यहोसु
२० त्यसपछि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: २ “इस्राएलीहरूलाई यसो भन, ‘मैले मोसामार्फत भनेझैँ तिमीहरूले केही सहरलाई शरणनगरको रूपमा छुट्ट्याओ।+ ३ यसो गऱ्यौ भने अनजानमा वा भुलवश कसैको हत्या गर्ने व्यक्ति ती सहरहरूमा भागेर जान सक्छ। अनि रगतको साटो फेर्ने व्यक्तिबाट त्यस हत्याराले शरण पाउनेछ।+ ४ ऊ ती सहरहरूमध्ये एउटामा भागेर जाओस्,+ त्यस सहरको मूलढोकामा उभियोस्+ र त्यहाँका नाइकेहरूसामु आफ्नो मामिला पेस गरोस्। त्यसपछि तिनीहरूले उसलाई सहरभित्र पस्न देऊन् र बस्नको लागि ठाउँ देऊन् अनि ऊ त्यहाँ तिनीहरूसँगै बसोस्। ५ रगतको साटो फेर्ने व्यक्ति त्यस हत्यारालाई खेद्दै आइपुगे भने नाइकेहरूले त्यस हत्यारालाई तिनको हातमा नसुम्पिऊन् किनकि उसले भुलवश हत्या गरेको थियो र उसले कुनै दुस्मनी राखेको पनि थिएन।+ ६ अनि समुदायसामु उसको फैसला नहोउन्जेल+ र त्यसबेला सेवा गरिरहेका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यही सहरमा बसोस्।+ त्यसपछि ऊ जुन सहरबाट भागेर आएको हो, त्यहीँ फर्केर आफ्नो घरमा जान सक्छ।’”+
७ यही आज्ञाबमोजिम इस्राएलीहरूले यी सहरहरूलाई अलग्गै छुट्ट्याए:* नप्तालिको पहाडी इलाकामा गालिलको केदेस,+ एप्रैमको पहाडी इलाकामा सकेम+ र यहुदाको पहाडी इलाकामा किर्यथ-अर्बा+ अर्थात् हेब्रोन। ८ अनि यरिहोको पूर्वपट्टि यर्दनको इलाकामा तिनीहरूले यी सहरहरू छाने: रुबेनको कुलको पठारमा* भएको निर्जनभूमिमा रहेको बेजेर,+ गादको कुलको इलाकामा पर्ने गिलादको रामोथ+ र मनस्सेको कुलको इलाकामा पर्ने बासानको गोलान।+
९ इस्राएलीहरू र तिनीहरूसित बसोबास गर्ने विदेशीहरूमध्ये कसैले अनजानमा कुनै व्यक्तिलाई माऱ्यो भने ऊ भागेर जान सकोस् भनी छुट्ट्याइएका शरणनगरहरू यी नै हुन्।+ समुदायसामु उसको फैसला हुनुअघि नै रगतको साटो फेर्ने व्यक्तिले उसलाई नमारोस् भनेर ऊ त्यहीँ बस्न सक्छ।+