न्यायकर्ता
९ पछि यरुब्बाआलका+ छोरा अबिमेलेक सकेममा आफ्ना मामाहरूकहाँ गए अनि तिनले तिनीहरूलाई र आफ्नो हजुरबुबाका पूरै घरानालाई* यसो भने: २ “कृपया सकेमका सबै अगुवालाई* यो कुरा सोध्नुहोस्, ‘तपाईँहरूमाथि यरुब्बाआलका ७० जना छोराले+ शासन गर्नु बेस कि एक जनाले? अनि यो कुरा पनि नबिर्सनुहोस्, तपाईँहरू र मबीच रगतको नाता छ।’”*
३ अबिमेलेकले भनेको कुरा तिनका मामाहरूले सकेमका सबै अगुवालाई बताइदिए र तिनीहरू अबिमेलेकको पक्ष लिन जुरमुरिए।* तिनीहरूले यसो भने: “तिनी हाम्रा आफ्नै भाइ हुन्।” ४ त्यसपछि तिनीहरूले अबिमेलेकलाई बाआल-बेरिथको मन्दिरबाट+ ७० टुक्रा चाँदी दिए र अबिमेलेकले त्यो चाँदी तिरेर केही निकम्मा र बेसोमती मानिसहरू भाडामा लिए। ५ त्यसपछि तिनी ती मानिसहरूलाई लिएर ओप्रामा+ आफ्नो बुबाको घरमा गए र त्यहाँ तिनले आफ्ना दाजुभाइ अर्थात् यरुब्बाआलका ७० जना छोरालाई एउटै ढुङ्गामाथि मारे।+ यरुब्बाआलका कान्छो छोरा योताम मात्र बचे किनभने उनी लुकेर बसेका थिए।
६ तब सकेमका सबै अगुवा र बेथ-मिल्लोका मानिसहरू भेला भए अनि तिनीहरूले सकेमको खम्बा नजिकैको ठूलो रूखको छेउमा अबिमेलेकलाई राजा बनाए।+
७ जब योतामलाई यी सबै कुरा सुनाइयो, तब उनी जुरुक्क उठेर गिरिज्जिम डाँडाको टुप्पामा+ गए र ठूलो स्वरमा तिनीहरूलाई भने: “हे सकेमका अगुवाहरू हो, मेरो कुरा सुन्नुहोस् र परमेश्वरले पनि तपाईँहरूको कुरा सुन्नुहुनेछ।
८ “एकचोटिको कुरा हो, रूखहरू आफूमाथि राजा नियुक्त गर्न भेला भए र तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईँ हाम्रो राजा बन्नुहोस्।’+ ९ तर जैतुनको रूखले अरू रूखहरूलाई भन्यो, ‘परमेश्वर र मानिसहरूको सम्मानको लागि प्रयोग गरिने तेल निकाल्न छोडेर म किन अरू रूखहरूमाथि शासन गर्न* जाऊँ?’ १० त्यसपछि रूखहरूले अन्जिरको रूखलाई भने, ‘तपाईँ हाम्रो राजा बन्नुहोस्।’ ११ तब अन्जिरको रूखले तिनीहरूलाई भन्यो, ‘आफ्नो रूखमा राम्रा र मीठामीठा फल फलाउन छोडेर म किन अरू रूखहरूमाथि शासन गर्न जाऊँ?’ १२ त्यसपछि रूखहरूले अङ्गुरको बोटलाई भने, ‘तपाईँ हाम्रो राजा बन्नुहोस्।’ १३ तब अङ्गुरको बोटले तिनीहरूलाई भन्यो, ‘परमेश्वर र मानिसहरूलाई खुसी तुल्याउने नयाँ मद्य दिन छोडेर म किन अरू रूखहरूमाथि शासन गर्न जाऊँ?’ १४ अन्तमा सबै रूखले काँडे झाडीलाई भने, ‘तपाईँ हाम्रो राजा बन्नुहोस्।’+ १५ तब काँडे झाडीले अरू रूखहरूलाई भन्यो, ‘तपाईँहरू मलाई साँच्चै राजा बनाउन चाहनुहुन्छ भने मेरो छायामुनि आएर बस्नुहोस्। होइन भने काँडे झाडीबाट आगो निस्कोस् र लेबनानका देवदारहरूलाई भस्म पारोस्।’
१६ “अब भन्नुहोस्, के तपाईँहरूले कुनै स्वार्थ नराखी साँचो मनले अबिमेलेकलाई राजा बनाउनुभएको हो?+ अनि के तपाईँहरूले यरुब्बाआल र उहाँको घरानामाथि दया देखाउनुभएको छ? के तपाईँहरूले उहाँसित आदरपूर्ण व्यवहार गर्नुभएको छ? १७ मेरो बुबाले आफ्नो ज्यानको खतरा मोलेर तपाईँहरूलाई मिद्यानीहरूको हातबाट+ बचाउनुभयो।+ १८ तर आज तपाईँहरू मेरो बुबाको घरानाविरुद्ध खडा भएर उहाँका ७० जना छोरालाई एउटै ढुङ्गामा मार्नुभयो।+ अनि मेरो बुबाकी दासीको छोरा+ अबिमेलेक तपाईँहरूको भाइ भएकोले तपाईँहरूले तिनलाई सकेमका अगुवाहरूको राजा बनाउनुभयो। १९ हो, यदि तपाईँहरूले यरुब्बाआल र उहाँको घरानासित कुनै स्वार्थ नराखी साँचो मनले यस्तो व्यवहार गर्नुभएको हो भने अबिमेलेकसित रमाउनुहोस् र तिनी पनि तपाईँहरूसित रमाऊन्। २० होइन भने अबिमेलेकबाट आगो निस्कोस् र सकेम अनि बेथ-मिल्लोका अगुवाहरूलाई भस्म पारोस्;+ त्यसरी नै सकेम अनि बेथ-मिल्लोका अगुवाहरूबाट पनि आगो निस्कोस् र अबिमेलेकलाई भस्म पारोस्।”+
२१ त्यसपछि योताम+ भागेर बेरमा गए र आफ्नो दाइ अबिमेलेकको डरले गर्दा उनी त्यहीँ बसे।
२२ अबिमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे। २३ त्यसपछि परमेश्वरले अबिमेलेक र सकेमका अगुवाहरूबीच फाटो ल्याइदिनुभयो र तिनीहरूले अबिमेलेकसित विश्वासघात गर्न थाले। २४ यरुब्बाआलका ७० जना छोराको रगतको बदला लिन सकियोस् अनि तिनीहरूको रगतको दोष तिनीहरूका हत्यारा—आफ्नै दाजुभाइको हत्यारा अबिमेलेक+ र तिनलाई सघाउने सकेमका अगुवाहरूमाथि परोस् भनेर यसो भएको थियो। २५ सकेमका अगुवाहरूले अबिमेलेकलाई मार्न डाँडाका टुप्पाहरूमा मानिसहरू खटाए। तिनीहरूले त्यो बाटो भएर हिँड्ने सबैलाई लुट्थे। पछि यो कुरा अबिमेलेकलाई सुनाइयो।
२६ अनि एबेदका छोरा गाल आफ्ना दाजुभाइसँगै सकेम आए+ र उनले सकेमका अगुवाहरूको मन जिते। २७ तिनीहरूले सकेमका मानिसहरूको बगानमा गएर अङ्गुर टिपे र त्यसलाई पेलेर मद्य बनाए अनि चाड मनाउन थाले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा गए+ र त्यहाँ खानपिन गरेर अबिमेलेकलाई सराप्न थाले। २८ अनि एबेदका छोरा गालले भने: “अबिमेलेक र सकेम* को हुन् र? हामी किन तिनीहरूको सेवा गरौँ? के अबिमेलेक यरुब्बाआलको+ छोरा होइन र? अनि के जबुलचाहिँ उसैले नियुक्त गरेको अधिकारी होइन र? अबिमेलेकको सेवा गर्नुभन्दा त बरु सकेमका बुबा हामोरको सन्तानकै सेवा गर्नु बेस! २९ यी मानिसहरू मेरो अधीनमा भएका भए म अबिमेलेकलाई हटाउने थिएँ।” त्यसपछि गालले अबिमेलेकलाई भने: “तिम्रो सेनाको सङ्ख्या बढाऊ र मसित लडाइँ गर्न आऊ।”
३० एबेदका छोरा गालको कुरा सुनेपछि त्यस सहरका प्रमुख जबुल रिसले चूर भए। ३१ त्यसैले तिनले सन्देशवाहकहरूमार्फत अबिमेलेककहाँ सुटुक्क* यस्तो खबर पठाए: “हेर्नुहोस्! एबेदका छोरा गाल र तिनका दाजुभाइ अहिले यहाँ छन् र तिनीहरूले पूरै सहरलाई तपाईँविरुद्ध भड्काइरहेका छन्। ३२ यसकारण तपाईँ र तपाईँका मानिसहरू राती नै उठेर आउनुहोस् र सहरबाहिर ढुकेर बस्नुहोस्। ३३ बिहान घाम झुल्कनेबित्तिकै उठ्नुहोस् र सहरलाई आक्रमण गर्नुहोस् अनि जब गाल र उनका मानिसहरू तपाईँहरूलाई आक्रमण गर्न आउँछन्, तब तिनीहरूलाई हराउन जे-जति गर्नुपर्छ, त्यो सबै गर्नुहोस्।”
३४ त्यसैले अबिमेलेक अनि तिनका मानिसहरू राती नै उठे र चार दल बनाएर सकेमलाई आक्रमण गर्न सहरबाहिर ढुकिरहे। ३५ जब एबेदका छोरा गाल सहरबाहिर गए र मूलढोकामा उभिए, तब अबिमेलेक र तिनका मानिसहरू आफू लुकिरहेको ठाउँबाट बाहिर निस्के। ३६ गालले मानिसहरू आइरहेको देखेपछि जबुललाई भने: “हेर त! मानिसहरू डाँडाका टुप्पाहरूबाट तल झर्दै छन्।” तर जबुलले गाललाई भने: “मानिसहरूजस्तै देखिएको त्यो त डाँडाहरूको छाया पो हो।”
३७ केही समयपछि गालले भने: “हेर त! मानिसहरू पहाडी इलाकाको बीचबाट आउँदै छन् र एउटा दल मेओनेनिमको ठूलो रूख भएको बाटोबाट आउँदै छ।” ३८ जबुलले उनलाई भने: “तिमीले ‘अबिमेलेक को हो र? हामी किन त्यसको सेवा गरौँ?’+ भनेर फुर्ती लगाएका थियौ। खै, अहिले त्यो कुरा कहाँ गयो? तिमीले तिनीहरूलाई नै गिज्याएका थिएनौ र? अब जाऊ र तिनीहरूसित लड।”
३९ त्यसैले गाल सकेमका अगुवाहरूलाई लिएर गए र अबिमेलेकसित लडाइँ गरे। ४० अबिमेलेकले गाललाई खेदे र गाल त्यहाँबाट भागे। सहरको मूलढोकासम्मै मानिसहरूको लासैलास थियो।
४१ अबिमेलेक अरुमाहमै बसोबास गरिरहे अनि जबुलले+ गाल र उनका दाजुभाइलाई सकेमबाट खेदे। ४२ भोलिपल्ट मानिसहरू सहरबाहिर गए र यो कुरा अबिमेलेकलाई बताइयो। ४३ त्यसैले तिनले आफ्ना मानिसहरूलाई भेला गरेर तीन दलमा बाँडे र सहरबाहिर ढुकेर बसे। जब तिनले मानिसहरू सहरबाट बाहिर निस्किरहेको देखे, तब तिनले उनीहरूलाई आक्रमण गरेर मारे। ४४ अबिमेलेक र तिनीसँग भएको दल अघि बढेर सहरको मूलढोकालाई आफ्नो कब्जामा लिए अनि अर्को दुई वटा दलले चाहिँ सहरबाहिर भएका मानिसहरूलाई आक्रमण गरेर मारे। ४५ त्यस दिनभरि नै अबिमेलेकले सहरमाथि आक्रमण गरेर त्यसलाई आफ्नो कब्जामा लिए। तिनले सहरमा भएका मानिसहरूलाई मारे र सहरलाई पनि तहसनहस पारिदिए+ र त्यहाँको जमिनमा नुन छरिदिए।
४६ यो कुरा सुनेपछि सकेमको किल्लाका अगुवाहरू तुरुन्तै एल-बेरिथको मन्दिरको गोदाममा* गए।+ ४७ सकेमको किल्लाका सबै अगुवा एक ठाउँमा भेला भएका छन् भनेर सुन्नेबित्तिकै ४८ अबिमेलेक र तिनका मानिसहरू जाल्मोन डाँडामा उक्लिए। अबिमेलेकले एउटा बन्चरो लिएर रूखको हाँगा काटे र आफ्नो काँधमा बोके। अनि आफ्ना मानिसहरूलाई भने: “मैले जे गरेँ, तिमीहरूले पनि झट्टै त्यसो गरिहाल!” ४९ तब अबिमेलेकका मानिसहरूले हाँगा काटे र तिनको पछिपछि लागे। त्यसपछि तिनीहरूले ती हाँगाहरू गोदामको चारैतिर ठड्याएर त्यसमा आगो लगाइदिए। यसरी सकेमका अगुवाहरू र त्यहाँको किल्लामा भएका सबै मानिस अर्थात् पुरुष र स्त्रीगरि लगभग १ हजार जना मारिए।
५० त्यसपछि अबिमेलेक थेबेज गए; तिनले लडाइँ गरेर थेबेजलाई आफ्नो कब्जामा लिए। ५१ त्यस सहरको बीचमा एउटा बलियो किल्ला थियो। सहरका पुरुष, स्त्री र सबै अगुवा त्यहाँ भागे। अनि किल्लाको ढोका बन्द गरेर तिनीहरू छतमा गए। ५२ यत्तिकैमा अबिमेलेकले किल्लामा पुगेर आक्रमण गरे। अनि किल्लामा आगो लगाइदिन तिनी ढोकानजिक गए। ५३ तब एउटी स्त्रीले माथिबाट जाँतो खसालेर अबिमेलेकको खप्पर फुटाइदिइन्।+ ५४ तिनले तुरुन्तै आफ्नो हतियार बोक्ने सेवकलाई बोलाएर भने: “तरबार झिकेर मलाई मारिहाल नत्र त मानिसहरूले यसो भन्नेछन्, ‘तिनलाई एउटी स्त्रीले मारिन्।’” त्यसैले तिनको सेवकले तिनलाई तरबारले रोपिदिए र तिनी मरे।
५५ अबिमेलेक मरेको देखेपछि सबै इस्राएली आ-आफ्नो घर फर्के। ५६ यसरी परमेश्वरले अबिमेलेकले आफ्ना ७० जना दाजुभाइलाई मारेर आफ्ना बुबाको विरुद्धमा गरेको दुष्ट कामको बदला लिनुभयो।+ ५७ परमेश्वरले सकेमका मानिसहरूले गरेको दुष्ट कामको पनि बदला लिनुभयो। यसरी यरुब्बाआलका+ छोरा योतामको+ सराप तिनीहरूमाथि पऱ्यो।