प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जून पृ. १४-१९
  • प्रेमले डरलाई जित्न कसरी मदत गर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमले डरलाई जित्न कसरी मदत गर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवार पाल्न नसक्ने हो कि भन्‍ने डर
  • मानिसको डर
  • मृत्युको डर
  • डरलाई जित्नुहोस्‌
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • यहोवाको डर मान्‍नुहोस्‌ र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जून पृ. १४-१९

अध्ययन लेख २६

प्रेमले डरलाई जित्न कसरी मदत गर्छ?

“यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ।”—भज. ११८:६.

गीत १०५ “परमेश्‍वर प्रेम हुनुहुन्छ”

परिचयa

१. धेरैजसोलाई के-कस्ता कुराको डर लाग्छ?

यहोवाका केही सेवकको उदाहरण विचार गरौँ। नेस्टर र तिनकी पत्नी मारिया आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न चाहन्थे।b यसो गर्न तिनीहरूले कम खर्चमा जीविका चलाउन सिक्नुपर्ने हुन्थ्यो। तर यसरी जीवन बिताउँदा आनन्दित हुन सकिँदैन कि भन्‍ने डर तिनीहरूलाई थियो। बिनियम यहोवाका साक्षीहरूको काममा धेरै विरोध हुने देशमा बस्छन्‌। यहोवाका सेवकहरूले खेदो भोग्नुपर्नेछ भनेर थाह पाउँदा तिनलाई डर लागेको थियो। तर तिनलाई अर्को कुराको अझ धेरै डर थियो: आफ्नो नयाँ धर्मबारे परिवारले थाह पाएपछि के गर्ला भन्‍ने डर। भालेरी बहिनीलाई गम्भीर प्रकारको क्यान्सर लाग्यो। रगतसम्बन्धी आफ्नो अडानलाई आदर गर्ने चिकित्सक भेट्टाउन तिनले निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। तिनलाई आफू मर्छु कि भन्‍ने डर थियो।

२. हामीले किन डरलाई जित्ने कोसिस गर्नुपर्छ?

२ के तपाईँलाई पनि यस्तै कुराहरूले गर्दा डर लागेको छ? हामीमध्ये थुप्रैले यस्तै अनुभव गरेका छौँ। हामीले आफ्नो डरलाई नियन्त्रणमा राख्न सिकेनौँ भने गलत निर्णय गर्न पुग्न सक्छौँ, जसले गर्दा यहोवासितको हाम्रो सम्बन्ध बिग्रन समेत सक्छ। सैतान यस्तै चाहन्छ। त्यसले हामीलाई सुसमाचार सुनाउनेजस्ता आज्ञाहरू उल्लङ्‌घन गर्न लगाउन हाम्रो डरलाई प्रयोग गर्न खोज्छ। (प्रका. १२:१७) सैतान दुष्ट, क्रूर र शक्‍तिशाली छ तर तपाईँ त्यसदेखि जोगिन सक्नुहुन्छ। कसरी?

३. डरलाई जित्न हामीलाई केले मदत गर्छ?

३ यहोवा हामीलाई माया गर्नुहुन्छ र उहाँ हाम्रो साथमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भयौँ भने हामी सैतानको दुष्प्रयासलाई जित्न सक्छौँ। (भज. ११८:६) उदाहरणको लागि, भजन अध्याय ११८ का लेखकले केही गाह्रा परिस्थितिको सामना गरे। तिनका थुप्रै शत्रु थिए; कोही-कोही त उच्च ओहदामा पनि थिए। (पद ९, १०) कुनै बेला तिनी ठूलो दबाबमा परेका थिए। (पद १३) तिनले यहोवाबाट कडा अनुशासन पाएका थिए। (पद १८) तैपनि तिनी यस्तो भजन गाउन उत्प्रेरित भए: “म डराउनेछैनँ।” तिनले किन यत्ति सुरक्षित महसुस गरे? यहोवाले अनुशासन दिनुभए तापनि उहाँ तिनलाई धेरै माया गर्नुहुन्छ भनेर तिनलाई थाह थियो। जस्तोसुकै परिस्थिति आइपरे तापनि मायालु परमेश्‍वरले मदत गर्नुहुनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए।—भज. ११८:२९.

४. यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदा हामी कस्ता डरहरूलाई जित्न सक्छौँ?

४ यहोवा हामी प्रत्येकलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुनुपर्छ। यस्तो विश्‍वस्तताले हामीलाई यी तीन प्रकारको डरलाई जित्न मदत गर्छ: (१) परिवार पाल्न नसक्ने हो कि भन्‍ने डर; (२) मानिसको डर र (३) मृत्युको डर। सुरुको अनुच्छेदमा उल्लेख गरिएका भाइबहिनीले आफ्नो डरलाई जित्न सके किनभने यहोवा तिनीहरूलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त थिए।

परिवार पाल्न नसक्ने हो कि भन्‍ने डर

एक जना भाइ आफ्नो छोरासँगै माछा मार्दै छन्‌।

एक भाइ परिवारको भौतिक आवश्‍यकता पूरा गर्न आफ्नो छोरासँगै माछा मार्ने काम गर्छन्‌ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. परिवारको शिरलाई कस्ता कुराहरूको चिन्ता हुन सक्छ? (आवरण तस्बिर हेर्नुहोस्‌।)

५ ख्रिष्टियन परिवारको शिरले परिवारको भौतिक आवश्‍यकता पूरा गर्ने जिम्मेवारीलाई गम्भीरतासाथ लिन्छन्‌। (१ तिमो. ५:८) यदि तपाईँ परिवारको शिर हुनुहुन्छ भने हालैको महामारीमा आफ्नो जागिर गुम्ला कि भन्‍ने डर थियो होला। परिवारको लागि खानेकुरा जुटाउन, घरभाडा तिर्न र अरू घरखर्च चलाउन नसकिएला कि भन्‍ने चिन्ता पनि थियो होला। जागिर गुम्यो भने अर्को जागिर पाउने हो कि होइन भन्‍ने डर थियो होला। अथवा नेस्टर र मारियालाई जस्तै कम खर्चमा जीविका चलाउन सकिँदैन कि भन्‍ने चिन्ता पनि थियो होला। यस्ता डरहरूलाई चलाएर सैतानले थुप्रैलाई यहोवाको सेवा गर्नदेखि रोक्न सकेको छ।

६. सैतानले हामीलाई कुन कुरामा विश्‍वास दिलाउन खोज्छ?

६ यहोवा हाम्रो ख्याल राख्नुहुन्‍न र परिवार पाल्न मदत दिनुहुन्‍न भन्‍ने कुरामा सैतानले हामीलाई विश्‍वास दिलाउन खोज्छ। सैतानको यस्तो बहकाउमा पऱ्‍यौँ भने जसरी भए पनि जागिर जोगाउनुपर्छ भन्‍ने सोचाइ हामीमा आउन सक्छ, चाहे त्यसको लागि बाइबल सिद्धान्तविपरीत चल्नु नै किन नपरोस्‌।

७. येसुले हामीलाई कस्तो आश्‍वासन दिनुभएको छ?

७ आफ्नो बुबाको विषयमा येसुलाई जत्तिको राम्ररी अरू कसैलाई थाह छैन। हामीले “माग्नुभन्दा अघि नै [हामीलाई] के चाहिन्छ भनेर [हाम्रा] बुबालाई थाह छ” भनी येसु आश्‍वासन दिनुहुन्छ। (मत्ति ६:८) हाम्रा आवश्‍यकताहरू पूरा गर्न यहोवा सधैँ तयार हुनुहुन्छ भनेर पनि येसुलाई थाह छ। हामी ख्रिष्टियनहरू परमेश्‍वरको परिवारका सदस्यहरू हौँ। यहोवा हाम्रो परिवारको शिर हुनुहुन्छ र उहाँले १ तिमोथि ५:८ मा परिवारका शिरहरूलाई भन्‍नुभएको कुरा उहाँ आफैले पनि गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।

एक बहिनी आफ्नी छोरीसँगै लुगा धुँदै छिन्‌। एक दम्पतीले तिनीहरूको लागि खानेकुरा ल्याउँदै छ।

यहोवा हाम्रा आवश्‍यकताहरू पूरा गर्नुहुन्छ। यसको लागि उहाँ हाम्रा भाइबहिनीलाई चलाउन सक्नुहुन्छ (अनुच्छेद ८ हेर्नुहोस्‌)d

८. (क) परिवार पाल्न नसक्ने हो कि भन्‍ने डरलाई जित्न केले मदत गर्छ? (मत्ति ६:३१-३३) (ख) हामी कसरी तस्बिरमा देखाइएको दम्पतीको अनुकरण गर्न सक्छौँ?

८ यहोवा हामी र हाम्रो परिवारलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त छौँ भने उहाँले हाम्रो आवश्‍यकता पूरा गरिदिनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ। (मत्ति ६:३१-३३ पढ्‌नुहोस्‌।) यहोवा मायालु र उदार प्रबन्धकर्ता हुनुहुन्छ। त्यसैले उहाँ हाम्रो आवश्‍यकता पूरा गर्न चाहनुहुन्छ। उहाँले हामीलाई बाँच्नको लागि चाहिने आधारभूत कुराहरू मात्र होइन, जीवनको आनन्द उठाउन सकोस्‌ भनेर अरू थुप्रै कुरा दिनुभएको छ। (उत्प. २:९) हामीसित भएको कुराले आवश्‍यकता मात्र पूरा गर्न सक्छौँ भने पनि त्यो यहोवाले नै दिनुभएको हो भनेर मनमा राख्नुपर्छ। (मत्ति ६:११) यहोवाले हामीलाई अहिले र भविष्यमा दिनुहुने कुराहरू हामीले अहिले त्यागेका कुराहरूभन्दा कता हो कता बहुमूल्य छ भन्‍ने कुरा पनि सधैँ सम्झनुपर्छ। नेस्टर र मारियाले पनि यस्तै अनुभव गरे।—यसै. ६५:२१, २२.

९. नेस्टर र मारियाको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

९ नेस्टर र मारिया कोलम्बियामा आरामदायी जीवन बिताउँथे। तिनीहरूले भने: “हामीले आफ्नो जीवन सरल बनाउने र सेवा विस्तार गर्नेबारे सोचेका थियौँ। तर कम खर्चमा जीवन बिताउन गाह्रो होला कि भन्‍ने डर लागेको थियो।” तिनीहरूले यस्तो डर कसरी हटाउन सके? यहोवाले तिनीहरूलाई कुन-कुन तरिकामा प्रेम देखाउनुभएको छ भनेर तिनीहरूले मनन गरे। यहोवाले सधैँ ख्याल राख्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएपछि तिनीहरूले राम्रो कमाइ हुने जागिर छोडे, घर बेचे र कोलम्बियाको आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सरे। तिनीहरूले गरेको निर्णयबारे नेस्टर यसो भन्छन्‌: “हामीले मत्ति ६:३३ का शब्दहरू आफैले अनुभव गऱ्‍यौँ। हामीलाई कुनै कुराको कहिल्यै अभाव भएन। हामी अहिले पहिलाभन्दा आनन्दित छौँ।”

मानिसको डर

१०. मान्छेदेखि मान्छे नै डराउनु किन अचम्मलाग्दो कुरा होइन?

१० मानिसहरूले शताब्दियौँदेखि एकअर्कालाई हानि पुऱ्‍याउँदै आएका छन्‌। (उप. ८:९) उदाहरणको लागि, मानिसहरू आफ्नो अख्तियारको दुरुपयोग गर्छन्‌, हत्याहिंसा गर्छन्‌ र कसै-कसैले आफ्नै स्कुलका साथीहरूलाई होच्याउने वा धम्की दिने गर्छन्‌। कसैले त आफ्नै परिवारका सदस्यहरूलाई समेत क्रूर व्यवहार गर्छन्‌। त्यसैले मान्छेदेखि मान्छे नै डराउनु कुनै अचम्मलाग्दो कुरा होइन। सैतानले कसरी मानिसको डरको नाजायज फाइदा उठाउन खोज्छ?

११-१२. सैतानले मानिसको डरलाई कसरी प्रयोग गर्छ?

११ हामीलाई आफ्नो विश्‍वासमा सम्झौता गर्न लगाउन र साक्षीकार्यलाई रोक्न सैतानले मानिसको डरलाई प्रयोग गर्छ। सैतानको प्रभावमा परेर सरकारहरूले हाम्रो काममा प्रतिबन्ध लगाएका छन्‌ र हाम्रो खेदो गरेका छन्‌। (लुका २१:१२; प्रका. २:१०) संसारमा थुप्रै मानिसले यहोवाका साक्षीहरूबारे भ्रमपूर्ण समाचार फैलाएका छन्‌ अनि मानिसहरू यस्ता झूटा कुराहरूमा विश्‍वास गरेर हामीलाई हाँसोमा उडाउँछन्‌ वा कुटपिटसमेत गर्छन्‌। (मत्ति १०:३६) सैतानको यस्तो चालदेखि के हामी अचम्म मान्‍नुपर्छ? पटक्कै पर्दैन। त्यसले प्रथम शताब्दीमा पनि त्यस्तै चाल चलेको थियो।—प्रेषि. ५:२७, २८, ४०.

निर्धक्क भई एक भाइ सभा जाँदै छन्‌ अनि तिनका आमाबुबा तिनलाई गाली गर्दै छन्‌।

परिवारका सदस्यहरूले विरोध गरे तापनि हामी यहोवाको मायामा ढुक्क हुन सक्छौँ (अनुच्छेद १२-१४ हेर्नुहोस्‌)e

१२ सैतानले प्रयोग गर्ने हतियार सरकारहरूको डर मात्रै त होइन। कसैलाई भने परिवारका सदस्यहरूले आफ्नो नयाँ विश्‍वासबारे थाह पाएपछि के गर्लान्‌ भन्‍ने कुराको अझ धेरै डर लाग्छ। तिनीहरू आफ्नो परिवार र आफन्तहरूलाई धेरै माया गर्छन्‌ र उनीहरूले पनि यहोवालाई चिनेको र उहाँलाई प्रेम गरेको चाहन्छन्‌। परमेश्‍वरबारे अनि आफ्ना भाइबहिनीबारे अनादरपूर्ण तरिकामा कुरा गरेको सुन्दा तिनीहरूलाई धेरै दुःख लाग्छ। तर सुरु-सुरुमा यसरी विरोध गर्ने परिवारका सदस्यहरू पनि पछि यहोवाको साक्षी भएका छन्‌। हाम्रो नयाँ विश्‍वासको कारण परिवारका सदस्यहरूले हामीसित सम्बन्ध तोडे भने नि?

१३. परिवारले त्याग्दा परमेश्‍वरको प्रेमले हामीलाई कसरी सम्हाल्छ? (भजन २७:१०)

१३ हामी भजन २७:१० का सुन्दर शब्दहरूबाट सान्त्वना पाउन सक्छौँ। (पढ्‌नुहोस्‌।) विरोध आउँदा यहोवा हामीलाई कत्ति माया गर्नुहुन्छ भन्‍ने कुरा सम्झँदा सुरक्षित महसुस गर्न सक्छौँ र हाम्रो सहनशीलताको लागि इनाम दिनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। यहोवाले हामीलाई बाँच्नको लागि चाहिने सबै कुरा दिनुहुनेछ। उहाँले हामीलाई शान्त र आनन्दित रहन अनि उहाँसित घनिष्ठ भइरहन पनि मदत गर्नुहुनेछ। सुरुमा उल्लेख गरिएका बिनियमले यस्तै अनुभव गरे।

१४. बिनियमको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१४ ठूलो खेदो सहनुपर्छ भन्‍ने थाह भए तापनि बिनियम यहोवाको साक्षी बने। यहोवा तिनलाई माया गर्नुहुन्छ भन्‍ने कुराले बिनियमलाई मानिसको डरलाई जित्न कसरी मदत गऱ्‍यो, विचार गरौँ। तिनी भन्छन्‌: “यत्ति ठूलो खेदोको सामना गर्नुपर्ला भनेर सोचेकै थिइनँ। तर मलाई सरकारको भन्दा परिवारले गर्ने विरोधको अझ धेरै डर थियो। यहोवाको साक्षी बन्‍ने मेरो निर्णयले गर्दा बुबा दुःखी हुनुहुनेछ र परिवारले मलाई बेकामको ठान्‍नेछ भन्‍ने कुराको मलाई डर थियो।” तर यहोवा आफूले प्रेम गर्नेहरूको सधैँ ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा बिनियम विश्‍वस्त थिए। तिनी भन्छन्‌: “अरू भाइबहिनी आर्थिक कठिनाइ, पूर्वाग्रह र सामूहिक हमलाको सिकार हुँदा यहोवाले तिनीहरूलाई कसरी मदत दिनुभयो भन्‍ने कुरामा मैले मनन गरेँ। वफादार रहेँ भने उहाँले आशिष्‌ दिनुहुनेछ भनेर मलाई थाह थियो। म थुप्रै चोटि पक्राउ परेँ र मलाई यातना पनि दिइयो। तर जस्तोसुकै गाह्रो अवस्थामा पनि वफादार रह्‍यौँ भने यहोवाले मदत गर्नुहुन्छ भनेर म आफैले अनुभव गरेँ।” बिनियमको लागि यहोवा साँच्चै मायालु बुबा साबित हुनुभयो र उहाँका मानिसहरू तिनको परिवार भए।

मृत्युको डर

१५. हामीलाई किन मृत्युदेखि डर लाग्छ?

१५ मृत्यु हाम्रो शत्रु हो भनेर बाइबल बताउँछ। (१ कोरि. १५:२५, २६) विशेषगरि आफू वा आफ्नो प्रियजन सिकिस्त बिरामी हुँदा मर्ने हो कि भनेर चिन्ता लाग्न सक्छ। हामीलाई किन मृत्युदेखि डर लाग्छ? किनभने यहोवा परमेश्‍वरले हामीलाई सधैँभरि बाँच्ने इच्छासहित सृष्टि गर्नुभएको थियो। (उप. ३:११) तर मृत्युको डरले हाम्रो जीवन जोगाउन पनि सक्छ। जस्तै: यस्तो डरले हामीलाई स्वस्थकर खानेकुरा खान, नियमित रूपमा व्यायाम गर्न, बिरामी पर्दा डाक्टरकहाँ जान, औषधी खान र अनावश्‍यक रूपमा ज्यानको जोखिम नमोल्न मदत गर्छ।

१६. सैतानले मृत्युको डरलाई कुन-कुन तरिकामा प्रयोग गर्न खोज्छ?

१६ हामी जीवनलाई अनमोल ठान्छौँ भनेर सैतानलाई थाह छ। हामी आफ्नो ज्यान जोगाउन यहोवासितको मित्रता तोड्‌न समेत तयार हुन्छौँ भनेर त्यसले दाबी गर्छ। (अय्यु. २:४, ५) सैतानको यो दाबी झूटो हो। त्यससित “मृत्युमा पुऱ्‍याउने क्षमता” भएकोले हामीले यहोवालाई त्यागोस्‌ भनेर त्यसले मृत्युको डरलाई प्रयोग गर्छ। (हिब्रू २:१४, १५) कहिलेकाहीँ सैतानको प्रभावमा परेका मानिसहरूले हामीले आफ्नो विश्‍वास त्यागेनौँ भने मार्ने धम्कीसमेत दिन्छन्‌। कहिलेकाहीँ भने दुर्घटना वा गम्भीर रोगले गर्दा आकस्मिक उपचार गराउनुपर्ने हुन सक्छ। हामीलाई आफ्नो विश्‍वासमा सम्झौता गर्न लगाउन सैतानले यस्तो अवस्थाको फाइदा उठाउन खोज्छ। डाक्टरहरू वा बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूले हामीलाई रगत लिएर उपचार गर्न दबाब दिन सक्छन्‌। अथवा कसै-कसैले भने बाइबल सिद्धान्तसित नमिल्ने उपचारविधि अपनाउन दबाब दिन सक्छन्‌।

१७. रोमी ८:३७-३९ अनुसार हामी किन मृत्युदेखि डराउनुपर्दैन?

१७ हुनत हामी मर्न चाहँदैनौँ तर मरिहाल्यौँ भने पनि यहोवाले हामीलाई माया गर्न छोड्‌नुहुनेछैन भनेर हामीलाई थाह छ। (रोमी ८:३७-३९ पढ्‌नुहोस्‌।) यहोवाका मित्रहरूको मृत्यु भए पनि उहाँको नजरमा तिनीहरू जीवितै हुन्छन्‌ किनभने उहाँ तिनीहरूलाई आफ्नो सम्झनामा राखिराख्नुहुन्छ। (लुका २०:३७, ३८) तिनीहरूले फेरि जीवन पाएको हेर्न उहाँ तीव्र इच्छा गर्नुहुन्छ। (अय्यु. १४:१५) हामीले “अनन्त जीवन पाओस्‌” भनेर उहाँले ठूलो मोल चुकाउनुभएको छ। (युह. ३:१६) यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भनेर हामीलाई थाह छ। त्यसैले बिरामी पर्दा वा ज्यानै जान सक्ने अवस्थामा यहोवालाई त्याग्नुको सट्टा हामी सान्त्वना, बुद्धि र बलको लागि उहाँमा भर पर्छौँ। भालेरी र तिनका पतिले पनि त्यसै गरे।—भज. ४१:३.

१८. भालेरीको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१८ भालेरी ३५ वर्षको छँदा तिनलाई कमैलाई मात्र लाग्ने घातक किसिमको क्यान्सर लाग्यो। मृत्युको डरमाथि विजयी हुन प्रेमले तिनलाई कसरी मदत गऱ्‍यो, विचार गरौँ। तिनी भन्छिन्‌: “क्यान्सर लागेपछि मेरो जीवन रातारात बद्‌लियो। मेरो ठूलो अप्रेसन गर्नुपर्ने भयो। म थुप्रै शल्यचिकित्सककहाँ गएँ तर कोही पनि विनारगत अप्रेसन गर्न तयार भएनन्‌। मलाई डर त लागेको थियो तर म कुनै पनि हालतमा यहोवाको आज्ञा उल्लङ्‌घन गर्ने थिइनँ। यहोवाले मलाई धेरै माया गर्नुभएको छ। अब भने मैले उहाँलाई माया गरेको देखाउने मौका थियो। हरेक चोटि नराम्रो रिपोर्ट आउँदा यहोवालाई अझ खुसी बनाउने र सैतानलाई जित्न नदिने मेरो मनोबल झनै बढ्‌थ्यो। आखिरमा विनारगत मेरो अप्रेसन सफल भयो। हुनत अहिले पनि मेरो स्वास्थ्य अवस्था राम्रो छैन तर यहोवाले हामीलाई सधैँ चाहिएकै कुरा दिनुभएको छ। उदाहरणको लागि, मेरो रोग पत्ता लाग्नुभन्दा अघिको सप्ताहन्तको सभामा ‘वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्नुहोस्‌’ भन्‍ने लेख छलफल भएको थियो।c त्यस लेखबाट हामीले धेरै सान्त्वना पायौँ। हामीले त्यो लेख धेरै चोटि पढ्यौँ। त्यस्ता लेखहरू र राम्रो आध्यात्मिक तालिकाले म र मेरो श्रीमान्‌लाई मनोशान्ति दिएको छ अनि सन्तुलित भइरहन र सही निर्णयहरू गर्न मदत गरेको छ।”

डरलाई जित्नुहोस्‌

१९. अब चाँडै के हुनेछ?

१९ संसारभरका हाम्रा भाइबहिनी यहोवाको मदत पाएर चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न र दियाबलको विरुद्धमा खडा हुन सफल भएका छन्‌। (१ पत्रु. ५:८, ९) तपाईँ पनि सफल हुन सक्नुहुन्छ। अब चाँडै यहोवाले येसु र उहाँका सहशासकहरूलाई “दियाबलका कामहरू नष्ट गर्न” आदेश दिनुहुनेछ। (१ युह. ३:८) त्यसपछि पृथ्वीमा परमेश्‍वरको सेवा गर्नेहरू “कुनै कुरादेखि डराउनुपर्नेछैन।” (यसै. ५४:१४; मिका ४:४) त्यतिन्जेल हामीले डरलाई जित्न निरन्तर प्रयास गर्नुपर्छ।

२०. हामी कसरी डरलाई जित्न सक्छौँ?

२० यहोवा आफ्ना सेवकहरूलाई माया गर्नुहुन्छ र तिनीहरूलाई जोगाउनुहुन्छ भन्‍ने कुरामा हामीले आफ्नो विश्‍वास बढाइरहनुपर्छ। यसो गर्न विगतमा उहाँले आफ्ना सेवकहरूलाई कसरी जोगाउनुभयो भन्‍ने कुरामा मनन गर्नुपर्छ र त्यसबारे अरूलाई बताउनुपर्छ। गाह्रा अवस्थाहरूको सामना गर्न उहाँले हामीलाई व्यक्‍तिगत रूपमा कसरी मदत गर्नुभएको छ भन्‍ने कुरा पनि हामीले सम्झनुपर्छ। यहोवाको मदत पाएर हामी डरलाई जित्न सक्छौँ!—भज. ३४:४.

निम्न कुराहरूको डरलाई जित्न प्रेमले कसरी मदत गर्छ?

  • परिवार पाल्न नसक्ने हो कि भन्‍ने डर

  • मानिसको डर

  • मृत्युको डर

गीत १२९ हामी सहिरहन्छौँ!

a डर सधैँ नराम्रो हुँदैन किनभने डरले हामीलाई खतरादेखि जोगिन मदत गर्छ। तर कुनै-कुनै डरलाई सैतानले पासोको रूपमा प्रयोग गर्न सक्छ। त्यस्तो प्रकारको डरलाई आफ्नो नियन्त्रणमा राख्न हामीले कडा मेहनत गर्नुपर्छ। यहोवा हाम्रो साथमा हुनुहुन्छ र उहाँ हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदा हामी कुनै पनि प्रकारको डरलाई जित्न सक्छौँ भनेर यस लेखमा सिक्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c अक्टोबर १५, २०१२ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ ७-११ हेर्नुहोस्‌।

d तस्बिरको व्याख्या: एक दम्पती मण्डलीको मेहनती बहिनी र तिनको परिवारको लागि खानेकुरा ल्याउँदै छ।

e तस्बिरको व्याख्या: एक जवान भाइका आमाबुबालाई तिनले यहोवाको उपासना गरेको पटक्कै मन परेको छैन तर तिनी यहोवाले कहिल्यै त्याग्नुहुनेछैन भन्‍ने कुरामा विश्‍वस्त छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने