैले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने थियो। त्यसैले म ऊदेखि भाग्न थालेँ।

म दक्षिण अमेरिकामा गएर स्वयंसेवा गर्न चाहन्थेँ। त्यसैले मैले त्यसको तयारीको लागि कलेजमा त्यससम्बन्धी कोर्सहरू लिएँ। यसरी अरूलाई मदत गर्दा जीवन उद्देश्‍यपूर्ण हुन्छ जस्तो मलाई लागेको थियो तर यसो गर्दा पनि साँचो सन्तुष्टि पाइँदैन भनेर मैले बुझेँ। त्यसैले मैले निराश भएर पढाइ छोड्‌ने निर्णय गरेँ।

मैले देश-विदेश गएर जीवनको उद्देश्‍य खोज्न थालेँ

मेरो बुबा पहिला काम गर्नुभएको विमान कम्पनीमा काम गर्न मे १९७० मा म नेदरल्याण्ड्‌सको आम्सटर्डम गएँ। कामको सिलसिलामा मैले थुप्रै देश भ्रमण गरेँ। म अफ्रिका, अमेरिका, युरोप र एसियाका थुप्रै देशमा गएँ। तर जहाँ गए पनि सबैको आ-आफ्नै समस्या थियो तर समाधान कसैसित पनि थिएन। त्यसैले जीवनमा केही हासिल गर्ने नयाँ जोस लिएर म अमेरिका नै फर्किएँ र पहिला पढेको बोस्टनको विश्‍वविद्यालयमा भर्ना भएँ।

कलेज भर्ना भएको केही समय नबित्दै मैले मेरा प्रश्‍नहरूको जवाफ अझै पाएको छैनँ भनेर महसुस गरेँ। म दोधारमा थिएँ। त्यसैले मैले मानवशास्त्र पढाउने शिक्षकसँग केही सुझाव मागेँ। उहाँको यो कुरा सुनेर म त छक्कै परेँ: “किन पढिरहन्छौ? छोडिदेऊ!” उहाँले यति भनेपछि मलाई अरू के चाहियो र! मैले तुरुन्तै पढाइ छोडेँ।

तर मेरो जीवनको कुनै उद्देश्‍य थिएन। त्यसैले म समाजको नीतिनियमको विरोध गर्ने अनि शान्ति र प्रेमपूर्ण जीवन बिताएको दाबी गर्ने एउटा समूहसित आबद्ध भएँ। म त्यो समूहको केही साथीसित मिलेर अमेरिकाको विभिन्‍न ठाउँ डुल्दै मेक्सिकोको अकापुल्कोसम्म पुगेँ। यात्राको क्रममा हामी हिप्पीहरूसित बस्थ्यौँ। हुनत उनीहरू स्वतन्त्र जस्तो देखिन्थे। तर उनीहरूको जीवन पनि अर्थपूर्ण र सन्तोषजनक छैन भनेर मैले महसुस गरेँ। एकअर्कालाई ठग्नु र धोका दिनु उनीहरूको लागि साधारण कुरा थियो।

जीवनको उद्देश्‍यको खोजीमा समुद्री यात्रा गरेँ

मार्टिन डुङ्‌गामा।

म र मेरो साथी सुन्दर टापुको खोजीमा निस्क्यौँ

बच्चैदेखि मेरो एउटा सपना थियो। म स्वतन्त्र भएर समुद्री यात्रामा निस्कन चाहन्थेँ। तर त्यसको लागि मेरो आफ्नै डुङ्‌गा हुनुपर्थ्यो। मेरो एक जना साथी टोमको पनि मेरोजस्तै सपना थियो। त्यसैले हामी दुवै जना मिलेर समुद्री यात्रामा निस्कने निर्णय गऱ्‍यौँ। म समाजका नीतिनियमबाट धेरै टाढा एउटा सुन्दर टापु भेट्टाउन चाहन्थेँ।

टोम र म स्पेनको बार्सिलोनानजिकै एरेनिस डे मारमा गयौँ। त्यहाँ हामीले ३१ फुट लामो लिग्रा नाम गरेको एउटा डुङ्‌गा किन्यौँ अनि त्यसलाई समुद्री यात्राको लागि उपयुक्‍त बनाउन केही मर्मतसम्भार गऱ्‍यौँ। गन्तव्यमा पुग्न कुनै हतार नभएकोले हामीले त्यो डुङ्‌गाको इन्जिन निकाल्यौँ र त्यसमा खाने पानी सञ्चय गर्ने ठाउँ बनायौँ। स-साना बन्दरगाहको लागि चाहिँ हामीले १६ फुट लामो दुई वटा पतवार किन्यौँ। त्यसपछि हामीले अफ्रिकाको पश्‍चिमी तट हुँदै दक्षिण अफ्रिकाको केप अफ गुड होप घुमेर हिन्द महासागरको सेशेल्ससम्म जान यात्रा थाल्यौँ। ताराहरू, केही नक्सा र किताबहरू अनि साधारण उपकरण प्रयोग गरेर हामीले सही दिशा पत्ता लगाउन सक्यौँ। त्यत्रो विशाल समुद्रमा हामी ठ्याक्कै कहाँ छौँ भनेर पत्ता लगाउन सक्दा म त छक्क परेँ।

तर यात्रा थालेको केही समयमै हाम्रो डुङ्‌गा समुद्री यात्राको लागि उपयुक्‍त छैन भन्‍ने कुरा हामीले बुझ्यौँ। किनकि डुङ्‌गामा प्रति घण्टा २२ लिटरको दरले पानी छिरिरहेको थियो। मैले सुरुमा बताएको घटना यही समयको हो। समुद्रमा अचानक आँधी चल्न थालेपछि म निकै आत्तिएँ। धेरै वर्षपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ अनि यो विपत्तिबाट जोगिएँ भने म तपाईँलाई चिन्‍ने प्रयास गर्नेछु भनेर वाचा गरेँ। नभन्दै आँधी रोकियो र पछि मैले आफ्नो वाचा पूरा गरेँ।

मैले बाइबल पढ्‌न थालेँ। त्यो विशाल भूमध्यसागरमा चारैतिर पानी नै पानी थियो। समुद्रमा माछाहरू र डल्फिनहरू खेलिरहेको हेर्न खुबै रमाइलो हुन्थ्यो अनि रातीचाहिँ आकाशगङ्‌गा हेरेर रमाउने गर्थेँ। मानिसजातिको साँच्चै ख्याल राख्ने एक जना परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त हुन सकेँ।

समुद्रमा केही हप्ता बिताएपछि हामी स्पेनको एलिकान्टेमा भएको बन्दरगाहमा गयौँ। त्यहाँ अर्को डुङ्‌गा किन्‍न हामीले पुरानो डुङ्‌गा बिक्रीमा राख्यौँ। तर त्यो इन्जिन नै नभएको थोत्रो डुङ्‌गा किन्‍ने मान्छे भेट्टाउन कहाँ सजिलो थियो र! जेहोस्‌, मैले त्यो समयमा बाइबल पढ्‌ने राम्रो मौका पाएँ।

बाइबल पढ्‌दै जाँदा यसले जीवनमा सफल हुन मदत दिन्छ भन्‍ने कुरा मैले अझ स्पष्टसित बुझेँ। यसको शिक्षाले नैतिक रूपमा स्वच्छ हुन मदत दिन्छ भन्‍ने कुरा पनि मैले थाह पाएँ। तर मजस्तै थुप्रै मानिसले आफू ख्रिष्टियन भएको दाबी गरे पनि बाइबलका शिक्षाहरूलाई किन तिरस्कार गर्छन्‌ भनेर मैले सोच्न थालेँ।

मैले आफ्नो जीवनशैलीमा ठूलै छाँटकाँट गर्नुपर्ने भयो। सुरुमा त मैले लागूपदार्थ सेवन गर्न छोडेँ। मलाई बाइबलको उच्च नैतिक स्तरअनुसार चल्ने मानिसहरू पक्कै पनि हुनुपर्छ जस्तो लाग्यो र म तिनीहरूलाई भेट्‌न चाहन्थेँ। मैले फेरि परमेश्‍वरलाई प्रार्थना गरेँ अनि तिनीहरूलाई भेट्टाउन सकूँ भनी बिन्ती गरेँ।

साँचो धर्मको खोजी

साँचो धर्म भेट्टाउन म सबै धर्म जाँचेर हेर्न चाहन्थेँ। एकदिन एलिकान्टे घुम्दै गर्दा मैले थुप्रै धार्मिक भवनहरू देखेँ। तर तीमध्ये धेरैजसो भवनमा मूर्तिहरू थिए। त्यसैले ती साँचो धर्म होइनन्‌ भन्‍ने कुरामा म पक्का भएँ।

आइतबार दिउँसोको कुरा हो। बन्दरगाह देखिने एउटा डाँडामा बसेर म याकुब २:१-५ पढ्‌दै थिएँ, जहाँ धनी र गरिबबीच भेदभाव गर्नु हुँदैन भनेर लेखिएको थियो। पछि डुङ्‌गातर्फ फर्कने क्रममा मैले धार्मिक सभास्थलजस्तो देखिने एउटा भवन देखेँ र त्यसको ढोकामा यहोवाका साक्षीहरूको सभाभवन लेखिएको थियो।

मैले सोचेँ, ‘यी मानिसहरूले मलाई कस्तो व्यवहार गर्दा रहेछन्‌, जाँचेर हेर्छु!’ त्यसैले दाह्रीजुँगा र फाटेको जिन्समा खाली खुट्टै म सभाभवनभित्र छिरेँ। त्यहाँ परिचारकले मलाई एक जना वृद्ध आमासँगै लगेर राखिदिए र उहाँले मलाई बाइबलका सबै पदहरू पल्टाएर देखाउनुभयो। सभापछि सबैले मलाई न्यानो अभिवादन गरे र त्यसले मेरो मनै छोयो। एक जना मानिसले मलाई बाइबलको कुरा छलफल गर्न आफ्नो घरमा बोलाए तर मैले बाइबल पढेर सिद्ध्याएको थिइनँ। त्यसैले तिनलाई “म अहिले तयार छैनँ। तपाईँलाई पछि खबर गर्छु” भनेँ। त्यो समयदेखि म नियमित रूपमा सभा जान थालेँ।

केही हप्तापछि म ती मानिसलाई भेट्‌न तिनको घरमा गएँ र तिनले मलाई बाइबलबाट मेरा प्रश्‍नहरूको जवाफ दिए। एक हप्तापछि तिनले मलाई राम्रा-राम्रा कपडाहरू भएको एउटा झोला दिए र यसो भने, ‘यी कपडाहरू हाम्रो एक जना भाइको हो। एकअर्कालाई प्रेम गर्नुपर्छ, लडाइँ गर्नु हुँदैन भन्‍ने बाइबलको आज्ञाअनुसार चलेकोले उहाँ अहिले जेलमा हुनुहुन्छ।’ (यसै. २:४; युह. १३:३४, ३५) म यस्तै मानिसहरूको खोजीमा थिएँ। यिनीहरू बाइबलको नैतिक शिक्षाअनुसार चल्ने मानिसहरू हुन्‌ भनेर म पक्का भएँ। अब मेरो लक्ष्य सुन्दर टापु खोज्नु थिएन, बरु बाइबलको गहिरो अध्ययन गर्नु थियो। त्यसैले म नेदरल्याण्ड्‌स फर्केँ।

जागिरको खोजी

नेदरल्याण्ड्‌सको ग्रोनिनगन सहरसम्म पुग्न मलाई चार दिन लाग्यो। मैले आफ्नो जीविकोपार्जनको लागि जागिर खोज्नुपर्ने भयो। मैले काठको काम गर्ने एउटा पसलमा आवेदन दिएँ र त्यो आवेदन फाराममा मेरो धर्म कुन हो भनेर सोधिएको थियो। मैले त्यसमा “यहोवाको साक्षी” भनेर लेखेँ। पसलको साहुजीले मेरो आवेदन हेरेपछि तिनको अनुहारको भाव परिवर्तन भएको मैले याद गरेँ। तिनले “म तपाईँलाई पछि फोन गर्छु” भने तर तिनले फोन गरेनन्‌।

म काठकै काम गर्ने अर्को पसलमा गएँ र साहुजीलाई काम पाइन्छ कि भनेर सोधेँ। तिनले मलाई मेरो शैक्षिक योग्यता र पहिला कतै काम गरेको प्रमाण मागे। मैले तिनलाई पहिला एउटा काठको डुङ्‌गा मर्मत गरेको छु भनेर बताएँ। यो सुनेपछि तिनले “हुन्छ, त्यसोभए दिउँसोदेखि काममा आऊ! म एक जना यहोवाको साक्षी हुँ र म बाइबल सिद्धान्तअनुसार चल्छु। त्यसैले तिमीले यहाँ कुनै पनि नराम्रो काम गर्न पाउँदैनौ” भनेर बताए। म त छक्क परेँ अनि “म पनि यहोवाको साक्षी नै हुँ” भनेँ। तर ती साहुजीले पक्कै पनि मेरो लामो कपाल र दाह्रीजुँगा देखेर होला, “म तिमीलाई बाइबलको कुरा सिकाउँछु” भने। मैले तुरुन्तै त्यो प्रस्ताव स्विकारेँ। पहिलाको साहुजीले मलाई फोन नगर्नुको कारण मैले बल्ल पो बुझेँ! यहोवाले मेरो प्रार्थनाको जवाफ दिँदै हुनुहुन्थ्यो। (भज. ३७:४) मैले त्यहाँ एक वर्ष काम गरेँ। त्यस दौडान ती भाइले मलाई अध्ययन गराउनुभयो अनि मैले जनवरी १९७४ मा बप्तिस्मा गरेँ।

मैले बल्ल उद्देश्‍यपूर्ण जीवन भेट्टाएँ!

एक महिनापछि मैले नयाँ करिअर थालेँ; मैले अग्रगामी सेवा सुरु गरेँ। यो कामबाट मैले निकै सन्तुष्टि पाएको छु। त्यसपछिको महिना म भर्खरै स्थापना भएको स्पेनिश भाषाको समूहलाई मदत गर्न आम्सटर्डममा सरेँ। त्यहाँका मानिसहरूलाई स्पेनिश र पोर्चुगिज भाषामा अध्ययन गराउन निकै रमाइलो लाग्थ्यो। त्यसपछि १९७५ को मे महिनादेखि मैले विशेष अग्रगामीको रूपमा सेवा गर्ने सुअवसर पनि पाएँ।

एक दिन इनेके नाम गरेकी विशेष अग्रगामी बहिनीले बोलिभियाको एक जना बाइबल विद्यार्थीलाई स्पेनिश भाषाका भाइबहिनीसित भेटाइदिन हाम्रो सभामा ल्याइन्‌। त्यसपछि इनेके र मैले चिठीमार्फत एकअर्कासित चिनापर्ची गर्ने सल्लाह गऱ्‍यौँ अनि कुराकानी गर्दै जाँदा हाम्रो लक्ष्य एउटै रहेछ भनेर थाह पायौँ। त्यसैले १९७६ मा हामीले विवाह गऱ्‍यौँ र सँगै विशेष अग्रगामी सेवा गऱ्‍यौँ। सन्‌ १९८२ मा हामीले गिलियडको ७३ औँ कक्षाको लागि निम्तो पायौँ। गिलियडबाट हामीलाई पूर्वी अफ्रिकामा खटाइँदा हामीलाई अचम्मै लाग्यो अनि खुसी पनि लाग्यो। हामीले केन्याको मोम्बासामा पाँच वर्ष सेवा गऱ्‍यौँ। त्यसपछि १९८७ मा हामीलाई तान्जानिया खटाइयो, जहाँ यहोवाका साक्षीहरूमाथि लागेको प्रतिबन्ध हटाइएको थियो। हामीले त्यहाँ २६ वर्ष सेवा गऱ्‍यौँ अनि केन्या नै फर्कियौँ।

मार्टिन र तिनकी पत्नी इनेके एक पुरुषलाई बाइबल अध्ययन गराउँदै छन्‌।

पूर्वी अफ्रिकामा मानिसहरूलाई बाइबलको सत्य सिक्न मदत दिन पाउँदा म र मेरी पत्नी निकै खुसी छौँ

नम्र हृदय भएका मानिसहरूलाई बाइबलको सत्य सिकाउन पाउँदा मेरो जीवन साँच्चै अर्थपूर्ण भएको छ। जस्तै, मैले मोम्बासामा मेरो पहिलो बाइबल विद्यार्थीलाई सार्वजनिक साक्षीकार्यमा भेटेको थिएँ। मैले तिनलाई दुई वटा पत्रिका दिएँ र तिनले “यो पढ्‌न सिद्धिएपछि मैले के गर्ने?” भनेर सोधे। त्यसपछिको हप्ता मैले तिनीसित स्वाहिली भाषामा भर्खरै विमोचन भएको पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ किताबबाट अध्ययन गराउन थालेँ। एक वर्षपछि तिनले बप्तिस्मा गरे र नियमित अग्रगामी सेवा थाले। त्यो समयदेखि ती भाइ र तिनकी पत्नीले झन्डै १०० जनालाई बप्तिस्मा गर्न मदत दिइसकेका छन्‌।

मार्टिन र इनेके।

यहोवा आफ्ना सेवकहरूलाई उद्देश्‍यपूर्ण जीवन बिताउन मदत गर्न सक्नुहुन्छ भनेर इनेके र मैले अनुभव गरेका छौँ

जीवनको उद्देश्‍य बुझेपछि मलाई आफू येसुले बताउनुभएको एक जना व्यापारीजस्तै लाग्यो। तिनले उच्च कोटिको मोती फेला पारेपछि त्यो किन्‍न आफूसित भएको सबै कुरा बेचेका थिए। (मत्ति १३:४५, ४६) म पनि मानिसहरूलाई उद्देश्‍यपूर्ण जीवन भेट्टाउन मदत दिने काममा आफ्नो पूरै जीवन लगाउन चाहन्थेँ। यहोवा आफ्ना सेवकहरूलाई उद्देश्‍यपूर्ण जीवन बिताउन मदत गर्न सक्नुहुन्छ भनेर म र मेरी प्यारी पत्नी दुवैले अनुभव गरेका छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने